गोरखा बजारमा जन्मिई काठमाडौँ सोह्रखुट्टे बसाइ भएका साहित्यकार राजेन्द्रप्रसाद अर्याल विगत बाह्र वर्षदेखि अमेरिकाको म्याडिसन सहरमा रहँदै आउनु भएको छ । नेपाली साहित्याकाशमा दम्पति साहित्यकारको सङ्ख्या अत्यन्तै न्यून छ । त्यस न्यूनताभित्र अर्याल दम्पति पर्नु हुन्छ। राजेन्द्रकी श्रीमती सीता अर्याल पनि साहित्यकार हुनुहुन्छ। परदेशमा रहेर पनि यो जोडी नेपाली साहित्यको सेवामा निरन्तर कृयाशील छ। झन्डै ३३ वर्ष त्रिभुवन विश्वविद्यालयमा सेवा गर्दाको लामो र परिपक्क अनुभव छ राजेन्द्रसँग । समाजका प्रवुद्ध एवं साहित्यिक व्यक्तित्वहरूको बारेमा निरन्तर प्रकाशित गर्दै आउनु भएको जीवनीपरक संस्मरणात्मक निबन्ध रसमय र लालित्यपूर्ण हुनाले पठनयोग्य मानिन्छ। अनेसास र एनआरएनसँग पनि जोडिनु भएका राजेन्द्रको केही समय पहिले प्रकाशित कवितासङ्ग्रह “आजको मान्छे” निकै चर्चामा छ।
प्रस्तुत छ, साहित्यपोस्टका लागि अमेरिकामा प्राध्यापनरत् साहित्यकार विश्वराज अधिकारीले राजेन्द्र अर्यालसँग गर्नुभएको कुराकानीको सम्पादित अंश-
१-तपाईँ साहित्य लेखनमा मात्र होइन दण्डपाणि अर्ज्याल स्मृतिकेन्द्र मार्फत वाङ्गमय सेवा र समाजसेवामा पनि कृयाशील हुनुहुन्छ। यो संस्था किन स्थापना गर्नु भयो र यसले के काम गर्छ ?
समाजमा बृद्ध पुस्ता तथा पितृप्रति बढ्दै गएको अनास्था र गैर जिम्मेवारीपनले हामीलाई सँधै पिरोलिरहन्थ्यो । आफ्ना ऊर्जाशील समय मात्र सन्तानको खुसी र भलाइमा समर्पण गर्ने तिनै आमाबाबु आज आफ्नै सन्तानको अपहेलनाबाट पीडित छन्। वृद्ध पुस्ता त्रिशुलीको भेलले पाखा लगाएको बेवारिसे मुढो बनेर तिरस्कृत हुँदै गएका देखिन्छन् । यस्तो स्थितिमा जन्मदिने बाबुआमाप्रति कृतघ्न हैन कृतज्ञ बन्न सकौँ भन्ने सन्देश प्रवाहित गर्न आवस्यक देख्यौँ। साथै पिताजी शिक्षक, विविध विषयहरूको ज्ञाता र समाजसेवी पनि हुनुहुन्थ्यो। हामी छोराछोरीहरूले कोषको व्यवस्था गर्यौं । समाजका प्रतिष्ठित व्यक्तिहरूको सक्रियता एवं सहभागितामा स्वर्गीय पिताजीको नाममा यो स्मृतिकेन्द्र १८ वर्ष पहिले स्थापना भयो र सामाज अनि वाङ्गमयको सेवामा निरन्तर कृयाशील छ। स्मृतिकेन्द्रले विविध विषयका २० वटा पुस्तकहरू प्रकाशित गरिसकेको छ । पिता माताको संयुक्त नाममा स्थापना भएको “दण्डपाणि नन्दकुमारी स्मृति राष्ट्रिय पुरस्कार” देशका विविध विषयका विशिष्ट विद्वान् विदुषीहरूले वार्षिक रूपमा प्राप्त गर्दै आउनु भएको छ। वार्षिक रूपमा नै खोजमुलक लेखहरूको सँगालोको रूपमा “ज्ञानविन्दु” नामक स्तरीय र लोकप्रिय पत्रिका प्रकाशित हुन्छ, आदि।
२-अचेल के गर्दै हुनुहुन्छ ? अब के र कुन कृति ल्याउने तर्खरमा लाग्नु भएको छ ?
विशेष त्यस्तो केही गरिरहेको छैन। दिनचर्या नियमित रुपमा यथावत चलिरहेको छ। लेखनमा खासै समय दिन सकिरहेको छैन। केही कृतिहरूका सामग्रीहरू आधाआधि भएका छन्। यो नै कृति ल्याउँछु भनेर निर्णय त गरेको छैन। जे होस्, अब नेपाल जाँदा अर्को कृति ल्याउने प्रयासमा छु।
३- तपाईँको पछिल्लो कृतिको नामाकरण “आजको मान्छे” कसरी हुन गयो ? यसमा के सन्देश दिन खोज्नु भएको छ ? यो कविता सङ्ग्रहमा पाठकहरूले के नौलो कुरा पाउने अपेक्षा गर्नु भएको छ ?
यस सङ्ग्रहमा भएका ५१ वटा कविताहरू मध्ये आजको मान्छे नामक कविता शीर्ष कविता हो । यस शीर्ष कवितामा आजको मान्छे कृतघ्न, अवशरवादी, निष्ठुरी, स्वार्थी हुँदै गएको छ । अँध्यारोको फाइदामा रम्न चाहन्छ र अमानवतावादी बन्दै गएको छ भनी मान्छेको नकारात्मक चरित्रको चित्रण गर्न खोजिएको छ । अपितु समग्रमा मान्छे त्यस्तो मात्र हुँदै होइन। आखिर प्राणीहरूमा सर्वश्रेष्ठ त मान्छे नै हुँदै हो ।
किन पढ्ने भन्ने प्रश्नमा- यसमा आवाज छ, सन्देश छ, अनुभूतिका श्रृङ्खलाहरू छन्। प्रयुक्त शब्द, शैली र भाषाको प्रवाहले मन छुन सक्छ र पाठकहरू आनन्दित हुन पुग्छन् भन्ने लाग्छ मलाई। यस विषयमा मैले ठुलो पैरवी गर्नु भन्दा पाठकहरूको अदालतमा छोड्नु नै उचित हुने म देख्छु ।
४- के आजको मान्छे यान्त्रिक जीवन बाँचिरहे जस्तो लाग्छन् ?
मानव जीवनका विभिन्न अवस्थाहरूलाई विभिन्न नामकरण गरिएको पाइन्छ। ढुङ्गे युग,फलामे युग,ताम्र युग भनिएजस्तै अहिलेको युगलाई यान्त्रिक युग भन्न सकिन्छ। हालको मान्छेको जीवन पनि एउटा यन्त्र समान सञ्चालित छ। त्यसैले आजको मान्छे यान्त्रिक जीवन बाँचिरहेछ भन्दा अत्युक्ति भयो जस्तो लाग्दैन।
५- कुन कुन विधाहरूमा कलम चलाउनु हुन्छ ?
मेरा पुस्तकहरू कथा, कविता र नियात्रा विधाहरूमा प्रकाशित छन्। त्यस बाहेक निबन्ध, संस्मरण, मुक्तक, हाईकु, सुसेली, गजल आदि विधाहरूमा कलम चलाउँदै आएको छु । गीत पनि लेख्छु र एउटा गीत सङ्गीतबद्ध भई बजारमा आएको छ।
६- यहाँहरूको जोडी आदर्श जोडी हो। यहाँहरू पत्नी र पति, दुबै नै साहित्यकार हुँदाको अवस्थालाई कसरी लिनुभएको छ ?
हामीलाई “आदर्श जोडी” द्वारा सम्बोधन गरिदिनु भएकोमा हार्दिक धन्यवाद छ । हो, मेरी पत्नी सीता अर्याल पनि साहित्यकार हुन् । यो संयोग बिरलै जोडीहरूमा पाइने अवस्था हो । जीवन जिउने क्रममा मात्र नभई साहित्य सृजनामा समेत ‘ढुङ्गाको भर माटो र माटोको भर ढुङ्गा’ भएर एउटै रथमा सवार हुन पाउनु समयले जुराएको एउटा अवसर हो जस्तो लाग्छ मलाई ।
७- कुन कृति भर्खरै पढिसक्नु भयो र कुन पढिरहनु भएको छ ?
स्वर्गीय राजेश्वर देवकोटाको स्मृतिग्रन्थ भर्खरै पढेर सक्याएँ। बाराक ओबामाले लेखेका ‘ड्रिम फ्रम माइ फादर‘ नामक नेपालीमा अनुवादित पुस्तक दोहोर्याएर पढिरहेको छु।
८- कस्तो लेख्न पढ्न मन पराउनुहुन्छ ? मन पर्ने साहित्यकारहरू भन्न मिल्छ ?
विषयवस्तु र घटना जे जस्तो भए पनि भाषा, शैली, अभिव्यक्ति, प्रयुक्त शब्दहरू र शील्प आदिको आधारमा मन छुने, हृदय कम्पित, झङ्कृत पार्ने लेखन मनपर्छ। लेख पढेपछि आफ्नो भाषा र शब्द भण्डारमा केही थप्न पाइयोस् भन्ने चाहना राख्छु म। साहित्यको नाममा अदालती तमसुक लेखनको ढाँचा, शैलीमा लेखिएका हृदयसँग कुनै साइनो नै नपर्ने पुस्तकहरू बजारमा धेरै आएका छन् । सामान्यतया ती मेरो रोजाइमा पर्दैनन्।
मन पर्ने साहित्यकारहरू धेरै नै छन्। यो सानो संवादमा २/४ जनाको नाम भन्नु पर्दा ध. च. गोतामे, ताना शर्मा ( विशेषत: पाताल प्रवास प्रिय लाग्छ) , खगेन्द्र सङ्ग्रौला, राजेश्वर देवकोटा आदिका लेखाइबाट म बढी आनन्द महसुस गर्छु। सन्ध्या रेग्मीको पहिलो पुस्तकबाट नै प्रभावित छु। शारदा शर्माको पनि केही पुस्तकहरू मन पर्छन् ।
९- साहित्य लेखकहरूको तुलनामा पाठक सङ्ख्या कम छ भनिन्छ। पठन संस्कृतिको विकास गर्न के गर्नु पर्ला ?
पाठक सङ्ख्या कम, लेखकहरू धेरैजस्तो देखिए होला तर मलाई त्यस्तो लाग्दैन। तीन करोड जनसङ्ख्या भएको मुलुकमा खासै साहित्यकार कति छन् र ? पठन संस्कृतिको विकास गर्न शैक्षिक र आर्थिक सवलीकरणमा सरकारले जोड दिनु पर्छ।
१०- नेपाली साहित्यको स्तरीयतामा कमी भएर पाठक सङ्ख्यामा कमी भएको भन्ने सामान्य बुझाइ छ। यो बुझाइ के सत्य हो ?
यो पनि एउटा कारण हुन सक्ला तर यो नै प्रमुख कारण भने होइन जस्तो लाग्छ मलाई। समयको गतिसँगै नेपाली साहित्यको गुणस्तरियतामा पनि क्रमश: बृद्धि हुँदै गएको छ। शैक्षिक जनचेतना र आर्थिक पक्ष मजबुत हुन सके पाठक र लेखक दुबैको सङ्ख्या बृद्धि हुन सक्ने स्वत: सिद्ध छ।
११- के विज्ञापनले पुस्तक बिक्री बृद्धिमा सहयोग पुर्याउँछ ?
विज्ञापनले निश्चय रुपमा सहयोग पुर्याउँछ। तर दीर्घ कालसम्म बिक्री हुन मूल कुरा पुस्तक नै स्तरीय हुन आवस्यक हुन्छ। अधिक विज्ञापन नै भइरहे पनि यदि पुस्तक अस्तरीय छ भने बिक्री वृद्धि क्षणिक हुन्छ। त्यसैले पाठक वर्ग विज्ञापनमा मात्रै पनि निर्भर हुनुहँदैन। विज्ञापन र पुस्तकको तौल दुवैको समय सन्दर्भलाई बुझ्न सक्नु पर्छ।
१२- नेपाली साहित्यलाई अन्तर्राष्ट्रियकरण गर्न के गर्नु पर्ला ?
सर्व प्रथमत: हाम्रो देश नेपाललाई अन्तर्राष्ट्रिय जगत्मा चिनाउन सक्नु पर्यो। पहिचानको लागि देशको सर्वतोमुखी विकास आवस्यक हुन्छ। जब देश विकसित र सक्षम हुन्छ तब मात्र त्यो देशको भाषा, साहित्य, संस्कार र संस्कृतिको खोजी हुन्छ, चासो बढ्छ । ती विषयवस्तुहरूले अन्तर्राष्ट्रिय जगतमा बजार पाउँछन्। अनि हाम्रा साहित्यिक ग्रन्थहरू विभिन्न भाषाहरुमा अनुवाद गर्ने व्यक्ति वा संस्थाहरूको लर्को लाग्नेछ। हाम्रोजस्तो विकासशील देशहरूको साहित्य अन्तर्राष्ट्रियकरण हुन अति कठिन हुन्छ।
हाम्रो देशको उच्चस्तरको पुरस्कार प्राप्त कुनै कृति अङ्ग्रेजी भाषामा पनि अनुवाद भएको छ। तर त्यसले खासै बजार पाउन सकेन जस्तो लाग्छ ? राम्रो बिक्री वितरणको लागि अहं भूमिका भएको बजार व्यवस्थापनको पाटो फेरि अर्को छँदैछ। साथै अङ्ग्रेजी भाषामा मात्रै छापिँदैमा अन्तर्राष्ट्रियकरण हुने पनि त होइन। त्यसैले विश्व बजारमा नेपाली साहित्यलाई पुर्याउन धेरै अवयवहरू मिलाउन आवस्यक हुन्छ।
१३- लामो समयदेखि अमेरिकामा हुनुहुन्छ। विदेशमा नेपाली साहित्यको स्तरीयता कस्तो देख्नु हुन्छ ?
अहिले नेपाली भाषा र साहित्यको संसारभर अधिक प्रचार प्रसार भैरहेको पाउँछु। नेपाली साहित्यिक सङ्घ/ सङ्गठनहरूको जालो ब्यापक रुपमा फैलिँदै गएको छ। यो सन्तोष र स्वागतयोग्य कुरा हो।अब साहित्यिक संस्थाहरूले यसको स्तरीयतामा ध्यान दिन अति जरूरी देख्छु। त्यसको लागि साहित्यको विविध विधामा विज्ञहरूबाट व्यापक प्रशिक्षण, सेमिनार, गोष्ठी, अन्तर्कृयाआयोजना गरी ज्ञान दिनेतर्फ लाग्न ढिलो भैसकेको अनुभव गरेको छु मैले । अन्यथा “परदेशको साहित्य रहरको साहित्य” भन्ने आरोपबाट मुक्त हुन गारो हुन्छ।
१४- पुस्तक प्रकाशनमा साहित्यकारले व्यहोर्न परेको मुल समास्या के देख्नुहुन्छ ? लेखक, प्रकाशक र वितरकहरू बिचको अन्तरसम्बन्ध कस्तो छ ?
पुस्तक लेख्नभन्दा प्रकाशन गर्न अत्यन्तै कठिन अनुभव गरेका छन् साहित्यकारहरूले भन्ने लाग्छ मलाई। म यकिन हुन त सकेको छैन तर पनि नब्बे प्रतिशत साहित्यिक पुस्तकहरू स्वयं लेखकहरूले ऋण,धन गरेर वा गाँस काटेर व्यवस्था गरेको रकमबाट छाप्न, प्रकाशन गर्न विवश छन् । पुस्तकमा प्रकाशकको लोगो वा नाम जे जसको देखाइए तापनि नगदको मुठो लेखकले नपछारिकन छापिने अवस्था छैन।
यसरी बल्लबल्ल छापिएका साहित्यिक पुस्तकहरू पुस्तक बिक्रेता समक्ष पुर्याउनु भनेको सामान्यतया निशुल्क नै दिन लैजानु सरह हो। घरमा थुप्रिनु भन्दा बिक्रेताकहाँ दिँदा देश परदेशमा पुर्याउलान् र नाम कमाउन सकिएला, प्रचार प्रसार होला भन्ने झिनो आशा बाहेक खासै आर्थिक उपलब्धि केही देख्दैनन्। अचम्मको कुरा त यो छ कि हाम्रो समाजमा कम्तिमा ४०/५० हजारको ठुलो धन लगानी गरी उत्पादन गरिएको वस्तु लगानीकर्ता स्वयंले नै साथीभाइको हातहातमा निशुल्क बाँड्दै हिँड्ने गरेको “नेपाली साहित्यिक पुस्तक” बाहेक अरू कुनै चिजबिज पनि छैन होला । समग्रमा भन्नु पर्दा साहित्यले “खान दिँदैन मात्र हैन, ऋणधन बोकाउँछ” भन्ने जान्दाजान्दै पनि नाम र परिचयको झिनो त्यान्द्रो समाएर हिँडेका छन् साहित्यिक जनहरू। यी र यस्तै अवस्थाहरूबाट लेखकको समस्या र उल्लेखित तीन पक्षबिचको अन्तर सम्बन्ध कस्तो छ भनी स्वत: बुझ्न सकिन्छ।
१५- परदेशी जीवन कस्तो अनुभव भैरहेछ ?
फरक भाषा, फरक भुगोल मात्र हैन लवाइ, खवाइ, धर्म, संस्कार, संस्कृति, रहनसहन, हावपानी, सभ्यता, नियम, कानुन र राष्ट्र नै फरक ब्यहोर्न पर्दा मैले दोश्रो पटक जन्मेर शिशु अवस्थादेखि सिक्दै आएको जस्तो अनुभव गरेँ। अवसर, भौतिक सुखसुविधा राम्रै छ। परदेशमा परिवारसँग बसेको छु । असन्तोष लिन पर्ने छैन । तर देश, जन्मस्थल, बन्धुबान्धव, आफन्तजन, चाडपर्व, बालापन, साथीभाइ पलपल सम्झना हुन्छ। भावुक बनाउँछ, दिलमा नरमाइलो धुन गुन्जिरहन्छ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।