१. नेपालका प्रधानमन्त्री विरुद्ध सूचीकारको उजुरी, बेलायतमा कचहरी !

पढ्नु, त्यसमाथि संस्मरण पढ्नु, अझ ध.च. गोतामेका संस्मरण पढ्नु आफैंमा मीठो अनुभूति रह्यो, मेरा लागि । सिफारिसका लागि शुरुमै नगरकोटीलाई नमस्कार !

पढ्नु यात्रा हो । पढ्नुको यात्रा कुनै भूगोल विशेषमा मात्र सीमित छैन । पढ्नुको फैलावटमा फैलिँदै जाँदा एक निबन्ध बन्ला । तर मलाई यहाँ फैलिने छुट छैन, किनकि यो निबन्ध होइन । अब भन्नुहोला, शुरुमै नगरकोटीको गफ हान्दै गोतामेको कुरा पेल्यो पक्कै यिनै दुई मनुवामध्ये कुनै एकको किस्सा होला ! त्यो पनि होइन । कुरो के चाहिँ हो भने, गोतामेले मलाई सुनाएका हुन् । अब फेरि भन्नुहोला – यो गफाडी झापालीले गोतामेलाई चाहिँ कसरी र कहिले भेटेछ ?

कुरो के भने, लेखकहरुलाई भौतिक रुपमै भेट्नु पर्दैन । उनीहरुलाई मनले चाहेकै बेला पुस्तकमा भेट्न सकिन्छ । पुस्तकको नामचाहिँ म अन्त्यमा भन्छु, अहिले चाहिँ लागौँ ल चुरो कुरोतिर !

कुरो जंगबहादुर राणाको बेलायत भ्रमणको हो । त्यहाँ जंगको यात्रुदल भवन नम्बर एक रिचमन टेरासमा बसेका थिए । त्यहाँ हरेक दिन जाने एक सूचीकारको समेत व्यवस्था गरिएको रहेछ । अब कुरो के भने, गरीब देश नेपालका प्रम जंगको बहुमूल्य हीरा–जवाहिरात जडेर कार्चोपी भरेको एउटा कम्मरपेटी थियो मखमलको जुन ठाउँठाउँमा खुइलिएको रहेछ । एकदिन जंगले नियमित सेवामा हाजिर हुने सूचीकारलाई ममर्तका लागि आफ्नो कम्मरपेटी दिइपठाए । त्यसमा मखमलको रङ मिलाएर हाल्नुपर्ने हुँदा सूचीकार त्यसको खोजखाज र वन्दोबस्तमा लागे । मर्मतको सकेर फर्काउने कुनै दिन नतोकिएको अवस्थामा नेपालमा महाराजलाई तीन दिन बितेपछि कम्मरपेटीको चिन्ता लाग्न शुरु भयो । नलागोस् पनि किन ? – त्यसको मूल्य नै झण्डै दुई लाख पाउण्ड पर्न जान्थ्यो । कतै बहुमूल्य रत्न जडित कम्मरपेटी लिएर भाग्न त भागेन ? उनको मनमा शंका उम्रियो ।

अनि के भयो ? – के भयो त भन्दा, जंगले कुनै सहयोगी मार्फत सूचीकारका विरुद्धमा नजिकको प्रहरी चौकीमा उजुर गर्न लगाए । विशिष्ट पाहुनाको बहुमूल्य सामान हराएको थाहा पाएपछि चौकीले तत्कालै सूचीकारको खोजीमा एक प्रहरी खटायो । प्रहरी सूचीकारको घर पत्ता लगाएर ढोकामा पुग्यो । सूचीकार पत्नीसहित बाहिर कतै गएको उसकी छोरीमार्फत पत्तो लाग्यो । प्रहरीले कम्मरपेटीका बारेमा सोधखोज गर्यो, तर छोरीले थाहा नभएको बताई । प्रहरीले घरको चप्पाचप्पा छानमार्यो, तर खोजेको सामान भेटाएनन् र फर्किए ।

अनि के भो ? हाम्रा प्रमले के गरे ? – कति हतार के ! हाम्रा प्रमले उल्टो जरीवाना भरे । अँ, सही सुन्नुभो । सुन्नुस् !

मध्य रातमा सूचीकार घर फर्कियो । छोरीबाट प्रहरी आएको थाहा पाएपछि ऊ तत्कालै कम्मरपेटी बोकी जंग बसेको भवनतिर हानियो । कुरेरै, जंगबहादुरलाई नै भेटेर दियो । र, भोलिपल्ट हाम्रा जंगका विरुद्धमा इलाकीय कचहरीमा उजुरी दियो । उसले आफ्नो अपमान भएको, आफ्नो पेशामाथि लाञ्छना लगाएको, बिना सूचना राती घरभित्र प्रहरी पसेको लगायतको आरोप लगाउँदै १० डलरको क्षतिपूर्ति माग गरेछ । हाम्रा प्रम नेपालमा भएका भए भन्दा हुन् – ‘यस्ता जाबा सूचीकारको के औकात म विरुद्ध उजुरी गर्ने !’ तर त्यहाँ भने अदालतले सूचीकारलाई ५ पाउण्ड क्षतिपूर्ति दिलाएछ । ध.च. भन्छन्, ‘… लण्डन ‘टाइम्स’मा यति मात्र लेखेको पाएँ । क्षतिपूर्तिको रकम कसले भर्यो ? त्यसबारे ‘टाइम्स’ मौन छ । त्यो अड्कल हामीहरुले नै लगाउनुपर्ने हुन्छ । तर कानूनी राज्यको परिपाटीबारे प्रधानमन्त्री जंगबहादुरले पहिलो पाठ यही अनुभवबाट ग्रहण गरेका हुँदा हुन् ।’

अँ, कुरो सकियो । अझै विस्तृतमा पढ्ने इच्छा गोतामेको यात्रासंस्मरण ‘तीन बास’ पढिहाल्नुहोला । यो प्रसंग उनले यसअघि कतै कसैले कुनै पनि किताब उल्लेख गरेको नपाएको दाबी समेत गरेका छन् । संस्मरणको शीर्षक र पृष्ठचाहिँ आफैँ खोज्नुहोला ल !

२. जब लेखकले आफ्नो मृत्युको समाचारमाथि व्यङ्ग्य कसे

एकादेशमा एक विख्यात लेखक थियो । उसको लेखनको सर्वोत्कृष्ट क्षेत्र हास्यव्यङ्ग्य थियो । अब यति भनिसकेपछि तपाईंले बुझिसक्नु भो, लेखक अन्य विधामा समेत उत्कृष्ट थिए – मैले भन्नै परोइन ।

अँ, उनी सामान्य मानिसलाई साधारण लाग्ने घटना तथा विषयवस्तुमा समेर गहिरो हास्यरस भेट्थे, र उस्तै प्रभावशाली रूपमा लेख्थे पनि । परिस्थिति अनुरूप गम्भीर र अर्थपूर्ण व्यङ्ग्य गर्नु उनको खुबी थियो ।

भयो के चाहिँ भन्दा, एकपटक एकादेशको त्यो लेखक बिरामी पर्‍यो । गम्भीर बिरामी, लामो समयसम्म । उनी घरबाट बाहिर निस्किन सकेनन्, भित्रै कैद भए । उनका नयाँ रचनाहरू पनि प्रकाशनमा आएनन्, सायद हात चलेनन् क्यारे !

अब, विख्यात लेखक एकाएक हराएपछि बजारमा अनेकथरी हल्लाहरू उड्न थाले । अहिले जस्तो भएको भए आफ्नो अस्वास्थ्यताका बारेमा फेसबुकमा स्टाटस अपडेट गर्दा हुन्, ट्विट्याउँदा हुन् । तर कुरो हो एकादेशको ।

अनि भयो के त भन्दा, उनको मृत्यु भइसकेको हल्लासमेत चल्न थाल्यो । अझ एक समाचार पत्रले त उनको मृत्यु भएको समाचार नै प्रकाशित गर्‍यो ।

अनि के भयो त ? – ती लेखकले आराम हुँदै गर्दाको एकदिन आफ्नो मृत्युबारे प्रकाशित समाचार पढे । समाचारले उनलाई अचम्मित बनायो तर एक पित्को पनि रिसाएनन् । कुनै आक्रोश जनाएनन् । बरू आफूले कमाएको यशको प्रयोग गरे । आफ्नो मृत्युको समाचारबारे सटिक व्यङ्ग्यमार्फत टिप्पणी सार्वजनिक गरे ।

टिप्पणी के थियो ? टिप्पणी थियो – “मेरा शुभचिन्तक, तपाईंहरूलाई निराश बनाउनुपर्दा म ज्यादै दुःख छु आज । मलाई याद भएसम्म, म अझै जीवित छु, मरेको छैन ।”

तपाईँलाई लाग्यो होला, यो गफाडी मार्का जिल्ला निवासी पाङ्दुरेले कुन देशको, कुन लेखकको कुरा गर्‍यो ? – पख्नुहोस्, म भनिहाल्छु नि !

एकादेश – अमेरिका ।

एकादेशका लेखक – मार्क ट्वेन (Mark Twain: 1835–1910)

३. स्यालीको काइदा

अस्ति राती मेरो माई डियर दाइले (फ्रेन्ड होइन) अच्युत कोइरालाले एउटी प्रशिद्ध वेश्याको सपनामाथि बनेको फिल्म हेर्नुभयो । माई डियर दाइको एउटा काइदा (बकाइदा होइन) को बानी के छ भने – डियर भाइहरूसँग आफूले हेरे/पढेका काइदाका कुराहरू बकाइदासँग साझा गर्नुहुन्छ ।

‘उसलाई वेश्या पनि भनूँ कि नभनूँ ! कहिलेकाहीँ म दुविधामा पर्छु ।’, चियासँगैमा चियाको अर्डरपछि दाइ शुरु हुनुभयो, ‘सम्भवतः कुनै स्त्रीलाई तल्लोस्तरमा गरिने गालीका रूपमा यो शब्दलाई मानेका हुनाले धेरैले ज्यादै अपमान ठान्लान् ।’

दाइ जस्तै म पनि कहिलेकाहीँ यस्ता शब्द प्रयोग गर्दा रनभुल्लमा पर्नेगर्छु । हैसियत व्यक्तिको हुन्छ कि व्यक्तित्वको ? प्रतिष्ठा पदमा निहित रहन्छ कि कर्ममा ? अनि औकात व्यवहारले देखाउँछ कि शब्दले ? – म पनि दाइले झैं कहिलेकाहीँ सोच्छु – कहिलेकाहीँ शब्दको औकात पनि खत्रै हुन्छ !

दाइका कुराको लहरो लामो हुन्छ । कुनै पनि प्रशंग उप्काएर त्यसको इतिहासको जरोसम्म विचरण गर्नु र गराउनु उहाँको खुबी हो । उहाँ देहव्यापारीको इतिहास कोट्याउन ट्रम्प बाको देश छिर्नुभो, खतरा मोलेरै । बाले दाइलाई जुनसुकै बेला डिपोर्ट गर्दिनसक्ने खतरा त छँदै छ नि ! हैन ?

‘कुनै समयमा अमेरिकाको न्यूयोर्कमा देहव्यापारका लागि एउटा अनुमतिपत्र लिनुपर्थ्यो ।’

यति भनी नभ्याउँदै दाइलाई अचानक स्यालीको याद आयो । मोबाइल स्क्रीनमा एउटा तस्वीर देखाउँदै दाइ बग्नुभयो –

‘यो तस्वीरवाली सन् १८९८ ताका देहव्यापार गर्थी रहिछ । त्यसका लागि उसले अनुमतिपत्र लिएकी रहिछ । त्यसो त अनुमति नलिई पनि देहव्यापार गर्नेहरू निकै थिए तर स्याली त्यस्ती थिइन । ऊ देश विकासमा ठूलो योगदान गर्नुपर्छ भन्ने ठान्थी र सरकारलाई कर तिर्थी । त्यसका लागि उसले बकाइदा दुई डलर ५० सेन्ट पैसा पनि तिर्दिरहिछ ।

स्यालीको ख्याति न्यूयोर्कका गल्लीहरूमा निकै थियो किनभने ऊ खास किसिमको कौशल देखाउँथी ।

जब उसकहाँ ग्राहक पुग्थे, उनीहरूलाई चिया लैजाँदा हातमा होइन, छातिमा बोकेर लैजान्थी । उसको यो कलाबाट ग्राहकहरू ज्यादै रमाउँथे । ग्राहकहरूलाई ‘युनिकनेस’ मन पर्छ भन्ने उसलाई थाहा थियो । त्यसैले ऊ यस्तै उट्पट्याङको काम गरेर ग्राहकहरूलाई अतिरिक्त मनोरञ्जन दिलाउँथी । त्यसैले उसले उपनाम पाएकी थिई, टी-कप वाली स्याली ।

हुन त त्यस बखतमा अनेक किसिमका स्याली थिए होलान् तर यो टी-कप स्यालीको ख्याति छातीमै चिया बोकेर कमाई ।

यसपछि मैले यो स्यालीका बारेमा थप केही जानकारी पाइन्छ कि भनेर खोजी हेरेँ । वेश्यावृत्तिका लागि अनुमति लिने स्यालीका बारेमा थोरबहुत जानकारी त आयो तर टी-कप स्यालीका बारेमा यी सारा जानकारी गलत हुन् भन्ने सूचना पनि आयो ।’

स्यालीको कुरो सकियो, तर दाइले कुराको अन्त्यमा अर्की पात्र उभ्याउनुभयो, ‘यो चियावाली स्यालीका बारेमा पढ्दै गर्दा फेरि मलाई एनोराको सम्झना आयो । एक शताब्दी अघिकी स्याली र पछिकी एनोरा भेटे भने कस्ता कुरा गर्दा हुन्, है ?’

चिया सकियो । अब फेरि यो एनोरा को हो ? अलिकति जाँगर चलाएर AI लाई सोध्ने कि रोचकशैलीका लागि दाइसँग अर्को चिया गफको प्रतीक्षा गर्ने ? दोधारै छु ।

भन्नुस् त, तपाईं के गर्नुहुन्छ ?