‘साहित्यपोस्ट उत्तम गैरआख्यान पुरस्कार – २०७९’ का लागि अन्तिम सूची जारी भएको छ । पहिलो पुस्तकको रूपमा गैरआख्यान लेखेर नेपाली भाषा साहित्यमा औपचारिक पाइला चालेका लेखकहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले सुरु भएको ‘साहित्यपोस्ट उत्तम गैरआख्यान पुरस्कार’को अन्तिम सूची सार्वजनिक गरिएको हो ।
पुरस्कारको अन्तिम सूचीमा राम विन्दु श्रेष्ठको संस्करणात्मक कृति ‘मेरा सोभियत सम्झनाहरू’, डा. अवनिभूषण उपाध्यायको आत्मवृत्तान्त ‘मुटुसँग सहयात्रा’ र डा. शिवराज भट्टराईको संस्मरणात्मक कृति ‘राँको बालेर यात्रामा’ रहेका छन् । अन्तिम सूचीमा छानिएका तीन कृतिमध्ये एकलाई ५० हजार रुपियाँ राशिको ‘साहित्यपोस्ट उत्तम गैरआख्यान पुरस्कार- २०७९’ प्रदान गरिनेछ ।
‘साहित्यपोस्ट उत्तम गैरआख्यान पुरस्कार – २०७९’ का लागि ०७९ सालभरि प्रकाशनमा आएका ९ गैरआख्यान विधाका कृतिहरू प्राप्त भएका थिए । पहिलो चरणमा ९ गैरआख्यान विधाका कृतिहरूबाट ५ कृतिको सूची जारी गरिएको थियो । विशेष मूल्याङ्कन समितिको मूल्याङ्कनका आधारमा उक्त सूचीमा समावेश ५ कृतिमध्येबाट उत्कृष्ट तीन कृतिको ‘अन्तिम सूची’ जारी गरिएको हो ।
‘साहित्यपोस्ट उत्तम गैरआख्यान पुरस्कार – २०७९’को विजेताको घोषणा सार्वजनिक समारोह आयोजना गरी गरिने साहित्यपोस्टका प्रधानसम्पादक तथा मूल्याङ्कन समितिका संयोजन अश्विनी कोइरालाले जनाउनुभएको छ । उहाँले भन्नुभयो, ‘अन्तिम सूचीमा परेका तीन गैरआख्यान विधाका कृतिहरू अलग विशेषताका साथ उत्कृष्ट छन् । तीन कृतिमध्ये सर्वोत्कृष्ट कृतिलाई पुरस्कृत गर्ने कुरामा हामी प्रतिबद्ध छौं । सार्वजनिक समारोहको आयोजना गरी पुरस्कृत कृति र स्रष्टाको घोषणाका साथै पुरस्कार वितरण गरिनेछ ।’
कोइरालाका अनुसार, गुरूपूर्णिमाको अवसर पारेर आउँदो असार १८ गते साहित्यपोस्टले विशेष सार्वजनिक समारोहको आयोजना गर्नेछ । उक्त समारोहमा ‘साहित्यपोस्ट उत्तम गैरआख्यान पुरस्कार’, ‘साहित्यपोस्ट उत्तम आख्यान पुरस्कार’ र ‘साहित्यपोस्ट उत्तम काव्य पुरस्कार’ गरी तीनै विधाका पुरस्कारको विजेताको घोषणासहित पुरस्कार तथा सम्मानपत्र वितरणसमेत गरिनेछ ।
‘साहित्यपोस्ट उत्तम गैरआख्यान पुरस्कार’ पुरस्कारको प्रायोजन अनुसन्धानदाता एवं शिक्षा व्यवसायी उत्तमप्रसाद पन्तले गर्नुभएको हो । राणाकालमा समाज परिवर्तनका लागि जलसमाधि लिएकी योगमायाका विषयमा विस्तृत अध्ययन गर्नुभएका उत्तमप्रसाद पन्त साहित्यकार पारिजातसँग लामो समय रहनुभएको थियो ।
अन्तिम सूचीका समावेश तीन कृतिः
१. राँको बालेर यात्रामा – डा. शिवराज भट्टराई
भुटानवासी नेपाली स्रष्टा डा. शिवराज भट्टराईको पहिलो पुस्तक आत्मपरक संस्मरण सङ्ग्रह ‘राँको बालेर यात्रामा’ साहित्यपोस्ट उत्तम गैरआख्यान पुरस्कारको अन्तिम सूचीमा पर्न सफल भएको छ ।
रोयल थिम्फु कलेजका डीन समेत रहेका डा. भट्टराईले बायो–साइन्समा एमएस्सी र ‘लिम्नोलोजी’ (फ्रेशवाटर इकोलोजी) मा विद्यावारिधि गरेका छन् । डा. भट्टराईले पुस्तकलाई दुई खण्डमा प्रस्तुत गरेका छन् । पहिलो खण्डमा बाल्यकालका सम्झनादेखि अध्ययन, बिहे तथा शिक्षणकर्मका तीता–मिठा संस्मरणहरु छन् । त्यस्तै, दोस्रो खण्डमा ५ शीर्षकमा संस्मरणात्मक निबन्धहरु सङ्ग्रहित छन् ।
जम्मा १९ शीर्षकका संस्मरणहरु सङ्ग्रहित कृतिलाई मञ्जरी पब्लिकेसनले प्रकाशनमा ल्याएको हो ।
२. मेरा सोभियत सम्झनाहरु – राम विन्दु श्रेष्ठ
ई. राम विन्दु श्रेष्ठको पहिलो संस्मरणात्मक पुस्तक ‘मेरा सोभियत सम्झनाहरू’ साहित्यपोस्ट उत्तम गैरआख्यान पुरस्कारको अन्तिम सूचीमा पर्न सफल भएको छ ।
पूर्व सोभियत सङ्घका अर्मेनिया, रसिया, बेलारुस, अजरबैजान, क्रुकेनका साथै युरोपेली मुलुकहरुको भ्रमण गरेका श्रेष्ठले पूर्व सोभियत मुलुकहरु घुम्दाका संस्मरणहरुले कृतिमा समेटेका छन् । महत्त्वपूर्ण तिथिमितिसहित तयार भएको संस्मरणहरुमा श्रेष्ठले अध्ययनकालको जीवन चर्चा र अनुभूतिहरुसमेत पुस्तकमा समेटेका छन् ।
२ सय ५२ पृष्ठमा फैलिएको पुस्तकलाई नेपाल–रुस साहित्य समाजले प्रकाशनमा ल्याएको हो ।
३. मुटुसँग सहयात्रा – डा. अवनिभूषण उपाध्याय
मुटुरोग विशेषज्ञ डा. अवनिभूषण उपाध्यायको आत्मवृत्तान्त ‘मुटुसँग सहयात्रा’ साहित्यपोस्ट उत्तम गैरआख्यान पुरस्कारको अन्तिम सूचीमा पर्न सफल भएको छ । ।
डा. उपाध्यायको पहिलो पुस्तकका रुपमा प्रकाशनमा आएको यो पुस्तकले उपाध्यायको जीवनकथा, चिकित्सा यात्राका महत्वपूर्ण घटनाहरु तथा अनुभव र अनुभूति समेटेको छ । संस्मरणात्मक शैलीमा लेखिएको पुस्तकको केन्द्रमा हृदय र रोगलाई केन्द्रमा राख्दै मानवीय संवेदनासम्म पुग्ने जमर्को गरेको छ ।
ईदा उपाध्यायले प्रकाशनमा ल्याएको पुस्तकको बजार व्यवस्थापकमा मञ्जरी पब्लिकेसन रहेको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।