‘साताका पुस्तक’ स्तम्भअन्तर्गत नयाँ तथा पुराना कृतिहरुलाई समेट्दै कृति तथा स्रष्टालाई साहित्यका पाठकसम्म पुर्याउने हाम्रो उदेश्य हो । अगामी दिनमा पाठक तथा स्रष्टाहरुको सहयोगले यस स्तम्भलाई थप सशक्त रुपमा अगाडि बढाउन सकिने विश्वास लिएका छौँ ।

हाम्रो उदेश्य, साताभरिमा प्रकाशनमा आएका साहित्यिक पुस्तकहरुलाई यस विधामा समेट्नु हो । हामी चाहन्छौं – नेपाली साहित्यअन्तर्गत प्रकाशनमा आएका कुनै पनि पुस्तक नछुटून् । तर पुस्तकको उपलब्धता नहुँदा केही छुट्ने गरेका छन् । प्रकाशक तथा लेखकहरु सम्भव भएसम्म आफ्ना नवीनतम साहित्यिक कृतिहरु साहित्यपोस्टको कार्यलयमा उपलब्ध गराइदिनुहुन अनुरोध गर्दर्छौं ।

यसैक्रममा ‘साताका पुस्तक’मा यो साता पाँच पुस्तक । रेणुका जिसीकाे ‘सनेस’देखि राजु अधिकारी‘सत्य हरण’सम्म; पुस्तककाे छाेटाे परिचयसहित ।

===

 

१.सनेस – रेणुका जिसी

पर्वतको उत्तरी भागमा जन्मे, हुर्केकी कथाकार रेणुका जि सीको नवीनतम पुस्तक हो— “सनेस” । यसमा ‘प्रश्न’, ‘सनेस’ लगायत १२ थान कथाहरू सङ्ग्रहित छन् ।

“मध्य तराईको समथर भूभागमा उभिए जीवनका उबडखाबड नियाल्ने अवसर पाएकी छु । भाषा, वेशभूषा, धर्म र संस्कृतिको विविधतामा रमाउन पाएकी छु । शिक्षण पेसासितको आवद्धताले मलाई कलिला विद्यार्थी मार्फत तिनका र तिनका परिवारको सङ्घर्ष र सपनाहरूलाई बुझ्ने मौका दिइरहेको छ । समयले उपलब्ध गराएको त्यही अवसरको सिर्जना हो कथाकृति-सनेस ।” लेखकको भनाइमा लेखिएको छ, “कथा लेखनमा अभ्यासरतको हैसियतले अवश्य संलग्न छु तर म मेरो गन्तव्यमा अस्पष्ट भने छैन । कथामार्फत मधेश जीवनका मिहिन पाटाहरूलाई केलाउने कोसिस पनि गरेकी छु । र मेरो नाभि गाडिएको पर्वतसितको साइनो र सम्झनालाई पुनः ताजगी गर्ने प्रयत्न गरेकी छु । केही कथामा एकसाथ आएका छन् मधेश र पहाड पनि । त्यसैले यो संग्रहलाई दुई भूगोलसितको मेरो सम्बन्ध र संवेदनालाई अभिव्यक्त गर्ने सेतुको रूपमा पाठक समक्ष प्रस्तुत गरेकी छु । ”

पुस्तकलाई शिखा बुक्सले प्रकाशनमा ल्याएको हो । १ सय ४४ पृष्ठमा फैलिएको पुस्तकको मूल्य ३ सय ७५ रुपियाँ रहेको छ ।

 

२. हाम्रा देवीदेवता – किरण आचार्य

समाजशास्त्रमा स्नातकोत्तर आचार्यको सातौँ पुस्तक हो— “हाम्रा देवीदेवता” । यसमा ‘श्री गणेश’देखि लिएर ‘शताक्षी देवी’लगायत १८ थान धार्मिक विवेचनात्मक लेखरचनाहरू सङ्ग्रहित छन् ।

पुस्तकको कभर पृष्ठमा लेखिएको छ, “धर्म र भक्तिको मामिलामा विश्वास र आस्था नभई नहुने भावना र आधार हुन् । यी दुई बिना ब्रह्मतत्व अनुभूत हुन सक्दैन । ईश्वरीय शक्तिबाट आशीर्वाद प्राप्त होला जस्तो पनि लाग्दैन । किनभने याचकको आवश्यकता र अभिरुचिबारे ईश्वरलाई पनि त जानकारी हुनुपर्यो । हामीले विश्वास त गर्नुपर्छ नै । तर हामी जुन ईश्वर र ईश्वरीय शक्तिका अवतारहरूको विश्वासका साथ भक्ति गर्छौं, ती अवतार अनि शक्तिको परिचय र योगदानबारे जानकारी राख्नु पनि त्यत्तिकै महत्वपूर्ण हुन्छ ।”

पुस्तकलाई शिखा बुक्सले प्रकाशनमा ल्याएको हो । १ सय ४८ पृष्ठमा फैलिएको पुस्तकको मूल्य ३ सय २५ रुपियाँ रहेको छ ।

 

३. सत्य हरण – राजु अधिकारी

प्रकृति, संस्कृति र सभ्यताका मर्ममा टेकेर कलम चलाउने राजु अधिकारी कृत उपन्यास हो— “सत्य हरण” । उपन्यास पूर्वीय संस्कृति संरक्षणमा लागेका इमानदार पुस्तकालयका कर्मचारी किरणका साथै नेपालको सुरक्षा निकायका दुई आर्मी (कैलाश) र प्रहरी (रक्षा) अधिकृतको कर्तव्य र सङ्घर्षको कथामा आधारित छ ।

“सत्य हरण सांस्कृतिक विषयको उपन्यास भए पनि, उपन्यासका सारा पात्रहरू वेदका पुराना प्रति संरक्षण र चोरीमा लागिरहेका भए पनि उपन्यासले आधुनिक वैज्ञानिक पक्षलाई महत्त्वसाथ प्रस्तुत गरेको छ ।” भूमिकामा डा. रमेश शुभेच्छु लेख्छन्, “यस रचनाले आइन्सटाइनको सापेक्षतावादको जरोकिलो पूर्वमा खोजी गरेको छ । इमर्सनका चिन्तनको पूर्वीय कोणबाट विश्लेषण गरेको छ । अष्टचिरञ्जीवीको सम्भावनालाई हाइड्रा जातिको जीवसँग तुलना गरेर प्रस्तुत गरेको छ । मानव विकास जलचर, उभयचर र स्थलचर हुँदै भएको पक्षलाई पूर्वीय अवतार दर्शनसँग रहेको बताउँदै नृसिंह, वामन र कल्की अवतारको चर्चा गरेको छ । गीता दर्शन र न्युटनको चाल, क्रिया र प्रतिक्रिया, क्वान्टम थिअरी र शून्यवाद, बुद्ध, यशु, ओशो, साइबाबाको लकेप्रियताको वैज्ञानिक रहस्यको उद्घाटन पनि उपन्यासमा भएको छ । यी पक्षहरूले उपन्यास संस्कृतिप्रेमीलाई मात्र होइन विज्ञानप्रेमीलाई र सम्पूर्ण उपन्यासका पाठकहरूको मन तान्न सक्ने खालको छ । यो उपन्यास, उपन्यास कलाका पारखीलाई मात्र होइन ज्ञानका पारखीलाई पनि उपयोगी बनेको छ ।”

पुस्तकलाई वी रिडले प्रकाशनमा ल्याएको हो । ३ सय ३५ पृष्ठमा फैलिएको पुस्तकको मूल्य ६ सय २५ रुपियाँ रहेको छ ।

 

४. नेपालमा भ्रष्टाचार कारण र निवारण – रामकुमार आचार्य

पूर्वसचिव नेपाल सरकार, लेखक रामकुमार आचार्यकाे पुस्तक हो— “नेपालमा भ्रष्टाचार कारण र निवारण” । पुस्तकलाई परिच्छेद- १ (भ्रष्टाचारको परिचय), परिच्छेद- २(भ्रष्टाचारको विस्तार र मापन)लगायत ८ वटा परिच्छेदमा विभाजन गरिएको छ ।

भूमिकामा गगन थापा लेख्छन्, “पुस्तकको पृष्ठभूमि र प्रारम्भिक प्रारूप हेर्दा यसमा भ्रष्ट कार्यको पहिचान, रूप, भ्रष्टाचारको सूचकाङ्कमा नेपालको स्थिति, भ्रष्टाचारका सैद्धान्तिक र व्यावहारिक कारण, भ्रष्टाचारले व्यक्ति, परिवार, समुदाय, राष्ट्र र अन्तर्राष्ट्रिय क्षेत्रमा पुर्याउने क्षति, भ्रष्टाचार नियन्त्रणका लागि भएका अन्तर्राष्ट्रिय प्रयास र नेपालमा गर्नुपर्ने प्रयास लगायतका विषय समेटिएको पाएँ ।”

कभर पृष्ठमा सोमलाल सुवेदी (पीएचडी) लेख्छन्, “यस पुस्तकमा सिद्धान्त र व्यवहारलाई सन्तुलन गर्दै नेपालमा भ्रष्टाचारका कारण र निवारणका उपायहरूबारे गहिरिएर विश्लेषण गरिएको पाएँ । रोचक दृष्टान्तहरू सहित लेखकले कानुन, शासकीय प्रणाली, सामाजिक मूल्यमान्यता र सार्वजनिक सरोकारका पक्षहरूलाई दक्षतापूर्वक पस्कनु भएको छ । कलम कतै डराएको देखिँदैन । पुस्तक पठनीय, सङ्ग्रहणीय र भ्रष्टाचारका विभिन्न आयाममा सरोकार राख्ने सबैलाई उपयोगी हुने विश्वास लिएको छु ।”

पुस्तकलाई लेखक स्वयमले प्रकाशनमा ल्याएका हुन् । ४ सय ९४ पृष्ठमा फैलिएको पुस्तकको मूल्य ८ सय ७५ रहेको छ ।

 

५. सोमहोम (प्रेम, अध्यात्म, विद्रोह) – डा. सुबास लोहनी

स्नायु शल्यचिकित्सक अर्थात् विशेषज्ञ न्युरो सर्जन डा. सुबास लोहनीकृत उपन्यास हो – “सोमहोम (प्रेम, अध्यात्म, विद्रोह)” । उपन्यास ‘म को हुँ ?’ , ‘ज्ञान प्राप्ति’ लगायत १६ थान उपशीर्षकबाट तयार गरिएको छ ।

‘उपन्यासका स्रष्टा सुबास लोहनीलाई सम्झँदा’ भन्ने शीर्षकमा मोहनमूर्ति पन्त लेख्छन्, “साहित्यको रसायनले भरिएको यो उपन्यास नेपालको सन्दर्भमा समसामयिक र विश्व सन्दर्भमा मानव इतिहासको यो युगलाई फक्लक्क चिर्ने घटनामाथिको संवाद हो । सायद समाजका सानाभन्दा साना र दैनान्दिनका व्यवहारहरू भूमण्डलिय चक्रमा गाँसिएका हुन्छन् जुन हामी साधारण मानवलाई आभाससम्म हुँदैन । तर यस्तै हर दिन, हर क्षण र हर स्थानमा देखिने यस जगतको नियम र नियतिदेखि अवाक भएर बुद्ध जन्मे र अरू माहात्मन पनि । यो उपन्यासको मूल पात्रलाई त्यही विश्व परिस्थितिको आभास हुन्छ । सांसारिक बाध्यताले निचोरिएका र दिग्भ्रमित बनाइका प्रकृतिका ती सुन्दर फूलहरूप्रति उसको मन उद्वेलित हुन्छ । अनि उसको यो मनस्थितिमाथि विज्ञानका तर्क र आध्यात्मिक चेतना बहस सुरु गर्छन् । यी सब किसिम-किसिमका बहस र युगतको यो नियतिमाथि समाधिस्थ भई चेतनाको अतल गहिराइमा पुग्दा ती पात्रलाई प्रेम-प्रकृतिका निश्चल पुष्पपत्रको वृष्टिले सन्देश दिन्छन्— जाऊ, तिम्रो प्रेमलाई फर्काऊ, मानव चेतनाको किनबेचले निर्माण गरेको यो आत्महीन अतिभौतिक संसारको सिकार बन्न नदेऊ । यसरी कथाको मूल पात्र अकर्मन्यता र संवेदनाहीन लाचारी विरुद्ध सशक्त विद्रोह गर्छ ।”

पुस्तकलाई घनराज लोहनीले प्रकाशनमा ल्याएका हुन् । १ सय ९१ पृष्ठमा फैलिएको पुस्तकको मूल्य ३ सय ५० रुपियाँ रहेको छ ।