लेखिने अमूर्त भए पनि कलम अमूर्त हैन । इन्द्रेणीजस्तो रङ कलमको छैन । डाँफेको प्वाँखजस्तो हलुको पनि कलम हैन । ठूला हतियारलाई रोक्ने क्षमता हुन्छ कलममा नै । कलमको एकै दस्तखतले सन्धि हुन्छ, सम्झौता हुन्छ र सर्वस्व पनि हुन्छ । देखेजस्तो मात्र नहुने भनेकै कलम हो । आकाशमा मडारिरहेको बादलका आकृतिजस्तो कहिले स्पष्ट, कहिले अस्पष्ट । अक्षर पनि सिकाउने, आतङ्क पनि सिकाउने । कसैको सामु उदाङ्गिन नपरेको बैँसालु युवतीजस्तो । पत्ता लाग्ननसकेको रहस्यजस्तो बनिरहेको छ कलम ।
अरुका लागि होला नहोला तर बनिरहेको छ मेरो लागि । परिचय र परिभाषाको गवेषणमा मेरा दिनहरू बिताउँछन् कलम । भनाँै, हामी म्याराथुन दौडमा छाँै । कहिलेकाहीँ अलिक नजिक पुग्नासाथ कलमले बुर्कुसी मार्न थालिहाल्छ मसँग । लाग्छ, कलमसँग मेरो सम्बन्ध बिग्रेको छ र बिच्छेद गर्न खोजिरहेको छ । हुनसक्छ सातो गएको छ कलम म देखेर । मेरो अन्वेषणमा चन्द्रले आफ्ना दाग देख्ला भनेर कसैको अगाडि नपुगेजस्तै बनेको छ कलम । मैले उसलाई सूचित गर्नसकेको छैन–मेरो भेट, मेरो अन्वेषण कुनै गल्तीको अदालत बन्न हैन भनेर । यो दावी मेरो मैमा मात्र सीमित छ । मेरा अभीष्ट मात्र कलम हाँस्दाका समयलाई नाप्नु र सकिन्छ भने चुच्चा निबहरूलाई सैनिकझैँ अनुशासित र कठोर पनि बनाउने रहेको छ ।
मयूरका प्वाँखकालीन समयदेखि आस्था र श्रद्धाका रुपमा पुजिएका कलमहरू अर्थात् सरस्वती पोखिने कलमहरूले प्रतिष्ठा जोगाउनसकेको छैन । भाडामा लागेर, विक्र्री पनि भएर मनलाग्दो बग्न थालेपछि नै हो मैले कलमको मन छाम्दै हिंड्न खोजेको, अर्थ खोज्न थालेको । अन्यथा भातजीवन दिने कलमको पछि किन हात धोएर लाग्न स्वीकार्थेँ हुँला ?
मानव मस्तिष्कमा साकार रूप, सृजनाका गहना, विज्ञानका आविष्कार र प्रत्येक विषयवस्तुको मूर्तरुप दिनसक्ने कलम किन हिजोआज भाँचिदै जान थालेका छन् । चिप्लेकीरा घिस्रिरहेजस्तै । वैशाखीको सहारामा खोच्याइरहेजस्तै । रङ फेरिएका छन् मादकतामा घोलिएर । शून्यतामा एक्लै हीनताबोध गरिरहजस्तै पनि लाग्छ । कतै स्वार्थको रसमा रौसेर विवेकहीन बमनको पीडाले ग्रसित भएजस्ता पनि देखिन थालेका छन् कलमहरू । आफ्नो उज्यालोमा ग्रहण लगाएर आफैँ दाग लगाइरहेका छन् ।
सुकुम्बासी कलमहरू सहरका आलिसान महलहरूमा उघ्राइरहेका छन् । बेइमान र बदमासहरु कलममा समाहित भएका छन् । भ्रष्ट र डनहरु कलमलाई श्रीपेच मानेर अभिषेक गरिरहेका छन् । कलमकै रखवारीहरू आडम्बरी आदर्शका सुकिला खोल ओडेर बलात्कार गरिरहेका छन् । छया ! सुन्दा पनि कति घृणा लाग्छ । कत्रो विडम्बना, कस्तो आर्तनाद । बुझिनसक्नुभएको छ । अँ, मैले कलमको विरोध गरेको भान पटक्कै नपरोस् । यथार्थ कहिले विरोधको स्वर हुँदैन भन्ने म जान्दछु ।
अर्को अर्थ नलागेमा कलमप्रति मेरो रति पनि रोष छैन । कलमको विरोधमा कलम नै खियाएर लाजमर्दा नेता प्रमाणित गर्ने मेरो अभिप्राय पनि हैन । कलम स्वयं आफ्नो पीडा पोखेर हलुका बन्न व्यग्र बन्दैगएको छ । आखिर नबोक्नुपर्ने भारी कतिन्जेल पो बोकिरहन सकिन्छ र ? कलमहरू अहिले महसुस गर्ने अवस्थामा पुगेका छन् । उनीहरुलाई थाहा नभएको होइन, मानवहरू उनीहरूकै भर्याङ उक्लेर माथि पुग्छन् र तलसम्म ओर्लिएर उनीहरूकै बेइज्जती गरिरहेका छन् भन्ने । कुहिएका, गन्हाएका औंलाहरूमा कैद भोगाइका महसुस्मा छन् उनीहरू । साना कलिला हातहरूदेखि पाकेका हातहरूसम्म रमाउने कलमहरू फुटपाथे वेश्याहरूझैँ सस्तो दाममा बिकिन बाध्य भइरहेकोमा पनि आशोच बारिरहेका छन्–कलमहरू ! बिचरा कलमहरू ! कत्राकत्रा सङ्गीन र क्षेप्यास्त्रहरूले गर्न नसकेका काम गरेर भिक्टोरियाका बहादुरहरू तक्मा भिरेर निरीह बनिरहँदा किन हाराकिरी गर्न नखोजुन् त अनाथहरूले । कुन्नि, किन हो मलाई कलम चलाउन पटक्कै मन लाग्न छोडेको छ । मन नमाने पनि अन्र्तमनले चित्त बुझाउने भए पो ?
झ्याल बाहिर खेत देखिन्छ । खेतमा दुई युवती कोदाली चलाइरहेका छन् । अपरान्हको घाम तापिरहेका छन् । कोदाली चलाउनु परे पनि घाममा अलिकति नओइलाइकन फक्रँदैछन् उनीहरू । पीडा छैन पटक्कै र थकानको महसुस पनि । मस्तसँग गफिँदै छन् र खन्नुपर्ने खेतहरू पनि घटाउँदै छन् ।
कुन सड्को कलमले झ्यालबाट खेततिर चिहाइ भ्याएछ । किन हो कुन्नि कोदालोसँग ईष्र्या पो गर्न थालेछ । कोदालो समाउने हातको न्यानो स्पर्शको रहर पो हो कि ? कोदालीको स्वतन्त्रतामा निदाएपछि कलमले आफूलाई स्वतन्त्र भएकोमा शङ्का गर्न थाल्यो । कालो बादल लागेर दिन धुमिएको बेलामा स्वतन्त्रताको शङ्खनाद घन्काउँदैमा के मज्जा हुन्छ र ? वास्तवमा यातनागृहभित्रको स्वतन्त्रता महसुस गर्नथालेको छ । भावनाको दयनीयतामा स्वतन्त्र ठानेको छ । केलीगृहको पटाङ्गिनीमा पान बेच्न आउनेहरूझैँ मानेको छ । सुनको पिँजडाभित्रको सेतो परेवाको सुखजस्तो बनेकोछ । यस्तो स्थितिमा शान्त बन्न सक्ने कुरै भएनन् कलमहरू ।
सन्तुष्टिको प्रतिपक्ष असन्तुष्टि हो । एकाकार बन्न नसक्ने नदीका नभेटिने किनारजस्ता । दुई किनारा भएरै बगे पनि सौहार्द र समन्वयमा कहिल्यै कन्जुस्याइँ नगरेजस्ता । यात्राका पाइतालामा शुभारम्भका साथै टुङग्याउनी पनि भएजस्ता । त्यस्तैत्यस्तै बनेका छन् कलमहरु । विद्रोह मन पराउँछ र शान्त बन्छ । विनाश गर्न रुचाउँछ र सृजना गर्छ । यी कलमका जात बुझ्नै गाह्रो । कहिले आगोजस्तो, कहिले फूलजस्तो । कहिले टुकुचाको दुर्गन्धजस्तो, कहिले बेलायती बैठकको सुन्दरताजस्तो । कस्तो, कस्तो ?
परिभाषा भएको अन्धो रातजस्तो । महङ्गो भोगाइको सस्तो सम्झनाजस्तो । त्यसैले होला, कलम यता पल्टन्छ, चित्त बुझाउँदैन । उल्टा पल्टन्छ, खुसी बन्दैन । झ्याल खोल्छ, हावा पस्दैन । ढोका खोल्छ, कोही भित्रिदैनन् । एक्लो नितान्त एक्लो चित्तामाथिको शवझैँ सेतो पानामाथि लडेको छ । त्यसैले होला वर्तमानका कलमहरू चर्केर पोखिन नसकेर पीडाकै मलम दलिरहेका छन् । सम्भाव्य उर्वरताको कल्पनाकाशमा विचरण गर्न सकिरहेका छैनन् । सौन्दर्यको सागरमा पौडेर हाँसोहरूको खेती गर्न सकिरहेका छैनन् ।
रात रुन्छ । साँझ रुन्छ । कलम रुन सकिरहेको छैन । बादल मडारिन्छ । शीत तप्किन्छ । कलम फक्रिन सकिरहेको छैन । कलमले सगरमाथामा हिउँ फुलाएको छ । सम्झौतामा हातहरू एकाकार गर्न लगाएको छ । तर अनभिज्ञ यात्रुले झैँ पिँढीमा एक झमक बास पाउन सकेको छैन । अलिकति न्यानो साथ पाउनसकेको छैन । अपवाद वा स्वाभाविकरुपमा फुटपाथे तरुनीहरूको सस्तो मोल र छोटो रातजस्तो श्राप भोग्दैछन्–कलमहरू । कलम कालिदासले बोक्दा सुहाउँछ, बाल्मीकिलाई सुहाउँछ । देवकोटाको औंलामा सुहाउँछ र होमर र इलियटलाई सुहाउँछ । तर लिलिपुटहरूका कोटमा सुहाउँदैन ।
कलम प्रदर्शकहरूका बस्तीमा कुन युगले काव्यवृक्ष उमार्छ र ? यो मनमा कलम बोक्नेहरूका खेतबारीमा नहोलान् परन्तु गमलामै भए पनि वाङ्मयको बीज नउम्रेको कहाँ छ र ?
सस्तो बजारभित्रको महङ्गो मोलजस्तै जसले बेचे पनि हुने र जसले किने पनि हुने भएर पो हो कि कलम पीडामा आफैभित्र हराउनथालेको छ । सबैको अभिव्यक्तिको माध्यम बन्ने कलम आफ्नो पीडा आफै लेखिन सक्दैन । टेलिभिजनमा आफू हराएको सूचना आफैले प्रसारण गरिरहेजस्तो व्यङ्ग्य । स्टोरका बहिदारसापको टेबुलमाथि कलम नभएजस्तो । खरदारसापको खल्तीमा कलम नभएजस्तो । कलम खोज्नेहरूका लागि विरोध गर्ने निहुँ बनेको छ कलम । नाटकमा कलम खोज्नेहरू जुलुसमा नै हराइरहेका छन् । त्यसैले कलम खोज्नेहरू यथार्थमा नाटक गर्न खोज्दाखोज्दै नाटकमा यथार्थ प्रदर्शन गरिरहेका छन् ।
कलम खोज्नेहरू विपरीत दिशातर्फ हातमा चिराग बोकेर अघि बढिरहेका छन् । कलम उदाउनुपूर्व जुलुसवालाहरूको राँको खाक हुनेछ । कलमीहरूको खोजी अभियानमा अवरोध आउनेछ । लामो यात्राको सडकमा पहिरो जाँदा यात्रीहरू उल्लीबिल्ली भएजस्ता हुने छन्–कलमीहरू । सबै कलमीहरू एकत्रित भएर मिल्न सक्ने छैनन् । कलमबाजहरू संयुक्तबाट विखण्डित हुनेछन् । आफूलाई चिन्न कोही पनि आफूबाहिर निस्कने छैनन् । एकले–अर्कोलाई कलमीभन्दा फरक देखिने छन् । सबै आ–आफ्नै मात्र डम्फू बजाउन खोज्नेछन् । कसैलाई कसैको घाउ दुख्ने छैन् ।
साँझ बढ्दै जान्छ । बिहानी सूर्यसम्म कुनै धैर्यको बाँध फुट्ने छन् । कलमबाजहरू अहँंले पाक्ने छन् । सावधानीका शङ्खघोषका साथ हस्तिनापुरका रथहरूझैँ एकआपसमा जुध्न थाल्नेछन् । बादलका कलमबाजीहरू आआफ्ना सिद्धान्तमा युद्ध गर्नेछन् । यात्रा, लक्ष्य र कर्तव्य सबैले बिर्सने छन् । तीरबाट निस्किएका धनुहरूले प्रायः सबै सिउरिनेछन् । शव क्षेत्र बन्ने छ कलमबाजीहरूको यात्रास्थल । उज्यालो आकाशमुनि अर्को एक कुरूक्षेत्र बनेर लास गनाउन थाल्नेछ । कलम खोज्नेहरू कलम प्राप्तिको मोहमा चिरनिद्रा निदाउनेछन् । युद्धमा लङ्गडा भएका घोडाहरू कलमबाजहरू जीवित छन् कि भन्दै छातीमा टेक्दै हिँड्ने छन् । कलमी जुलुसको स्थान घोडाहरूले लिनेछन् । केही घोडाहरूले जुलुसका नाराझैँ हिनहिनाउँदै भन्नेछन् –“अब हामी कलम खोज्छाँै, यो हाम्रो अधिकार हो ।”
कलम खोज्नेहरूका लहरै चिहान बन्नेछन् । सक्कली कलमका नक्कली मस्तिष्कहरू श्रध्दाका फूल चढाउनेछन् । एक मिनेट मौनधारण गर्नेछन् । समय स्थिररूपमा टोलाइरहने छन् । सदा कलम प्राप्तार्थ भीडभित्रको अन्तरकलह पातलिने छन् । विखण्डित भएर पशुका दास बन्नेछन् । अरूलाई रित्याउने प्रयासमा आपूm रित्तिनेछन् । कलमको बलात्कार गर्न खोज्नेहरू आफै बलात्कृत हुनेछन् । मानिसहरू कलमलाई दास बनाउने प्रयासमा घोडाहरूको दास बन्न बाध्य हुनेछन् । तर कलमहरू घोडाका दास बन्न रुचाउँदैनन् । शिष्टतामा स्वतन्त्रताको च्याँखे थाप्न नरुचाउने कलमहरू कलमजस्तै भएर जिउन नपाएकोमा विद्रोह गर्नेछन् ।
आखिर गरेर के गर्नु ? नाङ्गिएर भित्तामा क्रुसिफाइड हुनुपरेका कलमहरू हडताल र अनसनमा पटक्कै आस्था राख्दैनन् । त्यसर्थ कलमहरू राता बत्तीका घन्टीहरू बजाउँछन् । सङ्कटकालीन समयको रुपमा क्यालेन्डरको पातोमा रगत निस्कने गरी कोतर्छन् । वास्तवमा कलमलाई समयले कहिल्यै हराउन सक्दैन । इतिहासमा कलम दिग्विजयी भएरै रहेको छ ।
विश्वका थुप्रै भौगोलिक सिमानाहरूमा कलमविरुद्ध विप्लव भएका छन् । विज्ञानको सारदेखि वाङ्मयको फाँटसम्म, चिकित्साको प्र्रयोगदेखि युद्धको मैदानसम्म र मानव अस्मिताको परिचयदेखि अन्त्यसम्म कलम कलमै भएर नित्य उदाइरहने छन् । हाँसिरहने छन् जूनझैँ । बगिरहने छन् निरन्तर नदीझैँ । कलिला बालबालिकाका मुस्कानझैँ कञ्चन हुनेछन् र कलम नै भइरहने छन् कलमहरु । यो जीत सत्यको जीत हुनेछ । इमानको जीत हुनेछ । सबैको र सधैँको जीत हुनेछ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।