मान्छेले जन्मँदै आफ्नो उद्देश्य तय गरेर त कोही पनि जन्मँदैन होला । जीवनयात्रा गर्दागर्दै उसको उद्देश्य पनि बनिँदै जाँदो हो । जसरी मूल फुटेर कहाँ कति कसरी बग्ने, कहाँ सिञ्चन गर्ने भन्ने कुनै पूर्वनिर्धारित उद्देश्यबिना नदी समुन्द्रसम्म पुग्छ र लक्ष भेट्टाउँछ । सबै उद्देश्य पूरा हुन्छन् भन्ने पनि छैन । जीवनमा अनपेक्षित आइदिने मोडहरूले गन्तव्य कता मोडिन्छ, थाहै नहुने ।

यस्तै, गोरखामा जन्मेर भारतका विभिन्न ठाउँमा बाल्यकाल एवं किशोरावस्था बिताएका चन्द्र गुरुङ जवान हुँदा काठमाडौँ छिरेका रहेछन् । कलेज पढ्न भनी काठमाडौँ पसेका उनी बोर्डिङ स्कुलमा पढाउँदै अल्झिएछन् । यसरी अनेक सङ्घर्ष, हन्डर र कर्मका गल्ली-गल्छेडा अनि चौडा सडकको यात्रा गर्दै जाँदा उनी मरुभूमिको छातीसम्म पुगे । र, मरुभूमिमै रसायो कविताको खास मूल । उनी बने कवि । यस बिचमा उनी एउटा श्रीमान् पनि बने होलान्, एउटा बाबु बने होलान् । मालिकका लागि इमानदार कारिन्दा बने होलान् । र, सबैभन्दा बढी त एक जिम्मेवार पुत्र बने होलान् ।

तर यी सबैभन्दा पर उनको एउटा स्थायी र सार्वजनिक पहिचान बनिसकेको छ- उनी कवि हुन् ।
पछिल्लो केही समय यता उनका फुटकर कवितासँग परिचित हुँदै आएको मैले पहिलो पटक पढेको कृति हो- ‘जब एउटा मान्छे हराउँछ’ । अझसम्म त मैले कवि चन्द्रलाई भेटेको छैन । तर फेसबुकबाट यदाकदा सम्पर्क भइरहन्छ । आफूजस्तै लाग्छन्- गुट, भीड र कर्पोरेट बजारको दुनियाँभन्दा पर कतै बसेर कविता कर्म गरिरहने । शान्त र भद्र मानिस ।

उनका कविता पनि उनीजस्तै छन्, शालीन र भद्र विद्रोह बोल्ने ।

‘डढेलोले खाएको ठुटोमाथि बसेर एउटा चरीझैँ
गीत गाइरहन्छ जीवन ।

चन्द्रका कविता हृदयको आवाज हुन् । सदाबहार पालुवाझैँ उनका कवितामा जीवन दर्शन पलाइरहन्छ । जीवनमा अनगिन्ती दुःख, विषाद, सङ्घर्ष, सास्ती र समस्याहरू जेलिइरहन्छन् । तर पनि आशाको किरण झुल्किन छाड्दैन, रहरका पालुवा पलाई नै रहन्छन् । यही आशामा नै त जीवन छ, जसले डोर्याइरहन्छ उज्यालोतिर ।

आठ खण्डमा विभाजित ‘जब एउटा मान्छे हराउँछ’ सङ्ग्रहमा जम्मा ५१ थान कविता छन् । अधिकांश कविता छोटा छन्, तर ती वजनदार छन् । ‘बाको अनुहार’ बाट सुरु भएर ‘आमा’ कवितामा पुगी सङ्ग्रहको बिट मारिएको छ । कविले बाको अनुहारमा बाको हुलिया, दुःख-सङ्घर्ष मात्र वर्णन गरेका छैनन्, आफ्नो पहिचान समेत खुलाएका छन् । पहिचानको मुद्दाको कुरा बेलाबेला उठ्ने गर्छ । पहिचान भनेको चर्का नारा या उग्र अभिव्यक्ति मात्र हो भन्ने भ्रमबाट कवि मुक्त छन्, र त उनको शालीन पहिचान सचेत शब्दहरूबाटै प्रकट भएको देखिन्छ ।

पानीलाई मुसलधारे आगो झरिरहेको देख्ने कवि एउटा साथीको अवसानमा विचलित छन् । अहङ्कारले मानिसलाई कसरी थिच्छ भन्ने कुरा छोटो कवितामा वजनदार अभिव्यक्ति दिएका छन् । राजनीतिक सर्कसमा देशलाई कसरी खेलौना बनाइएको छ, कसरी सीमित स्वार्थका लागि लुछिएको छ भन्ने कुरा उनको दोस्रो खण्डका कविताहरूमा पाइन्छ । देशको अवस्था बल्ब फुटेको, निभेको एउटा जीर्ण ल्याम्पपोस्टझैँ छ ।

अर्कोतिर देशलाई हड्डीको टुक्राकै रूपमा बिम्बित गर्दै चारैतिरबाट कुकुरहरूले लुछिरहेको भाव कविले दर्साएका छन् । जनजीविकाका सवालमा गम्भीर नहुने सरकारलाई देशको भोकले गिज्याइरहेछ । आफ्नो नेताको विरोध सुन्न नसक्ने कार्यकर्ताहरू देशका लागि आह्वान सुन्न चाहँदैनन् । नेताले कसरी मासुभात, रक्सी या जागिरको लोभ देखाएर कार्यकर्ताहरूको बुद्धि, विवेक, चेतना र आदर्श लुटिरहेका हुन्छन् भन्ने कुरा दास मानसिकताका कार्यकर्ताहरूलाई नै थाहा हुन्न । भोटजात्रा खेल्न माहिर कुर्सीलम्पट नेताहरूले बेरोजगारी, अभाव र निराशामा नै आफ्नो सम्भावना जीवित देख्ने मानसिकताको चित्रण चन्द्रका कवितामा आएको छ ।

युवाहरू दिनहुँ बाध्यतावश परदेसिइरहेको कुराले कविलाई नराम्रोसँग चिमोट्छ । तैपनि उनी शालीन व्यङ्ग्य, विद्रोह र भावमा उन्छन्- बिम्बहरू । चराहरूले छाडेर गएको रुखजस्तो देशको विम्ब, मरुभूमिलाई मृगतृष्णापूर्ण जीवनको प्रतीक र बिरुवा उखेलिएर अर्कै ठाउँमा पुगे पनि त्यसको जरामा अलिकति आफ्नो जन्मस्थलको माटो अडिएकै हुन्छ भन्ने भावले उनको विम्बचेत झल्काउँछ । जरामा माटोको विम्बमार्फत उनले आफ्नो माटोको माया जहाँ पुगे पनि हृदयमा साँचिएकै हुन्छ भन्ने भावबोध गराएका छन् । रहर या बाध्यताले संसारभरि छरिन पुगेका नेपालीहरूले माटोको माया बिर्सन सक्दैनन् । कतिले छातीभरि, आँखाभरि, दिमागभरि या काँधभरि अलिकति देश (देशको माया) बोकेरै परदेसिनु परेको यथार्थ ‘बाँकी देश’ कवितामा मीठो पाराले उनेका छन् । तर त्यसरी जानेहरूको सम्झनामा यता बाँकी देश दुखिरहेको कुराले नरमाइलो लाग्छ ।
एकातिर आजको स्वार्थी मान्छे आफूलाई खान र मोजमज्जा गर्न पुगेसम्म ‘सब ठिकठाक’ ठान्छ । उसलाई आफ्नै जन्मदाताको समेत परवाह हुँदैन, वृद्धाश्रममा राखेर निश्चिन्त हुन्छ । आफूलाई पुगेकै छ, अर्काका लागि किन सोच्ने भन्ने मानसिकताले आजको सहरिया मान्छेभित्र मानवता हराउँदै गएको कुरा मीठो व्यङ्ग्यमा प्रस्तुत गरिएको छ । अर्कोतिर जब अभाव, बेरोजगारीको दानव उग्राउन थाल्छ तब भने ‘सब ठिकठाक हुनै सक्दैन’ । यहाँनिर कविले शालीन भावमा विद्रोही चेतना प्रस्तुत गरेका छन् ।

हेरौँ-

“जब चुलोको आगो सडकमा सल्किन्छ
कुरूप समयले निद्रा बिथोल्छ
गीतहरू जोरदार भाषण बनेर चर्किन्छन्
तब चाहिँ
सब ठिकठाक हुनै सक्दैन ।”

साहित्यले प्रायः संसार जोड्न सक्ने सामर्थ्य राख्छ । तर, राजनीतिले विभाजन मात्र गराउँछ । कविहरूले थुप्रै हृदय जोड्न सक्छन्, मानव मात्रको नभई चराचर जगतकै प्रेम हृदयमा सजाउन सक्छन् ।

र त कवि भन्छन्-

“यसरी
आकाश र वर्षात्
वर्षात् र फूल
फूल र पुतली
पुतली र बादल
बादल र आकाशलाई जोडेजस्तै
एउटा कविले
स्थापना गर्छ थुप्रै-थुप्रैमा प्रेम ।”

सबैभन्दा बढी उनी परदेशमा रहेर कविता लेख्नुपर्दा नोस्टाल्जिक देखिन्छन् । बिरानो भूमिबाट आफ्नो भूमि सम्झेर जसरी हरेक नेपालीको मन भावुक बन्छ, त्यही भाव उनका अधिकांश कवितामा झल्किन्छ । परदेशमा कतै शान्त बस्न सक्दैन कवि हृदयको मनको चरी । यो आम परदेसिएका नेपालीहरूको मनको भाव हो । घरबाट खुसीको खबर आउँदा पनि परदेशमा भावुकताले मुटु काट्छ, दुःखको खबर आउँदा पनि पीडाले काट्छ ।

कवि लेख्छन्-

परदेश त
दुईधारे तरबार पो रहेछ
खुसीमा पनि काट्छ
पीडामा पनि काट्छ ।

सङ्ग्रहको शीर्ष कविता हो- जब एउटा मान्छे हराउँछ । यसमा कविको काव्यकौशल र विम्बशक्ति ओतप्रोत छ । उनले भन्न खोजेको भावलाई सरल शब्द बुनोट तर गहन विम्बविधानका माध्यमबाट शक्तिशाली अभिव्यक्ति दिएका छन् । परिवारको खुसी, आड, भरोसा सबै भन्नु त्यही घरको जवान मान्छे जब बाध्यताले परदेसिन्छ या परिवारबाट दूर हुन पुग्छ तब सबै कुरा हराएजस्तो लाग्छ । हाँसो, खुसी, आशीर्वाद, मायालु बातचित, सुगन्ध, भरोसा सबै हराएर परिवेश नै उराठलाग्दो बन्छ । त्यही मान्छे जब फर्केर आइपुग्छ- सबैतिर धरतीमा उल्लास छाउँछ, आमाको अनुहारमा उज्यालो पोतिन्छ ।

० ० ०

समग्रमा कवि चन्द्र गुरुङ कवितामार्फत् मातृभूमि, मातृभाषा, देश, आफ्नोपन र मौलिकताप्रति माया दर्शाउँछन् र गर्व पनि गर्छन् । तर राजनीति र अन्य विकृतिले परिवेश अस्तव्यस्त पारेकोप्रति उनको असन्तुष्टि र शालीन विद्रोह चेत झल्किन्छ । उनका कवितामा असङ्गतपूर्ण जीवनको चित्रण छ र एउटा सार्थक जीवनको खोजी छ । आम देशवासी र परदेसिएका युवाहरूको भोगाइ नै उनका कविताका आधार स्तम्भ हुन् । त्यसैकारण यस सङ्ग्रहभित्रका कविताहरू जसले पढ्छ, उसैको हृदयमा बास पाउँछन् ।

यसै सङ्ग्रहको भूमिकामा लेखक/समीक्षक राजकुमार बानियाँले भनेजस्तै कवि चन्द्र गुरुङ कुनै पनि आवरणमा ‘पोलिटिकल्ली करेक्ट’ हुने उद्यममा छैनन् । जीवनका शाश्वत मूल्यको खोजी नै उनको काव्यलक्ष हो । यसरी कवितामा जीवन लेखेर आफ्नो सशक्त स्थान बनाइसकेका कवि चन्द्रले अब दमदार गद्य (निबन्ध/आख्यान) पनि लेखेको हेर्न मलाई मन छ ।