केही भद्र भलाद्मीहरूले मलाई होच्याउँदै  सोध्नुभयो, “तिम्रो किताब किन पढ्ने ? नपढी नहुने के छ किताबमा त्यस्तो ?”

केहीले भन्नुभयो, “किताबको गाता त खतरा रहेछ त ? बिकाउनलाई हो ?”

किताब छापिएको एक हप्ता नपुग्दै यस्तो प्रतिक्रिया आउन थालेपछि म निक्कै नै सोचमग्न भएँ ।

सोचिरहें – म यो किताबको कभरले अब पूर्ण रूपमा नराम्रै गरी ध्वस्त भएँ त ? आफन्तहरूलाई कसरी देखाउने ?

फेरि छटपटी भयो ।

संसारमा जति मान्छेहरू जन्मेका छन् ती हरेक मान्छेसँग लेख्न र भन्नलाई अनेक कुरा छन् । हरेक व्यक्ति एउटा सिङ्गो कथा पनि हो । लेख्नलाई थुप्रै विषय छन् । तर सबैले लेख्दैनन् । लेख्न र पढ्न नजान्ने मानिसहरूको जमात पनि संसारमा निक्कै ठूलो छ । केही मान्छेहरू भने लेख्न, पढ्न र भन्न रुचाउँछन् । म परें लेखेर कुराहरू भन्न रुचाउने मान्छे । मेरो कथा भन्ने शैली भिन्न छ । मलाई अरूको नक्कल गर्न आउँदैन पनि ।

मैले नामी लेखकहरूले जस्तो कुनै घोष्टराइटर राखेर मोटो रकम बुझाएर  आफ्नो नाममा किताब छपाएको पनि हैन । मैले जुन जुन समाज, देश काल र परिस्थितिमा  जे जे देखें त्यही त्यही लेख्दै गएँ । मैले लेखेका  कथाहरू राम्रा छन् । तीता भए पनि मीठो ढङ्गले प्रस्तुत गरेकी छु । पात्रहरू इमानदार छन् । मान्छेका प्रेम, सम्बन्ध, धोका, पीडा, जस्ता कुराले तपाईंको आफ्नै मनलाई बुझ्न  सहयोग गर्छ । लाग्छ – तपाईंलाई तनावबाट एकछिनको लागि आराम हुन मद्दत गर्नेछ मेरो किताबले, अनि कतै कतै तपाईंलाई रमाइलो पनि बनाउनेछ ।

तर किताब लेखेर वा पढेर म ज्ञानी छु, म जान्ने हुँ भनेर धमास दिनु चाहिं वाहियात कुरा हो । मान्छेले कुन किताब पढेर आत्मोन्नति गरेको छ वा गर्छ ? गीता सार कण्ठै हुनेले पनि हिंसा गरेको देखेकी छु । संसारमा किताब नै नपढ्नेहरूको ज्ञान, बुद्धि र अर्ती-उपदेश लिएर  म जीवनमा धेरै पटक  नतमस्तक भएकी छु ।

म सानी छँदा पढ्न-लेख्न नजान्ने निरक्षर मेरी हजुरआमालाई म भन्थें, “आमा, भोली सरले एउटा कविता लेखेर ल्याउनु भन्नुभएको छ, मलाई कविता लेख्न आउँदैन बरु म स्कूलै जान्न ।”

मेरी निरक्षर हजुरआमाले मुखले कविता  भन्नुहुन्थ्यो  अनि म सरासर कापीमा लेख्थें । अर्को दिन म त्यो कविता सबैलाई सुनाएर पहिलो पुरस्कार जितेर घर फर्कन्थें । पुरस्कार पाएपछि हौसला त मिल्थ्यो नै तर मलाई भित्रभित्रै पीडाले सताइरहेको हुन्थ्यो । किनकि त्यो कविता मैले आफैंले रचेकै थिइनँ ।

यदि सरले वा अरू कसैले कलम र कपी अगाडी राखिदिएर ‘ल एउटा कविता लेख’ भन्यो भने के गर्ने होला भनेर डराउँथें । त्यै डरले कैंयौं रात सुत्न नै सक्दिन  थिएँ । अनि म त्यसपछि  आफैंले लेख्ने प्रयास गरें । एउटा भएन अनि केर्दै-मेट्दै जान्थें र फेरि हजुरआमाले भनेको जस्तै गरेर छन्द मिलाएर दमदार तरीकाले लेख्ने प्रयास गर्दै जान्थें । तर बचपनदेखि अहिलेसम्म पनि हजुरआमाले भनेजस्तो दमदार चाहिं लेख्न सकेकी छैन ।

त्यसैले म भन्छु, “ज्ञानको लागि चाहिं किताब पढ्नु र लेख्नु पर्दैन । हाम्रो  आँखा अगाडि देखिने धर्तीमा  रहेका जीव-जीवात्मा, प्रकृति,  आफूभन्दा दोस्रो मानिसको हाउभाउ, उसले गर्ने व्यवहार, बोली-बचन, अन्तर्क्रिया, भावना, धोका पीडा, संवेदनाहरू नै ज्ञानका स्रोत हुन् ।

साँचो ज्ञान त्यो हो आफूले आफैंलाई बुझ्नु, आफ्नै मनबाट उब्जेका रीस, राग, द्वेष, घृणा, ईर्ष्या, घमण्ड भित्री र बाहिरी व्यवहारमा हुने र गरिने आफ्नै चरित्रलाई बुझ्नु  हो । किताब पढ्नु र लेख्नु  वा गीत लेख्नु, नाटक लेख्नु, चित्र कोर्नु वा कुनै कुराको आविष्कारमा लाग्नु सृजनशील काम मात्रै होलान् भन्ने मैले बुझेकी छु ।

तर संसारका हरेक ठाउँमा मान्छेको जीवन जिउने शैली, राम्रो रोजगारी पाउन  विभिन्न ज्ञान, सीप र कला सम्बन्धी शैक्षिक मापदण्ड तोकिएको छ र कोर्सहरू डिजाइन गरिएको छ । अनि ठूला ठूला शैक्षिक संस्थाहरू खोलिएका छन् । यति पढेपछि वा यो डिग्री लिएपछि मात्रै यो क्षेत्रमा, यो करियरमा जान वा काम गर्न सकिन्छ  भनेर बनाइएको छ । ती पाठ्यक्रमहरू पनि मान्छेले नै लेखेका हुन् वा तय गरेका हुन् । र क्रमशः विकास  गर्दै लगेका हुन् ।

कसैले समय र पैसा खर्च गरेर केही विषय पढ्छ भने तुरुन्त cash मा convert गरिहाल्नुपर्छ भन्ने कुरा मैले अमेरिकामा आएपछि मात्रै सिकें । पढेर कुनै विषयको लाइसेन्स लिएर उपयोग नगरी त्यसै बसे त्यसै खारेज हुने रहेछ । नत्र फेरि पैसा र समय दुवै दिएर, पुनः पढेर लाइसेन्स निकाल्नुपर्छ । अमेरिकामा समय भनेको पैसा हो भनेर बुझें मैले । कसैले आधा घण्टा समय निकालेर आफ्नो लागि दिन्छ र अगाडी बसेर राम्रोसँग कुरा सुनिदिएर कफी पिएर साथ दिन्छ भने त्यो कफीको मूल्य तिर्नुपर्ने रहेछ ।

किताब कै कुरा गर्दा किताब एउटा मान हो र सम्मान हो । तर अचेल साथीभाइहरू, नातेदारहरूको घरमा गयो, लाइब्रेरी त के एउटा किताब पनि देखिन्न । खाली कि त मोबाइल कि त टिभीमा घोत्लिइरहेका हुन्छन् । मानिसहरू यान्त्रिक छन् । पहिला पहिला भारतको रेलमा चढ्दा मानिसहरू किताब  पढिरहेका भेटिन्थे । अन्तर्राष्ट्रिय उडान भर्दा Kindle मा घोत्लिइरहेका देखिन्थे । तर अचेल त्यो संख्या घट्दै गएको जस्तो देखिन्छ ।

त्यसको मतलब पुस्तक पढ्ने संस्कृति ओझेलमा पर्दै गएको पक्का हो । वर्षमा कम्तीमा सत्तरी वटा किताब पढ्ने व्यक्तिलाई मात्रै पढ्ने भनेर भनिन्छ । किताब नपढ्नेहरू भन्दा पढ्नेहरू जीवन जिउने कलामा अब्बल नै देखिन्छन् । साथै आफ्नो जीवनप्रति आनन्दित पनि पक्कै हुन्छन् होला ।

मेरो पुस्तकको कभर हेरेकै भरमा टीकाटिप्पणी गरिहाल्ने वा बहसमा उत्रनुपर्ने केही छैन । यो पुस्तकले तपाईंको त्यस्तो धेरै पैसा र समय पनि बर्बाद गर्दैन । मेरो पुस्तक झूटो शान र अभिमान पनि होइन । समाजको यथार्थ चित्रण हो । केही फरक स्वाद चाख्नुहोस् र सबै पढिसकेर शब्दहरूमा लुकेको अर्थलाई बुझ्नुभयो भने पैसो उठेको महसूस पनि गर्नुहोस् ।