अग्नि समाधि

साधु सन्तको सत्सङ्गले नराम्रा पनि राम्रा हुन्छन् तर पयागको दुर्भाग्य थियो कि उसलाई सत्सङ्गको विपरीत असर पर्यो। उसलाई गाँजा, चरेस अनि भाङको आदत लाग्यो। परिणामस्वरूप मेहनती र उद्यमशील युवक आलस्यको उपासक बन्यो।

कुनै वटवृक्षको मुनि धुवाँ आइरहेको छ । एउटा जटाधारी महात्मा विराजेका छन् । उनलाई वरिपरि घेरेर भक्तजन बसेका छन् अनि घाँटी तन्काई तन्काई गाँजा तानिरहेका छन् । बीचबीचमा भजन पनि भइदिन्छ। यो स्वर्गसरी सुख अरू कहाँ पाइन्छ र ! चिलिम भर्ने काम पयागको थियो। भक्तजनलाई परलोकमा पुण्यफल पाउने आशा थियो तर पयागले तुरुन्तै फल पाउथ्यो। चिलिम तान्नेमा पहिलो अधिकार उसको थियो। महात्माहरूको श्रीमुखबाट भावगत वचन सुनेर ऊ आनन्दित भइदिन्थ्यो । मनमा आत्मविस्मृति छाइदिन्थ्यो । ऊ सौरभ, सङ्गीत एवम् प्रकाशले भरिएको अर्को संसारमा विचरण गर्न पुग्दथ्यो।

यही कारणले पनि उसकी स्वास्नी रुक्मिनले राती दस, एघार बजे उसलाई बोलाउन आउँदा पयाग क्रोधित हुन्थ्यो । उसलाई संसार काँडैकाँडाले भरिएको जङ्गल समान लाग्थ्यो । विशेषगरी घर पुगेर खान पिउनका लागि चिन्ता गुर्न पर्ने हुँदा ऊ रिसले तीन भाउन्न हुन्थ्यो। पयाग गाउँमा चौकीदारी काम गरेर दुई रुपियाँ र केही आना तन्ख्वा पाउथ्यो । उसको काम थियो- सप्ताहामा एक दिन पुलिस चौकी गएर साहेबहरूको कोठामा कुच्चो लगाउने । अश्वशाला साफ गर्ने अनि दाउरा चिर्ने । ऊ यति काम पनि रगतको घुट पिएर आफ्नो इच्छाविरुद्ध गर्थ्यो । काम गर्न त आवश्यक थियो । नगर्दा यसको परिणाम शारीरिक एवम् आर्थिक दुवै झेल्नु पर्थ्यो। गाउँलेहरू उसको ढाह गर्थे । चौकादारको जागिर अरे, महिनामा चार दिन काम अनि पैसा भने दुई रुपियाँभन्दा बेसी । अगर गाउँमा ठूला धनीमानी नहुनु भने सानै मान्छेको पनि ठूलै हुती हुन्छ ।

पयागको तन्ख्वा पेन्सन थिएन अनि जहिलेबाट महात्माहरूको सम्पर्कमा आयो, सत्सङ्ग पनि जेबखर्चमा जोडियो। अत एव जीविकाको प्रश्न दिनप्रतिदिन चिन्तोउत्पादकको रूप धारण गर्न लाग्यो। सत्सङ्गमा जोडिनु अगाडि यी दम्पति गाउँमा मजदुरी गर्थे। रुक्मिन दाउरा काटेर बजार लान्थी । पयाग कहिले आरा चलाउथ्यो । कहिले हलो जोत्थ्यो। जे काम भेट्थ्यो सबै पूर्ण मनोयोगले गर्थ्यो। हँसौली, श्रमशील, विनोदी, निर्द्वन्द्व मान्छे कहिले पनि भोकले मर्दैन । उसमा यति विनम्रता कि कुनै कामका लागि नाई नभन्ने । कसैले भनिसक्दा ‘हुन्छ दाजु’ भन्दै काम गर्न सुरू गरिहाल्ने । त्यही भएर गाउँमा उसको सम्मान थियो ।

मुन्शी प्रेमचन्द

यही सम्मानको प्रभावले निरुद्यम हुँदा पनि दुई तीन वर्षसम्म उसलाई धेरै कष्ट भएन । तर अब यो समस्या दिनप्रतिदिन विषम हुँदै जाँदै थियो । अर्को विपत्तिको यो पनि थियो कि रुक्मिन अब पहिलेको जसरी पयागप्रति पतिपरायण त्यति सेवाशील देखिन्दैन थिई। उसको व्यवहार र बोलीचालीमा आश्चर्यताको विकास हुन लागेको थियो। अत एव पयागलाई कुनै सिद्धिको आवश्यकता थियो जसले जीविकोपाजर्नको चिन्ताबाट मुक्त गराइदियोस् अनि ऊ निश्चिन्त भएर भागवदजन र साधु महात्माको सेवामा प्रवृत्त होस् ।

एक दिन रुक्मिन बजारबाट दाउरा बेचेर आएकी थिई । पयागले उसलाई भन्यो- “केही पैसा मलाई दे   त, तानेर आउनु पर्यो ।”

रुक्मिनले मुख फुलाएर भनी- “तान्नमा यति लत छ भने काम किन गर्दैनस् ? किन, आज कुनै बाबा छैनन् ? जा गएर उसैको चिलिम भर ।”

पयागले रिस चढाएर भन्यो- “भलो चाहन्छेस् भने पैसा दे । यसरी मलाई दङ्गा गरिस् भने एक दिन सधैँका लागि गइदिन्छु अनि रुँदै बस्लिस् ?”

रुक्मिनले बुढीऔंलो देखाउँदै भनी- “रुन् मेरा सौताहरू ! तँ हुँदा के मलाई सुनको गाँस खुवाउँदैछस् र ? अहिले आफ्नै छाती फुटाउँदै छु, त्यो बेला पनि आफ्नै छाती फुटाउँला।”

“त्यसो भने तेरो यै निर्णय हो ?”

“हो, भने त, मसँग पैसा छैन ।”

“तसँग गहना बनाउन चैँ पैसा हुने अनि मैले चार पैसा माग्दा यसरी थुतुनो चलाउने !”

रुक्मिन झन्किएर बोली- “मैले गहना बनाउँदा तेरो छाती किन दुखेको ? तैँले त आजसम्म पित्तलको पनि बनाइदिएको छैनस् ? के यति पनि देख्न सक्दैनस्।”

पयाग त्यो दिन घर आएन । रातीको नौ बज्यो । तब गएर रुक्मिनले दैलो बन्द गरी । सम्झी, गाउँमा कतै लुकेर बसेको होला । उसले सोच्दै होला, म गएर उसलाई फकाएर घर बोलाउँछु ।

दोस्रो दिन पनि पयाग घर नआउँदा रुक्मिनलाई चिन्ताले सताउन लाग्यो । सबै गाउँ चालेर आई । चरोलाई कुनै पनि डालीमा भेटिन । त्यो दिन उसले घरको चुल्हो जलाइन । रातभरी निन्द्रा नै लागेन । शंका लागिरह्यो कतै पयाग साँच्चिकै विरक्त भएको हो ? रुक्मिनले सोची- भोलि मिर्मिरे उज्यालोबाट भुँइपाताल खोज्छु । कुनै साधु सन्तको साथमा होला । पुलिस चौकीमा गएर रपाट लेख्छु ।

मिर्मिरे बिहान थियो। रुक्मिन पुलिस थाना जान तयार भई। दैलो बन्द गरेर हिँड्दै मात्र थिई कि पयाग आउँदै गरेको देखी । तर ऊ एक्लै थिएन । उसको पछिपछि एकजना महिला पनि थिई । उसले लगाएको सुती सारी, रातो च्यादर, लामो घुम्टो अनि सर्माउदैँ हिँडेको चाल देखेर रुक्मिनको मुटु ढुकढुक भयो । एकछिन् त अक्मकिएर ठिङ्ग उभिरही । दुवै छेउमा आएपछि सौताको हात समातेर यस्तो भावमा भित्राई मानौ कुनै रोगी जीवनदेखि निराशा भएर विषपान गर्न लाग्दैछ।

नयाँ दुलहीलाई हेर्न आएको भीड छाटिएपछि रुक्मिनले पयागलाई सोधी- “यसलाई कहाँबाट ल्याइस् ?”

पयागले हाँस्दै भन्यो- “यो घरबाट भागेर हिँडेकी रहिछे । मैले बाटोमा भेटेको थिएँ । लाग्यो लिएर गएँ भने घरधन्दा गर्न तँलाई सघाउँछे ।”

“लाग्दैछ तँ मबाट अघाइछस् ।”

पयागले आँखा तेर्सो पारेर भन्यो- “हैट काली ! के भन्छे हौ ? यसलाई त तेरो हेरचारका लागि पो ल्याएको हुँ त ।”

“नयाँको अगाडि कसले पुरानालाई सोध्दछ ।”

“जोसँग मन मिल्छ त्यही नयाँ हो। जोसँग मन मिल्दैन, त्यही पुरानो हो । यी कुरा छाड, केही रुपियाँ दे त, दुई तीन सर्को तानेर आउँछु। खुट्टा नै लागेनन् । अनि यो बिचरीलाई दुई चार दिन खिलाइपिलाइ गर्दे। केही दिनमा आफैं काम गर्न लाग्छे ।”

रुक्मिनले सबै रुपियाँ पयागको हातमा ल्याएर राखिदिई । पयागले दोस्रोचोटि पैसा दे भन्नु नै परेन । पयागमा गुण थियो या थिएन तर मान्नु पर्छ कि ऊ शासन चलाउने मूल सिध्दान्तहरूसँग मजाले परिचित थियो । उसले भेदनीतिलाई आफ्नो लक्ष्य बनायो। एक महिनासम्म केही समस्या आएन। रुक्मिनले आफ्ना सबै गुणाभाग नै बिर्सी। अब ऊ बिहानै उठेर घाँस, दाउरा काटेर ल्याउँथी । गोबरका गुइँठा बनाउथी अनि सबै बजार लगेर बेच्थी। बिक्रीबाट आएको आधा पैसा त पयागलाई पन्साउनु पर्थ्यो। आधाले घर चलाउँथी। सौतालाई छिरिक्क काम गर्न दिन्न थिई। छिमेकीलाई भन्छे- “सौता भएर के गर्नु, हिजोकी ठिटीजस्ती छे । दुई-चार महिना आरामा गरोस् । जीवनभर याद राखोस् न यसले पनि । काम गर्नका लागि त म छँदै छु नि ।”

गाउँभरी रुक्मिनको शील स्वभावको बढाइ हुन्थ्यो । सत्सङ्गमा लागेको पयागले पनि सबै बुझ्थ्यो अनि आफ्नो नीति सफल भएको देखेर प्रसन्न भइदिन्थ्यो ।

अनुवादकः हर्कबहादुर लामगादे ‘रोहित’ (मणिपुर)

एक दनि नयाँ दुलहीले भनी- “दिदी, घर बस्दाबस्दा म त वाक्क भएँ। मलाई पनि केही काम गर्न दिनु न ।”

रुक्मिनले स्नेहको स्वरमा भनी- “मेरो अनुहारमा मोसो दलाउने काम गर्न किन खोज्दैछेस् ? घरभित्रको काम गरिराख्न, बाहिरका लागि म छँदै छु त ।”

नयाँ दुलहीको नाम कौशल्या थियो । नाम बिग्रिएर सिलिया भएको हुन्छ । अहिले सिलियाले केही जवाफ दिइन । तर दुलहीलाई यो दशाले असह्य भएको थियो । दिनभरी घरको काम गरेर लखतरान हुन्थी तर यसो सोधिदिने कोही हुँदैनथ्यो । रुक्मिन बाहिरबाट चार पैसा कमाउने भएर घरकी मालिक्नी भएकी थिई । सिलियाले सोची म पनि बाहिरको काम गर्छु । पैसा कमाउँछु अनि मालिक्नीको घमण्ड तोडिदिन्छु ।

सिलियाले पनि बुझी कि पयाग पैसाको भोगी छ । रुक्मिन सामान बेच्न बजार गएपछि ऊ दैलो लगाएर गाउँको चालढङ्ग बुझ्न निस्की । गाउँमा बाहुन, छेत्री, ठाकुर, कायस्थ, बनियाँ सबै थिए । सिलियाले मीठो र सहज व्यवहारको स्वाँग गर्ने भएर गाउँका सबै महिला ऊप्रति मक्ख परे । पहिलो गाउँ घुमाइमै थाहा पाई गाउँमा अनाज पिस्ने कोही रहेनछ । यही काम गर्ने उसले निर्णय लिई। पिस्नलाई कसैले चामल, कसैले दाल, कसैले केही दिएर पठाए। तिमाथि नयाँ दुलहीलाई कसले पो खोजिनिन्दा र माया गर्दैनन् होला ? ऊ घर फर्किंदा टाउकोमा अनाज भरिएको टोक्रो थियो ।

पयागले उज्यालो नभै जाँताको आवाज सुनेर रुक्मिनलाई भन्यो- “आज त सिलिया एकाबिहानै के पिस्नलागी ? रुक्मिनले बजारबाट आटा ल्याइसकेकी थिई। अनाज र आटाको भावमा विशेष केही अन्तर थिएन । ऊ तीन छक्क परी । एकाबिहानै यो के पिस्दैछे। उठेर पिस्दै गरेको ठाउँमा गई । सिलिया अँध्यारोमा बसेर पिस्दैरहिछे ।

रुक्मिनले सिलियाको हात समाती अनि टोक्रो उठाएर भनी- “तँलाई कसले पिस्न लगायो ? कहाँबाट अनाज लिएर आइस् ?”
सिलियाले नडराई भनी- “तँ गएर आरामले सुत्न । मैले जाँतो पिस्दा तँलाई के को खस्खस् । जाँताको घुरघुर गरेको सुन्न सक्दिनस् र ? दे टोक्रो । कहिलेसम्म बसेर खानू ? बसेर दिन काटेको दुई महिना बितिसक्यो ।”

“मैले तँलाई केही भने र काम गर्न लागेकी ?”

“तँ भन् या नभन्, आफ्नो पनि त धर्म हुन्छ, केही कर्तव्य हुन्छ ।”

“तँ यहाँका मान्छेलाई चिन्दिनस् । अनाज पिसाउन सबै तातिन्छन् तर पैसा दिन भने रुन खोज्छन् । म उज्यालो भएपछि गएर यी जजस्का अनाज हुन् उनीहरूको टाउकोमा राखिदिएर आउँछु ।”

सिलियाले रुक्मिनको हातबाट टोक्रो खोसेर भनी- “पैसा किन दिँदैन ? उनीहरूको के बिगार गर्दिएकी छु र मैले ?”

“भनेपछि त कुरा मान्दिनस् ?”

“तेरो अराउपठाउ मान्ने भएर म बस्दिनँ ।”

दुईजनाको चर्काचर्की सुनेर पयाग पनि आइपुग्यो अनि रुक्मिनलाई भन्यो- “काम गर्न मन गर्दै छे भने गर्न दे न त । के यसलाई आजीवन अराउपठाउ मान्ने बनाएर राख्छेस् ? अब त यो आएकी पनि दुई महिना हुन लाग्यो ।”

“तँलाई के थाहा गाउँमा त मेरै नाक काटिन्छ ।”

सिलियाले भन्न लागी- “तेसो भने कोही घर बसाए खिलाउँछ ? चौकापात, धन्दा, कुट्ने पिस्ने दिन रात गुर्न पर्छ । कुआँबाट पानी तान्दातान्दा हातमा ठेला फुटेर कोत्रैकोत्रा भएको छ । म अब यी काम गर्न सक्दिनँ ।”

पयागले भन्यो- “त बजार जाने गर। घरको काम रुक्मिनले गर्छे ।”

रुक्मिनले आपत्ति गरेर भनी हाली- “तँलाई यस्तो कुरा मुखबाट ओकल्न लाज लाग्दैन । दुई दिनकी दुलही बजार जान लागी भने संसारले के भन्छ ? त्यति पनि दिमागमा आउँदैन ?”

सिलियाले आग्रहतासँग भनी- “संसारले के भन्छ र ? म के कुकर्म गर्न बजार जानेछु र ?”

सिलियाले पयागबाट प्रमाणपत्र पाई । रुक्मिनको हातबाट आधिपत्य फुस्कियो । सिलियाको राज्य चल्न लाग्यो । जवान महिला थिई । गहुँ पिसिसकेर अरूसँग घाँस काट्न निस्की । उसले घाँस यति छरितो तरिकाले काटिदि कि सबै छक्क परे । उसले काटेको घाँस भारी उठाउन नसक्ने थियो । जुन पुरूषहरू घाँस काट्नमा सिपालु थिए उनीहरूलाई पनि घाँस काट्नमा बाजी मारी । घाँसको भारी बाह्र आनामा बिक्यो । सिलियाले आटा, चामल, दाल, तेल नुन, तरकारी, मसाला सबै लिएर आई अनि चार आना पनि बचाई ।

रुक्मिनले सोचिकी थिई कि सिलियाले बजारबाट दुई चार आना लिएर आउँदा उसलाई पेटभरी कराउँछु अनि भोलिपल्टदेखि आफैँ बजार जान्छु । फेरि मेरो राज्य स्थापित हुन्छ। तर सिलियाले लिएर आएको सामान देखेर रुक्मिनको चेत नै बिलायो ।

पयाग खाना बस्यो। मसालासरी भएको मीठो तरकारी पाउँदा प्रशंसा नगरी बस्न सकेन । भन्यो- “कत्ति महिनादेखि यस्तो मीठो खाना पाइएको थिएन । आज खान आनन्द आयो ।”

पयाग निकै खुसी भयो ।

खाना खाएर पयाग बाहिर जान मात्रै लागेको थियो पिढीँमा उभिरहेकी सिलियालाई भेट्यो । सोध्यो- “आज कति पैसा कमाइस् ?”

“बाह्र आना पाएकी थिएँ ।”

“सबै खर्च भयो कि ? छ भने दे त मलाई ।”

सिलियाले रहेको चार आना पैसा पयागलाई हात लगाइदिई ।

पयाग पैसा बजाउँदै भन्यो- “तैँले त आज मलाई मालामाल गर्दिस् । रुक्मिन त दुई चार पैसा दिएर टालिदिन्छे । लोभीको हाँडी छे ।”

“मलाई पैसा गाडेर कहाँ राख्नुथियो र ? पैसा खानपिउनका लागि हुन्छ कि गाडेर राख्नका लागि ?”

“अबदेखि तँ नै बजार जाने गर। रुक्मिन घरको काम गर्छे ।”

रुक्मिन र सिलियामा सङ्ग्राम आरम्भ भयो । सिलिया पयागप्रति आफ्नो आधिपत्य जमाउन ज्यान छोडेर परिश्रम गर्न लागी । बिहान नभई जाँतो पिस्न लाग्थी, घाम आइसक्दा घाँस काट्न जान्थी अनि केही क्षण आराम गरेर बजार लाग्थी । बजारबाट घुमेर बेकाम बस्दिन थिई, कहिले रुई काड्न लाग्थी कहिले दाउरा चिर्थी। जब फुर्सत हुन्थ्यो त्यो बेला गोबरका गुइँठा बनाएर गाउँमा बेच्न जान्थी। रुक्मिन उसको सबै काममा केहीन केही खोट निकाल्थी ।

पयागका दुइटै हातमा लड्डु थिए। दुवैजनाले उसलाई धेरै भन्दा धेरै पैसा र स्नेह दिएर आफ्नो अधिकार सिद्ध गर्ने प्रयत्नमा रहन्थे तर सिलियाले आफ्नो आसन यसरी जमाइ कि कसैले हल्लाउन सकेनन्।

एकदिन दुईजनामा खुल्लमखुल्ला बाजाबाज पर्यो । सिलिया घाँसको भारी लिएर आपछि पसिनाले तरतर भएकी थिई । फागुनको महिना थियो । घाम चर्केका थिए । उसले सोची- नुहाइ धुहाइ गरेर बजार जान्छु । घाँसको भारी पिढीँमा राखेर पोखरीतिर नुहाउन निस्की । रुक्मिनले अलिकति घाँस निकालेर छिमेकीको घरमा लुकाइदिई अनि घासका मुठा खोलेर खकुल्याइदिई। सिलिया नुहाएर घर फर्किदा घाँस कमती भएको उसले बुझी ।

रुक्मिनसँग सोधी हाली।

उसले भनी- “म जान्दिनँ ।”

सिलियाले गाली दिन सुरू गरी- “जसले मेरो घाँस छोएको हो उसको जिउमा किरा परून्, उसका बुआ र भाइ मरून्, उसको आँखा फोडियोस् ।”

अहिलेसम्म त रुक्मिन चुपो लागेर त बसिरहेकी थिई । आखिर उसको खुन उम्लिएर आयो । फुत्फुताउँदै उठी अनि सिलियालाई दुई तीन झापट कसिदिई ।

सिलिया छाती ठोक्दै रुन लागी । पूरै टोल जम्मा भयो । सबै गाउँलेहरू सिलियाको सुबुद्धि र कार्यशीलता देखेर इर्ष्या गर्थे । उसले अरूभन्दा धेरै घाँस काटेको । मिर्मिरेमा उठेर काम गरेको । पैसा कमाएको। यी कारणहरूले गर्दा सिलिया सहानुभूति पाउन छोडेकी थिई। सबै सिलियालाई नै सोध्न थाले- “एक मुट्ठी घासका लागि उठीबास गरी, यति घाँस त अरूले छिमल्दा फ्याँकिदिन्छन्। सुन थोडी हो र ? नाथे घाँस त हो । तैँले सोच्नु पर्थ्यो अगर कसैले घाँस लिएको हो भने पनि त गाउँघरकै कुरा थियो । बाहिरको चोर त आएको हैन क्यारे । तैँले यति धेरै गाली कसलाई दिएकी होस्, भन् त ? छिमेकीलाई त होला ।”

संयोगले त्यो दिन पयाग पुलिस चौकी गएको थियो। साँझमा पयाग लखतरान भई आएर सिलियालाई भन्यो- “पैसा ले त । दुई तीन सर्का तानेर आउँछु। थाकेर फ्यात्त भएको छु ।”

पयागलाई देखिसक्दा सिलिया हाय ! हाय ! गरेर रुन लागी।

डराएर पयागले सोध्यो- “के भयो ? किन रोएकी ? केही अशुभ भयो कि ?”

“अब म यो घरमा बस्न सक्दिनँ । आफ्नै घर जान्छु ।”

“अरे ! केही त भन्, हुन चाहिँ के भयो ? गाउँमा कसैले गाली दियो ? त्यसको घरमा आगो फुकिदिन्छु ।”

सिलियाले रुँदै सबै कथा सुनाइदिई ।

आज पयागले चौकीमा मजाले कुटाइ खाएको थियो । झक्किएको थियो । कथा सुनिसक्दा जिउमा आगो सल्क्यो । रुक्मिन पानी भर्न गएकी थिई । गाग्रो राखेकी पनि थिइन कि पयाग झम्टियो । कुटेर लादी काड्न लाग्यो । रुक्मिन कुटाइको जवाफ गालीले दिन्थी अनि पयाग प्रत्येक गालीमा झन् घुमाइघुमाइ हिर्काउँथ्यो। रुक्मिनका घुँडा फुटे, चुरा टुटे तर गाली दिन छोडिन ।

सिलिया बीचबीचमा भन्दै जान्थी- “वाह ! दिदी, तेरो थुतुनो । तँजस्ती आइमाई त मैले कहिल्यै देखेको थिइनँ । आइमाई कहाँ होस् र ? बोक्सी होस्, बोक्सी । अलिकति पनि मुख थुन्न नसक्ने !” तर रुक्मिन उसको कुरा नै सुन्दिनथी । ऊ आफ्नो सम्पूर्ण शक्ति पयागलाई कोस्नमा लगाएकी थिई । पयाग कुट्दाकुट्दै गल्थ्यो तर रुक्मिनको थुतुनो थाक्दैनथ्यो। यही रट लगाइरही- तँ मरिहाल, किरा परून्, तँलाई भूतले खाओस्, तँलाई जङ्गली बिमार लागोस् ।

पयाग रिसले झन् चुर हुन्थ्यो अनि आएर दुई चार लात हानिदिन्थ्यो । तर सायद रुक्मिनलाई चोट नै लाग्न छोडेको थियो । ऊ बसेको ठाउँमा हल्लिन छोडी । टाउकाका जगटा खोल्लिएका थिए । थ्याच्च बसेकी रुक्मिन यही मन्त्र पाठ गर्दै थिई । अब उसको स्वरमा क्रोध थिएन, मात्र उन्मादको प्रवाह थियो । उसको समस्त आत्मा हिंसाको कामनाले अग्निसमान प्रज्जवतिल भएको थियो ।

अँध्यारो भएपछि रुक्मिन उठेर एकातिर निस्की जसरी आँखाबाट आँसुका धारा बगेर निस्किन्छन् । सिलिया भान्सा बनाउँदै थिई । उसले जाँदै गरेको देखी तर केही सोधिन । पिढीँमा बसेर पयाग चिलिम तान्दै थियो । उसले पनि केही बोलेन ।

जब धान पाक्न लाग्थ्यो उसले डेढ दुई महिनासम्म हार लगाइएको धानको हेरचार गर्नु पर्थ्यो । माघको महिनामा हार लगाएको धान छेउमा सानो याक्सा बनाउथ्यो । रातीको भान्सा गरेर त्यही गई आगो, गाँजा, चरेस, सुर्ती, चिलिम लिएर त्यही याक्सामा बसिरहन्थ्यो। चैतसम्म उसको यही काम रहन्थ्यो। आजभोलि ती नै दिन थिए । धान पाकेर पहेँला भएका थिए । दुई चार दिनमा काट्न सुरू हुनेवाला थियो ।

पयागले राति दश बजेसम्म रुक्मिनको बाटो हेर्यो । उसले सोच्यो यतै कतै छिमिकीकातिर गएकी होली । भान्सा गरिसकेर लउरो बोक्यो अनि सिलियालाई भन्यो- “दैलो बन्द गर्दे । रुक्मिन आई भने दैलो खोलिदनु अनि फुल्याएर खाना खिलाइदिनु । तेरा लागि आज हुनुहार भयो । थाहा छैन आज मलाई यति रिस किन उठ्यो ? उसलाई मैले कहिल्यै फूलको लौरोले पनि छोएको थिइनँ । कतै मरिहाली भने आपत पर्छ होला ।”

सिलियाले भनी- “थाहा छैन आउँछे कि आउँदिन ? म एक्लै कसरी बस्नू ? मलाई डर लाग्छ ।”

“घरमा को बस्छ ? चकमन्न भएको घर देखेर कसैले लोहोटा, थाली चोरेर लग्यो भने । के को डर र ? अनि रुक्मिन आउँदै होली ।”

सलियाले भित्रबाट दैलो लगाई । पयाग खेततिर लाग्यो ।

अचानक खेतको सिरानमा पुगिसक्दा उसले कुनिउँमा आगो बल्दै गरेको देख्यो । केही क्षणमा आगो दन्किन थाल्यो । चिच्याए करायो- “को छ त्यहाँ ? कसले आगो झोसेको हो ?”

दन्किँदै उभो उठेर आगाको राँकाले आफ्नो आग्नेय चिह्नले उत्तर दियो । अब गएर थाहा भयो कि आगो उसको याक्सामा लागेको रहेछ । उसको छाती उफ्रिन लाग्यो। याक्सामा आगो लाग्नुको अर्थ रुईमा आगो सल्काउनु थियो। हावा चल्दै थियो। याक्सादेखि एक हातको दुरीमा च्यादर ओछियाएको समान पहेँलै पाकेको धान लडिरहेको थियो। यो बेला पनि धानको रङ झल्किरहेको हुन्छ। आगाको एउटा चोयटाले पनि सबै धान भष्म बनाइदिन सक्थ्यो । सबै गाउँ नष्ट हुने थियो । यही खेतीदेखि अरू गाउँ पनि जोडिएका थिए। ती पनि जलिने बढी सम्भावना थियो । आगो हुर्किन्दै गयो। अब विलम्ब गर्ने समय थिएन । पयागले चिलिम, कोइँला, सुर्ती त्यही फ्याँकिदियो । काँधमा लौरो राख्यो अनि याक्सातिर दौडियो । आलीमा दौडिन अप्ठ्यारो हुनाले खेतैखेत कुद्यो । प्रतिक्षण ज्वाला प्रचण्ड हुँदै जान्थ्यो अनि पयाग गति बढाउँदै दौडिन्थ्यो। यो बखत कुनै बतासिने घोडाले पनि उसलाई जित्दैनथ्यो होला । आफ्नो तेज रफ्तारमा स्वयम् आश्चर्यचकित हुँदै थियो । यस्तो लाग्थ्यो उसका पाइला भुइँमा नै परेका छैनन् । उसका आँखा यक्सामा गाडिएका थिए । दाहिने देब्रेतिर उसलाई केहीको होश भएन । यही एकाग्रताले उसका खुट्टामा पखेँटा लगाइदिएको थियो। दम फुलेन । खुट्टा गलेनन् । तीन चार फरलाँग केही क्षणमा पार गरेर याक्सामा पुग्यो। याक्साको छेउछाउ कोही थिएनन् । कसले यो काम गर्यो ? सोच्ने समय पनि थिएन । आगो जलाउनेलाई खोज्नु त पर कै कुरा थियो ।

पयागलाई रुक्मिनमा सन्देह भयो। तर क्रोध गर्ने समय थिएन। अग्निका ज्वालाहरू केटाकेटीजसरी ठट्ठा गर्थे, धक्कामुक्की गर्थे, कहिले दाहिने कहिले देब्रेतिर लप्किन्थे। यस्तो लाग्दै थियो अब खेत सल्किनै आँटेको छ। ज्वाला आलीतिर आग्रहतापूर्वक झ्यामिन्थे अनि असफल भएर फेरि बालीतिर नै लप्किन्थे। आगो कसरी निभाउने ! लौराले हिर्काएर निभाउने उपाय गर्न मिलेन । त्यो त मूर्खता हुने थियो । फेरि के गर्नु त ? धान खरानी भयो भने फेरि कसैलाई मुख देखाउने लायक पनि हुँदैन । हे राम ! गाउँमा हुनुहार हुन्छ । सर्वनाश हुनेछ । अब पयागले धेरै सोचेन । बोधो मान्छेलाई सोच्न पनि आउँदैन । लौरो सम्हाल्यो अनि एक फट्को मारेर याक्साको दैलोमा पुग्यो । जल्दै गरेको याक्सालाई लौराको आङ्कुसेमा अड्काइ टाउकोमा राखेर सबैभन्दा ठुलो आलीमा कुद्दै गाउँतिर भाग्यो ।

यस्तो लाग्दै थियो मानौ अग्नियान हावामा उड्दै जाँदैछ। जलेको पराल उसको माथि खसिरहेको थियो तर उसले केही थाहा पाउँदैन । एकचोटि एक मुठो जलेको छानो उसको हातमा खस्यो । जम्मै हात जल्यो तर पनि उसको पाइला रोकिएनन्, हातम कुनै प्रकारको प्रतिक्रिया देखिएन । हात हल्लिनुको अर्थ खेत नष्ट हुनु थियो । पयागलाई अब केही शंका थिएन । उसलाई यही चिन्ता लाग्दै थियो कि याक्साको केन्द्र भाग जहाँ आङ्कुसे अड्काइको थियो त्यो नजलोस् नत्र त्यो जल्यो भने याक्साको छानो झर्छ अनि मलाई अग्नि समाधिमा परिणत गरिदिन्छ । पयागले यो कुरा बुझिसकेको थियो अनि ऊ हावाको चालमा उड्दै जाँदै थियो । चार फरलाँगको दौड मात्र थियो ।

मृत्यु अग्निको रूप धारण गरेर पयागको शिर र धानमाथि खेल खेल्दै थियो । पयागले यति वेगसँग दौडियो कि ज्वालाको मुख पछाडितिर फर्कियो अनि उसको दन्किने अधिकांश शक्ति वायुसँग लाप्पा खेल्न लाग्यो । नत्र अहिलेसम्म आगो फैलिएर हाहाकार मचाइसक्ने थियो । एक फरलाँग काट्यो, पयागको हिम्मतले हार मानेन । दोस्रो फरलाँग पनि काट्यो । हेर पयाग, अब दुई फरलाँग मात्र शेष छ। खुट्टा सुस्ताउनु हुँदैन । ज्वाला आङ्कुसेमा पुग्यो भने चैँ तेरो जीवनको अन्त छ। मरेपछि पनि तँलाई सबैले गाली दिनेछन् । अनन्तकालसम्म सबैको सरापमा जलिरहने छस्। बस, अब एक मिनट अझै ! अब दुईटा फरलाँग मात्रै रहे । पयागका पाइलासँगै मनमा विचार दौडिरहे । सर्वनाश ! लौराको आङ्कुसे फुस्कियो । याक्साको छानो उधो सर्न लाग्यो । अब केही आशा रहेन ।

पयाग प्राणको माया नमानी दौडिरहेछ । ऊ सिरानको खेतमा आइपुग्यो । अब दुई सेकेण्डको कुरा रह्यो । वियजको द्वार बीस हात अगाडि स्वागत गर्दै थियो । उता स्वर्ग, यता नर्क तर याक्सा सर्किंदै पयागको टाउकोसम्म आइपुग्यो । ऊ अहिले पनि याक्सा फ्याँकेर ज्यान बचाउन सक्थ्यो । तर उसलाई प्राणको मोह लागेन । ऊ जल्दै गरेको आगोलाई टाउकोमा उठाएर दौडिरह्यो । उसका खुट्टा लुल्लिएनन् ।

अब यो क्रुर अग्निलीला हेर्न स्थितिमा हुँदैन । अनायसै अगाडि एकजना महिला रुखको मुनिबाट दौडिँदै पयागको छेउ आइपुगी । ऊ रुक्मिन थिई । उसले तुरुन्तै घाँटी निहुराइ अनि जल्दै गरेको याक्साको मुनि पसेर दुईटै हातले समाती। त्यही बेला पयाग मूर्छित भएर ड्याम्म लड्यो । उसको मुख पूरै झोस्सिएको थियो। रुक्मिन जल्दै गरेको याक्सा लिएर खेतदेखि बाहिरिई तर यत्तिमै उसका हात जले, मुख जल्यो, उसको कपडामा आगो सल्क्यो । उसलाई यति ताकत पनि आएन कि याक्साबाट बाहिर निक्लिन सकूँ । ऊ याक्सा लिएर गर्लम्म लडी । यसपछि केहीबेर याक्सा हल्लियो मात्र । रुक्मिनले हातखुट्टा फ्याँकिरही, छट्पटाइरही । अन्तमा उसलाई आगाले निल्यो।

रुक्मिनले अग्नि समाधि लिई । केही समयमा पयागलाई होस आयो । उसको सबै जिउ जलेको थियो । उसले रुखमुनि आगाको भुङ्ग्रो चखिलो चम्किएको देख्यो । उठेर रुखतिर दौडियो । भुङ्ग्रो पन्सायो। भुङ्ग्रोमुनि आधी जलेकी रुक्मिन फेला परी । बसेर दुइटै हातले मुख छोपेर रुन लाग्यो ।

भोलिपल्ट बिहानै गाउँलेहरूले उसलाई घर लिएर गए । एक हप्तासम्म इलाज चल्यो तर पयाग बाँचेन । केही त आगाले जलाएको थियो, शेष शोकाग्निले पूरा गर्दियो।