पोखरामा जन्मनुभएको निर्मलरमण पराजुली बहुप्रतिभाशाली हुनुहुन्छ । उहाँको पहिलो कृति ‘आमाको सपना’ नाटकसंग्रह २०४२ मा प्रकाशन भएको हो । त्यसै गरी भाइटीका (नाटकसंग्रह २०४३), अतृप्त चाहानाको मझेरीमा (कवितासंग्रह २०७३), अक्षरको खेती (मुक्तकसङ्ग्रह २०७४), सम्मोहन (मुक्तकसङ्ग्रह २०७५), देश लेख्न हतार छ (कवितासङ्ग्रह २०७६) प्रकाशित छन् । पराजुली अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरको वरिष्ठ उपाध्यक्ष समेत हुनुहुन्छ भने विभिन्न संस्थाहरूसँग आबद्ध भएर भाषा–साहित्यको सेवा गर्दै आउनु भएको छ । हबिब ग्लोबल पोइट्री अवार्ड भारत २०२२ बाट सम्मानित उहाँ विभिन्न पुरस्कारबाट सम्मानित हुनुहुन्छ ।

प्रस्तुत छ, कवि तथा नाटककार निर्मलरमण पराजुलीसँग नेपाली भाषा, साहित्य र समसामयिक अन्य विषयहरूमा केन्द्रित रही साहित्यपोस्टका लागि साहित्यकार एवं अनेसासका वरिष्ठ उपाध्यक्ष तथा साहित्यपोस्टका अन्तर्राष्ट्रिय संयोजक सर्वज्ञ वाग्लेले गरेको संवादको सम्पादित अंश:

 

तपाईंको व्यस्तता आजभोलि कतातिर र कुन कुरामा छ ?

– साहित्य लेखनका साथै काठमाडौंमा आयोजना हुने साहित्यिक कार्यक्रममा सहभागी भएर व्यस्त जीवन बिताइरहेको छु ।

निर्मलरमण पराजुली

निर्मलरमण पराजुली

लेखनमा पनि तपाईंको सक्रियता देखिन्छ । अहिले के लेख्दै हुनुहुन्छ ?

– कविता र मुक्तकसंग्रहको तयारीमा लागेको छु ।

तपाईंले आफ्नो पहिलो कृति कति सालमा प्रकाशन गर्नु भएको हो ?

– २०४२ सालमा ।

तपाईंको पहिलो सङ्ग्रहको बारेमा संक्षेपमा उल्लेख गरिदिनु हुन्छ कि ?

– मेरो पहिलो कृति ‘आमाको सपना’ नाटकसंग्रह हो । एउटी आमाले आफ्ना सन्तानसँग कस्तो अपेक्षा राख्छिन् भन्ने विषयवस्तु रहेको छ  ।

तपाईं लेखन, सामाजिक व्यक्तित्व र नेपाल च्याप्टरमा पनि हुनुहुन्छ, कसरी समय व्यवस्थापन गर्नु हुन्छ  ?

– समय अनुसार चल्नु पर्छ भन्नेलाई म मान्दिनँ । समयलाई आफू अनुकूल चलाउनु पर्छ भन्ने पक्षको मानिस हुँ । त्यसै अनुसार समयको व्यवस्थापन गर्छु ।

सबैको लागि तपाईं प्यारो मान्छे हुनुहुन्छ । सरल र मीठो लेख्नु हुन्छ पनि ! तपाईं धेरै पाठकको मनको ढुकढुकी बन्नु भएको छ, कसरी ?

– मेरो कारण कसैको चित्त नदुखोस्, म सधैँ सतर्क रहन्छु । मेरो सहयोग र सद्भावद्वारा कसैको उन्नति प्रगति हुन्छ भने म सधैँ यो सत्कर्ममा लागिरहेको हुन्छु । सायद यही कारण हुन सक्छ सबैले माया गर्नु हुन्छ ।

तपाईं गद्य र पद्य कुनमा पोखिन रुचाउनु हुन्छ ?  तपाईंको खास लेखन विधा के हो ?

– म गद्यमा पोखिन मन पराउँछु । मेरो मुख्य विधा कविता र मुक्तक नै हो l मुक्तकको अभियन्ता पनि हुँ । घुम्ती मुक्तक नेपाल मार्फत मुक्तकलाई लोकप्रिय विधा बनाउन  लागिपरेको छु ।

नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय करण गर्न के गर्नु पर्ला ? कसरी ?

– पाठकीय दृष्टिकोणबाट उत्कृष्ट ठहरिएका काव्यलाई अङ्ग्रेजी, फ्रेन्च, चाइनिज्, हिन्दी भाषामा अनुवाद गरेर अन्तर्राष्ट्रिय बजारमा पठाउनु पर्छ । प्रज्ञा प्रतिष्ठान र अनेसास बिच सहकार्य आवश्यक छ । प्रज्ञाले उत्कृष्ट काव्य अनुवाद गरेर  अन्तर्राष्ट्रिय बजार बिस्तारका लागि अनेसासलाई जिम्मा दिनु पर्छ । अनि अनेसासले विश्वभर रहेका च्याप्टरहरूलाई प्रचार र प्रसारका लागि जिम्मा दिनु पर्छ ।

डायस्पोराको शाब्दिक अर्थ के हो ?

– विदेशमा बसेर स्वदेशको बारेमा साहित्य सिर्जना गरिन्छ भने त्यो डायस्पोरा साहित्य हो । धेरैमा भ्रम छ विदेशमा बसेर गरिने सबै साहित्य डायस्पोरा हुँदैन ।

डायसपोरामा बसेर लेखिने साहित्य विधा कस्तो हुनु पर्छ ?

– पहिले कुरा आफ्नो जन्म भूमिको बारेमा लेख्नु पर्छ । हाम्रा हिमालमा काव्य छ, झरनामा काव्य  छ,  प्राकृतिक सुन्दरतामा काव्य छ । धर्म संस्कृति रहनसहनमा काव्य छ । सगरमाथाको देश नेपाल र नेपाली हुनुमा काव्य छ । हामी काव्यैकाव्यको इन्द्रेनीमा रङ्गिएका छौं । आफ्नो चिनारीको रङ्गले काव्यिक धरातल रङ्गाइदेऊ । अनि मात्र देश देशान्तरका बारेमा लेखौं । हामीले लेखेका कृतिले गाउँ, समाज र राष्ट्रलाई दिशा बोध गराउन सकोस् अनि मात्र साहित्य समाजको ऐना हो भन्ने कुरा सार्थक हुन सक्छ ।

साहित्यमा जीवन, दर्शन, आत्मचिन्तन र प्रकृतिलाई तपाईंले कसरी हेर्नु भएको छ ? 

– जीवन बिनाको साहित्य हामीले परिकल्पना गर्न सक्दैनौ । दर्शन बिनाको काव्यिकता, फूल  बिनाको वसन्त, आत्मचिन्तन बिनाको साहित्य बिम्ब र प्रतीक बिनाको शब्दको हार अनि प्रकृति बिनाको साहित्य, शृङ्गार बिनाको दुलही । त्यसैले साहित्यमा यी चार कुराको आ-आफ्नै महत्त्व छ ।

साहित्य लेखन, अध्ययन, चिन्तन र मनन सबैको सन्तुलनले नै मानिसलाई उचाइमा पुर्‍याउँछ भन्ने कुरामा यहाँ कति विश्वास गर्नु हुन्छ ?

– म यो कुरा पूर्ण विश्वास गर्छु ।

के तपाईंको कवितामा पनि व्यङ्ग्य मिसिएको हुन्छ ? व्यङ्ग्य लेखन तपाईंलाई मन पर्छ ? किन ?

– म व्यङ्ग्यकार त होइन तर पनि मेरा साहित्यिक रचनाहरूमा व्यङ्ग्यको प्रयोग गरेको छु l

तपाईं सामाजिक व्यक्तित्व, नेपाली साहित्यप्रति कसरी आकर्षित हुन पुग्नु भयो ?

– महाकवि कालिदास पराजुली मेरो जिजु बुवा हुनुहुन्छ । सायद यसैको प्रभावमा म परेको हुन सक्छ ।

तपाईंको बाल्यकाल बारे अलिकता चर्चा गरिदिनु हुन्छ कि ? बाल्यकालमा साहित्यको कुनै विधाले तपाईंलाई छोएको थियो ?

– म १२ वर्ष हुँदा विद्यालय स्तरीय कविता प्रतियोगितामा प्रथम भएको थिएँ । अनि देउराली रुन्छ भन्ने नाटकले मेरो बाल मस्तिष्कमा गहिरो प्रभाव पर्‍यो अनि १४ वर्षको उमेरमा २ वटा नाटकसंग्रह जन्माउन सफल भएँ ।

साहित्यमा लागेर के पाउनु भयो, अनि के गुमाउनु भयो ?

– अग्रजको विश्वास कमाएको छु, साथी भाइको माया कमाएको छु अनि सडकमा हिंड्दा पछाडिबाट कसैले निर्मल पराजुली भनेको यही हो भनेर औंला ठडाएको त्यो नाम कमाएको छु । आज सम्म केही गुमाउनु परेको छैन ।

अहिलेको नेपाली साहित्य पत्रकारितालाई तपाईंले कसरी हेर्नु भएको छ ? भविष्यमा कस्तो हुनु पर्छ जस्तो लाग्छ ?

– साहित्य तथा साहित्यकारको उन्नयनका लागि साहित्यिक पत्रकारिताले ठुलो भूमिका खेलेको छ । अग्रज र अनुजहरूको बीच पुलको काम गरेको छ । स्तरीय साहित्यको पहिचान गरी पाठक समक्ष गुणस्तरीय साहित्य पस्कने तर्फ सबै साहित्यिक पत्रकारहरूको ध्यान पुग्नु पर्छ ।

तपाईं साहित्यकार हुनुहुन्छ ! तपाईंको घर परिवारमा साहित्य लेख्न र पढ्न रुचाउने को को हुनुहुन्छ ? साहित्य सेवामा लाग्नुको पछाडि कुनै कारण छ कि ?

– साहित्यिक वातावरण  भएको घरमा जन्मिएँ, हुर्किएँ, प्रायः सबै जना साहित्यानुरागी हुनु हुन्छ l

नेपाली साहित्य र अङ्ग्रेजी साहित्यमा भिन्नता के छ ?

– हामी काव्य कसरी लोकप्रिय बनाउन सकिन्छ भन्ने भन्दा पनि म कसरी लोकप्रिय बन्न सक्छु भन्ने गरीब मानसिकता बाट ग्रसित छौं र त्यही अनुरूप काव्य सिर्जना गर्छौ तर अङ्ग्रेजी साहित्य समाज र देशप्रति उत्तरदायी रहन्छ ।

नेपाली साहित्यमा देखा पर्ने स्वदेशी धार्मिक, सांस्कृतिक र सामाजिक विषयलाई अङ्ग्रेजीमा उल्था गरेर सार्वजनिक गर्दा के के फाइदा हुन्छ ? त्यसका लागि कुन कुन संस्थाले के के गर्नु पर्ला ?

– पहिलो कुरा त साहित्यिक भाइ चाराको विकास हुन्छ । कति कुराहरू  हामी बीच समानता छ । साहित्यिक अनुभव र बिचारको आदान प्रदान गर्न सकिन्छ । यसले गर्दा साहित्यिक चेतको अभिवृद्धि हुन्छ । प्रज्ञा प्रतिष्ठानले अनुवाद गरी अन्तर्राष्ट्रिय बजार बिस्तारका लागि अनेसासलाई दिनु पर्छ ।

साहित्य समाजको दर्पण हो भन्ने उक्ति कति सान्दर्भिक छ ?

– शत प्रतशत सही हो । समाजमा घटेका र घट्न सक्ने सामाजिक राजनीतिक, धार्मिक कुरीति कुसंस्कारहरूलाई कलमको माध्यमबाट व्यक्त गरी सामाजिक चेतना अभिवृद्धि गर्नु साहित्यकारको साहित्यिक दायित्व हो ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजलाई यहाँले कसरी हेर्नु भएको छ ?

– अन्तर्राष्ट्रिय स्तरमा नेपाली साहित्य उन्नयनको उद्देश्यबाट प्रेरित र स्थापित अनेसास एउटा सहित्यिक संस्था हो ।

अन्त्यमा नेपाली साहित्यले हाम्रो नेपाली समाजलाई के दियो  यस बारे केही प्रष्ट पारिदिनु हुन्छ कि ?

– समाज परिवर्तनको लागि होस् या अधिकार प्राप्तिका लागि होस्  या राजनैतिक परिवर्तन, नेपाली साहित्यकार र उनीहरूबाट सिर्जित साहित्यले ठूलो भूमिका खेलेको छ ।

मैले सोध्न बिर्सेको र हजुरलाई पाठक समक्ष भन्न मन लागेका कुनै कुराहरू छन् ?

–  हामीबाट सिर्जित साहित्यले समाज  परिवर्तन गर्न सक्दैन भने मसी र कागज खेर नफालौं ।