वरदान सम्मान समूह दार्जीलिङका महासचिव सुमित्र थामी अविरलले पठाउनु भएको बिजुलीपत्र प्राप्त भयो । लेखिएको थियो ‘विष्णु न्यौपानेज्यू, वरिष्ठ साहित्यकार, धरान ।’

उहाँसँग मेरो पहिलो भेट धरानमा भएको हुनाले ठेगाना पनि धरानकै भएछ । सोचें, मेसेन्जर मेरै भएपछि धरानको विष्णु चाहिं अरू को होला र ? कुरा बुझ्दैजाँदा नेपालबाट बोलाइएका दुई मुख्य अतिथिहरू हुनुहुँदो रहेछ साहित्यकार दीपक सुवेदी र चन्द्र भण्डारी ।

चन्द्रदाजुले मलाई र मैले दीपकजीलाई खैखबर गरेपछि दीपकजीले भन्नुभयो, “भदौ ७ गते बिहान ७:३० बजे म गौरादहबाट पाडाजुँगी आइपुग्छु । मैले सङ्केत दिएपछि तपाईं दमकबाट चढ्नु होला । काँकडभिट्टामा चन्द्रदाजुसँग भेटेर केही नास्ता गरौंला र लागौंला पूर्व ।”

काम त्यसैअनुसार भयो तर रातभरि ज्वरो आएकोले ओखती खाएर मात्रै गाडी चढेको कुरा दीपकजीले सुनाउँदा मलाई डरडर लाग्यो । उहाँको जीउ पनि रनक्क तातेको थियो । अनुहार निन्याउरो देखिन्थ्यो । टाढाको यात्रामा निस्केको बिरामी मान्छे । डराउनु स्वाभाविक थियो । तर गफ गर्दैजाँदा अलि फ्रेस हुँदै जानुभयो ।

९ बजे पुग्यौं काँकडभिट्टा र भेट्यौं चन्द्रदाजुलाई । स्वागत आदानप्रदानपछि उहाँले भन्नुभयो, ‘नास्ता यहाँ होइन दार्जीलिङ मोडमै पुगेर गरौँ। स्टेट बसले एकैछिनमा पुर्‍याइहाल्छ, के भो र ।’ दीपकजी पनि चन्द्रदाजुकै कित्तामा उभिनुभयो । सम्झें दुवैले ग्यास्टिक निवारण चूर्ण सेवन गरिसकेछन् घरमै । फसेछस् जैरे तँ एक्लै ग्यास्टिकका फन्दामा ।

सार्वजनिक शौचालयमा सूची गरेपछि दीपकजीले मेरो ६२०० – नेरुलाई भारुमा रूपान्तरण गराइदिनुभयो । शौचालयको काम एक धन्दा अनेक देखें मैले । कमाउनलाई दुनियाँ किन दौड्नु ? हजारौं भाडा किन तिरिरहनु ? किन दर्ता गराइरहनु पसल ? किन बुझाइरहनु राजस्व ? पिसाब फेरेको रु.१०, दिशा गरेको रु. २०, पैसा साटेको कति ? दुई नम्बरी सामान लुकाइदिए बापत कति ? ठाउँसारी गरिदिएको कति ? नामसारी गरिदिएको कति ? मान्छे, माल, मस्ती सप्लाइ गरेको कति ? कति हो कति ।

भन्छ ऊ ‘यो त स्थायी दोकान हो नि दाइ, डराउनै पर्दैन । तपाईं फर्किंदा नचलेको भारु मलाई नै दिनु न, म नेरु दिइहाल्छु नि तपाईंलाई ।’

जम्मा एउटा मुढा र टेबल लिएर शौचको पैसा उठाउन बसेको मान्छे, भरोसा दिलाउँछ देश चलाउने ।

पैसा मैले मात्रै साटें । दीपकजी र चन्द्रदाजुको खल्तीमा दुवैदेशको पैसा बराबर हुँदोरहेछ । दुवैतिरका सिमकार्ड हुँदारहेछन् मोबाइलमा । यात्राका लागि चाहिने एकसरो आधारभूत सामग्रीहरू तयारी अवस्थामै हुँदारहेछन् झोलामा । महीनामा एकदुई पटकदेखि चारपाँच पटकसम्म पुग्नुहुँदो रहेछ भारत । उहाँहरूका लागि सबै सामान्य कुरा रहेछ, मेरा लागि मात्रै हाउगुजी ।

काँकडभिट्टाबाट चढियो सिटीरिक्सा । मुन्सी बन्नुभयो चन्द्रदाजु । रु. ६० भारु हात पारेपछि मेचीपुलको मध्य भागमा लगेर खन्याइदियो त्यो रिक्साले अर्को रिक्सामा । थाप्न आउने रिक्साले पुलको पल्लोछेउमा नागरिकता देखाउन लगायो । भारतीय प्रहरीहरूले परैबाट हेरे र जाने इशारा दिए । त्यो रिक्साले पनि अरू ३० भारु हात पारेर खसायो हामीलाई पानीट्याङ्कीमा ।

भारत पुर्‍याएर एक्लै छाडिदिनु मेरा लागि पानीकै ट्याङ्कीमा खसाइदिनु थियो । पौडेर निस्कने कला थिएन मसँग । साँच्चैको अनाडी हुँ म । न हिन्दी बोल्न आउँछ, न बङ्गला । अंग्रेजी पनि राम्रो बुझ्दिन । न सिम छ पारिको न कसैको फोन नम्बर नै । कोहीकसैको नाम र ठेगाना पनि छैन मसँग । न बाटो थाहा छ न यातायातको साधन नै चिन्छु । कहाँबाट चढ्ने कहाँ उत्रने ? बक्क लाटो । साथी दायाँबायाँ लागे भने म सिधै बेपत्ताको सूचीमा सूचीकृत हुन्छु । मेरो सहारा, भरोसा सबै उहाँहरू । साथीहरूले जेजे गर्नुहुन्छ त्यही नक्कल गर्ने हो मैले पनि ।

पहिले लोकल बसमा चढ्यौं । गाडी नहिंड्दै उत्रियौं र स्टेट बस चढ्यौं । दार्जीलिङमोड जाँदैन भनेपछि उत्रियौं र अर्को लोकल बसमा चढ्यौं । त्यो पनि हिंड्न मानेन र उत्रेर फटाफट अगाडि उत्तर–दक्षिण सुतेको ठाडोबाटोमा पुग्यौं । निकैवटा बसलाई सोधीखोजी गर्नुभयो साथीहरूले । यो बस कि त्यो बस हुँदाहुँदै ५–७ बस चिम्लिए । चटारो चल्दाचल्दै नक्सलबारी नछिरी बाइरोड जाने कसम खायो एउटाले र चढ्यौं त्यसैमा ।

पिंध र घुँडा दुवै नअटाउने सीट रहेछन् बसका । निक्कै चाक्ला पिंध र लामा घुँडा भएका सिङ्गल मान्छेलाई डबल सीट चाहिने भयो । दीपकजी र म त मुश्किलले एउटैमा चेप्टियौं तर चन्द्रदाजुले डबलमा पनि एक्लै चेप्टिनुपर्‍यो । दीपकजी र चन्द्रदाजुका बीचमा प्यासेज थियो तर मुख एकै ठाउँ जोडिएका थिए । काँकडभिट्टादेखि जोडिएका मुख तीन दिन तीन रात छुट्टिन मानेनन् । बीचबीचको मेरो हस्तक्षेप कबाफमा हड्डी बन्ने हो कि भन्ने त्रास थियो मलाई । केही ठाउँमा त बन्यो पनि होला ।

बस चल्लेबित्तिकै जोडिएका मुखमध्ये एउटा भन्दैथियो– ‘के गर्ने एसीको चीसो खाँदै लग्जरियस गाडीमा दार्जीलिङ पुग्ने भाग्य रहेनछ त हाम्रो ।’

अर्को मुखले बोल्यो, ‘मौका त जुरेकै हो तर परिस्थिति यस्तो प्रतिकूल भैदियो कि कोशिश पनि कोशिश गर्दागर्दै फेल खायो ।’

पहिलो मुखले सोध्यो, ‘कतै फेदमा समाउनुपर्ने परिस्थितिलाई टुप्पोमा समाएर निमोठ्न खोज्दा पो बिग्रेको हो कि ?’

दोस्रो मुखले उत्तर दियो, ‘त्यस्तो होइन, खै कल्ले हो कुन्नि पहिले नै जरा खलबल्याइसकेको रहेछ ।’

दुवै मुख हाँसे र शान्त भए । दुवै मुखले प्रयत्न चाहिं गरेकै रहेछन् तर दुवै असफल भएपछि दोषारोपण गरेका रहेछन् एकअर्कालाई ।

मैले सोधें, ‘गीता भाउजूको नयाँघर देख्नुभएको छ तपाईँहरूले ?’

दीपक सरले भन्नुभयो, ‘छैन हउ, चन्द्रसरले पो देख्नुभएको छ कि ?’

‘छैन मैले पनि । प्रधाननगर भन्ने थाहा छ तर घर, पसल कताकता पर्छ केही थाहा छैन ।

मैले भनें, ‘निस्केर जाऔं न त आजै । के भो र समय छँदैछ क्यारे ।’

चन्द्रदाजुले भन्नुभयो, ‘तपाईंको खर्साङ उत्रेर अलइन्डिया रेडियो र १०९ वर्ष पुरानो गोरखा जनपुस्तकालय घुम्ने रहर चाहिं बाख्रो तुहिए जसरी नै तुहिन्छ नि, अरू त के पो हुन्छ र ।’

मैले भनें, ‘सकभर दुईवटै पूरा गरौं, नसकिए खर्साङ घुम्ने रहर अर्को योजनामा मेटौंला नि ।’

दीपक सरले अलि उत्साह भरिएको स्वरमा भन्नुभयो, ‘हो त ? फोन गरौं त ? गरें है मैले ।’

जति नै लडाइँ गरे पनि बसले हामीलाई थाङ्नामा सुताएरै छोड्यो । फेरि पनि ढाँटेछ नमीठोगरी । ढाँटका त राजा नै हुनेरहेछन् बस चालकहरू । बाघडुक्रा कटेपछि सीधा पूर्व जानुपर्नेमा मोडिएर लाग्यो दक्षिण नौकाघाटतिर । फोकटमा घुमायो झण्डै एक घण्टा र दार्जीलिङमोड नपुर्‍याई अलपत्र पारिदियो बीचबाटोमै । फेरि जनही तीसतीस रुपियाँ तिरेर रिक्सामा गयौं दार्जीलिङमोड ।  मोडमै पुग्न त रिक्साले पनि मानेन । हिंड्नैपर्यो एकछिन ।

मोडमा साहित्यकार सुकराज दियालीजी पर्खिरहनु भएको रहेछ । दीपकजी र सुकराजजीको गफ पानीट्याङ्कीदेखि नै चलिरहेको थियो ।

बडो हार्दिकतापूर्वक भेटघाट भयो हाम्रो । सारै मेहनती, परिश्रमी व्यक्तित्व सुकराज दियाली जसलाई साहित्य कला सङ्गम दमकले भवानी मिश्र पुरस्कारद्वारा सम्मान समेत गर्नभ्याएको छ, भेटघाट हुँदा बढो खुशी भयो मन । हामीप्रति उहाँको हार्दिकता उस्तै गहिरो रहिरहेको पाउँदा अझै प्रफुल्लित भएँ म ।

मोड पुगेर नास्ता खाने हाम्रो योजना फेरि लडखडायो । चन्द्रदाजुले भन्नुभयो, ‘अब पुण्यदाजुको घर जाने भनेपछि उतै केही खाउँला । टाढा पनि होइन । घरमा भए घरको खाउँला बाहिरकै खानुपरे पनि उहाँहरूले जानेबुझेका ठाउँको, पेट नबिगार्ने खालको नास्ता अर्डर गरेर खाउँला ।’ सम्झें ..अघाएको भन्छ डाँडापारि खाऊँ ।

सुकराजजीले ‘सुमित्रा थामी अविरललाई दिनु है’ भनी एउटा गहकिलो डकुमेन्ट थमाउँदै प्रधाननगर जाने रिक्सामा चढाइदिनुभयो हामीलाई । रिक्सा अघि बढेपछि हात हल्लाउँदै ‘रिक्साभाडा तिरिसकेको छ है, नदिनु नि’ भन्नुभयो । चन्द्रदाजु कराउनु भयो ‘ए के भको हउ यो मान्छे, भाडा पनि तिरिदिनु पर्छ त हाम्रो ?’

रिक्सा निकै टाढा पुगिसकेको थियो । दाजुको आवाज हाम्रा कानलाई छुँदै भीडभाडमा पसेर अलप भयो । सुकराजजीका कान विपरीत ध्रुवतिर फर्केर हिंडिरहे ।

डकुमेन्ट मैले मेरो झोलामा हालें । प्रधाननगर उत्रेपछि शर्माज्यूको गाडीको प्रतीक्षामा उभियौं । बनाउँदैगरेको नयाँ घर पुग्नुभएको रहेछ उहाँहरू । दार्जीलिङ मोडमा हामी आएको खबर सुनेपछि फर्कनुभएछ भाउजू । दिनको १२ बजिसकेको हुनाले भोकले डल्लो पारेको महसूस भयो मलाई ।

गीता भाउजूको गाडीमा चढेर प्रधाननगरस्थित उहाँको अपार्टमेन्टमा पुग्यौं । कलेंटी परेका ओठ र चाउरे बाँदर जस्ता अनुहार देखेर हस्याङफस्याङ खाना बनाउनुभयो । अर्की बहिनीले पनि सहयोग गरिन् । भलाकुसारीसँगै साथीहरूले फ्रिजमा राखेको मही पिउनु भयो, मैले फ्रिजबाहिरको शुद्ध पानी ।

त्यसपछि हरियो चिया र जिभ्रोमै झुण्डिने खाना खायौं । सिक्किमको पेलिङदेखि ल्याएका भालुबाँसका तामाको तरकारी, दही फिटेर बनाएको सोल्लर, उमालेको गुन्द्रुक र बास्ना आउने चामलको भात सारै स्वादिष्ट थियो । चन्द्रदाजुलाई पनि सारै मीठो लागेछ क्यारे, ‘मीठो पकाउन जानिन छे हौ यसले’ भन्दै बिहान उभ्रेको भातसमेत थपीथपी खानुभयो । ‘भोभो, म त धेरै खान्न पो’ भन्दै बासीभात पनि लफन्याउनुभयो दीपकजीले । टन्न पेट उक्सेपछि गुलियो चाहिंदोरहेछ चन्द्रदाजुलाई ।

गीता भाउजूलाई इशारा गरेर ‘अब एउटा फलफूल पनि लेऊ त नानी’ भन्न थाल्नुभयो । घरमा फलफूल सकिएको रहेछ । गीता भाउजू अलमल्लमा पर्नुभयो ।

‘आज त केही नै पो छैन त हउ गुलियोबस्तु पनि । निम्बुपानीमा चिनी फिटेर दिऊँ सर ?’

‘गुलियो खोजेका बाहुनलाई निम्बुपानी’ ।

‘भेट्यौ बाबै डँडाल्नामा चाबुक’  मनमा सम्झेको मात्र के थिएँ ‘हुन्छहुन्छ ल्याउनू न’ पो भन्नुभयो दाजुले त ।

‘मरेछौ खन्चुवा बाहुन’ भन्यो मनले तर आवाज निकालेन । हाँसो मात्रै पोखियो बाहिर ।

चन्द्रदाजुलाई पनि कुरीकुरी लागेछ क्यारे । अप्ठ्यारो माने जस्तो गरेर ‘आफू त परियो खन्चुवा बाहुन, नखाई सक्तैसक्तिन । खै के लत लाग्योलाग्यो । घरमा पहिले खानापछि मिठाइ अनिवार्य चाहिन्थ्यो । पछि काजु किसमिस चाहिन थाल्यो । अहिले चाहिं फलफूल नभै हुँदैन । अड्कोपड्को तेलको धूप, आज निम्बुले काम टार्नुपर्‍यो ।’

दीपकजीलाई भने सोध्नै नपर्दोरहेछ । जे ल्याएर अगाडि राखिदिए पनि खान्न नभन्ने । अमिलो, पीरो, चीसो, तातो केही बारन छैन । बिहान ज्वरो आएको मान्छे, फ्रीजको मही तनतन । फेरि, भोक लाग्यो, फलानो कुरा चाहियो, अघाएँ केही नभन्ने । अगाडि आइलाग्यो भने जतिखेर जे पनि खाइदिइहाल्ने । मलाई पनि यो वा त्यो भन्ने चाहिं केही छैन । लत, आदत, बानी, तलतल केही छैन । खानेकुरा भेटियो र पेट अघायो भने भयो । मीठो नमीठो भन्ने केही लाग्दैन ।

हरेक बस्तुको आ–आफ्नै स्वाद हुन्छ र तिनीहरूलाई फरक अनुभूतिका साथ मज्जा लिएर ग्रहण गर्न जान्नु हाम्रो महानता हो भन्ने ज्ञान भएपछि खानेकुरालाई दोष लगाउन छोडेको हुँ मैले । किसान, भरिया र भान्से महान् देवता हुन् जसका कारण मलाई भोक लाग्दा मेरो अगाडि यो खानेकुरा टुप्लुक्क आइपुग्यो भन्ने चेतना पसेदेखि उत्पादक, ढुवानीकर्ता र भान्सेलाई दोष होइन सम्मान गर्न थालेको हुँ । फ्रीजको चीसो कुरा, दही र केराले मलाई तुरुन्तै घाँटीको एलर्जी गराउने हुनाले र कडा चिल्लो, पीरो पचाउन नसक्ने हुनाले खान्न म । बाँकी कुरा जे दिए पनि रुचे जति खान्छु । द गुड अर्थ (कल्याणी धर्ती) नामको उपन्यास पढेदेखि खानेकुरा धेरै पस्किने र नास बनाएर हिंड्ने काम पनि छोडेको छु । जति रुच्छ त्यति लिने, जति लिइन्छ सबै खाने, दोष कसैलाई नलगाउने ।

पानी पिएपछि एकछिन भलाकुसारी, फोटोसेसन आदि चल्यो र भाउजूले गाडीमा राखेर पुस्तकपसल पुर्‍याउनु भयो । पसलको निरीक्षणपछि ट्याक्सीस्टेण्ड पुर्‍याउनु भयो र हामी ३ जनालाई बीचका ४ सीट रिजर्भ गराइदिएर फर्कनुभयो । उहाँको अति मिलनसार स्वभाव, कोमल हृदय र सहयोगी भावना देखेर हामी तीनैजना प्रभावित भयौं । दाजु पुण्यप्रसाद शर्मा न्यौपानेसँग भेट हुन सकेन । उहाँहरूले ग्यान्टोकको घर, पसल र छापाखानालाई पनि चलाउँदै, सय वर्ष पुग्नलाग्नु भएकी आमालाई पनि खुशी तुल्याएर सिलगुडीमा निर्माण गर्नुभएको घरको पैंचो खानेदिन नजिकै आएको थियो । त्यसैको तयारीमा लाग्नुभएकाले दाजु व्यस्त हुनुहुन्थ्यो । उहाँहरूको प्रशंसा गाउँदै सिलिगुडी छोड्यौं हामीले ।

सालबारीमा साहित्यकार ज्ञानेन्द्र खतिवडा, पूर्ण मगर, राजा पुनियानीहरूसँग अघिल्लो भेटको स्मृतिलाई पुनर्ताजगी गराउँदै, गोङ्देन चियाको स्वादमा रमाउँदै सुकुनामोड पुग्यौं । बायाँ लागेर विशाल सैनिक क्याम्प छिचोल्यौं । महानदीमाथिको अत्यन्तै साँघुरो पुल तर्यौ । सुरक्षाको दृष्टिकोणले हो वा हाम्रो देशमा जस्तै हेराहेर र हानाथापले हो कुन्नि पुल चौडा हुन सकिरहेको थिएन ।   चियाकमान, स–साना बस्तीहरू छिचोल्यौं र लाग्यौं उकालैउकालो ।

चन्द्रदाजु र दीपकजी दुवैजना झ्याप हुनुभयो । खानाकी परीले आँखा छोपिदिएर स्वर्गको यात्रा गराउन थालिन् । मलाई भने गुरुजी प्रदीप राईको फोनवार्ताले फनफन घुमेको पहाडी बाटोभन्दा धेरै घुमाउँदै पढाउन थाल्यो ज्ञानको पाठ । गाडीको रफ्तारसँगै बोलीको रफ्तार पनि बढिरहेको थियो । घुम्नुपर्ने दार्जीलिङका आठ पोइन्टका नाम, सन्दकपुरको हावापानी, कञ्चनजङ्घा बेसक्यामसम्मका सबै ठाउँका नामहरू, सिक्किमका सबै पर्यटकीय स्थलहरू, घुम्न लाग्ने समय, बाटोको अवस्था, गाडी पुग्ने र पैदल यात्रा गर्नुपर्ने ठाउँहरू, ठाउँठाउँका होटलका नाम, लाग्ने खर्च, पाउने सुविधा, सरकारबाट घुम्न अनुमति दिने महिनाहरू, बोक्नुपर्ने आधारभूत सामग्रीहरू, शारीरिक तथा मानसिक पूर्वतयारी आदि विषयहरू एकोहोरो सुनाइरहे । उनीभित्रको ज्ञान, बोल्ने कला, सहयोगी भावना, यात्रुहरूलाई आकर्षण गर्ने क्षमता देखेर मलाई यो मान्छे कोरा ड्राइभर मात्रै होइन भन्ने प्रष्ट भयो र फोन राखेपछि मैले जोडेँ गफको सिलसिला ।

खारिएका थिए उनका कुरा । विद्यार्थी नै पर्यटन विषयका रहेछन् उनी । पर्यटन व्यवसाय, होटल व्यवसाय, राजनीति, कलाकारिता सबैको अनुभव सँगालेपछि ड्राइभिङसेवा मार्फत टुरिस्ट गाइडको काम गरिरहेका रहेछन् । विगत ९ वर्षदेखि उनको व्यवसायको मियो, सम्पर्क कार्यालय ९८०६६४१४०५ नम्बर भएको त्यही मोबाइल फोन रहेछ ।

तीनधारे छोडेर निरन्तर उकालो कुदाइरहँदा रिसले तातेर आगो भएछ गाडीको इन्जिन । रङ्टङ् भन्ने ठाउँमा रोकेर चालकले निकैबेर पानीको धारोले नुहाइदिए र १५ मिनेट आराम दिलाए । इन्जिनले आराम लिँदा हामीले पनि सुची गर्यौ, पूरै सिलगढी देखिने होटलमा बसेर चिया पिउँदै मोबाइलमा प्रतिबिम्ब थप्यौँ । बल्ल खुसी भयो गाडी र रोहिणी हुँदै खर्साङतिर उकाल्न थाल्यो हामीलाई ।

अल इन्डिया रेडियो खर्साङकी कार्यक्रम सञ्चालिका साहित्यकार उषाकिरण समदर्शीको घरसँग भलाकुसारी गर्दै अघि बढ्यौं हामी साहित्यकार टासी शेर्पाको घर सोनादातिर । सोनादाको चिसोले सिलगडीको तातो बाफलाई चिस्याएर बरफ बनाइदियो । हतारहतार झ्याल थुनेर वाइन्डप्रुफ ज्याकेट लगाएँ मैले । चन्द्रदाजुले स्वेटर ओढ्नुभयो । चिसो स्याँठको ठाँगेले नछोएको अभिनय गर्दै हुनुहुन्थ्यो दीपकजी तर घुम पुग्दा हाम्रोभन्दा बाक्लो हुडीभित्र गुटमुटिएको देखें मैले । रेल स्टेसन हुँदै हामी चोकबजारछेउ पुग्यौं ।

साहित्यकार सुमित्रा अविरल हामीलाई स्वागत गर्न उभिनुभएको रहेछ । देखेपछि गाडी रोकेर उत्रियौं हामी । भाडा दिनखोज्दा विद्वान गुरुजीले भने, “तपाईंहरूको भाडा त अघिको दिदीले दिइसको नि ।” हामी अचम्मित भयौँ । ट्वाँ परेर एकअर्कालाई हेरिरह्यौँ । कल्पनासम्म पनि नगरेको कुरा कसरी भयो यो ? भाउजूले त गाडीको भाडा समेत तिरिदिनु भएछ । हामीलाई आत्मग्लानि भयो । भाउजूले आफ्नो दायित्व निर्वाह गर्नमा कुनै कसर बाँकी राख्नुभएकै थिएन तर यो भाडासमेत तिराइमाग्नु त हाम्रो लाचारीपनको पराकाष्ठा नै भयो भन्ने लाग्यो । उहाँको माया धेरै हो कि हाम्रो कमजोरी धेरै खुट्याउन नसक्तै हामी सुमित्राजीको स्वागत कक्षमा छिर्यौ ।

मूल सडक छोडेर एक कान्लो तल झरेपछि अलिकति अगाडि बढ्दै ‘नेपाली साहित्य सम्मेलन दार्जीलिङ’ लेखिएको एक सय वर्ष पुरानो पुस्तकालय भवनमा पुग्यौं । सुमित्राजीले सरासर माथि सुधपा सभाकक्षमा चढाउनु भयो । त्यहाँ ७–८ जना भाइबहिनीहरू भोलिपल्ट हुने कार्यक्रमका लागि पूर्वतयारीमा जुट्नुभएको थियो । हरियो चिया(ग्रीन टी)को स्वागतसँगै हाम्रो परिचय गराउनु भयो सुमित्राजीले । वरदान सम्मान समूहकी अध्यक्ष गायिका सोनु राईसँग धरानमा भेट भैसकेको थियो ।

महासचिव सुमित्रा अविरल आफैँ र सदस्यहरू सविता गोर्खा, भारती प्रधान, सविता राई, उर्मिला तामाङसँग पनि परिचय भयो । सन् २०१८ मा जम्मा ६ जना चेलीहरूको समूह बनेर खोलिएको यो संस्था आजसम्म पनि उहाँहरूको सामूहिक प्रयासमा सञ्चालन हुँदै आइरहेको रहेछ । कवि, कलाकार, शब्दकार सँगसँगै अभिनय, गायन, सङ्गीत आदि अनेक विधा÷उपविधामा योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई सम्मान गदै आएको रहेछ । यस पटकबाट एउटा पुरस्कार पनि दिने योजना रहेछ ।

भित्तामा ब्यानर टाँगिसकिएको थियो । फूलका मालाहरूले सभाकक्ष झकिझकाउ बनाइसकिएको थियो । माइक टेस्ट हुँदैथियो । कार्यक्रमको प्रिन्टेड सेड्युल सबैका हातहातमा थियो । स्वागत गीतको अभ्यास, उद्घोषकद्वारा गरिने सम्बोधनको अभ्यास, सम्मानपत्र तथा सम्मानित व्यक्तित्वहरूको चिनारी–पत्र वाचन गर्दा वाचकको स्वर परीक्षण धमाधम भइरहेको थियो । वाचन गर्दा स्वर काँप्न नहुने, सुललित स्वरमा वाचन गरिनुपर्ने, आवाज कोमल र प्रष्ट हुनुपर्ने, कतै अड्किन अलमलिन नहुने, सकेसम्म दर्शकदीर्घा र सम्मानित व्यक्तिसँग पनि नजर जुधाउने प्रयास गरिनुपर्ने आदि वाचकमा हुनुपर्ने न्यूनतम गुणहरू तोकिएको थियो । कलात्मक लेखन र वाचनले नै स्रष्टाको व्यक्तित्वलाई उचाइमा पुर्‍याउने हुनाले वाचक छनौटमा कुनै सम्झौता नगरी स्वरपरीक्षण गराइएको देखियो । माइकमा सात जनाको स्वर परीक्षण गर्दा ३ जना मात्र पास भएपछि तिनै ३ जनालाई पूर्ण अभ्यास गराइयो ।

चिया, पानी, खाजा, खाना, होटल आदिको प्रबन्ध पहिले नै मिलाइसकिएको रहेछ । कार्यक्रमको समय विभाजन, कामको बाँडफाँड, स्वागतको विधि, फरकफरक ठाउँबाट आउने पाहुनाहरूलाई बिदाइको जिम्मा पनि फरकफरक व्यक्तिलाई दिइयो । नपुगेका सामानहरू किनेर ल्याउने, छपाइमा त्रुटि भेटिएका सम्मानपत्र तथा स्मृति चिन्हलाई सच्याउने आदि कार्य साँझसम्म पनि चलिनैरहेको थियो । यी सबै कुराहरू हाम्रै अगाडि भए र हामी दर्शक बनेर हेर्यौं, सुन्यौं ।

बाहिर निकै गहिरो साँझ खसिसकेको रहेछ । हामीलाई खाना खुवाएर मात्रै सुत्ने होटल पुर्‍याउने हुनुभयो अध्यक्ष र महासचिवले । चोकबजार कटेर चौरस्ता नपुग्दै बिच उकालोमा रहेको सुन्दर होटल ‘पार्क’ को माथिल्लो तलामा पुग्यौं खाना खान । आआफ्नो इच्छा अनुसारका चौरासी व्यञ्जन ग्रहण गरिसकेपछि चन्द्रदाजुले भन्नुभयो– ‘अब एकदुईवटा फलफूल लेऊ भाइ ।’

केटो पर्‍यो बिलखबन्दमा । कहाँबाट ल्याओस् फलफूल । फेरि भन्नुभयो, ‘गुलियोबस्तु, मिठाइहरू के छ त्यही ल्याऊ’ । त्यो पुग्यो अझै मरणासन्न अवस्थामा ।

सुमित्राजीले भन्नुभयो, ‘आइसक्रिम खाँदा हुँदैन सर ?’

‘हुन्छभने आइसक्रिम खाऊँ न मिठो हुन्छ यहाँको ।’

दाजुले ‘हुन्छ’ भनिहाल्नु भयो । मलाई पनि कर गर्दैहुनुहुन्थ्यो, शक्त मनाही गरें । सुमित्राजी र सोनुजीले मेरा लागि तातो आइसक्रिम मगाउने हुनुभयो । म हाँसें र हुन्न भनें तर भरे ल्याएछ ५ वटै । उहाँहरूले नै थपेर खानुभयो ।

आइसक्रिम थपीथपी खाइसकेर बाहिर निस्केपछि सम्झनुभएछ दीपकजीले बिहान आएको ज्वरो । त्योबेला आत्तिएझैं गरेर भन्नुहुन्छ, हैन मलाई त बिहान ज्वरो आएको थियो नि, मैले किन आइसक्रिम खाको ? मलाई झन् अचम्म लाग्यो । बिहान फ्रिजको मही खाएको बिर्सने, राति सुत्नुअघि आइसक्रिम आएको थाहा नपाउने यो अजीव प्राणी कहाँबाट आइलाग्यो आज ?

ज्वरो आएको मान्छेले दार्जिलिङको चिसोरातमा बाहिर हुडी लाएर भित्र थपीथपी आइसक्रिम लुँड्याएपछि हालत के होला ? मनमा चिसो पस्यो । हिंड्दैहिंड्दै चौरस्ता पुग्यौं ।

शनिवारको दिन भएकोले होला भारतीय आन्तरिक पर्यटकहरूको भिडभाड निकै बाक्लो देखिन्थ्यो । झलमल्ल बत्ती बालेर रातमा पनि चौरस्ता चम्किरहेको थियो । आदिकवि भानुभक्त आचार्यलाई ढोग चढायौँ र दायाँतिर गल्लीमा रहेको न्यू लायनगेट होटल, रेस्टुरेन्ट एण्ड बारमा पुग्यौं ।

हामी बस्ने व्यवस्था त्यहीँ मिलाउनु भएको रहेछ आयोजक परिवारले । सुमित्रा र सोनुजी दुवैजनाले हाम्रो बासस्थानको प्रबन्ध मिलाइदिएर राति ९ बजेपछि आआफ्नो घर प्रस्थान गर्नुभयो । सोनुजीको घर रेल्वेस्टेसन नजिकै कागझोडामा रहेछ तर सुमित्राजीको घर रहेछ १५ किलोमिटर टाढा गाउँमा । चोकबजार झरेर गाडी चढेर जानुपर्ने रहेछ । त्यति राति कसरी जानुभयो होला भन्ने चिन्ता लागिरह्यो मनमा । यता हामी भने १०:३० बजेसम्म गफियौँ र आरामसाथ सुत्यौँ ब्लेङ्केटमाथि सिरक खप्टिएर ।

भोलिपल्ट कार्यक्रम हुने दिन । बिहान हामीले चौरस्तामै बितायौँ । मेरा २ वटा पुस्तक शिशिरका घाम र शीतको ऐनाबाट कविता वाचन भए । भानुभक्तको शालिकमुनि बसेर टिमाइ सञ्चार युट्युब च्यानलका लागि चन्द्रदाजु र मेरो अन्तर्वार्ता सहितको भिडियो बनाइयो । मैले कर्मले बाँचेका आदिकवि भानुभक्त शीर्षकको कविता वाचन गरेँ । क्यामेरामा दीपकजी हुनुहुन्थ्यो । चौरस्ताको भित्तामा रहेको चन्द्रसमशेरको शालिकपरिसरमा सरसफाइ गरियो र केही तस्बिरहरू लिएर होटल फर्कियौं। होटलमा नास्ता खाएर कार्यक्रम स्थलमा पुग्यौं ।

हामी झण्डै ढिला भैसकेका रहेछौँ । मञ्चमा प्रमुख अतिथि, विशिष्ट अतिथिहरूको आसन ग्रहण भैसकेको थियो । हाम्रो आसन मञ्चासिनहरू मध्येका अग्रस्थानमा भयो । ढिला हुनु नै हाम्रो भाग्य खुल्नु रहेछ । दिनभरि खुला भएर, अग्रासनमा बसेर सम्पूर्ण कार्यक्रमको रसास्वादन गर्न पाइयो । सबैको तस्बिर लिन पाइयो । कार्यक्रमै पिच्छे तलमाथि गरिरहनु परेन । मञ्चको पछिल्लो भागमा दिनभरि खोपीको देउता हुनु परेन । गजक्क परेर अररिनु पनि परेन । पहिलो कार्यक्रम सकिने बित्तिकै मञ्चासिनहरूलेझै तल झरेर ठाउँ खोजीखोजी बस्नु पनि परेन । पर्यौ हामी मालामालमा ।

पूर्वतयारी अनुसार नै कार्यक्रम खोटरहित ढङ्गले अगाडि बढ्यो । महासचिवको आञ्चलिक लवज हाम्रा लागि सुनिरहूँ जस्तो थियो । कुनै सम्मानपत्रमा आञ्चलिक कथ्य भाषा जस्ताकोतस्तै लेख्यमा परिणत भएको थियो भने कुनैमा विशुद्ध कोषीय शब्दहरू प्रयोग गरी लेखिएको थियो । सम्मानित व्यक्तित्वहरूमा साहित्यकार नगेन्द्र गोर्खा, चित्रकार सुवास क्षेत्री, पत्रकार रुवेन गुरुङ, नाटककर्मी कमला लेप्चा, सङ्गीत संयोजक जीवनप्रकाश प्रधान, गायक तथा सङ्गीतकार सविता वि.के. गोर्खा, शब्दकार बालकृष्ण थामी, टेवलटेनिस खेलाडी नरेश कटुवाल हुनुहुन्थ्यो । नेपालबाट प्रतिनिधित्व गर्ने हामी तीन जनाले शुभकामना मन्तव्यसहित रचनाहरू सुनाउँदै सम्मान ग्रहण गर्ने अवसर प्राप्त गरेका थियौँ ।

कार्यक्रममा सिक्किमका साहित्यकार चन्द्रप्रकाश भट्टराई(सी.पी. शर्मा) र नेपालका चन्द्र भण्डारी दाजुको मन्तव्यले निकै राम्रो चर्चा बटुलेको थियो । कार्यक्रमको मध्यभागमा सभाकक्षमा नै प्याकिङ गरिएको खाना खुवाइएको थियो । थोरै हल्ला थपिए पनि कार्यक्रमले निरन्तरता पाइरह्यो । सहभागीहरू सभाकक्ष छोडेर तितरबितर भएनन् । कविता सुनाउने मेरो पालो पनि खानाकै बिचमा परेको हुनाले छन्दोबद्ध कविताका लागि तान्पुराको छुट्टै धुन बजाइरहनु परेन । खाना खानेहरूका लागि मेरो कविता ब्यागराउन्ड म्युजिक बनेको थियो भने कविता वाचकका लागि हल्ला पनि उस्तैउस्तै ।

कार्यक्रम अत्यन्तै सौहार्द्रपूर्ण वातावरणमा सम्पन्न भयो । हामी बाहेकका सबै पाहुनाहरूलाई बिदाइ गरिसकेपछि आयोजकका अनुहारहरू साँच्चै आकर्षक देखिएका थिए । अधिकांश बहिनीहरू बसेका ठाउँबाट उठ्न, हलचल गर्न सकिरहेका थिएनन् । एउटा विशाल युद्ध जितेर उत्सव मनाइसके पछिको थकान मेटाउन जताततै पल्टिएका सिपाहीहरू जस्तै बसेका ठाउँबाट जीउ उठ्न मानिरहेका थिएनन् । दिन बित्नै लागेको हुनाले हामी घरका न घाटका हुन्छौँ भनेर दार्जीलिङ नछोड्ने निधोमा पुगेका थियौं । सिलिगुडी झर्दा पनि बस्ने टुङ्गो थिएन र पशुपतिनगरतिर आउँदा पनि घर आइपुग्ने साधन थिएन । कुरोको चुरो बुझेर नै होला आयोजकले हाम्रा लागि दुई रात बस्ने व्यवस्था मिलाएको रहेछ । हामी दोस्रो रात पनि सुत्ने भयौं अघिल्लो रात गुजारेकै होटलमा ।

उत्साहको हिसाबले हेर्दा बेहुली अन्माएपछिको रुन्चेभतेर हुँदोरहेछ कार्यक्रम सकिएपछि पनि आयोजकलाई दुःख दिइरहने पाहुनाको रात । अतिथि सत्कारमा कुनै कमी थिएन । आयोजक समूहका सबै सदस्यहरूले हामीलाई छोडेका थिएनन् । राति ९ बजेसम्म पनि हामीसँगै हुनुहुन्थ्यो संस्थाका अध्यक्ष, महासचिव र तीनैजना सदस्यहरू सविता गोर्खा, भारती प्रधान र उर्मिला तामाङ । गायिका सोनु राईको अन्तरवार्ता लिइरहनु भएको थियो दाजु चन्द्र भण्डारीले । क्यामेरामेन हुनुहुन्थ्यो दीपकजी । तर पनि कताकता ’झड्केला पाहुना बन्यौँ हामी’ भन्ने महसूस गरिरहन्थ्यो दिमागले ।

 

भोलिपल्ट बिहानै हिंड्ने योजना थियो हाम्रो । फेरि महासचिव सुमित्रा अविरलले खाना नखुवाई नपठाउने हुनुभयो । आफूले केही डकुमेन्टहरू नेपाल पठाउने र उहाँ नआउन्जेल हिंड्न नपाइने शर्त राखेर उहाँहरू निस्कनुभयो ।

भोलिपल्ट बिहान हामी चौरस्ता हुँदै दरबार क्षेत्रतिर घुम्न निस्कियौं । साउथफिल्ड कलेज, सांस्कृतिक भवन, देशबन्धु जिल्ला पुस्तकालय, दार्जीलिङ मल, पाइन ट्री स्पा रेस्टुरेन्ट, आर.जे. रेस्टुरेन्ट, ओसिनो स्पा रेस्टुरेन्ट आदि छिचोल्दै गायक ‘मास्टर मित्रसेन थापा’को शालिकमा पुगेर टक्क रोकियौँ । भित्तामा लेखिएको थियो उनको चर्चित गीत ‘लाहुरेको रेलिमइँ फेसनै राम्रो, रातो रुमाल रेलिमाइँ खुकुरी भिरेको’ उनको जीवनीलाई ढुङ्गामा खुँदेर अत्यन्तै कलात्मक ढङ्गले राखिएको, अगाडि पूर्णकदको शालिक निर्माण गरी सुरक्षित घर बनाएर अति सम्मानका साथ सजाइएको देख्ता खुसीले हाम्रा आँखा रसाए । लेखे जति कुरा सबै पढ्यौँ र दाजुतिरको घरमा सजिएका महात्मा गान्धी लगायतका नेता त्रयका शालिक नियाल्दै अगाडि बढ्यौँ । त्यो तीनकुने चोकको भित्ताभरि पहाड खोपेर बनाइएका ससाना घरहरूमा महत्वपूर्ण व्यक्तित्वका शालिकहरू राखिएका थिए । यो देख्ता दार्जीलिङबाट नेपालले सिक्नुपर्ने धेरै कुरा रहेछन् भन्ने लाग्यो ।

जता हेर्‍यो त्यतै राम्रो लाग्दैथियो हामीलाई । ठाउँठाउँमा उभिएर प्रकृतिभित्र कुँदिएका मानवीय कलाका नमुना र तिनीहरूसँगै आफूलाई उभ्याएर क्यामेरामा कैद गर्दैथियौ । एकैपटक हाइहेल्लो बढ्यो चन्द्रदाजु र अर्का एकजना सेतै दारी फूलेका स्थानीयसँग । कुकुर चराउन बाटोतिर निस्कँदै गरेका ती स्थानीय रहेछन् वरिष्ठ सङ्गीतकार चन्दन लम्जेल । ‘भैँसी लड्यो है माया भिरबाट हेर…’ बोलको गीतकी गायिका डेजी बराइलीका श्रीमान् ।

नारायणगोपालले गाएका गीतमा समेत सङ्गीत भर्न भ्याएका लम्जेल आज पनि उत्तिकै सक्रिय रहेछन् । उनीसँग चिनापरिचयपछि टिमाइ सञ्चारका लागि चन्द्रदाजु र लम्जेल बीचको एउटा गहकिलो अन्तर्वार्ता रेकर्डिङ गराएर बिदा भयौँ । भित्तातिर लिपिक्क टाँसिएर कुकुरखुट्टे कार्यक्रम भ्याएपछि बोर्ड नियालेको त शाही दरबारको मुख्य प्रवेशद्वार पो लेखिएको रहेछ । फेरि क्यामेरा सोझ्याउन लाग्दैथिएँ, सेन्ट्री बसेका विराटनगरका बस्नेत भाइ गोलघरबाट फुत्त बाहिर निस्के र ‘फोटो खिच्न मिल्दैन दाजु’ भने । सरी भनेर तर्सिंदै साथीहरू भएतिर दौडिएँ ।

पाथी भरेजस्तो कालीमन्दिरको थुम्कोलाई दायाँ पारेर परिक्रमा गर्ने क्रममा कञ्चनजङ्घा भ्यू पोइन्टमा आइपुगिएछ । दार्जीलिङबाट अत्यन्तै सुन्दर देखिने नेपालको कञ्चनजङ्घा हिमालसँग उभिएर निकै राम्रा तस्बिर खिच्यौँ र निरन्तर परिक्रमामा लाग्यौं ।

चन्द्रदाजुको जीवनचरित्रलाई आँखिझ्यालको प्वालबाटै भए पनि चिहाउने रहर रहेछ क्यारे दीपकजीभित्र । यो भेटले पूरै ढोका उघारिदियो र भित्रै छिरेर उहाँ ढुन्मुनाइरहनु भयो । अगेनो, चुलो, भर्सेलीदेखि टाँड चढ्दै बुइँगलको चुलिगारोसम्म छाम्न भ्याएको महसूस हुन्थ्यो मलाई । चन्द्रदाजु फेरि खुला हृदय र भलिभाँती ज्ञान भएको मान्छे । विषय कोट्याइदिने बित्तिकै बोरामा काना कस्न पनि नहुनेगरी खन्याइदिने आदत छ उहाँको । फेरि कहीँ छादेको थाहा पाउनुभयो भने नाङ्गेझार बनाएर अम्रोको माला लगाइदिने सम्मको सामर्थ्य राख्ने मान्छे हो उहाँ । दाजु निरन्तर खन्याइरहनुहुन्थ्यो, दीपकजी बोरा थापिरहनुहुन्थ्यो ।

दाजुको जन्म, बाल्यकाल, अध्ययन, विद्यार्थीराजनीति, पत्रकारिता, विवाह, हिरासत, यातना, जेल जीवन, लेखन, प्रकाशन, एफ.एम. रेडियो सञ्चालन, बाधाअवरोध, यात्रा, अन्तरवार्ताहरूको सङ्ग्रह, प्रकाशोन्मुख संस्मरणात्मक कृतिहरू, तिनीहरूको प्रभावकारिता आदिआदि सबै विषयहरू कोट्याइए, ओकलिए, थुपारेर एमानका रास लगाइए, फिँजाइए र फेरि थान्को लगाइए ।

लेखिएका संस्मरण र हराएका डायरीहरूबारे सुनिसकेपछि दीपकजीले अत्यन्तै दुःखद क्षणहरू सोध्नुभयो, जीवनदेखि हरेस खाएका पलहरू सोध्नुभयो, अब बाँचिँदैन भन्ने लागेका घटनाहरू सोध्नुभयो । दुःखद क्षणहरूमध्ये जेल सार्ने नाममा मार्ने उद्देश्यले हतकडी र नेल लगाएर बाहिर निकाल्दा अन्तिम भेट सम्झेर जेलभित्रका साथीहरू घुँक्घुँक् गर्दै रोएको क्षण, खाल्डो खनेर पुलिसले यहाँ पस्, तुरुन्त खाल्डोभित्र पस् भन्दै पुर्न ठिक्क पारेको क्षण, लीना भाउजूलाई विवाह गरी बरियात फर्कंदै गर्दा एउटा भाइले धुलाबारीछेउमा रोकेर ‘तपाईँलाई पकड्न घरभरि पुलिस आएर बसेका छन् तपाईँ तुरुन्तै भागिहाल्नुहोस्’ भनेपछि लुगा खोलेर बेहुली र आमाका हातमा राखिदिँदै खोलैखोला भागेको क्षण अत्यन्तै गम्भीर बनेर सुनाउनु भयो ।

रमाइलो यात्रामा मिसिएका यस्ता हृदयविदारक कहानीलाई चिर्न म बेलाबेला फरक प्रसङ्ग झिकेर विषयान्तर गराउन खोज्थें तर उहाँहरू फेरि डुबिहाल्नुहुन्थ्यो अनन्त गहिराइहरूमा । मैले रमाइलोपन झिक्न अर्को प्रश्न गरें ‘घरमा प्रहरी आएको खबर पाउने बित्तिकै तपाईं त बेहुली छोडेर भागिहाल्नु भयो, अनि सुहागरात चाहिं कति दिनपछि मनाउनु भयो त दाजु ?’

अप्रत्याशित आएको प्रश्नले चन्द्रदाजुलाई अफ्ठेरोमा धकेल्यो । पहिले रातोपिरो हुनुभयो लाजले । ‘मारिहाल्यो नि बाहुनले’ भनेर हाँस्ताहाँस्तै खलखल पसिना झार्नुभयो ।  दीपकजी पनि लजाएर हाँसिरहनुभयो र चन्द्रदाजुका मुखमा हेरेकोहेरै गर्नुभयो । प्रश्नले चन्द्रदाजुको नाभीमै समातेको हुनाले बाध्य भएर भन्नुभयो – ‘डेढ महिनापछि’ ।

निकैबेर हिंडेपछि फेरि जोडिए पुरानै संस्मरणहरू । ‘एउटा छापामारको डायरी’ पुस्तककी लेखकलाई अँध्यारो कुनाबाट उठाएर सार्वजनिक गराउँदा व्यहोरेका कष्ट र चुनौतीहरू सुनाउनु भयो । पहाडी कन्दराहरूमा पुगेर, अन्तरवार्ताहरू लिएर, एफ.एम.बाट निरन्तर प्रसारण गरेर बाहिर ल्याएपछि उनको बारेमा धेरैले जान्ने अवसर पाए । पछि उनले लेखेको आफ्नो कहानीको डायरी मेरो घरमा ल्याएर एक महीना छोडिन् । पुस्तक बनाइदिनु भन्ने अनुरोध थियो तर मैले तुरुन्तै त्यसलाई छापामा लान सकिन । मेरो व्यस्तता नै मेरो कमजोरी भयो तर पछि त्यही डायरीलाई प्रयोग गरेर अरु कसैले कमाइ खाए भन्ने सुनियो । उनले चाहिं के पाइन् र अहिलेको अवस्था कस्तो छ त्यो मैले बुझ्न पाएको छैन ।

चन्द्रदाजुसँग यस्ता हजारौँ संस्मरणहरू छन् । उहाँका चार वटा पुस्तकहरू तयार भएर बसेका छन् तर प्रकाशित गरिहाल्ने बेला भएको छैन कि भन्नुहुन्छ । उहाँका सबै तर्कहरूको खण्डन गर्दै तुरुन्त निकाल्ने सल्लाह दियौँ हामीले । उहाँका हिरासतमा बस्ताका अनुभूतिहरू, जेलजीवन, अनेरास्ववियुको केन्द्रीय अध्यक्ष हुँदाका अनुभूतिहरू त्यतिकै छन् । पार्टीले जागिर खान प्रतिबन्ध लगाउँदा छाक टार्ने अभाव थियो ।

त्यो बेला पेट भर्न सिलाएको कोट र त्यो कोट लगाएर नबोलाइएका अनेकौँ विवाह पार्टीहरूमा पस्तै भोज खाँदै हिँड्दै गरेका अनुभूतिहरू छन् । नेपाल पत्रकार महासंघको संस्थापक महासचिव हुँदाका अनुभूतिहरू, सी.पी. मैनाली पार्टीको महासचिव हुँदा भारतीय राजदूतावासबाट उनको घरमा निरन्तर आइरहने पार्सलहरू के हुन् ? किन आइरहेछन् तिम्रो घरमा ? भन्ने प्रश्न गर्दा, यथार्थ बुझ्न खोज्दा मैनालीले ढाकछोप गरेपछि उनका नाकमा औँलो ठड्याएर ठाडो चुनौती दिँदै काठमाडौँ छोडेका अनुभूतिहरू छन् ।

कञ्चनजङ्घा एफ.एम.को प्रबन्ध निर्देशक भएर नेपाल, भारत, वर्मा, भुटान आदि देशका विभिन्न कुनाकन्दरा पुगेर पन्ध्र हजारभन्दा बढी व्यक्तिसँग लिएका अन्तरवार्ता र लिँदाका अनुभूतिहरू छन् । कार्यक्रममा हल्ला गर्नेको झाँको झारेका, व्यक्तिगत स्वार्थ पूर्ति गर्न सामाजिक सद्भावमा हलचल ल्याउनेहरूका जुँगा मुडेका, एकछाक भातका लागि विदेशीको जासुस बनेर नेपालीहरूको हुर्मत काढ्नेहरूलाई पाहा पछारेझैँ पछारेका आदि अनुभूति त कोट्याउनै भ्याइँदैन ।

यस्तै अनुभूतिहरू सुन्दै र हरियाली वातावरणमा रम्दै पहाडलाई पूरै फन्को मारेर हामी पुनः चौरस्तामै आइपुग्यौं । होटल नपुग्दै सुमित्राजीलाई फोन सम्पर्क गर्नुभयो दीपकजीले । सँगै खाना खाने कुरा भएपछि दाल रोटीको अर्डर गर्यौ र अघिल्लो दिनको कार्यक्रमको समीक्षा गर्दै खाना खायौँ ।

उहाँले पठाउँछु भन्नुभएका पार्सलहरू कुनबेला हाम्रा झोलामा छिरे पत्तै भएन । दार्जीलिङे मलमल कपडाका मझेत्राहरू र हरियो चियाका प्याकेटहरू रहेछन् पार्सलमा । हामी होटल छोडेर तल ट्याक्सीस्टेन्ड पुग्यौं । सुमित्राजीले पशुपतिनगरसम्म आउने ट्याक्सीभाडा पनि तिरिसक्नु भएछ । दुई दिनअघि गीता भाउजूले गर्नुभएको माया सम्झेर ट्याक्सीवाल भाइलाई खुसुक्क सोधेको त ‘पाइसको त दाजु भाडा त मैले’ पो भन्छ । सुमित्राजीलाई हामीले जबरजस्त भाडाको पैसा फिर्ता गरी भुइँसोरी नमस्कार गर्यौ र बिदा माग्यौं ।

घुम पहाड पुगेर हाम्रो ट्याक्सी दायाँ मोडियो । डाँडैडाँडा, भित्तैभित्ता दौडाइरहँदा कहिले आँखै नदेखिने कुहिरोभित्र त कहिले अत्यन्तै बाक्लो झरीभित्र छिरायो । अँध्यारा जङ्गल, निगालो घारी, कोणधारी सल्लाघारी, मालिङ्गोघारी आदि छिचोल्दै ससाना बजारहरू पनि देखाउँदै नेपालको पशुपतिनगरछेउमा उतार्‍यो । हामीले जनही ३००÷– भारतीय रुपैयाँ बुझायौँ र नेपालतर्फ प्रवेश गर्यौ ।

पशुपतिनगरलाई हरदम कुहिरोले छोपिरहेको हुन्छ । आज पनि घुम्टो ओढिरहेको थियो नगरले । फादेन दाइको होटलमा रातो चिया पिएपछि एकजना लामाभाइको अटो चढेर फिक्कलसम्म आयौँ । फिक्कलबाट ट्याक्सी चढेर कन्याम, हर्कटे, अर्यालघुम्ती, भालुखोप, जोरकलस, सुनमाई, वर्ने, बुधबारे हुँदै चारआली आइपुग्यौं । चन्द्रदाजु हामीसँग बिदा मागेर पूर्व लाग्नुभयो भने दीपकजी र म बिर्तामोडसम्म त्यही ट्याक्सीमा र त्यहाँबाट बस चढेर आआफ्नो गन्तव्यसम्म पुग्यौं ।

यात्राले फरक ठाउँ, फरक मान्छे र फरक वातावरणको मात्रै ज्ञान दिएन । हामी सहयात्रीहरूलाई एकअर्कामा गहिरोगरी चिनायो । नयाँ विचारहरूले भर्‍यो । ज्ञानको भण्डारमा सारै धेरै खुराकी थप गरिदियो । नेपाल तथा भारतमा बसेर कलम चलाउने स्रष्टाहरूका चरित्र चित्रण गरायो । को केति कुरामा सक्षम छ र के सुधार गर्नसके अझ सफल बन्न सक्छ भन्ने समीक्षा गरायो । यस्तो अथाह ज्ञान दिलाएर भ्रमणले अविस्मरणीय गुन लगाएको हुँदा अवसर प्रदान गर्नुहुने सुमित्रा अविरल लगायत सबैसबै प्रति आभार व्यक्त गर्दछु ।