घुम्दा पनि साइत जुराउनु पर्छ युरोपमा । युरोपको व्यस्त समयमा सबैको फुर्सद मिलाएर डुल्ने दिन मुस्किलले पाइन्छ । कहिले बच्चाहरुको स्कुलको समय मिल्दैन भने कहिले अभिभावकको । यसपटक पनि सबैको समय मिलाउन मुस्किल भयो । छोरी पूजाको स्कुल छुट्टी, मेरो र ताराको फुर्सद भएर पनि बाबु प्रकाशको कार चालक प्रमाणपत्रको प्रयोगात्मक परीक्षाको कारण छुट्टी मिलेन । तैपनि छोरालाई छोड्नु परेकोमा अमिलो मन बनाउँदै हामी पेरिसतिर हुइँकियौँ फिलिक्स बसमा सररर …. ।
सन् २०१८, अप्रिल १ तारिक दिउँसोको २ बजे हामी बेल्जियमको गेण्ट हुँदै क्रमशः बेल्जियमको सीमा काटेर फ्रान्सको उत्तरी सहर लिले पुग्दा दिउँसोको ३ बजिसकेको थियो । रातको ८ बजे हामी पेरिसको ‘चार्ली द गौले’ अन्तर्राष्ट्रिय विमानस्थल हुँदै फिलिक्स बसको अन्तिम स्टेशन बेर्शी सिनेमा उत्रियौँ । त्यो ठाउँमा पहिलोपटक पुगेकोले लाकोर्नोभ जाने मेट्रोको खोजीमा केहीबेर भौँतारिन कर लाग्यो । “सिने” इशापूर्व ४० हजार वर्ष पुरानो मानव अस्थिपन्जर भेटिएको ऐतिहासिक स्थल रहेछ । त्यहाँबाट युरोपको प्रायः सबै ठाउँमा जाने बस मिल्ने । त्यसैको छेउ भएर बग्ने सिन नदीको माथि एउटा विशाल काठे पुल छ । जुन पुलका १३ वटा फरक फरक साखाहरु छन् । त्यो अद्भुत पुल देखेर रोमाञ्चित हुँदै केही तस्बिर खिचेर हामी १४ नम्बर म्याट्रोबाट पेरिसको ऐतिहासिक स्थल सतलेमा पुगेर ७ नम्बर म्याट्रो चढी लाकोर्नोभ पुग्दा झन्डै १० बजेको हुँदो हो ।

डिल्लीराम अम्माई (बेल्जियम)

राति भाउजूले बनाएको परिकारहरुको स्वाद लिँदै घरायसी गन्थन गरेर केही समय बिताइयो । धेरै कुराहरु भए र आफन्तको सत्कारमा बाटोको थकाई बिर्संदै त्यो रात त्यहीँ बितायौँ ।

फ्रान्स आफैंमा इतिहासको अमूल्य विरासत बोकेको देश हो । युरोपका रोम र ग्रीस पुराना सभ्यताको लागि संसारभर प्रख्यात छन् भने पेरिस आधुनिक सभ्यताको विरासत बोकेको सहर हो । पेरिसको बारेमा जति हामीले पढेका छौँ, जानेका छौँ,  ती सबै कुरामा मात्र पेरिस सिमित छैन । वैज्ञानिकदेखि कलाका पारखीहरुसम्म, राजनैतिक अध्यतादेखि मानवताको पुनर्जागरणसम्म र सुन्दरतादेखि इन्जिनियरसम्मको लागि खोज अनुसन्धान र ज्ञानको भण्डार हो पेरिस । ज्ञानका पारखीहरुले खोज्न मात्र सक्नुपर्छ, के पाइँदैन र पेरिसमा !
भोलिपल्ट हामी श्रीलङ्काका राजनैतिक शरणार्थीहरु बसेको मिनी सिटी ‘लासापेल’तर्फ गयौँ । त्यहाँ केही समय घुमेर हामी ‘प्लेस द स्टालिनग्राड’ पैदल नै गयौं । दोश्रो विश्वयुद्धमा रुसको स्टालिनग्राडमा हिटलरको सेनालाई सोभियत सेनाले हराएको सम्मानस्वरुप त्यो स्थानको नाम पनि प्लेस द स्टालिनग्राद राखिएको रहेछ । सिन नदीको एउटा क्यानल त्यहाँ पनि आउँदोरहेछ र त्यसको दुवै किनारमा सुन्दर पार्कहरु बनाइएका रहेछन् । त्यो हेरेर हामी केहीबेर पार्कमा सुस्तायौँ । तर त्यति सुन्दर नदीको माथिल्लो किनारमा सयौँ टेण्टहरु देखेर के रहेछ भनी बुझ्ने कौतुहलता जाग्यो । त्यहाँ त अफगानस्तान र मध्यपूर्वबाट आएका सयौँ शरणार्थीहरुलाई अस्थायी रुपमा राखिएको रहेछ । पेरिसभित्र मात्रै त्यस्ता २८ स्थानमा शरणार्थीका अस्थायी टहरा भएको कुरा उनीहरुलाई खाना खुवाउने रेडक्रसका एक कर्मचारीले बताए ।
त्यही क्रममा सिरियाको एक शरणार्थीसँग पनि कुरा भयो । उसका बाबुआमा दुवै युद्धमा मारिएका रहेछन् । उसकी एक दिदी बाटोमा आउँदा आउँदै टर्कीको जङ्गलमा कसैले बलात्कार गरेर एउटा खुट्टा भाँचेर छोडेछ । उनी हिँड्न नसक्ने भएपछि छोडेर ग्रिस हुँदै महिनौँ लगाएर ऊ पेरिस आएको भन्थ्यो । उसकी दिदी मरिन् कि कसैले उद्दार गर्यो भन्नेबारे उसले अनभिज्ञता जाहेर गर्यो । उसको कुरा सुन्दा अरुको देशको सम्पदा हडप्ने बहानामा युद्ध थोपर्ने शक्तिशाली भनाउँदा देशहरुप्रति असीम घृणा जाग्यो । ताराको खुट्टा अलिक बढी दुखेकोले ‘टेक कियर’ भन्दै हामी त्यो सिरियन बन्धुलाई त्यहीँ छोडेर बासस्थान तर्फ फर्कियौँ ।
अर्को दिन संसारकै ठूलो आर्ट्स म्युजियम लुभ्रे पुग्ने धोको पूरा भयो । पेरिसको त्यो म्युजियम र पौराणिक कालमा भएको फ्रान्सको कला विकासको उत्कर्ष हेर्न संसारका हरेक कुनाबाट आउने पर्यटकहरू टिकट काट्ने लामो न लामो लाइनमा माला झैँ उनिएका थिए । यहाँ परापूर्वकालदेखि अहिलेसम्मका लगभग ३८००० उत्कृष्ट तस्बिरहरु छन् । जसमध्ये लियोनार्दोले बनाएको मोनालिसाको तस्बिर सबैभन्दा धेरै हेरिने तस्बिर हो । फ्रान्सका राजा लुई चौधौँले बनाएको यो दरबारमा रहेको त्यो आर्ट्स म्युजियम हेर्न पत्रकारहरुलाई शुल्क लाग्दैन । फ्रान्सले पुराना सभ्यता र कलाको जतन गरेर अरबौँ युरो प्रत्येक महिना आर्जन गरिरहेको छ । तर हामीले हाम्रा पुराना सभ्यताका धरोहर, तालतलैया, खोलानाला, वनजङ्गल, मठमन्दिर, संस्कृति र ऐतिहासिक दरबारसमेत जलाएर, फोरेर, पड्काएर पहिचान र आयआर्जनको श्रोत खोजिरहेका छौं । पेरिसका ती धरोहरहरुको अवलोकन गर्दा कताकता पेरिसले ‘तँ नेपालीलाई यी चिजको के महत्त्व ? आफ्नो स्याहार्न नसक्नेले अरुको सम्पदा हेरेर आनन्द लिने अधिकार छैन’ भनेर गिज्याए झैँ लाग्यो।
पेरिससम्म पुगिसकेपछि संसारकै राजनीतिक विद्यार्थीहरुको चाखिलो गन्तव्य ‘ला कम्युन दि पेरिस’ नपुग्ने कुरै भएन । कार्ल मार्क्सको समाजवादी दर्शनको पहिलो प्रयोग भएको ठाउँ । त्यो क्षेत्रमा पनि संसारभरिका मार्क्सवादी र समाजवादीहरु पुगेर अवलोकन गर्ने रहेछन् । २८ मार्च १८७१ देखि २८ मे १८७१ सम्म पेरिसका मजदुरले पेरिसको सत्ता सैनिकबाट खोसेर लिएका थिए । त्यो क्रान्तिमा लुइस अगस्ते ब्लांकीले ती मजदुरहरुको नेतृत्व गरेका थिए । तर सत्ता हातमा लिएको ७२ दिनपछि पेरिसका पुराना सेनाहरुले मजदुरहरुको कत्लेआम गरी सत्ता खोसेका थिए । त्यो रक्तपातको अन्तिम हप्तालाई पेरिसवासीहरुले ‘ब्लडी वीक’ (हिंसायुक्त साता) भनेर अझै सम्झने गर्छन् । ती सबैको अवलोकनले मन स्निग्द भयो । तिनै परिघटनाहरु आज संसारका राजनीतिज्ञहरुका लागि शिक्षा र अध्ययन सामाग्री बनाउन फ्रान्स सफल भएको छ ।
तीन दिनको लाकोर्नोभ बसाइपछि त्यो बेलुका ‘सिक्स रुट’स्थित हरि सापकोटाको घर गयौं । उहाँ नेपालमा मेरै घरछिमेकी हुनुका साथै स्थानीय हाइस्कुलको प्रधानध्यापक पनि हुनुहुन्थ्यो । घरायसी कुराहरु नहुने कुरै भएन । राति अबेरसम्म कुरा गरेरै बस्यौँ । सालिकराम सापकोटा दाइ पनि त्यहीँ बस्नुहुदो रहेछ । निर्मलजीसँग पनि राति फोनमा कुरा भयो । भोलिपल्ट शुक्रबार उहाँको भाइको वार्षिक श्रद्धान्जली कार्यक्रम भएकोले उहाँ अत्यन्त व्यस्त हुनुहुँदो रहेछ । हामीले पनि आत्मैदेखि भाइको आत्माको चिरशान्तिको कामना गर्यौं । मिना भाउजूको सत्कारलाई नमन गर्दै त्यही रात बितायौँ । भोलिपल्ट भाइ गोविन्द रिजाललाई साथमा लिई हामी आफ्नो अवलोकन गन्तव्यतर्फ लाग्यौँ । त्यही दिन भाइ चिरञ्जीवीसँग पनि भेट भयो ।
साहित्य र किताबमा पढिएको पेरिस आफैले छामेर हेर्दा छुट्टै आनन्द लाग्ने। गोविन्द भाइसँगको यात्रा निकै आनन्ददायी बन्दै गयो। पहिलो पटक चढेको चालकबिनाको १४ नम्बर मेट्रो रेलले छुट्टै आनन्दको अनुभूति दिलायो। मेट्रोभित्र चढ्दै ओर्लदै गरेको मानव लहर देख्दा मलाइ मेजिको कुलोको याद आयो। २०४७ साल तिरको कुरा हो। हरि सर, म र गैराबारी जेठा पुसाजु मेजिमा पानि कुर्न गइयो। खडेरीले गहुँ सुक्ने लागेका। झहरे खोलाको बाँधबाट पानी चलायौँ तर बिचबिचमा पानि चोर्नेले हैरानी पार्ने। बाख्रो बगाउने कुलोको पानि गन्तव्यमा पुग्दा मुसो बगाउने पनि छैन। बिहान उठेर कुलोमा पानि हेर्दै घर गएको त सबैको खेतमा थोरै थोरै पानि गैरहेको। आफ्नोमा छैन। पेरिसका मेट्रो पनि मान्छे बोक्ने कुला नै त हुन्। मेट्रो दिनरात बगिरहन्छ। हरेक बिसौनिमा झर्ने झर्छन चढ्ने चढ्छन। चोरेर बाँच्ने पाकेटमारहरुको लागि पनि म्याट्रोले रोजगार दिएकै छ।
एक घण्टामा हामी पेरिसको मुटु ‘कंकर्ड’ पुग्यौँ । यो ठाउँ पेरिस सहरको नहेरी नहुने ठाउँ हो। कंकर्डको तल ७७६ किलोमिटर लामो सिइन नदीको पानीमा डुंगा र पानीजहाज चलेका छन्। केहिँ तल डायनाको दुर्घटनामा भएको मृत्यु टनेल, अनि स्वर्ण पुल, बिशाल चौराहा सबै नहेरी नहुने स्थान। हेर्दाहेर्दै आँखा अगाडी आइफल टावरको दृश्यले मन नै लोभ्याउने। यो अद्भुत चौराहा, र बगैंचाको योजना अंगे ज्याक्कुइ गाब्रियलले सन् १९५५ मा गरेका रहेछन। टुइलिरिस बगैचाको ढिकमा बसेर त्यहाँको राजनैतिक इतिहाँसको मुभी बनाउन थालें। कंकर्ड स्तम्भ भएकै स्थानमा २१ जनवरी १७९३ को त्यो दिन फ्रान्सका राजा लुइ सोह्रौंलाई काटिएको थियो । उनको साथमा अन्य दरबारिया सहित रानी मारिया,राजकुमार, राजकुमारिहरुलाई पनि मृत्युदण्ड दिइएको थियो। सन् १८२६ मा त्यो चौराहाको नाम ‘प्यालेस लुइस १६औँ’ राखिए पनि सन् १८३०को जुलाई क्रान्ति पछि त्यो चोकलाई ‘प्लेस द कंकर्ड’ भनेर नामाकरण गरियो ।
पेरिसलाई चिरेर दौडेको सिइन नदीको पानि पेरिसबाहिर ‘ले हाभ्रे’को उत्तरी समुन्द्रबाट ल्याइएको हो। त्यो नदीको माथि पेरिस बाहिरमात्र दर्जनौ भिमकाय पुलहरू छन् भने पेरिस भित्र ३७ बटा पुलहरू छन् । यो नदीको मुहानको पुल संसारकै अग्लो पुल मानिन्छ। ‘ले हाभ्रे’मा रहेको त्यो पुल २१४.७७ मिटर अग्लो छ जसलाई ‘पोन्तदिनोर मादी’ भनिन्छ। यो सन् १९९५ मा बनेको हो। यो पुल तर्दा आकाश चुमेको अनुभब हुने बताइन्छ। जसको योजना मिखायल भिर्लोगेसले गरेका हुन् । पुग्नेहरु भन्छन- यो पुल अद्भुत छ।
यात्रा भनेकै परिबार, उनिहरुसंगको सामिप्यतामा भोजन र भ्रमणको उमङ्ग हो मात्र भनेर हुदैन । घुमाइ त एउटा अध्ययन पनि हो। त्यसमा अध्ययनको महत्वलाई बुझेको जिज्ञासु साथि हुने हो भने यात्रा खोजमुलक बन्दछ । सन् २०१६, २५ जुनमा फ्रान्सको आँजेमा भएको पत्रकारहरुको सम्मेलन सकिएपछि पनि नेपाली पत्रकारहरुसंग पेरिस घुमियो। तर हतारमा घुमेकोले खासै अध्ययनमुलक घुमाइ हुन सकेन त्यो बेला। सम्मेलनमा भाग लिन नेपालबाट आएका पत्रकार अग्रजहरुको अनुहार ‘टोर्कादोर’को ढिकमा उभिएर आइफल नियाल्दै सम्झें। तात्कालिक पत्रकार महासंघका अध्यक्ष महेन्द्र बिष्ट लगायत प्रतिनिधिहरु क्रमश दिपेन्द्र श्रेष्ठ , किशन संगीत , प्रकाश बिक्रम शाह,गणेश पोख्रेल लगायत मित्रहरुसंग त्यहि स्थानमा पुगेर केहि तस्विर खिचेका थियौँ। पछिल्लो पटकको घुमघाममा पनि प्रिय अग्रज महेन्द्र सर लगायत साथीहरुलाई ‘मिस’ गरेको अनुभब भयो ।
अन्तिम दिन हामी पेरिसको ‘आन्भर्स’मा अबस्थित ‘साक्युर पेरिस’ नामक चर्च अबलोकनमा निस्कियौं। माथि टाकुरामा अबस्थित ‘जिससको पबित्र मुटु’ सम्झिने त्यो अद्भुत क्याथोलिक चर्चले मोहित बनायो। प्रखात इन्जिनियर पाउल आवादीको योजनामा सन् १९१४ मा बनेको त्यो चर्चबाट अधिकांश पेरिस देखिन्छ। प्रयटकहरुले ‘पबित्र हल’मा पसेपछि केहीबेर मौन प्रार्थना गर्दा रहेछन। त्यहाँको घुमाइ सकेपछि २ नम्बर म्याट्रो चढेर ‘स्तालिनग्राद’ ‘सतले’ हुदै बेल्जियम फर्कनको लागि फिलिक्स बस भेट्न बेर्शी (सिने) आयौँ।
पेरिस पुगेपछि थाहा हुन्छ कृतिम निर्माण भित्र पनि कति कला र शुन्दरता लुकेको छ। कृतिम मोहनी भनेको केहो, आइफलको धुरीबाट मात्र अनुभब गर्न सकिन्छ। सफा र सुन्दर देखिने जुनसुकै पेरिसका गल्लिहरुको दृश्यले प्रयटकहरुलाई मोहनी लगाउन बिर्संदैंन । ताना शर्माले घनघस्याको थाप्लोमा पुगेर कल्पनाको सौन्दर्यमा सिंगो नेपाल देखे, बिजय मल्लले नागार्जुनबाट आर्य सभ्यता देखे भने मैले आइफलको धुरीबाट राजनिती शास्त्रभित्र कला तथा शौन्दर्यको सिंगो संसार देख्न किन नहुने ! त्यो बेला एक स्वाभाविक प्रश्न मेरो मनमा उठेको थियो । घनघस्याको बिकटतालाई देखेर शर्माले जोगबनीदेखि धरानसम्को अलकत्रे बाटालाई धिक्कार्दै र भादगाउँदेखि बाह्रबीसेसम्मको फराकिलो कालो बाटालाई सराप्तै उकालो चढ्न हुने मैले शुन्दर काठमांडूलाई नर्क जस्तो बनाउने नेता र उपत्यकाबासीलाई सराप्न किन नहुने ? फेरि अर्को प्रश्नले नेपाल समेत अत्तालिनेगरि सम्झायो ।
मानाबशास्त्र, दर्शनशास्त्र, राजनीतिशास्त्र, भौतिकशास्त्र, शौन्दर्यशास्त्र, पाकशास्त्र लगायत ज्ञानका सबै कुन्जहरुमा पेरिस कहिल्यै तल हुन सक्दैन। यी सबै कुञ्जहरुको प्रतिबिम्ब पेरिसको आकासमा कोरिदिंदा विश्वलाई अन्याय हुँदैन किनकि पोपहरुको धार्मिक शासनदेखी समाजबादी, पुंजिबादी, फाँसीबादी र धार्मिक राजनीति सत्ताको प्रयोग कहिँ भएको छ भने त्यो देश फ्रान्स हो। अमेरिका बेलायतको गुलाम हुँदा अमेरिकालाई बेलायति गुलामिबाट मुक्त गराई ‘स्टाच्यु अफ लिबर्टी’ उपहार दिने अन्य कुनै देश नभएर फ्रान्स नै हो। त्यसैले भनिन्छ,आधुनिक भौतिक बिकासभित्रको उदार शुन्दरता पेरिसमा पुगे पछि मात्र देखिन्छ । पेरिसका प्रत्येक गल्लीहरुमा इतिहाँसका त्यस्ता धेरै परम्परागत र साँस्कृतिक बिरासतहरु लुकेको भेटियो।
कसैले लेखेका थिए, संसारभरी सुगन्धित फुल जति फुले पनि निचोरेर बेच्ने सहर पेरिस हो। संसारमा राजनीतिका जति पनि फूलमा कोपिला लागेका छन् आफ्नो नर्सरीमा उमारेर वितरण गर्ने देश फ्रान्स हो। आधुनिक मानबिय शुन्दरता र स्वतन्त्रता जति लोकप्रिय छ, आफ्नो अन्जुलीमा भरेर दिने शहर पेरिस हो। दर्शन, इतिहास र बिज्ञानभित्र सौदर्य र कला हुँदैन भन्नेहरुलाई ‘एक पटक पेरिस आऊ र हेरू भनेर बोलाउने देश फ्रान्स हो।’
अन्त्यमा, पेरिस छोड्दै गर्दा केहि वर्षअघि आतंककारीहरुबाट मारिएका चार्ली आब्दो ब्यङ्ग पत्रीकाका पत्रकारहरुको याद आयो। दुई दिनको पेरिस बसाई पछि दिबंगत १३ जना पत्रकारहरुलाई श्रद्धान्जली अर्पण गर्दै हामी तीन यात्रु पुन बेल्जियम फर्कियौं ।