
समकालीन साहित्य भन्नाले द्वितीय विश्वयुद्धपछिको आजसम्मको समयावधिमा देखिएका नवीन सोच-विचारलाई प्रतिनिधित्व गरेको साहित्यलाई बुझिन्छ । नेपाली साहित्यमा पनि सोही कुरा बुझ्नु पर्दछ । यस आलेखमा भने प्रस्तुति समयको कुरा ध्यानमा राखेर सन् २००० यताको कुरा मात्र समेट्ने प्रयास गरेको छु । अन्तर्राष्ट्रिय स्तरको विमर्श कार्यक्रममा विश्वसाहित्यका नवीन धारलाई हेर्नुपर्ने हुन्छ । विश्व भाषा बनिसकेको नेपाली भाषा विश्वका विभिन्न मुलुकबाट साहित्य सिर्जना भइरहेको छ । यस आलेखमा सिर्जनाहरूको सामान्य झलक मात्र प्रस्तुत गरिएको छ ।
साहित्य भनेको यथास्थितिको विश्लेषण चित्रण मात्र नभएर भविष्यको आकलन पनि हो । विगत सय वर्षमा विश्वको मानचित्र द्रूत गतिमा परिवर्तन भयो र त्यसलाई चित्रण गर्ने साहित्य, संगीत, कला सबै तत्त्व परिवर्तित भए । मान्छे यथास्थितिलाई त्याग गरेर नयाँतिर धावमान भए । त्यसैले साहित्य सिर्जनाको स्वरूप र समालोचना पद्धतिमा पनि आमूल परिवर्तन भयो । उदाहरणका लागि युद्धसाहित्य, पर्यावरण साहित्य, डायास्पोरा साहित्य, नारीवादी, जातीय-जनजातीय, दलित सबल्टर्न साहित्य, साइबर साहित्य र अरू नित्य नूतन प्रयोग देखिन थालेका छन् ।
प्रयोग र प्रयोगवाद
बीसौं शताब्दीको शुरूदेखि उदाउन थालेका अनेक वाद र आन्दोलनका प्रभावमा जन्मेको अनि कलाबाट साहित्यमा प्रवेश गरेको नवसाहित्य प्रयोगवादका रूपमा परिचित भयो ।
प्रयोगवादको तात्पर्य साहित्य सिर्जनाका पुराना परम्पराबाट मुक्त भएर नित्य नयाँपनको खोजी गर्नु र साहित्यमा प्रयोग गर्नु हो । उत्तरआधुनिक साहित्यका अनेकौं प्रवृत्तिमध्ये प्रयोगवाद पनि एक हो । दुर्बोध्यता, प्रयोगवादको एउटा लक्षण हो । प्रचलित परम्परालाई भत्काएर नयाँ बाटो लिएपछि त्यो असहज हुन्छ नै । यस प्रकारको रचनामाथि लेखक र पाठक बीच सञ्चार कायम गर्न नसकिने आरोप लगाइन्छ । हुन पनि कतिले त प्रयोगलाई केवल प्रयोगकै लागि, चमत्कारका लागि, क्षणिक तुष्टि र दिमागी कसरतका लागि गरेको पाइन्छ । त्यसैले यसलाई उत्तरआधुनिक लेखनसँगै जोडेर हेर्नु सही हुनेछ । तेस्रो आयाम, लीलालेखन, समावेशी, हस्तक्षेपी, भयवादी, स्वीकारोक्ति आदि साहित्यलाई पनि प्रयोगवादी नै भन्न सकिन्छ ।
प्रयोगका नाममा विशेषगरी नेपाली कवितामा विभिन्न आकृतिका ठोस कविता, रेखा कविता, रम्बस कविता, एक हरफे कविता, दुई हरफे युग्मक र तीन हरफे तिहक देखिएका छन् ।
उत्तरआधुनिक प्रवृति
उत्तरआधुनिक भन्नाले संक्षिप्तमा विविधता हो । एउटै विचार मात्र सही हो भनेर ठाने अवधारणालाई महाख्यान भनिन्छ अनि उत्तरआधुनिकताले सबै प्रकारका महाख्यानलाई प्रत्याख्यान गर्दछ । उत्तरआधुकतावादलाई स्थापित गराउनेहरुमध्ये फ्राँस्वाँ ल्योतार (१९२४-१९९८) एक अग्रगामी हुन् । उनको ‘द पोस्टमडर्न कन्डिसन’ यस विषयको एक मानक ग्रन्थ हो ।
बसाइसराइँ र डायास्पोरा साहित्य
भुमण्डलीकरण र त्यसै सन्दर्भमा आयातित साइबर संस्कृतिले यतिखेर सारा विश्वलाई प्रभावित पारेको छ । विभिन्न कारणले गर्दा मान्छेको बसाइ सराइ निरन्तर बढ्दो छ । विशेषगरी अविकसित मुलुकबाट विकसित मुलुकतिर मान्छेहरू ताँत लागेका छन् । राष्ट्रियताको बन्धन खुकुलो भए पनि नयाँ मुलुकमा जातीय पहिचानका तत्व भाषा र संस्कृतिलाई जोगाउने प्रयास गर्नु स्वाभाविक हो । त्यसैले केही दशक अघिदेखि विश्वका विभिन्न देशहरूबाट नेपाली भाषामा साहित्य सिर्जना हुनथालेको छ । नेपाली भाषाको जन्मथलो भारत र नेपाल बाहेक अन्य देशमा सिर्जना भएको नेपाली साहित्यको महत्त्व कम छैन । आजको परिप्रेक्षमा नेपाली साहित्यको एउटै मात्र केन्द्र ठान्नु सरासर गलत हुनेछ । नेपाली भाषामा विकसित डायास्पोरा साहित्यका अनेक केन्द्र विभिन्न देशमा विस्तारित भएका छन् ।
बसाइँसराइ अर्थात् माइग्रेशन स्टडिज नामक अध्ययन अनुसन्धानको एक नयाँ उपविधा आएको छ । मानिसको बसाइको गतिशील प्रवृत्तिले साहित्यको एउटा पाटो भिन्न छ । भारतीय मूलका बेलायती स्रष्टा भी.एस. नैपलले आफ्ना पात्रका मन आधा भारतमा आधा बेलायतमा पुगेको कुरा उनको ‘द उन्डेड सिविलाइजेसन’ ग्रन्थमा लेखेका छन् । होमनाथ सुबेदीको ‘यमपुरीको महल’ र गोपाल पौडेलको ‘कथाभित्रको कथा’ डायास्पोरिक आख्यान कृति हुन् ।
‘जगदम्बा नेपाली साहित्यको बृहत इतिहास’ मा भारत र नेपाल बाहेक विश्वका विभिन्न मुलुकहरूमा विकसित भएको नेपाली साहित्यलाई डायास्पोरिक साहित्य भन्ने सङ्केत दिइएको छ । उक्त ग्रन्थमा शिवलाल दाहालले भूटानमा नेपाली साहित्य, डा. दुबसु क्षेत्रीले बर्मामा नेपाली साहित्य, देवेन्द्र सुर्केलीले मलेसियामा नेपाली साहित्य, राजकुमार राईले हङकङेली नेपाली डायास्पोरा, टङ्क सम्बाहाम्फेले हङकङको नेपाली साहित्य, जीवन खत्रीले दक्षिण कोरियामा नेपाली साहित्य, सुनिता राई कन्दङ्वाले इजराय़लमा नेपाली साहित्य, कृष्णप्रसाद श्रेष्ठले रुसमा नेपाली साहित्य, कृष्ण बजगाईँले युरोप (बेल्जियम, फ्रान्स, जर्मनी र पुर्तगाल)मा नेपाली साहित्य, गोपी सापकोटा र विकलचन्द्र आचार्यले बेलायतमा नेपाली साहित्य, निष्प्रभ सजीले अस्ट्रेलियामा नेपाली साहित्य, होमनाथ सुबेदीले उत्तर अमेरिकामा (अमेरिका र क्यानाडा) नेपाली साहित्यको रूपरेखा प्रस्तुत गरेका छन् । होमनाथ सुबेदीको ‘डायास्पोरिक नेपाली साहित्यको इतिहास’ उल्लेखनीय ग्रन्थ हो ।
पर्यावरण साहित्य
भारतीय साहित्यमा पर्यावरणका कुरा प्रचीन कालदेखि नै लेखिए तर पर्यावरणको विज्ञानलाई ध्यानमा राखेर विकसित भएको सिद्धान्त आएको धेर भएको छैन । जीव, वनस्पति, जल, थल सबै आफ्नो भोगको वस्तु ठानेर मानिसले तिनको दुरुपयोग गऱ्यो । योग्यभोग्या भनेर वसुन्धरालाई बलात्कार गऱ्यो । परिवेशको सन्तुलन मान्छेले नै बिगारेको हो । मान्छेले आफ्नो सुख सुविधाका लागि प्रकृति माथि गरेको अविवेकी कर्मकाण्डको कुफल देखाउँदै त्यसको विरुद्ध लेखिएको साहित्यलाई परिवृत्तीय साहित्य भनिन्छ । यो १९६० तिर आएको अवधारणा द्रुतगतिमा विकसित हुँदै गयो ।
यो सिद्धान्तलाई नेपालीमा डा. गोविन्दराज भट्टराईले भित्र्याए भने उनको अनुयायी बनेर बेलायतका विजय हितान र भारतका ज्ञानबहादुर छेत्रीले पर्यावरण साहित्य सिद्धान्त र सिर्जनामा महत्त्वपूर्ण योगदान पुऱ्याएका छन् । नेपाली भाषामा पर्यावरण विषयमा पीएचडी गर्ने सिक्किमकै सुसन्तान देवचन्द्र सुब्बा हुन् । नेपाली पर्यावरण कविताको चर्चा गर्दा उनको शोधग्रन्थ नेपाली कवितामा परिवेश (२०२१) लाई मानक सन्दर्भ ग्रन्थका रूपमा लिन सकिन्छ ।
यसै सन्दर्भमा डा. एकलव्य शर्माले गरेको अध्ययन अनुसन्धानका लागि उनी पद्मश्री सम्मानले विभूषित हुनु हाम्रा लागि गौरवको कुरा हो । उसैगरी गोविन्दराज भट्टराई र विजय हितान सम्पादित ‘पर्या साहित्य सिद्धान्त र सिर्जना’ (विसं २०८०) यस विषयको आधिकारिक ग्रन्थ प्रकाशित हुनु महत्त्वपूर्ण कुरा हो । अविनाश श्रेष्ठको ‘करोडौं सूर्यहरूको अन्धकार’, देवेन सापकोटाको ‘परिश्रान्त पृथिवी’, राजा पुनियानीको ‘तङसिङ’ आदि पर्या-कविताका केही दृष्टान्त कृति हुन् भने विजय हितानको ‘ब्लु प्लानेट’ र देवेन सापकोटाको ‘पृथिवीका सुस्केराहरू’ पर्या-कथाका नवीनतम दृष्टान्त हुन् ।
खुशीको कुरा, यतिखेर असमका सर्जकहरू निकै सचेत भएर पर्या-साहित्य सिर्जनामा लागिपरेका छन् । इन्द्रेणी प्रकाशनले हालै ७० जना कविका पर्या-कविताको संग्रह प्रकाशित गराएर कीर्तिमान स्थापित गरेको छ । पूजा आचार्यले असमियाबाट अनुवाद गरेको उपन्यास ‘यहाँ एउटा जङ्गल थियो’ (मूल असमिया अनुराधा पुजारीको (इयात एखन अरण्य आसिल) पर्यावरण साहित्यको उल्लेखनीय कृति हो । सरुभक्त, धर्मेन्द्र नेम्बाङ र अरू धेरै सर्जकहरू पर्या-साहित्य सिर्जनामा समर्पित भएका छन् ।
युद्धसाहित्य
प्राचीन पूर्वेली र पश्चिमेली काव्य साहित्य युद्धको वर्णनले परिपूर्ण छ । चीनीया लेखक सन जु-ले अढाइ हजार वर्षअघि नै युद्धकला (दि आर्ट अफ वार) भन्ने ग्रन्थ रचना गरेका हुन् । साहित्यको एक विशिष्ट उपविधाका रूपमा भने यो हालसालै विकसित भएको उपविधा हो ।
नेपाली गोर्खाली लडाकू जाति हो । पूर्वोत्तर भारतको नेपाली साहित्य युद्धसाहित्यबाट शुरू भएको हो । १८९३ मा गोर्खा राइफल्सका तुलाचन आलेले ‘मणिपुरको लडाईँको सवाई’ लेखेर यस क्षेत्रमा नेपाली साहित्यको जग बसालेका हुन् । हिमाचल प्रदेशका मित्रसेन थापाले प्रथम विश्वयुद्धमा लडेको घटना लिपिबद्ध गरेको डायरीको आधारमा विजय हितानले ‘लाहुरेको रेलिमाई’ जस्तो अमर उपन्यास रचना गरे । रक्ष राईको ‘युद्धसौन्दर्य चिन्तन’ (२०२२) एउटा माइलखुटी नै हो ।
यसरी युद्धसाहित्य छुट्टै उपविधा विकसित हुनु महत्त्वपूर्ण कुरा हो । युद्ध विनाशको खेल मात्र होइन । युद्धलाई ध्वंस मात्र ठान्दा अध्ययन अपुरो, एकपक्षीय हुनजान्छ । विनाशबाटै नयाँ सिर्जना हुन्छ अनि त्यो नै युद्धको सकारात्मक सौन्दर्य पक्ष हो । यस बृहत् ग्रन्थमा रक्ष राईले प्राचीन कालदेखि आधुनिक विश्वमा खेलिएका युद्धको इतिहास, कला र तत्सन्दर्भित धेरै कुराको चर्चा गरेका छन् । यसलाई मानव सभ्यताको दर्पण भनिएको छ ।
उत्तरउपनिवेशवादी साहित्य
उसैगरी सयौं वर्षको उपनिवेशवाद समाप्त भएपछि स्वाधीन राष्ट्रहरू जुर्मुराएर उठे । यसका साथै उपनिवेशितहरूको सोचमा ठूलो परिवर्तन आयो । साहित्य लेखनको परिदृश्य नै बदलियो । अध्येताहरूले यसलाई उत्तरउपनिवेशवाद नाम दिए । एडवर्ड सइदले उनको प्राच्यवाद (Orientalism)मा उत्तरउपनिवेशवादका पेचिला कुरालाई खुलासा गरेका छन् । साहित्यमा त्यसको प्रभाव परेको पाइन्छ ।
उत्तरआधुनिक समालोचनाले उपनिवेशवादको इतिहासलाई उपनिवेशितका नजरले पुनरीक्षण गर्दछ अनि उपनिवेशले उपनिवेशवादी शक्ति र उपनिवेशित समूहको अर्थनीति, राजनीति र संस्कृतिमा के कस्तो प्रभाव परेको छ त्यसको निर्क्योल गर्छ, उपनिवेशको पञ्जाबाट मुक्त हुने प्रक्रियालाई विश्लेषण गर्छ अनि सर्वोपरि राजनैतिक मुक्तिको लक्ष्य लिएर कार्य गर्दछ जसमा भौतिक सम्पदाको अधिकार, भूमिको अधिकार र जातीय सांस्कृतिक अधिकार पर्दछन् । यस सन्दर्भमा साहित्य अकादेमी, नयाँ दिल्लीले २०१३ मा सिक्किम विश्वविद्यालयमा भारतीय उत्तरउपनिवेशवादी साहित्य विषयमा संगोष्ठी सम्पन्न गराएको थियो । त्यस संगोष्ठीमा पठित कार्यपत्रहरूको संकलन डा. कविता लामाको सम्पादनमा प्रकाशित भएको छ ।
जीवनीपरक उपन्यास (अटो फिक्सन)
समकालीन नेपाली साहित्यमा जीवनीपरक उपन्यास लेखन पनि निकै लोकप्रिय बन्दै गरेको अनुभव हुन्छ । राष्ट्र निर्माणका साथै जातीय जीवनमा पनि प्रभाव पार्ने मनीषीहरूको जीवन आधारित आख्यानमा इतिहासमा छोपिएका महत्त्वपूर्ण कुराहरू उत्खनन गरिएको हुनाले यस प्रकारका उपन्यासको ठूलो महत्व हुन्छ ।
किरात धर्म, भाषा र संस्कृतिका महागुरु फाल्गुनन्दको जीवन र दर्शनलाई विश्वमा परिचय गराउने ध्येयले वीरेन्द्र थोक्लिहाङ सुब्बाले उपन्यास प्रकाशित गराएका छन् । हङकङेली लेखक राजकुमार राईको उपन्यास किवाहाङ नेपाली अटोफिक्सनको एउटा उत्कृष्ट नमूना हो । लीलबहादुर क्षत्रीको ‘प्रतिध्वनिहरू विस्मृतिका’ र गीता उपाध्यायको ‘जन्मभूमि मेरो स्वदेश’ जीवनीपरक उपन्यास हुन् । अरू धेरै जीवनीपरक उपन्यास लेखिएका छन् र जातीय पहिचानका लागि धेरै भन्दा धेरै जीवनीपरक आख्यान कृतिको अपेक्षा गरिन्छ ।
विनिर्माणवादी
साहित्य समय सापेक्ष हुनुपर्छ । हिजोको समय अर्कै थियो, भूगोल अर्कै थियो । समय र भूगोलको परिवर्तनका साथ मान्छेको सोच, विचार र मान्यतामा पनि परिवर्तन आयो । विस्तारै हाम्रा संस्कार र परम्पराहरू मासिन थालेका छन् । यस लेखकको नियात्रा पुस्तकबाट केही हरफहरू उद्धृत गर्न चाहन्छु ।
‘त्यसैले यस देशमा (न्युजिल्यान्ड) कसैका घरमा पनि हलगोरु, दुहुने गाई, बाख्रा-पाठा, कुकुर-बिरालो पाल्नु मिल्दैन’ – गोपालले दुःख पोखे । ‘यस देशले हाम्रो संस्कृति नै मास्ने भयो नि दाजु’ – मोहनले पनि अरू थपे, ‘हाम्रो चाड तिहारमा हली तिहार, गाई तिहार, कुकुर तिहार, काग तिहार कसरी मनाउनु?’ (मेरो न्युजिल्यान्ड यात्रा, पृ. ९०) ।
जाति, लिङ्ग, धर्म, धनी, गरीब जस्ता भेद हटाउन हिजोका कथाको पुनर्लेखन गर्दै छन् । एक स्थिर कथा वा मिथकलाई अनेक दृष्टिले हेर्न सकिन्छ भन्ने दृष्टान्त इबराको ‘कठपुतलीको मनमा’ एउटै कथालाई विनिर्माण गरी भिन्न प्रकारले हेरिएको छ । विनिर्माणको पक्षमा तर्क दिँदै क्रिस्टियन मेट्जले भनेका छन – Art is derived from the art, stories are born of other stories.
त्यसै गरी मोनिका लोएब भन्छिन् – Narrator generates new stories from the old ones.
त्यसैले डेरिडेली शैलीमा पुरानो साहित्यलाई युगानुकुल पारेर पुनर्लेखन गर्न काम हुन थाल्यो । यसरी धेरै प्राचीन महाकाव्य, नाटक र तिनका पात्रलाई आजको सन्दर्भमा दर्शाउने साहित्यलाई विनिर्माणवादी साहित्य भन्न सकिन्छ । नेपालीमा कृष्ण धरावासीको ‘शरणार्थी’ उपन्यास, अशेष मल्लको नाटक ‘शकुनि पाशाहरू’, पारसमणि दङ्गालको उपन्यास ‘रामराज्य’ र विन्द्या सुब्बा अनूदित ‘द्रौपदी’ (मूल ओडिया ‘याज्ञसेन’ – प्रतिभा राय) । असमका आख्यानकार छत्रमान सुब्बाले पनि महाकाव्यिक पात्रहरूलाई विनिर्माण गरेर उनको कथासंग्रह ‘माङ्गेना’मा भित्र्याएका छन् । यो डिकन्स्ट्रक्सन र रिजेनेरेसन विश्वकै नयाँ चिन्तन हो ।
नाटकको स्वरूप त्रिआयामिक हुनाले यसको असर प्रभावकारी हुन्छ । समय परिवर्तनका साथ मान्छेको रुचि र मान्यतामा परिवर्तन आउँछ । यतिखेर नाटक लेखन र टेक्निकमा पनि । अशेष मल्लले नेपाली नाटक र मञ्चकलालाई उचाइमा पुऱ्याएका छऩ् । उसै गरी डा. रामचन्द्र पोखरेल सम्पादित नेपाली नाट्यविमर्श नेपाली नाटकका चरणगत विशेषता दर्शाएको छ ।
आञ्चलिकतावादी
आञ्चलिक तथा जातीय समस्यालाई टडकारो रूपमा प्रस्तुत गरिएका उपन्यासमा असित राईको अकादेमी पुरस्कारले सम्मानित उपन्यास ‘नयाँ क्षितिजको खोज’ एउटा माइलस्टोन नै हो भने त्यस पछिका आञ्चलिकतावादी उपन्यासमा भगीरथ रावतको ‘बास सल्किँदैछ’, छुदेन काबिमोको ‘फातसुङ’, बबिता मादेनको १९८६ ‘बास हराएपछि’, लेखनाथ छेत्रीको ‘फुलाङ्गे’, प्रेम प्रधानको ‘पहाड सल्किरहेछ’, गीता उपाध्यायको ‘जन्मभूमि मेरो स्वदेश’ आदि उल्लेखनीय छन् ।
सरस्वती प्रतीक्षाको ‘नथिया’, प्रकाश भट्टराईको ‘मुलाङ’ र अरू धेरै उपन्याय आएका छन् । (हाम्रातिर मुलाङखरे शब्द सुन्दै आएको, आज पनि सुनिन्छ) ।
उपन्यास लेखनका प्रचलित मान्यताहरूलाई पूरै तहसनहस पारेर उत्तरआधुनिक उपन्यास आएका छन् । गोविन्दराज भट्टराईको ‘सुकरातको डायरी’ उपन्यासमा कविता, नाटक, अनुवाद, अन्तर्वार्ता, समालोचना आदि विभिन्न विधाहरूलाई मिश्रण गरिएको छ अनि उपन्यासका प्रकार र तत्वहरूको विश्लेषण गरिएको छ । यसलाई कतिले उत्तरआधुनिक अधिउपन्यास आख्या दिएका छन् । उसैगरी मोराशको उपन्यास ‘सलिजो’लाई सन्दिग्ध सिद्धान्तको आधारमा मूल्याङ्कन गर्नुपर्ने हुन्छ ।
यथार्थवादका नयाँ भेद
प्रविधिको चमत्कारले गर्दा कुन असल कुन नक्कल छुट्याउनै नसकिने भएको छ । सत्य-असत्य, सानो-ठूलो आदि द्विचर विभाजन पनि यतिखेर अप्रासङ्गिक बनेको छ । त्यसैले पहिलेको यथार्थवादका नयाँ भेदहरू जस्तै परोक्ष यथार्थवाद, मायिक यथार्थवाद, हाइपर रियालिज्म आदि प्रयोग नेपाली साहित्यमा पनि देखापरेका छन् । मायिक यथार्थवादको उदाहरणका लागि डायमन शमशेर राणाको ‘सेतो बाघ’ र गोविन्दराज भट्टराईको ‘सुकरातका पाइला’ उपन्यासलाई लिन सकिन्छ । नेपाली भाषामा अन्य भेदहरूका आधारमा लेखिएका कृति भने यस लेखकका नजरमा परेका छैनन् ।
भयवादी प्रवृत्ति
पछिल्लो समयमा मान्छेका हरेक कर्मलाई भयसँग जोडेर व्याख्या गर्ने अवधारणाले दर्शनको रूप लिएको छ । भयवादीहरूको भनाइ छ जीवनलाई भयले सञ्चालन, निर्देशन र नियन्त्रण गर्दछ । हामी चारैतिर भयबाट जेलिएका छौं । आदिम कालदेखि आएको भयमा दिनदिनै नयाँ भयहरू थपिँदै छन् । अमेरिकी भयवादी अध्येता लुइ फिसर र हङकङका देश सुब्बाले यस दर्शनका बारेमा केही ग्रन्थ प्रकाशित गराएका छन् । देश सुब्बाको उपन्यास ‘आदिवासी’ (सन् २००७) भयवादमा आधारित पहिलो नेपाली उपन्यास हो । देश सुब्बाको भयवादी दर्शनमा अडेसिएर डा. टङ्क न्यौपाने, रण काफ्ले, विष्णु शास्त्री आदि लेखकले पुस्तक प्रकाशित गराएको जानकारी पाइएको छ ।
अन्तर्विषयक
यतिखेरको साहित्य अन्तर्विषयक (Interdisciplinary) हुनपुगेको छ । पहिलेको साहित्यमा मान्छे भन्दा साधारणत नारी र पुरुष यी दुई वर्ग मात्र साहित्यमा देखिन्थे । अहिले जेन्डर स्टडिज (LGBTIQ – Lesbian, gay, bisexual, transgender, intersex, queer) विभिन्न थरीका व्यक्ति साहित्यमा देखिन थालेका छन् ।
मोराशको ‘सलिजो’, जे एन दाहालको ‘प्रहेलिका’ उदाहरण हुन् । खिलानाथ शर्माको ‘मेरो माइक्रोस्कोप’ कविता संग्रहमा मेडिकल साइन्सका शब्दहरू प्रयोग गरिएको छ भने विकास लामाको अन्टोल्ड स्टोरीमा कानून विषयका शब्दहरूको प्रयोग भएको देखिन्छ । एआइ, च्याट जीपीटी जस्ता तत्त्व साहित्यमा प्रवेश गरिसकेको हुनाले ती कुराको सम्यक जानकारी नभए कृतिको पठन र समालोचना गर्न सकिँदैन ।
अनुवाद
विश्वसाहित्यसँग जोड्ने सबैभन्दा कारगर माध्यमका रूपमा हिजोआज अनुवादको महत्त्व धेरै बढेको छ । अनुवाद पनि नयाँ सिर्जना जस्तै रसिलो र भरिलो हुनसक्ने हुनाले अनुवादलाई हिजोआज अनुसिर्जना (Transcreation) भन्ने गरिन्छ । आफ्नो कृति विभिन्न भाषामा अनूदित भएर विश्वदरवारमा पुगोस् भन्ने सबै लेखकको चाहना हुन्छ । त्यसैले कृतिको अनुवादमा धेरै महत्त्व दिएको हुनाले अनुवादलाई पनि समकालीन साहित्यको एक शक्तिशाली प्रवृत्तिका रूपमा लिन सकिन्छ । तर दुःखको कुरा के छ भने नेपाली साहित्यमा अनुवादलाई अझ त्यति महत्त्व दिइएको छैन । विश्व साहित्यका केही महत्त्वपूर्ण कृति नेपालीमा अनुवाद भएका छन् तर हाम्रो साहित्यलाई विश्वदरवारसम्म पुऱ्याउन सक्षम अनुवादकको अभाव खटकिएको छ ।
विश्वका उन्नत भाषाहरूमा विशेषगरी युवा वर्गमा धेरै पढिने गरेको विज्ञानका आख्यान (साइफाइ) नेपाली भाषामा कमै पाइन्छ । उसैगरी जलवायु परिवर्तन विषयका आख्यान (क्लाइफाइ)को पनि अभाव खटकिँदो छ । विभिन्न आयुवर्गका बाल-बालिकाहरूको उपयोगी हुने गरी साइफाइ, क्लाइफाइका साथै भाषिक-सांस्कृतिक चेतना जगाउने धेरै भन्दा धेरै पुस्तक, इ-पुस्तकको आवश्यक छ ।
० ० ० ०
सन्दर्भ सूची
- काव्यिक आन्दोलनको परिचय, डा. गोविन्दराज भट्टराई, साझा प्रकाशन, २०६२ विस
- डायास्पोरा सिद्धान्त र समालोचना, डा. गोविन्दराज भट्टराई, नेपाल प्रज्ञा प्रतिष्ठान, २०७२ विस
- उत्तरआधुनिक विमर्श, डा. गोविन्दराज भट्टराई, मोडर्न बुक्स, 2064 विस
- उत्तरआधुनिक सिर्जना र समालोचनाका आधारहरू, ज्ञानबहादुर छेत्री, असम नेपाली साहित्य सभा, २०२०
- जगदम्बा नेपाली साहित्यको बृहत् इतिहास (तेस्रो ठेली), प्रधान सम्पादक – डा माधवप्रसाद पोखरेल ।
- जगदम्बा प्रकाशन पाटन ढोका, ललितपुर, विसं २०७७ ।
- युद्धसौन्दर्य चिन्तन, रक्ष राई, गोर्खा बुक्स, काठमाडौ नेपाल, २०२२
- पर्या साहित्य सिद्धान्त र सिर्जना, सम्पादक गोविन्दराज भट्टराई र विजय हितान ।
- भयवाद, देश सुब्बा, किताबघर प्रकाशन, विस २०७१
- ओरियेन्टालिज्म, एडवर्ड डब्लिउ सइद, पेङ्गुइन बुक्स, १९९५
- द आर्ट अफ वार, सन जु, फिङ्गारप्रिन्ट पब्लिशिङ, २०१८



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

