रत्नकाजी शाक्यको बाल्यकालको रुचि कलामा पटक्कै थिएन तापनि नेवारी कला र संस्कृतिको प्रभाव भने सानैदेखि थियो। त्यसो त उनको बुबा सुनचाँदीको व्यापारी थिए। बुबा असनमा सुनचाँदीको व्यापार गर्थे । पसलमा कलात्मक सुनचाँदीका गहना देखेर कतै न कतै उनमा कलाकारिताको छाप बसेको थियो। यद्यपि उनले कलाकारिता अध्यन गरेर अहिले जस्तो चर्चित कलाकार बन्ने कल्पनासम्म गरेका थिएनन्।
शाक्य वास्तवमा पढेर इन्जिनियर बन्न चाहन्थे तर एसएलसीमा न्यून अङ्क ल्याएका कारण इन्जिनियरिङ विषय पढ्न पाएनन्। चाहेको विषय पढ्न नपाएपछि घरछेउको ललितकला क्याम्पसमा भर्ना भए । पहिलो दुई वर्ष इच्छा नलागी नलागी आईएफए पढे उनले तर बिएफए पढ्दा भने नजानिदो रुपमा कलाप्रति आकर्षित हुँदै गए। भर्खर कलाप्रति चासो राख्न थालेका शाक्यलाई घरपरिवारबार र छिमेकीले छोरा सारै बिग्रियो भनेर चिन्ता प्रकट गर्थे।
शाक्य कलाकारितामा लागेदेखि नै अलिक प्रयोगवादी धारका थिए । उनी आकार र रङलाई तोडमोड गरेर अर्ध-अमूर्त रुपमा प्रस्तुत गर्थे। असनको भिडभाड र वास्तुकलालाई उनी खुब मन पराउँथे। २०५० सालमा यही विषयवस्तुमा उनले एकल कला प्रदर्शन गरे। उक्त प्रदर्शनीले निकै चर्चा कमाउन सफल भयो । खासगरी उनको मौलिक अर्द्ध-अमूर्त कला शैलीलाई धेरैले प्रशंसा गरे।
कलाचित्रण गर्ने उनको गज्जबको खुबी देखेर सबै अचम्मित हुन्थे। हरेक दिनजसो उनी असनको गल्लीमा चित्र बनाउन बाहिर निस्कन्थे। आधादेखि एक घण्टामै पेन्टिङ सकेर उनी घर फर्किसक्थे जबकि उनका साथीलाई त्यही चित्र बनाउन ४/५ घण्टा लाग्थ्यो। कलाका विभिन्न कार्यशालामा पनि धेरैलाई अचम्मित पार्ने गरी उनी पेन्टिङ बनाउँथे । अन्य कलाकारले एउटा पेन्टिङ बनाउन नभ्याउँदै उनले ४/५ वटा बनाइसक्थे।
केही वर्ष अर्द्ध अमूर्त शैलीमा कला सृजना गरेका शाक्यले २०५४/५५ सालमा मूर्धन्य कलाकार लैनसिह बाङ्देलसँगको चिनजान र सामीप्यले पूर्ण अमूर्तकला सुरुवात गरेका हुन् । कलामा केही नौलो काम गर्नुपर्छ भन्ने मान्यता राख्ने शाक्यले २०६० सालदेखि भने आफ्नै कलाशैली निर्माण गरे र न्वारन गरिदिए “ओभालिजम”अर्थात “अण्डाकार दर्शन” । नेपाली कलाजगतमा उनले प्रतिपादन गरेको यो कलादर्शन शैली अत्यन्तै नवीन प्रयोग थियो।
उनी भन्छन्, “ओभालीजम कलाको आधार इकाई हो। यही इकाईलाई एकआपसमा जोड्दा पूर्ण आाकृतिको चित्र निर्माण हुन्छ ।” उनलाई लाग्छ बिना अण्डा आकार कुनै आकृति वा कलाको निर्माण हुँदैन।
ओभालिजम चित्रमा क्यानभासका चारैतिर अण्डाकार आाकृति निर्माण गरिन्छ र तिनलाई एकआपसमा समाहित गरी सुन्दर चित्रको निर्माण गरिन्छ ।
शाक्य पछिल्लो समय ओभालिजम कलाशैलीलाई अझै परिस्कृत गर्ने ध्याउन्नमा छन् । आफूले विकास गरेको काममा दत्तचित्त भएर काम गरिरहेका छन् उनी तर नेपाली कलादीर्घाबाटै प्रशंसा र सहयोग नपाएकोमा दु:खी छन्।
एकपटक भयो के भने, उनका दुई ठूला चित्र नेपाल आर्ट काउन्सिलमा प्रदर्शनीमा राखिएको थियो तर प्रदर्शनी सकिएपछि बेवारिसे रुपमा उक्त चित्रहरुलाई एकमहिनासम्मै बाहिर निकालेर राखिदिए। कला ग्यालरीबाटै यसरी कलाको अपमान गरेको देख्दा उनको साह्रै चित्त दुख्यो तर पछि विदेशीले ती दुवै चित्रको सही मूल्याङ्कन गरी दक्षिण कोरियाको नामुद कला क्याम्पसमा संग्रह गरी सुरक्षित राखिएकोमा उनी दङ्ग छन्। पछिल्लो पटक कोरिया जाँदा उनको नाममा हुलाक टिकट छापेको देख्दा उनी अनुग्रहित छन्। नेपालमा भन्दा विदेशमा कलाको सही मूल्याङ्कन हुने गरेको उनको अनुभव छ।
कलाकार शाक्य मूलतः आधुनिक अमूर्त शैलीमा काम गर्ने कलाकार हुन्। उनले प्रतिपादन गरेको ओभालिजम शैलीका कलाकृति अमूर्त कलाकै एक इकाई हो भन्ने कुरामा कुनै शंका छैन, यद्यपि तिनको अर्थ र दार्शनिक पक्ष फरक छन्। अमूर्त कलाले रङ, रेखा र भावलाई आफ्नो मूलमन्त्र ठान्छ भने ओभालिजमले अण्डा आकारलाई कला सृजनाको मूल आधार र जननी मान्दछ।
उनी आफ्ना कुरामा कति स्पष्ट छन् स्वयं कलाकारले मनन गर्ने कुरा हो तर बाहिरी रुपमा ओभालिजमले आफ्नो दायरालाई फराकिलो पार्न नसकेको सत्य हो । यसका लागि कलाकार स्वयं सचेत हुन आवश्यक देखिन्छ। विश्व कला क्षेत्रमा कला वादलाई स्थापित गर्न ठूलो साहस र मिहिनेत चाहिन्छ। ओभालिजम कला दर्शनसँगै जोडिएको उनका चित्रका रङ रेखा र भाव पक्ष भने मजबुत देखिन्छ। उनले प्रयोग गर्ने कालो, सेतो, रातो र पहेलो रङ युग सुहाउँदो नै देखिन्छ । रेखा चाहिँ मोटा र अलिक भद्दा लाग्ने खालका भए तापनि भाव र अर्थका हिसाबले ती आफ्ना ठाउँमा सही छन् । यसअर्थमा उनी समसामयिक धारका आधुनिक कलाकार हुन्।
कला विषयमा बिएफएसम्म अध्यन गरेका कलाकार शाक्यले नेपाल जापान, कोरियालगायत विभिन्न देशमा गरी २१ पटक एकल कला प्रदर्शनी, दर्जनौँ पटक सामूहिक कला प्रदर्शनी र कलाका कार्यशालामा भाग लिइसकेका छन्। कला सृजनाको अलावा उनी पर्यटकीय क्षेत्र ठमेलमा विगत लामो समयदेखि “लाइट एन्ड सेड” आर्ट ग्यालरी चलाइरहेका छन्।
आऔँ आज यिनै कलाकारका कलाकृति हामी अवलोकन गरौँ:
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।