चार दिन र चार रातसम्म त्यो केटो बैठक कोठामा पल्टिरह्यो। त्यो मृतक जस्तै पहेँलो र धुस्रोफुस्रो देखिन्थ्यो । निधारदेखि गालासम्म नै रगत भरिएको घाउको खाटा जमेको थियो । बेसरी कसेर पट्टी बाँधिएको उसको छातीमाथि सिरक पनि तलमाथि हल्लिँदै थियो र मुश्किल मुश्किलसंग सास फेरेको घ्यारध्यार र स्याँस्याँ पनि सुनिदै, थियो ।

हरेक दिन बूढा गाभ्रीला आफ्नो ठेला परेको र छाला फुटेको औला केटोको मुखमा घुसारेर ओंठहरू अलग्याउँथे र चक्कुको टुप्पोले उसका टम्म जोडिएका दाँतहरू बिस्तारैंसित खोलिदिन्थे। अनि उनकी बुढिया चाहिं मनतातो गरी तताएर केही घुट्को दुध र च्यांग्राका हाडहरू पकाएको झोल नरकटको नलीद्वारा उसको मुखमा खन्याइदिन्थी ।

चौथो दिनको बिहान मात्र त्यस श्वेतकेशी ठिटोको गालामा अलि अलि गुलाफी रंग चढेको देखियो । मध्यान्हतिर त उसको पुरै चेहरा नै तुसारोले दनदन बलेको श्वेतकण्टको झाडी जस्तै रनक्क रस्किएर आयो। उसको सर्वाग नै थर्थर काँपिरहेको थियो र चिसो च्याप च्याप लाग्ने पसीना चिट्‌ चिट्‌ निस्केर उसको कमीज भिज्दै थियो।

त्यसै बेलादेखि बेहोश अवस्थामा उ बिस्तारै बर्बराउन पनि थाल्यो र एकाएक खाटमा जुरूक्क उठ्ने समेत गर्न थाल्यो। बूढा गाभ्रीला र उनकी बुढिया आठै पहर नै आलोपालो गरी त्यहाँ कुरूवा बसेका हुन्थे।

हिउँदका लामा लामा रातहरूमा , जब दोन नदीपारिबाट पूर्वी हावा बहेर आउँथ्यो र त्यसले गाउँमाथिको आकाशमा निकै तल तलसम्म चिसो बादल फैलाउँथ्यो, बूढा गाभ्रीला घाइते केटोको बगलमा नै उसको टाउको आफ्नो हातले अडयाएर बसिरहेका हुन्थे र उसले आफ्नै पाराको अनौठो उच्चारणमा कुनै छेउ न पुच्छरको कुरा बर्बराइरहेको पनि सुनिरहन्थे । उनी त्यस केटोको छातीमा घामले डढाएको तीन कुने कालो टाटोलाई र चिम्लिएको आँखाको नीलो ढकनीमा घोडाको टापले बनाएको धुवाँसे रंगको घेरालाई निकै बेरसम्म नियालेर हेर्ने गर्दथे। जब उसका कलेंटी परेका ओठहरूबाट लामो लामो सुस्केरा, कर्कश आडर वा अश्लील गालीको फोहरा छुट्थ्यो र अनुहार चाहिं आक्रोश र पीडाले विकृत हुन्थ्यो, बूढा गाभ्रीलाको आँखाबाट बर्बरि आँसु चुहिन्थ्यो । यस्तो बेलामा चाहिँ अनायासै उनको मुटु असीम दयाले भरपूर हुन्थ्यो ।

बिरामीको खाट नजीकै बसेर हरेक दिन र हरेक अनिँदो रात काट्ने आफ्नी बुढियालाई बूढा गाभ्रीलाले झन्‌ झन्‌ दुब्लाउँदै र झन्‌ झन्‌ सुक्दै गइरहेको देखे। उनले बुढियाको चाउरिएर कलेंटी परेका गालामा आँसुका थोपा पनि देख्न थाले। अनि के पनि बुझेका थिए अथवा , साँच्ची भन्ने हो भने, शिढी हृदयदेखि वै अनुभव गरेका थिए भने मरेर गैसकेको आफ्नो छोरो प्योत्रप्रति उनको स्नेहलाई बिलौनाको आँसुले बगाउन पाएको थिएन र कुनै पराई आइमाईको यस मृत्युले चुमेको र निश्चल छोरोमाथि डढेलोको आगो जस्तै सल्किसकेको थियो…।

एक दिन गाउँबाट पार हुँदै गइरहेको एक रेजिमेन्टको कम्याण्डर त्यहाँ आयो। उसले ढोकैनेर आफ्नो घोडा एक जना अदेलीको जिम्मा लगायो र आफू तरवार र तानाबाना छनछन गर्दै घरभित्न पस्यो । मटानमा नै उसले टोपी फुकाल्यो र निकै बेरसम्म खाटअगाडि चूपचाप उभिइरह्यो । घाइतेको अनुहारमा फिका रङ चढेको देखियो र ज्वरोले सुकेर कालो-नीलो भैसकेको ओठमा रगत देखा पर्यो। कम्याण्डरले जवानीमै फूलेर सेतै भएको टाउको हल्लायो र गाभ्रीलाको आँखाबाट पनि टाढा कतै परतिर दृष्टि फाल्दै निदाउरो मुख लगायो।

“साथीको हेरचाह राम्ररी गर्नोस्‌, बुढाबा ! ”- उसले भन्यो । –

“सक्दो गरौंला !” गाभ्रीलाले दृढतापूर्वक जवाफ दिए।
दिन गन्दागन्दै हप्ताहरू बितेर गए। अवतारदिवश ( ६ जनवरीका दिन मनाइने ईशामसीहको प्रादुर्भावसम्बन्धी धार्मिक पर्व।) पनि बितेर गयो। सोह्रौ दिनमा श्वेतकेशी ठिटोले पहिलो पल्ट आँखा खोल्यो र गाभ्रीलाले माकुराको जालोभन्दा पनि मसिनो स्वर सुनेँ।

“तपाईँ पो, बूढाबा! ”

“हो म !”

“मेरो त राम्रै मर्मत गरे, हैन ?”

“ईशामसीहले रक्षा गरून् !”

गाभ्रीलाले उसको पारदर्शक र क्षणिक दृष्टिपातमा द्वेषरहित र सरल व्यंगको झलक ठम्याइहाले ।

“अरू ठिटाहरू खै?”

“तिनलाई त … हामीले चहुरमा गाडिसक्यौं। ”

ठिटोले चूपचाप सिरकमा आफ्ना झीना औँलाहरू चाल्यो र आफ्नो नजर बिस्तारै नरंगाइएको दलिनतिर सार्यो।

“नाउँ के हो नि? ”-गाभ्रीलाले सोधे।

नीलो नसा भएको थकित आँखाको पटल बिस्तारै बन्द भयो । –

“निकोलाइ ! ”

“औँ, हामी प्योत्र भनेर बोलाऔंला ! .. हाम्रो छोरो थियो -प्योत्र… “-गाभ्रीलाले स्पष्ट गरे।

उनले केही बेर विचार गरे र केही सोध्न पनि चाहे । तर नाकले अविरल सास फेरिरहेको आवाज उनको कानमा पर्यो। र पाखुरा पसारेर संतुलन मिलाउँदै उनी खाटनेरबाट सुस्त सुस्त चाल मार्दै बाहिर निस्किए ।