‘’मेरो गाउँ डिजिटल बन्छ बन्छ’’…कवयित्री नैना अधिकारीको गाउँ डिजिटल बन्छ भन्ने सन्दर्भमा विश्वासिलो कविते हरफ ।

अहिलेको युग नै डिजिटल हो। सूचना र सञ्चार प्रविधिको युग हो । शिक्षा, स्वास्थ्य, चिकित्सा, वाणिज्य, उद्योग, मनोरञ्जन आदि सबै नै डिजिटल भइसकेका छन् । त्यसैले अहिलेको मानिसमा कम्प्युटरबारे ज्ञान हुन आवश्यक भइसकेको छ । डिजिटल ज्ञान नभएको मानिसलाई आजको परिवेशमा बाँच्न र टिक्न निकै गाह्रो हुने भएको देखिन्छ । भर्खरै गएको कोरोनाजन्य परिस्थितिले पनि डिजिटलकै वकालत गरेको देखियो । घरमा बसी कम्प्युटरमै शिक्षा, उद्योग, मनोरञ्जन, वाणिज्य आदिका प्राय:जसो कामहरू कम्प्युटरबाटै सम्पन्न भएको देखियो । त्यसैले डिजिटल व्यवस्थाको प्रयोजन अथवा उपयोग दिनप्रतिदिन बढ्दै गएको छ । डिजिटल प्रोडक्टहरूको माग बढेको छ ।

अहिले युवाहरूले मोबाइल, कम्प्युटर, ल्यापटप आदि विद्युतीय डिभाइसबाट ई-बुक पढेको पाइन्छ । डिभाइसमार्फत् नै ई-बुक किन्नसक्ने, पढेर फेरि कुनै फोल्डरमा राख्न सक्ने, जतिखेर मनलाग्यो फेरि निकाल्यो अनि पढ्न सक्नेजस्ता सजिला

व्यवस्थाहरू विकशित भएको पाइन्छ। अहिले ४/५ जीको जमानामा यी व्यवस्थाहरू युवाहरूमा निकै लोकप्रिय भएको देखिन्छ । कति सजिलै डिजिटल प्रोडक्टहरू किन्न र बेच्न सकिने ? कति सजिलै डिजिटल माध्यमबाट कुराकानी हुने, मित्रता गाँस्ने, रचनाहरू पोस्ट गर्ने, क्षणभरमै पाठकहरूबाट प्रतिक्रिया पाउने आदि आदि । पर्खिने समय छैन कसैको ।

किनकि जमाना डिजिटलको हो । मान्छे नभेटिकनै परिचय हुने । डिजिटल सम्पर्क । भेटघाट पनि ह्वाट्सएप, म्यासेन्जर, फेसबुक, फोन कल, भिडियो कल आदिमा । कम्ती समयमा धेरै काम । कति सजिलो गरिदिएको छ मोबाइल, कम्प्युटरले । सारा विश्वलाई नै समेटिदिएको छ। तर, ज्यादा मात्रामा मोबाइल, कम्प्युटर व्यवहार गर्दा आँखा, टाउको दुख्ने, कुण्ठा बढ्ने, डिप्रेसनमा भोग्ने आदि रोगहरू पनि बढेको छ । बैङ्किङ, फेसबुक एकाउन्टहरू हेक भएका छन् । अहिले मानिसहरू बिच कलह, झगडा आदि पनि डिजिटल माध्यमबाटै हुन थालेका छन् । यस्ता धेरै उदाहरणहरू छन् । असुविधा र सुविधाको बिचमा डिजिटल युग अघिबढिरहेको छ ।

यहीँ डिजिटल माध्यममा नै मैले नैना अधिकारीलाई भेटेको हुँ । फेसबुकमा मित्रता, त्यसपछि मुक्तकीय माहोलमा । प्रेमिल मुक्तकहरू लिएर सामाजिक सञ्जालमा झुल्किन्थिन् नैना । मैले देख्तादेख्तै बिस्तारै नैना मुक्तकबाट कविताको मोहमा फँसिन्। कविताहरू आउन थाले । म पनि कवितामा प्रतिक्रिया पस्किन थालेँ डिजिटेली । बिस्तारै डिजिटल परिचय भयो ।

उनको घर असमको कामरूप मेट्रो अन्तर्गत खेत्रीमा रहेछ । अर्थात् उनको बसोबासो असमको राजधानी छेउछाउमा रहेछ । पछि पछि उनले राज्यतहको मुक्तक प्रतियोगितामा पहिलो स्थान ओगेटेको पनि डिजिटेली थाहा भयो । कतिपय कविता प्रतियोगितामा पनि नैनाले स्थान पाएको समाचार डिजिटेली थाहा भयो । निबन्ध प्रतियोगिताहरूमा पनि पुरस्कार हत्याउन सफल बनिन् । यसैबिच उनको कविता पुस्तक पनि छापिएर विमोचन हुने निम्तो आयो डिजिटेली नै ।

तर, केही व्यक्तिगत असुविधाले गर्दा उक्त कार्यक्रममा सहभागी हुन सकिएन । पुस्तक विमोचन भयो । पहिलो कृति सन् २०२१ को डिसेम्बर महिनामा ‘घात-प्रतिघातका उद्गारहरू ।’ त्यसपछि नैनाको कलम अझ तिखारिँदै गयो। अहिले त नैना केवल मुक्तक, कवितामा अल्झिएकी छैनन् । उनी समीक्षा र निबन्ध विधामाथि पनि कलम चलाउन थालेकी छन् । फेसबुक झन्नै झन्नै नैनामय भइसकेको छ । उनले निकै पुस्तकहरूको समीक्षा गरेको डिजिटेली नै थाहा पाएको छु । विशेषगरी फेसबुकमा भेट्ने गर्छु। उनको कविता कृति विमोचनकै दुई-चार दिनपछि फेला पर्‍यो । पुस्तक पढ्दै गएँ । धेरै कविताहरू डिजिटल चेतका कविता रहेछन् । तर, त्यतिखेरै लेख्न सकिएन, अहिले यही डिजिटल चेतमाथि नै समीक्षात्मक लेख लेख्तैछु ।

सन् १९६१ मा प्रकाशित कविवर हरिभक्त कटुवालको कविता कृति ‘भित्री मान्छे बोल्न खोज्छ’ भित्र गाभिएको ‘मानिस हुँ’ कवितामा पनि डिजिटल चेत पाइन्छ । कविमा चेत थियो तर त्यतिखेर गाउँहरू डिजिटल बनिन थालेका थिएनन् । वैज्ञानिक उपकरणहरू प्रशस्त मात्रामा मानिसहरूका हातमा थिएनन् । तर यान्त्रिक युगको मानव भन्ने कविले थाहा पाइसकेका थिए । आउँदै गरेको समयमा मान्छे वैज्ञानिक यन्त्रमाथि सम्पूर्ण भरोसा गर्नुपर्ने स्थितिको कुरा कविले धेरै अघि नै थाहा पाइसकेका थिए । साधारण मानिसको भन्दा सोचमा फरक हुन्छ त्यसैले त ऊ कवि बन्छ ।

‘म मानिस हुँ’

यान्त्रिक युगको कर्मठ मानिस

पुग्नु छ मैले चन्द्रलोकमा

रच्नु छ मैले नौलो संसार

फोस्रिसकेको पृथिवीमा

गर्नु छ मैले अमृत सञ्चार।‘’
(हरिभक्त कटुवाल, म मानिस हुँ ।)

अहिले नैना अधिकारीले गाउँ डिजिटल बनिँदै गरेको अथवा मानिसहरूमा प्रशस्त वैज्ञानिक उपकरणहरू हात हातमा भएको देखेकी छन् । त्यसैले अब गाउँ डिजिटल बनिने तरखरमा छ भन्ने सोच आएको हुन सक्छ । उनको यस कविता कृतिमा रहेको पहिलो कविता नै डिजिटल चेतको रहेको छ, ‘मेरो गाउँ डिजिटल बन्छ बन्छ।’ अहिले डिजिटल व्यवस्था धेरै उन्नत भएको छ। तर आज पनि गाउँ सम्पूर्ण रूपमा डिजिटल बनिसकेको छैन ।

एकातिर डिजिटलको आनन्दमा रुमलिएको र सुमधुर सपना देखेको र अर्कोतिर आफ्नै दुख र पीडामा छटपटाएको गाउँको अन्तरद्वन्द्वको उब्जनी हो ‘मेरो गाउँ डिजिटल बन्छ बन्छ’। आज पनि गाउँमा धेरै गाउँले दृश्यहरू देखिन्छन् । कुनै कुनै गाउँमा त आजसम्म बिजुली नपुगेको समाचार पनि डिजिटल माध्यमबाटै थाहा भएको छ। कति गाउँले अझै दुरदर्शन, मोबाइल, कम्प्युटर दर्शन गरेकै छैन । त्यहाँ मान्छेको भेटघाट, बातचित सबै शारीरिक रूपमा नै हुन्छ, डिजिटेली मोबाइल हुँदैन ।

एकप्रकारले राम्रो हो, आँखाले आराम पाउँछ भने पैसाको खर्च हुँदैन अनि आपसी सम्बन्ध, भेटघाट, बातचित भइरहने । डिजिटल जमाना त्यसैले गाउँवासी पनि राम्रो दिन आउने सपना साँचेर बसेका छन् । धेरै समस्याहरूले गाउँ पिरोलिएको छ । अस्पताल जसैतसै बनिएका छन् तर डाक्टर छैनन्, रोगीहरूको सङ्ख्या दिनौँ बढेको छ तर रोगीहरूको हातमा धन छैन । युवाहरूको आँट हराइसकेको छ । भोटरहरू छन् तर विवेक-बुद्धि छैन । मानवता शून्य भएका अधिकारीहरूले देश चलाएका छन् भने नेताको बानीबेहोरा सप्रिएको छैन । डिजिटल सपना देखाएर भोट जितिन्छ अनि गाउँ फेरि ठगिन्छ । त्यही पनि नैनाको विश्वासमा कमी छैन । भरोसा छ उनको गाउँ डिजिटल बन्छ । गाउँवासीले डिजिटल सुख पाउँछन् । नयाँ सोच-विचारले संसारलाई हेर्नेछन् । अतीत र वर्तमानलाई आफ्नै आँखाले तुलना गर्नेछन् । भविष्यको बाटाको रोडम्याप बनाउनेछन् । डिजिटल सपना देख्नेछन् । त्यसैले गाउँको हाल बेहाल देखे तापनि कुनै दिन गाउँ डिजिटल बन्छ भन्ने सोच राख्दै उनी भन्छिन्-

‘हेरिराख

खान नपाएर मानिस मरेनन् भने

नोकरी नपाएर युवाहरू बहुलाएनन् भने

दाम नपाएर कृषक पासो लागेनन् भने

पैसा नभएर क्रेता रोएनन् भने

परिवर्तन भान्साकोठाको दैलोबाट आउँछ

मेरो गाउँ

डिजिटल बन्छ बन्छ।‘ (मेरो गाउँ डिजिटल बन्छ बन्छ, पृ-२७)

डिजिटल व्यवस्थाले मानिसको रहनसहनमा पनि धेरै प्रभाव पारेको छ । धेरै सजिलो पारिदिएको छ । डिजिटलकै जोडमा जल, स्थल, महाकाश सबैतिर आफ्नो हैकम चलिसकेको मानव अझै पनि नव नव प्रविधिको खोजीमा छ । अझै विज्ञानको उन्नति र प्रगतिको दिशामा लम्किरहेको छ। त्यसैले वैज्ञानिकहरू दिनरात काम गरिरहेका छन् । सायदै अझै पनि धेरै काम बाँकी छ । त्यसैले नैनाका कवितामा पनि यसखाले चिन्तन भित्रिएको पाइन्छ ।

‘सिसाका घरमा बसेर

अर्कोलाई ढुङ्गा हान्दैन ऊ

थुक्तैन आकाश फर्किएर

अर्काकै काँधमा चढेर अग्लिन नखोजी

आफै भर्‍याङ हाल्दैछ आजकाल

ज्ञानको महलको अन्तिम तलोसम्म पुग्न।’ (भर्‍याङ चढ्ने प्रयासमा, पृ-८९)

डिजिटल साधनहरू भित्रिएका छन् गाउँमा तर डिजिटल सोच भने अहिलेको छैन मानिसमा । मानिसले अहिले पनि अन्धविश्वासको चोलो फ्याँक्न सकेका छैनन् । चाहे ऊ विज्ञानकै छात्र नहोस् किन ? उसले विज्ञान जागिर पाउन पढेको, वैज्ञानिक मानसिकतासँग उसको केही सरोकार छैन । त्यसैले अझै पनि मानिसले शुभ, अशुभका विधानहरू गरिरहेका छन् । उनीहरूलाई थाहा छैन शुभ, अशुभ विधानले होइन कर्मले गर्छ भन्ने । तर, पनि डिजिटलको दौडमा गाउँ कुदि नै रहेको छ। उसले पनि जानेको छ आजको युग विज्ञानको युग भनेर। त्यसैले कवयित्री नैनाका हरफहरूमा यो चेत आएको होला। हेरौँ त यी हरफहरू-

‘शुभ हुने दोष बिरालाको टाउकोमा दलेर

विज्ञानलाई चुनौली दिँदै

पिँढीपछि पिँढी रफ्तार फेर्दै

वेगमा कुदिरहेको छ हाम्रो गाउँ।’ (विसङ्गतिहरू, पृ-९७)

डिजिटल युगले उन्नति र प्रगति ल्याउँछ भन्ने हाम्रो विश्वास छ । तर, कस्तोखाले उन्नति र प्रगति ? मान्छे मान्छेदेखि टाढा हुने उन्नति अथवा कामको व्यस्ततामा खुसीमा पनि हाँस्न बिर्सिसकेको प्रगति ? नैनामा डिजिटल चेत भएकाले होला आजको यान्त्रिक परिवेशदेखि उनी चिन्तित भएको देखिन्छ । त्यसैले डिजिटल परिवेशको सम्भावित परिणामलाई कविताको भाषामा लेख्छिन् –

‘यान्त्रिक मानवीय कोलाहलको

भिडभित्र उभिएर

निर्निमेष हेरिरहेछन् घाइते आँखाहरूले

चारैतिर देखिरहेछन् विकास र प्रगतिका कोलाजहरू

हिँडिरहेछन् लक्ष्यहीन जुलुसमा

अर्थहीन झन्डा बोकेर

प्राप्तिको अमेट तृष्णा मेटाउन

प्रगतिको लिस्नो

झन् भन्दा झन् अग्लो भइरहेछ।’ (परिणाम, पृ-२८)

अहिलेका कविहरूसँग डिजिटल साधन हुन्छ नै । अहिलेका कविहरू कागजमा मसीले लेख्तैनन् । अहिले कविहरू कम्प्युटरमा की-वर्डको सहारामा लेख्ने गर्छन् । भाव, विचारहरूले मन, मस्तिष्क हल्लाएपछि कविले की-वोर्डमा औँला नचाउँदै कविता लेख्छन् । मोबाइलको नोट-पेडमा औँला नचाउँदै कविता लेखेर सुटुक्क थन्काउँछन् । जहाँ जतिखेर मनलाग्छ फेरि निकाल्यो संशोधन गर्‍यो । कुनै पत्रपत्रिकामा कविता चाहियो मोबाइलबाटै मैल गरिदियो । कुनै कवि गोष्ठीमा कविता वाचन गर्नपर्यो मोबाइल निकालो भट्यायो। कति सजिलो । हातैमा डिजिटल साधन भएकाले होला सोच पनि डिजिटल भएको । कवितामा समय चेत हुनुपर्छ । समकालीन प्रवृत्तिहरू भित्रिनुपर्छ । कविताले समसामयिक चेतना अँगाल्नुपर्छ। विचार स्पष्ट हुनैपर्छ । कवितामा चेतनाको प्रखरता हुनुपर्छ । नत्र, कविताको स्तर घट्तछ । यस विषयमा नैना सचेत भएको देखिन्छ ।

‘घात-प्रतिघातका उद्गारहरू’ कविता कृतिमा केवल डिजिटल चेतका कविता मात्रै छन् भन्न मिल्दैन । यस कृतिभित्र विविध भावना वा विषयवस्तुका कविताहरू गाभिएका छन् । पर्यावरण, सामाजिक विसङ्गति, जातीय अस्मिता, निम्नवर्गका सुस्केरा, विद्रोह, घरेलु हिंसा, युद्ध विभीषिका, सामाजिक कुरीति, राष्ट्रप्रेमजस्ता भावना छन् । जीवनबोध पनि छ । नारी चेत छ । आशावादी स्वर प्रखर छ। बिम्ब, मिथक, प्रतीक, उपमाहरूले कलापक्षलाई सबल बनाएका छन् । केही उखानहरू पनि भेटिन्छन् । केही नाराहरू पनि छन् । दुई-एक कविताहरूलाई छाडेर कविताहरूमा शैलीगत विविधता त्यति देखिँदैन । प्राय: एउटै शैलीका कविताहरू नै छन् भन्न सकिन्छ । यदाकदा कुनै कवितामा सपाट कथात्मकता पनि देखिन्छ । कविता रचनामा कवि स्वच्छन्द देखिन्छिन् । भावनालाई पूर्णरूप दिन कवि सफल भएको देखिन्छ । कृतिमा सङ्कलित ४० वटा कविताहरूमै कवयित्रीको निजी भावना पोखिएको छ ।

यसै त कविता भनेको नै कविको कल्पना र भावना नै हो । प्रायः कविताहरू नै मझौले किसिमका छन्। पाँचवटा कविता छोटा छन् । कविताहरूमा विश्वास, आशा छ। सामाजिक चिन्तन छ । सन्देश छ । विद्रोह, आक्रोश पनि छ । गरिबहरूको दु:ख छ । भोक छ, शोक छ । सम्वेदना छ । प्रकृतिको सुन्दर छवि छ, प्रकृतिको दर्दनाक चित्र छ । गाउँले चित्रण छ । गाउँको कथा-व्यथा छ । माया-प्रेम छ । हिंसा छ । प्रगतिवादी सोच प्रबल छ, व्यङ्ग्य प्रखर छ ।

नैनाका कविताहरूले समाज र जीवनका हरेक पक्षहरूलाई अत्यन्तै सूक्ष्म रूपले प्रस्तुत गरेका छन् । एउटा दानामा जसरी विशाल वृक्ष लुकेको हुन्छ त्यसरी नै कविताका थोरै शब्दमा पनि धेरै कुरा लुकेको हुन्छ । थोरै शब्दमा धेरै कुरा भन्न, लेख्न सकिने विधा कविता भएकाले यो बढी मात्रामा जनप्रिय बनेको छ । नैना पनि यसै मोहमा परेकी हुनुपर्छ। त्यसैले डिजिटल साइटमा नैनाका कविता सधैँ पोस्ट भएको देखिन्छ। प्राय:जसो सधैँ कविता पोस्ट गर्नु भनेको सधैँ लेख्नु पनि हो । सधैँ कविता लेख्नका लागि कविको सोचको परिसर पनि फराकिलो हुनुपर्छ । सधैँ नौलो भाव-विचार कवितामा भित्रियाएर पाठकलाई नव नव काव्यिक स्वाद दिन सक्नु लरतरो कुरो होइन।

सिर्जनामा गरेको अथक प्रयास सफलताको कडी हुन जान्छ। निरन्तरता र अध्ययनशीलले अझ काव्यिक गतिलाई तीव्रता प्रदान गर्छ। नैना अधिकारीबाट डिजिटल चेतका अरू कविताहरू पढ्ने इच्छा भने रहेकै छ । डिजिटल साधनहरूको बिचमै रहेर पनि डिजिटल चेतका कविताहरू लेख्ने कविहरूको सङ्ख्या कम्ती नै छ । यस लहरमा नैना अधिकारीलाई असमको प्रतिनिधि कवि भन्नुपर्ला।