तारा राई ‘अनमोल’को ‘छापामार युवतीको डायरी’ पढेपछि मनमा अनेक तर्कना खेले । १७ वर्षको किशोरवयमा अस्वस्थ शरीर बोकेर स्वस्थ, समृद्ध र नयाँ नेपाल बनाउने सपना बुनी सशस्त्र युद्धमा होमिएकी थिइन् तारा । उनको डायरी लेखिएको समय वि.स. २०६१ देखि २०६३ सम्मको हो । ताराले सशस्त्र संघर्षमा लागेर पनि आफ्नो जीवन बचाइन् तर आफूजस्ता धेरै क्रान्तिकारी साथीहरूलाई स्मृतिका पानामा सजाएकी छिन् । उनले के पाइन्, थाहा छैन तर धेरै साथीहरू गुमाइन् भन्ने कुरा उनकै डायरी पढेपछि छर्लङ्ग हुन्छ ।
रत्न पुस्तक भण्डारले प्रकाशन गरेको पुस्तकको १५ औं संस्करण मेरो हातमा परेको २४ घण्टामा पानापाना, अक्षरअक्षर पढें । मन छोएका वाक्यहरूमा रातो हाइलाइट पेनले धर्को लगाएँ । उनीसँगै कुदेँ । कहिले सेनाको नजिक पुर्याइन्, कहिले प्रहरीसामु । कहिले इलामको जेल पुर्याइन् त कहिले विराटनगरको । उनका सहयोद्धा साथीहरूसँग भेटाइन् कहिले, कहिलेकाहीँ आमाबाबासँग पनि परिचय गराइन् । सम्झाइन् वनपाखा अनि देखाइन् शब्दले नै आफ्ना दुःखसुखका पहाडहरू ।
सशस्त्र युद्धमा लागेको तीन महीना नहुँदै उनी तत्कालीन शाही सेनाद्वारा पक्राउ परेकी रहिछिन् । डायरीमा उनले सेनाका बारेमा खासै नराम्रो लेखेकी छैनन् । गालामा झाप्पड खाएको, अश्लील शब्द सुन्न परेको कुरालाई सामान्य रूपमै लिएकी छिन् । तर युद्धकालीन साथीहरूबाट सेनाको पछि लागेर हिँडेको, सेनालाई सहयोग गरेको जस्ता मिथ्या आरोप सहन पर्दा तारा भावुक हुन्छिन् । मन उजाड हुन्छ उनको । युद्धमा मर्न र मार्न मात्र होइन, आफू र देश बदल्न हिँडेको मान्छेलाई ती र त्यस्ता मिथ्या कुराले चोट पुराए तापनि सहनशक्ति बटुलेर तारा धेरै अघि बढेकी छिन् ।
ताराको डायरी पढ्दा नेपाली जेलका दर्दनात्मक अवस्था बुझ्न सकिन्छ । जेलका यातना, जेलमा हुने गतिविधि, नाइकेको भद्दा व्यवहार र असमान क्रियाकलापहरू आज पनि उस्तै होलान् या फरक ? आस्थाका बन्दीहरूलाई गरिने र अन्य बन्दीहरूलाई गरिने व्यवहार कस्तो थियो भन्ने कुरा उनको डायरीमा काफी लेखिएका छन् । ताराले आफू कसरी माओवादी सशस्त्र युद्धमा लागिन् भन्ने कुरा फ्ल्यासब्याकका रूपमा बताएकी छिन् । आफ्नो मिल्ने साथीलाई कथाका रूपमा सुनाइरहँदा आफू माओवादी युद्धमा भेटिन्छिन् । कक्षा ६ पास गरेपछि स्कुल छाडेकी ताराको जीवनमा उक्त युद्ध ‘न्यायका लागि वा नेताको सत्ता प्राप्तिको भरेङ’ खोजको विषय बनेको पाइन्छ ।
ताराले जेलमा बस्दा थुप्रै पुस्तक पढेकी छिन् । गीत गाएकी छिन् । नृत्य गर्न भ्याएकी छिन् । घरिघरि पीडाले मन थाप्नै नसकेर सिरक ओढेर दिनरात सुतेकी छिन् । कहिलेकाहीँ बाँच्ने रहर मरेर होला, नियमित खानुपर्ने ओखती पनि खाएकी छैनन् । तारालाई सेना र प्रहरीले बयानमा सोध्ने साझा प्रश्न भनेकै – यति सानै उमेरमा किन बाटो बिराएको ? हुन्छ । तारा पनि विगत सम्झेर कहिलेकाहीँ, किन हिंसात्मक युद्धमा लागें हुँला ? आफैँसँग प्रश्न गर्दी हुन् । तर उनले युद्धमा हिँडेको साथी रुबेनलाई भनेकी छिन्– मृत्यु वा मुक्तिको सपथ खाएर लडाइँमा हिँडेका सिपाहीले घरायसी कुरामा अल्झनु हुँदैन । पहिलो कुरा संघर्ष हो हाम्रा लागि……….।
मुटुको बिरामी ताराले युद्धविरामपछि युद्धकै पीडाबोध गरिन् झन् धेरै । प्रतिआक्रमण समेत सहनुपरेको कुराको साक्षी उनकै डायरी छ । तत्कालीन युद्धरत पक्ष र सरकारबीचमा भएका शान्ति सम्झौताका कुराहरू अझै टुंगोमा पुगेका छैन । बेपत्ता पारिएका, घाइते, आफन्त गुमाएकाहरूको एकीन तथ्याङ्क प्राप्त हुन सकेका छैनन् ।
ताराका कुराहरूले कसैलाई पिरोलेको छैन । उनले कसैलाई आपेक्ष लगाएकी पनि छैनन् । समाजमा हुने वर्गभेद र उत्पीडनका बारेमा आफ्ना विचारहरू भने प्रशस्तै राखेकी छिन् । युद्धको घाउमा खाटामात्र लागेका छन् तर निको भएको छैन । ताराका शब्दहरू कठीन मोडका यात्रीजस्तै छन् । थोरै शब्दमा कसेर लेखेकी छिन् । जीवनको यात्रामा भोगिएका तीतामीठा कुराहरू लयबद्ध छन् । युद्धमा भोगेका कुराहरू सलल बगाएकी छिन् वाक्यहरूमा । जेलभित्रै नाराजुलुश लगाएकी छिन् । जिन्दावाद र मुर्दावाद घन्काएकी छिन् । तत्कालीन ज्ञानेन्द्र सरकार विरुद्धमा आगो ओकलेकी छिन् । विवशता र बाध्यताले गरीबका सन्तान युद्धमा मारिएकोमा उनी दुःखी छिन् । सांगीतिक कार्यक्रम गर्न रुचाउने उनी नारायणगोपालका गीतहरू खुबै मन पराउछिन् । जनवादी गीतहरूमा नृत्य गरेकी छिन्, बुलन्द गीतमार्फत् क्रान्तिका बीऊ छरेकी छिन् ।
तारा यतिबेला अर्कै भइसकेकी होलिन् – शान्त, सुशील र शिष्ट । उतिबेलाकी तारा अर्थात् पार्टीले दिएको नाम सीमाजस्तै क्रान्तिकारी पक्कै नहोलिन् उनी । उमेर, घरव्यवहार, समय, परिस्थिति र समाजले आज उनलाई तारा राई ‘अनमोल’ बनाएको छ । सायद हिजो भोक र अभावले उनलाई युद्धमा मिसाएको थियो । क्रान्तिलाई चुनौतीका रूपमा स्वीकार गरेर अघि बढेकी ताराले युद्धविरामपछि आफूलाई लेखकको रूपमा ढालेकी छिन् । दुनियाँले ‘आफ्नोपन’ र ‘छापामार युवतीको डायरी’को श्रष्टाका रूपमा चिन्छन् ।
ताराको मस्तिष्कको गर्भमा युद्धका खजनामात्र होइन भविष्यको ज्ञानखानी समेत भेटिन्छन् । जहाँबाट नयाँ पुस्ताले अनेक सन्देश प्राप्त गर्न सक्नेछन् । नयाँ दिशानिर्देश प्राप्त हुनेछ । ताराले युद्धमा समाहित भइरहँदा मनमा खेलाएका अनेक प्रसङ्गहरूले हाम्रा मनमुटु र मस्तिष्कमा अनेक झड्का हान्छन् । मौनतामा उनले आँशु खसालिरहँदा कयौंपटक सिरानी भिजाएकी छिन् । जेल सार्दा कतै बलात्कारको शिकार भएर क्रान्तिकारी जीवन व्यर्थै जाने हो कि भन्ने शंका मनमा पालेकी थिइन्, तर पनि मृत्युसँग कहीँकतै उनी डराएकी छैनन् । जेलबाट छुट्नका लागि उनले कहीँकतै बिन्ती बिसाएकी छैनन् । समपर्णपत्र लेखेकी छैनन् ।
बरु उनले जेलको बाथरुमभित्रै यस्तो गीत गाउँथिन् –
‘यो शरीर ढल्यो साथी हो
लालझण्डा ढल्न नदिनू
क्रान्तिको लागि मरेर गयो
बाबालाई भन्दिनू ।’
तर त्यतिबेला क्रान्तिको आगोमा हामफालेकी ताराले आफ्नै युद्धकालीन साथीहरूबाट पाएको असहयोग, पीडा र लाञ्छनाले मुटु छियाछिया भएको छ । मन चिराचिरा परेका छन् । भावना विक्षिप्त भएको छ । बाँच्ने साहारा आफ्नै जीवनसाथी अमर र छोरोलाई भेटेकी छिन् । सुन्दर सपना साँचेर, नयाँ बिहानीको परिकल्पना गरेकी छिन् ।
ताराको डायरीले क्रान्तिमार्फत शान्तिको खोजी गरेको छ । युद्धकालीन पीडामा मल्हमपट्टी लगाउने कोशिश गरेको छ । आफूजस्तै युवतीहरूलाई एकपटक गहिरो रूपमा सोच्ने बनाएको छ । ताराले पनि अहिले त मनमनै भन्दी होलिन् – युद्ध केका लागि थियो ?



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२३ कार्तिक २०८२, आईतवार 










