एक
डिसेम्बर – २००१
म आज जे छु, त्यो म बाह्र बर्षको छँदा सन् १९७५ को कुनै गुम्म बादलले ढाकिएको चिसो एक दिन भएको थिएँ । हिउँ जमेको सानो खोल्सोको नजिकै भत्किन लागेको माटोको पर्खाल छेउ टुसुक्क बसेर नदेख्ने गरी गल्लीतिर चियाएर बसेको त्यो अविस्मरणीय क्षण म झल्झली सम्झन्छु | यो धेरै समय अघिको कुरा हो । मानिसहरू विगतको बारेमा जे भन्छन् त्यो सबै गलत हो | विगतलाई कसरी स्मृतिमा गाडेर राख्न सकिन्छ भन्ने कुरा मैले सिकेको छु | अहिले विगतलाई सम्झिँदा म महसुस गर्छु कि त्यो उराठलाग्दो गल्लीलाई मैले विगत छब्बीस बर्षदेखि अनवरत नियालिरहेको छु |
गत बर्ष ग्रीष्म ऋतुको कुनै एक दिन मेरा मित्र रहिम खानले पाकिस्तानबाट फोन गरे । उनले मलाई भेट्न आउन अनुरोध गरे । भान्सामा उभिएर फोनको रिसिभर कानमा राखेर कुरा गरिरहँदा मैले बुझे कि फोनमा कुरा गर्ने व्यक्ति मात्र रहिम खान थिएनन् | मेरो सामु प्रायश्चित नगरेको विगतका पापहरू छर्लङ्ग उभिए । फोन राखेपछि म गोल्डेन पार्क गेटको छेउमा अवस्थित स्प्रिकेल्स तालको किनारमा टहलिन निस्के । मध्यान्हको घाम पानीमा टल्किन्थ्यो जहाँ दर्जनौँ साना डुङ्गाहरू चिसो हावाको दिशामा तैरिन्थे अनि यसो आकाशतिर हेरेको त लामो नीलो रङको पुच्छर भएका एक जोडी चङ्गा उडिरहेको देखेँ । ती चङ्गाहरू उद्यानको पश्चिम किनारका अग्ला रूखहरू र विन्डमिलभन्दा माथि सँगसँगै तैरिँदै थिए । लाग्थ्यो मानौँ एक जोडी आँखाले सन्फान्सिस्कोलाई चियाइरहेका छन्, त्यो सहर जसलाई म आफ्नो घर भन्दछु |
र अचानक हसनका शब्दहरू मेरो दिमागमा गुञ्जिए : तपाईंको लागि हजारपटकभन्दा पनि बढी गर्न सक्छु । त्यही खुँडे चङ्गा छोप्न दौडिने हसन ।
म (विल्लो) रूखको छेउमा बेञ्चमा बसेँ । रहिम खानले फोन राख्नुभन्दा ठीक अघि भनेको केही कुरा सम्झिन थालेँ । उनले भनेका थिए, “फेरि असल बन्ने पनि एउटा बाटो हुन्छ ।’ आकाशमा उडिरहेका ती जुम्ल्याहा चङ्गाहरू हेरेँ | हसनको बारेमा सोचेँ | मेरो बाबा, अलि र काबुलको बारेमा सोचेँ । सन् १९७५ को हिउँदसँगै सबै परिवर्तन नहुञ्जेल मैले यहाँ बिताएका दिनहरू सम्झेँ । मलाई आज यहाँसम्म पुर्याउने दिनहरू सम्झेँ ।
दुई
हामी केटाकेटी छँदा हसन र म मेरो बुबाको घरको कार ल्याउने लाने सानो पक्की सडक किनारका लहरे पीपलका रूखमा चढ्थ्यौँ र फुटेका ऐनाका टुक्राले छिमेकीहरूका घरभित्र घाम टल्काइदिएर दिक्क पारिदिन्थ्यौँ । हामी सुर्वालको खल्तीभरि किम्बु र ओखर लिएर, आमने सामने भएर अग्लो हाँगामा तूर्लुङ्ग खुट्टा झुण्ड्याएर बस्थ्यौं । हामी किम्बु खाँदै एक अर्कालाई किम्बुले हान्दै खितिति हाँस्दै पाल्लैपालो ऐनाले अरूको घरभित्र घाम परिदिन्थ्यौँ । गालो अनुहारमा पातहरूबाट छिरेका प्रकाश चम्किरहेको त्यही रूखको हाँगा माथि बसेको हसनलाई म अहिले पनि देख्छु । उसको अनुहार काठमा खोपेर बनाएको चिनियाँ खेलौना जस्तो छः ठूलो थेप्चो नाक, बाँसको पातजस्तो सिलित्त परेका चिम्से आँखा जुन प्रकाश परिवर्तनसँगै पहेँलो, हरियो र नीलो देखिन्छन् | म अझै पनि उसका छोटा कान, चुच्चे च्यापु, जुन, बनाइसकेपछि थपिएको कुनै मासुको डल्लो जस्तो देखिन्छ, लाई झल्झली सम्झन्छु र त्यो बीचभन्दा अलिकति देब्रे पट्टिको खुँडे ओठ लाग्छ कि चिनियाँ खेलौना बनाउने कालीगढ निर्माणको काममा या त ऊ थाकेको या ध्यान अन्यत्र गएको थियो या उसको बुट्टा कुँद्ने रामो चिप्लिएर काटिएको हो |
कहिलेकाहिँ मैलै हसनलाई तिनै रूखहरूमा चढेर गुलेलीमा ओखर राखेर छिमेकीको एक आँखै जर्मन सेपर्डलाई हान्न लगाउँथे । हसनले त्यसो गर्न कहिल्यै पनि मन गर्दैन्थ्यो, तर साँच्चिकै मैले अहाए पछि उसले नाइँ भन्दैनथ्यो । मेरा लागि हसनले जे कुरा पनि नाइँ भन्दैनथ्यो र ऊ गुलेली खेलाउन डरलाग्दो पोख्त थियो | हसनको बाबु अलीले हामीलाई पक्रन्थे र कराउँथे वा कहिलेकाँही रिसले बौलाउँथे भने कहिलेकाँही कहिल्यै नभएको नम्र अली बन्थे । उनले औँलाको इसारा गर्दै हामीलाई रुखबाट झर भन्थे । ऐना हातमा लिएर उनले हामीलाई आफ्नी आमाले भनेको कुरा सुनाउँथे । उनकी आमाले भन्थिन् रे, मुसलमानहरूलाई प्रार्थना गर्दा ध्यान भङ्ग गराउनलाई राक्षसले पनि ऐना टल्काउँछ रे | छोरालाई आँखा तरेर हेर्दै उनी भन्थे, “त्यसो गर्दा राक्षस हाँस्छ ।”
हसन डरले भुतुक्क हुँदै शिर निहुर्याएर आफ्नै गोडातिर हेर्दै रून्चे स्वरमा सहमति जनाउँथ्यो र भन्थ्यो, ‘हो बुबा, ठीक भन्नुभो’ तर उसले आफ्नो दोष कहिल्यै देखाएन । उसले कहिल्यै पनि छिमेकीको कुकुरलाई ओखरले हान्ने जस्तै ऐना टल्काउने बदमासी काम मैले अह्राए सिकाएको हो भनेर कहिल्यै पनि पोल लगाएन ।
लहरे पीपलका रूखहरू इँटा छापिएको कार लाने-ल्याउने बाटोको दायाँबायाँ लाहरै थियो र त्यो बाटो फलामे गेटसम्म पुग्थ्यो अनि त्यो गेट र बाटो मेरो बुबाको ठूलो घर परिसरमा गएर जोडिन्थ्यो । घर ईंटा छापिएको सानो बाटोको देब्रेपट्टि थियो र बाटोको अन्तिम छेउमा करेसाबारी ।
उत्तरपट्टिको वजिर अकबर खान भन्ने जिल्लाको नवनिर्मित सम्पन्न आवास क्षेत्रमा सबैको भन्दा राम्रो घर मेरो बुबाले नै बनाउनुभएको थियो भन्ने कुरामा कसैको पनि विमति थिएन । कोही त के पनि भन्थे भने काबुल सहरभरिमा सबैभन्दा राम्रो घर हाम्रो नै थियो । भुइँमा संगमर्मर टाँसिएको ठूला झ्यालहरू भएको, ठूलो घरको मूल ढोकासम्म पुग्ने सानो प्रवेशद्वारको दायाँबायौँ टन्न गुलाबका रूखहरू थिए । चारवटा बाथरूमहरूमा बाबाले आफ्नो हातले छानेर इस फान सहरमा किन्नुभएको रडीचङ्गी टायलहरू टाँसिएको थियो । बाबाले कलकत्तामा किन्नुभएको सुनौला धागोहरूले बुट्टा कोरिएको पर्दा लगायत सजावटका वस्तुहरूले भित्ताहरू सजिएका थिए | गुम्बज छानोको बीचमा हिराजस्तै टल्किने झालर बत्तीहरू भुन्डिएको थियो ।
बाबाको कोठा, उहाँको पढ्ने कोठा जसलाई “धुम्रपान गर्ने कोठा” भनेर चिनिन्थ्यो जहाँ सधैँ दालचिनी र चुरोटको धुवाँ गन्हाउँथ्यो र मेरो सुत्ने कोठा, चोटामा थियो । अलिले टक्र्याएको खाना खाइसकेपछि बाबा र उहाँका साथीहरू कालो छालाले मोरिएका आरामदायी कुर्सीमा अडेस लागेर बस्नुहुन्थ्यो । उहाँहरू पाइपमा सुर्ती भर्न थाल्नु हुन्थ्यो जुन कामलाई बाबा बाहेक अरू सबैले “पाइप मोटो पार्ने काम भन्थे र उनीहरूका तीनवटा प्रिय विषयमाथि छलफल हुन्थ्यो । ती विषय हुन्थे- राजनीति, व्यापार र फुटबल । कहिलेकाँही म पनि उहाँहरू सँगै बस्न सक्छु कि भनेर म सोध्थे, तर बाबा ढोकामा उभिएर भन्नुहुथ्यो, ‘ल, अहिले गइहाल । यो समय बूढाहरूको समय हो । भित्र भएर आफ्नो कुनै किताब पढ्यो भने बेस हुन्छ ।’ उहाँ ढोका बन्द गर्नुहुन्थ्यो र म आश्चर्य मान्दै सोच्चैँ उहाँसँग बस्ने समय सधैँ बूढाहरूको मात्रै किन ? म ढोका छेउ टुकुक्क बस्थेँ । कहिलेकाँही एक घण्टा त कहिलेकाँही दुई घण्टासम्म पनि उनीहरूकै हाँसो र गफगाफ सुनेर बस्थेँ ।
भुइँ तलाको बैठक कोठा बक्राकार भित्ताहरूमा परम्परागत शैलीमा बनाइएका खोपीहरू थिए । खोपीमा फ्रेममा राखिएका परिवारका फोटोहरू थिए | एउटा मेरो हजुरबुबा र राजा नदिर शाहको १९३१ मा लिइएको तस्विर थियो जुन राजाको हत्या हुनुभन्दा ठीक दुई बर्ष अगाडि खिचिएको थियो | उक्त तस्विरमा उनीहरू घुँडासम्म आउने बुट जुत्ता लगाएर बन्दुक काँधमा भिरेर आफैँले शिकार गरेका हरिणमाथि उभिएका छन् । अर्कोचाहिं मेरो बुबा आमाको बिहेको रातको तस्विर थियो जसमा बुबा कालो सुटमा ठाँटिनु भएको छ भने आमा सेतो लुगामा एउटा जवान र हँसिली राजकुमारी झैँ सुन्दर हुनुहुन्छ । अर्को एउटा तस्विरमा बुबा र उहाँको व्यवसायीक साझेदार र अति प्रिय मित्र रहिम खान, हाम्रो घर बाहिर गम्भीर मुद्रामा उभिएका छन् । उक्त फोटोमा म सानो बच्चा नै छु र थकित, उदास अनुहारमा उभिएर बाबाले मलाई समाँउनुभएको छ | म बाबाको काखमा छु, तर मेरो औँलाहरू भने रहिम खानको पिङ्कीमाथि जेलिएको छ ।
“परम्परागत मुस्लिम कालिगडी र शैलीमा बनाइएका ती वक्राकार भित्ताहरू हुँदै डाइनिङ रूममा पुगिन्छ, जसको बीचमा एउटा ठूलो महगोनीको टेबल छ जहाँ तीसजना मानिस सजिलै बस्न सक्छन् | खर्चिलो पार्टीका सौखिन मेरो बाबाले लगभग प्रत्येक हप्ता सानदार पार्टी दिनुहुन्थ्यो । डाइनिङ रूमको पल्लो छेउमा एउटा सिंगमर्मरले सजाइएको अग्लो चुल्हो थियो जुन जाडोभरि सुनौला आगोको ज्वालाले उज्यालो भइरहन्थ्यो ।
घच्याटेर उघार्ने ठूलो सिसाको ढोका अर्धवृत्ताकार पछाडिको पिँढीमा खुल्थ्यो जहाँबाट हाम्रो दुई एकडको करेसा र चेरीका रूखहरूको लाइन देखिन्थ्यो | पूर्वपट्टिको पर्खाल छेउ बाबा र अलि मिलेर सानो तरकारी बारी बनाउनुभएको थियो जहाँ गोलभेडा, पुदिना, मरिच लगायत एक लाइन मकै लगाइएको थियो जुन कहिल्यै फलेन । हसन र म यसलाई “बिरामी मकैको पर्खाल’ भन्ने गर्थ्यौं ।
बगैंचाको दक्षिणी छेउमा, लौकाटको छाँयामुनि एउटा सामान्य नोकर बस्ने छाप्रो थियो जहाँ हसन आफ्नो बाबुसँग बस्थ्यो |
म जन्मिदाको प्रसव पीडाले आमा बित्नुभएको ठीक एक बर्षपछि सन् १९६४को जाडोमा त्यही सानो छाप्रोमा हसन जन्मिएको थियो ।
मेरो त्यस घरमा अठार बर्षको बसाइमा म हसन र अलि बस्ने त्यो छाप्रोमा मुस्किलले दुई चार पटकमात्र छिरें होला । जब सूर्यलाई डाँडाले छेल्थ्यो र जब हाम्रो दिनभरिको खेल सकिन्थ्यो, अनि हामी छुट्टिंथ्यौँ । म गुलाबको बगैँचा हुँदै बाबाको हबेलीमा जान्थेँ र हसन आफू जन्मेको र सारा जीवन बिताएको, त्यही छाप्रोमा जान्थ्यो । म सम्झन्छु यो छाप्रो एउटा सफा जगेडा ठाउँ थियो, जहाँ मधुरो एक जोडी ढिब्री बत्ती बलिरहन्थे । कोठाको वारिपारि बीचबीचमा बोटहरू उघ्रेका थोत्रा (Herati)डसनाहरू थिए र कुनामा एउटा स्टुल (Stool) र सानो टेबल थियो, जहाँ बसेरहसनले चित्रहरू कोर्थ्यो । भित्तामा मात्र एउटा दानाहरू बुनेर अल्ला-उ-अकबर लेखिएको सजावटको तन्ना झुन्डिएको थियो भने बाँकी भित्ताहरू नाङ्गै थिए | एकपटक मसद जाँदा बाबाले यो अलिका लागि ल्याइदिनुभएको थियो ।
हसनकी आमा सनाउबारले यही सानो छाप्रो भित्र सन् १९६४ को जाडोमा हसनलाई जन्माएकी थिइन् । मलाई जन्माउँदा मेरी आमा रक्तश्रावले स्वर्गे हुनुभएको थियो भने हसनले आफ्नी आमालाई जन्मेको हप्तादिनभन्दा पनि चाँडो गुमाएको थियो । दुर्भाग्य, उसले आमालाई यसरी गुमायो कि जुन कुरालाई धेरैजसो अफगानीहरूले मृत्युभन्दा पनि नराम्रो ठान्छन्- उनी एकजना फिरन्ते नौटङ्गीवालासँग पोइल गएकी थिइन् । हसनले कहिल्यै पनि आफ्नी आमाको बारेमा कुरा गरेन मानौं उनी छिँदै थिइनन् | म सधैँ आश्चर्य मानेर सोच्थेँ कि के उसले कहिल्यै आमाको बारेमा सपना देख्दैनथ्यो, के उसले आमा कस्ती थिइन होला भनेर सोच्दैनथ्यो । के उसले आमा कडाँ होलिन् भनेर सोच्दैन्थ्यो । म सोच्थेँ, के उसलाई आमा भेट्न मन लाग्दैनथ्यो होला । जसरी मलाई आफ्नी आमालाई देख्न नपाएकोमा पीडा र छटपटी हुन्थ्यो उसलाई त्यस्तो हुँदैनथ्यो होला र ? एकदिन हामी घरबाट इस्तिकलाल मिडिल स्कुलको नजिकै सैनिक ब्यारेकको बीचबाट चोरबाटो हुँदै “सिनेमा जैनाव” मा नयाँ लागेको इरानी फिलिम हेर्न जाँदै थियौं । बाबाले हामीलाई त्यो बाटो हिंड्न मनाही गर्नु भएको थियो तर त्यतिबेला बाबा र रहिम खान पाकिस्तानमा हुनुहुन्थ्यो | हामीले ब्यारेकको तारबार नाघ्यौँ र धूलोले पुरिएको थोत्रा ट्यांकहरू थुपारेर राखेको फोहोरो चौरमा लुसुक्क छिप्यौं । एक हुल सिपाहीहरू त्यही एउटा ट्याँकको छायामा अटेसमटेस गरी टाँसिएर बसेर चुरोट तान्दै तास खेलिरहेका थिए । एकजनाले हामीलाई देख्यो, छेउमै बसेको साथीलाई कुहिनोले धकेलेर इसारा गर्यो र हसनलाई बोलायो ।
“ए, केटा”, उसले चिच्यायो । “म तँलाई चिन्दछु । ”
हामीले त्यो सिपाहीलाई यस अघि कहिल्यै देखेका थिएनौँ । उसको शरीर डल्लोडल्लो पाराको थियो भने टाउको चिण्डे र गालाभरि दाह्रीको ठोसा थियो । उसले मुख मिठ्याउँदै ङिच्च हाँसेर हामीलाई हेरेको पारा देखेर मेरो सातो गयो | मसिनो आवाजमा हसनलाई भनेँ, “किन रोकिएको ? छिटो हिँड, छिटो ।”
“ए तँ हजारा । सुनिनस् ? म बोल्दा मतिर हेर्ने, बुझिस् ?”, ऊ डुक्रियो ।
उसले तान्दै गरेको चुरोट छेउको साथीलाई दियो र एउटा हातको बूढी औँला र चोर औँलाले प्वाल बनाएर देखायो र अर्को हातको माझी औँला त्यसभित्र छिराएर मैथुन गरेको इसारा गर्यो । धेरै पटक छिराउने निकाल्ने गरिरह्यो र भन्यो, “तँलाई थाहा छ म तेरी आमालाई चिन्थेँ । मैले उनको स्वाद लिएको थिएँ । मैले एक दिन पछाडिको बाटोबाट उ त्यो खोला छेउ लिएर गएको थिएँ ।”
सिपाहीहरू हाँसे । एक जना त सुँगुरको हाँसो हाँस्यो । मैले हसनलाई चुप लागेर छिटोछिटो हिंड्न अह्राएँ ।
हात हल्लाएर हाँस्दै ऊ आफ्ना साथीहरूसँग भन्दै थियो, “त्यो आइमाईको माल त चोपिलो सिरूपाते थियो । ” फिलिम सुरु भइसकेपछि अँध्यारोमा मेरो छेउमा हसन घुँक्क घुँक्क गरेर रोएको सुनेँ । म अलि पर सरेँ, उसलाई अङ्गालो मारेँ र तानेर मेरो नजिकै राखेँ । उसले मेरो काँधमा टाउको अड्यायो । मैले उसको कानमा फुसफुस गर्दै भनेँ, “उसले तँलाई अरू कोही भनिठान्यो होला । ऊ भझुक्कियो । भयो अब चुप लाग ।”
मलाई भनिएको छ कि अब सनाउबार पोइल गइन्, कसैले आश्चर्य मानेन । अलि जस्तो कुरान कण्ठ पारेको सज्जन व्यक्तिले आफूभन्दा उन्नाइस बर्ष कान्छी, राम्री, तर साह्रै दुर्जन, इज्जतको पर्वाह नगर्ने अविवेकी, बदनाम आइमाई बिहे गर्यो रे भन्दा सबैले निधार खुम्चाएका थिए रे । अलि जस्तै उनी पनि अल्पसंख्यक जातकी हजारा मुसलमान थिइन् । उनी अलिको जेठी भतिजी थिइन् र त्यसैले उसको श्रीमती बन्न पहिलो रोजाइ पनि, तर ती जातीय समानताको पृष्ठभूमिको बाबजुद, अलि र उसमा कुनै कुरा समान थिएन । अनुहार त झनै थिएन । साउनबारका चम्किला हरिया आँखा, बनावटी हाँसो र हाउभाउले असंख्य मानिसलाई पाप कर्मको निम्तो दिन्थ्यो रे भन्ने हल्ला अझै व्याप्त छ भने अलिको अनुहारको तल्लो मांसपेशीमा जन्मजातै पक्षघात थियो जसकैँ कारणले उनी हाँस्न सक्दैनथे र सदा उदासी अनुहार देखिन्थ्यो । ढुङ्गाको जस्तो अनुहार भएको अलिलाई खुसी या दुःखी देख्नु अनौठो लाग्थ्यो किनभने मात्र उसका, चिम्से आँखाहरू हाँस्दा उज्याले हुन्थ्यो र दुखी हुँदा आँसुले भरिन्थ्यो । भनिन्छ आँखाहरू आत्माका प्रतिबिम्ब हुन् । उक्त भनाइ अलिको हकमा भन्दा बढी सत्य अरू व्यक्तिमा देखिँदैनथ्यो किनभने अलि को हो भन्ने कुरा उसका आँखाहरूबाट चिनिन्थ्यो । मैले सुनेको छु कि सनाउबारको बनावटी हिँडाइ र हल्लिने नितम्ब देखेर मानिसहरू परस्त्री गमनको आनन्दको कल्पना गर्थे, तर पोलियोले गर्दा अलिको दाहिने खुट्टा पातलो छालाले ढाकिएको बाङ्गो लौरो जस्तो थियो । मलाई याद छ जब म आठ बर्षको थिएँ, अलिले नान किन्न मलाई लिएर बजार जाँदै थिए | म उनकै पछिपछि गीत गुन्गुनाउँदै उनैको सिको गरेर हिँड्दै थिएँ | उनी हिँड्दा त्यो सुँइखुट्टे खुट्टा हावामा हल्लिएको मैले हेरिरहँ । जति पटक उनी त्यो गोडाले भुइँमा टेक्थे त्यतिनै पटक उनको शरीर लड्लाजस्तै गरी त्यतै ढल्किन्थ्यो । प्रत्येक कदम चाल्दा उनी किन लड्थेनन्, त्यो नै अचम्म लाग्थ्यो । उनको सिको गर्दा म झन्डै नालीमा मुन्टिइन । म खित्का छाडेर हाँसे । अलि पछि फर्केर हेर्दा मैले उनको नक्कल गरिरहेको थाहा पाएँ । उनी केही पनि बोलेनन् न त्यति बेला न कहिल्यै । उनी हिँडिरहे | अलीको अनुहार र हिँडाइ देखेर छिमेकका ससाना केटाकेटीहरू डराउँथे । तर ठूलो समस्या अलि हुर्केका केटाकेटीहरूसँग हुन्थ्यो । उनी घल्ट्याङ्ग-घल्ट्याङ्ग गर्दै हिँडेको देखे भने केटाकेटीहरू उनलाई गिज्याउँदै पछिपछि हिँड्थे । कसैले त उनलाई ‘बबालु’ अथवा ‘बुगीम्यान’ भन्न थालेका थिए | ‘ए बबालु आज तैंले कसलाई खाइस् ? ए नेप्टे बबालु आज कसलाई खाइस् ?’ भन्दै भीड लागेर पछिपछि हाँस्दै हिँड्थे ।
तिनीहरू उनलाई नेप्टे भन्थे किनभने अलि र हसनको रूप मङ्गोलीयन पाराको थियो | धेरै बर्ष पछिसम्म पनि मैले हजाराहरूको बारेमा थाहा पाएको कुरा के थियो भने तिनीहरू मंगोल बंशका हुन् र हल्का रूपमा तिनीहरू चिनियाँ जस्तै देखिन्थे । स्कुले किताबहरूले तिनीहरूको बारेमा बिरलै उल्लेख गर्थे र उनीहरूको पुख्यौलीको बारेमा मन नलाइ नलाई छोटौ शब्दमा उल्लेख गर्थे । अनि म एक दिन बाबाको पढ्ने कोठामा बसेर उहाँका किताबहरूको थुप्रो केलाएर हेर्दै थिएँ, मैले मेरी आमाको एउटा पुरानो इतिहासको पुस्तक पाएँ । यो खोरामी नाम गरेको एक जना ईरानीले लेखेको पुस्तक थियो । किताबको धुलो टक्टकाएर, सुट्ट लुकाएर त्यस रात बिस्तारामा लिएर गएँ र पढेँ, र एउटा सिङ्गै अध्याय हजाराको इतिहासको बारेमा फेला पारेँ र छक्क परेँ | एउटा पुरै अध्याय हसनको पूर्खाको बारेमा बाफरे ! यस पुस्तकमा मैले पढेँ कि मेरो पुर्खा पास्तुनहरूले हजाराहरूलाई यातना दिएर दमन गरेका रहेछन् । यसमा लेखिएको थियो कि हजाराहरूले पास्तुनहरूको विरूद्धमा १९ औं शताब्दीमा आवाज उठाउने प्रयास गरेका थिए रे, तर पास्तुनहरूले त्यस आन्दोलानलाई चरम हिंसा र दमन गरेर साम्य पारेका थिए | पुस्तकमा लेखिएको थियो कि मेरा पुर्खाले हजाराहरूलाई मारेका रहेछन । उनीहरूलाई आफ्नो भूमिबाट लखेटेका रहेछन् । उनीहरूका घरहरू जलाइदिएका रहेछन् र उनीहरूका चेलीबेटी बेचिदिएका रहेछन् । पुस्तकमा लेखिएको थियो कि यस दमनको कारण के रहेछ भने पास्तुनहरू सुन्नी र हजाराहरू सिया रहेछन् । उक्त पुस्तकमा मैले नजानेको र शिक्षकहरूले पनि कहिल्यै उल्लेख नगरेका धेरै कुराहरू थिए । न त बाबाले नै कहिल्यै केही भन्नुभएको थियो, जस्तै हजाराहरू मुसा खाने, नेप्टे नाक भएको भारी बोक्ने गधाहरू हुन् | हाम्रो छिमेकमा केही बच्चाहरूले हसनलाई त्यसै भनेर चिच्च्याएको मैले सुनेको थिएँ ।
अर्को हप्ता, पढाइ सकिएपछि मैले हाम्रो शिक्षकलाई त्यो पुस्तक दिएँ र हजाराहरूको बारेमा लेखिएको त्यो अध्याय देखाएँ । उनले सरसर्ती २-४ पाना पल्टाएर हेरे अनि हाँस्दै पुस्तक मलाई दिए । “सियाहरूले गर्न जानेको बाम त्यही एउटा त हो ।” आफ्नो पत्रिका उठाउँदै भने, “अब यिनीहरू आफैँ सहिद भएर सकिन्छन् ।”
‘सिया’ भन्ने शब्द उच्चारण गर्दा उनले नाक यसरी खुम्चाए मानौँ यो कुनै रोगको नाम हो ।
आफ्नै जात र खानदानी रगत भए पनि सनाउबार छिमेकका केटाकेटीहरू तिरै लागेर अलिलाई गिज्याउँथी । मैले सुनेको छु कि उसले अलिको अनुहार आफूलाई मन नपर्ने कुरा खुलेरै भन्थी रे |
“लोग्नेको अनुहार यस्तै हुन्छ ?” ऊ उपहास गर्थी । “यो मोरो भन्दा त बरू बूढो गधा लोग्ने बन्न सुहाउँछ ।”
अन्तिममा धेरैजसो मानिसहरू शंका गर्थे कि उनीहरूको बिहे अलि र उसको आफ्नै काका (सनाउबारको बाबु) को साँठगाँठबाट भएको थियो | मानिसहरू भन्ने गर्थे कि पाँच बर्षमै टुहुरो भएको र जायजेथा र पैतृक सम्पत्ति केही पनि नभएको भुक्का भए तापनि अलीले आफ्नो काकाको नाममा लागेको कलंक मेटाउनलाई नै आफ्ना भतिजीसँग बिहे गरेको थियो रे ।
अलीले आफूलाई सताउंने मानिसहरूसँग कहिल्यै पनि प्रतिवाद गरेनन् । म अनुमान गर्छु कि अलिकति त यो किन पनि हो भने उनी त्यो आफ्नो पछाडि लतारिने बाङ्गो खुट्टाले दौडेर उनीहरूलाई भेट्टाउन सक्दैनथे, तर समग्रमा के हो भने उनी ती आक्रमणकारीहरूको गाली-बेइज्जतीबाट मुक्त थिए । सनाउबारले हसनलाई जन्म दिएको क्षणबाटै उनले सम्पूर्ण खुसी र त्यो अपमानसँग लड्ने अचुक औषधि पाएका थिए | यो घटना सामान्य नै थियो । बिना कुनै स्त्रीरोग विशेषज्ञ, बिना कुनै एनेस्थेसियोलोजिस्ट, बिना कुनै अत्याधुनिक जाँच र निरीक्षणका सामान | मात्रै सनाउबार एउटा दागै दाग लागेको नाङ्खे गुन्द्रीमा हसनलाई लिएर पल्टिएकी थिई र एजटा सुँडेनीले उसलाई सघाउँदै थिई । उनलाई त्यति धेरै सहयोगको खाँचो परेन न कि जन्मिदा पनि हसन आफ्नै खाँटी स्वभावको थियो – ऊ कसैलाई पनि चोट पुर्याउन सक्दैनथ्यो । एकैछिनको च्याँ र एक दुई पटक यसो बल गरेपछि ऊ फुत्तै बाहिर निस्कियो । ऊ मुस्कुराउँदै बाहिर निस्कियो ।
त्यो कुरा चाँचरी सुँडेनीले कसैलाई पनि नभन्नु है भनेर एउटा छिमेकीको नोकर्नीलाई सुनाएकी रैछ, तर त्यसले सुन्ने जति सबैलाई सुनाइछ कि अलिले बच्चो काखमा लिएको सनाउबारले एकपटक हेरी रे अनि उसको खुँडे ओँठ देखेपछि नराम्रो हाँसो हाँसी रे ।
उसले भनेकी थिई रे, “ल हेर त, अब तिम्रो साटो तिम्रो आफ्नै मूर्ख बच्चा हाँसिदिने भो !” उसले हसनलाई काखमा लिन पनि मानिन रे अनि ठीक पाँच दिनपछि कुलेलाम ठोकिछ |
बाबाले त्यही हसनको सुसारे आइमाईलाई नै मेरो स्याहार सुसार गर्ने काममा लगाउनुभयो । अलिले हामीलाई भनेका थिए कि त्यो नीलो आँखा भएकी हजारा बुद्धका मूर्तिहरू भएको ठाउँ बामियानबाट आएकी थिई | अलीले हामीलाई भन्ने गर्थे, “त्यसको साह्रै सुरिलो स्वर थियो ।”
अलिले हामीलाई धेरैपटक भनिसकेका थिए तै पनि हसनले र मैले उसले के गीत गाउँथी भनेर सोधिरहन्थ्यो । हामी अलीले पनि गाएर सुनाउन भन्ने चाहन्थ्यौं । अली गला सफा गर्थे र सुरू गर्थे :
म अग्लो शिखरमा ऊभिएँ
भगवान्का सिंह अली भनेर चिच्च्याएँ
ए अली, भगवान् सिंह, मानिसका राजा
हाम्रा यी दुःखी हृदयमा खुसी ल्याइद्यौ ।
अनि उनी हामीलाई सम्झाउँथे कि एउटै आमाका दूध खाएकाहरूको बीचमा यस्तो भाइचाराको नाता हुन्छ कि त्यसलाई: समयले पनि चुडाउन सक्दैन ।
हसन र मैले यौटै आमाको दूध खाएको हो । हामीले आफ्नो पहिलो पाइला एउटै आँगनभित्र एउटै चौरमा टेकेका थियौँ र एउटै छानो मुनि हामीले आफ्नो पहिलो शब्द बोलेका थियौँ ।
मेरो पहिलो शब्द, “बाबा” थियो ।
उसको पहिलो शब्द “अमीर” थियो | मेरो नाम ।
अहिले आएर विगतलाई हेर्दा, म सोच्छु कि सन् १९७५ को जाडोमा के भयो र त्यसपछि अरू के भयो भन्ने कुराको जग ती पहिला शब्दहरूबाटै हालिएको थियो |
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।