अघिल्लो पटकको यात्रामा थकान यति धेरै लागेको थियो कि कता कता उमेरैले नै पनि साथ दिन छोडेको हो कि भन्ने भएको थियो । दूरीका हिसाबले उस्तो धेरै नभए पनि गोडा कामेर अघि बढ्नै पनि गाह्रो भएको अवस्था थियो । अबेला होला भनेर मुखैको गन्तव्य नपुगी फर्कंदा पनि त्यही अनकन्टार पाखामै बरु केही गरी रात काट्न पाए पनि हुन्थ्यो भन्ने भएको थियो । कसो कसो पमितोषले दिएको इनर्जी जेलले तल झर्न सम्म चाहिं मद्दत गरेको थियो ।
मुखैको गाँस खान नपाएको जस्तै गन्तव्यको छेउमा पुगेर फर्कन परेकोमा एक किसिमको ईख मनमा गढेको थियो । त्यो गन्तव्य कसरी हासिल गर्न सकिएला भनेर निकै दिनसम्म सोचमग्न भएको थिएँ । पहिलो प्रयासका क्रममा ढिलो यात्रा शुरू गर्नु अनि मुख्य धारको बाटो भन्दा डेढ किमी तल देखि शुरू गर्नुले पनि केही असहज बनाएको हो कि भन्ने भएको थियो । त्यसैले बिहानै पहिलो केबलकार छोप्ने गरी ओबस्र्टडोर्फ पुग्ने र पहिलो केबलकार बाटै पहिलो चुचुरासम्म पुगेर त्यहाँबाट सोझै धारको बाटो प्रयोग गरेर गन्तव्य छुने भन्ने योजना बनाएको थिएँ । त्यसै अनुरूप यात्रामा जान इच्छुक दिलिप, विशाल र मञ्जिलसँगै बिहान सबेरै ६ बजे स्टुटगार्ट बाट ओबस्र्टडोर्फका लागि हानिएका थियौं ।
युरोपको हिउँदे दिनहरू एकदमै छोटा हुन्छन् । गर्मी मौसम हुन्थ्यो भने बिहानै ५ बजे देखि नै उज्यालो देखिन्थ्यो । हिउँद लागेसँगै साढे ७ नबजुन्जेल घाम उदाउँदैन । त्यसमाथि जङ्गल भएर जाने सडकहरूमा हुस्सुले देख्न कठिन बनाएको थियो । सफा मौसममा असीमित गतिमा गाडी हाँक्न मिल्ने ती सडकमा कुहिराका कारण १०० किमी प्रति घण्टाको सीमा तोकिएको थियो । अन्दाजका भरमा सके जति तीव्र गाडी हाँक्दै हामी लगभग पहिलो केबलकार छोप्ने गरेर साढे ८ आसपासमै पुग्न सफल भयौँ । तर एउटा अनपेक्षित कुरा आइलाग्यो । केबलकार मौसमी चेकजाँच र
मरम्मतका लागि डिसेम्बर १३ सम्म बन्द थियो । झन् अघिल्लो पटकको भन्दा माथिल्लो विन्दुबाट शुरू गर्ने योजना बनाएकोमा थप साढे सात किमीको बाटो हिंड्न पर्ने भयो । धारको बाटो लगभग असम्भव झैँ भयो । एक त समयका कारण अनि अर्को तागतले पनि त्यति लामो दूरीसम्म साथ देला जस्तो भन्ने नै लाग्न छोड्यो । गन्तव्य नपुगिने भयो अनि बनाएको योजना पुरा नहुने भयो भनेर त्यसै फर्कन मन लागेन । बरु जति सकिन्छ त्यति चढेर फर्कने गरी योजना फेर्यौं ।
सन् २०२२ मा कुहिरेसिंको पदयात्रा नै आल्प्सको पदयात्राको शुरूवाती कोषे ढुङ्गा बनेको थियो । फरक चुलीलाई गन्तव्य बनाएका हामी सुन्दर दृश्य र साथीभाइको साथले हौसिँदै नेबेलहर्न अर्थात् कुहिरेसिं सम्म पुगेका थियौँ । त्यसपछि आल्प्सहरू चढ्ने क्रमले निरन्तरता पायो ।
२ वर्ष अघिको त्यही बाटो फेरि उक्लँदै गर्दा पुराना सम्झनाहरू बल्झिँदै थिए । मौसमका कारण आँखा अघिका दृश्यहरू भने फरक थिए । शरदले हरियाली लगभग मासेको थियो । चरनका लागि छोडिएने गाईबस्तु हरियाली कम भएसँगै सम्भवतः तल झारिएका थिए । बरु हिउँदे खेलका लागि तयारीहरू शुरू गरिएको थियो । गर्मीमा पदयात्रीहरू रमाउने बाटाहरूमा नयाँ पीच गरेर हिउँ परेपछिको हिउँचिप्लेटी या स्कीका लागि तयार पारिँदै थियो । सायद त्यसैले पनि केबलकार बन्द गरिएको हुँदो हो । गुगलले केबलकारको माथिल्लो स्टेसन चलेको देखाएको भए पनि माथिल्लो स्टेसन पनि ठप्पै थियो । अझै माथि जाने बाटो हिंड्न लागक नभएको भनेर सूचना पाटी समेत टाँसिएको थियो । त्यो सूचनालाई बेवास्ता गर्दै हामीले यात्रालाई निरन्तरता दियौँ ।
‘केबल कार भए २० मिनेटमा सकिने बाटो, हामी ३ घण्टा जस्तो हिन्न पर्यो ।’ केबलकार बन्द हुँदाको दुःख दिलिपले सुनाए ।
मैदानमा हिंड्न त समस्या थिएन । जसै बाटो उकालो लाग्यो तसै सबैका गति फरक फरक हुन थाले । यात्रा शुरू गर्दा अघि लागेका दिलिप अब पछि पर्न थाले । मञ्जिल सबै भन्दा अघिल्तिर भए । अघिल्तिर र पछिल्तिरका सबैका बीचमा पुल जस्तो भएर म हिँड्न थालेँ । सडकको बाटोलाई निरन्तरता दिन भन्दा फरक बाटो बढी रमाइलो हुने ठानेर हामी मूल बाटोबाट छुट्टियौं । कति सम्म हिंड्न सकिने हो भन्ने पक्का नभएकाले फलामे डोरीले बेरेको बाटो शुरू हुने बित्तिकै सुरक्षा पेटी र हेलमेट लाउन सुझाएँ । हामी त्यसरी तयारी गर्दै गर्दा छेवै बाट एक जना दगुर्दै माथि उक्लिए । उनीसँग दुई लौरी र पिठ्युमा पानी मात्रै बोक्न मिल्ने विशेष झोला बाहेक केही थिएन । कम बोझिलो भएर हिँडेकैले उनको गति पनि तीव्र थियो ।
केही उकालो लागेपछि परपट्टि केबलकारको दोश्रो स्टेशन देखियो । अघिल्लो पटकको यात्रा त्यहींबाट शुरू भएको थियो । यस पटक पनि कम से कम त्यहीँ बाट यात्रा शुरू गर्ने भन्ने सल्लाह थियो । सके त माथि नै जाने भन्ने थियो । तर केबलकार पुरै ठप्प भइदिनाले सबै बाटो हिँडेरै काट्न पर्ने भयो । केबलकारको दोश्रो स्टेसनको उचाइ भनेको करीब २ हजार मिटरको उचाइ थियो ।
त्यसपछिको धारैधारबाट नेबेलहोर्न सम्मको चुचुरो जाने क्रममा अलि परपरसम्म देखिन शुरू भयो । आँखाले भ्याउञ्जेल आल्प्सका चुचुराहरू देखिन्थ्यो । केबलकार चलेका बेला भरिने धारको बाटो र पाखाहरू अहिले रित्ता थिए । एकाध मान्छे नदेखिएका होइनन् । हामीलाई उछिनेर अघि बढेका व्यक्ति ट्रेल रनर जस्तै गतिमा तल ओर्लिन लागेका थिए । सायद आफूले तय गरेको गन्तव्य यस पालि पनि प्राप्त नहुने भयो भनेर होला थकाइले निकै गलाएको थियो ।
मञ्जिल र दिलिप त निकै अघि हिंडिसकेका थिए । सँगैको विशाल पनि अघि लागेपछि एक्लै थुचुक्क बसेर एकछिन थकाइ मार्न थालें । प्रायः हिंडेर नथाक्ने मेरा लागि यो केही नयाँ अनुभव थियो । यो हदसम्म आरामै गर्नुपर्ने गरेर म थाकूँला भन्ने लागेको थिएन । कता कता उमेरले पो हो कि जस्तो पनि लाग्यो । लगभग ७ किमी हिंड्न हामीलाई ३ घण्टा भन्दा बढी लागेको थियो । हुन त दूरीका हिसाबले कम भए पनि हामी ८ सय मिटरको उचाइ बाट उक्लँदै लगभग २२ सयको उचाईमा पुगेका थियौं । अनि छोटो बाटोमै यो करीब १ हजार ४ सय मिटरको उचाइ उक्लनका लागि ठाडै बाटो हिँड्न परेको थियो । र पनि यस अघिको यस्तै उक्लाइमा यति थकाई लागेको सम्झना नभएकोले पनि अलि निराश तुल्याएको थियो । तागत फर्कने आशामा आफूसँग ल्याएको खाना खाएँ र सकी नसकी थप उक्लन थालें ।
केटाहरू म नआएको समयमा बोकेर ल्याएको खाना खाएर समय सदुपयोग गर्दै थिए ।
चुचुरामा बनेको केबलकार स्टेसनको तलपट्टि बसेकाले उनीहरूलाई चुचुरातिर आउन भनेर वरपरका चुचुराहरू चिनाउन थालेँ । बाटामा भेट भएकाहरू अनि नयाँ चढेका सबैसँग चुचुरामै भेट भयो । उनीहरू सबै आफूले बोकेर ल्याएको खाना खाँदै थिए । हामी जस्तै उनीहरू पनि केबलकारबाट माथि आउने योजना सहित आएका रहेछन् । अनि केबलकार नचले पछि हिँड्दै माथि सम्म पुगेछन् ।
सामान्य बेला भएको भए नेबेलहर्न चढेर फर्कने थियौं होला । तर हामीले धारको बाटोको लागि भनेर अघिल्लो दिन निकै दुःख गरेर कम्मरपेटी र अंकुशे डोरीहरू किनेका थियौँ । नेबेलहर्न सम्म आउनका लागि यी सबैको आवश्यकता थिएन । धारको बाटोमा भने यी कुराहरू नभई नहुने थियो । अनुभवीका लागि त उस्तो आवश्यक होइन तर अभ्यस्त नभएकाहरूका लागि यी सुरक्षा सामग्री बिना धारको बाटो लगभग असम्भव कुरा थियो । त्यसैले केही बेर फोटो खिचेर ल्याएका कुराहरू खाएर आँखा अघिको अर्को चुचुरोसम्म पुगेर फर्कने प्रस्ताव गरें । उस्तो पर नभएकाले सबैले त्यो प्रस्ताव सहजै स्वीकार पनि गरे ।
एकै बाटो दोहोर्याएर हिंड्दा पट्यार लाग्दो हुन्छ होला भन्ने सामान्य अनुमान हुन्छ । मौसम, मानसिक अवस्था, घामको स्थिति, यात्राका साथीहरू लगायतका कुराहरूले एकै बाटोमा गरिएको यात्रा पनि सधैं एकनाशको हुँदैन । दुई साता अघिको धारको बाटोको यात्रा भन्दा त्यही बाटोमा गरिएको यो यात्रा तिनै कारणहरूले नितान्त नौलो र रोमाञ्चक लागिरहेको थियो । हामी सबैको खुशीको सीमा थिएन ।
अघिल्लो पटक यो बाटोमा हुँदा खेरी ध्यान नदिइएका र मजा नलिइएका धेरै कुराहरू यस पटक प्राथमिकतामा परे । जस्तो त्यहाँ बाट जर्मनीको सर्वोच्च चुली चुगस्पिच्चे देखिन्छ भन्ने यदाकदा थाहा भए पनि यही हो भनेर चिन्न सकेको अवस्था थिएन । तर पर देखिएको हिउँ भएको एकल चुचुरो जो बिलकुलै फरक देखिएको थियो, चुगस्पिच्चे नै रहेको भनेर फोनको पिक भाइजर एप्लिकेशनले चिनायो । त्यस्तै आफूले चढेका अन्य चुचुराहरू पनि यकिनका साथ चिन्न सहज भयो । त्यो चुचुराहरूको समुद्रमा आफूले चिनेका र चढेका चुचुरा औंलामा गन्न सकिने मात्रै थिए । चढ्नलाई अझै अनगिन्ती उचाइहरू बाँकी नै थिए ।
फलामे डोरी, भर्याङ र धारका बाटो हुँदै हामी दोश्रो चुचुरो सम्म पुग्यौं । शुरूमा देख्दा जस्तो नजिक नभए पनि त्यहाँ सम्मको बाटो उस्तो अप्ठ्यारो चाहिँ थिएन । सायद उकालो बाटो सकिएकोले होला मेरो हराएको तागत पनि फर्के झैँ भएको थियो । दिलिपले म्याग्नेसियमका ट्याब्लेट पनि बोकेर ल्याएको थियो । तिनै ट्याब्लेटहरू बोकेर ल्याएका पानीमा मिसाउँदै बाटा भरिका लागि म्याग्नेसियम पानी बनायौँ ।
करीब साढे पाँच घण्टा लगाएर त्यहाँ सम्मको साढे ८ किमीको दूरी तय गरेका थियौं । त्यो क्रममा २२२४ मिटर अग्लो नेबेलहर्न र २२३५ मिटर अग्लो वेस्टलिसर वेन्गेनकोफ चढ्न भ्याएका थियौं । मञ्जिल यस अघि रुबीहर्नको यात्रामा पनि सँगै भएकाले उसका लागी यो उसको जीवनको तेश्रो चुचुरो थियो भने दिलिप र विशालका लागि पहिलो पटकमै दुई चुचुरा पर्न गएको थियो । आउँदाको जस्तै फर्कंदा पनि दुःखै हुने थियो । त्यही उकालो उक्लन नपर्ने मात्रै हो । नत्र दूरीका हिसाबले त उस्तै दुरी तय गर्न पर्थ्यो । त्यसैले दिलिप र विशाल फर्कन चाहन्थे । म अलि अनिश्चित थिएँ । कारण अलि अघि उकालोमा लागेको थकान कता कता बिलाएर गएको थियो । गोडाहरू कामिरहेको अवस्था पनि थिएन । कुनै किसिमको कम्जोरी महसूस भइरहेको थिएन । त्यति भएपछि मलाई अघि बढ्न बाट कसैले रोक्ने कुरा भएन । त्यसैमाथि मञ्जिल पनि अघि अघि नै लागिरहेको थियो ।
धारको बाटोमा अलिकति अघिपछि हुनुले पनि निकै अघिपछि भएको झैं भान हुन्थ्यो । कारण सबैभन्दा बढी समय फलामे डोरीमा सुरक्षाका लागि अंकुशे डोरी हाल्न र झिक्न नै लाग्थ्यो । सोझै हिंड्न त उस्तो समय लाग्ने होइन । त्यसैले पनि हामी अंकुशे डोरीको कमै प्रयोग गरेर हिंडिरहेकाले अघिअघि थियौं भने डोरी प्रयोग गर्दै आइरहेकाले विशाल र दिलिप बिस्तारै पछि पर्दै थिए । दुई जनासँगै हुनाले म मञ्जिलको नजिक हुने गरेर हिँड्न थालेँ । सकेसम्म एक्लै चाहिँ यो अप्ठ्यारो बाटोमा कोही नहोस् भन्ने पनि थियो । अनि म बिना सुरक्षापेटी र अंकुशे डोरी नै हिँडेको थिए । त्यसैले अप्ठेरोमा सहयोग होस् भन्नैको लागी पनि एक जना सुरक्षा सामग्री सहितको मान्छे नजिकै हुने गरेरै हिंड्न पर्थ्यो । त्यो सबैको लागी मञ्जिल एकदमै सही थियो । पहिलो पटक धारको बाटो हिंडिरहेको भए पनि ऊ हामी सबैभन्दा निकै अघि लागेको थियो । त्यसैले पनि मलाई हामीले जाने भनेर बनाएको गन्तव्य न सकिन्छ कि भन्ने भयो ।
अप्ठ्यारो बाटोमा पर्खन भन्दा भनेर हामी हाम्रो यात्राको दोश्रो चुचुरोको भन्ज्याङमा गएर केही बेर फर्कियौं । खोँचबाट हेर्दा उनीहरूको थाहा पत्तो नलागेपछि फेरि उकालो लागेर माथिबाट हेर्न थाल्यौं । उनीहरू अझै परको चुचुराबाट ओर्लन खोजिरहेका थिए । डोरी प्रयोग गरेर ओर्लिरहेकाले निकै नै समय लागी रहेको थियो । घाम पनि ढल्न लागिसकेकोले त्यहीं प्रतीक्षा गर्न भन्दा हामी दुई जना अघि बढ्ने र उनीहरू भञ्ज्याङबाट बिस्तारै फर्कने भन्ने सल्लाह भयो । हामी उनीहरू ओर्लन भन्दा अघि नै अन्तिम चुचुरा सम्म पुग्छौं होला भन्ने हामीलाई लागेको थियो । लागे जस्तै चाहिं भएन ।
परिचित ठाउँहरू भएकाले म कहिले अघि हुन्थें भने सजिला ठाउँहरूमा मञ्जिल निकै अघि हुन्थ्यो । कतिपय बेला त उसलाई पर्खनका लागि अनुरोध गर्नपर्थ्यो । बिस्तारै घामलाई हामी पछिको चुचुराले छेकेसँगै हामी छायामा हिंड्न थाल्यौं । घाम हाम्रो अघिल्तिरको चुचुरोमा लागी रहेको थियो । चाँडो चाँडो त्यहाँसम्म पुगियो भने घाम अस्ताएको मनोरम दृश्य हेर्न पाइन्थ्यो । मञ्जिल अलि अघि नै पुगेर सूर्यास्तको आनन्द लिइरहेको थियो ।
घामका अन्तिम किरणहरू क्षितिजमा रहँदा हामी चौथो चुचुरामा पुगिसकेका थियौँ । अन्तिम गन्तव्यका लागि हामीसँग अझै २ चुचुरा बाँकी थिए । हतार गरे सूर्यास्त हेर्न नपाउने हुँदा बरु फर्कन परे फर्कौँला भनेर हामी आरामले त्यहीँ बस्यौँ । पहिलो चुचुरो नेबेलहर्नको छेउमा कतै घाम लुकिरहेको थियो । अघिसम्म तुवाँलोमा धुमिल देखिएका क्षितिजका चुचुराहरू घाम पारिपट्टि पुगेपछि भने अँध्यारा तर प्रष्ट आकृतिका धारहरूमा फेरिएको थियो । घाम पुरै अस्ताएपछि भने हामी त्यहाँ बाट हिंड्यौं ।
अघिल्लो पटक जुन बिन्दुमा आएर म फर्किएको थिएँ, त्यही बिन्दुमा पुग्दा पुरै अँध्यारो भइसकेको थियो । धारको बाटो डोरी प्रयोग गरेरै हिँडिरहेको भएर मञ्जिलाई पनि अँध्यारामा जोखिम मोल्ने मन थिएन । फेरि मैले पहिले यात्रा गरिसकेको बाटो सकिइसकेको थियो । अबको यात्रा मेरा लागी पनि नयाँ थियो । त्यसैले यो केही अघि सम्मको यात्रा भन्दा फरक हुन्थ्यो । तर सकारात्मक भिन्नता भनेको यस पटक गोडाहरू पुरै गलेका थिएनन् । बोकेको म्याग्नेसियम पानी पनि बाँकी नै थियो । अघिल्लो यात्रामा म यही विन्दुबाट झर्दा पनि अघि बढेको पमितोषलाई मलाई छोप्न खासै समय लागेको थिएन । त्यसको अर्थ धारको बाटोको अप्ठेरो अंश उस्तो धेरै बाँकी भने नहुनुपर्ने थियो । त्यसैले मलाई चाहिँ अघि बढ्ने मन थियो ।
विशाल र दिलिपलाई सुरक्षा सामानहरू किन्न जाने क्रममा मैले आफूलाई अँध्यारामा प्रयोग गर्न मिल्ने बत्ती किनेको थिएँ । टाउकामा मज्जाले लगाउने मिल्ने त्यो बत्तीले अघिल्लो यात्राका क्रममा फोनको उज्यालोमा निर्भर हुनुपर्दाको स्थितिमा सजिलो गर्थ्यो । हामीले हुन त केबलकारमै माथि तलको योजना बनाएकाले त्यो आवश्यक हुने थिएन । तर पनि मैले त्यसको तौल खासै नभएकोले झोलामै राखेर ल्याएको थिएँ । यो पुरापुर संयोग मात्रै थियो । तर यसले एउटा सहयोग गर्यो । मञ्जिलका लागि अँध्यारोका कारण पर्न गएको अप्ठ्यारो त्यसले कम गर्ने भयो । अर्को समस्याको समाधान आकाशको चन्द्रमाले गर्यो ।
अघिल्लो पटक औँसीको रात नजिक भएकाले आकाश पुरै अँध्यारो थियो । उज्याले बिना हिंड्न पूरै असम्भव थियो । यस पटक चन्द्रमाले लगभग ठीकठाक उज्यालो गरेको थियो । त्यो उज्यालोमा मलाई हिंड्न समस्या भएन । धारका बाटामा हिंडेको अनुभवले बाँकी उज्यालोको काम गर्थ्यो । त्यसैले म चन्द्रमाको उज्यालोमै अघि लाग्ने भएँ । मञ्जिल मेरो पछि पछि बिस्तारै उक्लने भयो । ६०१ मिटरको त्यो अन्तिम दुरी हामीले अँध्यारामै भए पनि पार गर्ने भयौं ।
यस्तो निर्णय लिँदै गर्दा मलाई के पनि थाहा थियो भने आरोहीहरू चुचुरा सम्मको अन्तिम पाइला अँध्यारामै चाल्ने गर्छन् । त्यसैले अँध्यारो पर्वतारोहणको लागि प्रतिकुल समय भने होइन । त्यही हो अँध्यारोमा देखिने साधन साथमा हुनुपर्यो । हामीसँग लगभग त्यो थियो भनौं ।
दुई फलामे सिँढी र केही फलामे तारहरूको सहायतामा उक्ले पछि हाम्रो यात्राको पाँचौं चुचुरो पनि हामीले छिचोल्यौँ । त्यो लगत्तै हिन्डेलांगर क्लेटरस्टाइगको बाटो सकिएको सूचना पाटी देखा पर्यो । त्यो देख्ने बित्तिकै कति नजीकबाट पहिलो यात्रामा हरेस खाइएछ भन्ने थाहा पाउँदा अघिल्लो पटकको निर्णय गलतै गरिएछ भन्ने लाग्यो । अघिल्लो पटक यो भन्दा बढी पायक पर्दो अवश्यै थियो । थकानका हिसाबले केही अप्ठेरो अवश्यै हो । तर उज्यालाका हिसाबले यो भन्दा निकै नै सहज अवस्था थियो । बल गरेको भए अन्तिम चुचुराबाट हामीले सूर्यास्त हेर्न पाउने थियौं । त्यसो हुन नसके पनि आकाशका जूनताराहरू भएका बेला हामी अन्तिम चुचुरो ग्रोसर डाउमेन पुग्यौं ।
उचाइका कारण हावाले निकै जाडो बनाइरहेको थियो । तल पट्टिको बस्ती उज्यालो देखिएको थियो । घाम अस्ताउने क्षितिज अँध्यारो भइसकेको थियो । चन्द्रमा अझै बलियो गरी उदाएको थियो । आकाशमा तारामण्डलहरू देखिन थालेका थिए । उत्तरी आकाशमा देखिने सप्तऋषि पूरापूर देखिएका थिए । केही बेर तस्वीरहरू लियौँ र त्यसपछि फर्कियौँ ।
सफलताका विन्दुहरूसम्म पुग्न समय लाग्ने हो । त्यो विन्दुको बसाइ उस्तो लामो हुँदैन । हाम्रा लागि हाम्रो गन्तव्य पनि त्यस्तै भयो । तल ओर्लने बाटो जूनको उज्यालोमा सजिलै देखिन्थ्यो । साथै बोकेर ल्याएको लौरीले ओरालोमा राम्रै साथ दियो । बेला बेला हिंड्नुपर्ने बाटोबाट केही तल माथि गर्दै हामी केबलकारको देश्रो स्टेसन सम्म आइपुग्यौं । त्यहाँ पछिको बाटो सडकैसडकको थियो । त्यसपछि यात्रा लगभग सकियो ।
अघिल्लो पटक भन्दा यस पटक निकै धेरै हिँडिएको हो । तर यस पटक थकान उस्तो धेरै थिएन । त्यो म्याग्नेसिमय पानीले हो या आफूले तय गरेको गन्तव्य भेटेको खुशीले हो यसै भन्न सक्दिनँ । के चाहिं लाग्यो भने आफूले सोचेको काम गर्दा र आफूले अपेक्षा गरेको परिणाम आउँदाको सन्तुष्टिले त्यो प्राप्त गर्दाको दुःखहरू भने भुलाउँदो रहेछ । थकान कम लाग्नाको कारण त्यो पनि थियो जस्तो लाग्छ ।
त्यस्तै रातको सवा दश बजेतिर हामी गाडी राखेको ठाउँमा पुग्यौं । विशाल र दिलिपले त्यतिञ्जेल डोनर पसलमा खानपान गरिसकेका थिए । उनीहरू हामी भन्दा करीब १ घण्टा अघि पुगेका थिए । हाम्रो लागि भने त्यहाँ खाना नभेटिए पछि निद्रा नलाग्दै घरसम्म गाडी हाँक्नु पर्थ्यो । त्यसैले त्यहाँबाट हामी अघि बढ्यौं । निद्राले गर्दा एक दुई ठाउँमा अप्ठ्यारो गर्यो । आउँदा कतै विश्राम नगरी आएकोमा फर्कंदा दुई ठाउँमा रोकेर अघि बढें । पेट्रोल पम्पमा काम चलाऊ खाने कुरा लिएर छाक टार्यौं । घर पुग्दा त्यस्तै डेढ बजिसकेको थियो । ढीलै पुगे पनि सुरक्षित पुगेकोमा मन खुशी थियो ।
पहिलो धारको यात्राका क्रममा देखेको आकाशगंगाको झलकका कारण अँध्यारामा आल्प्सबाट आकाशगंगा हेर्ने मन थियो । सूर्यास्त लगत्तै छाएको अन्धकारमा त्यो रहर पनि पुरा भयो । चन्द्रमाले गर्दा आकाशगंगा उस्तो प्रष्ट थिएन । तर सप्तऋषि लगायतका तारामण्डलहरू आकाशमा मज्जाले देखिएका थिए ।
धारको बाटो शुरू हुनुभन्दा अघि वर्ष २०२४ मा ४ वटा चुचुराहरू चढेको थिएँ । अघिल्लो यात्रामा ४ चुचुरा थपिएका थिए । यो दोश्रो यात्रामा एकै पटक ६ चुचुरा चढिएछ । सबै गर्दा २०२४ का १४ चुचुरा पनि चढिएछ । १४ पर्वतारोहण गर्नेका लागि एउटा मानक अंक हो ।
संसारमा ८ हजार मिटर भन्दा अग्ला १४ चुचुरा मात्र छन् । तिनै चुचुरा छोटो समयमा आरोहण गरेर निर्मल पुर्जाले कुनै बेला कीर्तिमान कायम गरेका थिए । इटालियन आरोही राइनोल्ड मेस्नरको कीर्तिमान उनले तोडेका थिए । उनको कीर्तिमान कृष्टिन हरिलाले तोडिन् । अब त १४ चुलीलाई लिएर अनेक कीर्तिमान बन्दैछन् । निर्मल पुर्जाको १४ चुली विजयको यात्रालाई नेटफ्लिक्समा चलचित्रको रूपमा देखाइएको थियो । त्यतिवेला देखि यो १४ चुलीसँग एक किसिमको लगाव नै छ । निम्सले ८ हजार माथिका १४ चुचुरा चढे जस्तै २०२३ देखि आल्प्सका १४ चुचुरा चढ्ने रहर पलाएको र २०२३ मा त त्यो सकिएकै पनि थियो । यस पालि सकिन्न सोचेको थिएँ ।
ब्रह्माण्डले ‘तँ चिता म पुर्याउँछु’ भनेको जस्तै भएको थियो । कसो कसो मनले चिताएको सबै कुराहरू अनौठो गरी पूरा भए । अब हिउँले ढाकिएकै बेला पनि चुचुराहरूको आरोहण गर्ने मन छ । अनि ३ हजार र ४ हजार मिटर अग्ला चुचुराहरू समेत पालैपालो चढ्ने मन छ । त्यो पो कहिले पूरा होला ?
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।