पुस्तकका अधिकांश यात्रा वृत्तान्त पठनीय छन् चाहे त्यो  क्यानडा, अमेरिका हुँदै मेक्सिको आइपुग्ने मोनार्क जातको पुतलीको बासस्थान र खानेकुराको संकट देखाइएको विषय होस् चाहे डेरियन ग्यापको चुनौतीपूर्ण यात्रा ।

0000

संसार भ्रमण गर्नुको बेग्लै मज्जा हुन्छ । सकिन्छ भने जहाज चढेरै भ्रमण गर्ने हो । सकिन्न भने किताब पढेरै भए पनि भ्रमण गर्ने हो । संसार घुम्नु भनेको आँखाको दृष्टिलाई शीतल पार्नु मात्र होइन, संसारलाई बुझ्ने दृष्टिकोण फराकिलो पार्नु पनि हो ।

यस्तै दृष्टिकोण फरक पारिदिने पुस्तक हो – ‘संसारको सेरोफेरो’  । यो औपचारिक  र अनौपचारिक  रूपले विश्वका  १ सय २६ देश भ्रमण गरिसकेका डा. चन्द्र गिरीको यात्राहरूको संस्मरण हो  जसलाई साहित्यपोस्टले प्रकाशित गरेको छ ।

चन्द्र गिरीलाई विश्वको मेन्ग्रोबको नक्साङ्कन र अनुगमन गर्ने गुरु भनेर चिन्दछन् । अमेरिकी  सरकारको वातावरण  मन्त्रालयका वरिष्ठ सल्लाहकार तथा ड्युक विश्वविद्यालयका प्रोफेसर डा. गिरी कवि, गीतकार र लेखक पनि हुन् । उनी नेपाल र नेपालीले गर्व गर्नुपर्ने अन्तर्राष्ट्रिय  स्तरका प्रतिभा हुन् ।

नेपालको खोटाङबाट  जीवनको उडान शुरू गरेको एउटा पंक्षी संसारका थुप्रै देश फन्को मारेर अहिले अमेरिकामा थकाइ मेटिरहेको छ । हो त्यही पंक्षीको नाम हो डा. चन्द्र गिरी ।

पुस्तकका ३६ थान संस्मरण मध्ये बब मार्लीको देशमा मलाई  धेरै छोएको संस्मरण हो । भूगोल र जनसङ्ख्या दुवैका तुलनामा नेपाल भन्दा धेरै सानो यो टापु देशले विश्वप्रसिद्ध धावक उसेन बोल्ट, गायक बब मार्ली र चार पटकसम्म मिस वर्ल्ड जन्माएको छ । प्रतिभा जन्मिन ठूलो, धनी र भौतिक सुविधा सम्पन्न देश चाहिंदो रहेनछ ।  ढुङ्गाको काप फोरेर पनि उम्रिन्छ पिपल  भनेर माधवप्रसाद घिमिरेले त्यत्तिकै भनेका होइनन् ।

संसारकै उत्कृष्ट लुमिनस लगुन हेर्न जमैका पुगेका उनले त्यो देशको साङ्गीतिक र सांस्कृतिक पाटोलाई समेत आफ्नो देश नेपालसँग जोडेर हेरेका छन् ।

त्यसैगरी सन् २००१  मा खुला विज्ञान भेलामा भाग लिन  ब्राजिल पुगेका गिरीले त्यहाँको भौगोलिक अवस्थिति र पर्यावरण मात्र हैन खेल इतिहास समेत उत्खनन गर्ने जमर्को गरेका छन् ।  विश्वकप हारेर रुँदै गरेका पितालाई नौ वर्षको पेलेले सम्झाउँदै  बाबा नरुनुस् म यो देशका लागि कुनै दिन विश्वकप दिलाएर छोड्छु भनेर गरेको प्रतिज्ञा र अन्ततः त्यो साकार भएको प्रसङ्ग जोकसैका लागि पनि निकै प्रेरणादायी लाग्छ ।

पूर्वी अफ्रिकी देश केन्या भ्रमणका बारेमा पढ्दै गर्दा  पाठकले त्यहाँको गरीबी र अभाव मात्र हैन लेक नकुरुमा स्वयम् उपस्थित भएर लाखौं फ्लेमिङ्गोसँग एकसाथ खेलिरहेको अनुभूति गर्न सक्छन् । चालकबिनै गन्तव्यमा पुर्याउने ट्याक्सी शीर्षकको संस्मरणले  पाठकलाई प्रविधिको पछिल्लो विकासक्रमसँग साक्षात्कार गराउँछ ।

पुस्तकका अधिकांश यात्रा वृत्तान्त पठनीय छन् चाहे त्यो  क्यानडा, अमेरिका हुँदै मेक्सिको आइपुग्ने मोनार्क जातको पुतलीको बासस्थान र खानेकुराको संकट देखाइएको विषय होस् चाहे डेरियन ग्यापको चुनौतीपूर्ण यात्रा ।

लेखक गिरीको मस्तिष्कमा संसारका धेरै देशहरु होलान् परन्तु हृदयमा नेपाल नै छ भन्ने आभास त्यतिखेर हुन्छ जतिखेर आफ्नै देश अद्भुत शीर्षकको मार्मिक वर्णन पढ्न पुगिन्छ । त्यस्तै इन्डोनेशिया घुमघामको बारेमा पढ्दैजाँदा हाम्रै गायक ओम  गुरुङको  जहाँ ढुङ्गाढुङ्गामा देवताको बास छ बोलको गीत सम्झनामा आउँछ । अर्को महत्त्वपूर्ण जानकारी के पनि मिल्छ भने  बालीमा हिन्दूहरूको जुन परम्परा छ त्यो नेपाल र भारतको भन्दा भिन्न छ । त्यहाँ महिलाले पनि धर्मकर्म, पूजाआजा, कर्मकान्ड गर्छन् र जातीय विभेद छैन ।

लेखनमा इमानदारी महत्त्वपूर्ण पक्ष हो । उनको लेखनमा त्यो इमानदारी भेटिन्छ जस्तै मैले देखेको थाइल्यान्ड र समुद्रमा सुँगुरसँग पौडी नाम दिइएका सम्झनाहरू । उनका संस्मरणहरूमा शीर्षक नै पाठकलाई  कुतूहल पैदा गराउने खालका छन् । त्यो चलाखीले पाठकलाई पुस्तक पढुन्जेल बाँधेर राख्ने सामर्थ्य राख्छ । पर्यावरणीय पक्षका साथसाथै उनले विभिन्न देशका भौगोलिक,  ऐतिहासिक, सांस्कृतिक , राजनीतिक परिवर्तन र रैथाने जीवनशैलीलाई आफ्नो देश नेपालसँग तुलनात्मक अध्ययन गरेका छन् ।

मलाई लाग्छ ‘संसारको सेरोफेरो’ पुस्तकका  सकारात्मक पक्ष मात्र छैनन् सुधारात्मक पक्षहरू पनि छन् । उनका धेरै भ्रमणहरू व्यावसायिक कामको सिलसिलामा भएका छन् तथापि उनले आयोजक, सम्मेलन, घोषणापत्र र उपलब्धिहरूलाई  समेट्न छुटाएका छन् । लेखनको शैली पुस्तकभरि नै एउटै प्रकारको छ र त्यसमा साहित्यिक रसको कमी महसूस हुन्छ । यस अर्थमा प्रस्तुत कृतिले के-कति साहित्यिक मूल्य राख्छ त भन्ने एउटा सवाल उठ्छ । फेरि अर्को कुरा उनले वर्षौं लगाएर घुमेका देश र बटुलेका अनुभवहरूमा कतिपय महत्त्वपूर्ण  तिथिमिति,  घटना,  परिघटना र सम्झनाहरू छुट्न पुगे कि भन्ने सन्देह हुन्छ ।

डा. गिरीको संसारको सेरोफेरो पुस्तक विमोचनका क्रममा एक वक्ताका रूपमा मञ्चमा उभिने मौका पाएँ । आफूलाई सिकारु लेखक भनेर स्वीकार्ने डा. गिरी मलाई फलेको हाँगो जस्तो लाग्यो । पाठकका विमती  सहजै स्वीकार्ने,  शान्त,  पारदर्शी र सहृदयी । अक्षर त प्रायशः सबै लेखकका आदर्श नै हुन्छन् लेखकको जीवन पनि लेखन जस्तै आदर्श हुन जरूरी छ । डाउन टु अर्थ गिरीको संघर्ष, सफलता र लेखनबाट मात्र हैन व्यवहारबाट पनि सिक्नुपर्ने कुराहरू छन् ।