साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

द ह्वाइट टाइगर (सेतो बाघ) / अरबिन्द अडिगा- भाग ५२

Chovar Blues Mobile Size

महामहिम, गएको सात रातमा सिनो-इन्डियन (भारत-चिन) सम्बन्धमा उल्लेखनीय सुधार भएको छ । मानिसहरू भारत-चिनियाँ भाइ-भाइ भन्छन । सफल उद्यमी बन्नलाई तपाईंले बुझ्नुपर्ने कुराहरू- यो विचार कसरी हुर्किन्छ, कसरी समस्यामाथि विजय प्राप्त गर्छ, ऊ आफ्नो लक्ष्यबाट दायाँबायाँ नलागी कसरी अघि बढ्छ र कसरी ऊ सफलताको स्वर्ण पदकबाट पुरस्कृत हुन्छ, आदिको बारेमा मैले बताइसकेको छु ।

श्रीमान्‌, मेरो कथा सकियो र अब मेरो गोपनीयता तपाईंको पनि रहस्य/गोपनीयता हो तापनि मलाई अनुमति दिनुहुन्छ भने म अन्त्यमा एउटा शब्द भनेर बिदा माग्न चाहन्छु |

(यो तरिका मैले महान्‌ समाजवादीबाट सिकेको हुँ । जब उसले श्रोताहरूले हाई गरेको देख्छ, अनि भन्छ, अब अन्तिममा ‘एक शब्द’ तर त्यसपछि उसले दुईघन्टा बोलिरहन्छ ।हा-हा-हा-)

जब म कारमा होसुर मेनरोड हुँदै अघि बढेर सबै कम्पनीहरूलाई पछि छोड्दै इलेक्ट्रोनिक सिटी फेज- एकतिर मोडिन्छु, मलाई यो कति रमाइलो लाग्छ भनेर साध्य छैन । जनरल इलेक्ट्रिक, डेल, सिमेन्स जस्ता सबै कम्पनीहरू यहीँ बैङ्लोरमै छन्‌ | अझ अरु धेरै आउनेवाला छन्‌ । जताततै, चारैतिर निर्माण कार्य हुँदै छ । जताततै ढुङ्गा, हिलो र इटाको थुप्रो छ । सारा सहर धुवाँ, धुलो, पाउडर र सिमेन्टको धुलोले सहरको रूप नै अर्कै भएको छ । सहर त बुर्काभित्र बसेजस्तो छ । बुर्का हटाइयो भने बैङ्लोर सहर कस्तो देखिएला कुन्नि ?

सायद यो नाली, ढल, सपिङ मल, ट्राफिक जाम र पुलिसले भरिएर कुरूप हुने छ, तर के हुन्छ भन्न सकिँदैन । यो यौटा सुन्दर सहर पनि बन्न सक्छ जहाँ मानिस-मानिस जस्तै भएर जिउँछन्‌ र जनावरहरू जनावरै भएर बाँच्छन्‌ । नयाँ भारतका लागि नयाँ बैङ्लोर । अनि म आफ्नै पाराले गर्वसाथ भन्न सक्छु कि बैङ्लोरलाई नयाँ बनाउनमा मेरो पनि केही योगदान छ ।

sagarmani mobile size

के छैन त मेरो योगदान ? यो देशमा जसरी परिवर्तनहरू भैरहेका छन्‌ के त्यसमा मेरो केही पनि योगदान छैन त ? जसरी यहाँ हरेक गरिबले बाबुले जस्तो पिटाइ नखानलाई र गङ्गा नदीको तटको कालो हिलोमा छुट्टयाउन पनि नसकिने लासहरूको थुप्रोमा आफ्नो अन्त्य नहोस्‌ भनेर सङ्घर्ष गरिरहेका छन्‌, के त्यो सङ्घर्षमा म सफल भएको छैन र ? साँच्चै हो त्यहाँ यौटा हत्याको कुरा छ जुन गर्न हुने काम होइन । यसमा कुनै शङ्का छैन । यसले मेरो आत्मालाई नै कालो बनाएको छ । भारतका बजारहरूमा उपलब्ध छाला सेतो पार्ने क्रिम किनेर लगाए पनि/दले पनि मेरो हात सफा हुँदैन ।

तर यो संसारमा हाम्रो प्रम र तपाईजस्ता नाम चलेका व्यक्ति सबैले सफलताको शिखरमा पुग्न कोही कसैलाई मार्नु असम्भव छ त ? धेरै मान्छे मान्यो भने दिल्लीको संसद भवन अगाडि तपाईंको ढलोटको प्रतिमा ठड्याइदिन्छन्‌ | के यो गौरवको विषय हैन त ? अनि म पनि त्यही गर्न जाँदै छैन त ? मैले मानिस बन्ने अवसर मात्र खोजेको हो र त्यसको लागि एउटा हत्या पर्याप्त थियो ।

अब यसपछि मलाई के होला ? म बुझ्छु तपाईले यही कुरा सोच्दै हुनुहुन्छ पक्कै पनि । म यसलाई तपाईं सामु यसरी राख्छु । आज दिउँसो एम.जी. रोड जुन हाम्रो यहाँको सबैभन्दा प्रसिद्ध किनमेल गर्ने ठाउँ हो र जहाँ थुप्रै अमेरिकी पसल र प्रविधि व्यवसायका कम्पनीहरू छन्‌, जाँदा मैले याहु देखेँ । मानिसहरू अफिस बाहिर नयाँ सारईनबोड लगाउँदै थिए जसमा लेखेको थियो : ‘हाउ बिग क्यान यु थिङ्क ?’

मैले स्टेरिङबाट हात हटाएँ ।
त्यै ठूलो सिमा झ्याक्ने ।

मलाई मेरो व्यवसायको सुरूवात साह्रै मन पर्छ । अहिले मसँग यो झालरबत्ती, ल्यापटप, छब्बीस वटा टोयोटा क्वालिस गाडी छ । तर म तपाईंसँग साँचो कुरा गर्दै छु कि ढिलो या चाँडो यी सबैप्रति मेरो त मोह भङ्ग हुन्छ । श्रीमान्‌, म एक नम्बर गियरजस्तै सधैँ अघि बढ्ने मान्छे हो ! मैले यो सुरू गरेको व्यवसाय एकदिन कुनै मूर्खलाई बेचेर केही नयाँ काममा हात हाल्नुपर्छ । म अब घरजग्गा व्यवसायको बारेमा सोच्दै छु । तपाईं छक्क पर्नुहुन्छ कि अरू सबै मानिस आजको सुर्ता गरिबस्छन्‌, तर म भोलिको कुरा मात्रै सोच्छु । भोलिका दिनमा सारा संसार नै बैङ्लोर आउँछ | मात्र तपाई विमानस्थलमा आएर कारमा जाँदा दायाँ बायाँ सिसा र फलामै फलामले बन्दै गरेका भवनहरू गन्नुहोला । कुन अमेरिकी कम्पनीले ती घरहरू बनाउँदै छन्‌ तिनको नाम हेर्नुहोला । अनि यी सबै अमेरिकीहरू यहाँ आए भने तपाईंलाई यिनीहरू कहाँ गएर सुत्लान्‌ जस्तो लाग्छ ? बाटोमा ? हा-हा-हा- |

कुनै खाली एपार्टमेन्ट देखेपछि म त्यो हेरिहाल्छु र म सोच्छु कि यी अमेरिकनहरूबाट दुईहजार दस (२०१०) सम्ममा म कति फाइदा लिनसक्छु त ? यदि त्यो अपार्टमेन्ट अमेरिकीहरूको भविष्यको घर बन्न सक्ने सम्भावना देखेँ भने मैले तुरून्त बैना दिइहाल्छु । श्रीमान्‌, घरजरा कारोबारको भविष्य भनेकै बैङ्लोर सहर हो । तपाईं पनि मैले जस्तै अपराध गरेर सफल बन्ने हो भने बरू म तपाईंलाई सहयोग गर्ने वचन दिन्छु !

तीन चारवर्ष घर-जग्गा कारोबारमा कमाएपछि मैले सबै कुरा बेचेर (भएको जति बेचेर) एउटा यहाँका गरिब बच्चाहरू पढ्ने अङ्ग्रेजी स्कुल खोल्ने विचार गरेको छु । म यस्तो स्कुल खोल्ने विचारमा छु कि जहाँ गान्धी र भगवानको प्रार्थना गरेर विद्यार्थीको दिमाग भ्रष्ट नहोस्‌ । मात्र के भने त्यहाँ बच्चाहरूले जीवनको साँचो यथार्थ मात्र बुझून्‌ । यस्तो स्कुल जहाँ स्वतन्त्र म जस्ता सेता बाघहरू खुल्लमखुल्ला हिंड्न्‌ ।! त्यसपछि यो पूरा सहर नै हाम्रो चरणमा ढोग्न आउँछ, म साँचो कुरा गर्दै छु । म बैङ्लोरको मालिक नै बन्न सक्छु | म तुरून्तै त्यो पुलिसको असिस्टेन्ट कमिस्नरलाई यो कामको जिम्मा दिनसक्छु । म त्यसलाई साइकलमा हिँड्न लगाएर असिफलाई भनेर गाडीले ठोक्न लगाउन सक्छु ।

मेरो यो सबै सपना हो । यो चकनाचुर पनि हुनसक्छ । अनि हेर्नुस्‌ त मलाई कहिल्यै कसैले गिरफतार गर्नसक्छ जस्तो लाग्दैन । मलाई लाग्छ कि त्यो कुखुराको खोर “बाहिर निस्कन म जस्तै साहस भएको मानिस चाहिन्छ | यो काम गर्न अशोकजी जस्तै मालिक चाहिन्छ जुन असङ्ख्य राम्रा व्यवहार : हुँदा पनि कहिल्यै मालिकजस्ता थिएनन्‌ । झार उखेलेर फालेजस्तै फालेर तिनको ठाउँ लिन सक्ने म जस्तै नोकर चाहिन्छ । यस्तो बेला म डुक्रिएर भन्न सक्छु कि अशोकको परिवारले मेरो टाउकोको पुरस्कार दसौँ लाख पनि बेहोर्न सक्छ तर यसको मलाई कुनै स्वाद छैन | मैले अरू सुरक्षित उपाय सोचिसकेको छु जसलाई यो भारतमा कसैले समाउन गर्न सक्दैन । यस्ता कुरा सोचिरहँदा म त्यही झालरबत्ती हेर्छु र मलाई दुवै हात माथि उठाएर यसरी चिच्च्याउन मन लाग्छ ताकि मेरो आवाज कल सेन्टर हुँदै अमेरिकासम्म पुगोस्‌ : म कुखुराको खोरबाट उम्केकै मानिस हो | मैले यो बनाएको छु ।

तर कहिलेकाहीँ गल्लीमा हिँड्दाहिँड्दै ‘बलराम’ भनेर कसैले बोलायो भने म त्यतै फर्किन्छु र म सोच्छु कि मेरो रहस्य अब सबैले थाहा पाएछन्‌ |

पक्राउ पर्नसक्ने सम्भावना त सधैँ छँदै छ । अशोकजी भन्ने गर्थे कि
भारतमा कुनै पनि कुराको अन्त्य हुँदैन । पुलिसलाई जति मन लाग्यो त्यति खैरो खाम र रातो झोलामा राखेर घुस दिनुस्‌, तर मौका परे तिनले अँठ्याउन छोड्दैनन्‌ । एउटा पोसाक लगाएको मान्छेले कुनै दिन भन्न सक्छ कि, ‘मुन्ना तेरो मिति सकियो/दिन आयो, ल अब हिँड्‌ ।’

तर पनि मेरो सबै झालरबत्ती भुइँमा झरेर फुटे पनि, तिनले मलाई जेलमा कोचेर अरू कैदीलाई मेरो गाँड मार्न लगाए पनि, मलाई काठको भर्याङ चढेर फाँसीको फन्दासम्म हिँड्नै पर्ने भए पनि मैले दिल्लीमा एक राति मेरो आफ्नै मालिकको गला रेटेर गल्ती गरेँ भनेर भन्नेवाला छैन !

म के भन्छु भने यो मात्र एकदिन वा मात्र एक घन्टा वा मात्र एक मिनेटकै लागि किन नहोस्‌, दासबाट मुक्त हुन यो गर्नु जरूरी थियो !

महामहिम, मलाई लाग्छ यो काम अरूले पनि सिक्नेछन्‌ ।हा-हा-हा

तपाईंको सेवक,

अशोक शर्मा

बैङ्लोरको सेतो बाघ,

बोस २ ह्वाइट टाइगर – टेक्नोलोजीड्राइभर्स, कम ।

समाप्त

प्रतिक्रिया
Loading...