महेश पौड्याल कवि, कथाकार, समालोचक तथा अनुवादक हुन् । अङ्ग्रेजी केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालय, कीर्तिपुमा उप-प्राध्यापकको रूपमा कार्यरत पौड्यालका उपन्यास तादी किनारको गीत, अनामिक यात्री, त्यसपछि फुलेन गोदावरी र अपरिचित अनुहार गरी तीन कथा-सङ्ग्रह, शून्य प्रहरको साक्षी कविता-सङ्ग्रह, एक दर्जन जति बालसाहित्यका पुस्तक, केही गीत र नाटक, तथा स्कुलका दुई दर्जन पाठ्यपुस्तक प्रकाशित छन् ।

प्रस्तुत छ सर्वज्ञ वाग्लेले उहाँसँग गर्नुभएको कुराकानीको सम्पादित अंश ;

आजकल तपाईं अध्ययन र लेखनमा कत्तिको व्यस्त हुनुहुन्छ ?

अध्यापन मेरो जागिर । त्यसैले, त्यो मेरो दैनन्दिनीको पाटो हुने नै भयो । त्यसमा पनि, स्तानकोत्तर तहका विद्यार्थीलाई पढाउनुपर्ने । नयाँ नयाँ विषयहरू थमाइरहन्छ विभाग । त्यहाँ, विद्यार्थीले भन्दा धेरै बढी मिहिनेत गर्नुपर्छ शिक्षकले । त्यसैले, अध्यापनमा व्यस्त हुनु त स्वाभाविकै हो । अर्कोतिर लेखन मेरो प्रेम हो । सधैँ केही न केही लेखिरहेको हुन्छु । साप्ताहिक स्तम्भ छ, ‘लेखनका कुरा’ । त्यसले सधैँ बाँधिरहन्छ । त्यसका अतिरिक्त मेरो सिर्जनात्मक र समालोचनात्मक लेखनले कहिल्यै छोड्दैन । भनौँ, निकै व्यस्त छु । तर, एउटा खुसीको कुरा के छ भने अब उपरान्तका मेरा सबै साहित्यिक गतिविधिको व्यवस्थापन गर्ने जिम्मा मैले ‘साहित्यपोस्ट’ वेब पत्रिकालाई जिम्मा लगाएपछि मसम्म ठोकिन आउने धेरैजसो काम स्वतः घटेर गएका छन्, र म मेरै सिर्जनातिर फर्कन पाएको छु । यसमा म ज्यादै खुसी छु । मेरो परिवार पनि खुसी छ ।

तपाईं साहित्य, जीवन र दर्शनलाई कसरी हेर्नुहुन्छ ?

साहित्यले मलाई जागिर दियो, परिचय दियो, पहिचान दियो, देश-विदेश डुलायो, पैसा पनि धेरथोर दियो । केही पुरस्कार र सम्मान पनि दियो । मिडियासम्म पुर्यायो । पाठ्यक्रमहरूतिर पनि धेरथोर छिरायो । यो निश्चय पनि आह्लादको विषय हो । मैले पढेको पनि साहित्य, पढाउने पनि साहित्य र हाल मैले अँगालेको इलम पनि साहित्य । त्यसैले, साहित्य मेरो जीवनको आधार हो । मेरो विश्वास हो । मेरो विगत, वर्तमान र भविष्य हो । समग्रतामा हेर्दा पनि साहित्य मान्छेको सुन्दरतम कल्पना, अनुभव र अनुभूतिहरूको कलान्तम अभिलेखीकरण हो र समयसँग संवाद गर्ने मधुरतम माध्यमहरूमध्येको एक हो ।

साहित्य कुनै पनि सभ्यताको दीर्घजीवी परिचय हो र समयको एउटा वैकल्पित इतिहास हो । साहित्य समाजको सन्तुष्टि, असन्तुष्टि, आशा, आकाङ्क्षा, सपना र विपना बोक्ने शिला हो । त्यसैले, साहित्यको महत्ता अति उच्च छ । जहाँसम्म जीवन र दर्शनको कुरा छ, हरेक सर्जकले जीवन र जगतलाई हेर्ने एउटा निजी दृष्टिकोण बनाएको हुन्छ, र त्यसै दृष्टिकोणलाई सार्वजनिक गर्न ऊ साहित्य वा सिर्जनाका अन्य विधाको सामीप्यमा पुग्छ । म पनि त्यसै गर्छु । मैले लेख्ने साहित्य पनि मेरो लागि जीवन र जगतलाई हेर्ने मेरो दृष्टिकोण अथवा दर्शनलाई साझा गर्ने थलो हो ।

उसो भए के हो त तपाईंको जीवन-दर्शन ? जगतलाई के भन्न तपाईं साहित्य लेख्नुहुन्छ ?

जीवन र जगतका बारेमा मेरा स्पष्ट मान्यता छन् । यी दर्शन होलान्-नहोलान्, तर मेरा निजी मान्यता हुन्, र तिनैका आधारमा म जीवन बाँचिरहेको छु, साहित्य लेखिरहेको छु । प्रथमतः म विचारमा एउटा उदार प्रजातन्त्रवादी हुँ । मानव समाजको व्यवस्थापनका लागि मलाई उदार प्रजातन्त्र नै पहिलो र अन्तिम विकल्प हो जस्तो लाग्छ । यसका विविध पक्षमा बहस गर्न सकिन्छ । अर्को कुरा, म अध्यात्मप्रति आस्थावान् छु, र त्यसले हामीलाई विनम्र बनाइरहन्छ, र दुष्कर्म गर्नबाट बचाइरहन्छ भन्ने मेरो विश्वास छ । म जीवनलाई कठोर परीक्षा ठान्छु । समयले कहर बर्षाइरहन्छ, दुःख दिइरहन्छ । तर हामीले थेग्न सक्दासम्म टेर्नु हुँदैन, गल्नु हुँदैन । जीवनमा जीत दिलाउने नै आत्मविश्वास हो, आँट र भरोसा हो ।

अँ, कहिलेकाहीँ मान्छेको शक्तिभन्दा पनि बलियो र दुष्ट शक्तिले प्रहार गर्छ । त्यस्तो अवस्थामा पनि लड्न त सीमान्त लड्नुपर्छ मान्छेले, तर कहिलेकाहीँ मान्छे हार्न पनि सक्छ । यो पनि जीवनको अर्को ठूलो सत्य हो । म धार्मिक, जातीय वा लैङ्गिक विभेदमा विश्वास गर्दिनँ । मेरा लागि प्रतिभा भन्नु मिहिनेत हो । मान्छेको मिहिनेत नै, समयान्तरमा प्रतिभाको रूपमा प्रकटित हुने हो । संयोगवश अब्बल मानिएको कुनै व्यक्तिले उन्मत्त भएर मिहिनेत गर्न छोड्यो भने उसको क्षमतामा ह्रास आउँदै जान्छ । तर मिहिनेतीहरूले यस्तो ह्रासको सामना गर्नु पर्दैन ।

म भाग्य र अन्धविश्वासमा पटक्कै विश्वास राख्दिनँ, र कसैका आस्थामा सकेसम्म प्रहार पनि गर्दिनँ, यद्यपि कहिलेकाहीँ घरैमा आफ्नो फरक मत लादेको, अरूलाई रुवाएको र ग्लानि खेपेको अनुभव पनि छ । आफ्नो जिद्दीपन मेरो तथाकथित दर्शन र वास्तविक व्यवहारबीचको एक कुरूप विरोधाभास हो, जसले गर्दा मेरा आफन्तले कहिलेकाहीँ अवाञ्छित रूपले खुम्चनु पनि परेको छ । म यसलाई सुधार्दै लाने पक्षमा छु ।

यी भए निजी दर्शन । साहित्यतिर पनि यिनै कुरा लेखिरहेको हुन्छु । यसभन्दा फरक, म के पनि विश्वास गर्छु भने, लेखनमा आफ्नो पाउ हाम्रै सभ्यतामा हुनुपर्छ, र सततः नवीन, र हाम्रा मौलिक कुरा लेख्ने कोशिस गर्नुपर्छ । अँ, ती कुरालाई विश्वसामु राख्ने माध्यम, विधा र भाषा जे पनि हुन सक्छ । त्यो सर्जकको निजी छनोटको विषय हो । हाम्रा नितान्त व्यक्तिगत कुरा, पीर र कुण्ठामा अब विश्वका पाठकको चासो हुन्छ जस्तो मलाई लाग्दैन । हामीसँग भन्न बाँकी र लेख्न बाँकी कति हो कति मौलिक र रैथाने कुरा छन् । हामीले हाम्रा आँखा त्यतातिर पनि मोड्नुपर्छ भन्ने लाग्छ ।

यस्तै टिपनटापनलाई मैले मेरो जीवन र लेखनको दर्शन बनाएको छु ।

तपाईंका पछिल्ला साहित्यिक योजनाहरू के-के छन् ?

सूक्ष्म कविताको मेरो पहिलो सङ्ग्रह ‘शून्य प्रहरको साक्षी’ छापिएको पनि ४ वर्ष भयो । मलाई सूक्ष्म कविताको अर्को सङ्ग्रह छाप्न मन छ । दुईवटा उपन्यासका खेस्रा बनाएको छु र नाम राखेको छु— ‘निचुगेट’ र ‘भावमल्ली’ । पूर्ण रूप दिन मन छ । करिब २० वटा कथाका झिल्का छन् मनमा । लेखेको चाहिँ एउटा पनि छैन । तिनलाई आकार दिन मन छ । गीत छन् डायरीमा । तिनलाई जीवन दिन मन छ ।

तपाईं साहित्य लेखन, अध्ययन र काममा उत्तिकै व्यस्त देखिनुहुन्छ । कसरी समय मिलाउनुहुन्छ ?

मेरो लेखन, अध्ययन र काम — यी तिनै क्षेत्रमा साहित्य जोडिएको छ, र साहित्य मेरो प्रेम हो । जुन कुरामा प्रेम हुन्छ, त्यसमा थकान हुँदैन, र जहाँ थकानको अनुभव हुँदैन, त्यहाँ कुनै अवरोध पनि हुँदैन । अर्को कुरा, मैले मेरा सबै कामहरूलाई परिवारलाई विश्वासमा लिएर, पारदर्शी रूपमा गर्ने गरेको छु । त्यसैले, मेरो परिवार मेरा कामहरूको औचित्यमा पूर्णरूपेण विश्वस्त छ । घरलाई करिब करिब रमाले एक्लै धानेकी छिन् । घरेलु कार्यहरूमा म त्यति संलग्न हुन्न, र निर्बाध लेखपढमै लागिरहेको हुन्छु । यसो हुँदा, सङ्ख्यात्मक रूपमा धेरै काम हुँदोरहेछ । अँ, तिनको गुणस्तरको अडिट चैँ समयले गर्ला ।

अलिकति पठन अनुभूतिका कुरा गरौँ । तपाईंलाई ज्यादै प्रभाव पारेका किताब सम्झौँ न एकछिन । नेपाली र अन्य भाषाका साहित्यलाई पनि सम्झन सक्नुहुन्छ ।

मैले सानोमा पढेका पुस्तकमा पण्डित जगन्नाथ गुरागाइँका ‘गुणरत्नमाला’ र ‘नम्रनिवेदन’, पण्डित खेमराज केशव शरणको भजन-सङ्ग्रह ‘समर्पण’, देवकोटाको ‘मुनामदन’ हिन्दी जीवनीसङ्ग्रह ‘महापुरुष की कथाएँ’, रावीन्द्रनाथ ठाकुरका कथा र ओस्कर वाइल्डका कथा हुन् । दार्शनिक स्वामी विवेकानन्दको जीवनी र उनका प्रेरक भनाइहरू चैँ पानी पिएजस्तै गरी पिएको । मैले दोहोर्‍याएर पढेको चाहिँ चाल्र्स डिकेन्सको उपन्यास ‘अ टेल अफ टु सिटिज’, जोन स्टेनबेकको उपन्यास ‘अफ माइस एण्ड म्यान’, देवकोटाको ‘मुनामदन’, वीपी कोइरालाको ‘तीन घुम्ती’ कृष्ण धरावासीको ‘राधा’, आदि सम्झन्छु । ‘अ टेल अफ टु सिटिज’ को त्रास, ‘अफ माइस एण्ड म्यान’ मा लेनी नामक पात्रको अनौठो मनोविज्ञान, ‘मुनामदन’ को करुणिकता, ‘तीन घुम्ती’ की इन्द्रमायाको जुझारुपन र ‘राधा’ मा उपन्यासकार धरावासीले देखाएको विमिथीकरण शिल्पको अनुपम उदाहरण गजब लाग्छ । यी मेरो वाल्यकालीन र युवाकालीन प्रभाव हुन् ।

मेरो समग्र साहित्य-व्यसनलाई नियाल्दा मैले सधैँ सम्झिरहने र अरूलाई पनि पढ्न सिफारिस गर्ने पुस्तक भने यी हुन्— एनी फ्रेङ्को ‘एक किशोरीको डायरी’, फ्रेड्रिक नित्सेको ‘दस स्पेक जराथुस्थ्र’ महात्मा गान्धीको जीवनी ‘माई एक्पेरिमेन्ट विथ ट्रुथ’ वीपी कोइराला ‘आत्मवृत्तान्त’, खलिल जिब्रानको ‘द ब्रोकन विङ्स’, चार्लस डिकेन्सको ‘अ टेल अफ टु सिटिज’, टोनी मोरिसनको ‘बिलभेड’ मदनमणि दीक्षितको ‘माधवी’, कृष्ण धरावासीको ‘शरणार्थी’, बुद्धिसागरको ‘कर्णाली ब्लुज’ तथा दर्जनौँ अन्य देशी-विदेशी सिर्जना । नेपालीमा भवानी भिक्षुको कथासङ्ग्रह ‘मैयाँसाहेब’, हिन्दीमा भीष्म साहनीको उपन्यास ‘तमस’ र अङ्ग्रेजीमा जोन स्टेनबेकको उपन्यास ‘अफ माइस एण्ड म्यान’ मेरो स्मरणमा धेरै माथि अवस्थित पुस्तकहरू हुन् ।

आख्यान र कविता दुवै लेख्नुहुन्छ । काव्यतर्फ हेर्दा कविता र गीतमा यहाँको रुचि देखिन्छ । यी दुई विधाको तुलना गर्दा कविता र गीत — कुन बलियो सिर्जना हो ? किन ?

सबै विधा उत्तिकै शक्तिशाली हुन्छन् । कुरा के दिने, र कुन शैलीमा दिने, सिर्जनाको ल्याकत त्यसमा भरपर्छ । जहाँसम्म काव्यिक रचनाको कुरा छ, म चैँ बढी सूक्ष्म आकारका कविता र गीत लेख्छु । सूक्ष्म कविता किन भने म कवितामा धेरै उपकरणको अलमल, अमूर्त अभिव्यक्ति, अस्पष्टता, क्लिष्टता र पुनरावृत्ति दोषको विपक्षी हुँ । आजको व्यस्त युगको व्यस्त पाठकलाई धेरै अल्मल्याइरहनु उचित ठान्दिनँ । त्यसैले, भन्ने कुरा केही हरफमा भन्ने र कविता सिध्याउने — यो मेरो शैली हो ।

जहाँसम्म गीतको प्रश्न छ, गीतसँगको मेरो प्रेम धेरै पुरानो हो । वास्तवमा, मेरो प्रथम साहित्यिक रचना नै गीत थियो । म स्कुले विद्यार्थी छँदा गीत लेख्थेँ । आफैँ भाका पनि हाल्थेँ । साथीहरूलाई सिकाउँथे । ती कि देउसी-भैलीमा गाइन्थे, कि गाउँसमाजमा हुने नाटकहरूमा ।

पछि, २०६५ मा आएर कपिल भण्डारी र सुनिती अधिकारीको आवाजमा पहिलोपल्ट मेरो गीत रेकर्ड भयो, ‘आँखामा आँसु छातीमा पीडा रित हो मायाको’ बोलमा । त्यसपछि मेरो गीतियात्रा केही अगाडि बढ्यो, तर म अन्यत्र बढी बराल्लिएको हुँदा आफैँले गीतलाई न्याय गर्न सकिनँ । यद्यपि पनि मेरा गीत कपिल भण्डारी, सुनिती अधिकारी, राजेशपायल राई, सन्तोष लामा, अनिल शाही, सुरेश लामा, प्रतिष्ठा अमात्य, शिव परियार, सुनिल मगर, आयूष केसी, सरिता अर्याल, नवराज कलौनी र सन्देश पौडेलले गाएका छन् । ‘बनफूल’ र ‘भुइँमान्छे’ चलचित्रमा मेरा गीत छन् ।

२०७८ सालमा मेरो गीत ‘गीतभरि पोखिए म साजभरि उठाउनू’ लाई रेडियो नेपालले आधुनिक गीत प्रतियोगितामा प्रथम घोषणा गर्‍यो । गीतलाई बद्री सेवाको सङ्गीतमा नन्दनी अधिकारीले गाएकी थिइन् । त्यसै साल ‘मझधारमा छु जिन्दगीको’ भन्ने मेरो गीतमा सङ्गीत गरेर सङ्गीतकार रमेश सुवेदी सर्वोत्कृष्ट भए भने गायनतर्फ यसै गीतका गायक सन्देश पौडेल द्वितीय भए । यसरी हेर्दा, मैले गीतमा पनि ध्यान दिएँ भने भविष्य त देखिन्छ । तर खै, अन्यत्र बढी बराल्लिएको छु । अँ, केही गीतमा सङ्गीत हुँदैछ । आशा गरौँ, ती गीतले कुनै दिन जीवन पाउनेछन् ।

नयाँ पुस्तालाई नपढी नहुने पुस्तकको रूपमा कुन-कुन पुस्तकहरू सिफारिस गर्नुहुन्छ ?

यस्तोचाहिँ केही छैन । कुन पढ्ने भन्ने कुरा मान्छेको रुचि र आवश्यकताले निर्देशित गर्छ । तरै पनि, कुनै पनि सचेत नागरिकले उसको देशको इतिहास, भूगोल, साझा संस्कृति र दर्शनको मूल बुझाउने पुस्तक पढ्नुपर्छ । विज्ञान र भूगोलका आधारभूत कुरा, विश्व इतिहासको न्यूनतम पाठ, दर्शनको कखरा, नागरिक दायित्व र अधिकारका कुरा, वातावरणका कुरा, विज्ञान, घरेलु चिकित्सा र स्वास्थ्यका आधारभूत कुरा आदिको जनकारी त राख्नु नै पर्दछ भन्ठान्छु ।

तपाईंलाई हामी भ्रमणमा निस्किरहेको देख्छौँ ? कस्ता ठाउँमा भ्रमण गर्न रुचाउनुहुन्छ ? भ्रमण र लेखनको के सम्बन्ध छ ?

मेरी दिदी आर्मी कलेजमा पढाउनुहुन्छ । सायद त्यहाँको नियम ज्यादै कडा हुँदो हो, खासै भ्रमणमा निस्कन मिल्दैन । वा भनौँ दिँदैन । अनि मलाई भन्नुहुन्छ— ‘भाइ, युनिभर्सिटी पढाउँछु भन्छस्, तर कहिले मेचीमा देख्छु, कहिले महाकाली । सधैँ बराल्लिएर कतिखेर पढाउँछस् ?’ भ्रमण मेरो जीवनपद्धति नै बनेको छ । उहिले, युवा छँदा पनि घरमा पिटिक्कै नबस्ने, हिँडेकोहिँड्यै गर्ने । बानी कायम छ । मलाई मज्जा चैँ गाउँघरतिर घुम्दा आउँछ । पहाडतिर बराल्लिँदा रमाउँछु । मेरो जन्म र हुर्काइबढाइ नै पहाडे गाउँमा भएकोले सायद यस्तो भएको हो । नदी मेरो लेखनमा आइरहने विम्ब हो । खोलो देख्यो कि, त्यसकै किनारमा बसिरहूँजस्तो लाग्छ । अहिले पनि म भक्तपुरको हनुमन्ते नदीकै किनारमा बस्छु । यति नजिक कि त्यस नदीमा बाढी आयो भने मेरो घरमा पस्छ । यो नदीसँगको मेरो अनुराग खै के हो के ! नदीमै नुहाएर, पौडी खेलेर, दुवाली फर्काएर, माछा मारेर, नदीबाट कुलो फर्काएर खेतमा पानी हालेर म हुर्किएँ । नदीतिर भ्रमण जाऔँ भन्यो कसैले भने मध्यराततिर पनि हिँडिदिऊँजस्तो लाग्छ । देश-विदेशतिर बराल्लिनु र नयाँ नयाँ ठाउँ हेर्नु पनि रुचाउँछु । तर, त्योचाहिँ रहरको कुरा हो, आह्लादकै कुरा चाहिँ होइन । नदी र पहाड त मेरा कमजोरी नै हुन् ।

मेरो लेखनमा मेरो भ्रमण मिसिएकै छ । मेरा पाठकलाई थाहा छ, मेरा आख्यानको कार्यपीठिका एउटै कहिल्यै हुँदैन । मेरो उपन्यास र कथाभरि मैले डुलेका र टेकेका भारत र नेपालमा अनेक स्थान आएका छन् । यिनमा पनि पहाड, गाउँ र नदीकिनार बढी आएका छन् । भ्रमण नगरेको भए मेरो आख्यानको कार्यपीठिका एउटै ठाउँ हुने थियो । त्यसो हुँदा, मेरो लेखनमा बासीपन गन्हाउने थियो । अन्य दोष होलान्, तर कार्यपीठिकाको बासीपन कसैले औँल्याएको छैन आजसम्म । भोलिको थाहा भएन, तर सजग छु । डुल्छु, नयाँ नयाँ कुरा देख्छु-भेट्छु, नयाँ नयाँ पात्र फेला पार्छु, र प्रभावित हुन्छु । लेख्छु चैँ कस्तो — त्यो पाठकको अदालतमा विचाराधीन मुद्दा हो ।

तपाईंको लेखनतिर फर्कौं न एकैछिन् । केके लेख्नुभाछ अहिलेसम्म ? फर्केर हेर्दा आफूलाई लेखनमा कहाँ पाउनुहुन्छ ?

अघि मैले भनेजस्तो सुरुमा मैले गीत लेखेँ । बिस्तारै, स्कुलमै छँदा कविता र कथा पनि लेखेँ । छापिएका मेरो प्रारम्भिक रचना अङ्ग्रेजीमा थिए । पछि, सन् १९९५ तिरदेखि मैले नेपाली रचना पनि प्रकाशित गर्न थालेँ । पुस्तक आकारमै आएको मेरो पहिलो रचनाचाहिँ अङ्ग्रेजी बालउपन्यास ‘माई सेयर’ हो, जसलाई सन् २००७ मा विद्यार्थी पुस्तक भण्डारले प्रकाशित गरिदियो ।

त्यसपछि, त्यसै प्रकाशन गृहले मेरा थप ३ वटा बालउपन्यास प्रकाशित गरिदियो । नेपाली भाषामा मेरो पहिलो पुस्तक, कथा-सङ्ग्रह ‘अनामिक यात्री’ हो, जुन् सन् २०१० मा भुँडीपुराण प्रकाशनबाट निस्कियो । त्यसपछिको मेरो प्रकाशनमा उपन्यास ‘तादी किनारको गीत’, कथा-सङ्ग्रह ‘त्यसपछि फुलेन गोदावरी’, ‘अपरिचित अनुहार’ तथा ‘अफ वाल्स एण्ड पिजन्स’, कविता सङ्ग्रह ‘शून्य प्रहरको साक्षी’, बालकथा सङ्ग्रह ‘सपनाको पुल’, ‘लिटल मास्टर्स’ र ‘स्कुल छुटेको दिन’, तथा बाल एकाङ्की सङ्ग्रह ‘आमा नहुँदा एक साँझ’ सामेल छन् । स्कुलतिर अङ्ग्रेजीका मूल पुस्तक र व्याकरणका गरी दुई दर्जन पुस्तक प्रकाशित छन् ।

फर्केर हेर्दा आफूलाई निकै व्यस्त राखेको चैँ अवश्य पाउँछु, तर त्यति गतिलो लेखन गर्न सकेको जस्तो चैँ लाग्दैन । धेरैतिर छरिने, समयलाई फजुल कार्यतिर बाँड्ने, जसलाई पनि ‘हस्, हस्’ भन्ने, र आफ्नो कामचाहिँ बिगार्दै जाने बानीले यस्तो भएको हुनुपर्छ । अब चैँ अलि चनाखो हुनुपर्ने समय आएको बोध गरेको छु । समय र सम्बन्धको व्यवस्थापनको जिम्मा साहित्यपोस्टलाई दिएको हुँदा अब सायद आफैँलाई सम्हाल्न सजिलो हुनेछ ।