स्रष्टा खिमानन्द पाखरेल आफैँ एकजना सक्रिय सर्जक हुनुहुन्छ । साहित्यिक पत्रकारितामा उहाँकाे महत्त्व याेगदान रहेकाे छ । उहाँ द्वैमासिक साहित्यिक पत्रिका ‘हिमाली गुराँस’का सम्पादक हुनुहुन्छ भने अनेसास नर्दन क्यालिफोर्निया च्याप्टरको उपाअध्यक्ष पनि हुनुहुन्छ । उहाँकाे “मनको सुस्केरा” कवितासङ्ग्रह प्रकाशित छ ।
प्रस्तुत छ, कवि तथा नाटककार खिमानन्द पाेखरेलसँग नेपाली भाषा, साहित्य र समसामयिक अन्य विषयहरूमा केन्द्रित रही साहित्यपोस्टका लागि साहित्यकार एवं अनेसासका वरिष्ठ उपाध्यक्ष तथा साहित्यपोस्टका अन्तर्राष्ट्रिय संयोजक सर्वज्ञ वाग्लेले गरेको संवादको सम्पादित अंश:
आजकल तपाईं अमेरिका हुनुहुन्छ । व्यस्त पनि हुनुहुन्छ यस अवसरमा अध्ययन, लेखन र पुस्तक प्रकाशनमा कत्तिको जान्छ ?
– हो अहिले म अमेरिकाको क्यालिफोर्निया स्टेटमा छु । अझ केही महिना यही नै बस्छु । यहाँ बस्दा मेरो अधिकतम समय लेख पढ र नेपालीहरूको सामाजिक सोसाइटीसँग भेटघाटमा नै बिताएको छु ।
साहित्य, जीवन, दर्शन आत्मा र प्रकृतिलाई तपाईं कसरी हेर्नुभएको छ ?
– साहित्य भनेको जीवन दर्शनसँग प्रकृतिको आयाम गाँसिएको जीवनको अनेक रूप हो ।
तपाईंलाई जाँगरिलो कवि भन्थे नि हो ?
– कुनै काम गर्न जाँगर र हिम्मत चाहिन्छ । जाँगर बिना गरिने कार्य अधुरै हुन्छ जस्तो लाग्छ ।
साहित्य लेखन,अध्ययन, चिन्तन र मनन सबैको सन्तुलनले नै मानिसलाई उचाइमा लान्छ भन्ने कुरामा कत्तिको विश्वास गर्नु हुन्छ ?
– म साहित्य लेखन, चिन्तन, मनन र अध्ययनमा अति विश्वास गर्छु । यसमा लागेर खुलेर निस्वार्थ सेवा गर्न सकेको खण्डमा उँचो साहित्यकारको सूचीमा अवश्य नै पर्न सकिन्छ भन्ने जाग्रत् सोचले परिपोषित र पल्लवित भएको हुनु पर्छ म । यस्ता कुरामा म धेरै विश्वास गर्छु ।
तपाईंका कविता बेजोड छन्, यसमा तपाईंको विचार के छ ?
– आफूले सिर्जना गरेका सिर्जनात्मक विषयवस्तुहरूलाई आफैले मूल्याङ्कन गर्न मेरो विचारमा मिल्छ जस्तो लाग्दैन । मैले रचना गरेका सबै चिज आफूलाई उत्कृष्ट नै लाग्छन् । यस्ता कुरामा त पाठकको भूमिका नै प्रबल रहेको देखिन्छ ।
तपाईंले लेखन प्रेरणा को बाट पाउनु भयो ?
– २०२१ साल तिरको कुरा हो म तम्घास, गुल्मीको महेन्द्र हाईस्कूलमा कक्षा ३ मा पढ्थेँ । त्यसबेला शुक्रबारको साहित्यिक कार्यक्रम हुने गर्थ्यो । त्यसबेला ८-९ क्लासमा पढ्ने दाजुहरूले साहित्यिक कार्यक्रम सञ्चालन गर्नु हुन्थ्यो । मैले ध्यान दिएर कार्यक्रम सुन्ने र हेर्ने गर्थे । जब म कक्षा ६ मा पुगे पछि मेरो पनि साहित्यमा कविता वाचन गर्ने कार्यमा रुचि बढ्दै जान थाल्यो । वास्तवमा खुलेर भन्नुपर्दा मेरो प्रेरणाको श्रोत नै त्यो बेलाको अवस्था भइदियो ।
खाली समय कसरी बिताउनु हुन्छ ?
– हिमाली गुराँसको सम्पादक भएको कारण समय त्यतिकै व्यस्त हुँदो रहेछ । मलाई त खाली समय निकाल्न नै गाह्रो पर्छ । यदि मैले खाली समय पाए भने मेरो मन मस्तिष्कले सकारात्मक सोचको मात्र कुरा उठाउँछ ।
लेख्ने क्रममा कुन विधा बढी कलम चल्छ ? यो राम्रो लेख्न के गर्नु पर्छ ?
– मलाई नाटक लेख्न मन पर्छ । मैले लेखका नाटकहरू रेडियो नेपालमा रेकर्डिङ पनि भएका छन् । मेरा नाटकहरू समय समयमा बजिरहन्छन् । परिश्रम गर्न सकियो भने जुन सुकै कार्य गर्न सजिलो हुन्छ ।
नेपालको साहित्यिक पत्रकारितालाई कसरी हेर्नु भएको छ ?
– साहित्यलाई मलजल गर्ने काममा साहित्यिक पत्रकारिताको भूमिका अत्यन्त महान् रहेको छ ।
कस्तो साहित्यिक पुस्तक पढ्न मन पराउनु हुन्छ ? साहित्यकारले लेखेर बाँच्न के गर्नु पर्छ ?
– समाजमा अदृश्य रूपमा लुकेर रहेका कृतिहरू जो प्रकाशनमा आएका छन् त्यस्ता पुस्तकहरू खोजीखोजी पढ्न मन लाग्छ । एउटा साहित्यकार सँग लेखन क्षमता भए पनि लेखेर बाच्ने अवस्था अलि आइनपुगे जस्तो लाग्छ ।
साहित्यको मापदण्ड के हो ?
– विचार असल भएमा असल सिर्जना गर्न सकिन्छ । उत्कृष्ट साहित्य उत्पादन गर्न सकेको खण्डमा यसले आफ्नो मापदण्ड आफै निर्धारण गर्न सक्छ भन्ने मान्यता बोकेको हुन्छ ।
एउटा साहित्यकारको नाताले तपाईं नेपालको राजनीतिक जगतलाई कसरी नियालिरहनु भएको छ ?
– साहित्य साधना गर्ने स्रष्टाले राजनीति गर्नै पर्छ जस्तो लाग्दैन । मलाई त राजनीति फोहोरी गेम हो जस्तो लाग्छ । क्षमताअनुसार आ-आफ्नो जिम्मेवार काम गरेर समाजलाई दरिलो र भरपर्दो बनाउँदै जानु पर्छ ।
अहिलेको साहित्यमा विचार, युग, चेतना विश्व परिवेश कसरी अभिव्यक्त भएको पाउनु हुन्छ ?
– विश्व परिवेशको कुरा गर्दा हामी निकै पछि छौँ । विचार, युग र चेतनाको परिवर्तनले साहित्यलाई युगानुकूल बनाइदिन्छ । साहित्य विचारको प्रवाह हो ।साहित्यमा विचारको मन्थन गरिन्छ ।
पुरस्कार सम्मान र समालोचनाको अवस्था कस्तो छ नेपालमा ?
– नेपालमा “बोल्नेको पिठो पनि बिक्छ नबोल्नेको चामल पनि बिक्दैन” भन्ने उखान टुक्का निकै प्रचलित छ । हाम्रो नेपालमा जसले चाकडी गर्छ उसले नै पुरस्कार हात पार्छ । जताततै स्वार्थै स्वार्थ जकडिएको छ । निस्पक्ष्य र निस्वार्थ सधैँ ओझेलमा पर्छन् । समालोचक समालोचना गर्छन् तर मूल्याङ्कन हुँदैन ।
अहिलेसम्म तपाईंको प्रकाशित र अप्रकाशित पुस्तकका बारेमा बताउनु हुन्छ कि ?
२०६९ सालमा “मनको सुस्केरा” कविता सङ्ग्रह निस्केको छ भने यसको लगत्तै दुई कृतिहरू नियात्रा र मेरा नाटकहरू छिटो प्रकाशन हुने क्रममा रहेका छन् । यस बाहेक अन्य दर्जनौँ कृतिहरूले प्रकाशनको लागि पालो कुरेर बसेका छन् ।
डायस्पोरिक साहित्यका बारेमा तपाईंको धारणा के छ ?
– डायस्पोरिक साहित्यले आफ्नो स्थान कायम राख्दै जाने कुरामा ऊ प्रबल र सक्षम छ । उसले आफ्नो जिम्मेवारी बहन गर्न कदापि पछि हट्दैन । त्यसैले अहिलेको सन्दर्भलाई जोड्ने हो भने यसको उचाइ चुलिँदै गइरहेको छ ।
भैरव अर्याल पछि नेपालको हास्यव्यङ्ग्य लेखनलाई कसरी हेर्नु भएको छ ?
– हास्यव्यङ्ग्यको कुरा उठाउँदा साथ भैरव अर्यालको नामले अग्राधिकार कायम गर्दै आइरहेको छ । हुन त आजभोलि हास्यव्यङ्ग्यमा कलम चलाउनेहरूको सङ्ख्यामा वृद्धि भइरहेको कुरालाई गर्वका साथ भन्न सकिन्छ । डायस्पोरामा रहेर हास्यव्यङ्ग्यमा कलम चलाउँदै आउनु भएका अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज केन्द्रका वरिष्ठ उपाध्यक्ष श्री सर्वज्ञ वाग्लेको कलमले पनि हास्यव्यङ्ग्यकै बाटो समातेर अगाडी बढिरहेको छ । हास्यव्यङ्ग्यमा कलम चलाउने सर्वज्ञ वाग्ले ज्यू तपाईंलाई साधुवाद !
अन्तर्राष्ट्रिय साहित्य समाजलाई यहाँले कसरी हेर्नु भएको छ ? यहाँ अनेसास नर्दन क्यालिफोर्निया च्याप्टरको उपाअध्यक्ष पनि हुनुहुन्छ हैन र ?
– अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाली साहित्यको लागि काँध थाप्न सक्ने एक जिम्मेवार र सबल संस्था हो । साहित्य उत्थान खातिर यसको भूमिका महान् छ। नर्दन क्यालिफोर्नियाका महान् स्रष्टाहरूको उपज हो यो उपाध्यक्ष पद । यो गहन जिम्मेवारी दिनु भएकोमा सम्पूर्ण स्रष्टाहरू प्रति नमन गर्न चाहन्छु ।
तपाईंलाई आशु कवि भन्न मिल्छ ? तपाईं जुन सुकै बेला पनि जुन सुकै ठाउँमा तुरुन्त कविता रच्न सक्नु हुन्छ भनिन्छ नि के यो कुरा साँचो हो ? यसका लागि सिकारु कविलाई के भन्न चाहनु हुन्छ ?
– म साहित्यलाई माया गर्ने व्यक्ति हुँ । साहित्यिक पत्रकार चाहिँ हुँ । ममा कुनै आशु कविमा हुनु पर्ने कुनै क्षमता छैन । मौका मिलेको खण्डमा कवितामा दुई-चार हरफ कोरूँ कि जस्तो मात्र लाग्छ बस त्यतिमात्र हो । जो साहित्यमा नवप्रवेशीको रूपमा ैयसमै समर्पित भएर सेवा गर्न चाहनु भएको छ यस प्रकारको साहित्यिक भाव प्रकट गर्दै जान सकेको खण्डमा निर्विवाद रूपले साहित्यमा हामी अगाडि बढ्न सकिने कुरामा कसैको द्वैमत न होला ।
तपाईं त साहित्यिक पत्रिका हिमाली गुराँसका सम्पादक पनि हो क्यार अब म एकछिन तपाईंलाई यतातर्फ ध्यान आकृष्ट पारौँ है त । हिमाली गुराँस कति सालमा कहाँ दर्ता गरिएको साहित्यिक पत्रिका हो ?
– हिमाली गुराँस साहित्यिक पत्रिका २०५४/०५५ मा दर्ता गरिएको पत्रिका हो ।
पञ्चायत कालमा दर्ता गरिएको पत्रिका रहेछ के त्यो बेला पत्रिका निकाल्न सहज थियो त ?
– पक्कै पनि सहज त थिएन नै व्यावसायिक र साहित्यिक पत्रिकामा अन्तर थियो । नाम चलेका व्यावसायिक पत्रिकाको लागि दरबारले हुण्डीको व्यवस्था गर्थ्यो र दरबारकै गुणगान गाएर पत्रिका निस्कने गर्थे । तर साहित्यिक पत्रिका चलाउन कठिन थियो । सहयोग भनेको कतैबाट पनि पाइँदैनथ्यो । साहित्यिक पत्रिका निजी श्रोत हुनेहरूले मात्र चलाउने गर्थे ।
साहित्यिक पत्रिका त भन्नु भयो यसले साहित्यमा लागेकाहरूलाई के गर्न सकेको छ ?
– यसको मुख्य उद्देश्य नै साहित्यिक व्यक्तिद्वारा सिर्जना गरिएका विषयलाई उच्च मूल्याङ्कनका साथ छापेर प्रकाशन गर्नु हो ।
पञ्चायतको समय र अहिलेको समयमा साहित्यिक पत्रिका चलाउँदा के अन्तर पाउनु भयो ?
– अहिलेको सरकारले साहित्यको संरक्षण गर्नु पर्छ भनिरहेको छ । भाषा जोगाउनु पनि । त्यो कालमा अलिकता परिस्थितिले मेल खाँदैनथ्यो भने अहिले त्यस्तो छैन । पत्रिका निकाल्दा चुनौतीहरू त धेरै देखिन्छन् जो भनिरहनु नपर्ला ।
आजसम्म हिमाली गुराँस साहित्यिक पत्रिका यहाँसम्म आइपुग्दा कति अङ्क निकाल्न सफल भएको छ ?
– हिमाली गुराँस अब १०४ अङ्क निस्कँदै छ । यो पत्रिकामा केवल साहित्यिक सामग्रीहरूलाई प्राथमिकता दिने गरिएको छ ।
अहिलेसम्म यो पत्रिकाले कुन कुन विशेषाङ्कको रूपमा आफूलाई उभ्याउन सफल भएको छ हो ?
– अहिले सम्म हिमाली गुराँस विशेषाङ्कमा परेका अङ्कहरू यसप्रकार रहेका छन् ।
(१) वि. पी. विशेषाङ्क
(२) कथा विशेषाङ्क
(३) लघुकथा विशेषाङ्क
(४) नियात्रा विशेषाङ्क
(५) गीत विशेषाङ्क
(६) गजल विशेषाङ्क
(७) भू-कम्प विशेषाङ्क
(८) निबन्ध विशेषाङ्क
आदि प्रकाशन भइसकेका छ । निबन्ध अङ्क हाल मात्र प्रकाशित गरिएको छ ।
यसको लक्ष्य र उद्देश्य बारे संक्षिप्त प्रकाश पारिदिनु हुन्छ कि ?
– सुरुमा पत्रिका मासिक रूपमा दर्ता भएर केही अङ्क मासिक रूपमा नै निकाले अङ्क २४ देखि पत्रिका द्वैमासिक नियम रूपमा हाल सम्म चल्दै आएको छ । साहित्य उत्थान गर्नु नै यसको मूल लक्ष्य हो । साहित्य मौलायो भने भाषामा शुद्धता पाउन सकिन्छ । भाषामा शुद्धता छायो भने बोलीचालीमा शुद्धता प्रकट हुन्छ । हामी जहाँ रहे पनि हामीले हाम्रो भाषा बिर्सिनु हुँदैन । जहिले पनि आफ्नो भाषाले मान्यता पाउनु पर्छ भन्ने सोचको विकाश हुनु जरुरी देखिन्छ ।
अन्त्यमा पाठकलाई के भन्न चाहनु हुन्छ ?
– आजभोलि हाम्रो समाजमा मैले मात्र जानेको छु अन्यले कुनै र केही पनि जान्दैनन् भनेर आडम्बर गरेर बे फ्वाँकमा यस प्रकारको झोँक देखाउनु कहाँ सम्म उचित हुन्छ होला ? साहित्यको पाठक बनेर सन्तुष्ट हुने नहुने पनि तपाई हामी नै हो । पाठकलाई कुनै कुराले छुन सक्ने सामग्री दिन सकिन्छ भन्ने सामर्थ्य राख्ने पनि तपाई हामी नै हो । पाठक स्रष्टा हुन सक्छ भने स्रष्टालाई पाठक मान्न सकिन्छ । मैले यसो भनेको कारण के भने साहित्यमा चासो राख्नेहरू यस्ता कुरामा अलि बढी सजगता पूर्वक ध्यान दिइन्छ । अन्य पाठकहरूले साहित्यका पुस्तक छुनै हुँदैन भन्न खोजिएको चाहिँ पक्कै पनि होइन । यसमा कुनै अर्को अर्थ लाग्ने छैन भन्ने विश्वास लिएको छु ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।