परिच्छेद-९

सेना निरीक्षण भएको भोलिपल्ट बोरिस, आफ्नो सबभन्दा राम्रो बर्दी लगाएर र आफ्नो साथी बेर्गको सफलताको शुभ कामता लिएर बोल्कोन्स्कीलाई भेट्न ओल्मुज गयो । बोल्कोन्स्कीसँगको मित्रताको फाइदा लिने र आफ्नोलागि सबभन्दा आकर्षक पद हात पार्ने उसको इच्छा थियो । ऊ सायद सहायक अफिसर हुने अवसरको ताकमा थियो । “रोस्तोभको विषयमा, जसको बाबुले एक पटकमा दस हजार रुबल पठाइदिन्छन्‌, सजिलैसँग यो भन्न सकिन्छ कि ऊ कसैसँग दाँत ङिच्याउन र कसैको अर्दली बनेर बस्न
चाहँदैनथ्यो । तर मैले त, जोसँग बुद्धिबाहेक अरू केही छैन, आफ्नो जिन्दगीको भविष्य सपार्नु पर्छ, त्यसैले यस्ता अवसरहरू गुमाउनु हुँदैन बरु जसरी हुन्छ यस्ता अवसरहरूको फाइदा लिनै पर्दछ,” उसले खूब विचार गर्यो ।

उसले त्यस दिन राजकुमार आन्द्रेइलाई ओल्मुजमा फेला पार्न सकेन । तर त्यस नगरको छाँटकाँट देखेर, जहाँ प्रधान सेनापतिको र कूटनीतिज्ञहरूको कार्यालय थियो र जहाँ आफ्ना अनुचरगणहरू, भारदारहरू र आफन्तीहरूका साथ दुवै सम्राट् बसेका थिए, त्यो माथिल्लो वर्मको सदस्य भएर बस्ने उसको आकाङ्क्षा झन्‌ तीव्र भएर आयो ।

उसले कसैलाई पनि चिन्दैनथ्यो र ऊ छरिछाँट परेको घोडगार्डसेनाको बर्दीमा छाँटिएको भए तापनि आफ्नाआफ्ना कल्की, रिवन र मानपदकहरूमा सजिएर चुरिफुरि गर्दै आफ्नाआफ्ना सुन्दर गाडीहरूमा चढेर सडकमा यताउति गरिरहेका भारदार र सैनिक व्यक्तित्वहरूका सामु आफूलाई घोडगार्डसेनाको एउटा मामुली अफिसर तथा तुच्छ मानिस भएजस्तो ठान्थ्यो । उसलाई यस्तो लाग्यो कि उनीहरूले ऊसँग सम्पर्क गर्न र उसको अस्तित्वलाई स्वीकार गर्न नचाहेका मात्र होइनन्‌ उनीहरूले त्यस्तो गर्नै सक्तैनन्‌ ।
प्रधान सेनापति क्रुतुजोभको निवासमा, जहाँ उसले राजकुमार बोल्कोन्स्कीका बारेमा सोधपुछ गरेको थियो, सबै सहायक अफिसरहरू मात्र होइन सम्पूर्ण अर्दलीहरूले समेत उसलार्इ यसरी हेरे, मानौँ उनीहरूले उसलार्इ यस कुराको जानकारी दिन चाहन्थ कि ऊ मात्र होइन ऊजस्ता कैयौँ अफिसरहरूको यहाँ घुइँचो लागिरहन्छ र साँच्चै भन्ने हो भने उनीहरूलार्इ देख्दा वाक्क दिक्क लागेर आउँछ । त्यस्तो भए तापनि, अथवा त्यस्तो भएको कारणले गर्दा नै भोलिपल्ट १५ नोभेम्बरका दिन खाना खाएपछि ऊ फेरि ओल्मुज गयो र कुतुजोभको निवासमा प्रवेश गर्दै बोल्कोन्स्कीका बारेमा सोधपुछ, गर्यो । राजकुमार आन्द्रेइ बोल्कोन्स्की घरभित्रै थियो र बोरिसलाई एउटा ठूलो हलतिर पर्खाउन लगियो । सायद त्यो हल पहिले पहिले नाचगानका लागि प्रयोग गरिँदो हो । तर त्यस हलमा अहिले पाँचवटा पलङ लगाइएका थिए र त्यहाँ टेबुलकुर्सीजस्ता विभिन्न प्रकारका फर्निचरहरू थिए र एउटा क्लाभिकर्ड बाजा थियो । सबभन्दा नजिकको ढोकामा प्रसियाली ड्रेसिङ गाउन लगाएर एक जना सहायक अफिसर कुर्सीमा बसेर केही लेखिरहेको थियो । अर्को रातो अनुहार भएको बलिष्ठ सहायक अफिसर नेस्भित्स्की टाउको मुनि हात राखेर बिछ्यौनामा उत्तानो पल्टिरहेको थियो र आफूसँगै बसेको अर्को अफिसरसँग ठट्टा गरिरहेको थियो । तेस्रोले क्लाभिकर्डमा भियनाली वाल्ज बजाइरहेको थियो र चौथो चाहिँ क्लाभिकर्डतिर पल्टिएर त्यसकै धुन गाइरहेको थियो । बोल्कोन्स्की कोठामा थिएन । यिनी भद्र पुरुषहरूमध्ये कसैले पनि बोरिसंलाई देखेर आफ्नो अवस्था परिवर्तन गरेनन्‌ (वास्ता गरेनन्‌) लेखेर बसिरहेको सहायक अफिसरले, जोसँग बोरिसले सोधपुछ गर्यो, गाह्रो मान्दै तिर फर्केर बोल्कोन्स्की त्यति बेला ड्युटीमा भएको जानकारी दियो र उसलाई भेट्न चाहने हो भने बायाँपट्टिको ढोकाबाट छिरेर स्वागतकक्षमा जानुपर्छ भन्यो । बोरिसले उसलाई धन्यवाद दियो र स्वागतकक्षमा गयो, जहाँ उसले दस जना-जति अफिसर र जर्नेलहरूलाई देख्यो ।

बोरिस स्वागतकक्षमा पुग्दा राजकुमार आन्द्रेइ बोल्कोन्स्की आँखाले उपेक्षापूर्ण भाव देखाउँदै (नम्र थकानको विशिष्ट भाव प्रकट गर्दै, जुन भावले प्रष्ट रूपमा यो बोल्थ्यो कि “यदि म ड्युटीमा नभएको भए तिमीसँग एक क्षण पनि बोल्ने थिइनँ”) थुप्रै पदक र तक्मा भिरेको एउटा बुढो रसियाली जर्नेलको, कुरा सुनिरहेको थियो, जो झण्डै औँलाका भरमा तनक्क पर्दै उभिएर अत्यन्त आज्ञाकारी सिपाहीले जस्तै दास्य भाषामा धूमिल अनुहार लगाउँदै राजकुमारलाई केही कुरा बताइरहेको थियो ।

“ठीकै छ, त्यसो भए केही समय पर्खनु पर्यो,” फ्रान्सेली लवजमा रसियाली भाषा बोल्दै राजकुमार बोल्कोन्स्कीले उक्त जर्नेललाई भन्यो, जुन लवज उसले कसैलाई उपेक्षापूर्वक बोल्न चाह्यो भने प्रयोग गर्ने गर्थ्यो । बोरिसलाई देखेपछि, राजकुमार आन्द्रेइ उक्त जर्नेल, जो राजकुमारले आफ्नो अरू केही कुरा सुनुन्‌ भन्ने आशयले अनुनय गर्दै उसको पछिपछि लागिरहेको थियो, लाई वास्तै नगरेर शिर निहुराउँदै प्रसन्न मुद्रामा मुस्कुराउँदै तिर फर्क्यो ।

त्यति बेला बोरिसले यो कुरा राम्ररी बुझ्यो, जो उसले पहिले नै अड्कल काटिसकेको थियो कि सेनामा, नियमावलीमा निर्दिष्ट गरिएको अधीनता र अनुशासन, जो रेजिमेन्टका -सबैले र उसले पनि बुझेको थियो, भन्दा झन्‌ महत्त्वपूर्ण अधीनता र अनुशासन एउटा अर्को थियो, जसले यो धुमिल अनुहार लिएर तनक्क तन्किँदै उभिइरहेको उक्त जर्नेललाई आदरपूर्वक प्रतीक्षा गर्न विवश पारिरहेको थियो, जब कि कप्तान राजकुनार आन्द्रे’ मजा मान्दै लेफिटनेन्ट द्रुबेत्स्कोइसँग गफ गरिरहेको थियो । यस अगि कहिल्यै नसोचेको कुरा, बोरिसले भविष्यमा लिखित सैनिक संहिताअनुसार होइन, यही अलिखित संहिताअनुसार सेवा गर्ने निर्णय गर्यो । उसले यस्तो महसुस गर्यो कि राजकुमार बोल्कोन्स्कीसँग गरिएको सिफारिसका आधारमा मात्र पनि ऊ उक्त जर्नेलभन्दा धेरैमाथि जुन जर्नेलले युद्धमोर्चामा, ऊजस्ता जावो घोडसेनाको तल्लो तहको अफिसरलाई एउटा नाकमा छिराएर अर्को नाकबाट फाल्न सक्थ्यो । राजकुमार बोल्कोन्स्की उसको समीप आयो र उसको हात समात्यो ।

“तिमीले मलाई हिजो भेट्न पाएनौ, त्यसले गर्दा मलाई दुःख लागेको छ। म दिनभरि नै जर्मनेलीहरूसँग अल्मलिई रहेँ । हामीहरू वेरोधरसँग सैन्य-संरचना निरीक्षण गर्न गयौं । जर्मनेलीहरू जब आफूलाई नियम र व्यवहारमा पक्का ठान्न थाल्छन्‌, त्यसको अन्त्य नै हुँदैन ।”

बोरिस, राजकुमार आन्द्रेइले सङ्केत गरेको कुरो बुझेजस्तो गरेर हाँस्यो । तर उसले वेरोथर र सैन्य संरचना भन्ने शब्दहरू पहिलो पटक सुन्दै थियो ।

“त्यसो भए प्रिय मित्र, तिमी सहायक रथी नै बन्न चाहन्छौँ होइन ? म तिम्रो बिषयमा धेरै सोचविचार गरिरहेको छु ।”

“हो, म त्यही चाहन्छु,” बोरिस कुनै कारण मुसुक्क हाँस्यो, “म प्रधान सेनापतिसँग सोझै कुरा गर्ने विचारमा थिएँ किनभने उनीसँग राजकुमार कुरागिनले मेरा बारेमा लेखेको सिफारिस-पत्र पुगिसकेको छ । तर घोडगार्डसेना मोर्चामा जादैनन्‌ कि भन्ने शङ्का लागेर बुझ्न मात्र खोजेको हुँ,” क्षमा मागेजस्तो गरेर उसले थप्यो ।

“ठीक छ, ठीक छ । हेरौँला नि,” राजकुमार आन्द्रेइले जवाफ दियो । केही छिन यो महाशयको कुरा सुनौँ । त्यसपछि तिम्रा बारेमा मात्र विचार गरौँला ।”

जब राजकुमार आन्द्रेइ उक्त धूमिल अनुहारवाला जर्नेलसँग कुरा गर्न गयो बोरिसलाई, उक्त जर्नेलले उसको अलिखित विधानसम्बन्धी सिद्धान्तमा असहमति जनाउँदै, ऊजस्तो धृष्ट लेफ्टिनेन्टले आफूलाई राजकुमार बोरिससँग कुरा गर्न नदिएर बिथोलेकोमा, मनमनमा रिसाउँदै उसलाई आँखा गाडेर हेरेकोमा, असजिलो- लागेर आयो । ऊ फनक्क फर्क्यो र प्रधान सेनापति कक्षमा गएर धैर्यतापूर्वक राजकुमार आन्द्रेइलाई पर्खेर बस्यो ।

“मित्र, तिमीले यो कुरा राम्ररी बुझ कि तिम्रा बारेमा म धेरै चिन्तित छु,” उनीहरू क्लाभिकर्ड भएको ठूलो कोठामा गएपछि राजकुमार आन्द्रेइले भन्यो । “तिमी आफै प्रधान सेनापतिकोमा जानुको खास अर्थ छैन । उनले तिमीसँग नाना तरहका रमाइला गफ गर्लान्‌ । सँगै खाना खान बोलाउन्‌, (अलिखित संहिताको कुरा गर्ने हो यसले के फरक पार्ला र ?, बोरिसले सोच्यो ।) तर त्यसले कुनै किसिमको प्रभावकारी परिणाम निस्कने छैन । हामी अनुचरगण र सहायकरथीहरूको छिट्टै नै एउटा वटालियन बन्ने छ । हामीले आखिरमा गएर गर्ने काम पनि यही नै हो । मेरो एउटा असली मित्र सहायकरथी राजकुमार दोल्गोरूकोभ्‌ छ । तिमीलाई थाहा छैन होला तर यथार्थ यही नै हो कि अब, हामीहरूलाई, कुतुजोभ वा उनका गणहरूको समेत कुनै महत्त्व छैन, छ भने एउटै व्यक्तिको छ र ती हुन्‌- सम्राट् । भएभरका काम कुराहरू उनै सम्राट्माथि नै केन्द्रित छन्‌ । त्यसैले हामीहरू सबभन्दा पहिले दोल्गोरूकोभकोमा जाऔँ । म त उसकोमा जसरी पनि जानै पर्छ र मैले ऊसँग तिम्रो बारेमा सबै कुरा भनिसकेको पनि छु । अब हेरौँ उसले
तिम्रोलागि उसकै अन्तर्गत कुनै स्थान दिन सक्छ वा सक्तैन र, यदि सक्तैन भने अन्य कुनै महत्त्वपूर्ण ठाउँमा नियुक्त गर्न सक्छ कि सक्तैन ।”

कुनै पनि जोस-जाँगर भएको तन्नेरी मान्छेलाई सहयोग गरेर माथि उचाल्ने अवसर आयो भने राजकुमार आन्द्रेइ यस्तै किसिमले सक्दो उत्साह प्रकट गरेर सक्रिय हुन्थ्यो । अरूलाई सहयोग गर्ने अवसर आइपरेका बेला राजकुमार बोल्कोन्स्की समाजसँग एकदम घनिष्ठ सम्बन्ध राख्न उत्प्रेरित हुन्थ्यो र सबैलाई सक्दो सहयोग गरेर आफूप्रति आकर्षित गर्थ्यो । अहिले पति ऊ ज्यान फालेर बोरिसलाई सहयोग गर्न लागि पर्यो र उसलाई दोल्गोरूकोभकोमा लिएर गयो ।

उनीहरू दुई सम्राट् र उनका भृत्यगणहरू बसेको निवासमा पुग्दा रात छिप्पिसकेको थियो ।

त्यसै दिन सैन्य परिषद्को बैठक बसेको थियो, जसमा हफ्क्रिग्सराथका सदस्यहरू र दुवै सम्राट्ले समेत सक्रिय भाग लिएका थिए । त्यस परिषद्मा कुतुजोभ र राजकुमार स्वार्जेनवर्गजस्ता पुरानो विचारधारा भएका जर्नेलहरूका विपरीत तत्काल सेना अगाडि बढाएर बोनापार्टविरुद्ध जाइलाग्ने निर्णय गरिएको थियो । राजकुमार आन्द्रेइले बोरिसलाई लिएर दोल्गोरूकोभलाई भेट्न दरबारमा पुग्दा सैन्य परिषद्को बैठक समाप्त भइसकेको थियो । प्रधान कार्यालयका सबै मान्छेहरू, नयाँ पुस्ताका तन्नेरीहरूको बहुमतले जितेको हुँदा मोहित भइरहेका थिए । केही समय पर्खने र आक्रमण गर्न ढिलो गर्नु पर्ने पक्षमा विचारधारा प्रकट गर्नेहरूको आवाज शान्त र मौन भएको थियो । उनीहरूले युद्ध परिषद्मा प्रस्तुत गरेको तर्कलाई, तत्काल आक्रमण गरेको परिप्रेक्ष्यमा हुन आउने फाइदाका पक्षमा यस्तो अकादय वितर्कद्वारा परिच्छेदन गरियो कि हुन गइरहेको लडाइँमा पक्कापक्की रूपमा प्राप्त हुने विजय भविष्यको नभएर अतीतको जस्तो लाग्यो । सम्पूर्ण परिस्थिति हाम्रो पक्षमा थियो । नेपोलियनको भन्दा निश्चित रूपमा माथिल्लो दर्जाको हाम्रो विशाल सेना एउटा निश्चित ठाउँमा जम्मा भएको थियो । विशेष गरेर सम्राट्का प्रभावले उत्साहित भएका सेना आक्रमण गर्न तम्तयार भएका थिए । लडाइँ लड्न लागेको रणभूमि र त्यहाँको सम्पूर्ण वातावरणका बारेमा अष्ट्रियाली जर्नेल वेरोथरलाई विशेष रूपमा जानकारी थियो । (एउटा सुखद संयोग यो थियो कि अष्ट्रियाली सेनाले गत वर्ष यही ठाउँमा युद्ध अभ्यास गरेको थियो, जहाँ अहिले फ्रान्सेलीहरूका विरुद्ध मोर्चा कसिएको थियो) यो ठाउँ सम्पूर्ण रूपमा पूर्वपरिचित थियो । हरेक विषयको सानाभन्दा साना कुरा नक्सामा वर्णित थियो । कमजोर भइसकेको बोनापार्ट स्पष्ट रूपमा केही गर्न सक्ने आक्रमणको पक्षमा वकालत गर्ने सबभन्दा सशक्त सदस्यमध्ये एक दोल्गोरूकोभ परिषद्मा भाग लिएर भर्खर फर्केको थियो । ऊ क्लान्त र थकित थियो तर आफ्नो पक्षमा बहुमतले जितेको हुँदा ऊ अत्यन्त उत्साहित भएर गर्वको अनुभूति गरिरहेको थियो ।राजकुमार आन्द्रेइले ऊसँग आफ्नो आश्रित बोरिसको परिचय गरायो । दोल्गोरूकोभले बडो शिष्टता र दृढताका साथ बोरिससँग हात मिलायो तर केही बोलेन । तथापि त्यति बेला आफ्नो मनमा उर्लिरहेका भावना दबाउन नसकेर उकुसमुकुस भइरहेको अवस्थामा उसले फ्रान्सेली भाषामा राजकुमार आन्द्रेइलाई संम्बोधन गर्यो ।

ओहो, मेरो प्यारो मित्र, हामीले पहिलो ठूलो लडाइँ जित्यौँ । अब भगवानसँग यही प्रार्थना छ कि यसपछि रणक्षेत्रमा हुने सक्कली लडाइँ पनि हामीले नै जित्न सकौँ । जसरी पनि त्यो लडाइँ प्रिय मित्र, हामीले जित्नै पर्दछ ! उसले एक्कासि उत्सुकतापूर्वक भन्यो, “तर प्रिय मित्र, मैले अष्ट्रियालीहरू र खास गरेर वेरोथरप्रति गरेको अन्याय भने स्वीकार गर्नै पर्दछ ।” कस्तो यथार्थता, कस्तो चुस्तता युद्धस्थलबारे कस्तो विस्तृत जानकारी, हरेक आइ“पर्न सक्ने घटनाबारे कस्तो पूर्वज्ञान र सानोभन्दा सानो विषयमा पनि विस्तृत रूपमा उसले प्राप्त गरेको ज्ञान वास्तवमा सराहनीय छ ! साँच्चै भनौँ भने, प्रिय मित्र, हामीले यो वर्तमान अवस्थाभन्दा राम्रो र अनुक्ल अर्को अवसर कहिले पनि प्राप्त गर्न सक्ने छैनौँ । अष्ट्रियालीहरूको यथार्थता र रसियालीहरूको वीरताको संयोजन- योभन्दा हामीलाई अरू के चाहियो ?”

“त्यसो भए आक्रमण गर्ने कुरा निश्चित भयो ?” बोल्कोन्स्कीले सोध्यो ।
“तिमीलाई थाहा छ प्रिय मित्र, मलाई त यस्तो लाग्छ कि बोनापार्टले होसहवास नै गुमाएको छ, अनि आज मात्र पनि सम्राट्समक्ष उसको एउटा पत्र प्राप्त हुन आएको छ,” दोल्गोरूकोभले एउटा अर्थपूर्ण मुस्कान छोड्यो । ”

“ए, त्यसो हो, उसले चिठीमा के लेखेको रहेछ त ?” बोल्कोन्स्कीले जिज्ञासा प्रकट गर्यो ।

“के लेख्नु नि, शिर न पुच्छरको कुरा । उसको आशय केवल समय लम्ब्याउने मात्र हो । म तिमीलाई भन्छु, ऊ एकदम हाम्रो मुठीको झिंगो भएको छ बैयो कुरा पक्का हो । हामीलाई अप्ठ्यारो त केमा पर्यो भने- उसलाई चिठीको जवाफ के भनेर दिने उसलाई कुन शब्दले सम्वोधन गर्ने ?” ‘कन्सुलर’ भनौँ त्यो पनि भएन, सम्राट्‌ भनौँ त्यो भन्न भएन- त्यसकारण, मेरो विचारमा त जर्नेल बोनापार्ट नै भन्नु उचित लाग्यो ।”

“मेरो विचारमा त उसलाई सम्राट्‌ नमान्नु र जर्नेल बोनापार्ट भन्नुमा पनि ठूलो अन्तर छ” बोल्कोन्स्कीले आफ्नो मत प्रकट गर्यो ।

“मुख्य कुरो नै यही हो, तिमीले ठीकै भन्यौ,” दोल्गोरूकोभले हाँच्दै बीचैमा कुरा काट्यो । “तिमीलाई बिलिबिनका ब्रारेमा त थाहा नै छ । ऊ असाध्य चलाख मान्छे हो । उसले त नेपोलियनलाई “अपहारक” र मानवजातिको “संहारक” भन्नुपर्ने सुझाव दिएको छ ।”

दोल्गोरूकोभ खूब चित्त बुझेझैँ गरेर हाँस्यो ।

“उसले भनेको ठीकै हो,” बोल्कोन्स्कीले पनि सही थाप्यो ।

“जे होस्‌, उसले दिएको सुझाव कस्तो छ ?”

“फ्रान्सेली सरकार प्रमुख”… प्रसन्न हुँदै दोल्गोरूकोभले भन्यो । “ठीक छैन त ?”

“ठीकै छ, तर उसलाई यो एकदमै मनपर्ने छैन,” बोल्कोन्स्कीले भन्यो ।

“हो नि, उसलाई मन पर्ने, त कुरै भएन ! मेरो भाइले उसलाई चिन्छ- उसले यो आजको सम्राट् पेरिसमा धेरै पटक सँगै बसेर खाना खाएको छ- उसले भन्छ, बोनापार्टभन्दा धूर्त, कूटनीतिक व्यक्ति अर्को कोही छैन- ऊ फ्रान्सेली चातुर्यक्कट र इटालियाली नाट्य कलाकारिताको दोभान हो । तिमीले बोनापार्ट र काउन्ट मार्कोभबीच भएको कथा सुनेका छौ ? काउन्ट मार्कोभ मात्र एउटा व्यक्ति हो, जसले बोनापार्टलाई कसरी हात लिनु पर्छ भनेर जानेको छ । तिमीलाई रुमालसम्बन्धी कथा थाहा छ ? बडो रमाइलो छ ।”

गफाडी दोल्गोरूकोभ घरी बोरिस र घरी राजकुमार आन्द्रेइतर्फ हेर्दै उनीहरूलाई रुमालको कथा सुनाउन लाग्यो । एक पटक बोनापार्टले जानीजानी हाम्रो राजदूत मार्कोभको परीक्षा लिने हेतुले आफ्नो रुमाल उसको अगाडि खसाल्यो र मार्कोभले त्यो रुमाल भुइँबाट उठाएर आफूलाई देला भन्ने आशा गर्दै उसको अगाडि उभिएर हेरिरह्यो तर मार्कोभको पालो तत्काल आफ्नो रुमाल पनि उसको रुमालको छेउ खसाल्यो अनि बोनापार्टको रुमाल छुँदै नछोएर आफ्नो रुमाल मात्र उठायो ।

“साह्रै मजाको कथा रहेछ !” बोल्कोन्स्कीले भन्यो । यस्तै हो, राजकुमार, तर म अहिले तिमीसँग यो जवान मान्छेको तर्फबाट एउटा कुरा अनुरोध गर्न आएको छु। त्यो ,के भने …… तर राजकुमार आन्द्रेइले आफ्नो कुरो भन्न नभ्याउँदै सम्राट्कहाँबाट दोल्गोरुकोभलाई बोलाउन एक जना अनुचर आयो ।

कस्तो वाहियात भन्दै दोल्गोरूकोभ हत्तपत्त बोरिस र राजकुमार आन्द्रेइको हात समाउँदै उठ्यो । “तिमीलाई थाहै छ, तिमी र यो प्यारो युवकलाई मेरो शक्तिले भ्याएसम्म सहयोग गर्न पाएँ भने मलाई असाध्यै खुसी लाग्नेछ ।” उसले सजीव चापल्य, निश्छल भावना र निष्कपटता प्रकट गर्दै बोरिससँग फेरि हात मिलायो “तर तिमीले देखिहाल्यौ….
कुनै अर्को दिन ।”

उच्च तहका शक्तिसम्पन्न शिखरपुरुषहरूको सामीप्य पाउन लागेको विचारले, जुन विचार अहिले उसको मनमा आइरहेको थियो बोरिस, त्यति बेला उत्तेजित भएर आयो । उसमा पूर्ण चेतना थियो कि ऊ अहिले शक्तिश्रोतको मूल केन्द्रमा स्थापित भएको छ, जुन श्रोतले त्यो रेजिमेन्टको बिराट जनसमूहलाई परिचालन गर्छ, जुन रेजिमेन्टमा ऊ आफूलाई एउटा तुच्छ, आज्ञाकारी र नगण्य कण ठान्दथ्यो । उनीहरू दुवै जना राजकुमार दोल्गोरूकोभको पछिपछि दलानमा आए र उनीहरूले, आफ्ना अगाडिबाट, दोल्गोरूकोभ प्रवेश गरेकै सम्राट्को कक्षबाट बाहिर निस्किरहेको, निजामती पोशाकमा, पुड्को खालको तर असाध्यै बुद्धिमान्‌ होलाजस्तो अनुहार भएको एउटा मान्छे आइरहेको देखे । अगाडितिर उछ्रिट्टिएको च्यापुले उसको अनुहार बिगारेको थिएन बरु झन्‌ विचित्र प्रकारको चुरिफुरि र समझदारीको भाव प्रकट गरिरहेको जस्तो लाग्थ्यो । यो पुड्के मानिसले दोल्गोरूकोभलाई एकदमै आत्मीय साथीको रूपमा अभिवादन गर्यो र सोझै राजकुमार आन्द्रेइतर्फ बढेर गयो र उसलाई आँखा तरेर हेर्यो । राजकुमार आन्द्रेइले उसलाई झुकेर नमस्कार गर्नेछ वा उसलाई बाटो छोडिदिने छ भन्ने उसले आशा गरेको थियो । तर राजकुमार आन्द्रेइले दुवै काम गरेन । उसको अनुहारमा रिसको भाव प्रकट भयो र यो तरुण युवक त्यहाँबाट मुख फर्काएर दलानतिर हटेर गयो ।

“त्यो मान्छे को हो ?” बोरिसले सोध्यो ।

“ऊ एउटा असाधारण प्रकृतिको मानिस हो ।” तर मलाई एकदमै मन नपर्ने मानिसमध्ये एक विदेशमन्त्री राजकुमार एडाम जार्तोरिस्की हो । यस्ता मान्छेहरूले, नै राष्ट्रको भविष्य र भाग्य निर्माण गर्छन्‌” बोल्कोन्स्कीले थप्यो । उसले मनको उकुसमुकुस दबाउन सकेन । त्यसपछि उनीहरू दरबारबाट बाहिर निस्के ।

भोलिपल्ट सेनाअगाडि बढ्यो र अस्टरलिजको लडाइँका बेलासम्म पनि बोरिसले राजकुमार आन्द्रेइ र दोल्गोरूकोभ दुवै जनालाई फेरि भेट्न सकेन र तत्कालको लागि ऊ इस्माइलोभ रेजिमेन्टमा नै रह्यो ।