व्यक्तिवृत्तमा सी के श्रेष्ठ-

समाजमा केही नयाँ काम गरेर आफ्नो अस्ति जोगाइराख्न मान्छ कम्मर कसेका हुन्छन् । केही गर्छु, समाजलाई केही दिन्छु भन्ने केही व्यक्तिको धारणा हुन्छ । समाजमा यस्ता प्रतिभाशाली व्यक्ति रहेका हुन्छन् जसले आफ्नो प्रतिभालाई समाजोपयोगी बनाएका हुन्छन् ।

कालिम्पोङका सी. के. श्रेष्ठ यस्ता हुन् जसले आफ्नो प्रतिभाले समाजलाई अहोरात्र केही नयाँनयाँ विचार प्रदान गरिरहेका छन् । उनी सर्जक हुन्, अभिनेता, राजनेता हुन् र हुन् जातीय चिन्तक । उनका हरेक गतिविधिमा कलात्मकता रोचकता, नयाँपन, रसिकता, ज्ञानवर्द्धता जस्ता कुरा पाइन्छन् । उनी आफ्नो वरिपरिको परिवेशलाई उज्यालो पार्दछन् ।

सी के श्रेष्ठ

सेतो र लामै केश र दारी पालेका, रातो लबेदा लगाएका, हेर्दै कलाकार लाग्ने, उज्याला, हँसिला, रसिला व्यक्तित्व हुन् सी के श्रेष्ठ । अनुभव, ज्ञान, कलाका भण्डार, जातीय मुक्तिका उत्प्रेरक,  विचारक तार्किक व्यक्तित्व हाम्रो समाजका धरोहर हुन् । पूरा नाम चन्द्रकिशोर श्रेष्ठ भए पनि पनि नेपाली समाजमा सी. के. श्रेष्ठका रूपमा प्रख्यात छन् ।

उनी एक नाट्य कलाकार, नाटककार, कवि, गीतकार राजनेता, राजनैतिक चिन्तक र कुशल सङ्गठक हुन् । उनका व्यक्तित्वका अनेक पाटा छन्  । मुख्य गरी नाट्यकारिता, राजनीति, पत्रकारिता र लेखकीय आदि उनको प्रतिभाका क्षेत्र हुन् ।

उनको जन्म २२ मई, १९४७ मा कालिम्पोङमा भएको हो । उनका बाबुआमाको नाम स्व. एस एन श्रेष्ठ र स्व. जयवन्ती रूथ प्रधान हो । यिनको कालिम्पोङको गुरुङ परिवारसित कौटुम्बिक सम्बन्ध रहिआएको छ । उनको विवाह हिरण गुरुङ श्रेष्ठसित भएको हो जो केही वर्षअघि बितिसकेकी छन् । एक छोरा र छोरीको बाबुको रूपमा श्रेष्ठ अहिले पनि उत्तिकै सक्रिय छन् ।

उनका विचारधारा, विनोदी वचनभित्र गहनता, कलाकारिताभित्र जातीयता, नाटकभित्र सन्देश, मनोरञ्जनभित्र ज्ञान, गीतमा जागृति, बोलीमा रस आदि गुणले युक्त सी के श्रेष्ठ हाम्रा  धरोहर हुन्, हाम्रो गोर्खाली समाजका एक अभिभावक हुन् ।

विभिन्न क्षेत्रमा सेवा पुर्‍याएबापत श्रेष्ठ विभिन्न स्थानबाट सम्मानित र पुरस्कृत पनि भएका छन्  । उनको प्रतिभालाई कदर गर्दै पश्चिम बङ्गाल सरकारले उनलाई ‘बङ्ग रत्न पुरस्कार’ले पनि सम्मानित गरेको छ  ।

नाट्य कलाकारका रूपमा सी के श्रेष्ठ

उनी चलचित्र संवाद लेखक पनि हुन्  । नाट्य क्षेत्रमा उनको विशिष्ट योगदान रहेको छ  । उनले समाज परिवर्तनका लागि नाटकको अवधारणालाई अघि बढाउने क्रममा नाटकका विभिन्न रूप दिए, प्रयोग गरे  । समयको परिवेश, रुचि, आवश्यकता अनुसार नाटक लेख्छन्, मञ्चन गर्छन्  ।

उनले बनारसका नाट्य श्री मोतीलाल गुप्तले विकसित गरेको ‘चौथो थिएटर’लाई खुल्ला मञ्चका रूपमा प्रयोग गरेका हुन्  । उनी ‘भद्रेको टोली’ नाट्यसमूहका अगुवा हुन्  ।

यस टोलीले ‘अनि भालेमुङ्गो रुन्छ’ (१९७७), ‘मुगल साम्राज्यमा एकदिन’ (१९७८), ‘हाम्रो लभ-स्टोरी’ (१९८४), ‘मलाई सब थाहा छ’ (१९८८), ‘गुरु मङ्गल गाथा’ (१९९६), ‘ऐनामा हेर्दा रामसाइँली’ (२००२), ‘स्याल पस्ला है शहरमा’ (२००२), ‘गुड फ्राइडेको एक बिहान’, (२००३), ‘पृथ्वीदेखि परमधामसम्म’ (२००३), ‘अन्धाहरूको रामकहानी’ (२००४), ‘सलाम रेलीमाई’ (२००४), ‘फेरि नानेटकै कथा’ (२००५), ‘फक्रिन नपाएका फूलहरू’ (२००५), ‘तेस्रो इडियट’ (२००६), ‘दैलो’ (२०११), ‘पिताम्बर प्रभु’ (२०१८) आदि लोकप्रिय र चर्चित नाटक मञ्चन गरेको थियो  । ‘अनि भालेमुङ्ग्रो रुन्छ’ नाटकले एघार वर्ष वर्षसम्म विभिन्न स्थानमा मञ्चन गरेको थियो  ।

यसै गरी ‘ऐनामा हेर्दा राम साइँली’ नाटक पनि अत्यन्त भव्यताका साथ मञ्चन भएका थिए  । यो नाटकको प्रदर्शन भारतमा विभिन्न स्थानमा लगभग पाँचसय पटक मञ्चन भएको थियो । उनका अन्य मञ्चित नाटकहरूमा ‘हाम्रो लभ स्टोरी’, ‘मुगल साम्राज्यको एक दिन’, ‘दिउँसै स्याल कराउला हे शहरमा’ आदि पनि हुन्  ।

सी. के. श्रेष्ठका हरेक गतिविधि, विचार, वक्तव्य, मन्तव्य, वार्ता-अन्तर्वार्तामा जातीय प्रेम झल्किन्छ । उनी हाम्रो समाजका  सल्लाहकार, दिशानिर्देशक, पथप्रदर्शक, इतिहासवेत्ता हुन् ।

उनी व्यक्ति सत्तालाई भन्दा सामूहिक सत्ता, चेतना र परम्पराको निरन्तरता प्राथमिकता दिन्छन् । चेतनाको सत्तालाई अघि लाए मात्र  हाम्रो जातीय मुक्तिको सङ्घर्ष सफलता हासिल गर्न सकिन्छ । हाम्रो इतिहास पनि हामी आफैँले खोज्नुपर्छ, निर्माण गर्नुपर्छ, एकताको मन्त्र, निराश नभई सामूहिक रूपमा सचेत भएर सङ्घर्ष अघि बढे भन्ने धारणा राख्दछन्  ।

उनले नाटकलाई जातीय अस्तित्व, जातीय कमजोरीको सुधार, राष्ट्रिय सवालका कुरा, सामाजिक विकृतिमाथि ठुङ हानेर तिनको सुधार गर्नु, विद्रोह चेतना आदि जस्ता कुरा पाइन्छन् । उनका नाटकमा भारतमा गोर्खाहरूको जातीय अस्मिताका प्रश्न, गोर्खाहरूको भारतमा राजनैतिक उपेक्षा र वञ्चनाको शिकार भएको विषयमा नाटकको केन्द्रीय विषयवस्तु रहेको पाइन्छ ।

* * * *

सी के श्रेष्ठको नाट्यपुस्तकऐनामा हेर्दा रामसाँइलीभित्रका कुरा

गत १५ डिसेम्बरमा कालिम्पोङको बुद्धपाद गुम्पामा सी के श्रेष्ठको ऐनामा हेर्दा रामसाँइली पुस्तकको विधिवत् लोकार्पण भयो ।

यस लोकार्पण समारोहमा ऐनामा हेर्दा रामसाइँली नाटकका प्रमुख नाट्यकलाकार प्रकाश छेत्री, महेन्द्र बागदासले नाट्य अभिनयको अनुभव कथनको रूपमा वार्ता बोले । यस पुस्तकमा नेपाली नाट्यसंसारका एक हस्ती र प्रमुख सडक नाटकको प्रवर्तक अशेष मल्लको सारगर्भित र मूल्याङ्कनपरक भूमिकाले पुस्तकको गरिमा बढेको छ ।

यसमा मूलतः चार खण्डहरू रहेका छन्- नाटकको इतिहास, ऐनामा हेर्दा रामसाइँली नाटकको प्रदर्शनीको इतिहास, नाट्यपद्धति सिद्धान्त र मूल नाटक ऐनामा हेर्दा रामसाइँली । यसका साथै पुस्तकको अन्त्य भागमा यस नाटकको प्रदर्शनका क्रममा विभिन्न स्थानमा विभिन्न व्यक्तिहरूको टिप्पणीहरूलाई प्रस्तुत गरिएको छ ।

१९९८ देखि २००३ सम्म ऐनामा हेर्दा रामसाइँली नाटकको ५०० पटक प्रदर्शन भएको थियो । यो नाटक भारतभरि जहाँ जहाँ गोर्खाहरू बसोबास गर्छन् त्यहाँ लगेर प्रदर्शन गरिन्थ्यो । मञ्च चाहिंदैन थियो । मञ्चलाई नै डी आकारको पर्दा लाएर १८० डिग्री बनाएपछि नाटक प्रदर्शन गर्न भैहाल्थ्यो ।

नाटकमा चौथो थिएटरको अवधारणा र सी.के. श्रेष्ठको ऐनामा हेर्दा रामसाइँली

हाम्रो जीवनलाई नै एक नाटक मानिन्छ । हामी संसारमा आएर के के अभिनय गर्नुपर्दछ । नाटक त जीवनभरि छ । नाटकलाई सामान्य रूपमा अभिनेता र दर्शकको बीचमा मात्र सीमित नराखी यसलाई प्रत्येककै जीवनको अङ्गका रूपमा मान्न सकिन्छ ।

नाटकमा अभिनेता, निर्देशक, दर्शक, रङ्गकर्मी सबै नै नाटकका अङ्ग हुन्छन् । समाजका हरेक तह तप्काका व्यक्तिहरू नाटकका परोक्ष वा प्रत्यक्ष भागीदार हुन् । दर्शकहरू पनि थपडी, स्लोगन दोहोर्‍याउन, सूत्रधारको कुरालाई स्वरमा सहयोग दिने हुन्छन् । नाटकभित्रै गीत सङ्गीत, नृत्य, कार्यकर्ता, रङ्गशिल्पी, रङ्गकर्मी, निर्देशन आदि रहेको हुन्छ । भुँइमा बस्ने दर्शकहरू समेत नाटकका अङ्ग मानिन्छन् । उनीहरू पनि नाटकको कथाभित्र पस्छन्, गम्छन्, खुशी प्रकट गर्छन्, थपडी बजाउँछन्, नाच्न परे नाच्छन्, गीत गाउँछन् । नाटक दर्शकदेखि परको कुरा होइन ।

सी के श्रेष्ठले सन् १९९८ देखि नै ऐनामा हेर्दा रेलीमाई नामक नाटकको खुल्ला मञ्चका रूपमा प्रदर्शन गर्दा यो नौलो प्रयाग मानियो । सडकनाटकको पद्धतिभन्दा अघि बढेर केही नयाँ र सुविधाजनक पद्धतिको आविष्कार गरिएको छ । नाटकका अभिनेताहरू नै नाटकका आवश्यकीय अंशका रूपमा प्रस्तुत हुन्थे । अभिनेताहरू नै सूत्रधार, गायक, नृत्यकार, पर्दा सबै हुन्थे ।

सी के श्रेष्ठको नाटकहरू जस्तै ‘ऐनामा हेर्दा राम साइली, सलाम रेलिमाई’ आदि नाटकहरूलाई उत्तरआधुनिक र चौथो थिएटरको प्रयोगका दृष्टिकोणका आधारमा पनि अध्ययन गर्न सकिन्छ । आजको युगमा उत्तर आधुनिकतावादले बहुलतावादी संस्कृतिलाई मान्यता दिन्छ । यसले कसैको संस्कृतिलाई उच्च र कसैको संस्कृतिलाई निम्न भन्ने मान्दैन । वर्तमान युगमा तर कथित उच्च संस्कृतिले निम्न संस्कृतिलाई कसरी प्रभावित बनाइरहेको छ, त्यसको झलक सिके श्रेष्ठका नाटकहरूमा देख्न सकिन्छ ।

भारतीय नेपालीहरूले आफूलाई सभ्य अनि सुसंस्कृत देखाउन कसरी आफ्नो निजत्व बोक्ने भाषा अनि संस्कृतिलाई हियाउनमा आनन्द मान्छन् अनि त्यसको परिणति कस्तो हुनसक्छ भन्ने कुरा आफ्ना नाटकहरूका माध्यमबाट व्यक्त गरेका छन् । उच्च संस्कृति अनि सभ्यताले अल्पसङ्ख्यक जाति कसरी किनारीकृत बन्न पुग्छ अनि आफ्नो अधिकारबाट वञ्चित बन्दै अस्तित्व र परिचय संकटको दोसाँधमा पुग्छ भन्ने विचार उनका ‘ऐनामा हेर्दा रामसाइँली’ अनि ‘भालेमुङ्गो रुन्छ’ नाटकहरूमा देखाएका छन् ।

यसै पनि श्रेष्ठका नाटकहरूका शीर्षक नामकरण पनि उत्तरआधुनिक चेतनाको देखिन्छ । उनका नाटकीय शीर्षकहरूबाट प्रेक्षकहरूले आ-आफ्नै अर्थ लगाउन सक्छन्  । रङ्गमञ्च सजावट, ध्वनि र प्रकाशको प्रभावकारी सचेतताको कारण उनका नाटकहरू सफल र सबल लोकप्रिय अनि प्रभावकारी बनेको पाइन्छ  ।

उनको राजनीतिको अडानको केन्द्र जातीय उत्थान, भारतमा गोर्खाहरूको परिचय सङ्कटको निवारणका निम्ति सङ्घर्ष, चिन्तन आदि रहेका छन् । अहिले पनि उनी आवश्यकता परेका वेला आफ्नो राजनैतिक विचार व्यक्त गर्छन् । उनका विचारमा भारतमा हाम्रो पनि समानाधिकार छ, हामीले पनि भारतमा हाम्रो आफ्नै राज्य हासिल गरेको हुनुपर्छ । हाम्रो भूभाग जबरजस्ती अंग्रेजले आफ्नो देशमा गाभेको हो त स्वाधीनता भारतको हिस्सा बन्यो र हामी भारतवासी बन्यौं  । ऐनामा हेर्दा रामसाइँली नाटकभित्र मूल रूपमा यही भाव अन्तर्निहित छ ।

विश्वमा नेपाली नाटकको स्थान र मौलिकताको प्रश्न र सी के श्रेष्ठको चौथो थिएटर

विश्व नाटक र रङ्गमञ्चको मानचित्रमा नेपाली नाटकको स्थान कहाँनेर छ भन्ने कुराको अध्ययन गर्नुपर्ने देखिन्छ । नेपालीमा धेरै नाटक लेखिएर मञ्चन भए तिनका बारेमा केही अध्ययन गरेर हाम्रो मौलिकता खोज्नुपर्ने देखिन्छ । प्रथम दोस्रो र तेस्रो थिएटरहरू त सामान्य रूपमा मञ्चन हुन्छन् । सडक नाटकका रूपमा तेस्रो थिएटर सर्वत्र पाइन्छ ।

अब सी के श्रेष्ठको ऐनामा हेर्दा रामसाइँली नाटक त सडक नाटक होइन, खुल्ला रङ्गमञ्च पनि होइन । यो त रङ्गमञ्चलाई गोलाकारमा १८० डिग्री बनाएर पात्रको सुविधा बनाउने गरिन्छ ।

ऐनामा हेर्दा रामसाँइली नाटकमा प्रयुक्त चौथो थिएटरका मूल तीन विशेषता- खुला मञ्च, दर्शक सहभागिता र पात्रहरूको सबै भूमिकामा आबद्धता । रङ्गमञ्चको परिपाटी नै यसको मूल वस्तु हो । अङ्ग्रेजीको डि आकारको कपडाले बारबेर गरेर मञ्च तयारी गरिन्छ । कपडाको पर्दा लगाएपछि पात्रहरूलाई कपडा फेर्न यसो भित्र-बाहिर गर्न मिल्ने किसिमले तयार पारिन्छ ।  दृश्य सकिनासाथ त्यस अङ्कको मूल सारका रूपमा भावार्थ भएको गीत र नृत्यको प्रस्तुति, सूत्रधारको उपस्थिति आदि नयाँ प्रविधि अपनाइएको छ ।

नाटकभित्र दर्शकको पनि सह-भूमिका देखा पर्दछ । समाजमा व्याप्त अराजकता, विसङ्गति आदिलाई हटाउन सूत्रधारको आह्वानलाई दर्शकहरूले पनि सहयोग र समर्थनमा नारामा साथ दिन्छन्, थप्पडी बजाउँछन्, भुँइमा बसेर पात्रसँगै रम्छन्, हाँस्छन्, पुलकित बन्छन् उद्वेग हुन्छन् ।

नाटकमा पात्रहरू नै अभिनेता बन्छन्, यिनीहरू नै पर्दा बन्छन्, दैलो बन्छन्, नृत्यकार बन्छन्, गायक बन्छन्, दर्शक बन्छन् आदिको भूमिकामा हुन्छन् । पात्रहरू नै भारी बोक्छन्, पर्दा टाङ्छन्,  सबै काम आफैं गर्छन् ।  मोटो प्लाइबोर्डबाट निर्मित ब्लकहरूको प्रयोग गरेर टबल कुर्सी, चौतारी प्रवेशद्वार,  देवाल आदिको आकार बनाइएको हुन्छ ।

लेखक सी के श्रेष्ठका अनुसार चौथो थिएटरमा अर्ध वृत्ताकार मञ्च, टिकटवाला दर्शकवर्ग, आयोजकको भूमिका, साङ्गीतिक पक्षको परिमार्जन, मञ्च सज्जामा नयाँपन  आदि यसका मुख्य आयोजना हुन् ।

ऐनामा हेर्दा रामसाइँली एउटा प्रयोगात्मक खुल्ला रङ्गमञ्चको नाटक हो । यसमा जम्मा नौजना पात्रपात्रा रहेका छन् । ५ सय पटक मञ्चन गरेको रेकर्ड राखेको यस नाटकको शिल्प प्रविधि, कथावस्तु, जातीय सन्दर्भ, राष्ट्रीय सन्दर्भ, सामाजिक यथार्थ सबैलाई एकैचोटि अँगालेको छ । यसभित्र परिहास, व्यङ्ग्य, गम्भीरता, कारुणिकता सबै सबै भाव छन् ।

ऐनामा हेर्दा रामसाइँलीको कथ्यभूमि

यस नाटकमा भारतमा गोर्खाली जातिको सामाजिक, राजनैतिक, आर्थिक, जीवनपद्धति आदि कुरालाई उदाङ्ग्याएका छन् । त्यहाँ एउटा पात्र छ भद्रबहादुर लामिछानेको उपस्थिति र वक्तव्यले नाटकलाई जीवन्त बनाएको छ । भद्रे नै लेखको मुखपात्र हो । उसले मातेको अवस्थामा सबै थोक बक्छ । उसको त्यो सत्यकथनमा उसले समसामयिक सामाजिक राजनैतिक, प्रशासनिक आर्थिक चारित्रिक कमजोरीमाथि व्यङ्ग्य कस्छ । घुस दिने प्रणाली, कानूनको व्यर्थता, अकर्मण्यता,  भ्रष्टाचार दुराचार प्रवृत्तिलाई श्याम व्यङ्ग्यका रूपमा प्रस्तुत गरिएको छ ।

ऐनामा हेर्दा रामसाइँली नाटकमा मूलमा चार वटा दृश्य रहेका छन् भने दुई वटा दृश्य सूत्रधारको कथनले गर्दा जम्मा छ वटा दृश्यमा संरचित छ । पहिलो दृश्यमा शिक्षकको नोकरीका निम्ति अन्तर्वार्ताको दृश्य छ । यसमा योग्यलाई शिक्षक नचुनेर अयोग्यलाई चयन गरिएको घुसखोरी प्रथा भएको मूल कथा छ । दोस्रो दृश्यमा कसरी नोकरीको प्रलोभनले आम मानिसले पनि नेताको कुरामा विश्वास गर्छन् र पछिबाट त्यही नेताको पछि लाग्ने भूल गर्छन् । तेस्रो दृश्यमा पुलिसको भ्रष्टाचारी प्रथा आदि रहेको छ । चौथो दृश्यमा नेताको भाषण र भद्रेको व्यङ्ग्यवाण ।

भद्रबहादुर साँच्चै नै विवेकशील, जातीय चेतनाको प्रतिनिधि, सत्यको कथन गर्ने एक मुखपात्र, वास्तविकता झल्काइदिने पात्रको रूपमा प्रयोग गरिएको छ । नाटकका मुख्य पात्र- पात्राहरूमा विद्या, रूबी, भद्रबहादुर, मोची, पुलिस अधिकारी, नेता र उसको चम्चे आदि पात्रहरू हाम्रै समाजका प्रतिनिधि हुन् । भद्रेको कथनमा पर्ने सबै हाम्रै प्रशासनिक, राजनैतिक, अविवेक जस्ता कमजोरीका प्रतिबिम्बन हुन् ।

 * * * *

उपसंहार-

नेपाली नाट्यसाहित्यमा सी के श्रेष्ठको नाम उल्लेखनीय छ । उनका अधिकांश जातीय चेतनामूलक नाटकहरू मञ्चित भएका छन् ।  अहिले आएर ‘ऐनामा हेर्दा रामसाँइली’ले आफ्नो मञ्चनको २५ वर्ष पार गरेको छ । नेपाली नाट्य इतिहासमा सी के श्रेष्ठ उक्त नाटक अत्यन्त लोकप्रिय, सफल र जनचेतनामूलक बनेको छ, इतिहास बनेको छ ।