साहित्यपोस्टको संयोजन तथा लोकप्रिय गीतकार एवं कवि उत्तम भौकाजीको सौजन्यमा स्थापित “साहित्यपोस्ट उत्तम काव्य पुरस्कार– २०७९”का लागि ५ काव्यकृतिको छनौट भइसइसकेको छ । यसै सन्दर्भमा उत्कृष्ट ५ (छोटो सूची) कृतिका स्रष्टाहरूसँग पुरस्कारकै पेरिफेरिमा रहेर संवाद गरिएको छ । यस संवादको मुख्य उदेश्य भनेको “साहित्यपोस्ट उत्तम काव्य पुरस्कार”लाई लिएर उहाँहरूको विचार जान्नु र कृतिको बारेमा पाठकलाई लेखकबाटै थाहा दिनु हो ।

यहाँ उत्कृष्ट ५ (छोटो सूची) मा छनोट भएको गजलसङ्ग्रह ‘मफलर’का स्रष्टा प्रदीप रोदनसँगको संवाद प्रस्तुत गरिएको छ ।

===

तपाईंको पहिलो कृति ‘साहित्यपोस्ट उत्तम काव्य पुरस्कार’को छोटो सूचीमा छनौट भयो । कस्तो महसुस गर्नुभएको छ ?

प्रथमतः आभार । साहित्यपोस्टलाई जसले नवसर्जकहरूलाई नजिकबाट नियाल्ने र हौसला दिने कर्म गर्दैछ । अब कुरा आयो कि उत्तम काव्य पुरस्कारको छोटो सूचीमा मफलर पर्दाको महसुसको कुरा, महसुस भएको कुरा जस्ताको तस्तै लेख्न या बताउन त सकिँदैन तर मान्नुस् कि आफ्नो बच्चा पहिलोपटक थिरथिर गरेर उभिँदा बाआमालाई जस्तो महसुस हुन्छ त्यस्तै भएको छ । उभिएको खुसी र लड्छ कि भन्ने डर पनि ।

पुरस्कारको छोटो सूचीमा तपाईंको ‘मफलर’सहित उत्कृष्ट पाँच कृति छनोट भएका छन् अर्थात् तपाईंका प्रतिस्पर्धीका रुपमा बलिया कृतिहरु छन् । तपाईंले पुरस्कार जित्नु वा नजित्नुले तपाईंको आगामी साहित्यिक यात्रामा के अर्थ राख्छ ?

पुरस्कार मैलेभन्दा पनि मफलरले जित्ने या नजित्ने कुरा हो, व्यक्ति गौण कुरा हो । म त आफूलाई खोज्ने काममा लागेको मात्र न हुँ, तर मफलर मेरो हृदय हो । यसले जित्नु मैले जित्नु मात्र नभई गजलमा साधना गरिरहेका गजलमा भविष्य खोजिरहेका हजारौं सर्जकहरूले जित्नु हो । नजित्नु चाहिँ अरूले नजित्नु होइन व्यक्तिगत रूपमा मैले नजित्नु हो, यो भोगिसकेको छैन नि । म भविष्य द्रष्टा होइन, सामान्य एक सर्जक हुँ । त्यसैले नजित्दा हुने कुरा अहिले भन्न सक्ने कुरा पनि त रहेन, त्यतिबेलै थाहा होला कि यो ।

‘मफलर’ नै किन लेख्नुभयो ? छोटोमा आफ्नो अनुभूतिसहित बताइदिनुहोस् न ।

हजुरले छोटोमा बताइदिनु न भन्नु भयो । यही शब्दसँग त हो मेरो प्रेम भएको, छोटोमा केही बताउनु पो बताउनु भन्ने चाहले नै मफलर जन्मिएको हो ।
पहिलोपटक फुलबाट निस्किएको चल्ला झैँ अलमल थिएँ तर उत्सुकता पनि उत्तिकै थियो के होला भन्ने । अलमल र आनन्द दुबै भयो आफूलाई समेट्न पाउँदा ।

युवा साहित्यकारहरूको झुकाव उपन्यास तथा कथातिर देखिएको समयमा तपाईंले चाहिँ किन गजलसङ्ग्रह ल्याउनु भयो ?

मज्जाले छातीमा कसैलाई सजाएको प्रेमीले अरूलाई कहाँ हेर्छ र ? पाएसम्म उसैलाई हेर्छ नि ! मैले गजल सजाएँ मनमा यसरी । गजलप्रेमी भएकै कारण पनि मैले आफ्नो प्रेमलाई समाजमा चिनाउनु पर्छ ठान्नु स्वभाविक हुनजान्छ । आफ्नो प्रेमलाई मूर्त रूप दिने चाहनाले नै आएको हो मफलर । सुन्छु, धेरै साथी गजल छोडेर अरू विधामा लागेका हुन् तर मैले गरेको प्रेम झुठो थिएन । मलाई त मैले प्रेम गरेको चिज देखाउनु थियो ।

तपाईं किन गजल लेख्नु हुन्छ ? तपाईंका शेरहरू सर्वाधिक रुचाइनुको कारण के हो जस्तो लाग्छ ?

सुरुमा त म केही लेखौँ भनेर गजल लेख्थेँ अहिले मेरो ध्यान हो गजल । आनन्दका लागि, खुसीका लागि लेख्छु । म हृदयको केन्द्रमा बसेर लेख्छु । हृदयको कुरा बनावटी हुँदैन नि । अनि जे बनावटी होइन त्यसको क्षेत्र अलिक फराकिलो हुन्छ कि ! त्यसै भएको हुनसक्छ।

गजल तथा कविताबाट पुस्तक लेखन सुरु गरेका साहित्यकारहरू प्रायः आख्यानमा जम्नुभएको देखिन्छ । तपाईंको चाहिँ तयारी के छ ?

मलाई बग्नु छ बस् ! बाँकी जीवन बगौँ शब्दहरूमा । शब्दहरूले के माग्छ, कतिमा आफूलाई समेट्न सक्छ ? हेरौँ । तर अहिले म गजलमा नै बगिरहेको छु, साँघुरो भएको छैन मलाई ।

तपाईंले ‘साहित्यपोस्ट उत्तम काव्य पुरस्कार’ पाउनु भएमा प्राप्त आर्थिक राशिले के गर्नुहुन्छ ?

यो मफलरले पाउने कुरा हो । म त यसको साक्षी मात्र हुँ । मफलर पुस्तक हो तसर्थ एक पुस्तकले पुरस्कार पायो भने पुस्तकमा नै खर्च गर्नेछु । हुनसक्छ, कुनै विद्यालयको पुस्तकालयमा खर्च हुनसक्छ ।

अन्त्यमा, तपाईंका आगामी साहित्यिक यात्राका योजनाहरु के के छन् ? बताइदिनुहोस् न ।

छैन नि त्यस्तो केही योजना, मलाई अरू कुरा त्यति थाहा पनि छैन। थाहा पाएको कुरालाई नै योजना बनाउँ भन्ने हो । गजलमा नै केही कुराहरू छन् अझै गर्न सक्ने । समयले साथ दिएको खण्डमा म गजलका लागि नै थप केही गर्ने सोचमा छु ।