मानिस धनसम्पति भएर पनि दुखी छ भने त्यो फिजीको नेपाली हो । हाम्रा अग्रजहरु आफ्नो अन्तिम स्वाससँगै विभिन्न देवताको नाम लिन्छन् र आफूलाई स्वर्ग प्राप्तिको अभिलाषाले अभिसप्त गर्दै प्राण त्याग्दछन् । तर फिजीका नेपालीको अवस्था फरक छ । उनीहरुका अघिल्ला पुस्ताहरुले आफ्ना दिनहरु दुखजिलो गरेर बिताए । उनीहरुले आफ्नो जीवनको अन्तिम दिनमा नेपालको नाम लिन्छन्, नेपालको चित्र कल्पनामा भर्दछन् र आफ्ना पुर्खाको देश रहेका पशुपति, स्वयम्भू र लुम्बिनीको ज्योतिस्पर्शको अनुभव गर्दै प्राण त्याग गर्दछन् । यो सन्ताप, नेपालसँग भएको बिछोडको प्रताडना र चौथो पिँढीसम्म थोपरिएको मालिक राष्ट्रको मानसिक यातना भोगेकाले मात्र अनुभव गर्न सक्छ, तर बताउन खोज्दा पीडाबोधमा बगेको आँसुको भेलले शब्दहरु मुखबाट निस्कन नपाउँदै बगाएर लैजान्छ ।
नेपाल र फिजीको दौत्य सम्बन्ध सन् १९८० बाट भयो । समान हितका मुद्धाहरुमा संयुक्त राष्ट्र सङ्घमा समेत हुने वैचारिक ऐकबद्धता सन् १९८६ देखि हुन थाल्यो । अहिले फिजी सरकारले काठमाडौँमा व्यापारिक हितहरुको प्रबर्धन गर्न बाणिज्य दुतावास खोलेको छ । यसले सूचना आदानप्रदान मात्र नभएर दुवै देशको पर्यटन प्रबर्धनमा समेत सहयोग पुर्याउन सहयोग गर्दछ । तर यी दुई देशका नेपालीहरुको मिलन गराउन फिजीका नेपालीहरुलाई निम्तो दिने र घरसम्म डोर्याएर ल्याउने कुनै शुभकर्म भएको सुनिएको छैन । त्यो राज्यस्तरबाट भए धेरै राम्रो, फिजीका नेपालीले पुर्ख्यौली मातृभूमिको तिर्थाटनबाट एक मुठी आफ्ना पुर्खाको अस्तु मिश्रित माटो लिएर फिजी फर्किन्थे र त्यसैको पूजा गरेर आफ्नो सुखद सपना साकार पार्थे । त्यो सङ्कल्प हामी सबै नेपाली मिल्ने हो भने गैह्रसरकारी तहबाट पनि गर्न सकिन्छ, आँट गरौँ !
ती नेपाली जुन साम्राज्यवादीहरुले घोलेको विष पिएर फिजीमा पुगे र अहिलेसम्म उनीहरुलाई आफ्नो परिवारको पुनर्मिलन पुर्खाको माटोसँग भेट गराउने सवालमा नेपाल सरकारले अब चासो देखाउनु पर्छ । त्यसमा फिजीको सरकारलाई पनि ध्यान आकृष्ट गराउन सम्बन्धित निकायले सक्नु पर्छ । त्यो परोपकारको काम हो र राज्यले केही लगानी पनि गर्नुपर्ला, तर त्यसले खेल्ने दीर्घकालिक सम्बन्ध दुई देशभित्र मात्र सीमित रहने छैन। दुई परिवारसम्म पनि त्यो सम्बन्ध विस्तार हुनेछ ।
फिजीमा स्थाई बसोबास गरिरहेका नेपालीहरुको मनभित्रको कुरा गर्ने हो भने वाक्य शब्दमा खुम्चेको छ, भाषिक पहिचान अनपढ पहिलो पुस्ताले कति आफ्ना सन्ततिहरुलाई हस्तान्तरण गर्न सक्यो ? त्यसपछिका पुस्ताहरुले नेपाली भाषाको लिपि र बोली हस्तान्तरण गर्न सके कि सकेनन् ? त्यसका आफ्नै विवशताहरु छन् । उनीहरुलाई मजदुर दास बनाएर लागेको ब्रिटिस मालिकहरुले नेपाली भन्न र सामूहिकरुपमा नेपालीलाई बस्न नदिएको गुनासो पुर्खाहरुबाटै नयाँ पुस्तासम्म आएको देखिन्छ । त्यसले गर्दा उनीहरुको आफ्नो पहिचान बचाउने अवस्था नरहेको तर्फ नै सङ्केत गर्दछ । पहिचान सामूहिकरुपमा बाँच्न सक्छ भने भाषा पनि प्रयोगले बाँच्ने हो । त्यो दुवै अवस्था नरहेपछि सानो वा एकल परिवेशमा भाषा र पहिचान बाँच्न सक्दैन ।
त्यो कुरा उनीहरुको यो भनाइबाट नै प्रष्ट हुन्छ- ‘हामीबाट नेपाली भाषा गुम्यो, बोल्न सक्दैनौं, तर मन र मुटुमा हामी पुस्तौंदेखि नेपालीपन जोगएर राखेका छौं । पुर्खाहरूलाई कसरी घोडाको चाबुकले हानेर दोषीसरह काम लागाइयो ? अग्रजहरुले भनेको त्यो परिवेश सम्झँदा अहिले पनि हाम्रो मन प्रताडित हुन्छ ।’
पुर्खा अनपढ थिए, नेपाली लिपि जोगाउन सक्ने कुनै आधार थिएन । भारतीयहरुको अलग अलग समूहमा नेपालीहरु मिसाएर काम गराउने बेलायती मालिकहरुलाई नेपाली पहिचानको के मतलब भयो र ! त्यसैले त्यहाँ नेपाली भाषा सकिनु वा पुस्ता हस्तान्तरण नहुनुमा नेपालीहरुको केही दोष छैन।
पूर्वको निलमणि ‘फिजी’ संसारभरका पर्यटकहरुले घुम्न रुचाएको अत्यन्त सुन्दर देश हो । यहाँ ३ सय २२ वटा ज्वालामुखीबाट बनेका अत्यन्त सुन्दर टापुहरू रहेका छन् । यिनै टापुहरुलाई हराभरा बनाएर बसेका छन् नेपाली मुलका फिजीहरु । नेपालीको जनसङ्ख्या १२ हजारको हाराहारीमा रहेको अनुमान छ । त्यहाँका नेपाली पनि कोही आर्थिक प्रगतिको दौडमा उतिर्ण छन् भने कोही अनुतिर्ण ।
फिजीलाई सन् १८७४ देखि बेलायतले आफ्नो कब्जामा लिएर उखु खेतीमा लगाउथ्यो र त्यहाँ उत्पादन हुने चिनी र भेली बेलायतलगायत लगिन्थ्यो । बेलायतको उपनिवेश भएको करिब सय वर्षपछि सन् १९७० बाट फिजी स्वतन्त्र र सार्वभौमिक देश बनेको हो । सन् १८७९ देखि नै बेलायती मालिकहरुले उखुखेतीको लागि झुक्याएर भारतीय र अन्य देशका नागरिकहरुलाई फिजी लान थालिएको कुरा गिरिमिट सेन्टर लोटोको तथ्याङ्कमा उल्लेख छ ।
उक्त समयमा नेपालबाट भारतमा काम गर्न गएका नेपालीहरुलाई फकाएर र धम्क्याएर फिजी लगिएको थियो । केही समयको लागि भनेर लगिएका उनीहरु आफन्तसँग बिछोडको आँसु पिएर शताब्दीऔँ फिजीको वन फाँडेर उखु खेती गर्दै बसे । उनीहरु त्योबेला कति रोए कसैले देखेन । उनीहरुलाई बेलायती मालिकहरुले दिएको यातना र अपमानको कुरा कति भयानक छ, सुन्दा मात्र पनि, सुन्दा बेलायती साम्राज्यवादप्रति कहिल्यै असीमित घृणा उम्लेर आउँछ ।
भूदासको रुपमा लगिएका कामदारका चेलीबेटी बेलायतीहरुबाट चाहेको बखत बलात्कृत हुन्थे, मारिन्थे वा अङ्गभङ्ग हुन्थे । नेपालीहरुलाई त तीन चार जना पुरुषको लागि एउटी महिला राख्ने अनुमति थियो । महिलाहरु कम भएको भन्दै तीन चार पुरुषको बीच एउटी महिला श्रीमतीको रुपमा राख्न अनिवार्य गरिएको अवस्थाले त्यहाँ परिवार वा आफ्नो बच्चा चिन्न पनि कति मुस्किल हुँदो हो ? सहजै अनुमान गर्न सकिन्छ । त्यहाँ पहिचानभन्दा जीवन प्यारो थियो र बेलायतीहरुको नियम नमानेको कुराबारे शङ्कामात्र हुँदा पनि ति व्यक्ति मारिन्थे वा जिउँदै गाडिन्थे ।
यस्तो कठोर अवस्थाको बीचमा पनि फिजी– नेपाली प्रवीण देव घर्तीका पुर्खाहरुले नेपालीपन जोगाएर तीन चार पुस्तासम्म लगातार हस्तान्तरण गरे । बेलायती मालिकहरुको चाबुक खाएको पुस्तातर्फ फर्केर हेर्दा उनीहरु अझै भावुक हुन्छन् र देश स्वतन्त्र भएपछिको अवस्थाले उनीहरुलाई धेरै राहत दिएको बताउँछन् ।
फिजीमा नेपालीको पहिलो पाइला
सन् १८७९ मे १५ मा कलकत्ताबाट फिजीको राजधानी ‘शुभ’ पुगेको पहिलो जहाज ‘लियोनिदास’ले पहिलोपल्ट नेपाली फिजी टापुमा पुर्याएको थियो । फिजीका नेपालीहरुको भनाइअनुसार ४ सय ६३ जना कामदार र केही बेलायती बोकेको जहाज फिजी पुग्न ७५ दिन लागेको रहेछ । त्यो जहाजमा अनुमानित ५० देखि ११० सम्म नेपाली महिला पुरुष भएको अनुमान गरिन्छ ।
त्यसपछि गएका अरु खेपमा नेपालीहरुको अनुमानित सङ्ख्या ३ हजारदेखि ४ हजारसम्म रहेको अनुमान छ । फिजीको सबैभन्दा ठूलो टापु ‘मेन्ल्यान्ड, ‘भीटी लेभु’ र ‘भाउनुवा लेभु’अन्तर्गतका सिंग्गा टोका र लम्बासामा प्रशस्तै नेपालीहरूको बसोबास भेटिन्छ ।
राई, घर्ती, मगर, थापा, न्यौपाने, पराजुली, तामाङ, गुरुङलगायतका नेपालीहरु बसोबास गर्ने नेपालीहरुको दुई पुस्ता बेलायतीहरुको दासतामै बित्यो । न उनीहरुले पढ्न पाए न आफ्नो पहिचानको बारेमा खोजीनीति गर्न नै पाए । बेलायती मालिकहरुले फुकेको सिठीको भरमा काम गर्ने र हिन्दी, अङ्ग्रेजी बोल्नु पर्ने बाध्यकारी कानुनको कारण आफ्नो भाषा बिर्से । तर नेपाली खानको स्वाद भने उनीहरुको जिब्रोले कहिल्यै बिर्सेन । अझै पनि उनीहरुको चुलामा नेपाली परिकार पाक्छ, नेपाली भेषभुषा लगाउँछन्, चाडपर्वमा दशैँ तिहार मनाउँछन् । उनीहरुसँग सबै छ तर भाषा छैन । भाषाबिना पनि नेपाली पहिचान, नेपालप्रतिको अगाध माया, नेपाली प्रतिको असिम भातृत्व संसारमा कहीँ छ भने त्यो फिजीमा छ ।
हराएका नेपाली खोज्ने राज्यको दायित्व हो । हराएका आफ्ना बान्धव वा परिवार खोज्ने नेपालीको परम्परागत संस्कार पनि हो । सय वर्ष हराएका बन्धुहरु खोज्ने र एक सय वर्षमा पनि घर नआए अन्तिम संस्कार गर्ने हाम्रो परम्परा छ । त्यसरी हराएर अन्तिम संस्कार गरिसकेका ती नेपालीहरु कतै हाम्रै आफन्त त हैनन् ? ढिलै भए पनि खोज्नु जरुरी छ । ती हाम्रै हराएका पुर्खाका सन्तान हुन सक्छन, ती अहिले देश हाँकी रहेका देशकै नेतृत्वका आफन्त पनि हुन सक्छन् । वा उपल्लो तहमा सेवारत कुनै पनि नेपालीका आफन्त पनि हुन सक्छन् । हामीले ती हाम्रा बेलायतीबाट अपहरित पुर्खाका सन्तानहरुलाई सम्मान साथ भेटेर अँगालौँ । युगले बिर्सदै गएका फिजीका एक नेपाली विजेन्द्र सिंहको यो गुनासो ‘न त फिजी सरकारले साथ थियो न त नेपालले नै हामीलाई खोज्यो,’ लाई सम्बोधन गर्नु एक परोपकार कर्म हुनेछ ।
‘भाषा मेटिएपछि आफ्नो राष्ट्रिय स्वाभिमानबारे बुझ्ने माध्याम सकिन्छ । नयाँ पुस्ता आफ्नो पहिचानमा पुरानो पुस्ता जति संवेदनशील छैन । त्यसैले पहिचान सम्पूर्ण रुपले सकिने हो कि भन्ने चिन्ताले त्यहाँका नेपालीहरु चिन्तित छन् । यसबारेमा अन्तर्राष्ट्रिय साहित्य समाज ‘अनेसास’का पूर्वकेन्द्रीय अध्यक्ष पदम् विश्वकर्माले फिजीमा भाषिक सञ्जाल विस्तार गर्दै भाषा कक्षा सञ्चालन गर्ने वचन दिएका थिए । तर अहिले त्यसको पहल गर्ने कोही नेपाली संस्था भेटिएको छैन ।
फिजीका नेपालीहरूले १ सय ३६ वर्षदेखि जोगाएर हुर्काएको आफ्नो पहिचान विस्तार र समृद्धिका लागि संसारभरका नेपालीसँग याचना गरेका छन् । उनीहरुले भन्ने गरेका छन्, ‘बकुल्लालाई कागको बथानमा मिसाउँदैमा काग हुँदैन, हामी नेपाली जहाँ जसरी रहेका छौँ, नेपालीकै जस्तो भावना बोकेर रहेका छौँ । पुस्तौँपुस्तासम्म आफ्नोपनको निमित्त तड्पियौँ, अझैसम्म नेपालीपनमा गौरव गर्दै आएका छौँ, हामीलाई नेपाली बनेरै बाँच्न र मर्न मन छ । संसारभरका नेपालीहरुले यस विषयमा संवेदनशील भैदिनुहोस् र कमसेकम पुनर्मिलनको वातावरण बनाइदिनुहोस् ।’
उनीहरुले दुखका दिनहरु पनि सम्झिन्छन् र ठूला ठूला दुर्घटना सम्झेर भक्कानिन्छन् । त्यस्तै एक पुरानो दुखदायी सम्झना छ उनीहरुको बीचमा । सन् १९८४ मे १७ मा भारतबाट अधिकतम नेपाली र भारतीय ‘गिर्मिटिया’कामदार लिएर गएको पानी जहाज फिजीको एक टापु नजिकैको ‘नेसलाई रिफ’मा ठोकिएर ४ सय ९७ जना यात्रुसहित समुद्रमा डुबेको सम्झनाले उनीहरु अझै धमिलिन्छन् । त्यो जहाज दुर्घटना सम्झेर फिजीका नेपालीहरुले पूर्वको ‘टाइटनिक दुर्घटना’को उपमा दिँदै आफ्ना दिवङ्गत बन्धुहरुलाई श्रद्धाका फूल चढाउँछन् । फिजी पुर्याइँदा पानीजहाज दुर्घटनामा दिवङ्गत सबै अग्रज बन्धुहरुमा पङ्क्तिकारको पनि हार्दिक श्रद्धान्जली !
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला