“तपाई जाँदै हुनुहुन्छ ?” – डाक्टरले टाउको नफर्काइकनै सोध्यो ।
“हो … ।”

बाहिर पुगेपछि आमाले लुद्मिलाबारे सोच्न थालिन् । आमालाई याद आयो, कसरी उनले जबरजस्ती आफ्नो रुवाइ रोकेकी थिइन् ?

“रुनसम्म पनि आउँदैन … ।”
मृत्युशैय्यामा एगोरले भनेका कुराहरु सम्झेर आमाले लामो सुस्केरा हालिन् । सडकमा बिस्तारै हिँड्दै उसका चम्किला आँखा, उसको हँसिलो स्वभाव र उसले सुनाएका रोचक कथाहरु सम्झिरहिन् ।
“असल मान्छेलाई बाँच्न गाह्रो पर्दो रहेछ, तर मर्नचाहिँ सजिलो … म कसरी मरुँला … ?” – आमा मनमनै सोच्दै थिइन् ।
अनि आमाले मनमनै कल्पना गरिन् – त्यो सेतो कोठाको झ्यालअगाडि उभिएर लुद्मिला र डाक्टर बाहिर हेर्दैछन् । एगोरका मृत आँखाले उनीहरुलाई पछाडिबाट एकटकले हेर्दैछन् । एक्कासि उनको हृदयमा समस्त मानवताप्रति एक गहन वेदनाको आँधी उर्लन थाल्यो । लामो सुस्केरा हाल्दै आमा छिटो हिँड्न थालिन् । कुनै अज्ञात प्रेरणाले उनलार्य ाछिटो हिँड्न बाध्य गर्दै थियो ।

“मैले पुग्नुपर्छ !” – उनले सोचिन्, जुन उदास तर साहसपूर्ण शक्तिले उनलाई भित्रैदेखि प्रेरित गर्दै थियो, त्यस शक्तिका अगाडि उनले आत्मसमर्पण गरिन् ।

 

११
भोलिपलट आमा अन्त्येष्टिक्रियाको बन्दोबस्त मिलाउने काममा लागिन् । बेलुका उनी सोफिया र निकोलाइसँग बसेर चिया पिउँदै थिइन्, त्यसैबेला सासा आइपुगिन् । आज उनी विचित्र रुपले चञ्चल देखिन्थिन् र खुब कुरा गर्दै थिइन् । उनको गलामा हर्षको लाली चढेको थियो, आँखा उल्लासले चम्कँदै थिए र यस्तो लाग्थ्यो, मानौं उनी कुनै आल्हादपूर्ण आशाले ओतप्रोत छिन् । उनीहरु जुन शोकपूर्ण शान्त वातावरणमा एगोरबारे कुरा गर्दै थिए, सासको यस उच्छृङ्खलताले एक्कासि भङ्ग गरिदियो । उनको व्यवहार पूर्णतः असङ्गत थियो र यो कुरा उनीहरुलाई मन परेन । यस्तो लाग्थ्यो, मानौं अन्धकारमा अकस्मात् आगाको ज्वाला दन्किँदै छ । निकोलाइ विचारमग्न हुँदै टेबुलमा औंलाले टकटक गर्दै थियो ।

“सासा, के भयो हँ ? तपाई आज बिलकुल अर्कै मान्छे देखिनुहुन्छ !” – उसले भन्यो ।

“हो र ? हुन सक्छ !” – उनले जवाफ दिइन् र मस्तीले हाँस्न थालिन् ।

आमाले तिरस्कारपूर्ण दृष्टिले सासालाई हेरिन् ।

सोफियाले सासालाई याद दिलाउने विचारले भनिन् –

“हामी एगोर इभानोभिचबारे कुरा गर्दै थियौं … ।”

“कस्ता गजबका मान्छे थिए, होइन त !” – सासाले भनिन् – “मैले उनलाई सधैं मुस्कुराइरहेको र हँसीठट्टा गरिरहेको देखे । अनि कति मिहिनेती थिए ! उनी क्रान्तिको कलाकार थिए र महान् क्रान्तिकारी कलाकार थिए । हिंसा, झूट र अन्यायको चित्रण उनी सधैं कति सीधासादा र जोडदार शब्दहरुमा गर्थे ।”

उनी बडो शान्त स्वरमा बोल्दै थिइन् । केही सोच्दै मुस्कुराउँथिन्, तर त्यस मुस्कुराहटको पछाडि हर्षोल्लासको त्यो ज्वाला लुकेको थियो, जुन सबैले देखिरहेका थिए र जसको कारण कसैले बुझ्न सकिरहेको थिएन ।

उनीहरु चाहँदैनथे, सासाको उल्लासले उनीहरुको उदासीको ठाउँ लेओस् र उनलाई पनि आफूहरुजस्तै उदास बनाउने प्रयत्न गर्दै अन्जानमै आफ्नो व्यथित हुने अधिकारको रक्षा गर्दै थिए … ।

“अब उनी मरिसकेका छन् !” – सोफियाले अर्थपूर्ण दृष्टिले सासातिर हेर्दै भनिन् ।

सासाले छिटोछिटो उनीहरुतिर प्रश्नसूचक दृष्टिले हेरिन्, उनका आँखीभौं खुम्चिए । उनी टाउको निहुराएर चुप लागिन् र बिस्तारै आफ्नो चुल्ठो मिलाउन थालिन् । एकछिन चुप लागिसकेपछि उनले एक्कासि टाउको उठाएर उनीहरुतिर हेरिन् ।
“मरिसके रे ? मर्नुको अर्थ के हो ? को म¥यो ? के एगोरप्रतिको मेरो आदर म¥यो ? उनीप्रतिको माया, एक कमरेडका विचारहरुसम्बन्धी मेरो सम्झना म¥यो ? के ती भावनाहरु मरे, जुन उनले मेरो हृदयमा जगाएका थिए ? के ती भावनाहरु मरे, जुन उनले मेरो हदयमा जगाएका थिए ? के एक साहसी, इमानदार व्यक्तिका रुपमा उनीसम्बन्धी मेरो सम्झना म¥यो ? के यी सबै कुरा खत्तम भए त ? मलाई विश्वास छ, मेरा लागि यी सबै कुरा कहिल्यै मर्न सक्दैनन् । मलाई लाग्छ, फलानो मान्छे म¥यो भन्ने घोषणा गर्न हामी एकदम हतारो गर्छौं । हो, उनका ओठ निर्जीव छन्, तर उनका शब्दहरु जीवितहरुको हृदयमा सदा जीवित रहनेछन् !”

आफ्नो भावावेशमा उनी फेरि टेबुलअगाडि आएर बसिन् र टेबुलमा आफ्नो कुहिना अड्याएर आँसुले भरिएका आँखाहरुले आफ्ना साथीहरुतिर हेर्दै मुस्कुराइन् र विचारमग्न हुँदै अत्यन्त शान्त स्वरमा भन्न थालिन् –

“हुन सक्छ, तपाईहरुलाई मेरो कुरा वाहियातजस्तो लाग्ला । तर साथीहरु इमानदार मान्छेहरु अमर हुन्छन् भन्ने कुरामा मलाई विश्वास छ । मलाई लाग्छ, ती व्यक्तिहरु, जसले मलार्य यो शानदार जीवन बिताउने सुख प्रदान गरे, उनीहरु अमर छन् – यस्तो जीवनले, जुन आफ्नो आश्चर्यजनक जटिलताले, आफ्नो विविधताले र ती विचारहरुको विकासले, जुन मेरा लागि प्राणभन्दा पनि प्यारो छ, मलाई लट्ट तुल्याउँछ । हुन सक्छ, हामीलाई आफ्नाआफ्ना अनुभूतिहरु जोगाउने बानी परिसकेको छ, आफ्ना विचारहरुलाई आवश्यकताभन्दा बढी महत्व दिन्छौं र त्यसैले हाम्रो व्यक्तित्व पूर्णतः विकसित हुन पाउँदैन । स्वभावतः हामी कुनै कुरा हृदयले अनुभव गर्नुको सट्टा त्यसको विवेचना गर्न थाल्छौं … ।”

“आज के त्यस्तो खुसीयाली प¥यो तपाईलाई ?” – सोफियाले मुस्कुराउँदै सोधिन् ।

“हो !” – सासाले टाउको हल्लाउँदै जवाफ दिइन् – “मलाई लाग्छ, धेरै खुसीको कुरा छ ! म रातभरि भेसोभसिकोभसँग कुरा गर्दै थिएँ । अगाडि मलाई ऊ पटक्क मन पर्दैनथ्यो । धेरै अशिष्ट र उल्लू लाग्थ्यो । हुन पनि त्यस्तै थियो । उसको हृदयमा प्रत्येक व्यक्तिप्रति एक घृणित अवहेलनाको भावना रहन्थ्यो । ऊ सधैं सबै कुरामा आफैंलाई सबैभन्दा बढी महत्व दिन्थ्यो र अत्यन्त नीच र क्रूद्ध तरिकाले “म…म…म… !” मात्र भनिरहन्थ्यो ! यी सबै कुरा एक अत्यन्त घृणित कूपमण्डू्रकता र खिज्याइ हुन्थ्यो … ।

उनी मुस्कुराइन् र चम्किला आँखाले चारैतिर हेरिन् ।

“तर अब ऊ ‘कमरेड !’ भनेर सम्बोधन गर्छ र तपाईहरुले सुनेर हेर्नुपर्छ कस्तो गजबले उच्चारण गर्छ ऊ यो शब्द ! अलि लाज मान्दै कति प्रेमपूर्वक भन्छ भने म शब्दमा बयान गर्न सक्दिनँ ! अब ऊ एकदमै सिधासादा बनिसकेको छ र कति इमानदार छ भने सधैं कामैबारे मात्र सोचिरहन्छ । अब उसले आफूलाई चिनिसकेको छ । आफ्नो शक्ति र कमजोरी बुझिसकेको छ । सबैभन्दा ठूलो कुरा त के हो भन उसको हृदयमा भाइचारको वास्तविक भावना पैदा भैसकेको छ … ।”

सासाको कुरा सुनेर आमालाई धेरै खुसी लाग्यो । ती कठोर युवतीलार्य यति कोमल र हँसिली भएको देख्दा आमालाई बडो आनन्द लागिरहेको थियो । तर कतै गहिराइमा, भित्र अन्तस्करणमा तीतो भावना फड्फडाउँदै थियो –

“अनि पाभेल नि … ?”

“ऊ अब खालि आफ्ना साथीहरुबारे मात्र सोचिरहेको हुन्छ ।” – सासा भन्दै थिइन् – “तपाईहरुलाई थाहा छ, ऊ मलार्य के कुरा मनाउने कोसिस गर्दै थियो ? भन्दै थियो – जेलमा भएका साथीहरुलाई भाग्ने बन्दोबस्त मिलाउनुपर्छ । ऊ भन्दै थियो यो काम एकदमै सजिलोसँग गर्न सकिन्छ … ।”

सोफियाले टाउको उठाएर हेरिन् र उत्सुकतापूर्वक सोधिन् –

“साँच्ची सासा, ठीकै त कुरा गर्दैछ ऊ, तपाईको के विचार छ नि ?”

आमाको हातको चियाको कप काँप्यो । सासा आँखीभौं खुम्च्याएर आफ्नो उत्सुकता लुकाउने कोसिस गर्दै थिइन् ।
“यदि उसले भनेको कुरा ठीक हो भने हामीले कोसिस गरेर हेर्नुपर्छ । यो हाम्रो कर्तव्य हो !” – एकछिन चुप लागिसकेपछि बडो आनन्दले मुस्कुराउँदै भनिन् ।

अचानक उनी लजाइन् र चुपचाप मेचमा बसिन् ।

“बिचरी, कठै, मेरी प्यारी बच्ची !” – आमाले मुस्कुराउँदै सोचिन् । सोफिया पनि मुस्कुराइन् र निकोलाइ सासातिर फर्केर बिस्तारै हाँस्यो । केटीले आफ्नो टाउको उठाइन् र गम्भीरतापूर्वक सबैको अनुहारमा हेरिन् । उनको अनुहार फिका भयो, आँखा चम्किए । रुखो र रुष्ट स्वरमा भनिन् – “मलाई थाहा छ, किन तपाईहरु हाँस्दै हुनुहुन्छ ?” – उनले भनिन् – “तपाईहरु ठान्नुहु्न्छ, यसमा मेरो निजी स्वार्थ छ ।”

“किन तपाई यस्तो सोच्नुहुन्छ, सासा ?” – सोफियाले बडो धूर्त तरिकाले सोधिन् र उठेर उनको नजिक गइन् । आमाले पनि बझिन्, सासाका लागि यो प्रश्न अप्रिय थियो र यस्तो प्रश्न सोध्ने कुनै आवश्यकता थिएन । आमाले लामो सुस्केरा हालिन् र रोषपूर्वक सोफियातिर हेरिन् ।

“यदि त्यस्तो ठान्नुहुन्छ भने म चुप लाग्छु !” – सासाले उत्तेजित हुँदै भनिन् –

“म यस विषयमा अब एक शब्द बोल्दिनँ, यदि तपाईहरु यस्तै ठान्नुहुन्छ भने … ।”

“सासा, के कुरा गर्नुहुन्छ तपाई पनि !” – निकोलाइले बिस्तारै भन्यो ।

आमा पनि सासाको नजिक गइन् र उनको कपाल सुमसुम्याउन थालिन् । सासाले आमाको हात समाइन् र आफ्नो रातो अनुहार उठाएर लज्जित हुँदै उनको अनुहारमा हेरिन् । आमाले केही भन्न सकिनन् । खालि मुस्कुराएर लामो सुस्केरा हालिन् । सोफिया सासाको छेउमा राखिएको एउटा मेचमा बसिन् र उनको काँधमा आफ्नो हात राखिन् अनि एक रहस्यमय मुस्कुराहटसहित उनको आँखामा हेर्दै भनिन् –

“तपाई गजबको मान्छे हुनुहुँदो रहेछ, सासा !”

“हो, मैले उल्लू कुरा गरेँजस्तो लाग्छ … ।”

“किन तपाईले यस्तो ठान्नुभएछ हँ ?” – सोफियाले सोधिन्, तर निकोलाइले बीचैमा उनको कुरा काट्दै गम्भीरतापूर्वक भन्यो –
“यदि सम्भव छ भने उनीहरुको भाग्ने बन्दोबस्त मिलाउनुपर्छ भन्ने कुरामा दुईमत हुन सक्दैन, तर सबैभन्दा पहिले हामीले थाहा पाउनुपर्छ जेलमा रहेका साथीहरु आफैं भाग्न सहमत छन् कि छैनन् ?”

सासाले टाउको निहुराइन् ।
सोफियाले चुरोट सल्काइन् र भाइलाई कर्केर हेर्दै मलाई निभाएर एउटा कुनातिर हुत्याइन् ।

“उनीहरु त किन नमानुन् र !” – आमाले सुस्केरा हाल्दै भनिन् – “तर मलाई त विश्वास लाग्दैन, यस्तो गर्न सकिएला र … ?”
सबै चुप थिए । आमा चाहिँ आशा गर्दै थिइन् कसैले भन्नेछ – होइन किन नहुनु र … !

“म भेसोभसिकोभसँग भेट्न चाहन्छु !” – सोफियाले भनिन् ।

“भोलि म तपाईलाई खबर गरुँला कहिले र कहाँ ऊसँग भेट्न सकिन्छ !” – सासले भनिन् ।

“कुन काममा लाग्दै छ ऊ अब ?” – कोठामा ओहोरदोहोर गर्दै सोफियाले सोधिन् ।

“उसलाई नयाँ प्रेसमा कम्पोजिटरको काममा लगाइनेछ । त्यतिन्जेल ऊ वनपालेको घरमा बस्नेछ ।