साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

राजेन्द्र विमलको कथाः रामेछापको श्रवणकुमार

शुक्रबार नयाँ पुस्ताकाे दिन । नव लेखककाे लेखनमा हाैसला थप्न हामीले नयाँ स्तम्भ सुरू गरेका छाैँ । यसमा स्थापित लेखककाे पहिलाे प्रकाशित सामग्री प्रस्तुत गरिन्छ । हरेक पुराना लेखक कुनै बेला नयाँ थिए र उनीहरूका रचना पनि सामान्य नै हुन्थे । लगातारकाे साधनाले नै उनीहरूकाे उचाइ बढेकाे हाे भन्ने दृष्टान्तका लागि याे स्तम्भ सुरू गरेका हाैँ । आजको अङ्कमा हामीले राजेन्द्र विमलको कथाः रामेछापको श्रवणकुमार लिएका छौँ । यो कथा विमल भौकाजीको सम्पादनमा प्रकाशित हिजो र आजका कथामा सङ्ग्रहित छ ।

म पुराणकालीन श्रवणकुमारको कथा होइन, आधुनिक सरबनको कथा भन्दै छु । हुन त पञ्चायतको मतदातासूचीमा यिनको नाउँ पनि श्रवणकुमार नै हो । श्रवणकुमार नं. १ को काल म भन्न सक्दिनँ, नं. २ को चाहिँ जन्मतिमि हो – २००७ साल वैशाख ३ गते । अघिल्लाका आमा-बाबु पनि अन्धा थिए, पछिल्लाका पनि । हो, पछिल्लाका अन्धै भइसकेका त थिएनन्‌ तर मोतियाविन्दुले गर्दा देख्दैनथे ।

राजेन्द्र विमल

दरिद्रताको जाँतोमा दुवै श्रवणकुमार गहुँ झैँ पिसिएका थिए । दुवै श्रवण जङ्गलमै जन्मिएका थिए । श्रवण नं. १ भारतीय नागरिक थिए भने श्रवण नं. २ वंशजका नाताले खाँटी नेपाली थिए | नम्बर एकलाई अंशबण्डको झन्झट थिएन, नम्बर दुईका एक जना भाइ थिए- दर्शनकुमार अर्थात्‌ दरसे । अर्थात्‌ दुवै श्रवणकुमारहरूमा धेरै समानता पाइन्छन्‌ ।

सरबन, माने श्रवणकुमार नं. २ नेपालको रामेछापमा जन्मिएका थिए | पहाडका आम बासिन्दा झैँ गिट्ठा र भ्याकुर, ढिँडो र खोलेले गुजारा गर्थे । दाउरा काटी बजारमा बेच्थे र आमा-बाबुको प्राणको रक्षा गर्थे । गाउँमा तारिफको पुल बँधेका थिए ।

अन्धा-अन्धीलाई आफ्नो श्रवणकुमारमा गर्व थियो । श्रवणकुमार नं. २ का ओठमा कालो बादलको रेखा झैँ जुँगाको रेखी बस्न थाल्दा समवयस्क ठिटीहरूका मुस्कानका बिजुली चारैतिर चम्कन थाले । तर भावनाको ज्वारमा उनले संयमको
बाँध हाले । असीम मातृपितृभक्तिद्वारा आप्लावित श्रवणकुमारले सोचे; कुन्नि, दुलही कस्ती आउने हुन्, जमाना यस्तै छ ! अन्धा-अन्धी बाबुआमाको फेरि के हुन्छ ? अचेलकी हिरोनीजस्ती आई भने म आमा-बाबुलाई काँधमा हाली तीर्थैतीर्थ घुम्छु कि स्वास्नीलाई शिरमा हाली सगरमाथा डुलाउँछु ? अन्त्यमा श्रवण-२ ले निर्णय लिए, ‘म मेरो जवानीको ज्वारलाई मातृपितृभक्तिको सागरमा विलीन गराइदिन्छु | आफ्ना कुमार कल्पनाहरूलाई कात्रो ओढाइदिएर आमाबाबुको आशीर्वाद पाई आदर्श पुत्र बन्नेछु । आमा-बाबुका रौँ पनि कसैले छोयो भने त्यसको हात काटिदिन्छु ।

यो त्यही कालखण्ड हो जब दर्शनकुमार अर्थात्‌ सरबनको माइ गाउँका आवारा ठिटाहरूको सङ्गतमा लागि मोग्लान पसेको थियो | जानुभन्दा अगाडि आधारातमा त्यसले वृद्ध आमाको घाँटी थिचेर चाँदीको मोहरमाला झिक्यो । कान्छाको थिचाइले बुढिया जब घिटघिट गरी रुन थाली, बूढा बाडुले छामछुम गरी बूढीलाई हेर्न थाल्यो र रुन थाल्यो । दरसेले मुड्की हानी बूढाको नाकमुख फुटाइदियो । श्रवणकुमारले जब बाबुआमाको यस्तो अवस्था देखे, बलिन्द्र घारा आँसु बगाएर रुन थाले | त्यसबेलासम्म दरसेले कुलेलम ठोकिसकेको थियो । श्रवणकुमारका लागि योबेला विपत्तिको समय थियो |

दिन-रात आमाबाबुको स्याहारसुसार, गुहु-मूत सबै एक्लै गर्नुपर्थ्यो । त्यसमाथि दाउरा काटेर ल्याउनुपर्थ्यो, बेच्नुपर्थ्यो । श्रवण-२ लाई श्रवण-१ सँग डाह हुन्थ्यो । कति भाग्यमानी थियो नं १, जो निर्भीक भएर जङ्गल र फूलबारीमा जान्थ्यो अनि ढुक्क भएर फलफूल टिपी आमाबाबुको मरण-पोषण गर्थ्यो । अब त वनमन्त्री र वन-अघिकारीहरूको मिलेमतोले जङ्गल सखाप भइसक्यो र जे जति बाँकी छ त्यसमा ऊजस्ता गरिबहरू छिर्ने स्वतन्त्रता पनि खोसिइसकेको छ |

एक दिन खास छिमेकी कालु मगरको बारीबाट आमा-बाबुको रहर मेटाउन जुनार चोर्दा पक्राउ परेपछि यसरी पाता फर्काइएको थियो कि छ महिनाजति पाखुराको हाड माँचिएर पथरा पर्नुपरेको थियो । लछारपछारमा कछाड र भोटो भएका थिए | बेसार-चुना दलेर रात-रातभरि ठसठसी कनेर बिताउँथे । तर उनले बीसौँ शताब्दीपूछारको यस श्रापलाई आमा-बाबुका नाममा छातीभित्र सहर्ष बेहोरेका थिए, बहोर्दै गरे |

बीस वर्षपछि श्रवणले जब आफ्नो प्यारो भाइको चिट्ठी देखे, उनी चकित मात्र होइन आनन्दविभोर पनि भए | फेरि पत्र सुनेर मन भरङ्ग भयो | पत्रको आशय थियो – ‘तपाईँले मकैको ढिँडो र खोले खुवाई-खुवाई अरू पहाडी र जङ्गली जनावर झैँ, बँदेल र सुँगुर झैँ मलाई पनि राख्नुभयो, एउटा खोरभित्र थुनेर दानापानी हाल्नुभयो । त्यसबेला मैले दुनियाँ चिनेकै थिइनँ । अहिले सहरमा आई जुन संसार देखेको छु, जिन्दगीको अर्थ नै फेरिएको छ । कलकत्तामा बङ्गला बनाउँदै छु । स्मगलिङ गरेर प्रशस्त पैसा कमाएँ, अझै गर्दै पनि छु । एउटी पञ्जाबिनीसँग बिहा पनि गरेँ । अहिले आएर थाहा भयो, नेपालीहरूलाई यताकाहरूले ‘भुच्चुक’ किन भन्दा रहेछन्‌ । मेरा दुइटा बच्चा छन्‌, जो कन्भेन्टमा पढ्छन्‌ । एक दुई दिनका लागि समय निकालेर पहाड आउँछु अनि आमा-बाबुलाई आँखाको अप्रेसनका लागि सँगै कलकत्ता ल्याउँछु । पछि हिराका टप पनि किनिदिन्छु…।’ पत्रमा दाजुका लागि पनि केही लिएर आउँछु भनेर लेखिएको थिएन । उनले पटक-पटक चिट्ठी पढे, पटक-पटक प्यारो भाइको अनुहार आँखाका पुतलीमा नाच्यो । बूढाबूढीले पनि चिट्ठी सुने । बूढाको अनुहारमा खुसीको लहर थियो, बूढीको अनुहारमा मातृत्वको उफान | दुवैले परम सन्तोषपूर्वक खुइय गरे, ‘आखिर दरसे मान्छे भयो ।’ अर्थात्‌ श्रवणकुमार पहाडे, जङ्गली नै रह्यो । श्रवणकुमारको मुटुभित्र तीखो कर्द रोपे झैँ भयो ।

दरसे अर्थात्‌ दर्शनकुमार गाउँ आयो । सिङ्गो गाउँ नै उसलाई हेर्ने उसको आँगनमा ओइरियो । उसको गलामा झुण्डिएको सुनको गहकिलो सिक्री, पाखुरामा बाँधिएको सुनको बेल्ट, हीराका औंठी, टाई, सुट र चस्मा देखेर तथा अङ्ग्रेजी-हिन्दी मिसिएको टुटेफुटेको नेपाली सुनेर गाउँ दङ्ग परेको थियो । सबैले ठहर गरे- सरबन अभागी, लाछी र मूर्ख हो । कान्छालाई यस रूपमा देखेर बूढा-बूढीको खुसीको सीमा थिएन ।

दरसेले आउनासाथ घोषणा गर्यो- ‘भरिया झिकाउनुपर्छ । भोलि मिर्मिरिमै म आमा-बाबुलाई लिई कलकत्ता लाग्छु | … फुर्सद छैन ।’

श्रवण-२ अर्थात्‌ सरबन प्रतीक्षामा थिए- भाइले एक वचन उनलाई पनि कलकत्ता हिँड्न भन्दो हो | उनले सिङ्गो जिन्दगी रामेछापको यसै चिसो माटोलाई समाती बिताएका थिए, आफ्ना देवी-देवताजस्ता आमा-बाबुका लागि । तर अब उसका देवी-द्यौताले उनलाई छोडेर जाँदै छन्‌ भने कसको सेवा-स्याहारका लागि ऊ यहाँ बस्छन् ?

‘कस्तो होला कलकत्ता सहर ? … टराम, रेल, रातिलाई दिउँसोको भ्रम पार्ने झलमल्ल बिजुली, बोल्ने मानिसजस्ता सिनेमा । तर एकै वचन पनि भाइले भनेको भए पो !’ बाबुआमा ठूलो सहर जाने उत्साहमा निकै उत्तेजित थिए । खै, उनीहरूले पनि सँगै लैजाने प्रस्ताव गरेनन् त ! दरसेले बूढाबूढीका सरसामान खोजीखोजी ट्याङ्कामा हाल्न थाल्यो । भाइ वा आमा-बाबुबाट एकैपटक सँगै हिँड्ने ओठे-वचनका लागि नै भए पनि सरबन तृषित थिए, तर कतैबाट यसको चर्चै भएन | बूढा-बूढीले सायद दरसेको गम्भीर मुखमुद्रा देखेर त्यसको इच्छाविरुद्ध कुनै प्रस्ताव राख्ने हिम्मत गर्न सकेनन्‌ ।

अर्को दिन रामेछापको चिसो ढुङ्गे माटामा उभिएर श्रवण-२ आफ्ना अन्धा-अन्धी आमा-बाबुलाई र मायालाग्दो भाइलाई भरियाहरूका पछाडि डाँडा कट्न लागेको आँखाबाट ओझेल नभएसम्म हेरिरहेका थिए । उनीहरूले एकपटक पनि फर्किएरसम्म हेरेनन्‌ ।

जब सबै जना डाँडापारि हराए, श्रवणकुमारले आफ्ना गाला छामे र अविरल गतिले बग्ने आँसुको भेललाई आफ्नो झुत्रो ज्याकेटको छेउले पुछेर सुकाए । रही-रही भित्रबाट हुने भावनाको विस्फोटको फलस्वरूप उठ्ने हिक्कालाई दुवै ओठ कस्सिएर थिच्ने जमर्को गरे र चारैतिरबाट टोक्ने त्यस मसानजस्तो आँगनमा फर्किए जहाँ पितृभक्ति, मातृस्नेह र वात्सल्यको मूक इतिहासले उनलाई बोलाउने भाषामा केही भन्दै थियो ।

कति दिन, कति महिना र कति वर्ष विक्षिप्ततामा बिते उनलाई होशै भएन । दरसेको अक्षर भएको खाम एक दिन फेरि उसको हातमा पर्यो | चिठ्ठी खोलेपछि उनले दरसेका अक्षरमा नभएर उनका बाबुका बाङ्गाटिङ्गा अक्षरमा लेखिएको चिट्ठी पायो । बाबुले लेखेको त्यस पत्रको आशय थियो- ‘छोरा-बुहारी र नाति-नातिनाहरूसँग आनन्दले जीवन बित्दै छ । हामी दुई जनाकै अप्रेसन भयो । कलकत्ता भनेको सहर होइन, स्वर्ग हो । डाक्टरहरू जादुगरजस्ता छन्‌ । हामी अब यो सुन्दर संसार हेर्न सक्ने भयौँ । … पैसाको बलले मान्छे साँच्चै स्वर्गमा सिँढी लगाउन सक्छ । तिमीले सबै सुख दियौ, तर त्यो सुख दिन सकेनौ जुन कान्छो दरसेले दियो | दरसेको सेवाले हृदय प्रसन्न छ । दरसे असली श्रवणकुमार हो ।

उसको मनमा पटकपटक गुन्जिन थाल्यो, ‘दरसे असली श्रवणकुमार हो !’

चिट्ठीको अन्त्यमा अझ प्रष्ट गरी लेखिएको थियो- ‘आजको युगमा बाबुको दरिद्र छोरो श्रवणकुमार हुन सक्दैन । श्रवणकुमार बन्न, बाबु-आमाको यथेष्ट हेरचार गर्न पर्याप्त पैसा चाहिन्छ । स्मग्लिङबाट, घुसबाट, चोरीबाट जसरी भए पनि । तँ अहिले पनि चेत् र सहर आइज् ! स्मग्लिङको धन्दामा धेरै पैसा छ । नभए जनकपुर जा र विदेशी सामान भिट्टामोड हुँदै मुगलान पठा ! दरसेले भन्छ, तैँले उसलाई मद्दत नगरे पनि उसले तँलाई सधैँ तेरो मद्दत गर्नेछ ।’

सरबन अर्थात्‌ श्रवणकुमार-२ लाई स्मगलिङको अर्थ लागेन । उनले पटक-पटक पढे, तर धेरै अर्थ बुझ्न सकेनन्‌ | हो, एउटा कुराचाहिँ के प्रष्ट बुझे भने तिनले यत्तिका दिनसम्म व्यर्थै पुरानो श्रवणकुमार झैँ आमा-बाबुलाई काँधमा हाली तीर्थ-तीर्थ चाहार्ने कुरा सोचेका थिए । बरु जसरी भए पनि पैसा कमाउनुपर्थ्यो | अब त ट्रेन चल्छ, हवाईजहाज छ … !

हाँसोसँगै केही आँसुका थोपा छचल्किएर रामेछापको चिसो धरतीमा झरेर बिलाए ।

प्रतिक्रिया
Loading...