गत असोज ३० गते वाङ्मय पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन भयो । कलियुगको आयु सय वर्षभन्दा माथि कमैको मात्र हुन्छ त्यो पनि स्वस्थ र सक्रिय रुपमा ।

जति नै दीर्घायु भए पनि संसारका कुनै पनि जीवले मृत्युलाई जित्न सकेका छैनन् । वेद र उपनिषद्हरुले पनि ( शतं जीवेम शरद:) भनेर मानिसको आयु बढीमा सय वर्ष मात्रै परिकल्पना गरेको छ । महाभारत र अन्य पुराणहरुमा अष्ट चिरञ्जीवीको लामो आयु भएको वर्णन पाइन्छ । मृत्युलाई कसैले जितेको कुरा यथार्थमा त के साहित्यमा पनि पाइँदैन ।

जसको जन्म हुन्छ त्यसको मृत्यु अकाट्य छ । यो नियम हामी जीवित प्राणी र वनस्पतिमा मात्र हैन सम्पूर्ण जगतमा लागू हुन्छ। हामीले देखेका जीव र वनस्पति मात्र हैन आकाशमा देखिने सबै ग्रह, नक्षत्रका साथै एक दिन यो सम्पूर्ण ब्रम्हाण्डकै मृत्यु हुनेछ । तर हामी यहाँ जैविक मृत्यको बारेमा मात्र चर्चा गर्नेछौँ।

जैविक मृत्युको कुरा गर्दा हरेक जीव (जीव भनेर यहाँ जीवन हुने सबैलाई समेटिएको छ जसमा वनस्पति पनि पर्छन्) जो जन्मन्छ, ऊ बुढो या बिरामी हुन्छ, उसका अङ्गहरूले बिस्तारै काम गर्न छोड्छन् । अन्त्यमा उसले मृत्यु वरण गर्छ। सबैजसो जीवहरू आफूले मृत्यु वरण गर्नुभन्दा पहिले कुनै न कुनै माध्यमबाट आफूजस्तै अर्को जीव उत्पादन गर्छन् । जैवीक चक्र सुचारू गर्न योगदान गर्छन् ।

पृथ्वीमा रहेका जीवको अध्ययन गर्दा के थाहा हुन्छ भने हरेक जीव मृत्युदेखि डराउँछ । सकभर मृत्युको यादबाट टाढै बस्न वा बच्न चाहन्छ । सामान्य चेतना भएका किट पतङ्गदेखि उच्च चेतना भएका मानिसहरू सबै यो भयबाट अछुतो छैनन् ।

मृत्यु अवश्यम्भावी छ भन्ने जान्दाजान्दै पनि हामी यसबाट बच्न हरसम्भव प्रयत्न गर्छौं । त्यसैले परापूर्व कालदेखि नै मानिसले मृत्युबाट कसरी बच्ने भन्ने उपाय खोजी गरिरहेको छ । यसमा अनेक अनुसन्धान र परिक्षणहरू भैसकेका छन् । ज्ञान र ध्यानले यसको रहस्य पत्ता लगाउने प्रयासहरु पनि भैरहेका छन् । जीवनको अमृत निकाल्ने प्रयासमा मानिसले हजारौँ वर्ष बिताइसकेको छ। सफलता भने खासै हासिल भएको छैन।

हामीलाई कसैले मान्छेको आयु कति हो भनेर सोध्दा हामी प्रायः सबैले दिने उत्तर एकै हुन्छ- १०० वर्ष । तर मान्छेको आयु १०० वर्ष नै हुन्छ भन्ने कुनै वैज्ञानिक प्रमाण छैन । फरक फरक धर्मग्रन्थहरूमा फरक फरक आयु पाइन सक्छ ।

इतिहासका पाना पल्टाउने हो भने मानव विकासको सुरुवाती समयमा मानिसको आयु ४०-५० वर्षको हाराहारीमा भएको बुझिन्छ । आजभन्दा ३०० वर्ष अगाडि अठारौं शताब्दीको सुरुवातसम्म पनि विश्वका सबैजसो देशहरूमा मानिसको औसत आयु ४०-५० कै हाराहारीमा थियो। त्यसो भन्दै गर्दा त्यो समयका मानिसहरू ५० वर्ष भन्दा बढी बाँचेनन् भन्ने हैन, त्यो अवधिमा धेरै मानिसहरू ७०-८० वर्ष बाँचेका प्रमाणित उदाहरण पनि छन् तर त्यो संख्या निकै कम थियो । अधिक बाल मृत्युदर अनि घातक रोगहरूको उपचार सम्भव नभएकाले बाल मृत्युदर उच्च थियो । यसले औसत आयु घटाउनमा योगदान गरेको थियो।

एक्काइसौं शताब्दीमा आइपुग्दा विश्वमा मानिसको औसत आयु ७४ वर्ष जति छ । तर यो औसत आयु महिला, पुरुष र बालबालिका सबैको मिलाउँदाको औसत हो । सामान्यतया महिलाको आयु पुरुषको भन्दा अलिकति बढी हुन्छ ।

यदि बालमृत्युको तथ्याङ्क निकालिदिने हो भने मानिसको औसत आयु ८५ वर्ष जति हुन आउँछ । विकसित देशमा यो केही उच्च छ भने गरिब र अविकसित देशहरूमा यो कम छ । नेपालको कुरा गर्दा औसत आयु ७० वर्ष जति मात्र छ । यसरी हेर्दा मानिसको आयु वास्तविक कति हो भनेर कसैले पनि यकिन गरेर भन्न सक्ने स्थिति छैन । तैपनि पहिलेको तुलनामा अहिले मानिसको औसत आयु केही बढेको मान्न करै लाग्छ ।

उसो भए के मानिसले विज्ञान र प्रविधिको क्षमताले आफ्नो आयु असीमित रूपमा लम्ब्याउन सक्छ त ? अहिलेको प्रविधिमा त्यो सम्भव छैन । भविष्यमा आउने प्रविधिहरूले यो प्रश्नको सकारात्मक उत्तर दिन पनि सक्नेछन् ।

अहिलेकै अवस्थामा मानिसलाई बूढो हुनबाट जोगाउने र प्राकृतिक मृत्युबाट रोक्ने प्रविधि निकै कठिन र चरम काल्पनिक देखिन्छ । सूचना प्रविधि, यन्त्रमानवको विकास र जैव-रासायनिक क्षेत्रले मारेको फड्को अनि चिकित्सा शास्त्रको विकासले यी सबै विषयलाई एकत्रित गरेर भविष्यमा मानिसले मृत्युलाई जित्ने उपायको खोजीमा सार्थकता नपाउला भन्न चाहिँ सकिँदैन।

उसो भए मानिस कति उमेर सम्म बाँच्न चाहन्छ त ? १०० वर्ष २०० वर्ष या असीमित ? यो प्रश्नको उत्तर पनि सरल छैन । के चाहिँ प्रष्ट भन्न सकिन्छ भने प्राकृतिक मानिस जब ९० भन्दा बढी उमेरको हुन्छ उसका अधिकांश अङ्गहरू अत्यधिक प्रयोगले र प्राकृतिक कारणले थोत्रा भैसकेका हुन्छन् । मानवका सम्पूर्ण गतिविधिलाई सञ्चालन र नियन्त्रण गर्ने दिमागका तन्तुहरू पनि वृद्ध भएर आफ्नो काम राम्रोसँग गर्न नसक्ने भैसकेका हुन्छन्।

सय वर्षभन्दा बढी बाँचेका अधिकांश मानिस अरूको हेरचाहमा बाँचेका हुन्छन् । त्यसैले मानिसको प्राकृतिक शरीरमा केही आधारभूत परिवर्त नगरी आयु मात्र सय वर्ष या त्यो भन्दा बढी बढाए पनि त्यसको केही अर्थ रहन्न । त्यसरी उमेर लम्ब्याइएका मानिसहरू खाली बाँच्नका लागि मात्र बाँचेका हुनेछन् । उनीहरूका लागि आफ्नो शरीर आफैंलाई भार भैसकेको हुन्छ । त्यसैले मानिसले यदि आयु बढाउने हो भने, यदि मृत्युलाई चुनौती दिने हो भने आफ्नो प्राकृतिक शरीरलाई पनि आधारभूतरूपमा परिवर्तन गर्नुपर्ने हुन्छ।

मानिसको प्राकृतिक शरीरलाई आधारभूतरूपमा नै परिवर्तन गर्न सम्भव छ ? यदि छ भने के मानिसले आफ्नो प्राकृतिक शरीरमा परिवर्तन चाहन्छ ? यो प्रश्नको उत्तर पनि निकै कठिन छ। यसको उत्तर विभिन्न मानिसको लागि, विभिन्न समाजको लागि, विभिन्न धर्म र संकृतिका लागि विभिन्न हुन सक्छ।

अहिलेको प्रविधिको विकास, मानिसको अधिक महत्त्वाकांक्षा र सोचाइमा भैरहेको तीव्र परिवर्तनले गर्दा मानिसले आफ्नो प्राकृतिक शरीरमा परिवर्तन स्वीकार्न अस्वीकार गर्ला जस्तो देखिँदैन । यदि मानिसले त्यो तथ्य स्वीकार्‍यो भने मानिसले आफूलाई अमर राख्न अहिलेको पूर्ण जैविक मानव अर्ध जैविक हुँदै पूर्ण अजैविक हुन तयार हुनुपर्नेछ।

मानिसको या जीवको मृत्यु भनेको उसको भौतिक शरीरले काम गर्न नसक्नु हो । तर जब दिमागले काम गर्न छोड्छ तब मात्र मृत्यु भएको मानिन्छ । त्यसैले सामान्य रूपमा बुझ्दा यदि दिमागलाई कुनै प्रविधिबाट जीवित राख्न सकियो भने मृत्युलाई जित्न सकिन्छ ।

हामी आफ्नो कुनै प्रिय साथीको निधनमा दुख मनाउँछौँ किनभने उसको मृत्युपछि ऊ हामीसँग बोल्न सक्दैन । उसले हामीसँग अन्तर्कृया गर्न सक्दैन । हामी आफ्नो मनको कुरा ऊसँग साट्न सक्दैनौँ । हाम्रो मनको कुरामा उसले कुनै प्रतिकृया दिँदैन । उसको शरीर गल्दै जान्छ र केही समयपछि नष्ट हुन्छ।

यदि हामीले ऊजस्तै शारीरिक बनाबट भएको कुनै कृत्रिम मानव बनायौँ अनि उसको दिमागबाट निकालेका सम्पूर्ण सूचना विद्युतीय माध्यमबाट उसको विद्युतीय दिमागमा राख्न सक्यौँ भने ऊ देख्दा पनि हामीले गुमाएको साथीजस्तै हुनेछ । उसका आनीबानी र कृयाकलाप सबै हामीले गुमाएको साथीको जस्तै हुनेछ। त्यो बेला हामी आफ्नो साथीको मृत्यु भएको अनुभव नै गर्ने छैनौँ । एक प्रकारले भन्दा ऊ अर्को रूपमा अमर भएर बाँचिरहेको हुनेछ । उसले मृत्युलाई जितेको हुनेछ। यो प्रविधिले मृत्युलाई प्रविधिक रूपमा अन्त्य गरिदिनेछ ।

मानिसले चिकित्साशास्त्रको विकासले मृत्युलाई केही ढिलो गराउन सफल भैसकेको छ । हुबहु मानिसजस्तै देखिने नक्कली मानिस बनाउने प्रविधि अहिले नै उपलब्ध छ । त्यसमा विकास गरेर, उसका चालचलन, हाउभाउ र उसको दिमाग पनि हाल्न सकियो भने मरेको मानिस मसानबाट फर्केर पुनः हाम्रो अगाडि ठिङ्ग उभिन सक्नेछ। यदि मानव दिमागको सबै सूचना विद्युतीय उपकरणमा सार्न सकियो र यसलाई पूर्णरूपमा प्रत्यारोपण गर्ने प्रविधको विकास भयो भने कुनै दिन भगवानले पनि रोक्न नसक्ने भनिएको मृत्युलाई नै मानिसले मृत्यु वरण गराइदिनेछ।

यसरी मृत्युलाई आफ्नो वशमा ल्याएर मानिसले भविष्यमा आफूलाई अमर राख्न सक्यो भने त्यो बेलाको सामाजिक अवस्था के होला त्यो हामीले अहिल्यै निर्क्यौल गर्न सक्दैनौँ । प्रविधिको माध्यमबाट यसलाई सार्थकता दिन सके पनि सामाजिक र राजनैतिक कारणले गर्दा यसले सार्थकता पाउला या नपाउला त्यो अर्को वहसको विषय हो।

यदि भविष्यको समाजले प्रविधिलाई स्वीकार्‍यो भने मानिस जैविकबाट अर्ध जैविक हुँदै पूरै अजैविक भएर यसले मृत्युको परिभाषा मात्र बदल्ने छैन, अहिलेकै रफ्तारमा प्रविधिको विकास अगाडि बढिरह्यो भने सायद अर्को शताब्दीसम्ममा मृत्युलाई पूर्णरूपमा आफ्नो अधीनमा राख्न सक्षम हुनेछ। त्यसो भयो भने मानिसलाई निरन्तर तर्साउने मृत्यु मानिसको विज्ञान र प्रविधिको विकाससँग डराएर आफ्नै मृत्यु पर्खिरहेको हुनेछ ।