मानव जीवन अद्भुत छ । ईश्वरप्रदत्त यस सुन्दर चोलामा मानव जातिले विभिन्न अनुभव बटुल्दै, जीवनमा आइपरेका हुरी बतासहरू झेल्दै, सङ्घर्ष गर्दै, स्वयम्मा आत्मबल जुटाउँदै जीवन नदीभित्र गोता लाउँदै अघि बढ्दै गएर गन्तव्यमा पुग्ने प्रयास गरिरहनुपर्दछ । यसैले विद्वान्हरूले जीवनलाई यात्रा, नाटक, नदी, सङ्घर्ष आदिसँग तुलना गरेका छन् । यसै क्रममा दुर्गादेवी नेपालले पनि आफ्नो जीवनको दुरूहतम सङ्घर्षको गाथालाई बगेको खोला भनेर नामकरण गरेकी छिन् ।

वि. सं. २०७२ (सन् २०१५) मा प्रकाशित उक्त पुस्तक निकै चर्चित रह्यो । वि. सं.१९९५ को असोज १६ गते पिता पद्मलाल घिमिरे एवम् माता चित्ररेखा घिमिरेको कोखबाट जन्म लिएकी उनले वि. सं. २०७१ मा उनैको माया शीर्षक काव्य प्रकाशित गरेकी थिइन् ।

शैक्षिक उपलब्धिबारे चर्चा गर्ने क्रममा अन्यसरह उनलाई सो सहुलियत उपलब्ध हुन सकेन तथापि उनले साक्षरता हासिल गरेकी थिइन् तथा स्वअध्ययन अनि आफ्नै कोशिसका भरमा दुईवटा पुस्तक प्रकाशित गर्न सक्षम भइन् ।

उनको प्रथम कृति ‘उनैको माया’ काव्य हो भने दोस्रो कृति ‘बगेको खोला’ आत्मकथा हो ।

आत्मकथा कुनै पनि लेखकद्वारा आफ्नै जीवनका विषयमा वर्णन गरिएको कथा अथवा गाथालाई भन्ने गरिन्छ । साधारणता आत्मकथा संस्मरणसित मिल्दोजुल्दो हुन्छ तथापि संस्मरणमा लेखकले आफ्नो समाज, परिस्थिति तथा अन्य घटनाहरूका बारेमा समेत वर्णन गरेको हुन्छ भने आत्मकथामा लेखक स्वयम् नै केन्द्रबिन्दुमा रहेको हुँदछ । तर उक्त कथनको अपवादस्वरूप प्रस्तुत पुस्तक बगेको खोलालाई लेखिका स्वयम्ले आत्मकथा भनेर स्विकारेकी छिन् । तथापि यसभित्र हामी लेखिकाले स्वयम्लाई मात्र केन्द्रित नगरेर समाज, परिवेश तथा सम्पूर्ण नातागोतालाई समेत समेटेकी पाउँछौँ ।

स्रष्टा दुर्गादेवी नेपालको प्रस्तुत आत्मकथा बगेको खोलामा जम्मा ५९ खण्ड समेटिएका छन् । खण्ड-खण्डलाई आ-आफ्नै आकर्षक शीर्षकमा सुशोभित गरिएको छ ।

प्रथम अध्याय मेरा पुर्खाको कथादेखि दशौँ अध्याय मेरा दिदीहरूसम्म पारिवारिक चर्चा र परिचयबारे जानकारी पाइन्छ । उनका बाआमा दुवै पक्षको परिवार निकै ठूलो थियो । यी परिवारको विस्तार निकै फाँटिलो छ जसका नामहरू स्मरण गर्न पनि पाठक वर्गलाई निकै हम्मे नै पर्दछ । त्यसपछि एघारौँ अध्यायदेखि मात्र उनको जीवन र स्वअनुभवबारे परिचय शुरू हुन्छ । आफ्नी आमाको कोखबाट जन्मेका पन्ध्र जना सन्तानमध्ये उनी सबैभन्दा कान्छी रहेकीले आमाबाका मायाको ठूलो भाग उनले नै पाएकी थिइन् । पढाइलेखाइएतर्फ अभिरुचि रहेकोले उनले आफ्ना बाले रामायण पढेका बेला छेउमा बसेर सुनेर तथा हेरेर नै साउँअक्षर चिनिसकेकी थिइन् ।

उनका कान्छा दाजु विराटनगर मामाघरमा बसेर पढ्थे । पढाइमा उनीजस्तै हुने चाहनाले गर्दा आफ्नी आमासमक्ष आफू पनि विराटनगर मामाघरमा बसेर पढ्ने इच्छा प्रकट गर्दा आमाबाट सो कुराको खण्डन भए तापनि ठूल्दाजुको छोरो ठुले, ठूल्दिदीको छोरा साइँलो, साइँली दिदीको छोरो यज्ञप्रसाद बास्तोला र उनका लागि समेत भनेर धनकुटाबाट एकजना शिक्षक झिकाइएको थियो । यसरी ती शिक्षकले उनीहरू चारजनालाई नै बिहान, दिउँसो र बेलुकी गरेर तिनै समय नौ महिनासम्म पढाउने काम गरेका थिए ।

मेरो बाल्यकाल शीर्षकअन्तर्गत समेटिएका दुर्गादेवीको बाल्यकालका कुराहरू अति रमाइला र रोचक छन् । उनको बाल्यकाल सम्पन्नतामै बितेको थियो । घरमा कुनै कुरोको अभाव थिएन । आफ्नी आमा बाँचुन्जेल उनले कुनै कुरोको कमी महसुस गर्नुपरेन । घरमा सबैभन्दा सानी र बाआमाकी अति प्यारी भएकीले उनी ज्यादै पुलपुलिएकी थिइन् । आफ्नी आमा बाँचुन्जेल र आफ्नो बिहे भएर पतिको घर नगइन्जेलसम्म उनको जीवन अत्यन्तै सुखमय थियो । उनी नौ वर्षकी हुँदा आफूमाथिका दुई दिदीहरूको पालैसँगे त्यही वर्ष र अर्को वर्ष बिहे भएको थियो । त्यसै वर्ष अर्थात् दश वर्षको कलिलो उमेरमै उनको पनि बिहे सम्पन्न भयो । बिहेको वर्णन बडो चाखलाग्दो छ । त्यतिखेर बालविवाहको चलन थियो । छोरी जातिले घरका बाआमाले वर हेरेर कुरा छिनेपछि नाइँनास्ति गर्ने कुरै थिएन ।

‘मेरो जीवनको पहिलो शोक’मा  लेखिकाले आफ्नो जीवनमा आइपरेको सबैभन्दा ठूलो शोक, आफ्नी परमप्रिय आमा गुमाउनुपरेको घटनाको मर्मस्पर्शी वर्णन छ । आफ्ना बाआमाकी सबैभन्दा प्रिय कान्छी छोरी भएकी हुनाले घरमा कसैले पनि उनलाई ठूलो स्वरले हपार्दैनथे । आमाको जीउ भइन्जेल उनी एउटी राजकुमारीसरह हुर्केकी थिइन् । आफ्नी प्राणप्रिय आमालाई अचानक गुमाउनुपर्दा उनी हतप्रभ भइन् । बाँच्नुको सार नै गुमाएको अनुभूतिले उनी मरेतुल्य भइन् । आमाबिनाको संसार उनलाई अन्धकारमय लाग्यो । उनका बाले आमाको तिर्सना मेटाउने सक्दो प्रयास गरे तापनि उनलाई आमाको अभाव जीवनभर खट्किरह्यो ।

आफ्नो माइतमा राजकुमारीसरह हुर्केकी दुर्गादेवीलाई आफ्नो ससुरालीमा त्यति सानो उमेरमा बुहार्तन खप्न निकै कठिन परेको थियो तर राम्रो संस्कार र सुसंस्कृत घरानामा जन्मेकी हुनाले उनी तगेर नै बसिन् । यसरी सकी नसकी घरधन्दा गर्दै बसेकी समयमा, आफ्ना दुलहा पनि दार्जिलिङ फर्कनुपरेका हुनाले उनलाई बडो सकस परिरहेको बेला माइतबाट माल्दाजुले मान्छे पठाएर उनलाई माइतमा बोलाइपठाएका थिए । उनी माइत पुगेको दुई महिनामा आमाको वर्षदिनको काम पनि सम्पन्न भएको थियो । माइतमा बस्दाबस्दै सासूको स्वर्गारोहण भएको खबर पाएर उनी फेरि ससुराली नै पुगिन् र आफ्नो कर्तव्य पूरा गरिन् ।

सासूको चोला उठेपछि दुर्गादेवीको जीवनखोला घरी दार्जिलिङ, घरी लिम्बा, घरी चुङवाङ, घरी दार्जिलिङ नै, घरी कलकत्ता त घरी विराटनगर, पछि आफ्नो दुलहाको पनि चोला उठेपछि अमेरिका पुगिन् । जीवनमा आफूलाई त्यति बिघ्न माया गर्ने दुलहा नै गुमेपछि पनि उनले हरेस खाइन तर आफ्ना खसमले सम्हाल्दै ल्याएका कतिपय कामहरू, जमीनको कारबारको कामसमेत उनले नै सम्हालिन् । नइ प्रकाशनले उनका पतिका लागि गरेका राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका कार्यबाहेक उनको स्मृति एवम् सम्मानमा विराटनगरकै तिनटोलियामा ‘गणेश स्मृति पुस्तकालय’-को स्थापना गर्नेजस्तो महत् कामसमेत उनीबाट भएको छ । तिनटोलिया निवासी उनका देवर खगेन्द्र आचार्यलगायत बुद्धिजीवीहरूको अनुरोधमा २०४८ सालमा उनले एक कट्ठा जमीन उक्त पुस्तकालयका लागि समर्पण गरेकी थिइन् । २०७१ सालमा आफ्ना पतिको सम्झनामा उनैको माया नामक काव्यको रचना पनि गरेकी थिइन् ।

दुर्गादेवी नेपालको व्यक्तित्व बडो गजबको थियो । उज्यालो मोहोडा, मिलनसार प्रवृत्ति, बत्तीस लक्षणले युक्त उनी मानो साक्षात् लक्ष्मी नै थिइन् । सधैँ मुस्कान खेलिरहने ओठहरू, दयालु आँखा, बाह्यमात्र नभई आन्तरिक सौन्दर्यले पनि उनी युक्त थिइन् । सहनशील, सुशीला हुनाका साथै उनी सरल, सोझी तथा इमानदार पनि थिइन् । कर्तव्यप्रति उनको गहिरो निष्ठा थियो । कर्तव्यपरायण उनले सानै उमेरमा पनि जेठी बुहारीको सम्पूर्ण कर्तव्य कुशलतापूर्वक पूर्ण गरेकी थिइन् । परिवारमा ठूलादेखि लिएर सानाहरूसमेतलाई रिझाएर राख्न सक्ने क्षमता उनीसित थियो । आत्मबल र दृढ सङ्कल्पकै कारणवश उनले जस्तै दुःखका क्षणमा पनि हरेस खाइनन् ।

उनी साँच्चै व्यावहारिक थिइन् त्यसैले परिस्थितिअनुसार चल्न सक्ने खुबी उनमा थियो । आफ्नी आमाझैँ उनी पनि ठूलो वटवृक्षझैँ थिइन् सबैलाई शीतल छहारी दिने । जीवनमा जस्तै आँधी, हुरी, बतास आए पनि किञ्चित मात्र पनि नडगमगाउने बज्राँठको रूखझैँ डटेर उभिन सक्ने गुण भएकी उनी अद्भुत नारी थिइन् । ईश्वरप्रति उनको गहिरो आस्था थियो यसैले जस्तै सङ्कटको घडीमा पनि उनी धैर्यको खास्टो ओढेर सदा चन्दनझैँ शान्त, स्निग्ध र शीतल रहन्थिन् । चित्त सदा शुद्ध राख्ने प्रवृत्ति निहित हुनाले उनको व्यक्तित्वका सम्पूर्ण पाटाहरू घमाइला थिए । मृदुवाणी र हँसिलोपन उनको आभूषण नै थियो ।

…बगेको खोला’ दुर्गादेवी नेपाल–जीवनको पारदर्शी जीवनगाथा हो । यस आत्मकथाभित्र लेखिकाका अनुभूतिहरू, भोगाइहरू, अव्यक्त व्यथाहरू, जीवनका उकाली-ओरालीहरूका तीतामीठा गाथाहरू, दुखेसाहरू, मर्मस्पर्शी घटनाहरू, जीवनका अँध्यारा-उज्याला पक्षहरू, प्राप्ति-अप्राप्तिहरू आदिका भण्डार छन् । जीवनका विभिन्न आयामहरूसँग आत्मसात् गर्दै परिस्थितिअनुरूप जिउन जान्ने कला उनीसित थियो । संस्कार सम्पन्न भद्र महिला भएकै कारण उनी पहाड जत्रा दुःखहरूलाई पनि आत्मबलद्वारा जित्न सफल भइन् ।

बगेको खोला दुर्गादेवीको कुशाग्र बुद्धिको परिणाम हो । बालककालदेखि वृद्धावस्थासम्मका एक-एकवटा झिनामसिना कुराहरूलाई समेत पुनः स्मरण गरेर सेता पन्नाहरूमा दुरुस्त उतार्न सक्नु सहज कुरो पटक्क होइन, यस्तो दुःसाध्य कुरालाई पनि यसरी सहज रूपमा अभिव्यक्त गर्न सक्नु बडो गर्वको विषय हो भन्न सकिन्छ । स्मरण शक्ति तेज हुने व्यक्तिबाट मात्र यस्ता कुराहरू सम्भव हुन सक्छन् अनि यस्तो क्षमता दुर्गादेवीमा विद्यमान थियो भन्नमा कुनै अत्युक्ति नहोला ।

आत्मपरक शैलीमा लिखित यस पुस्तक बडो सरल ढङ्गमा लेखिएको हुनाले पाठक वर्गलाई रोचक उपन्यास पढेको अनुभूत हुँदछ ।

दुर्गादेवी स्वयम् विशिष्ट पात्र भएकी हुनाले सुरुदेखि अन्तसम्म पाठक वर्गलाई नजानिँदो तरिकाले पठनोन्मुखी तुल्याउने काम भएको देखिन्छ ।

आत्मकथामा विभिन्न घटनाहरूको सम्मिश्रण हुनु अनिवार्य ठहरिन्छ । यस्ता घटनाहरूका माध्यमद्वारा प्रमुख पात्रको जीवन विभिन्न कोणबाट प्रकाशित हुने गरेकाले यस्ता पात्रमाथि नै विशेषतः पाठकवर्गको ध्यानाकर्षण हुने गर्दछ ।

सामाजिक प्राणी कहलाइने मानव जाति सामाजिक धरातलबाटै उठेको हुँदछ यसैले सामाजिक परिवेशको आधार भूमिबाट कुनै पनि व्यक्तिको मानसिक आधारभूमि वा धरातल र व्यक्तिको चारित्रिक संरचना तयार हुने गर्दछ । लेखिका दुर्गादेवी नेपालका चारित्रिक विशेषताहरूमा उनी हुर्केको परिवेशकै प्रभावको गहिरो छाप परेको कुरो अनुभूत गर्न सकिन्छ ।

जीवनमा अनेक दुःखकष्ट झेलेर पनि बगेको खोलाकी प्रमुख पात्र दुर्गादेवी नेपालको मानवजीवनप्रतिको सोच र दृष्टिकोण स्वच्छ र सकारात्मक नै रहेको थाहा लाग्छ । प्रस्तुत आत्मकथामा लेखिकाको भाषिक प्रयोगलाई अर्ग्यानिक खेतीसित तुलना गर्न सकिन्छ । उनको शैली कतै कुनै आडम्बर नभएको एकदमै सरल र सरस छ । विद्वान्हरूले शैलीलाई नै सर्जकको स्वरूपका रूपमा स्वीकार गर्ने हुनाले प्रस्तुत पुस्तककी लेखिका दुर्गादेवीको निश्छल, निष्कपट र पारदर्शी व्यक्तित्वको स्पष्ट छवि महसुस गर्न सकिन्छ ।

कुनै पनि पुस्तकको प्रमुख आकर्षण नै त्यसको शीर्षकीकरण हो । आफ्नो जीवनको दुरूहतम गाथालाई दुर्गादेवीले बगेको खोलासित तुलना गरेकी छिन् । प्रस्तुत पुस्तकभित्र अधिकतर सङ्ख्यामा शीर्षक खोलोसित नै सम्बद्ध रहेका हुनाले शीर्षक सारगर्भित भइदिएको छ ।

सर्जक दुर्गादेवी नेपालको लेखन तथा पठनप्रतिको निष्ठा साँच्चै सराहनीय छ । आफ्नो आत्मकथामा उनी उन्मुक्त रूपमा आफूलाई व्यक्त गर्ने क्रममा खरो उत्रेकी छिन् । पुस्तक प्रकाशन गर्ने क्रममा नइ प्रकाशनलाई साधुवाद नटक्र्याइरहन कृतघ्नता ठहरिन सक्छ । हाल सर्जक सशरीर छैनन् तथापि उनको दिवङ्गत आत्माप्रति यही पाठकीय मन्तव्य नै श्रद्धाञ्जली स्वरूप अर्पण गर्दछु ।