तेरे चेहेरे से नजर नही हट्ती , नजारे हम क्या देखे::: होस् या ” अभि ना जाओ छोड्के, के दिल्ल अभि भरा नही::: बढो अचम्म लाग्छ।
गीतको शब्द, भाव र गहिराई बुझ्ने उमेर त थिएन जब म युवा अवस्थामा थिएँ तर पनि साहिरको गीतहरूले मोहोनी लगाउँथ्यो आज गीतको भाव र गहिराई बुझें जस्तो लाग्छ ।
तर जति सुन्यो उति सुन्न मन लाग्छ गहिराई नै फेला पार्न सक्दिन। कस्तो जीवन्त साहित्य रहेछ साहिर साहेबको ।
हजारौं कालजयी गीतका रचयिता साहिर लुधियानवीका गीत सुनेर मधहोस नहुने सायद
को होला र ? साहिर लुधियानवी र जावेद अख्तर दुबैको गीत र शायरीले हामीलाई जसरी पनि छुन्छ। जब ‘ जादूनामा’ हात पर्यो सर्सती हतार हतार पाना पल्टाएँ, मेरा आँखा शीर्षक ८१ मा गएर टक्क अडिए । त्यहाँ साहिर लुधियानवीको वारेमा जावेद अख्तरले मार्मिक, अनुकरणीय, मीठो अनि रोचक प्रसङ्ग उल्लेख गर्नु भएको छ। जसलाई मैले आफ्नो भाषामा जस्ताको त्यस्तै उतार्ने कोसिस गरेकी छु।
” साहिर साहेबसँग मेरो बढो घनिष्ट र पुरानो सम्बन्ध थियो । पिता र माता दुबै शायर भएकाले त्यो बेलाका महान साहित्यकारहरूको सानिध्यतामा मेरो बाल्यकाल बित्यो। त्यो समयका सबै साहित्यकारहरू कुटुम्ब जसरी एकाआपसमा निरन्तरत भेटघाट हुन्थ्यो ।

त्यसैले साहिर साहबसँग पहिलोपटक कहिले भेट भयो मलाई ठ्याक्कै थाहा छैन।
” जब म मुम्बई आएँ, आफ्नो पिताबाट अलग भैसकेको थिएँ, त्यसैले साहिर मलाई आफूभन्दा कनिस्ठ ठान्थें । म २०/२१ वर्षको थिएँ,
न बसोबासको ठेगान थियो, न खानपिनको। महिनामा कहिलेकाही म साहिर साहेबसँग भेट गर्न जान्थें । वहाँसँग मैले कहिले पनि केही चिजको याचना गरिन। वहाँले मलाई खानाका साथै शराब पनि खुवाउनको हुन्थ्यो अनि दौँतरी जसरी मज्जाले कुरा गर्नु हुन्थ्यो। वहाँलाई थाहा थियो,
म २०/२१ वर्षको भएपनि शायरीको गहिराई बुझ्न सक्थें। मलाई त्यो उमेरमा सयौं शायरी कण्ठाग्र थियो। आज पनि म अरूको हजारौं शायरी घण्टौंसम्म सुनाउन सक्छु।
साहिर साहेब जे लेख्नु हुन्थ्यो त्यो सुनाउनु हुन्थ्यो अनि एक महिनामा जे जे लेख्नु भएको हुन्थ्यो ती शायरी र गीत मलाई सुनाउँदै मसँग प्रतिक्रिया पनि लिनु हुन्थ्यो। वहाँले मलाई जावेद भनेर कहिले बोलाउनु भएन। नौजवान भनेर बोलाउनु हुन्थ्यो।
” अरू सुनाऊ नौजवान , के छ खबर ।’

एक समय जब मसँग कुनै काम थिएन ।
म पूर्णरूपमा बेरोजगार भएको थिएँ। खल्तीमा सुक्को पैसा थिएन । मसँग केही थिएन।
म वहाँलाई भेट्न गएँ । अरूबेला म साँझमा जाने गर्थें र वहाँसँग बसेर रातीको खाना खाएर त्यहीँ सुत्थें।अनि अर्को दिन बिहान फर्किन्थें तर यो चोटि म बिहान गएको थिएँ। त्यहाँ गएर मैले स्पष्टसँग भने
” साहिर साहेब मसँग अहिले केही काम छैन।
यदि तपाईंले भनिदिनु भयो भने जसले पनि मलाई जागिर दिन्छन् । यदि हुन्छ भने सानोतिनो असिस्टेंन्ट डाइरेक्टर या डायलग राइटर जस्तो कुनै जागिर लगाइ दिनु होस् ।
उहाँले भन्नू भयो- ” हुन्छ, हुन्छ , किन चिन्ता गर्छौ कहिलेकाहीं जिन्दगीमा यस्तो भइहाल्छ नि । म पनि यस्तो परिस्थितिको सामना गरेर आएको हुँ।”

यो सबै कुरा गरेपछि ड्राइङरूमको छेउमै वहाँको कोठा थियो, त्यहाँ जानू भयो।
वहाँले मलाई भित्रबाट बोलाउनू भयो – ‘नौजवान’ ।
म भित्र गएँ।

एउटा अचम्मको बानी थियो साहिर साहेबको,
जब वहालाई दुविधा या तनाव हुन्थ्यो तब वहाँ कपाल कोर्न थाल्नु हुन्थ्यो। वहाँको गोजीमा हरदम एउटा सानो काँईयो हुन्थ्यो।
जब जब काँइयोले कपाल कोर्नु हुन्थ्यो, थाहा हुन्थ्यो कि वहाँलाई केही न केही तनाव छ।
कपाल कोर्दा कोर्दै मलाई भन्नू भयो
-” हेर! यस्तो अबस्था मैले पनि भोगेको छु ( टेबुलतिर देखाउँदै भन्नू भयो ) अहिले तिमी यो राख , पछि मलाई फिर्ता दिनु ।”
मैले देखें अगाडि टेबुलमा केही पैसा राखिएको थियो। अनि मैले भने-
” म तपाईंसँग पैसा माग्न आएको होइन,
अँह पर्दैन । बरू मलाई कतै सिफारिस गरिदिनू,
म त्यहाँ काम गर्छु, यदी उनीहरूलाई मेरो काम मन पर्‍यो भने मात्र मलाई त्यहाँ राखून् ।”
अहिले यो पैसा राख भन्नू भयो। मैले मानिन अनि जिद्दी गर्दै जवर्जस्ती त्यो पैसा मेरो खल्तीमा हालिदिनु भयो।

म त्यहाँबाट फर्किएँ । गोजीबाट त्यो पैसा निकालेर हेरें दुई सय रहेछ। यो कुरा सन् १९६६-६७ तिरको हो। साहिरले मलाई दुई सय रुपैयाँ दिनुभयो जुन त्यो समयमा धेरै नै थियो। दुई सयले त मेरो दुई महिना आरामसँग बित्थ्यो।

समयले कोल्टे फेर्‍यो ।
मैले काम पाएँ, थोरै नाम पनि हुँदैगयो।
फेरि यस्तो समय पनि आयो जब सिनेमामा हामी सँगै भयौं । जस्तै – ‘दीवार,’ ‘त्रीशुल’, ‘काला पत्थर’।
वहाँ गीत लेख्नु हुन्थ्यो, हामी सलिम- जावेद भएर स्क्रीप्ट। हामीहरू बिच बैठक हुन्थ्यो,पार्टीहरूमा पनि हामीसँगै सहभागी हुन्थ्यौं । जब सबै कलाकार , ठूला डाइरेक्टर अनि अरू मान्छेहरूपनि सँगै हुन्थे,
त्यो बेला म साहिर साहेबको अगाडि भन्थें –
” मसँग साहिर साहेबको दुई सय रुपैयाँ छ तर म फिर्ता दिन्न ।” मैले यसो भन्दा वहाँ लजाएर हाँस्नु हुन्थ्यो।
कुरालाई अन्तै मोड्न वहाँ हाँस्दै भन्नू हुन्थ्यो -” होइन होइन भाइ, म लिन्छु नि,त्यस्तो के कुरा छ र !” अनि म भन्थें ‘ त्यो त म दिन्न ,त्यो पैसा त मसँगै रहन्छ।”

समय बित्दै गयो । अचानक एक दिन फोनमा खबर आयो,’साहिर साहेबको मृत्यु भयो’।
म वहाँको घर गएँ। घरमा कोही थिएन , एक जना साबिर दत्त थिए, वहाँको साथी अनि एक जना म ।राती हामी दुबै जना त्यहीँ सुत्यौं । बिहान अरू मान्छेहरू आए, जस्तै चोपडा साहेब,अनि अरू। फेरि वहाँको मृत शरीरलाई कब्रस्तानमा लिएर गयौं वहाँको अन्तिम संस्कारको लागि ।कब्रस्तानमा साहिर साहेबलाई दफनाए पछि
म बाहिर निस्किदै थिएँ, एक जना मान्छे कुद्दै आयो , त्यो मान्छेलाई म चिन्थें । त्यो मान्छेले मलाई सोध्यो -” दुई सय रुपैयाँ छ ?”
मैले भने – केलाई दुई सय रुपैयाँ , खास कुरा के हो ?”
उसले भन्न थाल्यो – ” ऊ त्यो मान्छे छ नि, जसले साहिर साहेबलाई दफनाउन खाल्डो खन्यो त्यसलाई पैसा दिनु छ, यहाँ अरू कोही पनि छैनन्, म त साहिर साहेबको मृत्युको खबर सुन्ने बित्तिकै जुरुक्क उठेर त्यसै आएको थिएँ। मेरो गोजीमा पर्स पनि छैन।” अनि मैले गोजीबाट दुई सय निकालेर दिएँ र फर्किएँ। म आफ्नो कारमा बसेर घर फर्किदै थिएँ अचानक मलाई याद आयो –
” ॠण थियो आज चुक्ता भयो ।”
अब त वहाँ हुनुहुन्न तर वहाँका अजर अमर गीतहरु हामीसँग छन् । जबसम्म वहाँको गीत हाम्रो साथमा रहन्छ, साहिर पनि हामी सँगै रहनेछन् ।