आदरणीय सुधा दिदी, नमस्कार !

विशेष गरी तपाईंले सम्झना गरी पठाइदिनु भएको भूमिगीत कवितासङ्ग्रह पाएँ । यसका निम्ति तपाईंलाई हार्दिक धन्यवाद ।

यसका साथै अझै नयाँ नयाँ सिर्जना प्रकाशित हुन् भन्ने शुभकामना पनि व्यक्त गर्दछु । तपाईँमा विद्यमान प्रखर र उर्वर कवित्व शक्तिको प्रकाशनको निम्ति अग्रिम शुभकामना । सन् १९६८ मा खरसाङमा जन्मेकी तपाईं बसी हल्ला विज्ञापनदेखि हुनुहुन्छ, जस्तो लाग्छ ।

तपाईंले तेह्र वर्षको उमेरमा नै भूमी भन्ने कविता गान्तोकको एउटा पत्रिकामा प्रकाशित गर्नु भएको रहेछ । हालसम्ममा तपाईंका प्रकाशित कृतिहरू  फूलको यौवन फुलैसित जोड (कवितासङ्ग्रह १९९५), समाधानहीन पाइलाहरू १९९८), विरोधाभास (कवितासङ्ग्रह २००७), तिमीलाई…. (खलील जब्रानका प्रेमपत्रहरू अनूदित, २००५), पदचिन्ह (कवितासङ्ग्रह २००७), जर्मा (२०११ अनूदित स्पेनी नाटक), भूमिगीत (कवितासङ्ग्रह २०१३), भारतीय कविताहरू (भारतका बाइसवटा भाषाका कविताहरूको नेपाली अनुवाद)।

यी माथिका सूची हेर्दा तपाईंलाई एक कुशल कवि, कथाकार र एक दक्ष अनुवादकका रूपमा चिन्न पाइयो । तपाईंले गर्नुभएको सिर्जनात्मक कामका निम्ति स्ष्टा पुरस्कार १९९९, भाइचन्द प्रधान स्मृति पुरस्कार(२००९), कमला आँसु स्मृति पुरस्कार (२०१३), डा शोभाकान्ति थेगिम स्मृति पुरस्कार (२०१६) जस्ता पुरस्कारबाट सम्मानित हुनुहुन्छ । तपाईं सिक्किमकी एक प्रतिनिधि साहित्यकारका रूपमा चिनिनु हुन्छ ।

दिदी, भूमिगीत पाएपछि सर्वप्रथम त यसको आवरणले नै एकछिन घोत्लिन लगायो । आवरण निकै आकर्षक, बहुअर्थी, सङ्केतपरक, भावपरक लाग्यो । मान्छेको (नारीको मात्र किन र ?) अनुहारमा मात्र महत्त्व र पूर्णता छैन अपितु ऊभित्रको नग्नताको पनि उत्तिकै महत्त्व छ । वास्तवमा मान्छे त नग्न छ । उसको शिक्षा, नैतिकता, सभ्यता, संस्कृति, रीतिरिवाज, परम्परा, आचरण, शीलता आदि जस्ता बाहिरी आवरणले मात्र उसलाई ढाकेको छ । देखिने मान्छे र वास्तविक मान्छेमा धेरै भिन्नता छ । फेरि अर्को पारामा यो आवरण नक्सा हेरौँ है त । एउटी नग्न युवती (जस्ती) कतै लाजले, कतै भोकले, कतै शोकले, कतै ग्लानिले झुकेकी छ ।  अनुहारमा पक्कै निराशाको बादल हुनसक्छ । यी स्त्री सुन्दरी पनि हुन सक्छे वा कुरूप पनि, आफ्नी चेली-बेटी पनि हुन सक्छे वा एउटी अभिसारिका पनि । यसका बहुविध अर्थ लाग्न सक्छन् । अर्थमा बहुलता र केन्द्रभञ्जनता नै अहिलेको उत्तरआधुनिकता हो भन्ने लाग्छ ।

यो किताबको आवरण हेरेर यस किताबलाई नारीवादी चेतना, अस्तित्ववादी, विसङ्गतिवादी, कि यथार्थतावादी जुनै अर्थ लाए पनि पाठक वा दर्शकको बुझाइमा निर्भर हुने कुरा हो । भूमिगीतभित्रका कविता पनि पक्कै यस्तै बहुविध अर्थसापेक्षता, बोधन सापेक्षता होलान् भन्ने लाग्यो । आवरणले नै तपाईंका कविताहरूको भावसङ्केत गरेझैँ लाग्यो ।

दिदी, त्यसपछि पन्ना पल्टाउँदै गएँ । फन्ट निकै आकर्षक लाग्यो । अगाडिको लेखोटले छोटैमा भए पनि तपाईंको परिचय सङ्केत दिएको छ । तपाईंसित व्यक्तिगत चिनजान र देख-भेट नहुने पाठकका निम्ति यसले तपाईं कवयित्रीलाई चिनाउन र प्रतिभा परिचय सङ्केत पाइएको छ । कवितासङ्ग्रहको खण्डयोजना पनि कति कलात्मक पाराले गर्नु भएको रहेछ । यसमा भएका जम्मा तीसवटा कविताहरूलाई ‘स्मृतिगीत’, ‘जीवगीत’ र ‘आत्मगीत’ गरी दस दसवटा कविताहरूको विभाजन गर्नुभएको रहेछ । यी तीन खालका गीतहरूका सीमारेखा के  र कसरी राख्नु भएको छ, यसबारे गहिरो अध्ययन गर्नुपर्ने देखिन्छ ।

वरिष्ठ समालोचक श्री पेम्पा तामाङको ‘उपोद्घात’ नामक भूमिकाले तपाईंको कवित्व शक्तिलाई पर्गेल्न निकै सघाउ पुर्‍याएको देखिन्छ । उहाँको भूमिका नारीवादमा केन्द्रित र यसले तपाईंलाई विशेष गरी नारीवादी ठहर गरेको पाइयो यद्यपि तपाईंका यी कविताहरूलाई नारीवादी घेराभित्र खुम्च्याउनु पनि न्यायोचित लागेन । नारी संवेदनशीलतामा तपाईंले निकै ध्यान दिनुभएको छ । नारीको संवेदना, पीडा र व्यथालाई तपाईंले आत्मसात गरी कविता लेख्नुभएको छ तर तपाईं नारीवादी कि यथार्थवादी कि मिश्रणवादी ? यद्यपि श्री तामाङज्यूले तपाईंका कविताहरूको निकै गम्भीर अध्ययन गरी विषयगत वर्गीकरण, चिन्हारीकरण र पारख दृष्टि दिनुभएको छ । तपाईंका कविताहरूमाथि समुचित न्याय दिनुभएको छ ।

दिदी, नारीवादमाथि विभिन्न तर्क वितर्क उठिरहेका छन् । नारीका अधिकार र हितका निम्ति नारीले केही लेके नारीवाद नै ठान्ने चलन छ । खास नारीवाद कस्तो हुन्छ ? यसबारे गहिरिएर अध्ययन गर्नुपर्ने देखिन्छ । नेपालीमा पारिजात, कल्पना पाण्डे, पुष्पा राई, कुन्ता शर्मा आदिका कृतिकारका कृतिमा केही नारीवाद पाइन्छन् ।

दिदी, अब तपाईंका यसभित्रका कविताहरूमाथि नजर लगाऊँ । सबै कविता सुन्दर रहेछन् । कुन्नि किन हो अचेल कविताहरूदेखि मोहभङ्ग हुन लागेको अवस्था छ हामी धेरैको । कविताका नाममा अनेकन् व्यक्तिगत प्रलाप, गनगन, अ कवितात्मक प्रस्तुति के के भएर होला, कविता मन पर्न छाडेको अवस्थामा तपाईंका कविताले यो अवस्थालाई भङ्ग गरेको छ । कविता साँच्चै सुन्दर हुन्छन् भन्ने वास्तविकतामा ओराल्नु भएको छ । मैले किमार्थ सर्काउने लोभ गरेको छुइनँ अपितु यसभित्रको सम्प्रषेणताले मलाई कविता मन परे । म त एउटा साधारण पाठक र माध्यम मात्र हुँ ।

मजस्ता धेरै जनालाई तपाईंका कविता मन पराउलान् भन्ने लागेको छ । कवितामा हुनुपर्ने वर्णगत मधुरता, भाव र भब्दका बीच तालमेल, सम्प्रेषणीयता, बहुअर्थकता, कलात्मकता, गेयात्मकता, विषय केन्द्रीयता र एकोन्मुखता, विषयगत समाहार जस्ता, सरलताभित्र संश्लेषणता र संश्लेषणभित्र सरलता आदिका संयोजनले तपाईंका कविता सुन्दर बनेका छन् । तपाईंले अपरिचित करण, मिथकीकरण, विमिथकीकरण, व्यक्तिगततालाई सामूहिकता र विशेषलाई सामान्य र सामान्यलाई विशेष इत्यादि बनाउने कवितागत टेक्निक अपनाउनु भएको रहेछ । सर्वप्रथम त किताबको नाम रखाइमा नै विशिष्टता पाएँ – भूमिगीत ।

यहाँ ‘भूमि’ र ‘गीत’ शब्दको प्रयोग गर्नुभएको छ। ‘भूमि’ शब्दले व्यापक अर्थ बोकेको छ । भूमि हाम्रो आधार हो, स्रोत हो, सम्भावना हो, टेक्ने आधार हो र सबैथोक हो । भूमिमा जन्मेर मान्छे भूमिमा नै बिलाउँछ । यसमाथि तपाईंले गीत शब्द दिएर कविता रच्नुभएको छ । यसमा रहेका प्रायः कविताहरू प्रगीतात्मक ढाँचामा आबद्ध छन् । यद्यपि अनन्त प्रतीक्षा, धात्री, समरमा युद्धरत सिपाहीलाई पत्नीको पत्र इत्यादि जस्ता केही कवितामा आख्यानात्मक तत्व नपाइने होइन ।

रामायण महाभारत आदि पौराणिक ग्रन्थका पात्र-पात्रालाई टिपेर अर्कै अर्कै अर्थ र सन्दर्भ दिनुभएको छ । रामायणका नर र नारी दुवै पात्र –पात्रा विशेषबाट सामान्य र सामान्यबाट विशेष बनेका छन् । राम सामान्य बनेका छन् भने लक्ष्मणकी श्रीमती उर्मिला सामान्यबाट विशेष बनेकी छन् । रामायणमा त उनी अति सामान्य छिन् । कुन रामायणकारले उनको आन्तरिक पीडालाई आत्मसात गरेर लेखिदिएको थियो र । तर तपाईंले त रामायणमा किनारीकृत भएकी उर्मिलालाई सीताभन्दा पनि विशिष्ट नारी तुल्याइदिनुभएको छ । यही नै तपाईंको कवितागत कला हो । सीताको आन्तरिक पीडालाई तपाईंले आत्मसात गरी सामान्यीकृत नारी व्यथामा अवतरण गराउनु भएको छ । नदी, धरती, भूमि आदि नारीका प्रतीकात्मक रूप देखाइदिनु भएको रहेछ । तपाईंले नारीलाई समानाधिकार दिलाउन काव्यगत वकालत गर्नुभएको छ, जो स्तुत्य छ ।

दिदी, हाम्रो समाजमा नारीमाथि केही हदसम्म अन्याय गरेको सत्य छ । यद्यपि हाम्रो नेपालीको अतीतकालको भन्दा वर्तमान कालको नारी अवस्थाको सुधार अवश्यै भएको छ । नारी शोषक नारी नै हुन्छन् भन्ने भनाइ पनि छ तर यो पनि पुरुषप्रधान समाजकै उपज हो । अझै पनि अत्याचारका अवशेष होलान् । नयाँ नयाँ तरिकाका अत्याचार गाँसिँदै गएका होलान्। यद्यपि तपाईं कट्टर भएर नारीवादी कवि देखिनुहुन्न । सामान्य नारी चेतना हुनु नै पूर्णतः नारीवादी हुनु होइन भन्ने लागेको छ । यो कुराको प्रमाण त यही कवितासङ्ग्रह नै हो । नारीका संवेदनाका विभिन्न पाटाहरूलाई तपाईंले आफ्ना कवितामा उत्खनन गर्नुभएको छ । अरूले नपुगेको ठाउँमा पुग्नु भएको छ । संसारमा युद्ध लडिन्छ तर युद्धमा लड्ने सिपाहीका स्वास्नीहरूको पीडामा कसैको ध्यान जाँदैन । त्यसमा तपाईंले ध्यान दिनुभएको छ । आजसम्मको युद्धको इतिहास भनेको नारी पीडाको पनि इतिहास हो । यो अदृश्य आधा पाटातिर तपाईंको काव्यिक दृष्टि परेको छ ।

दिदी, कुरा त अझै धेरै छन् । यति थोरै पङ्क्तिहरूमा तपाईंको कवित्वमाथि प्रकाश पार्नु भनेको एउटा सानो लोटाभरिको पानीले नुहाइसक्नु सरह हो । यसभित्र अनेक उधिन्न पर्ने कुरा छन्, तात्पर्य छन्, सन्देश छन्, कथ्य छन् । कसरी समेट्न सक्नु र ? यसभित्र थोरैमा धेरै छन् । सौन्दर्यका छटा छन् । कविताका बाहिरी र आन्तरिक संरचनाका कुरा आएनन्, मर्म समात्ने कोसिस गरिएन । यसमा त खालि आवरणको अर्थ खोतल्याइसरह बनेको छ । जे होस्, तपाईंको कविता राम्रा छन्, सुपाठ्य र सुस्वाद्य छन् । अझै पारखीहरूको नजर परोस् । यही मेरो शुभकामना । अहिलेलाई यति नै सतही प्रतिक्रिया।

तपाईंको कविताको एक पाठक

नवीन पौड्याल।