पछिल्लो समय हामीकहाँ पुस्तक प्रकाशन हुने क्रम बढ्दो छ । हरेक दिन पुस्तक प्रकाशन भइरहेको हुन्छ। सबै पुस्तक किन्न र पढ्न पाठक तथा लेखक कसैका लागि पनि सम्भव हुँदैन । यस्तो अवस्थामा आफ्नो रुचिको किताब छान्नु गाह्रो हुन जान्छ । बजारमा आएका पुस्तक बारे जान्नु आम पाठकको चासो र अधिकारभित्र पर्छ । त्यही चासो सम्बोधन गर्न साहित्यपोस्टले यो स्तम्भलाई निरन्तरता दिइरहेको छ । यो स्तम्भको मुख्य उद्देश्य पुस्तकको सामान्य परिचय दिनु हो ता कि पाठकलाई उक्त पुस्तक किन्नुअघि नै त्यसको सार थाहा होस् । यही उद्देश्य पूर्तिका लागि हरेक साता शुक्रवार साँझ साहित्यपोस्टले बजारमा आएका नयाँ तथा केही महत्त्वपूर्ण पुराना पुस्तकको परिचय दिने गर्दछ ।यही मेसोमा साहित्यपोस्टलाई यो साता निम्न पाँच वटा पुस्तक प्राप्त भएका छन् ।
…………………………………
१. अनाम प्रेमिका – राकेश क्रान्तिकारी

कवि राकेश क्रान्तिकारीको कविता सङ्ग्रह हो ‘अनाम प्रेमिका’ । कविले समाजको उत्पीडित वर्गको सङ्घर्षलाई काव्यिक रूपमा प्रस्तुत गर्नुभएकाे छ ।
”अहिले कविताको ट्रेन्ड ह्वात्तै चेन्ज भयो।” पुस्तकमा कवि क्रान्तिकारी लेख्नुहुन्छ,” अब कागजमा हेरेर सुस्तरी वाचन गर्ने जमाना सिद्धिदैछ। कविताका किताबहरूमा हिजो पनि धुलो जम्मिएको थियो। आज पनि उस्तै छ। भोलि त सायद कविताको किताब पनि कुनै समय हुने गर्थ्यो भन्नेमा पुग्नेछौँ पक्कै । अब कविता पर्फर्मेन्स गर्नु पर्ने भएको छ। रुँदै, हाँस्दै, क्रोधित हुँदै कविताको शब्दले जता लान्छ, त्यतै भएको नाटक गर्दै कविता वाचन गर्ने समय आएको छ। तर लेखिएका कुरा उही पुरानै छ। विषय त्यही छ। कवितामा हुनुपर्ने वाह्य चिजहरू मात्रै बद्लिएर के हुन्छ ? भित्री गुदी त हिजो जहाँ थियो आज नि त्यही छ। बस भन्ने तरिका बद्लियाे । यसलाई पनि सम्मान छ। तर आफूले भोग्दै नभोगेको विषय आफूले देख्दै नदेखेको विषयलाई कल्पनाको भरमा कागजमा सजाउनु कति सही हो र कति गलत हो मलाई थाहा छैन। आफू घुम्ने कुर्सीमा बसेर त्यही कुर्सी बनाउनेका कविता लेख्दै रुँदै हिँड्नु हाँस्यास्पद नै पो हुन्छ। के उसको कविता लेख्दैमा उसले न्याय पाउँछ र ? हाम्रो कविताले समाज परिवर्तन गरोस् । कविताले राजनीतिलाई आँखा देखाउन सफल होस् । कविताले भनेका कुराहरू जसको कानमा पुग्नु पर्ने हो त्यहाँसम्म पुगोस् को पक्षमा छु म। यस देशमा गरिब छन्, दलित छन्, मजदुर छन्, नारी छन्, अवहेलित पुरुष छन्, बेरोजगार युवाहरूको समुद्र नै छ। तर सरकार ‘हमारा देश महान् है’ मै अड्किरहेको छ। धर्मका नाममा भइरहेको घृणित राजनीतिले गाउँका कुनासम्म असर पुऱ्याएको छ। यसका विरुद्धमा लेखिएका साहित्यहरूले डराई डराई हिडिरहनु परेको छ।”
पुस्तकलाई हाम्रो किताब घरले बजारमा ल्याएको हो । ३९ ओटा कविता समेटिएको पुस्तकको मूल्य भारु दुई सय र नेरु तीन सय बिस रुपियाँ रहेको छ ।
===============================
२ वैकुण्ठ एक्सप्रेस –मोहनराज शर्मा

नाटककार मोहनराज शर्माको नाटक हो ‘वैकुण्ठ एक्सप्रेस’ । ‘वैकुण्ठ एक्सप्रेस’ २०४२ सालको मदन पुरस्कार पाउने नाटक हो ।
”वैकुण्ठ एक्सप्रेस’ नाटककार मोहनराज शर्माको त्यो नाट्यकृति हो, जसले वि.सं. २०४२ को ‘ मदन पुरस्कार पाउन सफल भएको थियो ।” पुस्तकमा अविनाश श्रेष्ठ लेख्नुहुन्छ, ”मदन पुरस्कार पाउने अहिलेसम्मको एक मात्र नाट्यकृति पनि हो ‘वैकुण्ठ एक्सप्रेस’ । मोहनराज शर्मा बहुमुखी प्रतिभा भएका लेखक हुनुहुन्थ्यो । उहाँले सहित्यका धेरै विधामा कलम चलाउनुभएको पाइन्छ । जहाँसम्म नाटक विधाको कुरो छ- उहाँ यस विधाबारे गहिरो जानकारी राख्ने सष्टा हुनुहुन्थ्यो । नाट्य-मञ्च र रङ्गशिल्पबारेको उहाँको गहन ज्ञान हामी उहाँका नाटकहरूमा प्रतिफलित बनेको पाउँछौं । उहाँका नाटक मञ्चमा वा भनौ रङ्ग प्रस्तुतिमा पुगेपछि अझ मुखर बन्ने गर्छन् । हुनलाई ‘वैकुण्ठ एक्सप्रेस’ पाठ्य-नाटक (Closet Play) का रूपमा पनि उत्तिकै पठनीय साथै मनोरञ्जक रहेको छ तापनि मञ्च-नाटकका रूपमा समेत यो उत्तिकै सबल र उपयुक्त छ । तर अहिलेसम्म ‘वैकुण्ठ एक्सप्रेस’ नाटकमाथि नेपाली रङ्गकर्मीहरूको सुदृष्टि नपर्नु र यस्तो सशक्त नाटकको एकपटक पनि मञ्चन नहुनु भने विडम्बनापूर्ण छ । अभिव्यञ्जनावादी प्रयोगात्मक शिल्पमा संरचित नाटक वैकुण्ठ एक्सप्रेस नाटककार मौहनराज शर्माको एउटा उत्कृष्ट कृति हो भन्नेमा मलाई कुनै दुविधा छैन ।”
त्यसैगरी पुस्तकमा मोहनराज शर्माले लेख्नुभएको छ । ”वैकुण्ठ एउटा प्रतीक हो, सुख र सुविधाको ठाउँको प्रतीक । वैकुण्ठ एउटा लोभ पनि हो, सुख र सुविधाको मानवीय लोभ । तसर्थ वैकुण्ठको यात्रा सुखसुविधापूर्ण कुनै पनि ठाउँमा जाने लोभ र त्यस्तो यात्रा हुन सक्छ । मानिस स्वदेशबाट प्रवासित हुने एउटा मूल कारण पनि यही सुखसुविधाको ठाउँमा पुग्ने लोभ हो । त्यसै गरी ब्रेनड्रेन भएर अमेरिका अथवा अरू कुनै विकसित राष्ट्रमा जाने र त्यहीँ बस्ने मानवीय प्रवृत्तिको मूल कारण पनि सुखसुविधाकै बढी चाहना र लोभ हो । निकासा गरिने कुनै वस्तुका रूपमा मानिस अरब देशहरूमा जानु पनि यही नै हो । यस अर्थमा ‘वैकुण्ठ एक्सप्रेस’लाई ‘प्रवास एक्सप्रेस’, ‘अमेरिकन एक्सप्रेस’, ‘अरब एक्सप्रेस’ अथवा ‘फकल्यान्ड एक्सप्रेस’ पनि भन्न सकिन्छ । सुखसुविधाको खोजीमा स्वदेशमा प्रवासित हुनेहरूमध्ये बहुसङ्ख्यकको स्थिति अन्ततः अथवा भित्रभित्रै त्रासद भएको पाइन्छ । प्रस्तुत नाटक ‘वैकुण्ठ एक्सप्रेस’का यात्रुहरूको त्रासद स्थितिले यसै तथ्यतर्फ सङ्केत गर्छ ।”
पुस्तकलाई इम्प्रिन्ट पब्लिशर्स प्रा. लिले बजारमा ल्याएको हो । एक सय ६० पृष्ठको पुस्तकको मूल्य चार सय ३९ रुपियाँ रहेको छ ।
=========================
३. बुन्छत –म्यामराज राई

लेखक म्यााराज राईको लघुकथा सङ्ग्रह हो ‘बुन्छत’ । सङ्ग्रहमा लेखकले सामाजिक विकृति, विसंगति जीवनजगतको व्यवहारिक पाटोलाई लघुकथामा समेटनु भएको छ ।
”प्रस्तुत लघुकथा सङ्ग्रहमा प्रस्तुत दैनन्दिन जीवनसँग सापेक्षता भएका देश, काल र परिस्थितिहरू समसामयिकताका साथै समाज मैत्री परिवेशमा आधारित रहेका छन् ।” पुस्तकका डा. विदुर चालिसे लेख्नुहुन्छ, ”मानिसका जीवनका कतिपय रहस्यहरू विलय हुन्छन् भने कतिपय जागृत हुन्छन् । तथापि यस लघुकथासङ्ग्रहमा सामाजिक आदर्श र उन्नत जीवनको स्थापनाका लागि आदर्श पक्षको घटना र पात्रीय सन्दर्भमा आधारित भाव कथनलाई लघुकथाहरूमार्फत यथार्थको झल्को प्रशस्त दिएको पाइन्छ । बुन्छत लघुकथासङ्ग्रहले विशिष्ट सामाजिक आदर्शको केन्द्र स्थापना गर्न खोजेको छ । विकृति, विसङ्गति, जीवनजगत्, व्यावहारिक आदर्श, मनोदशा र मनोत्रासमा उत्पन्न भएका अनुभूतिका व्युत्पन्न अवशेषहरूलाई लक्षित गरेर लघुकथाहरू प्रकट भएका छन् । पात्रपात्र बिचको अधिक संवादलाई कथन प्रभावको आवरणमा निर्देशनात्मक एवं संवाद उत्पत्तिका रूपमा प्रस्तुत गरिएको छ । सिमित पात्रका रूपमा नामिक एवं सार्वनामिक पदहरूलाई जताततै प्रयोग गरिएको छ ।”
त्यसैगरी पुस्तकमन लेखक लेख्नुहुन्छ, ”बुन्छतलाई ‘बुड्छुक’ पनि भनिन्छ । यो बाँसको एक प्रजातिबाट बनेको किराँत समुदायको परम्परागत सांस्कृतिक गहना हो । बुद्धि वा चेत गाँठोको रूपमा चिनिने बुन्छत शब्द बान्तावा भाषा हो । ‘बुन्’ भनेको चिनो वा प्रतीक र ‘छत’ भनेको बन्धन वा बाँधेको जनाउँछ । समग्रमा ‘चिनो / प्रतीकको रूपमा त्रिशक्तिको गाँठो बाँध्नु/बाँधेको’ भन्ने हुन्छ । यसमा भएको तीन ओटा गाँठोलाई तीन चुलाको प्रतीकको रूपमा किराँतीहरू मान्छन् । त्यस्तै गरी ज्ञान, शक्ति र सुरक्षा अर्थात त्रिशक्तिको प्रतीकको रूपमा समेत अर्थ्याउँछन् । मैले यही मान्यतालाई लघुकथामार्फत प्रस्तुत गरेको छु । महिलाले चोलीको तुनामा या घाँटीमा हारको रूपमा तथा पुरुषले छातीमा हुपसियोले खिलेर वा घाँटीमा धागोमा उनेर लगाउँछन् । शिशुहरूका लागि भने कोक्रोमा झुन्डाउँछन् । सृष्टिकर्ता पारुहाङ् – सुम्निमाको पवित्र प्रसाद बुन्छत कहीँ न कतै आफ्नो शरीरमा बोकिरहेमा उसै गरी आशीर्वाद मिल्छ भन्ने विश्वास छ । हाल आएर सुन या चाँदीको बनाएर लगाउने चलन समेत बढेको छ।”
पुस्तकलाई नमस्ते आधुनिक लघुकथा मञ्च चितवनले प्रकाशन गरेको छ । चौवन्न वटा लघुकथा रहेको पुस्तकको मूल्य तीन सय ३३ रुपियाँ रहेको छ ।
=====================
४. मरुभूमिमा डुङ्गा –शरद पोख्रेल

कवि शरद पोख्रेलको कविता सङ्ग्रह हो ‘मरुभूमिमा डुङ्गा’ । पोख्रेलले कवितामा प्रेम लेख्नुभएको छ, देश प्रेम लेख्नुभएको छ स्वतन्त्रता लेख्नुभएको छ ।
”अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) भाषा र साहित्यको सम्वर्धन गर्ने संस्था मात्र होइन, नयाँ नयाँ प्रतिभा जन्माइरहने संस्था पनि हो।” पुस्तकमा प्रकाश पौडेल माइला लेख्नुहुन्छ, ”तीन दशक लामो यो संस्थाभित्र कैयौं सांगठनिक व्यक्तित्व जोडिनु भयो र यसलाई संसारभरि फैलाउनुभयो। अनि यी दशकहरूमा एक से एक कवि लेखक जन्मनुभयो र यसलाई प्रतिभाशाली लेखक-कविहरूको संगठनको दर्जामा पनि पुर्याउनुभयो। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज सबैभन्दा पहिले ती सबै सांठनिक, प्रतिभासम्पन्न नेपाली भाषा र साहित्य प्रेमीहरूमा पनि सतत् नमन टक्राउन चाहन्छ । यसै लहरमा प्रतिभाशाली कवि तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज जापान च्याप्टरका महासचिव शरद पोखेल ‘मरुभूमिमा डुङ्गा’ नामक कृतिका साथ आउनुभएको छ। सङ्ग्रहको शीर्षकबाटै पोखेलका कविताभित्रका विपर्यय व्यङ्ग्यको अनुमान गर्न सकिन्छ। यही अद्भूत काव्य सोचकै कारण शरद पोखेल अनेसास कविता महोत्सव २०२१ मा प्रथम हुनु भएको थियो। उहाँको यो प्रतिभाको छनक हामीलाई त्यही बेला नै भएको थियो जब उहाँले जापान च्याप्टरले केही वर्ष अगाडि आयोजना गरेको जापानव्यापी कविता प्रतियोगितामा पनि सर्वोत्कृष्ट ठहरिनु भएको थियो ।”
त्यसैगरी पुस्तकमा लेखक शरद पोख्रेल लेख्नुहुन्छ, ”सबैले लेखेकै विषयमा लेखेको छु। सबै हिँडेकै गोरेटोमा हिँडेको छु। सबैले औंल्याएकै दृश्य हेरेको छु। तर सकेसम्म मेरो आँखाको आवाज सुनाउने प्रयास गरेको छु। आफ्नै खुट्टाले हिँड्दा उडेको धुलोलाई आकार दिने प्रयास गरेको छु। जगत्को बास्नालाई आफ्नै हातले छुने र आफ्नै मनले छाम्ने कोसिस गरेको छु। तर लेखिन बाँकी थुप्रै विषयहरू छन् अझै। हिँड्न बाँकी थुप्रै बाटाहरू छन् अझै। चढ्न बाँकी थुप्रै वैकल्पिक चुचुराहरू छन्, तर्न बाँकी थुप्रै घाटहरू छन्। म भने अझै शब्दका लहरमा खियाउन उपयुक्त हुने काव्यको डुङ्गा खोज्दै किनारमै रुमल्लिरहेको छु। यो स्विकार्छ। अब किनारबाट अगाडि कसरी बढूँ, पाठकहरूको जिम्मामा पनि छ। हिँजोसम्म यी अक्षरहरू मेरा थिए। आजबाट हजुरहरूका भएका छन्। अब यी अक्षरहरूले हजुरहरूको हृदयलाई जे जसरी सम्बोधन गर्छन्, त्यो मलाई सदा स्वीकार्य हुनेछ। मन परे मनमनै धन्यवाद भन्दा हुन्छ तर मन नपरे मैले सुन्ने गरेर नै आलोचना गर्नुहोला। हजुरहरूको प्रतिक्रियालाई मेरो अगाडिको बाटोको निम्ति प्रकाश सम्झनेछु ।”
पुस्तकलाई शिखा बुक्सले प्रकाशन गरेको छ । चार खण्डमा रहेको ६१ वटा कविता सङ्ग्रहको मूल्य तीन सय रुपियाँ रहेको छ ।
============================
५. सङ्घर्ष १०१ –गृष्मा पौड्याल

लेखक गृष्मा पौड्यालको मुक्तक सङ्ग्रह ‘हो सङ्घर्ष १०१’ । लेखकले मुक्तकमा जीवनका आरोहअवरोह, घात प्रतिघात, प्रेम, धोका, विश्वासको संकट जस्ता समस्याहरुलाई व्यङ्ग्यात्मक रुपमा प्रस्तुत गर्नुभएको छ ।
”विभिन्न विधामा कलम चलाउने गृष्माका मुक्तकहरू बहुविषय र शिल्पमा प्रस्तुत भएका छन् ।” पुस्तकमा डा. पद्मा अर्याल लेख्नुहुन्छ, ”उनका मुक्तकहरूमा जापान बसाइको सन्दर्भमा भोग्नुपरेका कठिनाइहरू, जीवनका आरोहअवरोह, घात प्रतिघात, प्रेम, धोका, विश्वासको सङ्कट, निराशा र असन्तुष्टिका साथै समाजका विकृति, विसङ्गति, कुसंस्कार जस्ता सामाजिक समस्याहरूलाई व्यङ्ग्यात्मक रुपमा प्रस्तुत गरिएको पाइन्छ । यसरी परदेशमा रहेर आफ्नो मातृभूमिलाई प्रेम गर्दै जीवन र जगतका विविध पक्षका गहन भाव र विचारहरुलाई, अनुभव र अनुभूतिहरुलाई सरल र बोधगम्य भाषामा प्रस्तुत गर्नु उनको विशेषता हो र यही सरलता र बोधगम्यता नै उनको पहिचान बनेको छ । उनका मुक्तकहरुमा जीवनदर्शन, देशभक्ति, नारी अस्मिता र महत्वको वकालत गरिएको पाइन्छ । यिनै र यस्तै विशेषताहरूले भरिएका उनका १६१ वटा मुक्तकहरूको संगालो ‘संघर्ष १०१’ शीर्षकमा प्रकाशित भएको छ । विदेशी भूमिमा आफूले गरेका संघर्षका विविध पाटाहरुलाई उनले सरल भाषामा प्रस्तुत गरेकी छिन् ।”
त्यसैगरी पुस्तकमा लेखक गृष्मा लेख्नुहुन्छ, ”मानविय स्वभावमा उत्पन्न हृदयका भावहरू सुख दुःख खुशी र अन्योल लागेका क्षणहरूबाट सिर्जित यो मुक्तक सङ्ग्रह मेरा मित्रहरूको सामु राख्न पाउँदा आज आफूलाई भाग्यशाली भएको महशुस गर्दैछु । सानो प्रयासलाई थप उत्प्रेरणा दिइ शुभकामना मन्तव्य लेखिदिनु हुने र समय व्यवस्थापन गरि मलाई हर सयम साथ दिनुहुने मेरो कम्पनिका डाइरेक्टर सातो खाचुरा सानमा मुरीमुरी आभार । अनि महामहिम जापानका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुबेदी क्षत्री ज्यू, जो आफैं पनि एक कुशल साहित्यकार हुनुहुन्छ र वहाँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु । यो पुस्तकको भूमिका लेखिदिइ मलाई सहयोग प्रदान गर्नु हुने आदरणिय डा. शशी थापा ज्यु र मलाई पुस्तक प्रकाशित गर्न हरदम प्रेरणा दिइरहने बैनी डा. पद्मा अर्याल ज्यू प्रति आभार प्रकट गरेँ।”
पुस्तकलाई लेखक स्वयमले प्रकाशन गर्नुभएको छ । एक सय ६१ वटा मुक्तक रहेको पुस्तकको मूल्य दुई सय ५० रुपियाँ रहेको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
र यो पनि पढ्नुहोस्...
२९ मंसिर २०८२, सोमबार 









