वन डढेको सबैले देख्छन् 

मन डढेको कसैले देख्दैनन् ।

नेपाली जनबोली वा कुनै नेपाली गीत यस्तै सन्देश र शैलीमा छ । कसैले लेख रचना,कविता-काव्य र कृतिहरु किन लेख्छन् ? कसैले  अरुले लेखेको कृतिहरू किन पढ्छन् वा आफूले लेखेको अरुलाई किन पढ्न दिन्छन् ? पढ्न,पढाउन वा सुनाउन नै त हो लेख्ने, छापिने र बिक्री वितरण पनि हुने । लेख्ने भनेको अरुकै लागि हो र पढ्ने भनेको चैं आफ्नै लागि नै त हो ।

हुन त लेखेको सबैले देख्छन् तर पढेको कसरी देखाउने ? जति धेरै लेखकहरूले लेख्दै जान थालेका छन् त्यति नै पाठकहरू अप्ठेरोमा पर्न त थालेका छैनन् ? कति पढ्ने ? कस्को पढ्ने ? कस्को नपढ्ने ? पढेको कुरा लेखक वा अरु कसैलाई  भन्ने कि नभन्ने ? किन नभन्ने ? किन भन्ने वा कसरी भन्ने ? सूचना प्रविधिले सजिलो पनि बनाएको छ,अभिव्यक्ति र प्रकाशन स्वतन्त्रताका परम्परागत मान्यताहरू बदलिन पनि थालेका छन् । समाचार, साहित्यिक वा विचार प्रदान गर्ने अनलाइन माध्यमहरू मात्र होइन सामाजिक सञ्जालका धेरै माध्यामहरूले प्रकाशन-प्रसारणका लागि खर्चिलो प्रिन्ट माध्यममा कुर्न पर्ने र गुण दोषको कसीमा तौलिन पनि नपर्ने वा परे पनि कम-बेसी छुट पाइने हुन थालेको छ ।

कसैले पनि लेखेको किताब कति पढ्ने र कसरी पढ्ने सबैको आ-आफ्नै रुची र अनुकूलता हुनसक्छ । यो पङ्तिकारलाई यस्तो लाग्दैछ, पढेका किताबका बारेमा अरुलाई वा लेखकलाई नै किन केही भन्नु पर्यो  र ? त्यो कुनै परीक्षा पास गर्नका लागि लेखकले पाठकलाई दिएको होमवर्क पनि त होइन । नेपाली भाषाको मानक र प्रयोगको कुरा गर्दा होमवर्क नलेखेर गृहकार्य लेख्नु पर्ने होइन र ? हो हुन त तर होमवर्क थपेर गृहकार्य र गृहकार्य राखेर होमवर्क पनि लेख्ने हो भने नेपाली शब्द भण्डार नै बढ्ने त हो नि ! यसबारे भाषाविद्हरूले पनि ऐन मौकामा मुख खोल्नु राम्रो हुन्छ । तर यहाँ चर्चा गरौं पढ्नै बाँकी केही कृतिहरूको बारेमा । उद्देश्य हो- यस विवरणले यी कृतिहरू पढ्न पाठकहरूलाई प्रोत्साहित गर्न,सम्बन्धित लेखक र प्रकाशकहरूलाई पाठकहरूसम्म आफ्नो खबर पुर्याउन सजिलो पनि सकोस् ।

० ० ०

१) लजाएका परेलीहरू

शरद निरोला कृत कवितासङ्ग्रहको नाम हो – लजाएका परेलीहरू । प्रोफेसर तारानाथ शर्माका हस्ताक्षरमा साढे ६ पेजको ‘लजाएका परेलीहरू भित्रको कविव्यक्तित्व’  शीर्षकको भूमिका रहेको छ, यस सङ्ग्रहको विशेष विशेषतामा । प्रोफेसर शर्माको निष्कर्ष छ- ‘आफ्नो जन्मभूमि नेपालप्रतिका … अति सुन्दर राष्ट्रिय भावनाहरूको सँगालो हो यो ।’

लजाएका परेलीहरू

लजाएका परेलीहरू

सङ्ग्रहको अन्तिम कविता हो – मेरो नाम । नामै नभएकोले बदनाम भएको चिन्ता गरेका छन् कविले । तर पाठकको प्रश्न यो पनि हो – नाम नै नहुनेको बदनाम पनि कसरी होला र ? यस सन्दर्भमा कविका रूपमा चर्चा गरिएका शरद निरोला नेपाली साहित्यमा जासुसी उपन्यास,कविता र निबन्धमा चिनिएको नाम हो ।

आज अचानक मैले मेरो नाम पछाडि नै छोडेर आएछु

मसँग सदा साथै रहने मेरो नाम किन हो टिप्नै बिर्सेछु

मेरो नाम पछाडि नै रह्यो कोसौं टाढा मेरो वर्चस्वदेखि

नामै नभएकोले गर्दा हो कि साह्रै बदनाम भएछु ।

–    मेरो नाम, पेज ९९

खसखस डट कमको वि.सं. २०७० को यस प्रकाशनमा निरोलाका ४२ थान कविता रहेका छन् । प्रकाशकको तर्फबाट बासू श्रेष्ठले लेकेका छन् – \तपाईंलाई यी कविताले निराश पार्ने छैनन् । बरु रुमानी र हाँसोठट्टाको संसारमा विचरण गर्न पुग्नु हुनछ ।’

० ० ०

२) अँगालोभरिको अनुभूति

अँगालाेभरिकाे अनुभूति

अँगालाेभरिकाे अनुभूति

साहित्यपोस्ट (इ) दैनिक अर्थात् यसै अनलाइन पत्रिकाको प्रकाशन हो बसन्त श्रेष्ठ कृत कृति – अँगालोभरिको अनुभूति । यसभन्दा पहिले ४ वटा कविता सङ्ग्रह प्रकाशित गरिसकेका श्रेष्ठको यो पहिलो संस्मरण वा गद्य कृति हो । यसपछि पनि उनको अर्को संस्मरण ‘नारायणमान श्रेष्ठ इतिवृत्त’ प्रकाशित भइसकेको छ । आफ्ना पिताको सम्बन्धमा केन्द्रित सो कृति लेखक श्रेष्ठका पिता नारायणमान श्रेष्ठले गरेका समाज सेवा कर्मको सप्रमाण फेहरिस्त हो ।

‘अँगालोभरिको अनुभूति’का सम्बन्धमा साहित्यकार खेमनाथ दाहालको  मूल्याङ्कन यस्तो छ-  कृतिकारले विशेषतः आफूले स्वदेश र परदेशमा देखेका, भोगेका र अनुभूत गरेका कृत्यहरूलाई बाल्यकालदेखि विद्यार्थीकाल, व्यावसायिक जीवन, प्रवास, कोरोनापछिको पुनर्जीवन, स्वदेश फिर्न नसक्दाको पिडा तथा २५ वर्षपछि म्याङ्लुङ् पुग्दाका क्षणहरूलाई संस्मरणका रूपमा प्रस्तुत गरेका छन् । म्याङ्लुङ्, तेह्रथुम लेखक श्रेष्ठको जन्मस्थान हो । सङ्कलनमा लेखकको सम्झनाका २१ शीर्षकका अनुभूतिहरू समेटिएका छन् । अँगालोभरिको अनुभूति, यस कृतिले अनुमान गर्न सकिन्छ, अँगालोभरिका यस्ता कोसेलीका पोका लेखकसँग अरू धेरै छन्,ती पनि खोलिंदै जाउन् ।

० ० ०

३) तपस्विनी योगमायाँ

काव्य, महाकाव्य, खण्डकाव्य, समालोचना, उपन्यास, गजल र कविता सङ्ग्रहसमेत गरेर गोपाल संग्रौला कृत दसौं कृति हो महाकाव्य – तपस्विनी योगमाया । नेपालको सामाजिक जागरणको आन्दोलनकी अगुवा योगमाया  न्यौपानेको नायकीलाई केन्द्रमा राखेर १६ सर्गमा समेटिएको १९२ पेजको यो महाकाव्य लेखकको मौलिक शोध भन्दा पनि पूर्वप्रकाशित कृतिहरूबाट प्राप्त प्रेरणाको परिणाम हो ।

योगमाया स्मृति सम्मान कोष विराटनगरले प्रकाशित यस महाकाव्यमा प्रकाशकका तर्फबाट कविता चापागाईंले योगमायाका विषयमा उठेका विवादका विषयमा चर्चा गर्नु भएको छ । चापागाईंले प्रकाशन सन्दर्भ शीर्षकमा योगमायाको न्वारानको नाम भिमा राखिएको, उनले बहुविवाह गरेको झुठो आरोप भएको  र उनी बालबिधवा नै भएको उल्लेख गर्नु भएको छ । तर अन्य लेखक-अनुसन्धाताहरू र परिवारका अनुसार योगमायाले बहुविवाह गरेको तर बालबिधवा नभएको तथ्यगत उदाहरणहरू सार्वजनिक भएका छन् ।

लेखकका तर्फबाट स्व-वक्तव्यमा लेखिएको छ- ‘प्रेम, स्नेह र ममता बुझाउने चन्द्रविन्दु सहितको मायाँ शब्द हो । यो संस्कृतको ममता शब्दको तद्भव रूप हो । छल,कपट,प्रपञ्च,अज्ञान,धोका आदि बुझाउने शब्द माया हो । यो संस्कृतको तत्सम शब्द हो । ई दुई शब्दको अर्थमा ठूलो भेद छ । माया र मायालाई यौटै सम्झिनु चराको फुल र सयपत्री फूललाई यौटै लेख्नु जस्तै हो ।’ महाकाव्यकार संग्रौलाले योगमायाको सामाजिक मुद्दाहरूको चर्चा गर्ने क्रममा यी पङ्क्ति उल्लेख गरेका छन्-

तपस्विनी याेगमाया

तपस्विनी याेगमायाँ

नारी सम्मान गर्ने खाल को कानून बनाऊ ।

आधा आकाश ढाक्ने जन को सराप नखाऊ ।।

….

ज्यादै चर्को व्याज दर नियन्त्रण गर ।

सहुलियत ऋण दिने व्यवस्था त्यो गर ।।

….

भयङ्कर जङ्गल को अतिक्रमण रोक ।

गाई पाल्न चाहिने हो गौचरन राख ।।

–    पेज १३०-१३१

राजधानी अर्थात् काठमाडौँबाहिर बसेर पनि निरन्तर साधनारत र दर्जनकै हाराहारीमा काव्य कृतिहरू सिर्जना गर्नै थोरै लेखकहरूमा गणना हुन सक्छन् संग्रौला । झापा जिल्ला सुरुङ्गा निवासी महाकाव्यकार संग्रौलाले १६ औं सर्ग ( पेज १८६) मा लेखेका छन् –

अत्याचार कमी हुन्छ बाँच्ने लाई यहाँ । 

हामी दिव्य सुख भोग्छौँ अमरपुर महाँ ।। 

० ० ०

४) मेरो पहिचान 

मेराे पहिचान

प्रतिभा सुवेदी,सामाजिक समकालीन नेपाली समाजमा जागरणका विभिन्न वैकल्पिक आयामहरू र आन्दोलनहरूमा सक्रिय सामाजिक अभियन्ता हुन् । नेपालका ग्रामीण समुदायका विपन्न परिवार तथा महिलाहरूको आत्मनिर्भरताका लागि आयआर्जनका साथै चेतनामूलक कार्यक्रम सञ्चालनमा उनको उदाहरणीय भूमिका रहेको छ । लक्षित समुदायका लागि प्रत्यक्ष लाभान्वित हुने कार्यक्रम सञ्चालन गर्नुका साथै नीति निर्माण तहमा पनि खबरदारी गर्नु उनको विशेषता हो ।

मेरो पहिचान, प्रतिभा सुवेदीका जीवनका ज्ञान र सिपको भोगाई तथा अनुभवहरूको सङ्गालो हो । किन मैले यो पुस्तक लेखें यस प्रश्नमा सुवेदीको जवाफ छ- ‘जीवन यात्राका क्रममा सिकेका, भोगेका र देखेका विषयहरू शब्दमा उतार्ने प्रयास गरेको छु ।’ राष्ट्रिय र अन्तर्राष्ट्रिय यात्रा-संस्मरण  र कार्य क्षेत्रका  अनुभवका २६ वटा शीर्षकभित्र अनेकौं उपशीर्षक र तस्बिरहरूले पाठकहरूलाई लेखकका भावनाहरू अनुभूत गराउन सहयोग गर्छन् । लेखकको सेवा भावको  उदाहरण यो पनि हो- ‘नारी चेतना केन्द्रले १ हजार प्रति प्रकाशित गरेको रु. ५ सयको यस कृतिको बिक्रीबाट प्राप्त रकम प्रकाशक संस्थाकै कार्यक्रममा प्रयोग हुनेछ ।’

० ० ०

५) शब्दबिम्बमा सत्यमोहन

शताब्दी पुरुष अर्थात् संस्कृतिविद् सत्यमोहन जोशीका बारेमा उनको जीवनकालमा र जीवनकालपछि  प्रकाशित लेख रचनाहरूको सङ्ग्रह हो – ‘शब्दबिम्बमा सत्यमोहन’ । सङ्ग्रहका ७ खण्डहरूमा लेख ३२, सम्पादकीय ७, अन्तर्वार्ता ४, परिशिष्टाङ्क १७, समाचार १७ र कविता ३ गरेर ८० वटा फुटकर लेख रचना तथा सत्यमोहान जोशीका केही मुख्य कृतिको नामावली र तस्बिर खण्डमा ६ पेजसमेत गरेर ४ सय २४ पेज रहेको छ । लेख खण्डका ३ वटा लेख भने उनै संस्कृतिविद् जोशीका हुन् । लेखक,पत्रकार तथा विकाश पत्रकार मञ्च (फोडेज) नेपालका अध्यक्ष गोपीकृष्ण ढुंगाना यसका सम्पादक हुन् ।

शब्दबिम्बमा सत्यमाेहन

शब्दबिम्बमा सत्यमाेहन

प्रिन्ट लाइनमा सम्पादक मात्र उल्लेख भए पनि लेख आलेख विधा उल्लेख यस सङ्ग्रहको परिकल्पनाकार,व्यवस्थापक र संयोजकलगायतका काममा ढुंगानाकाे नै स्वयम् सेवी भूमिका रहेको बुझ्न सकिन्छ । यस सङ्ग्रहको प्रकाशक भुँडी प्रकाशन  हो ।

पूर्व प्रकाशित लेख रचनाको सङ्कलन पनि भएको र स्रोत सन्दर्भ उल्लेख गरिएका कारण यसमा पुनः सम्पादन, शैली वा तथ्यगत विषयहरूमा के गर्ने वा नगर्ने प्रश्न पनि उठ्न सक्थ्यो होला । सङ्ग्रहमा नरेन्द्रराज प्रसाईंका ३ वटा लेखहरू रहेकोमा पेज ८६ को ‘शताब्दी पुरुषको जीवनकथा’ को स्रोत गोरखापत्र,२०७९ असोज ३१ हो ।

यस लेखको ८ औं प्याराको अन्तिममा  ‘अनि उनले (जोशीले) त्रि-चन्द्र कलेजबाट १९९८ सालमा आइए पास गरे । त्यसपछि उनी  बिएको कक्षामा सरिक भए तर उनले त्यस कक्षालाई पार लगाउन सकेनन् । उनी त्यसैमा थन्किरहे ।’ यहाँ पार लगाउन सकेनन् पछि  पनि विषय र सूचनाका लागि आवश्यक पनि नभएको र कुनै महत्त्व पनि नराख्ने ‘थन्किरहे’  लेखिएको छ । तीन शब्दको यो वाक्य प्रथम स्रोतमा नै पनि आवश्यक थियो वा थिएन भनेर यकिन गरिएकै थियो वा थिएन प्रश्न छ भने यस सङ्ग्रहमा के गर्ने अलमल हुँदा लेखकसँग पनि सल्लाह गर्न सकिन्थ्यो ।

प्रसाईंकै यही लेखको पेज ९२ बाट शुरू ‘जोशीको एक सय तिन वर्ष’ उप शीर्षकको अन्तिम (पेज ९३) मा ‘ उनका (जोशीका) कृतिहरू ३५ वटा नेपाली भाषा,४३ वटा नेपाल (नेवारी) भाषा र एउटा अङ्ग्रेजी भाषामा  प्रकाशित छन् ।’ उल्लेख छ । यसअनुसार जोशीका ७९ कृति प्रकाशित भइसकेका छन् ।  तर यसै सङ्ग्रहको पेज ३९९-४०० मा जोशीका लोक साहित्य, काव्य, निबन्ध-प्रबन्ध, नाटक, जीवनी, बालसाहित्य र व्याकरण कोषतर्फ समेत गरेर ४३ वटाको मात्र विवरण (नाम) दिइएको छ ।

शीर्षकमा नै ‘सत्यमोहन जोशीका केही मुख्य कृति’ उल्लेख गरेर सबैको नाम नदिएको स्पष्टीकरण दिन पनि सकिन्छ तर ४ सय २४ पेजको यस सङ्ग्रहमा जोशीका बाँकी २६ वटा कृतिको नाम जानाजान छुटाउनु भने हुन्न थ्यो ।   सम्पादकलाई यस्ता सूचनाहरूका बारेमा स्रोतहरूसँग पुनर्पुष्टि गर्न अनुकूल नपरेको पनि हुनसक्छ । सङ्ग्रह एक वरिष्ठ संस्कृतविद्को सम्मान,सम्झना र प्रेरणा स्रोतका रूपमा महत्त्वपूर्ण छ ।

० ० ०

६)  पिल्सिएको परदेशी मन

नेपाली कविताहरूको अङ्ग्रेजी अनुवाद पनि एकसाथ राखेर प्रकाशित कविता सङ्ग्रह हो – पिल्सिएका मनहरू । राम लामा अविनाशीका २६ कविता, प्रा.डा. खगेन्द्रप्रसाद लुइँटेलको १२ पेज लामो परिचयात्मक भूमिका र लेखकीय मन्तव्यसमेतको अनुवादक हुन्- साहित्यकार तथा साहित्यपोस्टका सम्पादक महेश पौड्याल ।

प्रा. डा. लुइँटेलले ‘पिल्सिएको परदेशी मनभित्र अभिव्यञ्जित पिडा’ शीर्षकमा कविको सामाजिक, साहित्यिक र व्यावसायिक परिचय, व्यक्तिगत सम्बन्ध, कविताका विशेषता र सन्देश तथा कवि चिन्तनका बारेमा प्रकाश पारेका छन् ।

प्रा.डा.लुइँटेलका अनुसार कवि राम लामा अविनाशीले नेपाली भाषा साहित्यमा विशिष्ट योगदान पुर्याउने महानुभावलाई प्रत्येक दुई वर्षमा पुरस्कृत गर्ने हालसम्मको सबैभन्दा ठूलो राशिको २५०० अमेरिकी डलरको ‘अनेसास राम लामा अविनाशी विशिष्ट प्रतिभा पुरस्कार’ स्थापना गरेका छन् । यो पुरस्कार अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुबेदी र  प्रा. डा. लुइँटेलले प्राप्त गरेका थिए ।  तर हाल आएर यसबारे पुरस्कार दाता  राम लामा अविनाशी अनुशासन सम्बन्धी केही विवादमा परेकाले यस पुरस्कारलाई अनेसास (अन्तर्राष्ट्रिय साहित्य समाज, बिओटी)ले स्थगित गरेर छानबिन गरिरहेको छ ।

प्रा. डा. लुइँटेलको निष्कर्ष छ- ‘वर्तमान युगिन जनजीवनका विविध परिवेशका चित्रण पाइने यस सङ्ग्रहका अधिकांश कवितामा मानवीय जीवनका अँध्यारा पाटाको चित्रण तथा प्रेमजन्य वियोगात्मक संस्मरणात्मक अभिव्यक्ति पाइन्छ ।’ अधिकांशजस्तो कविताका  शीर्षक चयनमा दुई शब्दले पाठकलाई जति आकर्षित गर्न सक्छन् तर तीन शब्दका केही शीर्षकले त्यति आकर्षित गर्न नसक्ने अनुमान गर्न सकिन्छ । उदाहरणका लागि पेज ९६ को ‘सडकपेटीको होमलेस म’ लाई लिन सकिन्छ । यस कविताको शीर्षकमा शुरुको ‘सडक पेटीको’ नभएर ‘होमलेस’ मात्र वा ‘होमलेस म’ हुँदा पनि हुन्थ्यो कि ?

पिल्सिएकाे परदेशी मन

पिल्सिएकाे परदेशी मन

कविको मौलिक अनुभूति र अङ्ग्रेजी अनुवादका केही हरफ हेरौं-

जिन्दगीको अन्तिम गन्तव्यको यात्रामा 

सांसारिक दोबाटो र गल्लीहरूमा भौंतारिँदा

भाग्यले दिलाएका अनि दशाले टाँसिएका

सबैसबै स्वीकार भए 

कति बलि चढे कति फूलपाती

आखिर बदलिएन भाग्य ।

 

टेलिभिजन वा रेडियो भए पो मर्मत हुन्थ्यो

मानव जीवन न हो

ग्रहदशा लागे होलान् सिद्धिए होलान्

छाडिदिऊँ यी अन्धविश्वासका कुरा ।

  – आज मातिन मन लागेको छ,पेज ८८ 

 

In this journey of life

Toward its destination

I am here to accept everything

Tendered by fate, forced by misfortune.

Ther’s no counting how much flowers I offered

But my fate did not change

If life were a radio or television set

It could be repaired

But it’s human life.

The spell of bad stars could commence

And could be over too.

  – I want to Get Drunk Today, page 90

क्रमशः थप केही नपढिएका कृतिको चर्चा अर्को हप्ता प्रस्तुत गरिनेछ ।

० ० ०

७) शाश्वत

शाश्वत

शाश्वत

कहिलेकाहीँ ‘लाटाको खुट्टा बाठाको पाइला’ मा भने झैं मेरो कविताले दोस्रो ल्याउँदा म फुरुङ्ग भएँ । मेरा कविताहरू पत्रपत्रिकाहरूमा पनि छापिंदै गए ।

      – कवि रविन्द्रभक्त श्रेष्ठ, शाश्वत कविता सङ्ग्रहको भूमिकामा 

काठमाडाैँकाे बजारमा फोटोग्राफी अर्थात् फोटो स्टुडियो व्यवसायमा एकपछि अर्को फड्को मार्दै भिडियो प्रविधिमासमेत हात बसेका रविन्द्रभक्त श्रेष्ठको पहिलो कविता कृति हो – शाश्वत । अमेरिकावासमा श्रेष्ठलाई अनेसास (अन्तर्राष्ट्रिय साहित्य समाज),कोठे कवि गोष्ठी र श्रीमती रजनी श्रेष्ठको प्रभाव र प्रेरणाबाट कविता लेखनमा प्रेरित गरेको हो । धनकुटा माथिल्लो कोप्चेमा हुर्केर उच्च शिक्षाका लागि वि. सं. २०२४-२५ सालतिर काठमाडाैँ आउँदा नै उनलाई ‘परदेश’ महसुस भएको थियो । सात समुद्रपारको अमेरिका महापरदेश हुनु स्वाभाविकै हो ।

‘शाश्वत’मा कवि श्रेष्ठले महाप्रदेशमा स्वदेशको मोह त प्रकट गरेका नै छन् भने जीवनका भोगाइ र अनुभूति तथा स्वछन्द चिन्तन, दर्शन र भावुकता उनका कविताका केन्द्र हुन् । एपेक नेपाल, काठमाडाैँले प्रकाशित गरेको ७८ वटा कविताको यस सङ्ग्रहका बारेमा एपेकका अध्यक्ष तथा कवि विश्वमोहन श्रेष्ठले प्रकाशकीयमा लेखेका छन् – ‘विशेषतः धनकुटा, धनकुटाको प्राकृतिक माधुर्यता, दूरदेशमा रहँदा मनमा उठिरहने जन्मभूमिको मोहकता अनि विरह-विग्रह, ऊहापोह र जिजीविषाका अतिरिक्त प्रेमको उत्सर्ग नै यस कवितासङ्ग्रहको मूल विशेषता हो ।

हलुङ्गो छातिमा गह्रुङ्गो जाँताको माला भिरेर 

वुध्दको बाटोमा पर्खाल घेरेर 

अतृप्त चाहनामा चोटहरू भिरेर 

छुट्छ र जुट्छ सम्बन्धहरू

       –  शाश्वत,पेज १८

क्रमशः थप केही नपढिएका कृतिको चर्चा अर्को हप्ता प्रस्तुत गरिनेछ ।