अभियुक्त

सेल्मा लागरलोफको जन्म स्विडेनको मर्मल्यान्डमा सन्‌ १८५० नोभेम्बर २० मा भएको हो । उनी स्विडेनबाट सन्‌ १९०९ मा नोबेल पुरस्कार जित्ने प्रथम लेखिका हुन्‌ ।

उनको पहिलो पुस्तक गोस्टा बर्लिङ अत्यधिक सफल रह्यो । त्यसपछि सेल्मा शिक्षण पेसाबाट अलगिगिइन्‌ र आफूलाई साहित्य लेखनमै समर्पित गरिन्‌ ।

सेल्माको जेरुसेलम नामक उपन्यास तथा अन्य दुई कथा सङ्ग्रहहरू इन्भिजिबल लिङ्क र द क्विन अफ कुङगालामा उनको बौद्धिक प्रतिभा प्रस्फुटित भएको पाइन्छ । अभियुक्त नामक कथा स्केन्डेनेभियन साहित्यमा नै एक चर्चित कथाको रूपमा स्थापित भएको छ । सेल्मा लागरलोफको मृत्यु सन्‌ १९४० मार्च १६ मा उनकै घरमा भयो ।

 

भिक्षुको हत्या गरेपछि एउटा किसान जङ्गल पस्यो । उसलाई अभियुक्त ठहर्याइयो र टाउकाको मोल समेत तोकियो । जङ्गलमा अर्को एक जना भगौडासित उसको भेट भो । टाढाको कुनै टापुबाट भागेर आएको त्यो व्यक्ति अल्लारे उमेरको माझी जसमाथि माछा मार्ने जाल चोरी गरेको अभियोग लागेको थियो । दुबै जनामा घनिष्ठता बढ्दै गयो । पहरा खोपेर घर बनाए गुफाभित्र, मिलीजुली खाना पकाउन थाले । सिकारका लागि धनुषबाण बनाउन थाले । एक-अर्काको रेखदेख समेत गर्न थाले ।

किसान घरबाट कहिल्यै बाहिर निस्किँदैनथ्यो । तर उता माझी जसको अपराध किसानको तुलनामा सानै थियो, जङ्गलबाट टाढा-टाढासम्मको एकान्त गाउँसम्म पुग्थ्यो । गाउँलेहरूबाट मागेको दुध, नौनी घ्यु, लुगाफाटा र धनुकाँडका चुच्चाको सट्टा ऊ तिनीहरूलाई आफूले मारेको जङ्गली जनावर- लुइँचे, कालिज, कुखुराका चम्किला प्वाँख, स्वादिलो मृग र लामकाने खरायोहरू दिने गर्थ्यो । उनीहरूको घर भन्नु नै पहाड खोपेर बनाइएको गुफा थियो । ढोकामा एउटा चेप्टो ढुङ्गा र सुरक्षाका लागि काँडाको भ्याङ ल्याएर राखिएको थियो । पहाडको टुप्पामा एउटा विशाल सल्लाको रुख थियो, अनि चिम्तीबाट निस्केको धुवाँ त्यही रुखको जेलिएको जरामा ठोकिँदै उडेको देखिन्थ्यो । सल्लाको हाँगामा ठोकिँदै आकाशतिर धुवाँ उड्थ्यो र हावामा बिलाउँथ्यो । उनीहरूको गुफामा पुग्न पहाडको भिरालोबाट बग्दै आएको एउटा ठुलै खोला तर्नुपर्थ्यो । त्यो एकान्त र सुनसान ठाउँमा कोही पनि उनीहरूको खोजी गर्दै आउने सम्भावना एकदमै न्यून थियो । कसैले सोच्न पनि सक्दैनथ्यो, त्यतातिर जाने वारेमा सुरु सुरूमा तिनीहरूलाई जङ्गली जनावरलाई जस्तै खोजी गरियो । त्यस भेगका किसानहरू त ब्वाँसो र भालुको सिकारमा जुटेजस्तो देखिन्थ्यो उनीहरूको खोजी गर्ने क्रममा । धनुष काँधमा बोक्नेहरूले जङ्गल घेरे भने भाला बोक्नेहरूले गौँडा-गल्छी र झाडी-बुट्टयान बाँकी राखेनन्‌ ।

ती दुई अभियुक्तहरू डरले थरथर काम्दै अँध्यारो गुफाभित्रै बसिरहे । उनीहरूको खोजीमा हिँडेका मानिसहरू होहल्ला मच्चाउँदै पहाडको टुप्पामा हिँडेको थाहा पाएपछि उनीहरू डरले स्वाँस्वाँ गर्न थाले ।

माझी चाहिँ दिनभरि हलचल नगरी गुफाभित्रै बसिरह्यो तर त्यो हत्यारा भनिएको अभियुक्त चाहिँ गुफाभित्र कोच्चिएर बस्न नसकेपछि बाहिर खुल्ला ठाउँमा निस्क्यो, जहाँबाट शत्रुहरू देख्न सकिन्थ्यो । उसका शत्रुहरूले उसलाई देख्नासाथ पिछा गर्न थाले । लुकेर बस्नुभन्दा खतराको सामना गर्नु नै उचित लाग्यो उसलाई । शत्रु पछि-पछि ऊ अघि अघि दौडिन थाल्यो, फड्को मार्दै खोला तय्यो । ढुङ्गामा चिप्लिँदै अघि बढ्यो । नाकै ठोक्किने उकालो भिर चढ्यो । आपत परेका बेला उसको तागत र जुक्ति भित्रैदेखि उम्लेर आयो । उसले शरीर स्प्रिङ जत्तिकै लचिलो भो त्यति बेला । खुट्टाहरू पनि दरिला भए । उसका हात पनि त्यत्तिकै मजबुत र आँखा, कान, पनि झनै चनाखा भए । पात पतिङ्गरको हरेक सरसराहटको अर्थ बुभयो उसले । ढुङ्गो पल्टिँदा पनि ऊ सचेत रहन्थ्यो ।

चार हातखुट्टा टेक्दै पहाडको उकालो चढ्दै गर्दा शत्रुहरू कहाँ आइपुगे भनेर बेला बेलामा पछाडि फर्केर हेर्थ्यो ऊ । शत्रुहरूलाई गिज्याउँदै चर्को स्वरमा गीत पनि गाउँथ्यो । आफ्नो टाउकोमाथिबाट शत्रुले फ्याँकेका भालाहरू सुइँय गरेर बतिन्थ्यो । ऊ त्यसलाई च्याप्प समातेर शत्रुहरूतिरै प्रहार गर्थ्यो । जब ऊ बाक्ला बुट्टयानहरू पार गरेर भित्र पस्न सफल हुन्थ्यो, तब ऊभित्रको केही चिजले उसलाई आनन्दको गीत गुनगुनाउन प्रेरित गर्थ्यो । एउटा निर्जन एवम्‌ नाङ्गो पहाडको भूभाग तेर्सिएर जङ्गलतिर फैलिएको थियो, जसको टुप्पामा एउटा विशाल सल्लाको रुख ठडिएको देखिन्थ्यो । रुखको फेद रातो र नाङ्गो थियो भने माथिल्लो भागचाहिँ मोटो थियो । रुखको टुप्पामा चिलले गुँड लगाएको थियो; जुन हावाको झोक्कामा नाचिरहेझैँ लाग्थ्यो । त्यो भगौडा यति आँटिलो भएको थियो कि अर्को दिन चिलको गुँडलाई लक्षित गर्दै ऊ रुख चढ्यो भने उसका शत्रुहरू चाहिँ उसलाई तलतिर भिरालो जङ्गलमा खोज्न व्यस्त देखिन्थे । यता चिलको गुँड भेट्टाउनासाथ उसले चिलका बच्चाहरूको घाँटी निमोठ्यो भने उता उसका णत्रुहरू चाहिँ जङ्गलमा भौँतारिदै थिए । बच्चा मारेको रिसमा माउ चिलहरू जोडले कराइरहेका थिए । बेला बेलामा उसको अनुहारमा ठुड्न खोज्ये माउ चिलहरू । चुच्चा उसका आँखाको पर्न थाले । पखेटा फटफटाउँदै आक्रमण गर्न थाले । उसका खस्रो छालामा नङ्ग्राले चिथोर्न थाले । चिलको आक्रमणको पर्वाह नगरी हाँसी-हाँसी भिडरह्यो । चक्कुले चिललाई हान्नै लाग्दा ऊ उभियो । लडाइँको उन्मादमा उसले सारा खतराहरू बिर्स्यो । शत्रुले आफूलाई लखेट्दै ऊ भने सम्झेपछि उसले तलतिर खुब नियालेर हेर्यो ।

उसका शत्रुहरू अर्कै दिशातिर लागिसकेछन्‌ । कसैले पनि मास्तिर फर्केर हेर्ने कष्ट गरेनन्‌ । जहाँ उनीहरूको सिकार स्कुले केटो झैँ ज्यानको बाजी लगाएर आरामले चकचक गर्दै थियो । आफू सुरक्षित छु भन्ने थाहा पाएपछि ऊ शिरदेखि पाउसम्मै लुगलुग काम्दै थियो । थरथर कामेका हातले उसले रुखको हाँगा समात्यो, अनि रुखको टुप्पाबाट रिँगटा लागेकै भए पनि तलतिर हेर्न थाल्यो । रुखबाट खसिएला भन्ने पीर, चिलका आक्रमणको पिर, शत्रुले देख्ला भन्ने पिर त्यत्तिकै, यसरी हरेक संम्भावित खतराबाट डर मान्दै मान्दै ऊ सुरेली खेल्दै रुखबाट ओर्ल्यो । र भुइँमा पल्ट्यो अनि झाडीभित्र नछिरुन्जेल कमलो ढुङ्गामाथि घिस्रिरह्यो ।

सल्लाको जेलिएको हाँगाहरूमा ऊ लुकिहाल्यो । हरियो लेउ लागेको भुइँमा पल्टयो । उसलाई लाग्यो, एक जना मात्रै आयो भने पनि उसलाई पक्रिन सक्छ ।

माझीको नाम टोर्ड थियो । भर्खरै सोह्र वर्षमा टेकेको भए पनि ऊ आँटिलो र हट्टाकट्टा देखिन्थ्यो । ऊ जङ्गलमा बस्न थालेको पनि पूरै एक वर्ष भैसकेको थियो ।

किसानको नाम चाहिँ बर्ग थियो । मानिसहरू उसलाई पहलमान भनेर बोलाउँथे । देख्नमा ऊ हृष्टपुष्ट र सुन्दर थियो । गाउँभरिकै अग्लो र बलियो मान्छे ठानिन्थ्यो उसलाई । काँध फराकिलो भए पनि उसको जिउ भने सलक्क परेको थियो । कहिल्यै काम नगरेका जस्तो उसका हातहरू नरम थिए । कपाल हल्का खैरो देखिन्थ्यो भने अनुहार चाहिँ हल्का नरम खालको । केही समयको जङ्गलको बसाइपछि उसको साहसमा कमी आएको महसुस भो उसलाई झुस्स फुलेका आँखीभौँ मुनि आँखाहरू टोड्को परेका देखिन्थे भने निधार चाउरी परेको थियो। ओठ पहिलेको भन्दा खाँदिएको, अनुहारमा थकान प्रस्ट देखिन्थ्यो । कन्चट पूरै गढेको, हाडहरू गिङ्ग्रेड्ग बाहिर उछ्ट्टिएको देखिन्थ्यो । शरीरका नरम भागहरू बिलाइसकेका थिए । तर मांसपेशीहरू भने इस्पात जत्तिकै बलियो भएर आएका थिए । कपाल पनि छिटो छिटो फुल्दै गइरहेको थियो । टोर्डले भने आफ्नो जिन्दगीमा अहिलेसम्म बर्गजस्तो भव्य र आँटिलो मान्छे देखेकै थिएन । बर्गलाई उसले जङ्गलका रुख जत्तिकै अग्लो र पानीको छालजत्तिकै बलवान्‌ देख्यो । एउटा नोकरले मालिकको सेवा जसरी गर्छ उसै गरी उसले बर्गको सेवा गर्यो । भगवानै ठान्यो उसले बर्गलाई । टोर्डका लागि भाला बोकेर वनतिर जानु, सिकार बोकेर घर ल्याउनु, पानी ल्याउनु, आगो फुक्नु सबै काम सामान्य लाग्थ्यो बर्गलाई । टोर्डका सम्पूर्ण सेवाहरू स्विकार्थ्यो बर्ग । तर कहिल्यै मिठो बचन बोल्दैनथ्यो टोर्डसित । टोर्डलाई खालि एउटा चोरको दृष्टिले मात्रै हेर्थ्यो ।

चोरी गरेर मात्र ज्यान पाल्न सम्भव भएन । उनीहरूका लागि सिकार खेल्न र माछा पनि मार्नुपर्ने भो बाँच्नका लागि । यदि बर्गले एक जना धार्मिक व्यक्तिलाई नमारेको भए सायद गाउँहरूले उसको खोजी नगरी त्यत्तिकै पहाडको अनकन्टार जङ्गलमा छाडिदिने थिए होलान्‌ । तर ईश्वरको भक्तलाई मार्ने मान्छेलाई दण्ड सजाय नदिई त्यत्तिकै छाडिदिने हो भने गाउँमा झ्नै अराजकता फैलिहाल्छ भन्ने सोचाइ थियो उनीहरूको । सिकार बोकेर जब टोर्ड उपत्यकातिर लाग्थ्यो, तब पहलमान बसेको गुफामा यदि टोर्डले पुर्याइदिने हो भने उसलाई माफी दिइने छ साथै पैसा पनि दिइने छ र बर्ग सुतिराखेकै अवस्थामा उसलार्इ पक्रिन सकिने, छ भन्ने गाउँलेहरूको प्रस्तावलाई उसले ठाडै अस्वीकार गरिदियो । उसले सोच्यो यदि गाउँलेहरू उसको पछि पछि लागिहालेछन्‌ भने पनि उसलाई पछ्याउन नछोडुन्जेल जथाभावी हिँडाइराख्ने छ । एकपटक बर्गले टोर्डलाई कतै गाउँलेहरूले फकाइ फुल्याइ गर्ने कोसिस त गरेका छैनन्‌ भनेर सोधी हेप्यो । गाउँहरूले उसलाई राम्रै पुरस्कार दिन लागेको तर टोर्डले त्यसलाई अस्वीकार गरेकोमा मूर्ख भनी गाली गर्यो । टोर्डले बर्गलाई यसरी हेप्यो कि, त्यसरी त कहिल्यै उसलाई कसैले हेरेको थिएन । आफू जवान छँदा प्रेम गरेको सुनार केटीहरूले पनि त्यसरी उसलाई हेरेका थिएनन्‌ होला सायद । न त उसले त्यस्तो हेराइ आफ्ना श्रीमती र बच्चाहरूमा नै देखेको थियो । न त त्यस्तो प्रेम नै देखेको थियो उसले ।

“तिमी त मेरो भगवान्‌ हौ, आफूखुसी चुनेको शासक हौ तिमी । टोर्डका आँखाहरूले त्यसै भनिराखेका थिए । तपाईं मलाई गाली गर्नुस्‌ पिट्नुस्‌ तर म तपाईंप्रति बफादार रहि नै रहने छु ।”

त्यसपछि भने बर्गले त्यो केटाप्रति बढी नै चासो देखाउन थाल्यो । उसले थाहा पायो, केटो आँटिलो छ, खालि बोल्न मात्रै लाज मान्छ । मर्नदेखि डराउँदैनथ्यो ऊ । पहाडको तलाउमा जमेको हिउँमाथि होस्‌ या गर्मीयामको खतरनाक चिसो सतह नै किन नहोस्‌, ऊ आफ्नो बाटो आफैँ तय गर्थ्यो जानी जानी । खतरा मोल्दा उसलाई आनन्द आउँथ्यो । डरलाग्दो समुद्री आँधीसित जुध्न नपाए पनि सानातिना खतरासित जुध्न पाउँदा केही हदसम्म सान्त्वना मिल्थ्यो उसलाई । राति जङ्गलमा चकमन्न हुँदा ऊ डरले थरथर काम्थ्यो फत्यति मात्रै होइन दिउँसै बाक्ला बुट्टयान र काला छायाँले उसलाई खुब तर्साउँथे । बर्गले यस विषयमा सोध्नासाथ टोर्ड अलमल्ल पर्थ्यो ।

गुफाको पछाडिपटिटको अगेनाको छेउमा कहिल्यै सुत्दैनथ्यो टोर्ड । तर हरेक रात बर्ग निदाउनासाथ टोर्ड ढोकातिर जान्थ्यो अनि फराकिलो ढुङ्गामाथि पल्टिबस्थ्यो । बर्गले थाहा पाइहाल्यो किन ऊ बाहिर जान्छ भन्ने कुरा तैपनि उसले टोर्डलाई सोधिहेर्यो टोर्ड जबाफ दिँदैनथ्यो । टोर्डले थप प्रश्न सोधेर हैरान पार्ला भन्ने पिरले दुई रात अगेनाको छेउमा सुतिदियो । त्यसपछि उसले पुनः पहिलेकै ठाउँमा गएर सुत्न थाल्यो ।

एक रात ठुलो हिमपात भो, रुखहरू, बुट्टयानहरू पूरै हिउँले ढाकिए हिउँका डल्लाहरू उनीहरू बस्ने गुफासम्मै मडारिएर आउन थाल्यो । ढोकामा सुतेको टोर्डले भोलिपल्ट बिउँझिदा आफूलार्इ हिउँले घेरिराखेको देख्यो । छयाप्पै हिउँले छोपिसकेछ उसलार्इ । त्यसको एक दुर्इ दिनपछि ऊ बिरामी पर्यो ।

सास फेर्न खोज्दा फोक्सोमा भित्रैदेखि दुखेको अनुभव भो उसलाई । आफ्नो तागतले भ्याएसम्म त उसले दुखाइ सह्यो । तर एक दिन बेलुका आगो फुक्न निहरिन खोज्दा भक्लक्क लडेको टोर्ड त्यसपछि उठ्न सकेन । बर्ग आइपुग्यो अनि उसलाई तातो ओछ्यानमा आराम गर्न सल्लाह दियो । दुखाइको पीडाले चिच्यायो तर हलचल गर्न भने सकेन । बर्गले उसलाई पाखुरामा समातेर लग्यो अनि ओछ्यानमा सुताइदियो । टोर्डलाई समात्दै गर्दा बर्गलाई चिसो सर्प समाते जस्तो लाग्यो । घिनलाग्दो घोडाको मासु खाएजस्तो अनुभव भो उसलाई । एक प्रकारको विकर्षण पैदा भो बर्गलाई, किनभने त्यस्तो जाबो चोरलाई समेत छुनुपर्यो उसले । आफूसित भएको न्यानो भालुको छाला ओढाइदियो अनि पानी पनि खुवाइदियो बर्गले । उसले गर्न सक्ने त्यति नै थियो, गर्यो । त्यति साह्रो चर्को बिमारी नभएको हुनाले टोर्डलाई छिटै निको भो ।

तथापि बर्गले आफ्नो साथीका कामहरू केही दिनका लागि गरिदिनै पर्ने भो, साथै उसको स्याहार पनि । एकापसमा निकै नजिकिए उनीहरू यो घटनाले गर्दा । दुवैजना अगेनाको छेउमा बसेर धनुकाँड काटिरहंदा टोर्ड यदाकदा बर्गसित बोल्थ्यो । “पक्कै पनि तिमी खानदानी परिवारबाट आएको हुनुपर्छ वर्ग ।” टोर्डले एक दिन साँझपख भन्यो- “तिम्रा आफन्त पनि यो उपत्यकाभरिकै धनी हुनुपर्छ । तिम्रै थर भएका मानिसहरूले राजाको सेवा गर्नुका साथै किल्लाको सुरक्षार्थ लड्दै आएका छन्‌ ।”

“किल्लाको सुरक्षार्थभन्दा पनि उनीहरूले बढी विद्रोहीहरूसित लडेका छन्‌, अनि राजाको सम्पत्तिमा क्षति पुर्याएका छन्‌” बर्गले भन्यो ।

“तिम्रा पुर्खाहरूले त क्रिसमसमा ठुलै भोजको आयोजना गर्थे होलान्‌ सायद । घरमा भएको बेला त तिमी पनि त्यस्तै भोजको आयोजना गर्थ्यौ होला हैन ? भव्य हलमा सयौँ महिला पुरुष आमन्त्रित गरिए होलान्‌ । त्यो हल सेन्ट ओलाफको समयभन्दा पहिले बनेको थियो, जो पछि मिकेनको बपतिष्मा गराउने बेलामा आएका थिए । कडा रक्सीले भरिएका ठुला-ठुला चाँदीका जलपात्रहरू र बहुमूल्य सिङहरू टेबुल वरिपिर सजाइन्थे ।”

बर्गले त्यो केटातिर हेर्यो । हत्केलामा टाउको अडयाएर ओछ्यानको एक छेउमा बसिराखेको थियो उ । आँखै छोप्ने गरी लत्रेको घुम्रिएको कपाल उ घरी घरी पछाडि लैजान्थ्यो ।

बिमारले गर्दा उसको अनुहार फुङ्ग उडेको थियो । ज्वरो तापले तापले गर्दा उसका आँखाहरू रसिला देखिन्थे । आफ्नो कल्पनाको तस्बिर मनमा उतार्दा ऊ मुसुक्क हाँस्यो । त्यो ठुलो हल चाँदीका जलपात्र भव्य पोसाकमा सजिएका पाहुनाहरू, अनि पाहुनाको स्वागतमा व्यस्त बर्ग यी सबै कुराको तस्बिर मनमा उतारिरहेका थियो टोर्ड । किसानलाई थाहा भो, उसको दिन बलेका बेलामा पनि उसलाई यति सम्मानपूर्ण नजरले, प्रशंसायुक्त आँखाले कसैले हेरेको थिएन । जित यो केटोले आज उसलाई हेर्दै थियो । छालाको थोत्रो ज्याकेट लगाएर अगेनाको छेउमा बस्दै गर्दा उसका मनमा उठेका तरङगहरू थिए यी । टोर्डका कुराले उसको मन छोयो तर खुसी हुन भने सकेन । यस्तो मामुली चोरलाई उसको प्रशंसा गर्ने के अधिकार ? के हैसियत ?

“के तिम्रो घरमा यस्ता खालका भोजहरू आयोजना गरिन्नथ्यो र ?” उसले सोध्यो- “टोर्ड खिसिक्क हाँस्यो, त्यो पहरामा जहाँ मेरा बाबुआमा बस्छन्‌ । बाबु क्षतिग्रस्त जहाजभित्र पसेर लुटपाट मच्चाउँछन्‌ भने आमा बोक्सी छिन्‌ । जब आँधीतुफान आउँछ तब उनी सिल माछा पछाडि चढ्छिन्‌ । अनि जहाजको खोजीमा निस्किन्छिन्‌ । क्षतिग्रस्त जहाजबाट निस्केका मान्छेका लास जित सबै उनकै सम्पत्ति बन्छ ।”

“के गर्छिन्‌ त ती लासहरूलाई उनले ?” बर्गले सोध्यो- “अहो ! बोक्सीलाई त सधैँ लास नै त चाहिन्छ । लासबाट उनी कि मलम बनाउँछिन्‌ कि लास नै खान्छिन्‌ सायद । जुनेली रातमा उनी पानीको छालसितै बग्दै जान्छिन्‌ र पानीमा डुबेर मरेका बच्चाहरूको आँखा र औँलाहरू खोजी हिँड्छिन्‌ ।”

“कस्तो डरलाग्दो कुरा !” बर्गले भन्यो । केटोले बडो शान्त भावमा आत्मविश्वासका साथ जबाफ दियो “यो त बोक्सीले आफ्नो लागि गर्ने गर्दिन अरू कसैका लागि हो । यस्तो काम नगरी रहन सक्दिनन्‌ उनी ।”

बर्गका लागि समग्रमा भन्नुपर्दा जीवनप्रति हेर्न एउटा नयाँ दृष्टिकोण थियो यो।

“उसो भए चोरले चोर्नैपर्ने बोक्सीहरूले टुनामुना गरे जस्तो ?” तिखो स्वरमा बर्गले प्रश्न तेर्स्यायो ।

“हो त नि!” केटोले भन्यो “हरेक व्यत्तिले आफू जेका लागि जन्मेको हो त्यो काम गर्नैपर्छ ।

उसको ओठमा लज्जामिश्रित कुटिल मुस्कान दौडयो । उसले थप्यो- “कोही कोही चोरहरू यस्ता पनि हुन्छन्‌ जो कहिल्यै चोरी गर्दैनन ।”

“तिमीले भन्न खोजेको के?” बर्गले सोध्यो । केटो अझै रहस्यमय हाँसो हाँस्दै थियो । साथीलाई पहेली दिन सकेकामा ऊ खुसी देखिन्थ्यो । “यस्ता पनि चरा हुन्छन्‌, जो उड्न सक्दैनन्‌ जिन्दगीमा कहिल्यै केही नचोर्ने चोर पनि हुन्छन्‌” टोर्डले भन्यो । बर्गले केही पनि नबुझेजस्तो बहाना गर्दै सोध्यो, “कसरी हुन सक्छ त्यस्तो ? जसले कहिल्यै चोरी गरेन ऊ कसरी चोर हुन सक्छ र ?”

बोली नै बन्द भएजस्तो गरी केटाको ओठ ठप्प बन्द भो । “यदि कसैको बाबु नै चोर छ भने” अलि बेर रोकिएपछि ऊ फेरि बोल्न थाल्यो ।

“एउटा व्यक्तिले घर, सम्पत्ति, पैसा बाबुबाजेबाट प्राप्त गर्न सक्छ, चोर नाम त्यसैको हुन्छ जसले चोरी गर्छ ।

टोर्ड मुसुक्क हाँस्यो, कहिलेकाहीँ परिबन्दले नै मान्छेलाई चोर बनाउँदो रहेछ । आमाले नै बाबुको अपराध बोकिदिन छोरालाई गुहार्छिन्‌ । त्यस्तो परिस्थितिमा एउटा छोरो लज्जाबोध गर्दै जङ्गल पस्न बाध्य हुन्छ र यसरी एउटा मान्छे आफूले कहिल्यै देख्दै नदेखेको माछा मार्ने जाल चोरेको निहुँमा अभियुक्त ठहरिन्छ ।

आवेशमा आएर बर्गले टेबुलमा मुठूठी बजार्यो । एउटा बलियो सुन्दर केटो अर्काका लागि आफ्नो सारा जीवन खेर फालेको छ । न त प्रेम, न त धन, न त आफन्त वा इर्षटमित्रको सम्मान नै पाएको छ । जाबो एक पेट खान, एकसरो लाउनबाहेक अरू उसले केही पाएन । बर्गले यसरी एउटा निर्दोष मान्छेलाई महत्त्वहीन तुल्याइदिएको थियो । बर्गले टोर्डलाई चर्को गाली गर्यो ।
तर जसरी एउटी आमाले आफ्नो बच्चा बिरामी हुँदा गाली गर्छै र बच्चा डराउँछ टोर्ड त्योभन्दा बढी डराएन ।

घना जङ्गलले ढाकेको पहाडको टुप्पामा पानीको धमिलो तलाउ थियो । वर्गाकार त्यस तलाउको किनारहरू सिधा थिए भने त्यसका कुना सिपालु कालिगढले बनाए जस्तो प्रप्ट देखिन्थे । तलाउको तीनतिर भिराला चट्टान पर्खालका रूपमा उभिएका थिए । सल्लाका रुखहरू चट्टानसितै टाँसिएका थिए, जसका जराहरू मान्छेको पाखुराजत्तिकै मोटा देखिन्थे । घाँसको लहरा नभएको पानीको सतहमा सल्लाका जराहरू जेलिएर गाँठो परेको देखिन्थ्यो । यस्तो लाग्थ्यो मानौँ पानीको छालबाट उम्किन खोजेका थुप्रै सर्पहरू सङ्घर्ष गर्दा गर्दा असफल भई ढुङ्गामा परिणत भएजस्तो । अर्थात्‌ त्यो आकसति लामो समयसम्म पानीमा डुबेर सडेगलेका मानिसहरूको कङ्काल त हैन जसलार्इ पन्छाउन तलाउको पानिले निरन्तर प्रयास गरिरहेको त छैन ? सल्लाहका हाँगाबिँगाहरू भद्रगोलसित जेलिएका थिए भने लहराहरू चट्टानको भित्रसम्म छिरेका थिए । तिनै बलियाबाङ्गा रुखका हाँगाहरूले बुढो रुखलाई नै थेगिराखेको देखिन्थ्यो । तर जितसुकै मोटा हाँगाबिँगा भए पनि उत्तरी वायुको झोक्काले सल्लाका रुखलाई लडाउला जस्तो गरी हल्लाउँथ्यो परसम्म । परिणामस्वरूप रुखका सम्पूर्ण भागहरू पानीमा डुब्ये जसले गर्दा माछाहरूले लुक्ने ठाउँ पाउँथे भने जराहरू पानीमा तैरिँदा डरलाग्दो राक्षसको हात तैरिएजस्तो लाग्थ्यो । यी सबै परिस्थितिका कारण तलाउको रूप अति अनाकर्षक देखिन्थ्यो ।

सानो तलाउको चौथो भागपट्‌टिबाट पहाड अलि भिरालो पर्दै गएको थियो । एउटा सानो खोल्सो कलकल गर्दै बगेको देखिन्थ्यो र त्यसले एउटा निश्चित बाटो तय गर्नुअघि नै खोल्सो चट्टान र ढिस्काहरूको अवरोधले गर्दा अर्कै दिशातिर मोडिसकेको हुन्थ्यो टापुको समूह निर्माण गर्दै । तीमध्ये केहीले खुड्किलोको काम गर्थे भने केहीले चाहिँ आफ्नो पिठयुँमा बिसवटा जित रुखहरू थामेर बसेका देखिन्थे ।

घामको किरणलाई छेक्न सक्ने अग्ला चट्टान नभएको ठाउँमा चाहिँ हल्का पात हुने रुखहरू उम्रेका हुन्थे । नरम पात हुने बैँसको रुख, भोजवृक्षले त्यस ठाउँलाई सुन्दरता प्रदान गर्नुका साथै सुगन्धित तुल्याइदिएका थिए ।

तलाउको प्रवेशद्वारमा मान्छेजत्रै अग्लो जलबेतको जङ्गल थियो । त्यसलाई छिचोलेर घामको किरण पानीमा पर्दा तलाउ हरियो देखिन्थ्यो, जस्तो जङ्गलको भ्याउ माथि पर्दा देखिन्थ्यो । नर्कटको घारी भएको ठाउँमा अलि सादा देखिन्थे अलि गोलाकार देखिन्थे । गुरुत्वाकर्षणले गर्दा अग्ला जलवेराका रुख तलतिर ‘झुकेका थिए, जसले गर्दा ती रुखहरू अझ बढी सुन्दर देखिन्थे, जसमा सेता पात र पहेँलो केन्द्रीय भाग सूर्यास्त सँगसँगै छोपिन पुग्थे ।

चर्को घाम लागेको एक दिन दिउँसोतिर ती दुई अभियुक्तहरू माछा मार्ने उद्देश्यले तलाउमध्येको एउटा सानो तलाउमा आए । उनीहरू नर्कटको घारी छिचोल्दै दुईवटा ठुला डुङ्गामाथि आएर बसे । अनि तलाउभित्रको ठुलो हरियो र चम्किलो माछा पक्रिने लोभमा बल्छी हान्न थाले । जुन तल पानीमुनि निदाएजस्तो देखिन्थ्यो । ती अभियुक्तहरू जसको पूरै जिन्दगी पाखापखेरामा बित्यो, उनीहरू यति खेर बोटबिरुवा र जङ्गली जनावर झै पूरै प्रकृतिको नियन्त्रणमा आइसकेका थिए ।

घाम लाग्दा उनीहरू खुसीले उन्मुक्त हुन्थे भने, साँझ परेपछि शान्त हुन्थे । रात एकदम शत्तिशाली हुन्थ्यो । उनीहरूको पूरै शक्ति खिचेर लैजान्थ्यो । उनीहरू भयभीत हुन्थे । अनि नर्कटको घारीबाट छिरेको हरियो प्रकाशले पानीबाट उत्सर्जित घामको सुनौलो खैरो एवम्‌ गाढा हरिया किरणसित मिसिएपछि अनौठो जादु उत्पन्न हुन्थ्यो । बाहिरी संसारसित पूरै विच्छेद थिए उनीहरू । नर्कटको घारी शीतल हावासितै लहराउँदै सुसाउँथ्यो भने जलवेतहरू गुनगुनाउँथे, अनि रिबन जस्ता देखिने लामा लामा पातहरूले सुस्तरी उनीहरूको अनुहारमा हिर्काउँथे । खैरो रङको छालाका लुगा लगाएका ती अभियुक्तहरू खैरो रङको ढुङ्गामाथि बस्दा ढुङ्गा हो कि मान्छे, चिन्नै मुस्किल पर्थ्यो । ढुङ्गाको सालिक जस्तो शान्तसित एक अर्काको आमुन्नेसामुन्ने बसेका थिए । उनीहरूले नर्कटको घारीसामु तलाउमा एउटा ठुलो माछा पौडिरहेको देखे, जुन इन्द्रेणीका सातै रङमा चम्किरहेको थियो । बल्छी फालेपछि झारहरू बिच पानीमा उत्पन्न लहरहरू हेर्न थाले, तरङगको गति बढ्दै गएको आभास भो उनीहरूलाई । निकै गहिरो पानीमा मस्त निदाइरहेकी जस्ती थिई, त्यो जुन झट्ट हेर्दा आधा मान्छे, आधा माछा जस्तो देखिन्थी । उत्तानो परेर पल्टेकी थिई त्यो निक्सी, त्यसको नजिकैबाट दौडिरहेको पानीको तरङगले गर्दा यसअघि उनीहरूले त्यसलाई देख्न सकेका थिएनन्‌ । त्यसले सास फेर्दा पानीको सतह हल्लिएजस्तो लाग्थ्यो । तर ती दुई अभियुक्तलाई निक्सी पल्टिरहेको दृश्य खासै अनौठो लागेन । जब निक्सी एकैछिनपछि गायब भई, तब उनीहरूलाई आफूले भर्खरै देखेको कुरा कतै भ्रम त थिएन भन्ने लाग्न थाल्यो ।

उनीहरूको आँखा हुँदै मस्तिष्कसम्म हरियो प्रकाश हल्का नशाको रूपमा प्रवेश गर्यो । नर्कट घारीमाझ काल्पनिक दृश्य देखे, उनीहरूले त्योदृश्यका वारेमा एक अर्कालाई सुनाएनन्‌ । उनीहरूको माछा मार्ने काम पनि खासै भएन । काल्पनिक दृश्य र सपना देख्दादेख्दै दिन बित्यो ।

नर्कट घारीको माझबाट डुङ्गाको बहना चलेको आवाज आउनासाथ उनीहरू सपनाबाट भल्याँस्स ब्युँफ । एकैछिनमा एउटा विशाल डुङ्गा रुखको ठुटा हुँदै अगाडि बढेको देखियो । टेक्ने लठ्ठी जत्रा बहानाले डुङ्गा चलाउन ठिक पारिँदै थियो । लिलीका फूलहरू सँगाल्दै गरेकी एउटी चिटिक्क परेकी युवतीका हातमा थिए बहनाहरू । गाढा खैरो रङको कपाल ठुला ठुला काला आँखा भएकी ती युवतीको अनुहार भने फिका देखिन्थ्यो । धेरै फिका त होइन अलि हल्का गुलाबी रङको । गाला पनि त्यति साह्रो चम्किलो थिएन अनुहारको तुलनामा । ओठ पनि कमै राता थिए । राता लुगामा सजिएकी ती युवतीको छालाको पेटीको बकलचाहिँ सुनौलो रङको थियो । निलो रङको स्कर्टको तल्लो किनारा भने रातो खालको थियो । ती अभियुक्तलाई हेर्दै नहेरी नजिकैबाट डुङ्गा खियाउँदै अघि बढी ऊ । तिनीहरू एकदम शान्तसित वसे, आफूहरूलाई त्यस युवतीले देख्ली भन्ने पिर भन्दा पनि निर्विध्न रूपमा त्यस युवतीलाई हेर्ने धोको थियो उनीहरूको । त्यस युवती त्यहाँबाट गइसकेपछि ढुड्गाका सालिकहरू फेरि मान्छे बने र मुसुक्क हाँस्न थाले ।

“कमलको फूल जस्तै सेती पो रहिछे त्यो त हगि ?” एउटाले भन्यो ।

त्यही त, उसका आँखा चाहिँ त्यो सल्लाको रुखको जरामुनिको कालो पानी जत्तिकै कालो । दुवैजना यत्ति खुसी भए कि हाँसौँ हाँसौँ लाग्यो उनीहरूलाई, जिन्दगीमा कहिल्यै नहाँसेको हाँसो । यस्तो हाँसो, चट्टानबाट प्रतिध्वनित भएको उक्त हाँसोले सल्लाको रुखको जरै समेत हल्लिएला जस्तो ।

“खुब राम्री लागी कि क्या हो त्यो केटी तिमीलाई ?” पहलमान जस्तो देखिने बर्गले सोध्यो । “खै, त्यो त थाहा भएन मलाई । फुत्तै गइहाली, सायद राम्रै थिई होला ।”

सायद तिमीले राम्रोसित हेर्ने आँटै गरेनौ । निक्सी नै हो जस्तो लाग्छ तिमीलाई ?

एक चोटि फेरि उनीहरूलाई हाँसौँ हाँसौँ लाग्न थाल्यो ।

सानै छँदा टोर्डले डुबेर मरेको मान्छे देखेको थियो । समुद्र किनारमा दिउँसै लास भेटेको थियो उसले । लास देख्दा उसलाई डर लागेको थिएन, तर राति डरलाग्दो सपना देख्यो । समुद्रतिर हेरिरहे जस्तो लाग्थ्यो उसलाई । समुद्रको प्रत्येक छालले उसको खट्टामा लास ल्याएर फालिदिन्थ्यो । उसले सपनामा सारा चट्टान र टापु डुबेर मरेकाहरूको लासले भरिएको देख्थ्यो । डुबेर मरेकाहरूको लास त समुद्रकै त हुन्थ्यो, तर ती लासहरू चल्न, बोल्न र आफ्ना अररो सेता औँलाहरू तेर्स्याएर तर्साउन खोज्थे । अनि आज पनि त्यस्तै भो । जुन केटीलाई उसले दिउँसो नर्कट घारीमा देखेको थियो, त्यही केटी उसको सपनामा आई । सपनामा उसले त्यसलाई फेरि धापिलो तलाउको पिँधमा भेट्यो जहाँ नर्कट घारीको भन्दा बढी हरियो प्रकाश देखिन्थ्यो । उसको सुन्दरतालाई नजिकबाट नियाल्ने अवसर पायो उसले । सपनामा उसले आफू विशाल सल्लाको जरामाथि बसिरहेको देख्यो । तलाउको बिचमा रहेको उक्त रुख हावाहुरीले गर्दा कहिले तल, कहिले माथि गरी हल्लिरहेको थियो । त्यसपछि उसले तिनलाई एउटा सानो टापुमा बसिराखेको देख्यो । लाँकुरीको रुखमुनि असुर ऊ खुब खिसी गरेर हाँसिरहेकी थिई । अन्तमा त्यसले उसलाई चुम्बन गरेकी थिई सपनामै । सपनाबाट बिउभिँदा उज्यालो भैसकेको रहेछ, अनि बर्ग उठ्दै गरेको थाहा पायो उसले । फेरि सपना देख्न सकिन्छ कि भनेर जबरजस्ती आँखा चिम्लने कोसिस गर्यो टोर्डले । साँच्चिकै बिउँझिँदा राति सपनामा देखेको कुराले गर्दा ऊ स्तब्ध थियो, साथै रिङगटा लाग्लाजस्तो भैराखेको थियो ।

अघिल्लो दिनको भन्दा पनि बढी नै त्यो केटीको वारेमा सोच्न थाल्यो साँझपख उसले । बर्गलाई त्यो केटीको नाम थाहा छ कि भनी सोधिहेर्यो । बर्गले उसलाई खुब तिखो नजरले हेर्यो । “छिट्टै उनको नाम जान्दै नै तिमीलाई राम्रो होला” उसले भन्यो । उसको नाम हामी एक अर्कामा गाँसिएका छौँ र त्यसपछि टोर्डलाई थाहा भो कि तिनै फुसरी महिलाकै कारण पहाड र जङ्गलका बिच यस्तो दुःखद्‌ जीवन बिताउन परिरहेछ बर्गले । उसका वारेमा आफूले सुनेका कुरा सम्झने प्रयास गर्यो टोडले । ऊ एउटा स्वतन्त्र किसानकी छोरी थिई । उसकी आमाको निधनपछि ऊ बाबुको रेखदेखमा हर्किई । जन्मजात स्वभाव नै स्वतन्त्र रहने भएकाले पनि ऊ कुनै लोग्नेमान्छेसामु आफ्नो अस्तित्व सुम्पने पक्षमा थिइन्‌ । बर्ग र ऊ नातामा काका-भतिजी पर्थे । हल्ला के पनि फिँजिएको थियो भने, बर्ग आफ्नो घरमा काम गरेर बस्नु भन्दा ऊ उसका केटी साथीहरूसित जिस्केर बस्न रुचाउँथ्यो । एक चोटि क्रिस्मसमा बर्गको घरमा भव्य पार्टीको आयोजना गरिँदै थियो । उसकी श्रीमतीले द्रक्समार्कको एक जना भिक्षुलाई पनि निम्ता पठाएकी थिई । अर्की आइमाईसित सल्केर आफ्नी श्रीमतीलाई हेलाँ गर्नु ठिक होइन भनेर लोग्नेलाई भिक्षुले सम्झाइबुझाइ गरिदेलान्‌ भन्ने आशा थियो उसलाई । बर्ग लगायत उसका अन्य साथीहरूले भिक्षुको अनुहार देख्दै घृणा गरे । भिक्षु भद्दा मोटो र ज्यादै सेतो देखिन्थ्यो । खुइलेको तालु, घुम्रेको कपाल, अनि आँखीभौँ, छाला, हात र लुगा सबै सेतो थियो भिक्षुको, देख्दै घिनलाग्दो । तर भिक्षु भयमुक्त थियो, उसलाई के विश्वास थियो भने उसको प्रवचन सुन्ने जो कोही पनि प्रभावित नभइ रहन सक्दैन । सबै पाहुनाको सामु टेबुलमाथि उभिएर बोल्न थाले- “मानिसहरू कोइली चरालाई सबैभन्दा दुष्ट चरा मान्छन्‌ किनभने ऊ अर्काको गुँडमा आफ्नो बच्चा हुर्काउँछ । यहाँ पनि एक जना त्यस्तै मान्छे छ, जो आफ्नी श्रीमती, घर र बालबच्चाको वास्ता नगरी अर्कै आइमाईसित लहसिन थालेको छ । त्यस्तालाई त म मान्छेमध्ये सबैभन्दा खराब अर्थात दुष्ट मान्छे ठान्छु । उनी आफू बसेको ठाउँबाट जुरूक्क उठिन्‌ र चिच्याउन थालिन्‌ । बर्ग, यो भिक्षुले तिमीलाई र मलाई भनेको हो । यति लज्जित त मैले अहिलेसम्म कहिल्यै हुनुपरेको थिएन बुभ्यौ ? तर यतिखेर मेरो रक्षा गर्ने मेरो बुबा पनि हुनुहुन्न । उनी हिँड्न ठिक्क परिन्‌, बर्ग उनको पछि पछि लाग्यो । “एकछिन पर्ख उनले भनिन्‌ “म तिमीलाई फेरि भेट्न चाहन्न ।” करिडोरमै उनलाई रोक्दै बर्गले सोध्यो, “मैले के गरेदेखि तिमी मसित बस्छ्यौ त भन न ?” उनको आँखा झिलिक्क भो । प्रश्नको उत्तर दिँदै गर्दा, के गर्दा ठिक पर्छ बर्गले बुझिहाल्यो उनको आँखाको भाकाबाट । त्यसपछि बर्ग फेरि तुरुन्तै हलमा प्रवेश गर्यो अनि भिक्षुको हत्या गरिदियो ।

बर्ग र टोर्ड दुवैजना एकछिन सोचमग्न भए । त्यसपछि बर्गले भन्यो- “त्यो भिक्षु ढलेपछि तिमीले उनलाई भेट्नुपर्थ्यो ।” बालबच्चासहित मेरी श्रीमती अगाडि सरिन्‌ र उनलाई सराप्न थालिन्‌ । बच्चाहरूको अनुहार अर्कोतर्फ फर्काइदिइन्‌ ता कि जसका खातिर उनको बाबुले एउटा भिक्षुको हत्यासमेत गर्न पछि परेन । त्यस्ती आइमाईको अनुहार कहिल्यै छोराछोरीले नबिर्सिउन्‌ भन्ने चाहन्थी मेरी श्रीमती । अचम्म त के भो भने उनी विचिलत भइनन्‌ । बरु बडो शान्तसित सुन्दरताको प्रदर्शन गर्दै उनी उभिइरहिन्‌ । देख्नेजित सबै छक्क परे, डरले काम्न थाले । मेरो कामका लागि धन्यवाद दिइन्‌ अनि मलाई तुरुन्तै जङ्गलतिर भाग्न सल्लाह: दिइन्‌ उनले । कहिल्यै चोर नबन्न आग्रह गरिन्‌ । यसका साथै न्यायका लागि मात्रै चक्कुको प्रयोग होस्‌ भन्ने चाहना पनि व्यक्त गरिन्‌ ।

“तिम्रो कामले त उसो भए तिनको हौसला बढ्नुका साथै इज्जत पनि बढाइदिएछ हैन ?” टोर्डले भन्यो । एक चोटि फेरि बर्ग त्यस केटाको बुद्धि देखेर छक्क पर्यो । जसरी यसभन्दा अघि पनि परेको थियो । टोर्ड विधर्मी थियो, अझ बिधर्मी भन्दा पनि खराब वा गल्ती कुराको कहिल्यै भर्त्सना गरेन उसले । उसलाई आफ्नो जिम्मेवारी कहिल्यै महसुस भएन, जे हुनुपर्ने थियो त्यही भो ।
उसले ईश्वरका वारेमा जान्यो क्राइस्टका वारेमा जान्यो अनि साधु सन्तका वारेमा जान्यो । तर जसरी अरूले देश र ईश्वरको नाम मात्रै जान्दछन्‌, त्यसै गरी उसले पनि नाम मात्रै कण्ठ गर्यो । स्केरेन टापुको भूतप्रेत नै उसका लागि ईश्वर ठहरे । टुनामुना गर्न सिकेकी उसकी आमाले मृतात्मामाथि विश्वास गर्न सिकाइ छोरालाई पनि । बर्ग त्यही व्यक्ति थियो, जसले आफ्नो घाँटिमा पासो लाउनुजत्तिकै मूर्खतापूर्ण कामको जिम्मा लियो । ईश्वरको शक्ति कति छ , त्यस विषयमा एले केटाको आँखा खोलिदियो । ईश्वर न्यायदाता हुन्‌ । पाप गर्नेलाई दण्ड दिएरै छाड्छन्‌ । दण्ड पनि कस्तो भने पापीहरूलाई सधैँका लागि नरकमा धकेलेर ।

क्राइस्ट र उनकी आमालाई प्रेम गर्न पनि सिकायो केटोले । साथै ,पापीहरूलाई क्षमा गर भन्दै ईश्वरसामु प्रार्थना गर्ने साधु सन्त र साध्वीहरूलाई समेत प्रेम गर्न सिकायो उसले । ईश्वरको क्रोध घटाउन के के गर्नुपर्छ ती सबै बतायो केटोलाई । तीर्थयात्रामा गएका मानिसहरूको पापकर्म गरेर पश्चातापको अरिनमा जल्नेहरूको, अनि सांसारिक सुखभोगबाट आफूखुसी भागेका भिक्षुहरूका वारेमा पनि बतायो । बर्ग जति जति बोल्दै जान्थ्यो उति उति केटो निराश हुँदै जन्थ्यो । अनि उसका आँखाहरू चाहिँ वरिपरिका दृश्य हेर्न लालायित देखिन्थे । बर्ग रोकिन सक्थ्यो तर कभित्रको विचार प्रवाहले उसलाई अगाडि बढ्न प्रेरित गरिरह्यो । क्रमशः रात पर्दै गयो, अँधेरी रातको शून्यतामा लाटोकोसेरोको कर्कश स्वरले अँध्यारोलाई चिर्दै गयो । उनीहरूको नजिकै ईश्वर आउँदै गर्दा उनको प्रकाशका अगाडि ताराहरूको उज्यालो फिका हुँदै गयो । विद्रोही देवदूतहरू पहाडतिर ओर्लन थाले । तलतिरबाट आएका आगाका ज्वालाहरू यस्तो जोडसित पृथ्वीको सतहमा निस्कँदै थिए कि, तिनले पाप र सन्तापबाट पीडित भएकाहरूलाई निल्ने प्रयास गर्दै थिए ।

शरद ऋतुको आगमन सँगसँगै आँधी पनि आयो । गल्ली र गौँडाको हेरचाहका लागि टोर्ड एक्लै जङ्गलतिर निस्किन्थ्यो । यता बर्ग चाहिँ लुगा मिलाउन भनी घरमै बस्थ्यो । हिँड्दै जाँदा त्यो केटो एकदम घना जङ्गलमा पुग्यो जहाँ भर्दै गरेका पहँला पातहरू बतास चल्दा वृत्ताकार रूपमा नाच्दै उड्थे । बेला बेलामा उसलाई कसैले पछ्याइरहेको आभास हुन्थ्यो । धेरै चोटि पछाडि फर्किँदै हेर्दै अगाडि बढ्यो । आखिर उसलाई थाहा भो, सबै हावा र सुकेका पातको करामत मात्रै रहेछ त्यो त । हावामा उड्दै गरेका पातहरूलाई मुड्की बटारेर सराप्थ्यो र अगाडि बढ्थ्यो । तर दृश्यका आवाजहरू आउन भने छोडेनन्‌ । सुरु सुरुमा त त्यो परीजस्ता केटाकेटीको नाच्दै गरेको खुट्टाजस्तै लाग्यो उसलाई । त्यसपछि उसको पछि पछि स्वाँस्वाँ गर्दै ठुलो सर्प आइरहेको भान भो टोर्डलाई । सर्पको अलावा ब्वाँसो लगायत अन्य वन्यजन्तुहरू पनि मौकाको खोजीमा थिए भने सर्प चाहिँ पछाडिबाट उसको खुट्टामा आक्रमण गर्ने सुरमा थियो । टोर्डले छिटो छिटो पाइला अगाडि बढायो । तर दृश्यहरू पनि त्यही गतिमा ऊ सँगसँगै अघि बढे । आफ्नो दुई कदम पछाडि जब टोर्डले (ती जीवहरूले उसलाई आक्रमण गर्ने स्थितिमा पुगेको देख्यो, तब रु फर्क्यो । पहिलेजस्तै त्यहाँ केही पनि देखिएन । थकाइ मार्न भनी ऊ ढुङ्गामाथि थ्याच्च बस्यो । सुकेका पातहरू उसका खुट्टामा खस्न थाले । भोजवृक्षका राता थोप्ला भएका पातहरू, अल्मस वंशी रुखका पातहरू, एस्पनका पातहरू, अनि बैँसका रुखका पातहरू सबै त्यहीँ थिए । सुकेर कच्याककुचुक परेका, च्यातिएका कोपिलाहरू हेर्दा केही महिनाअघि मात्रै झरेका जस्ता देखिन्थे ।

“तिमीहरू पापी हौ” केटोले भन्यो । “हामी सबै पापी हौँ । ईश्वरको आँखामा कोही पनि चोखो छैन । तिमीहरू पहिल्यै उनको क्रोधको ज्वालामा परेर डढिसकेका छौ ।”

त्यसपछि ऊ अगाडि बढ्दै गयो । आसपासको जङ्गल शान्त र स्थिर भए पनि आँधी चल्दाको समुद्रजस्तै हल्लिन थाल्यो । उसले यसअघि जीवनमा कहिल्यै नसुनेको आवाज सुन्यो । जङ्गलमा जताततै आवाजहरू सुनिन थाले । कहिले साउती गरेजस्तो, कहिले धम्की दिएजस्तो, कहिले बाघ गर्जेजस्तो त कहिले सुँकसुँक गरेजस्तो थरी थरीका आवाजहरू गुन्जिन थाले । सयौं जीवजन्तुको आवाज एकैचोटि गुन्जिएजस्तो त्यस अनौठो चिजले उसलाई तर्साउने र उत्तेजित पार्ने काम गर्यो । कहिले सिठी बजाएजस्तो त कहिले सर्पले सास फेरेजस्तो लाग्ने आवाज सुन्दा सुन्दा ऊ लगभग बौलाहाजस्तै भैसकेको थियो । र डरले थरथर काम्न थाल्यो, जुन जदिन ऊ गुफाको भुइँमा पल्टेको थियो अनि आफूलाई लखेट्दै आउनेहरूको आवाज जङ्गलका माझ सुनेको थियो, त्यो दिन पनि ऊ त्यसै गरी थरथर कामेको थियो । उसले फेरि रुखका हाँगाबिँगा भाँच्चएका आवाजहरू सुन्यो । मान्छेका गह्रौँ पदचाप सुन्यो, हात हल्लाएको आवाजहरू सुन्यो, अनि डरलाग्दो, रक्तपिपासु आवाज सुन्यो ।

उसको वरिपरि गर्जेको जनआवाज थियो, वास्तवमा त्यो एक्लो आँधी मात्रै थिएन । अरू पनि केही त्यस्तो डरलाग्दो आवाज मिसिएको थियो । बुझ्नै नसकिने अनौठो शैलीमा बोलिएको आवाज सुन्यो उसले । हुन त उसले यसभन्दा अघि पनि यस्ता भीषण आँधी नबेहोरेको होइन, तर यस्तो खालको वीणाको तारझैँ हावा नाचेको आवाज कहिल्यै सुनेको थिएन उसले । प्रत्येक रुखहरू आ-आफ्नै शैलीमा सुसाएजस्तो देखिन्थ्यो, प्रत्येक साँघुरा गल्छीले फरक खालको गीत गुन्गुनाएजस्तो पहराबाट प्रतिध्वनित भएका आवाज पनि सुनियो । सम्पूर्ण आवाज सुने पनि, चिने पनि उसलाई अरू केही अनौठा आवाजहरू मिसिएजस्तो लाग्यो । अनि तिनै थरी थरीका आवाजरूपी आँधीले उसको मस्तिष्कमा एक पकारको हलचल पैदा गरिदियो ।

जङ्गलको अँध्यारोमा एक्लै हुँदा प्राय ऊ सधै डराउँथ्यो । खुला समुुद्र र र नाङ्गा चट्टानहरू उसलाई खुब मन पर्थ्यो । भुतप्रेतहरू रूखका छायाँमा लुकी लुकि हिँडेको चाल पाउँथ्यो ऊ ।

त्यसपछि उसलार्इ आँधीका बिच आफूसित को बोल्दै छ भन्ने थाहा भयो । त्यो आवाज न्यायदाता ईश्वरको थियो । उसकै साथीका कारण इश्वर उसको पछि पछि लागेका थिए । बदलास्वरूप भिक्षुको हत्यारालाई त्याग्न र्इश्वरले ऊसित माग राखे ।

टोर्ड आँधीबिच चर्को स्वरले बोल्न थाल्यो आफूले चाहेको कुरा गर्न नसकेको जानकारी दियो ईश्वरलाई । आफ्ना पहलमान साथी (बर्ग) सित कुरा गरेर ईश्वरसित सम्बन्ध सुदृढ अर्थात्‌ शान्तिमय गराउन त चाहन्थ्यो ऊ, तर उसले व्यक्त गर्न शब्द नै पाएन । ऊ यति हतास भो कि उसको जिब्रै बन्द भयो ।

“जब मलाई यो संसार न्यायदाता ईश्वरद्वारा सन्चालित छ भन्ने थाहा भो, ऊ चिच्यायो । मलाई थाहा भो उ बेपत्ता भएको मान्छे हो । साथीका लागि म रातभरि रोएको छु। जहाँ लुके पनि ईश्वरले उसलाई देखिछाडछन्‌ भन्ने मलाई थाहा छ । तर ऊसित म बोल्न सकिन, उसको मायाले गर्दा नै मैले बोल्ने शब्द पाइन । ऊसित बोल्नैपर्छ भनेर मलाई बाध्य नपारियोस्‌ । समुद्र उर्लेर पहाडको टाकुरालाई छुनैपर्छ भनेर नभनियोस्‌ ।”

उ फेरि चुप लाग्यो, अनि ईश्वरको आवाज ठानिएको आँधीको आवाज पनि थामियो । हावाको गति पनि अकस्मात्‌ थामियो । घामको किरणको प्रस्फुटन, डुङ्गगाको बहनाको आवाज अनि अग्लो नर्कट घारीको सुस्त सर्सराहट सुनियो । यी सबै मधुर धुनहरूले उसलाई एकचोटि फेरि उनको याद दिलायो ।

त्यसपछि फेरि आँधी चल्न थाल्यो, अनि उसको पछि पछि कोही स्याँस्याँ र फ्याँफ्याँ गर्दै आइरहेको आभास भो । उसलाई यो चोटि पछाडि फर्केर हेर्ने आँट आएन किनकि त्यो उही गोरो भिक्षु थियो । बर्गको ग्रेटहलको भोजबाट सिधै यता आएको थियो त्यो गोरो भिक्षु, जिउभरि रगत लागेको निधारमा चक्कूले काटेको प्रस्ट खत देखिन्थ्यो । अनि उसले साउती मार्यो- “छोडिदेऊ त्यसलाई । उसलाई बचाउने कुरा नसोचे पनि हुन्छ तिमीले ।”

टोर्ड बेतोडले दौडन थाल्यो । उसको मनमा डर बढ्दै गयो, त्यसबाट ऊ भाग्न चाहन्थ्यो। ऊ जति जति दौडिन्थ्यो उति उति सुन्दै जान्थ्यो । उसलार्इ पछ्याउने अरू कोहि नभएर शत्तिशाली र्इश्वर थिए । जो टोर्डसित हत्यारालार्इ त्याग्न माग गरिरहेका थिए । पहिलेकोभन्दा बर्गको अपराध उसलाई अझै भयावह लाग्न थाल्यो । एउटा शस्त्रहीन, निर्दोष र ईश्वरको भक्त उसको हातबाट निर्ममतापूर्वक मारिएको थियो । हत्यारा भने अझै जीवित रहने दुस्साहस गर्दै थियो । सूर्यको प्रकाश र धरतीको सुन्दर फलहरूको आनन्द लिने र रसास्वादन गर्ने चेष्टा गर्दै थियो ऊ । टोर्ड रोकियो अनि मुठूठी बढार्दै चिच्याउन थाल्यो । त्यसपछि ऊ एउटा बौलाहा झैँ आतङ्कको इलाका मानिएको उक्त जङ्गलबाट उपत्यकातिर कुलेलाम ठोक्यो ।

टोर्ड गुफाभित्र छिर्दै गर्दा अभियुक्त ढुङ्गामाथि बसेर केही सिउनमा व्यस्त थियो । अगेनामा आगो निभ्नै लागेको हुँदा उसको सिलाइको काम त्यति सन्तोषजनक रूपमा अघि बढिरहेको थिएन । केटाको मनमा बर्गप्रति दया पलाएर आयो । अकस्मात्‌ त्यो पहलमानजस्तो बलियो बर्ग दुःखी एवम्‌ निरीह देखियो । “के भो तिमीलाई सन्चो भएन ? डर लाग्यो ?” बर्गले सोध्यो ।

त्यसपछि पहिलो चोटि टोर्डले आफ्नो डरको वारेमा बोल्यो । जङ्गलमा त अनौठो अनौठो घटना हुँदोरहेछ । त्यहाँ मैले भुतप्रेत देखेँ । उनीहरूको आवाज पनि सुनेँ । त्यो गोरो भिक्षु पनि देखेँ ।

“बिचरा केटाकेटी नै छ ।”

“पहाडको टुप्पासम्मै उनीहरू गीत गाउँदै आए । म उनीहरूदेखि भाग्दै थिएँ, उनीहरू चाहिँ मेरो पछि पछि दौडिरहेका थिए गीत गाउँदै । त्यस्ता प्रेतात्मालाई म वशमा पार्न सकुँला र ? उनीहरूलाई मैले गर्नुपर्ने के हो ? त्यस्तो पनि कोही मान्छे हुन्छ जसलाई आफ्नो उपस्थिति अनिवार्य हुन्छ ?”

“टोर्ड आज राति तिमी साँच्चिकै बौलायौ कि क्या हो ?”

आफू के-के बोल्दैछु भन्ने टोर्डलाई थाहै थिएन । लाज-सरम सबै हराइसकेको थियो । उसको ओठबाट शब्दहरू एक एक गरेर फुत्किरहेका थिए ।

ती भिक्षुहरू गोरा थिए, लास जत्तिकै फुस्रो तिनीहरूको लुगा पनि रगतले लतपतिएको थियो । निधारै छोपिने गरी कानेटोपी लगाएका थिए तिनीहरूले । तर घाउ प्रस्टै देखिन्थ्यो, त्यो ठुलो फराकिलो चोट बन्चरोले काट्दा लागेको थियो ।

टोर्ड फुस्रो र गम्भीर देखियो । त्यो पहलमानले भन्यो “साधु सन्तले मात्रै बताउन सक्नेछन्‌ । त्यस घाउलाई तिमी किन बन्चरोले काटेर लागेको भन्दै छौ । मैले त चक्कुले हानेर पो भिक्षुको हत्या गरेको थिएँ । पाखुरा सुर्किदै बर्गको अगाडि उभिएको टोर्ड थरथर काम्न थाल्यो । उनीहरूसामु मैले तिमीलाई सुम्पिदेओस्‌ भन्ठान्छन्‌ । मैले तिमीलाई धोका देओस्‌ अर्थात्‌ त्यागिदेओस्‌ भन्ने
चाहना छ उनीहरूको ।”

“को ? भिक्षुहरू ?”
“हो, हो भिक्षुहरू । मलाई काल्पनिक दृश्य देखाउँदै थिए उनीहरू । मलाई ऊन पनि उनीहरूले देखाइदिएका हुन्‌ । खुल्ला र घमाइलो महासागर अनि माझीहरूको शिविर पनि उनीहरूले नै देखाइदिएका हुन्‌ । जहा नाचगान अन्य र रमझम चिलरहेको थियो । आँखा बन्द गरे पनि मैले सबै देखेँ । “छोड, मलाई,” मैले उनीहरूलाई भनेँ । मेरो साथीले हत्या गरेकै भए पनि ऊ त्यति गुमा
साह्रो खराब मान्छे चाहिँ हैन है । मलाई एक्लै छाडिदेऊ, म ऊसित कुरा गर्छु। उसले आफ्नो गल्ती महसुस गर्दै प्रायश्चित गर्ने छ । साथै धार्मिक स्थलहरूमा तीर्थाटन पनि गर्ने छ ।”

अनि भिक्षुले के भन्यो त ? बर्गले सोध्यो- तिनीहरू मलाई माफी दिन आए चाहँदैनन्‌ सक्दो यातना दिएर जिउँदै जलाउन चाहन्छन त्यही हैन ?

“म कसरी आफ्नो मिल्दो साथीलाई धोका दिन सक्छु, मैले भने- “ऊ नै मेरो लागि सर्वस्व हो । एक चोटि मलाई भालुले घाँटिमा नङ्ग्रा गाडेर मार्नै लाग्दा उसैले बचाएको थियो । भोक र जाडो सँगसँगै भोगेका छौँ” हामीले । म बिरामी हुँदा आफ्नो ओढने ओढाएको छ उसले । दाउरा, पानी ल्याइदिएको छु मैले उसका लागि । उ निदाएको बेला कुरेर बसेको छु। अनि शत्रुको नि आक्रमणबाट बचाएको छु । आफ्नो साथीलाई धोका दिने कस्तो मान्छे ठान्छन्‌ मलाई तिनीहरू ? मेरो साथी पादरीकहाँ आफै जाने छ, आत्मसमर्पण गर्ने छ । अनि हामी दुवै मिलेर क्षमायाचना गर्ने छौँ । बर्गले टोर्डका कुरा बडो ध्यान दिएर सुन्यो । उसका उत्सुक आँखा टोर्डका अनुहारमा केही खोज्दै थिए । तिमी आफै जाऊ पादरीकहाँ, अनि साँचो कुरा बताइदेऊ । मानिसको बस्तीमा तिमी एक चोटि फेरि जानुपर्ला ।”

“म एक्लै गएर के गर्नु त्यहाँ । तिम्रो पापकर्मले मलाई त्यहाँ मृतात्माहरूले पछ्याइरहन्छन्‌ । तिमीले देखेका छैनौ र तिम्रै अगाडि म कति काम्छु ? ईश्वरका विरुद्ध तिमीले औँला ठड्याएका छौ । तिम्रो खास अपराध के हो ? तिमी किन मसित खालि ईश्वरका वारेमा मात्रै कुरा गछौं ? तिमी आफैँ मलाई धोका दिन बाध्य पार्दै छौ । तिमीले गरेको पापमा मलाई नमुछ । आफैँ जाऊ पादरीकहाँ ।” यति भन्दै ऊ बर्गकै सामु घुँडा दोब्य्राएर बस्यो ।

आफ्नो टाउकामा हात राख्दै हत्यारा अभियुक्तले टोर्डतिर हेर्यो । आफ्नो साथी आतङ्कित भएको देखेरै उसले आफ्नो अपराध मूल्याङ्कन गर्यो । हेर्दाहेर्दै स्थसतस भयावह भयो । संसारको सन्चाल गर्ने शक्ति (ईश्वर) र आफूबिच द्वन्द्व उत्पन्न भएको देख्यो उसले । पश्चातापको अग्निमा जल्न थाल्यो ऊ ।

“दुःख पाउन लेख्या रहेछ र यस्तो कर्म गरिएछ भन्नुपर्यो नाइँ उसले भन्यो । अहिले मैले भोगिराखेको जीवन दुःखी छैन र ? यो आतङ्क यो बन्चना, यो गरिबी, के यी सबै प्रायश्चित हैन र ? धन सम्पत्ति, साथीभाइ, घरवार, सबै गुमाएको होइन र मैले ? मानिसले जीवनमा भोग्न पाउनुपर्ने सबै सुख र आनन्द गुमाएको छैन र मैले ? योभन्दा बढी अरू के गुमाउन बाँकी छ र अब ?”

बर्गका यस्ता कुरा सुनेर टोर्ड भयभीत हुँदै बुरुक्क उप्रयो । “प्रायश्चित्त गर्छौ तिमी ?” ऊ एक्कासि चिच्यायो । मेरो कुराले तिम्रो मन छोयो ? उसो भए आऊ छिटो जाऔँ हिँड मसित समय छँदै ।

पहलमान बर्ग पनि बुरुक्क उफ्रयो “साँच्चै हो ?”

“हो, हो, हो मैले तिमीलाई धोका दिएको छु । तर छिटो आऊ । आइहाल ताकि प्रायश्चित गर्न सकियोस्‌ । छिटै उम्किहाल्नुपर्छ, यहाँबाट भागौँ भागौँ ।”

हत्यारा बर्ग चौरतिर निहुरियो, जहाँ उसको बाबुको बन्चरो उसको खुट्टा नजिकै थियो । “तँलाई चोर,” रिसले उसको बाबुले स्स्स्स्स… आवाज निकाल्दै भन्यो, “मैले तँलाई विश्वास गरेँ ।”

तर जब टोर्डले बर्गलाई बन्चरो टिप्न निहुरिएको देख्यो, तब उसलाई थाहा भो कि उसको जीवन खतरामा छ । उसले पनि तुरुन्तै आफ्नो कम्मरमा भिरिराखेको बन्चरो निकाल्यो । अनि बर्गले बन्चरो टिप्न नभ्याउँदै उसमाथि टोर्डले बन्चरो प्रहार गरिहाल्यो । बर्गको टाउको एकातिर, जिउ अर्कातिर भो, भुइँमा पछारियो, गुफाभरि रगत छताछुल्ल भो ।

बर्गको गुजुल्टिएको कपालको बिचमा निकै ठुलो गहिरो र रातो घाउ देख्यो टोर्डले ।

त्यसपछि किसानहरू ग्वारग्वार्ती गुफाभित्र पसे । टोर्डको साहसिक कामको खुब प्रशंसा भो । पुरस्कारबापत टोर्डलाई पूर्ण रूपमा माफी दिइने भो ।

टोर्डले आफ्नो हाततिर हेर्यो । हातहरू हतकडी लगाइएको जस्तो लाग्यो । यही हतकडीले नै उसलाई आफ्नो प्यारो साथीको हत्या गर्न प्रेरित गर्यो । खुल्ला हावामा बुनिएको फेनरिर ब्वाँसोको जस्तो साङ्लो । ती हतकडी र सिक्री नर्कटघारीको हरियो प्रकाशबाट, रुखको छायाँको खेलबाट, आँधीको गीतबाट, पातको सर्सराहटबाट सपनामा देखिएको जादुमय दृश्यबाट बुनिएका थिए । उसले चर्को स्वरमा भन्यो “ईश्वर महान्‌ छन्‌ ।”

टोर्ड लास नजिकै टुक्रुक्क बस्यो । अनि आँखाबाट आँसु चुहाउँदै बिउँझिन लासलाई आग्रह गर्यो । गाउँलेहरूले आ-आफ्ना भाला तेर्स्याएर खट बनाए । अनि त्यसैमा लास राखेर उसको घरतिर लिएर गए । गाउँलेहरूको मनमा मृतकले एक खालको त्रास पैदा गरिदियो । उनीहरू मसिनो स्वरमा बोल्न थाले लासको सामु, जब तिनीहरूले लासलाई खटमाथि राखे तब टोर्ड उभियो । आँखासम्म लत्रेको कपाल झड्कालेर पछाडि फर्कायो, अनि लर्बरिएको स्वरमा बोल्यो- “भन त उन, आखिर कसका लागि बर्ग हत्यारा बन्यो ? क्षतिग्रस्त जहाजमा लुटपाट मच्चाउने र बोक्सीको छोरो माझीलाई भनिदेऊ, टोर्डले नै बर्गको हत्या गरिदियो किनभने बर्गले नै उसलाई सिकाएको थियो कि न्याय भनेकै अपरिहार्य चिज हो ।”