
लेखकको बारेमा लेख्ने आँट गरिसकेपछि अलिकति भूमिका बाँध्नैपर्ने हुन्छ किनभने संसारमा ‘टेढा’ भनेकै पढेलेखेका र जानेबुझेका मानिसहरू हुन्छन् । तर कसलाई लेखक भन्ने ? कति लेख्नेलाई लेखक भन्ने ? के लेख्नेलाई लेखक भन्ने ? कस्तो लेख्नेलाई लेखक भन्ने ?
अहिलेलाई यी प्रश्नहरूको जवाफ खोज्ने जिम्मा पाठकलाई नै !
अनि अर्को कुरा- म लेखक हुँ कि हैन ?
हुँ भने कसरी ? हैन भने लेखकको बारेमा लेख्ने दुस्साहस किन गरेको ?
यी दुई प्रश्नको जवाफ दिने जिम्मा चाहिं मेरो नै हो ।
अरूले मलाई लेखक मान्छन् मान्दैनन् मलाई थाहा छैन, तर ‘अरूले तपाईं भनोस् नभनोस्, आफैं मपाईं’ भन्ने हाम्रो भाषाको उखान सापट लिंदै यताउता आक्कल झुक्कल लेखिरहने र दुई‑चारवटा पुस्तक प्रकाशन गरेको नाताले म आफैंले आफूलाई ‘लेखक’ करार गर्दै आफैंले लेखकहरूको बारेमा लेख्ने अनुमति दिंदै यो लेख शुरू गर्न चाहन्छु ।
कसैले मलाई ‘कति पढ्नुहुन्छ ?’ भनेर सोध्यो भने मलाई उत्तर दिन निकै सकस हुन्छ । झूटो पनि कसरी बोल्नु ? अनि सत्य बोलेर आफैं लज्जित हुन पनि मन हुँदैन ।
कारण हो- म त्यति धेरै पढ्दैन । म मात्र हैन नेपालीहरूले धेरै पढ्दैनन् । नेपालमा पठन संस्कृति अत्यन्त कमजोर छ । पाठ्यपुस्तकका पुस्तक बाहेक अन्य पुस्तक पढ्ने नेपालीहरू निकै कम छन् । त्यसो त संसारमै पनि नियमित पुस्तक पढ्ने वयस्कहरू पाँच प्रतिशत मात्र छन् । यो तथ्याङ्कमा ‘नियमित’ भन्नाले एक महिनामा कम्तीमा पनि एउटा पुस्तक पढ्नेलाई भनिएको छ । त्यो भन्दा बढी त जति पढे पनि भयो । नेपालमा त नियमित पुस्तक किनेर पढ्ने पाठकहरू त सिला खोज्नुपर्ने अवस्था छ । हामी धेरैको लागि पढ्नु भनेको अरू केही काम नभएपछि समय कटाउने अतिरिक्त काम मात्र हो ।
मेरो कुरा गर्दा महिनामा औसतमा तीनदेखि चार वटासम्म किताब पढ्न सकियो भने म खुशी नै हुनेछु । अर्थात् एक वर्षमा सरदर चालिस वटा जति किताब पढियो भने आफूलाई ‘पाठक’ भन्न सकिन्छ जस्तो मलाई लाग्छ । तर मलाई थाहा छ- मैले जति पुस्तक पढ्नुपर्ने हो त्यसको एक तिहाइ जति पनि पुस्तक मैले पढ्ने गरेको छैन । तैपनि अधिकांश नेपालीहरूसँग तुलना गर्ने हो भने म पक्कै पनि ‘धेरै पढ्ने’ मा गनिन्छु होला ।
अधिकांश मानिसहरू पढ्दैनन् किनभने उनीहरूलाई पढ्नमा रुचि हुँदैन अथवा समय हुँदैन या पुस्तक किन्ने पैसा हुँदैन । तर मैले कम पुस्तक पढ्नुमा ती कुनै कारणहरूले काम गरेका छैनन् । त्यसमा एउटा अनौठो कारण छ । म आफूभित्र लामो समयदेखि एउटा भ्रम पालेर बसेको छु- अरूको पुस्तक पढ्ने समयमा त म आफूले केही लेख्नसक्छु भन्ने भ्रम । पढ्न लाग्ने समय र लेख्न लाग्ने समयमा धेरै अन्तर छ अनि मलाई आफ्नो सोच भ्रम हो भन्ने पनि थाहा छ, तर मलाई त्यस भ्रमले अन्तस्करणदेखि नै गाँजेको छ । म यसबाट निस्कने प्रयासमा छु र अवश्य निस्कने पनि छु, खालि ढिलो-चाँडोको विषय मात्र हो तर यसले के दर्शाउँछ भने- यदि भ्रम हो भन्ने जान्दाजान्दै पनि म यस्तो भ्रममा पर्न सक्छु भने अरू पनि यस्तै खालका अन्य भ्रममा परेर अरूका रचना नपढेर लेख्न मात्र उद्धत भैरहेका हुन सक्छन् ।
तर आखिर कति हो त लेखकहरूले पढ्नुपर्ने पुस्तक सङ्ख्याको मानक ?
सबैको मानक फरक हुन सक्छ । मैले कतैबाट तथ्याङ्क संकलन गरेको छैन तर व्यक्ति अनुसार आकाश पातालको अन्तर हुन सक्छ किनभने सबै पाठकले लेख्दैनन् र सबै लेखकले पढ्नुपर्ने जति पढ्दैनन् ।
मैले कतै लेखेको देखेको थिएँ- अधिकांश लेखक सम्पादक मात्र हुन्, उनीहरूले अरूले नै लेखेको कुरालाई आफ्नो भाषामा उतार्ने मात्र हुन् । त्यो कसको भनाइ हो मलाई थाहा छैन तर त्यो वाक्यले मेरो मन छोयो । त्यसमा सत्यता छ । अधिकांश लेखक आफूले पढेकै कुरालाई आफ्नो भाषामा लेख्ने पाठकहरू मात्र हुन् । आफ्नै ब्रह्मले देखेर कसैले सोच्न नसकेको, कसैले नलेखेको विषयमा लेख्ने लेखक हुँदै नभएका पक्कै होइनन् तर ती निकै नगण्य छन् । झन् अहिलेको यो आधुनिक र प्रविधिको युगमा लेख्न निकै सजिलो भएको छ र लेखकले आफूले सोचेरभन्दा अरूका सूचना संकलन गरेर राम्रो लेख्न सक्छन् ।
हामीले संसारभरिका पुस्तकहरू, संसारभरिका सूचनाहरू हाम्रो हत्केलाको उपकरणमा चौबीसै घण्टा भेट्टाउन सक्छौं । सूचनाको प्राप्ति यति सजिलो भएको छ कि हामीसँग चाहिने भन्दा बढी सूचनाहरू छन् र हामीलाई ती सूचनाको बारेमा सोच्न मात्र पनि समय अपुग हुन सक्छ । त्यसैले नयाँ कुरा सोच्नमा त हामीलाई समय हुँदैन भने पनि हुन्छ । प्रविधिले हामीलाई अल्छी बनाइदिएको छ । हाम्रो सिर्जनशीलतामा तगारो हालिदिएको छन् । त्यसैले अहिलेको समयका अधिकांश लेखकले तिनै सूचनाको आधारमा आफूले नयाँ पुस्तक लेख्छन् भन्न हिचकिचाउनु पर्दैन ।
पुस्तक लेख्नको लागि हामीलाई चाहिने भनेको मूल कुरा विषयवस्तु नै हो । विषयवस्तु भएपछि हामी लेख्न शुरू गर्छौं अनि आफ्नो शैलीमा आफूले जानेको कुरा पुस्तकमा उतार्छौं । शंकर लामिछानेको शब्द सापट लिएर भन्नुपर्दा- हामीले लेखनको लागि कच्चा पदार्थ जम्मा गरिरहेका हुन्छौं । ती सूचना हामीले पढेर, सुनेर, देखेर अनुभव गरेर ल्याएका हुन्छौं ।
पहिले सूचनाको ज्ञान प्राप्त गर्ने सबभन्दा भरपर्दो माध्यम पुस्तक र पत्रिका हुन्थे । पछि रेडियो टेलिभिजन थपिए । अहिले कम्प्युटर र इन्टरनेटको युगमा सामाजिक सञ्जाल भिडियो, ब्लगले गर्दा सबैले सूचना सजिलै प्राप्त गर्न सक्छन् । अझ अब त ए आइको आगमनले एउटा ‘प्रम्ट’को आधारमा हामीले आफूले कहिले सोच्न नसकेका र कल्पना पनि गर्न नसकेका सूचना सजिलै प्राप्त हुन्छन् ।
अब फेरि विषयमै जाऔं- कति पढ्ने, कति लेख्ने ?
साहित्यमा रुचि राख्नेहरूका लागि ‘कति पढ्ने, कति लेख्ने’ भन्ने विषय सधैं बहसको विषय भैरहन्छ । कसैले अरूले लेखिसकेको पुस्तक पढेर लेख्दा आफ्नो लेखनमा मौलिकता गुम्छ भनेर पनि आफू जस्तै विधामा कलम चलाउने अन्य लेखकहरूका पुस्तक धेरै पढ्नु हुँदैन भन्ने तर्क राख्छन् भने कसैले अरूले लेखिसकेको कुरा दोहोर्याएर नलेख्नको लागि पनि अरूले लेखेको पढ्नै पर्छ भन्छन् ।
दुवैका तर्क मनन योग्य छन् तर दुवै अपूर्ण छन् । न त पढ्दै नपढेर लेख्नु बुद्धिमत्ता हुन्छ न त सबै पुस्तक पढ्न नै सकिन्छ । सबै पुस्तक पढ्न भाषाको ज्ञान, समयको पाबन्दी अनि रुचि र आर्थिक हिसाबले सम्भव हुँदैन । अर्कोतिर पढ्दै नपढेर मेरो आफ्नै भाषा र शैलीमा लेख्छु भन्दा कतिपय कुरामा चिप्लिन सकिन्छ । एउटै विषयमा एउटै शैलीमा लेखिएका धेरै पुस्तक भए भने पाठकहरूको रुचि घट्छ अनि भाषा र शैली पनि उस्तै भयो भने त झन् चोरीको आरोप पनि लाग्न सक्छ ।
तर जे भए पनि आफू जस्तै अर्को लेखकको पुस्तक पढेर त्यसको प्रभावमा परेर आफ्नो मौलिकता गुम्छ भन्नु त मूर्खता मात्र हो । जति धेरै पढ्यो, उति धेरै सूचना र ज्ञान प्राप्त हुन्छ । अरूका पुस्तक पढेर प्राप्त सूचना र ज्ञानको अपार सागरबाट दुईचार थोपा निकालेर आफ्नो लेखनीमा राख्दैमा त्यसले आफ्नो मौलिकता गुमाउँदैन बरु त्यसले गंगाजलको काम गरेर लेखनीलाई पवित्र पार्न मद्दत गर्छ । सबै लेखकको आ-आफ्नो लेखन शैली हुन्छ । तर त्यति हुँदाहुँदै पनि अधिकांश लेखकहरू कुनै न कुनै लेखकबाट धेरथोर प्रभावित नभई रहन सकिंदैन । संसारका प्रख्यात लेखकहरू पनि कोही न कोहीबाट प्रभावित भएका हुन्छन् तर प्रभावित हुने भनेको आफूलाई प्रभाव पार्ने व्यक्तिको नक्कल गर्नु भनेको हैन, आफ्नो लेखन शैलीमा निखार ल्याउनु हो ।
प्रश्न अझै त्यहीं छ- उसो भए लेखकहरूले कति पढ्ने अनि कति लेख्ने त ?
यसको उत्तर सजिलो पक्कै छैन । हरेक लेखकको अवस्था फरक हुन सक्छ । कसैले थोरै पढेर पनि त्यसबाट धेरै कुरा लिन सक्छन् भने कसैले धेरै पढे पनि थोरै मात्र सिक्छन् । तर पनि कुनै विषयमा पुस्तक लेख्नुभन्दा पहिले चाहे त्यो आख्यान होस् या गैर-आख्यान, त्यसको बारे पहिले आफू अध्ययन गर्नैपर्छ । आफूसँग केही सीमित ज्ञान पहिलेदेखि नै हुन्छ । तर त्यसको दायरा बढाएर कम्तीमा पनि सामान्य पाठकले भन्दा बढी सूचना जम्मा गर्नैपर्छ । तथ्यमा आधारित भएर लेख्नुपर्ने हुनाले गैरआख्यान लेखकले त झन् आख्यान लेखकलेभन्दा बढी पुस्तक पढ्नुपर्छ ।
ल मानौं कुनै पुस्तक लेख्न लेखकसँग पचास प्रतिशत जति ज्ञान पहिलेदेखि नै छ (यो प्रतिशत कसैको लागि कम र कसैको लागि बढी पनि हुन सक्छ) । बाँकी पचास प्रतिशत उसले बाहिरी श्रोतबाट थप्नुपर्छ । पुस्तक लेखी सक्दा त्यसलाई शत प्रतिशत मान्यौं भने हामीले देखेका, सुनेका र पढेका पुस्तकबाट कम्तीमा पनि एउटा पुस्तकबाट दुई प्रतिशत मात्र ज्ञान र सूचना सामेल गर्ने हो भने पनि हामीले पचास प्रतिशतको लागि बीसदेखि तीस वटा जति किताब पढ्नुपर्छ । एउटै पुस्तकबाट पनि आफ्नो लेखनका सबै विषय निकाल्न नसकिने हैन, तर त्यसो गर्दा चोरीको आरोप लाग्नसक्छ र पुस्तक गुणस्तरीय हुन सक्दैन । हुन त पढ्ने कुरा गर्दा दिमागमा पुस्तककै तस्वीर बन्छ तर पढ्नु भनेको किताबका पाना पल्टाउनु मात्र हैन । सूचना संकलन गर्ने हो, जुन माध्यमबाट आफूलाई सजिलो हुन्छ त्यही माध्यम अपनाउन सकिन्छ । जस्तो कि भिडियो होला, समाचारमा आएका सूचना होलान् । अरूले भनेका कुरा होलान् । आफूले अनुसन्धान गर्नु, आफ्नो विषयमा स्थलगत अवलोकन गर्नु, सम्भावित पात्रहरूसँग कुरा गर्नु, उनीहरूका विचार सुन्नु उनीहरूको बानी, सोच, जीवनको बारेमा अनुसन्धान गर्नु सबै पढाइकै पाटा हुन् ।
अर्थात् एउटा सामान्य लेखकको लागि एउटा पुस्तक लेख्न त्यही विषयका कम्तीमा पनि बीसदेखि तीस पुस्तक पढ्नु जरूरी हुन्छ जस्तो लाग्छ । तर जति धेरै पढेर लेखियो, त्यो लेखन पक्कै पनि परिष्कृत र पाठकको रोजाइमा पर्छ भन्नेमा शंका छैन ।
र अन्तमा,
केही समय अगाडि पत्रकार तथा लेखक अच्युत कोइरालाले आफ्नो फेसबूकमा राखेको एउटा भनाइ यो विषयमा निकै सान्दर्भिक छ । अंग्रेजीमा लेखिएको त्यो भनाइको भावार्थ थियो- हामीकहाँ धेरै यस्ता लेखक छन् जसले लेख्ने हैन पढ्नु पर्थ्यो, तर लेखिरहेका छन् । तर यो पनि त्यत्तिकै सत्य हो कि कसैले धेरै पढ्छन् तर लेख्न जाँगर गर्दैनन् । जे होस्, कसले कति पढ्ने र कसले कति लेख्ने भन्ने कुरा आ-आफ्नो विचार, क्षमता र रुचिको कुरा हो । कसैले थोरै पढेर धेरै लेख्लान्, कसैले धेरै पढेर थोरै लेख्लान् तर अरू कसैको किताब नपढी लेख्नको लागि कि त अलौकिक ज्ञान चाहिन्छ कि त त्यो लेखक मूर्ख नै हुनुपर्छ भन्नेमा चाहिं दुई मत नहोला ।
पढेपछि लेख्नैपर्छ भन्ने छैन तर लेख्नको लागि भने पढ्नै पर्छ ।
भन्नु यत्ति मात्र हो !



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

