मनचिन्ते धरतीः अन्तिम अंश

लौ हिमानी, तिमीहरूलाई जे जे इच्छा लाग्छ त्यै त्यै लेऊ । ऊ हेर त्यहाँ केही बदमास, तस्करजस्ता मान्छेहरू सुन कुम्ल्याएर लान खोज्दैछन् । ती चारओटा ख्याकहरू ।’

साँच्चै त्यहाँ कोही सुनका बिस्कुट बटुल्दै थिए, कोही थरिथरिका लुगा कपडा, जुत्ता-कोट, गहनापात सोहोर्दै थिए । कोही विचित्र विचित्र गाउने चराहरू नाच्ने जनावरहरू र कोठा सजाउने तस्बिर -चित्रहरू कुम्ल्याउँदै थिए । यस सबै बिचित्रका दृश्यहरू हेरिरहेका अमरहरू भने अलमल्ल परे – के लाने ?

“के तिमी त्यो सिंहलाई लान लागेको अमर ?’ अमरको हात चाट्दै पछि लागेको सिंहलाई देखेर हिमानीले सोधी । तर अमरले होइन भन्यो । “म त पाए एउटा गाई पो लान्थेँ । आमाले गाई पाल्ने भन्नुभा’थ्यो ।”

“तर जिराफ लगे पनि त हुन्छ’ हिमानीले एउटा डुल्की चालमा हिँडिरहेको अग्लो जिराफलाई देखाएर भनी ‘हेर कति राम्रो !’

“के काम त्यो जिराफ ! दूध खान हुन्न, मासु खान हुन्न’ गीताले भनी “म त पाए पोथी कुखुरा लान्छु । आमाले कुखुरा पाल्न पाए फुल खान पाइन्छ भन्नुभा’थ्यो ।”

‘हो म पनि एउटा बलियो कोदालो लिन्छु । बालाई बगैंचामा काम खाँचै छ’ आशिषले भन्यो । तर हिमानीले चाहिँ एउटा दराजमा राखेको हँसिलो अनुहारको र कवाज खेलेझैँ यता र उति हिँडिरहेको घडीलाई हेर्दै भनी “म त यो लिन्छु बा!’

‘तिमी घडी लिने ?…’ आशिषले भन्यो ‘ओहो मैले त यस्तो हिंड्ने घडी कहिल्यै देखेको छैन । …खोइ मलाई एकपल्ट हेर्न देऊ त !’

हिमानीले घडी झिकेर आशिषको अगाडि राखिदिई । घडी त नाच्तै हिंड्न पो थाल्यो । कस्तो हाँसो उठ्दो घडी । गीता त पेट मिचीमिची हाँस्न थाली । हिमानीले भनी ‘म यसलाई आफ्नो कोठामा दराजमाथि राख्छु ।’

“तर यो एक ठाउँमा बसिरहन्छ र ?’ आशिषले भन्यो ‘यसले तिमी जे जे गर्छौं त्यही-त्यही काममा बिथोलेर तिमीलाई दिक्क पार्ला ।… अनि एक दिन यो भागेर जानेछ । ‘जे होस्‌, मलाई मन परेको चीज यही हो’ हिमानीले भनी । त्यसै बखत

त्यो घडीले भयानक आवाजमा बाह्र बजायो- ‘ड्वाङ… ड्वाङ… ड्वाङ…’त्यो सुनेर सबै डरले उफ्रे । घडी पनि उफ्रुँदै उनीहरूको पछि लाग्यो ।

“लौ अब हामीले धेरै बेर यहाँ बस्नु हुन्न । फेरि रूख एकातिर पर्ला’ अमरले भन्यो ‘लौ आफूआफूले रोजेको माल लिएर हिंडिहालौँ ।’

हो, हो’ गीताले भनी ‘आशिष ऊ त्यहाँ कति राम्रा कुखुरी छन्‌ । समातेर ल्याइदेऊ न ।’

“आफूलाई कोदाली चाहिया’ छ, यसलाई कुखुरी । जा न तैँ समात्‌ म त सक्तिन ।” ।

“लौ लौ म समातिदिन्छु’ अमरले भन्यो ‘अनि ऊ हेर क्या राम्रो चिल्लो र ठूलो कल्चौंडो भरिएको गाई । …हामीले यो लगेर दिँदा आमा-बा कति खुसी हुनुहोला !’

“वा: क्या गजबको मनचिन्ते धरती रहेछ यो । …जे चितायो उही पाइने ।’ गीताले खुसीले उफ्रँदै, ताली बजाउँदै भनी ।

साँच्चै आमाले यी, यस्ता रङका कुखुरीहरू मन पराउनुहोला ?’ आशिषले सोध्यो । साँच्चै तिनीहरूको रङ अनौठो थियो । पखेटाहरू फिका हरिया रङका थिए । जीउ चाहिँ घीउ रङको । स्वर भने बडो हाँसो उठ्तो-चडको थियो । ती कुखुरीहरू बिरालोजस्तै केटाकेटीका गोडामा लटपटिन्थे । उनीहरूलाई यी खुबै मन परे । तर आशिषलाई आमा-बाले पनि यिनलाई मन पराउनुहोला भन्ने कुरामा शङ्कै थियो ।

तर गीताले उसको कुरा काट्दै भनी- ‘किन मन नपराउनु ? यी त संसारमा सबैभन्दा राम्रा कुखुरी हुन्‌ । तर यिनीहरूको फुल चाहिं कस्तो होला !’

तर उसको कुराको जवाफ दिएजस्तै गरी एउटी कुखुरीले त्यहीँ फुल पारी । फुल अरू कुखुरीकै जस्तो सामान्य सेतो रङको थियो तर त्यो ठूलो थियो ।

देख्यौ ?’ गीता खुसी भएर हाँस्न थाली- ‘कति ठूलो फुल ! यतिका कुखुरीले यति ठूलाठूला फुल पार्दा आमा कति खुसी हुनुहोला । …तर यतिका कुखुरी लाने पो कसरी ।’

‘धन्दा नमान” हिमानीले भनी ‘यी आफै हाम्रो पछि लाग्ने छन् ।’

साँच्चै नै कुखुरीहरू आफै पछि लागे । केटाकेटीहरू गाई पनि त्यसै गरी पछि लाग्यो । केटाकेटीहरू त्यहाँ आफूलाई मन परेका वस्तुहरू खोज्दै घुम्न थाले । प्राय: त्यहाँ डुङ्गाहरू थिए । त्यहाँ जातजातका कुक्रहरू थिए, राम्रा -राम्रा प्लास्टिकका टोकरीहरू थिए, औंठी र खेलौनाहरू थिए ।

“क्या गजबको धरती ! जे खोज्यो त्यही पाइने । यस्तो अनौठो धरती त मैले देखेकै थिइनँ’ आशिषले ढाडस हुँदै भन्यो । अनि गीताले खित्‌खित्‌ हाँस्तै भनी ‘हामी पनि त कम अनौठा छैनौं । नत्र यी कुखुरीहरू किन हाम्रो पछि लाग्थे । लौ, उता हेर त कति राम्रा सिंगारी बाख्रा ! यो त आमालाई खुब मन पर्ला । हेर न कति राम्रा खैरा आँखा !… हामी यसलाई लैजाऔं है दाइ ?… ए सिंगारी !… तँ हामीसँग आइज ।’

साँच्चै, त्यो खैरो आँखा गरेको सानो सिंगारी बाख्रो उनीहरूको पछि लाग्यो । अब उनीहरूले खोजेको कुरामा एउटा कोदालो मात्र बाँकी भयो । एक्कासि अमरका आँखा विभिन्न किसिमका औजारहरूसँगै झुन्डयाइराखेको एउटा राम्रो र बलियो देखिने कोदालोमा परे । अमर खुसी भयो । उसले गीतासँग सोध्यो- “यो कोदालो कस्तो छ गीता ? …बाले मन पराउनुहोला ?’

‘किन मन नपराउनु ?” गीताले भनी । अब उनीहरूसँग भनेजति सबै कुरा भए । यी सबै कुरा लिएर उनीहरू भकुन्डे भाइ कुरेर बसेको ठाउँतिर गए । तर त्यहाँ भकुन्डे भाइ थिएन । कहाँ गयो होला यो भकुन्डे भाइ!… यो यस्तै छ, भन्या’ ठाउँमा एकछिन पनि बस्तैन । उनीहरूले उसलाई यताउति खोजे । लौ, क तल परको एउटा रूखमा झुन्डिरहेको, बीचमा गोलो प्वाल परेको एउटा कार्पेट पो तान्न थालेको रहेछ । अमरहरूलाई देखेर ऊ अहिले कराउन पो थाल्यो ‘ए अमर !… गीता !… हिमानी !… आशिष !… यता आऔ त !… हेर त मैले के भेट्टाएँ । मैले आफ्नो कोठामा बिछ्याउनाका लागि यस्तै एउटा कार्पेट खोजिरहेको थिएँ, यस्तै माझमा प्वाल परेको !… लौ भेट्टिहाल्यो ।’

“तर तिमी त यो धरती घुम्न थाल्ला भनेर हेर्न बसेका होइनौ ?’ हिमानीले भनी । ‘खोइ त्यो तल झर्ने बादलको भ्वाङ कहाँ छ ? यस्तै हो रुङेर बसेको चाल ?’

भकुन्डे भाइले डराउँदै चारैतिर हेर्यो । नभन्दै त्यो बादलको भ्वाङ कतै थिएन । मनचिन्ते धरती त घुम्दै इन्द्रजाली रूखबाट पर गइसकेको थियो ।

अब के गर्ने ?’ अमरले चिन्तित हुँदै भन्यो भकुन्डे भाइ ! तिमी आफ्नो

काममा साह्रै हेलचकथाइँ गर्छौं ।… तिमीलै त भ्वाङ रुङ्ने कबोल गरेर बसेका थियौ । अब भ्वाङै हरायो । अब कसरी रूखमा ओर्लने ?’

भकुन्डे भाइ पनि आफ्नौ गल्ती ठानेर दु:खी भयो । ‘घोप्टै भ्वाङ नभएपछि रूखमा ओर्लने कुनै उपाय थिएन ।… मैले तिमीहरूलाई आपतमा पारेँ ।… मैले धरती रूखबाट पर हट्न नपाउँदै तिमीहरूलाई खबरदार गर्नु पर्ने ।… मेरो भूल भयो’ उसले भन्यो ।

‘तिमी असल साथी होइनौँ ।’ अमरले रिसाएर भन्यो ‘यहाँ खान लाउन त दु:ख छैन, जे खोजे पनि पाइन्छ । …तर आफ्नो धरती भनेको आफ्नै धरती हो । …अब कसरी जाने आफ्नो धरतीमा ?’

‘म तिमीसँग बोल्दा पनि बोल्दिन के !’ गीताले पनि ठुस्सिदै भनी ‘तिमी साथी नै होइनौ ।’

मेरो बिराम भयो । जे हुनु भयो, अब कुनै महत गर्ने मान्छे खोज्नु पर्छ । “कोही त पाइहालिएला नि…” भकुन्डे भाइले बडो लाज मान्दै भन्यो । अनि सबैजना कुनै मदत गर्ने मानिस पाइन्छ कि भनेर खोज्न हिंडे ।