हेर न ….!
यी विद्यालयका भित्ताहरूमा
कति धेरै विद्यार्थीका सपना टाँसिएका छन्
ती सपनालाई टाँस्न गम बनेर भित्तामा अडिएका छन् शिक्षकहरू …
तर दुर्भाग्य !
प्र.अ. ले देखावटी अनुशासनको खिचडी पकाएर ,
शिक्षकहरूले कोचिङ्ग कलासको तरकारी बनाएर ,
केही कर्मचारीहरूले लोभ र भ्रष्टाचार को अचार बनाएर ,
हाम्रो सरकारी स्कुलमा खाना बाँडिरहेछन्
र विद्यार्थीहरू सस्तो मानेर खाइरहेछन्
उनीहरूलाई के थाहा ?
सस्तो बेसाहाले पेट दुखाउँछ
दुखेको पेटले कहिल्यै सही नतिजा दिँदैन ।
बोर्डिङ स्कुलले अर्कै अस्त्र चलाएको छ
क्वालिटी र ग्यारेन्टी यस्का ब्रह्मास्त्र हुन
यही क्वालिटीको नतिजा हो
मेरो सानो भाइले ,,,
नेपालीमा आफ्नो नाम लेख्न नजान्दै
अङ्ग्रेजीमा आफ्नो साथीको नाम लेख्न सिकिसक्यो
कबाट कछुवाको गतिमा नेपाली लेख्न सिक्दै गरेको फुच्चेले ,,
जेडबाट जेब्राका बारेमा एस्से लेख्न सिकिसक्यो
तिमीलाई थाहा छ ??
अहिले मेरो गृहजिल्ला
पर्वतमा पनि
चिनी पानी घोलेर सर्बत बनाएजस्तो
नेपाली र अङ्ग्रेजी माध्यम घोलेर
सर्वत्र शिक्षा सञ्चालन गरिसकेको छ
जसले कुन भाषामा स्कुल पढ्ने भनेर
अलपत्र परेकाहरूलाई छत्रछाया दिएको छ
त्यसैको नतिजा हो
‘क’ बाट कलम समाउन सिकेको
‘ख’ बाट खरो प्रतिवाद गर्न सक्ने
‘ग’ बाट गहकिलो तर्क गरेरै
‘घ’ बाट घर बनाउन सक्ने
एक क ख ग घ को मर्म बुझ्न सक्ने
ए” बाट एट्टिच्युड वाला ,
बि” बाट बेलुनजस्तै प्रिय ,
सि” बाट क्रप्ट नेताको बिरोध गर्न सक्ने,
‘डि’ बाट डिग्री गरेर ,
ए बि सि डि को धर्म बुझ्न सक्ने
एउटा कविताको जन्म भएको छ
यो कुरा याद राख,,
कविता जन्माउने कविले हो
र कवि जन्माउने विद्यालयले हो
जुन विद्यालयमा अहिले तिमीले पढिरहेका छौ
ए कविहरू एकपटक आउनुस्
हैन एकछिन रोक्नुस्
कविले हतार गरेको सुहाउँदैन
सुरुमा त ,,,
प्रिय लेखकहरू आउनुस्
हामीलाई पथप्रदर्शक गर्ने ,,
हामीलाई सपना देख्न सिकाउने
गुरुका आँखाका बारेमा केही लेखिदिनुस्
जसले गुरु र विद्यार्थीबीचको प्रगाढता झल्काइरहोस्
सम्मानयीय व्यापारीहरू पनि आउनुस्
हामीले पढ्ने गरेका कक्षा कोठामा एकछिन बसेर जानुस्
जाने बेलामा भित्ता दरार र भाचिएका फर्निचरलाई मर्मत गरिदिनु
ताकी धेरै विद्यार्थीहरूको भविस्य बलियो बनोस
आदरणीय कमरेडहरू एकपटक तपाईँहरू पनि आउनुस् ,,
एउटा मीठो प्रेरणादायी भाषण दिएर जानुस्
र भाषण सँगसँगै यति काम गरेर जानुस्
प्रिय कमरेड ,,,
सरकारी स्कुललाई रेडजोनबाट हटाएर
यो क्वालिटी र ग्यारेन्टीको अस्त्र प्रयोग गरेर
विद्यार्थीको भविष्यमाथि अत्ति गर्ने प्रवृत्तिको अन्त्य गर्दिनुस्
पूजनीय मातापिता तपाईँहरू जरुर आउनुस्
तपाईँले आफ्नो छोराछोरीलाई
कलम समाएर पठाएको विद्यालयमा
उनीहरूको हात समाएर आउनुस्
र उनीहरूकै हात समाएर घर जानुस्
यसो गर्दै गर्दा तपाईँले भुल्नुहुनेछ कि
तपाईँको छोराले यही विद्यालयको कलम समाएको हुनाले
तपाईँले अहिलेसम्म लठ्ठी समाउनुपरेको छैन
ए कविहरू ,,,
ए प्राणप्रिय कविहरू ,,
तपाईँहरू बल्ल आउनुस्
यी सबै कुरालाई आफ्नै विम्बमा ढाल्नुस्
र एउटा कविता लेख्नुस्
जुन कविता सुन्दा वा पढ्दा
जो कोहीको पनि आङ सिरिङ्ग होस्
र हाम्रा भाइबहिनीले पढ्ने नेपाली पुस्तकको
पहिलो पाठ तपाईँको कविता होस्
जसको शीर्ष होस्
“शिक्षामा चुनौती र समाधान”
उनीहरूलाई पहिलो पाठले नै सिकाओस् कि
उनीहरूले किन पढ्नुपर्छ ??
के के पढ्नुपर्छ ??
कसरी पढ्नुपर्छ ??
कहिले पढ्नुपर्छ ??
एउटा महत्त्वपूर्ण कुरा ,,,
उनीहरूलाई यो कुराको ज्ञान जरुर होस् कि
“पढ्नुपर्छ” ।
जहिले पनि , जहाँ पनि, जे गर्न पनि पढ्नुपर्छ
हो पढ्नैपर्छ ।
@
बिहादी -6 पर्वत
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।