बाटो
र पो बाटो हुँदोरहेछ ।

हिँडिरहन्छन्
भोकापेटहरू त्यही बाटो
र पुग्छन् खण्डहर बस्तीमा
जहाँ बजिरहेको हुन्छ साना नानीहरूको चीत्कार,
वृद्धवृद्धाका कुवाजस्ता आँखा
टोलाइरहन्छ अनाजको गेडामा,
आइमाईहरू छोप्दै हत्केलाले लाज
उमारिरहेका हुन्छन् निधारभरि पसिना
र त्यै पसिनाले मेट्छन्
सदियौँदेखिको तिर्खा ।

योद्धाहरू
हिँड्छन् त्यही बाटो
देखेर आँखाभरि उन्मुक्तिको सपना
हिँड्दा हिँड्दै सपनाको त्यान्द्रामा अल्झिएर
हराइजान्छन् सहिदको भीडमा
उनका ठेकेदार साथीहरू
काट्छन् बरपीपलको रूख
ठड्याउँछन् उनका बेरुपिलो सालिक
लगाइदिन्छन् रगत पोतिएको एउटा माला
र नफर्की हिँडिजान्छन् समृद्धिको यात्रामा

नेताहरू
हिँड्छन् त्यही बाटो
हल्लाउँदै देशको झण्डा
र सिमलीजस्ता जनतालाई भऱ्याङ बनाई
उक्लिन्छन् सत्ताको सिंहासन
माथमा पुगेर उनीहरू
निगरानी गरिराख्छन् दुर्बिनले आफ्नो ढुकुटी

सरकार
हिँड्छ त्यही बाटो
फ्याक्दै आस्वासनका एकमुठी चारा
पुगेर सिंहदरबार
घुट्काउँछ साम्राज्यवादी झोल
तुक्याउँदै देशको झन्डामाथि
सल्काउँछ देशको संविधान
लामो कस लिएर
पिच्च थुक्छ राष्ट्रियतामाथि
र विस्तारवादी मातमा लर्बरिँदै
घोषणा गर्छ–
देशमा कोही गरीब छैनन् ।

यै बाटो त रहेछ–
सबैलाई आफ्नो छातीमा टेकाएर
आ–आफ्नो गन्तव्य पुऱ्याइदिने ।

बाटो
र पो बाटो हुँदो रहेछ ।

सिन्धुपाल्चोक