कानुनविद् विकास अनुरोध लामा पेसाले न्यायाधीश हुन् । उनी भारतको पश्चिम बङ्गाल न्यायिक सेवामा कार्यरत छन् । सन् १९९२ मा ‘रक्तदानको प्रतीक्षामा’ शीर्षकको कविता प्रकाशन गरेर लामाले नेपाली साहित्यमा औपचारिक यात्रा शुरू गरेका हुन् । उनको ३३ वटा कविताहरूको संग्रह ‘अनटोल्ड स्टोरिज’ बुक आन्टले भर्खरै बजारमा ल्याएको छ ।

विकास न्यायपालिकासँग सम्बन्धित भएकाले शायद न्याय संहिताको प्रभाव कवितामा पाइन्छ । २०० वर्षभन्दा अघि भीमसेन थापाका भतिजा पाल्पाका कर्णेल उजीरसिंह थापाले बाँधेको बन्देजबाट शुरू भएको कानुनी साहित्य भानुभक्त आचार्यले वि.सं. १९१७ सालमा लेखेको भोगबन्धकीको तमसुक हुँदै अहिले विभिन्न पुस्तकीय रूपमा आउन थालेका छन् ।

मार्क्सवादी साहित्यमा पनि न्यायको कुरा गरिएको छ । समाजवादीहरू मार्क्सकै विचारका आधारमा न्यायपूर्ण समाजको सपना देख्छन् । मार्क्सवादले न्याय प्राप्त गर्ने वैज्ञानिक दृष्टिकोण दिन्छ । क्षमताअनुसार काम लिने र आवश्यकताअनुसार ज्याला दिने मार्क्सले परिकल्पना गरेको न्याय व्यवस्था हो । वास्तवमा विकासका कविताले वकालत गरेका छन्, ‘न्याय त्यसलाई चाहिन्छ जो अन्यायमा परेको हुन्छ ।’

प्रगतिशील विचार न्याय र साहित्यको मिश्रणले कला, साहित्य र संस्कृतिमा ल्याउन सक्ने नवीन सम्भावनालाई कविले प्रस्तुत गरेका छन् ।

नोबेल पुरस्कार विजेता अल्फ्राइड जेलिनेकका शब्दमा भन्ने हो भने – ‘साहित्य कमजोरहरूको पक्षधर हुन्छ ।’

विकासका कविताले समसामयिक विषयवस्तु, विचार, वैस्थानिक चेतना र समस्याभिमुख दृष्टि, साइबर संस्कृति, न्यायको सीमितता र अशक्तता अङ्गीकार गरेका छन् ।

अर्थात् विकासले कविता शासितका पक्षमा लेखेका छन् ।

कविता पढेपछि पाठकलाई लाग्छ– ‘विविध दृश्य तथा घटनाको साक्षी बन्नु एक न्यायालय अधिकारीको दैनिकी  र विवशता हो । एक संवेदनशील न्यायाधीशले कानुनको परिधिभित्र स्वयमलाई ऐनमा बाँधेर निर्णय लिनुपर्ने बाध्यताको उपज नै अनटोल्ड स्टोरिज हो ।’

ब्रिटिश उपन्यासकार ब्राम स्टकरको सन् १८९७ मा प्रकाशित ड्राकुला उपन्यासमा एक क्रूर ट्रान्सल्भेनियन काउन्टरलाई ड्राकुलाको रूपमा प्रस्तुत गरेका छन् । उपन्यासमा ड्राकुलालाई सुन्दरी महिलाहरूलाई बहकाएर उनीहरूको यौनमा रमाउने र रगत पिउने भ्याम्पायर चमेरोको रूपमा प्रस्तुत गरिएको छ । कालो टोपी, सेतो टाई, गोरो मैलो शरीरको ड्राकुला परिचय हो । कविले त्यही पात्रलाई विनिर्माण गर्दै लामो समय क्रान्ति र परिवर्तनका भाइरस फैलाउने, मौकावादी र फूलरूपी यौवनमा रमाउने पात्रको रूपमा उभ्याएका छन् ।

कोरोनारूपी मानवताहरूले

भाइरस फैलाउँदै छन्

मौकावादी मान्छेहरू

ड्रयाकुला बन्दैछन्

फूलरूपी यौवन

छोरी सपनाको देखेर

(अघोषित युद्ध, पृ. ४१)

कवि विकासका दृष्टि र चिन्तनले विगत र वर्तमानका यथार्थपरक विषयवस्तुलाई मात्र होइन भविष्यका सम्भावनालाई पनि मनन गर्ने क्षमता राखेका छन् । साहित्यलाई वस्तुको रूपमा परिवर्तन गर्ने स्रोतसामग्री बनाउनका निम्ति असाध्यै मिहिनेतपूर्ण ढङ्गले वस्तुको विन्यास गर्नुपर्दछ भन्ने विचार छ प्रायः । यस विचारवादीहरूको चिन्तनलाई साकार बनाउन विकासले आफ्नो पेसासम्बन्धी आफ्ना वैचारिक भावलाई कवितामा प्रस्तुत गरेका छन् ।

कवितामा वर्णनात्मक शैलीमा कथात्मकता, नाटकीय र आत्मालाप कथन पद्धति प्रयोग गरिएको छ । कविता सोद्देश्यमूलक भए तापनि प्रभावात्मकता, लयात्मकता र सौन्दर्य चेतना मूर्त रूपमा पाइन्छ । जीवनानुभूति र यथार्थ जीवनबाट निर्मित बिम्ब सहजबोधक र पारदर्शी भएर कवितामा आएका छन् । मूलतः कविता समसामयिक, आञ्चलिक, नारी र न्यायमा केन्द्रित रहेका छन् ।

हाम्रो समाज लोभलालच, ईर्ष्या, प्रतिस्पर्धा, न्याय जस्ता अनेकौं कुराको पछि लाग्छ, जसले समाजलाई रहस्यमय र विकृत बनाएको छ । न्यायको अर्थ के हो, कसरी न्यायमा उद्देश्य, पूर्णता र सन्तुष्टि पाउन सकिन्छ, न्यायमा सम्बन्धले कस्तो प्रभाव पार्छ ? कविताले यस्तै प्रश्नको खोजीमा समकालीन समाजलाई केलाउन खोज्छन् । पाठक कमैले मात्रै यसको गहिराइमा पुगेर वास्तविक अर्थ पहिल्याउँछन् । कतिले अन्तिम क्षणमा मात्रै अर्थको मेसो पाउँछन् र आफूलाई रित्तिएको महसूस गर्छन् ।

नेपाली भाषाको आफ्नै वैशिष्ट्य र सौन्दर्य छ । आफ्नै स्वरूप, ध्वनि र सुगन्ध छ । यस मौलिक स्वरूपलाई ‘अनटोल्ट स्टोरिज’को रीतले जस्तै बिटुल्याउँदै जाने हो भविष्यमा नेपाली कविता कसले पढ्छ ? नेपाली शब्द हुँदै नभएको अवस्थामा अंग्रेजी शब्दको प्रयोग गर्नु फरक कुरा हो । तर, नेपाली शब्द हुँदाहुँदै अंग्रेजी शब्द प्रयोग गर्नु अर्को कुरा हो । अधिकांश कविताका शीर्षक अंग्रेजीमा, कविता भित्र पनि बैद्धिकताका नाममा अधिक अन्ली फेयर इज् लभ्ली ?, कन्फाइन्ड मन, भिट्रिओलेज, इमोर्टल लभ, भोयेरिजम् जस्ता अंग्रेजी र न्याय प्रणालीका प्रचलित भिक्टिम अफ सर्कम्स्ट्यान्सेस जस्ता शब्द अनि पदावलीको प्रयोगले सामान्य पाठकका लागि कविता गाह्रा छन् ।

यसका साथै कविताहरूमा मष्तिस्क, झुण्डिएका, रूवाउने, बीरे, कुमलो, रूखो, दुखाई, कोशि, जोशिला, मियाद, मैचाड, मुण्टा, बुत्ते, रूवाए, बरू, सिडी, अदभूत, बरू, सिफारिश, पिञ्जडा शब्दमा हिज्जे र सोच्नेहरू समेत, हुरी सँगै लगायत शब्दमा पदयोगको समस्या पनि रहेका छन् ।

कविता कविको भावना मात्र होइन, कलकलाउँदो बिहानीको घाम पनि हो । पूर्णिमाको जून अनि समाजको चित्रण पनि हो । यसले एउटा स्पष्ट सिद्धान्तको खेस्रा तयार गर्छ । कवितालाई चाहिने संवेदनशीलता र वाणीलाई चाहिने सौन्दर्यशिल्प अझ आर्जन गरेर साधनाको दियोमा अध्ययनको तेल थपे भने पक्कै पनि विकास अनुरोध लामाले उज्यालो काव्यकाश बनाउन सक्छन् ।

कृति : अनटोल्ड स्टोरिज

विधा : कविता

कवि : विकास ‘अनुरोध’ लामा

प्रकाशक : बुक आन्ट

मूल्य : २४९ रुपियाँ