पछिल्लो समय हामीकहाँ पुस्तक प्रकाशन हुने क्रम बढ्दो छ । हरेक दिन पुस्तक प्रकाशन भइरहेका हुन्छ । सबै पुस्तक किन्न र पढ्न पाठक तथा लेखक कसैका लागि पनि सम्भव हुँदैन । यस्तो अवस्थामा आफ्नो रूचिको किताब छान्नु गाह्रो हुन जान्छ । बजारमा आएका पुस्तक बारे जान्नु आम पाठकको चासो र अधिकारभित्र पर्छ । त्यही चासो सम्बोधन साहित्यपोस्टले यो स्तम्भलाइ निरन्तरता दिइरहेको छ । यो स्तम्भको मुख्य उद्देश्य पुस्तकको सामान्य परिचय दिनु हो ता कि पाठकलाई उक्त पुस्तक किन्नुअघि नै त्यसको सार थाहा होस् । यही उद्देश्य पूर्तिका लागि हरेक साता शुक्रवार साँझ साहित्यपोस्टले बजारमा आएका नयाँ तथा केही महत्त्वपूर्ण पुराना पुस्तकको परिचय दिने गर्दछ । यही मेसोमा साहित्यपोस्टलाई यो साता निम्न पाँच वटा पुस्तक प्राप्त भएका छन् ।
===
१. ऋतु – लक्ष्मीलोचना वैद्य

आख्यानकार लक्ष्मीलोचना वैद्यको उपन्यास हो ‘ऋतु’ । उपन्यासमा वैद्यले देशदेखि विदेशसम्मको यात्रामा एउटी महिलाले भोग्नुपर्ने बाधाव्यवधान र उतारचढावलाई प्रस्तुत गर्नुभएको छ ।
”यो उपन्यास पढ्दा पात्र ऋतु लेखक स्वयम् हो कि भन्ने शङ्का उब्जिन्छ होला । ऋतुको अंश हामीभित्र कतै न कतै रहेको छ । ऋतु हामीभित्र रहेको साहस हो ।” लेखक लक्ष्मीलोचना वैद्य लेख्नुहुन्छ, ”हामीभित्र रहेको आशा र माया हो । त्यसैले ऋतु म अनि तपाईंभित्र रहेको एक टुक्रा जिन्दगी हो । यो उपन्यास तयार गर्दैगर्दा बितेका हरेक वर्ष, महिना र दिनहरू निकै यादगार रहेका छन्।”
नेपाली साहित्यमा स्नातकोत्तर गर्नुभएको लक्ष्मीलोचना वैद्य मूलत समालोचना, आख्यान र नाटक विधामा कलम चलाउन रूचाउँनुहुन्छ । उहाँ शिक्षण पेसामा आबद्ध हुनुहुन्छ । उहाँको ‘नेपाली नाटकको रूपरेखा’ नामक समालोचनात्मक कृति प्रकाशित रहेको छ । साथै ‘अर्धसत्य’ र ‘दर्पण’ नाटक मञ्चन भइसकेका छन् । ‘ऋतु’ उहाँको पहिलो औपन्यासिक कृति हो ।
पुस्तकलाई बुक्स हिमालयले बजारमा ल्याएको हो । तीन सय ७८ पृष्ठमा फैलिएको पुस्ततकको मूल्य छ सय पचास रुपियाँ रहेको छ ।
=========
२. समय यात्रा – डा. अर्जुनदेव भट्ट

डा. अर्जुनदेव भट्टको संस्मरणात्मक निबन्ध सङ्ग्रह हो ‘समय यात्रा’ । भट्टले पुस्तकमा आफ्नो पेशा शल्यजीवनको यात्राहरुका बारेमा रोचक ढंगले लेख्नुभएको छ । पुस्तकमा भट्टको शल्ययात्रासँगै बिरामीहरुको मनोदशा, अस्पतालहरुको अवस्था र समग्र स्वास्थ्य क्षेत्रको चित्र पनि चित्रित छ ।
”डाक्टर भएर चिकित्साका क्षेत्रमा होमिएपछि बिमारीमा जन्मिएका चिड्चिडाहट, अस्पतालप्रतिको अविश्वास हटाउन औषधी औजार सञ्चालनअघि डाक्टररनर्सहरूले भावात्मक, मनोविश्लेषणात्मक औजार के कति हदसम्म अपनाउनु पर्छको प्यारामीटरको सशक्त मुटु हो यो कृति।” पुस्तकमा कलानिधि दाहाल लेख्नुहुन्छ, ”यस अर्थमा हरेक डाक्टर, नर्सहरूले त यसलाई गहन अध्ययनको अन्तरमा जन्तर बनाएदेखि कमै बिमारीले चिकित्साक्षेत्रप्रति नकारात्मक सोचको खेती गर्ने सम्भावना रहन्छ। यो निबन्धभित्रको पनि प्राविधिक क्षेत्रलाई वस्तुताको मुटु बनाएर भावात्मक उडान र संवेदनात्मक स्पर्शमा, सम्यक शैली अपनाएर संरचित संस्मरणात्मक सुन्दर निबन्ध सङ्ग्रह हो।”
त्यसैगरी, पुस्तकमा डा. अर्जुनदेव भट्ट लेख्नुहुन्छ, ”कोभिड – १९ को पाण्डेमिकले सित्तैमा दिएको उपहार हो यो पुस्तक । धेरैले यसको चाहना राखे तर मैले त्यसै टारेँ समय पुगेन भन्दै । कोभिडले दिएको समयमा योजनाबद्ध लेखनमा बसी ३।१। २०७७ देखि २६। ६। २०७७ सम्म र यो संस्मरणात्मक निबन्ध सङ्ग्रह तयार भयो। फलस्वरूप इनाम मिलिहाल्यो । अब त यो अवसर बनाउन सकेकामा आफूलाई समेत धन्यवाद दिन मन लाग्छ तर कृतज्ञताका मुख्य पात्रहरू धेरै छन् । जनकपुर छोडेको ४२ वर्ष पुग्यो तर हाम्रा मनमस्तिष्कमा त्यो भेग, त्यहाँका मान्छे अतीतझै झल्किन छाड्दैनन् । सायद हाम्रा मस्तिष्क चेतना शून्य नहुञ्जेलसम्म ती हामीलाई पछ्याइरहनेछन् अनि हामी त्यसैमा रमाइरहनेछौं(अतीतमा डुबल्की मार्दै । किनकि त्यो नै थियो हाम्रो नेपाली जीवनको वास्तविक शुरुवात । सङ्घर्षमय जीवनको स्थल, स्रोत, थालनी र प्रारम्भिक बिन्दु ! ”
पुस्तकलाई ओरिएन्टल प्रकाशनले बजारमा ल्याएको हो । एक सय ९४ पृष्ठमा फैलिएको पुस्तकको मूल्य तीन सय रुपियाँ रहेको छ ।
==========
३. आमा द्रौपदी – कृष्णप्रसाद बस्याल

लेखक कृष्णप्रसाद बस्यालको स्मृतिकाव्य हो ‘आमा द्रौपदी’ । बस्यालले काव्यमाफर्त आमाको जीवनमा आएको आरोहअवरोहहरूलाई मार्मिक ढंगले प्रस्तुत गर्नुभएको छ । २० वषको उमेरमा विधुवा भएकी आमाको संघर्ष काव्यमा भेट्न सकिन्छ ।
”आमा द्रौपती स्मृतिकाव्यको कथा अत्यन्त मार्मिक छ, आमा द्रौपती दाङ जिल्लाको अभिधाराको पहाडी भेग बाह्रमौजामा जन्मनुभयो ।” पुस्तकमा ठाकुर शर्मा भण्डारी लेख्नुहुन्छ, ”बाग्लुङ जिल्लाबाट दाङमा बसाइ सरेका सापकोटा बन्धुका सन्तान भवीश्वर सापकोटा र आमा रन्नताका सात छोरी र दुई भाइ छोरामा कान्छी छोरी द्रौपदी माया(ममताले हुर्कनुभयो र उहाँलाई सानामा घरपरिवारले ममतावश ‘कान्छी’ भनेर सम्बोधन गर्थे रे । बाल्यकालमा अत्यन्त चञ्चल, हरेक कुरामा जिज्ञासा राख्ने भए पनि त्यस वेलाको समाजमा छोरीलाई पढाउने भन्ने दृष्टिकोण नभएकोले चौध वर्षको उमेरमा पाल्पा बराङ्दीबाट दाङको भमके अन्तर्गत सोनपुर बसाइँ सरेका लक्ष्मीपतिका एउटै छोरा होमकान्त बस्यालसँग बिहे भयो । उन्नाइस वर्षको उमेरमा छोरा कृष्णप्रसाद बस्यालको जन्म भयो, घरमा खुसियाली आयो तर विधिको विडम्बना छोरा कृष्णप्रसाद चौध महिनाको हुँदा बीस वर्षको उमेरमा विधवा हुनुपर्यो आमा द्रौपदीलाई । त्यसपछि द्रौपदीको जीवनमा दुःखको आँधी नै आयो । जग्गाजमीन सबै साहुले खाए, चार वर्ष माइतीमा बसिन् । पछि २००७सालमा पाँच वर्षको छोरालाई लिएर पाल्पा बराङ्दी आइन् । छोराको जागिर भएकोले सँगसँगै पहिले जिल्लाजिल्लामा र पछि काठमाडौँमा बसोवास भयो ९६ वर्षको उमेरमा जीवनलीला समाप्त भयो । करिब ७६ वर्ष विधवा जीवन बिताएकी आमा द्रौपदीको जीवनको आरोहावरोलाई यस कृतिमा उतारिएको छ।”
त्यसैगरी पुस्तकमा लेखक कृष्णप्रसाद लेख्नुहुन्छ, ”आमाले जीवनकालमै भनेका सुनाएका कुरा, कतिपय आफै देखे, जाने, भोगेका कुरा त छन् यस कृतिभित्र। घटना परिघटना, दृश्य(परिदृश्य सबै सत्य हुन् शब्दको लेपन मात्रै मेरो हो। शोककाव्य लेखूँ भनेर थालेको लेख्दालेख्दै सम्झनाका विम्बहरू आइदिनाले स्मृतिकाव्य नाम दिन मन लाग्यो। यो नामकरण पनि मिले नमिलेको विज्ञ पाठक र समीक्षकको जिम्मा छोडेको छु। ”
पुस्तकलाई श्रीमती कला बस्यालले प्रकाशन गर्नुभएको छ । अठ्ठाईस ओटा कविता समेटिएको पुस्तकको मूल्य दुई सय रुपियाँ रहेको छ ।
==========
४. बागबजार बोल्दैन – प्रोल्लास सिन्धुलीय

लेखक प्रोल्लास सिन्धुलीयको कथा संग्रह हो ‘बागबजार बोल्दैन’ । संग्रहमा सिन्धुलीयले वि.स. २०५० सालदेखि हालसम्म लेखिएका कथाहरु समेट्नुभएको छ । पुस्तकमा बागबजारको पृष्ठभूमिमा रहेर लेखिएका कथाहरु संग्रहित छन् ।
”कुनै विधामा एउटा औकात बनाएको मान्छे अर्को विधामा आउँदा सोही हैसियतकै औकात खोजिँदो रहेछ । धेरैले त्यसलाई अवसरका रूपमा लिएको देखें। परन्तु, मेरा लागि त्यो चुनौती भइदियो ।” प्रोल्लास सिन्धुलीय लेख्नुहुन्छ, ”उसो त म यत्तिका वर्ष कवितामा मात्रै लागेको किमार्थ होइन । ०४७ साल वैशाखको ‘आँकुरा’ द्वैमासिक (सम्पा. विवश वस्ती) मा पहिलो रचनाको रूपमा मेरा कविता र कथा एकसाथ छापिएका थिए । कविताजति त होइन, मेरा कथाले फुटकर रूपमा प्रकाशनको अवसर पाउँदै नपाएका पनि होइनन् । आफ्नै कविताको छत्रछहारीमुनि ती ‘ठूलो रूखमुनिका झार बुट्टयान’ झैँ हुँदै आए सायद । कवितामा ३०, ३५ साल निरन्तर जे जति अध्ययन, चिन्तन अनि अभ्यास गरें, त्यसको एक छेउसमेत मैले उपन्यास वा कथामा गर्न नभ्याएको पक्कै हो। यसो हुँदा पनि पढ्दै, लेख्दै, छाप्दै, सिक्दै गरेर कवितामा बनाएको धेरथोर दक्षता र त्यसले दिएको स्याबासीको अपेक्षा अन्य विधामा गर्नु उचित हुन्न भन्ने जान्दाजान्दै पनि मैले यसपालि त्यसो ‘नगर्न’ सकिनँ । ‘सबैखाले रचनामा कविताकै स्तर खोजिनुहुँदैन’ भन्ने आग्रह गरें भने कोही कसैले स्वीकार गरिदिनुहुने रहेनछ भन्नेमा म अन्य किताबबाटै प्रस्ट भइसकेको थिएँ । ‘कवितामा जेजस्तो भए पनि कथालेखनमा सिकारु पो हुँ’ भन्ने धङधडीबाट आफूलाई बाहिर ल्याउने हरसम्भव प्रयास गरिरहें । धान, गहुँ इत्यादि खेती सफलतापूर्वक गरिरहेको किसानले आलु खेती पनि उत्तिकै कुशलतासित गर्न सक्नुपर्दो रहेछ । यसर्थ कि उसले कुनै बालीविशेष उब्जाउनमात्र होइन, ‘खेती गर्ने’ जानेको हुँदो रहेछ ।”
समकालीन कविका रूपमा पृथक् र प्रभावशाली छवि बनाएका प्रोल्लास सिन्धुलीय (वि.सं. ०३२ रामनवमी) को पहिलो उपन्यास ‘शून्य डिग्री’ (०७४) ले आख्यानमा समेत उनको बलियो उपस्थितिको सङ्केत दिइसकेको थियो । हास्यव्यङ्ग्यकार भैरव अर्यालको इतिवत्तमा आधारित उपन्यास ‘भग्न भैरव’ (०७९) बाट उनको आख्यानकारिताको उचाइ बढ्यो ।
पुस्तकलाई भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको हो । बिस ओटा कथा संग्रहित पुस्तकको मूल्य चार सय ७५ रुपियाँ रहेको छ ।
===========
५. क्षितिजपारी – डा. अमर कार्की

कथाकार डा. अमर कार्कीको कथा संग्रह हो ‘क्षितिजपारी’ । पुस्तकमा कार्कीले अमेरिका पुग्ने आप्रवासीहरुको कथा लेख्नुभएको छ । प्रवासमा भोग्नु पर्ने दु.ख पीडाको कथा लेख्नुभएको छ ।
”भान्छामा भिन्न परिकारको भिन्न स्वाद जस्तै डा. अमर कार्कीको सिर्जनाले पनि नयाँ र फरक विषयलाई प्रस्तुत गरेको छ ।” डा. नीलम कार्की निहारिका लेख्नुहुन्छ, ”उनका कथाले प्रस्ट रूपमा भन्न नसकेको धेरै कुरा प्रकट गर्छ । ती नभनेका कुरा, आफ्नै मन र मस्तिष्कको मदानीमा गहिरो सोचको क्रममा निकै समयसम्म मथ्दै जाँदा एउटा अनौठो आनन्दको अनुभव हुन्छ । हो, आखिर भूगोल र भाषा फरक भए पनि झेल्ने कठिनाइ र मानव मनले बोक्ने व्यथा उस्तै त रहेछन् भन्ने देखिन्छ क्षितिजपारिमा । यस सङ्ग्रहमा समेटिएका कथाहरू पढ्दा, भिन्न भेषभूषा र परिवेशको भीडमा पनि मानवीय स्वभावमा अनगिन्ती समानता भेट्न सकिन्छ । सबैजसो कथा देशबाट उठेर परदेश पुगेका छन् । अधिकांश पात्रहरूको जन्मभूमि र कर्मभूमि अलग(अलग छन् । अमेरिका पुग्ने बाटोहरू अवैधानिक वा वैधानिक जे जस्तो भए पनि, सबैजसो कथामा आप्रवासीहरूको जीवन भोगाइहरू उस्तै छन् । यो आप्रवासीका कथाहरू हो ।”
त्यसैगरी पुस्तकमा तीर्थराज अधिकारी लेख्नुहुन्छ, ”वर्तमानमा शब्द संसार समृद्ध भैरहेको अवस्था छ । पुस्तक संस्कृति बढिरहेको छ । आत्मीय साहचर्यबाट कथोपकथनमा उत्पन्न अद्भुत रोमाञ्चक अनुभवले भरिपूर्ण यो बाह्र थान कथा आउनु संवेदना र सामाजिक यथार्थको पर्दाफास हुनु हो । यी सबै कथा पढ्दा लेखकका निजी अनुभव र दृष्टिकोणबाट लेखिएको अनुभूति हुन्छ । कथाकारकै शब्दमा भन्दा ‘अरूले लेखेको वा भनेको कथाको भाव बुझ्न सक्ने पाठक र स्रोता पाउनु वा कमाउनु साहित्यकारका लागि धेरै धेरै कठिन कुरा हो । यसमा पाठकले आफ्नो व्यक्तिगत जीवन देख्दछ र वास्तविक जीवनको यथार्थ रूप पाउन सक्दछ ।”
पुस्तकलाई भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको हो । बाह्र ओटा कथा संग्रहित पुस्तकको मूल्य तीन सय ९० रुपियाँ रहेको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२८ मंसिर २०८२, आईतवार 










