चौध
जुन – २००१

भैले फोन रिसिभरमा राखेँ र लामो समय त्यसैलाई हेरिरहेँ । अफ्ल्याटुनले एक पटक भुकेर तर्साएपछि मात्र बल्ल मैले बुझेँ कि कोठा कति शान्त भएको रहेछ | शोरायाले टेलिभिजनलाई म्युटमा राखेकी रहिछन्‌ |

“तिम्रो अनुहार त पहेँलो देखिन्छ, अमीर,“ उनले त्यही उनका बाआमाले हामीलाई हाम्रो पहिलो अपार्टमेन्ट सजाउन भनेर दिएका सोफामा बस्दै उनले भनिन्‌ ।

अफ्ल्याटुनको टाउको आफ्नो छातीमाथि चरप्प समातेर पुरानो तकिया मुन्तिर गोडाहरू लुकाएर उनी त्यही सोफामा पल्टेकी थिइन्‌ । उनको आधा ध्यान टिभीमा आइरहेको मिनेसोटाका ब्वाँसोहरूको दुर्दशा सम्बन्धी कार्यक्रममा थियो भने आधा ध्यान समर-स्कुल क्लासको निबन्धहरू सच्याउनमा थियो । विगत ६ बर्षदेखि उनी त्यही स्कुलमा पढाउँदै थिइन्‌ । उनी उठेर बसिन्‌ र अफ्ल्याटुन सोफाबाट फुत्त तल हामफाल्यो । हाम्रो ककर स्प्यानियल (कुकुर) लाई यो नाम पनि जर्नेले नै राखिदिएका थिए जसको अर्थ फारसी भाषामा “प्लेटो” भन्ने हुन्छ । किनभने उनले भनेका थिए कि कसैले त्यसको पारदर्शी कालो आँखामा घोरिएर धेरै वेर हेर्यो भने उसले कसम खाएर भन्न सक्छ रे कि कुकुरले केही गम्भीर कुराहरू सोच्दै छ ।

अहिले शोरायाको च्यापू मुन्तिर मोटोपनाको संकेत मात्र थियो | दश बर्ष समय बित्दा उनको हिप अलि ठूलो भएको थियो भने घना कालो कपालमा एका-दुई खैरो त्यान्द्राहरू देखिन थालेको थियो । उनको उडिरहेको चराको पँखेटा जस्तै आँखी भौ र प्राचीन अरबीक लेखाइको एउटा अक्षर जस्तै देखिने सुन्दर चुच्चे नाकले गर्दा उनका अनुहार अझै पनि ग्याण्ड बल (Grand Ball) राजकुमारीको जस्तै थियो।

“तिम्रो अनुहार त पहेँलो देखिन्छ,” पत्रिकाको चाङ टेबलमा राख्दै शोरायाले त्यही कुरा दोहोर्याइन् ।
“म पाकिस्तान जानुपर्छ ।”
उनी जुरूक्क उठिन्‌ भनिन् “पाकिस्तान रे ?”
“रहिम खान साह्रै बिरामी छन् ।” यी शब्दहरूमा मेरो मुटु गाँठो पर्यो ।
“काकाको पुरानो व्यवसायको पार्टनर ?” उनले रहिम खानलाई कहिल्यै भेटेकी थिइनन्‌, तर उनको बारेमा मैले बताएको थिएँ । मैले टाउको हल्लाएर हो भनेँ ।

“ओहो, उनले भनिन्‌ । “मलाई यो सुन्दा धेरै दुःख लाग्यो अमीर ।”

“हामी एकदम नजिक थियौं,” मैले भनेँ । “म जब बच्चा थिएँ, उनी मात्र एउटा पाको व्यक्ति थिए जसलाई म साथी सरह ठान्थे | मेरो आँखा अगाडि बाबा र उनी स्टडी कोठाको झ्याल छेउ बसेर चिया सँगै चुरोट पिउँदै गरेको, बगैँचातिरबाट आएको स्वीटब्रायर (Sweetbries) को बास्ना मिसिएको चिसो हावाले उहाँहरूको मुखबाट निस्केको जुम्ल्याहा धुवाँको मुस्लोलाई एकातिर बङ्ग्याएको दृश्य छर्लङ्ग आयो ।

“तपाईंले मलाई त्यो रहिम खानको बारेमा भनेको याद छ,” शोरायाले भनिन्‌ । एकैछिन रोकिइन्‌ । “घर फर्किन कति समय लाग्छ त ?”

“खै ? मलाई थाहा छैन | उनले मलाई भेट्न चाहन्छन्‌ ।”
“हो र ?….”
“हो डराउन पर्दैन, शोराया मलाई केही हुँदैन ।”

यति लामो समयसम्म उनले सोध्न खोजेको प्रश्न पनि यही थियो । पन्ध्र बर्षको वैवाहिक जीवनले हामीलाई एक अर्काको मनका कुरा बुझ्न सक्ने बनाएको थियो । “म बाहिर टहलिन जान्छु ।”
“म पनि सँगै जानुपर्छ ?”
“पर्दैन, म एक्लै जान्छु ।”

म कारमा गोल्डेन गेट पार्क गएँ र पार्कको उत्तरी किनार तर्फ रहेको स्प्रेकल्स तालको छेवैछेउ हिडेँ । यो आइतबारको दिउँसोको एउटा सुन्दर बेला थियो । घाम पानीमा टल्केको थियो जहाँ दर्जनौँ स-साना डुँगाहरू सनफ्रान्सिस्कोको मीठो चिसो हावाले घचेटेर पानीमा तैरिरहेका थिए | म पार्कको एउटा बेन्चमा बसेँ र एउटा बूढोले आफ्नो छोरोतिर फुटबल फ्याँक्दै गरेको हेरेँ । त्यो मान्छेले छोरालाई बल दायाँ बायाँतिर नफालेर काँधभन्दामाथि फाल्न अह्वाउँदै थियो । मैले माथि आकाशतिर हेरेँ र लामो नीलो पुच्छर भएका एक जोडी चङ्गा देखेँ | चङ्गाहरू पार्कको पश्चिम किनारका रूखभन्दा माथि, विन्डोमिलभन्दा पनि सीधै माथि तैरिएका थिए ।

फोनमा बोलेर टुङ्ग्यानुभन्दा ठीक अघि रहिम खानले गरेको एउटा टिप्पणीको बारेमा मैले सोचेँ । उनले त्यो भन्नुपर्ने सबै कुरा भ्याइसकेपछि झ्वास्स याद आएजस्तो गरी, ध्यान अर्कै कुरामा भएजस्तो गरी भनेका थिए | मैले आँखा बन्द गरेँ र क्यारक्यार आवाज आउँदै गरेका फोनको लाइनको पल्लोपट्टि हल्का खुलेको आँठ, अनि एकातिर टाउको ढल्काएका रहिम खानको तस्विर मेरो आँखा अघि उभियो | अनि फेरि उनका ती गहिरा कालो आँखाहरूले हामी बीचको नखुलेको गोप्य कुरातिर संकेत गरे । यो भन्दा अघि म जान्दथेँ कि त्यो उनलाई थाहा थियो । बितेका ती बर्षहरूमा मैले जे शङ्का गरेँ त्यो ठीक थियो । उनलाई असिफ, त्यो चङगा, त्यो पैसा, किरीमिरी बाङ्गो सुईहरू भएको घडीको बारेमा थाहा थियो । उनलाई त्यो सँधैभरि थाहा थियो |

“आउ । राम्रो मान्छे बनेर देखाउन एउटा मौका छ,” रिसिभर राख्नु अघि फोनमा रहिम खानले भनेका थिए । उनले त्यो कुरा अर्कै प्रसङ्गमा बोलिरहँदा झ्वास्स याद आएजस्तो गरी भनेका थिए | फेरि एउटा राम्रो मान्छे बन्ने मौका

म घर जाँदा शोराया आफ्नी आमासँग फोनमा बोलिरहेकी थिइन्‌ | उनी भन्दै थिइन्, “धेरै लामो समयको लागि हैन मदर जान । एक हप्ता, सायद दुई…… हो, तपाईं र पादर (बुबा) मसँगै बस्न सक्नुहुन्छ….. ।”

दुईबर्ष अघि जर्नेलको दाहिने हिप भाँचिएको थियो । उनलाई फेरि त्यही माइग्रेन भएको थियो र रातोरातो लठ्ठ परेको आँखा लिएर कोठा बाहिर निस्कँदा खुम्चिएको कार्जेटमा ठेस लागेर लडेका थिए । उनी चिच्च्याएको सुनेर खाला जमिला भान्साबाट दौडिँदै आएकी रहिछन्‌ । ‘आवाज कुचोको विँड दुई टुक्रा भएर भाँचिए जस्तो सुनिन्थ्यो,” उनले सधैँ यही भन्न रूचाउँथिन्‌ तापनि डाक्टरले भनेको थियो कि यस्तो आवाज सुन्ने कुनै सम्भावना नै थिएन । जर्नेलले भाँचिएको हिप र त्यसपछि थपिएका जटिलताहरू जस्तै निमोनिया, रक्त विसाक्तता, नर्सिङ होमको बसाइको कारणले खाला जमिलाको आफ्नै स्वास्थ्यको बारेमा गर्ने बर्षौँदेखिको गनगनको अन्त्य भएको थियो र जर्नेलको कारणले नयाँ गनगन सुरू भएको थियो । उनको कुरा सुनिदिने जो कोहीलाई पनि डाक्टरले श्रीमान्‌को मृगौलाहरूले काम गर्न छोड्दैछन्‌ भनेको छ भनेर सुनाउँथिन्‌ । ‘तर तिनीहरूले अफगानीको मृगौला कहिल्यै पनि देखेका थिएनन्‌, देख्याथे त ?’ उनले गर्वसाथ भन्ने गर्थिन्‌ । जर्नेलको हस्पिटल बसाइको सबैभन्दा बढी के कुरा सम्झन्छु भने उनी ननिदायसम्म खाला जमिलाले कसरी पर्खेर बस्थिन्‌, उनलाई गीत गाएर सुनाउँथिन्‌ जुन गीतहरू मैले बाबाको क्यारक्यार गर्ने थोत्रो रेडियोमा काबुलमा बजेको म सुन्थेँ ।

जर्नेलको बढ्दो शारीरिक कमजोरी र समयले गर्दा उनको र शोरायाका बीचमा सम्बन्ध अलि सहज भएको थियो । उनीहरू सँगै टहलिन जान्थेँ, शनिबार लन्चमा जान्थे र कहिलेकाहीँ त जर्नेल शोरायाले पढाउँदा कक्षामै पनि बस्थे । त्यही पुरानो टल्किने खैरो सुटमा, काखमा लौरो तेर्स्याएर मुसुक्क हाँस्दै पछाडि बस्थे । कहिलेकाहीँ त उनले नोट पनि सार्थे ।

त्यस रात शोराया र म ओछ्यानमा पल्टेर बस्यौं । उनको ढाड मेरो छातीमा ढेस्सिएको थियो भने मेरो अनुहार उनको कपालले पुरिएको थियो । हामी निधार जोडेर, एक अर्कालाई आनन्दले चुम्बन गर्दै, लोलाएका आँखा लिएर खुसुखुसु सानो मास्तिर फर्किएको बूढी औँला, पहिलो मुस्कान, पहिलो शब्दहरू, पहिलो कदम आदिको बारेमा कुरा गरी बसेको मैले सम्झिएँ । त्यस्तो हामी अझै पनि गर्थ्यौँ, तर त्यो खासखुस स्कुल, मेरो नयाँ किताब र भोजमा कसैको नसुहाउने पहिरन देखेर हाँसेको हाँसो आदिको बारेमा हुन्थ्यो । हाम्रो यौनकिडा अझैसम रामै चलेको थियो । कहिलेकाहीँ त राम्रो मात्रै होइन उत्तम नै हुन्थ्यो, तर कुनै रातहरूमा त यो काम अब नगर्न परे आनन्द हुन्थ्यो जस्तो लाग्थ्यो | स्वतत्र भएर एकातिर लहडिएर, कम्तिमा एकैछिनका लागि किन नहोस् भर्खरै गरेको यौन सम्पर्कको व्यर्थतालाई बिर्सन मन लाग्थ्यो । उनले त्यसो त कहिल्यै पनि भन्थिनन्, तर मलाई थाहा थियो कहिलेकाही शोरायाले पनि त्यस्तै ठान्थिन्‌ । ती रातहरूमा हामी ओछ्यानमा आ.. आफ्नो छेउतिर फर्कन्थ्यौं र हाम्रो मुक्तिदातालाई अर्को संसारतिर लैजान दिन्थ्यौँ । शोरायाको मुक्तिदाता निद्रा हुने गर्थ्यो भने मेरो चाहिँ सदा झैँ एउटा किताब ।

रहिम खानले फोन गरेको रात म अँध्यारोमा ओछ्यानमा पल्टिरहेँ र झ्यालको खिड्की (blinds) बाट छिरेर भित्र आएका दुईवटा समानान्तर प्रकाशको रेखाहरु हेरिरहैँ । कति बेलातिर, सायद ठीक मिर्मिरे भन्दाअगाडि, म भुसुक्क निदाएछु ।मैले सपनामा हरियो चपान ((Chapan) को फेरो (Hem) पछाडि लतार्दै, कालो रबरको बुटले हिउँ चर्मराउँदै हसन हिउँमा दौडिरहेको देखेँ । दुई हातले माइक बनाएर ऊ ज्यान फालेर चिच्च्याउँदै थियो : तपाईंका लागि हजार पटकभन्दा पनि बढी गर्नु सक्छु |

एक हप्तापछि म पोशाकधारी २ जना बायु सेवाका कर्मचारीले चक्काको चोक (Chock) हटाउँदै गरेको हेर्दै पाकिस्ततान ईन्टर नेश्नल एयर लाइनको जाहजमा झ्याल छेउको सिटमा बसेँ । जहाज टर्मिनल भवनबाट खुरूरू बाहिर निस्क्यो र लगत्तै हामी बादल चिर्दै हावामा तैरियौँ । मैले झ्यालमा टाउको टेकाएँ । निदाउनलाई व्यर्थ पर्खेर बसेँ ।