जो मान्छेले आफूलाई अनभिज्ञ ठान्दैन, उसले केही सिक्दैन । केवल सिक्छ त आफ्नो तर्कको मुढेबलका आधारमा अगाडि बढ्न मात्र ।

मेरो अनुभवमा मान्छेले तीन प्रकारले मात्र आफ्नो विज्ञता प्रकट गर्न सक्छन् । पहिलो आफूले जाने बुझेको, पढेलेखेको र सिकेको कुरालाई कुनै तरिकाले अभिव्यक्त गरेर । दोस्रो त्यो अनुभव, सिप र ज्ञानलाई कुनै माध्यमबाट लेखेर वा प्रकाशन गरेर । तेस्रो त्यो ज्ञानलाई व्यवहारमा उतारेर अर्थात् कुनै काम पूरा गरेर देखाएर ।

माथिका कुनै प्रसङ्गमा पनि आएकै छन् कि मान्छे आफूलाई कहिल्यै नजान्ने ठान्दैन । जबसम्म मान्छेले आफूलाई अनभिज्ञ ठान्दैन, उसले केही सिक्दैन । केवल सिक्छ त आफ्नो तर्कको मुढे बलका आधारमा अगाडि बढ्न मात्र । यसै प्रसङ्गमा मैले धेरै मान्छेहरू समयमा उचित निर्णय लिन नसकेर पछि परेका वा क्षणिक रूपमा अगाडि बढे पनि अन्ततोगत्वा असफल भएको देखेको छु । अनि पुरानै अवस्थामा फर्किएर चित्त बुझाएको भेटेको छु ।

तर पनि मान्छेले सही समयमा सही विचार अगाडि सार्न सकेको छैन । कुनै समयमा मेरा एकजना मित्रलाई मैलै एउटा गन्तव्यको मार्ग देखाएको थिएँ । म दार्शनिक भएर भनेको होइन । त्यो बेला उनले मेरो त्यो कुरा सुनेनन् । उनले अर्कै मार्ग पहिल्याए, अस्ति भर्खर उनी मलाई भेट्न आए र भने, वास्तवमा तपाईँले त्यो बेला भनेको ठिक रहेछ, मलाई अहिले पछुतो छ । यो एउटा सानो उदाहरण मात्र हो । यस्ता घटना र परिवेश हरेक मानिसका जीवनमा आइरहन्छ, जहाँ सही सल्लाह, सुझाव दिने, लिने क्रम भइरहन्छ । लिनु, नलिनु आ आफ्नो कुरा हो ।

कोही मान्छे अनुभवले खारिएर विज्ञ भएका हुन्छन्, कोही समय, काल र परिस्थितिमा पिल्सिएर त कोही व्यवहारिक तरिकाले अगाडि बढेका हुन्छन् । अर्को उदाहरण लिऊ, कोही कृषि विषयमा पढेर आएको हुन्छ तर उसले आफैँ खेती गरेको छैन । उसले दिने सल्लाह अलिक सैद्धान्तिक मात्र हुन्छ । मैले यहाँ उसले दिने ज्ञानको परिधिको मात्र कुरा गरेको हो । ज्ञानलाई सैद्धान्तिक परिधिमा मात्र राखियो भने उसले सोच्ने त्यत्ति नै मात्र हुन्छ । तर त्यस ज्ञानलाई लागु गर्न जब कोही मैदानमा उत्रिन्छ भने त्यतिबेला अनेक चुनौती सामना गर्न तयार हुनुपर्छ ।

मान्छे आजसम्म चुनौती सामना गरेरै मात्र अगाडि बढेको छ । सजिलै प्राप्त हुने त हावा मात्र हो । कुनै पनि बस्तुको सहज प्राप्ति दिगो हुन्न रे । सङ्घर्षबाट प्राप्त प्रतिफल मिठो हुन्छ । ढुङ्गे युगदेखि आजसम्म आइपुग्दा मान्छे घस्रिरहेको छ, लडिरहेको छ अनि मरिरहेको छ । त्यो एउटा सीमित ज्ञानको भण्डारले मान्छेलाई यहाँसम्म ल्याइपुर्‍यायो । त्यो लालसा, जसले मान्छेको जातिलाई समयको पदचापसँगै हिँड्न र थप चुनौती मोल्न प्रेरित गर्‍यो । हावा, पानी र माटोका लागि, सुख, शान्ति र समृद्धिका लागि अनि माया, प्रेम र आलिङ्गनका लागि अगाडि बढ्न उत्प्रेरित गर्‍यो । आखिर मान्छे आफ्नो गन्तव्यमा आइपुग्यो । आज पनि मान्छे आज पनि हिँडिरहेको छ । उताको मान्छे यता आयो, यताको उता पुग्यो । त्यही लालसामा कि अबका दिनहरू सुखमय हुनेछन् ।

त्यो चेतना हो समयको, जहाँ झिसमिसे नहुँदै कुखुराको भाले बास्छ । पोथी अण्डा कोरल्दै छे । मान्छे उठ्ने समय भयो । मान्छेको हातमा घडी छैन । अर्थात् उसको हातमा समय छैन, समय फुत्किँदै छ, फुस्स फुस्स । घण्टाघरको घडीले सही समय नदिएको धेरै भो । मेची नदीमा पानी बगिरहेको छ । आज पनि सुस्ता र महेशपुरको बिलौना उही छ । देशको चुच्चे नक्सा छापिएर पनि बजारमा गएको छैन । झोलुङ्गे पुलमा खच्चडहरू झुन्डिएका छन् । मेरो देश हाँसिरहेको छ, जात्रैजात्रामा । नाचिरहेको छन् मान्छेहरू बिनासित्तीमा सुन्धारातिर दोहोरीहरूमा । अझै पनि युवतीहरू भेटिन्छन्, रत्नपार्कतिर । जाने हो ? भनेर सोधिरहेका छन्, अनजान मान्छेहरूलाई ।

फेरि पनि मान्छे ज्ञानी छ । मान्छेले नजानेको के छ ? उबेलाको कुरा मात्र कति गर्नु ? मान्छे पुराना कुरा र थोत्रा चप्पल लगाएर हिँडेको धेरै भइसक्यो । किसान मरिरहेको छ । बाढी आउँदा तराईतिर माछा मार्नेको भिड लाग्छ । खेत बगिसक्यो, अब भकारी खाली हुन्छ तैपनि मान्छे गँगटा भेला पार्नतिर लागेको छ । पुल बगिसक्यो, गाउँ आएको बाटो बिलाइसक्यो ।

अथाह ज्ञानको भण्डार बोकेर मान्छे सडकमा निस्केको छ । परम्परागत ज्ञानको भारीले थिचिएको छ, मान्छे । ऊ अहिले पनि माछा मारेर खान जान्दछ तर माछा मार्न सिकाइरहेको छैन । भोलि त आउँदैन रे तर पनि मान्छे भोलिका लागि शक्ति सञ्चय गरिरहेको छ । धर्ती अरूका लागि पनि हो, तर आफ्ना लागि मात्र सोचेर अरूको अधिकार हरण गर्न तल्लीन छ, मान्छे ।

एकजना मित्रले मलाई प्रश्न गर्नुभयो, आजकल तपाईँ कता हराउनुभयो ?

त्यो बेला मैले उनलाई यसो भनेको थिएँ । म कतै हराएको छैन । हराएको छु त, केवल आफ्नै परिवेशमा । आफ्नै माटोमा र यही संसारमा, जहाँ मजस्ता धेरै मान्छेहरूका सपना हराएका छन्, आमाका सपना बिलाएका छन्, बाबुका आँखा रसाएका छन्, सन्तानका सुख खोसिएका छन् ।

म यहीँ कतै छु, मित्र । फेरि सोध्नुहोला, तपाईँ के गर्दे हुनुहुन्छ ?

म के गर्दै छु…

म अर्थात् तपाईँ के गर्दै हुनुहुन्छ ?

आफ्ना लागि वा समाज र देशका लागि

वा कसका लागि गर्दे हुनुहुन्छ ?

किन, कसरी र के का लागि ?

वा केवल आफ्ना लागि ?

तपाईँ के गर्दै हुनुहुन्छ ?

अर्थात् म के गर्दै छु…

जिन्दगीप्रति यसरी प्रश्नहरू तेर्सिन्छन् । प्रश्नहरूको मृत्यु भएपछि सायद कोही जीवित नरहला । पहिले यसरी आफैँमाथि प्रश्न गर । अनि मात्र तिमी अरूका लागि प्रश्न गर्न सक्षम र योग्य बन्नेछौँ किनभने जीवन एउटा प्रश्नहरूको भण्डार हो । प्रश्नहरूले मान्छेलाई बाँच्न प्रेरित गर्छ । प्रश्नले मान्छेलाई अगाडि बढ्न उत्प्रेरित गर्छ ।

प्रश्न गर्ने मान्छेले आफू जीवित भएको प्रमाण पेस गर्नुपर्दैन किनकि प्रश्नभित्रै जीवन लुकेको हुन्छ । बरु उत्तर दिने मान्छेले त्यो प्रमाणपत्र पेस गर्नुपर्नेछ । जब मान्छेले प्रश्न गर्ने साहस गर्छ, त्यतिबेला ऊ उत्तर दिन पनि सक्षम हुन्छ तर उत्तर मात्र दिने ठाउँमा पुगेको मान्छेले प्रश्न बुझ्दैन । उसलाई त्यतिबेला मान्छेका हरेक प्रश्नहरू बाङ्गा लाग्छन् । घुमाउरा लाग्छन् अनि उत्तर दिन झन्झट मान्छन् ।

आजको हाम्रो सामाजिक अन्तर्विरोध यही हो, जहाँ माथि पुगेको मान्छे तल फर्किन मान्दैन । एकपटक मन्त्री भएको मान्छे बस चढ्दैन । सांसदको हरेक यात्रा सडकबाट हुँदैन । सगरमाथा चढ्नुअघि अनिवार्य केचना पुग्ने नियम यहाँ छैन । अग्लो होचोको विपरीतार्थ शब्द हो तर अग्लोले यसरी कहिल्यै सोच्दैन रहेछ । बरु ऊ आफू अग्लो भएकोमा घमन्ड गरेर बसेको हुन्छ । इतिहासले प्रमाणित गरेको विषय हो कि कुनै समय आज सगरमाथा भएको ठाउँमा समुद्र थियो । बङ्गालको खाडी गहिरो छ । यस्तै हो भने त्यहाँ कुनै कालमा हिमाल ठडिन सक्छ ।

यस्ता प्रश्नहरू आज कुमारी अवस्थामा छन् । कुनै दिन आम प्रश्नहरू युवा हुनेछन्, त्यसपछि छाडिएका प्रश्नका बाँडहरू शासकमा छातीमा गाडिनेछन् । त्यतिबेला सगरमाथा सुक्नेछ, हिउँ पग्लेर । सागरहरू सुक्नेछन्, पानी सकिएर ।

नजान्नु जान्नुभन्दा राम्रो हो । विज्ञ हुनु भनेको एउटा विषयमा जान्ने हुनु मात्र हो । तर विज्ञताले अनभिज्ञ पनि बनाउँछ । विज्ञता सब थोक होइन किनभने त्यो विज्ञताले फरक तरिकाले सोच्न रोक्छ । खाली मैदानमा जे पनि उमार्न सकिन्छ तर कुनै बाली लागेको छ भने एउटा समयसम्म पर्खिनुपर्छ । त्यो बालीले माटोको उर्वराशक्ति ह्रास पनि बनाएको हुनसक्छ ।

ज्ञान मर्दछ, हाँसेर

रोइ विज्ञान मर्दछ

बालकृष्ण समले उबेला नै यसरी भनेका थिए । ज्ञानले विज्ञानलाई जन्माउँछ तर त्यही विज्ञानले ज्ञानलाई मार्छ रे । जसरी कुनै पशुले आफ्नै बच्चा खान्छ । आजको आधुनिक तथा भौतिक विज्ञानले नयाँ नयाँ आविष्कार गरेर चुनौती पनि थपेको छ । समाज अगाडि बढ्ने नाममा पछाडितिर धकेलिँदै छ । यसरी हेर्दा ज्ञानले विज्ञान र विज्ञानले ज्ञानको अस्तित्वमाथि धावा बोलिरहेको छ ।

के अब एलन मस्कले मान्छेको दिमागमा चिप्स लगाउन सक्लान् ? चिन र अमेरिका एलीयनबारेको खोजमा सफल बन्लान् ? अरू सानातिना खोज र आविष्कारको कुरा नगरौँ । अब त्यो भन्दा माथि सोचौँ किनभने अज्ञानताले ज्ञानको मार्ग पहिल्याउँछ ।