आजीवन लेखेर पनि लेखक र पाठक सन्तुष्ट हुन सक्दैनन् । कृतिको सङ्ख्या सम्झिन लेखक स्वयंलाई पनि गाह्रो हुनसक्छ । सुन्दर हरैंचा-५ तीनपैनी, मोरङका ८० वर्षको उमेरमा पहिलो कृति प्रकाशित गरेका चन्द्रमणि गुरागाईंको निष्कर्ष छ- “जीवनको उत्तरार्द्धमा ठिकै गरेछु ।”
लेख्नका लागि के चाहिन्छ ? के लेख्ने धेरैको समस्या यही हो । तर आफूसँग भएकै कुरा चैँ हामीलाई थाहा हुन्न । लेख्नु भनेको आफ्ना कुरा होइन अरूका कुरा पो लेख्ने हो भन्ने भ्रमले पनि हुनसक्छ, हामी आफू भित्रको कस्तुरी नचिनेर पर…पर… आँखा दौडाइरहेका छौँ । छोरीहरूले नहुर्कंदैदेखि लेख्न सुरु गरेका थिए । ज्वाइँले आफ्नो मात्र होइन धेरैको बारेमा लेखे वा धेरैलाई लेख्न प्रेरित गरिरहेका छन् । नाति नातिनीहरू पनि लेख्न थालिसकेका छन् अब त ।
उनै ८० वर्षीय चन्द्रमणि गुरागाईंको पहिलो कृति हो – भीरगाउँदेखि भिमचौरीसम्म । विषय र भूगोलेले नेपालदेखि अमेरिकासम्मको कथानुभव रहेको यो कृति उदाहरणीय र प्रेरणादायी त छँदै छ समसामयिक नेपाली सामाजिक, राजनीतिक र पारिवारिक जीवनका उकाली ओरालीहरूको अभिलेख पनि हो ।
के लेख्ने ? यो प्रश्न र समस्या उनलाई पनि नभएको कहाँ हो र ?
बाल्यकालका १७ वर्ष, १८ वर्ष देखि ६८ वर्षसम्मका ५० वर्षमा काम र माममा लागि श्रम र पसिना बगाएर बिताएका दिन र त्यसपछिका दशक पनि उनको यस कृतिमा समेटिएको छ । हिजो के लेख्ने होला भनेर घोत्लिएका उनलाई आज पाठकहरूले यो कुरा किन नलेखेको भनेर प्रश्न गर्न थालेका छन् । यो त्यस्तै पाठकीय प्रश्न हो, ‘भीरगाउँदेखि भिमचौरीसम्म’का लेखक चन्द्रमणि गुरागाईंलाई ।
बाबु बाजेका पालाको परिवेश, रीतिरिवाज र चालचलन, त्यस बेलाको बासस्थन र जीविकोपार्जनका निम्ति अपनाइएका कुराबाट उनको आत्माकथा भनिएको (संस्मरणात्मक निबन्ध-सँगालो) कृतिको पृष्ठभूमि उठाइएको छ । अग्रजले खेलेका भूमिका, पारिवारिक पृष्ठभूमि, मानिसलाई मानिसले हेर्ने दृष्टिकोण, विगतका हृदय विदारक घटना, गाउँका सामन्तहरूको शोषण-उत्पीडन, विदेश पलायन, आन्तरिक बसाइ सराइ, समाजसेवी, लेखक-साहित्यकार, प्राकृतिक सम्पदा, सहिद आदि विषयहरू उनका संस्मरणहरूमा समेटिएका छन् ।
जन्मथलो भिरगाउँको कथा, मेरो बाल्यकाल, दोस्रो बसाइ सराइ, तेस्रो बसाइ सराइ यी चार सन्दर्भपछि लेखक एकैचोटी ७० वर्षको उमेरमा गरेको अमेरिका भ्रमणमा देखा पर्छन् । यसमा सम्पादक र प्रकाशक वा लेखक स्वयमले क्रमाङ्कगत सिलसिलाको बारेमा सोच्नु पर्ने देखिन्छ । बाल्यकाल, पारिवारिक जीवन, तत्कालीन सामाजिक परिवेश यस सन्दर्भका स्वाभाविक संस्मरण हुन् ।
दाजु धरणीधर गुरागाईंको वि.सं. २०२१ मा प्रकाशित ‘कुराउनी’ नामक पुस्तकमा प्रकाशित यी पङ्क्तिले तत्कालीन सामाजिक परिवेशलाई पनि सङ्केत गरेको छ-
बाटो बन्यो रेलीमै, चीन जाने अब
जान्छौँ हामी रेलीमै हिमाल-पर्तिर ।।
गलैँचा र रेलीमै नुन बोकिकन
उनीहरू रेलीमै आउँछन् ओर्तिर ।।
वि.सं. २०२१ मा प्रकाशित ‘कुराउनी’का यी पङ्क्तिले नेपाल चीन जोड्ने अरनीको राजमार्गको प्रभाव र स्मरण गराउँछ । वि.सं. २०२४ असारमा (सन् १९६७ जून)मा यो सडक औपचारिक रूपमा सञ्चालनमा आएको थियो अर्थात् उद्घाटन भएको थियो । बाल्यकाल ( पेज ६-११) अन्तर्गत पेज ८ को अन्तिम वाक्यमा लेखकले आफ्नो विवाहका सम्बन्धमा अभिभावकहरूको चासो वा भूमिकालाई “मात्र दुई पक्षका अभिभावकले मञ्चन गरेको नाटक मात्र हुन्थ्यौँ ।”
यो तत्कालीन सामाजिक परिवेशका सम्बन्धमा ८० वसन्तको वयमा पुगेका लेखकबाट नै स्वतःस्फूर्त प्रकट भयो अथवा सम्पादक, छोरा छोरी र नाति वा नातिनीहरूमध्ये कसैले कलम घुमाए भन्ने आशङ्का गर्न सकिन्छ । यसरी नै पेज ११ को अन्तिम प्यारामा उल्लेख लेखकको वैवाहिक जीवनको ५० औँ वर्ष गाँठले पनि कृतिको क्रमगत सिलसिला भङ्ग गरेको छ ।
वि. सं. २०२० सालमा मोरङमा तेस्रो बसाइँमा सरेका लेखक एकै चोटि करिब ५० वर्षको फट्को मारेर वि.सं. २०६९ मा छोरीलाई भेट्न अमेरिका पुग्छन् । अमेरिका निवासी छोरी नम्रता नै यस कृतिको रचना गर्भको नायक भएको लेखकको स्वीकारोक्ति पनि छ ।
अमेरिकाको यात्रापछि लेखकको जीवन यात्राले यस कृतिमा क्रमगत प्रवेश पाउँछ । धनकुटामा चिनिएका शिक्षासेवी थिए, भक्तबहादुर बस्नेत, धनकुटा र धनकुटाका प्रतिभाहरूको वर्णन पठनीय खोज सामाग्री बनेको छ ।
वि.सं. २०२२ बाट सुरु गरेको बिनातलबको जागिर, हवाई दुर्घटनामा भाइको निधन, वि.सं.२०३६ को जनमत सङ्ग्रह आसपासका गतिविधि, प्रहरी हिरासतमा पाएको यातना, राजनीतिक र पारिवारिक जीवनका उतार चढावका क्रममा श्रीमतीलाई बिर्सने रोगले थला पारेको प्रसङ्ग हुँदै जीवन कथानुभव सुनाउने क्रममा लेखक वि.सं. २०३६-३७ पछि करिब २ दशक लामो समयावधिका बिचमा ओझेल पर्छन् । लेखकको श्रमिती गोमा देवीको बिर्सने रोगका कारण वि.सं. २०७५ चैत २० गते निधन भयो । लगभग दश बर्से लामो रोगको कारण जीवन सँगिनीसँगको ६२ वर्ष १ महिना र २२ दिनको सहयात्राले बिहान ७ बजे विश्राम लियो भन्ने उल्लेखले पाठकलाई रुवाउँछ ।
सुन्दरपुरमा नयाँ वृन्दावन, पाथीभरा देवीको महिमा, स्थानीय भानु पुस्तकालयको पृष्ठभूमि र अवस्था, दुई दुई पटकको अमेरिका भ्रमणका अनुभव, अमेरिकी विद्यालय र पुस्तकालय,अमेरिकी जीवनका विकाश र प्रिविधिका चमत्कारहरूमा पनि आफ्नो देशको कल्पना र तुलनामा रमाउने लेखक यसरी चिन्तन गर्छन्, “सायद शिक्षालाई समयमै बुझेछन् विकसित मुलुकका मानिसहरूले । हामी भने त्यही सही शिक्षाको अभावले गर्दा नै असक्षम मान्छेलाई नेतृत्वमा पुर्याउँदा रहेछौँ र देशको युवा जनशक्ति निर्यात गर्नमा बहादुरी देखाउँदा रहेछौँ ।” (इभा प्रेरी लाइब्रेरी,पेज १४२) ।
लेखनाथ घिमिरे, छोरी नम्रता, ऋषि बस्ताकोटी, निलम कार्की निहारिकाका समीक्षात्मक संस्मरण पनि यस कृतिका पठनीय सामाग्री हुन् । पारिवारिक फोटाहरू पनि थप आकर्षणका रूपमा छन् ।
भानु साझा पुस्तकालय, सुन्दरहरैंचाले प्रकाशित गरेको २ सय १० पेज बराबरको यस कृतिका ४५ वटा भन्दा धेरै शीर्षकका लामा छोटा लेखहरूले हरेक व्यक्तिका अनुभूति फरक हुन्छन् र ती अरूका लागि प्रेरणादायी हुन्छन् भन्ने प्रमाणित गर्दछन् ।
स्वदेश विदेशमा लेखकले देखे भोगेका र सुनेका संस्मरणहरूको यस कृतिका सम्पादक हुन् परिचित लेखक अनिल पौडेल । आफ्नो समाज, आफ्नो परिवेशको दस्ताबेजीकरण भएकोमा सन्तोषको अनुभूति महसुस गरेका पौडेलको थप मूल्याङ्कन छ- “लेखकले आफ्नो पुस्ता अगाडिको मात्र होइन हजुरबुबा पुस्ताका लप्टन टङ्कबहादुर बस्नेतदेखि समकालीन पुस्ताका गुरुप्रसाद पोखरेलसम्मको कथा, अमरलाल चौधरी, वीरबहादुर थिङ, पृथ्वीबहादुर राई, रत्ननमाया गरुङ, भरतकुमार राईका सामाजिक योगदानहरू नलेखिदिनु भएको भए किंवदन्तीमा मात्रै त रहने थिए नि तिनीहरू । हो पनि होइन पनि, थिए पनि थिएनन् पनि- मा पुगेर हराउने थिए ।”
यस्ता अनुभूतिहरूका पोका खुल्दै जान सकुन्, शुभकामना ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।