एन्टोन चेखभ

एक उराठलाग्दो मध्याह्न । आकाशमा एउटै बादल छैन । मध्याह्नको तापले सुकेको घाँस आशाविहिन देखिन्छ । कुनै दिन जरुर पानी पर्नेछ तर ती घाँसहरुमा कदापि हरियाली फर्कनेछैन । जंगल सुनसान र गतिविहिन उभिएको छ, मानौँ प्रत्येक रुखले चिहाइरहेका छन् — आकाशतर्फ वा छन् — कसैको प्रतिक्षामा ।
रातो कमिज, कुनै भलाद्मीले लगाउनेजस्तोे सुरुवाल र ठुलो बुट लगाएको अन्दाजी चालिस बर्षजस्तो देखिने साँघुरो छाती र अग्लो कद भएको एक मानिस निकै अल्छिलाग्दो पाराले चरनक्षेत्रतर्फ लम्किरहेको छ । उसको दायाँमा छन् — हरिया रुखहरु, उसको बायाँमा छ — पाकेको राईको एउटा घना स्वर्णीम झाडी जो क्षितिजसम्म फैलिएको छ । उसको अनुहार गर्मीले रातोपिरो भएको छ । उसको आकर्षक मुहारमाथि सजिएको छ — कुनै दयालु जमिन्दारले दिएको उपहारजस्तो देखिने शानदार सेतो टोपी । आफ्नो सुडौल काँधमाथि उसले सिकारीले बोक्ने झोला बोकेको छ र झोलाभित्र कोचेर राखेको छ — एउटा कालिज । उसले बन्दुक पनि भिरेको छ र चिहाइरहेको छ — एउटा बुढो, लिखुरे कुकुरमाथि जो घाँसमा केही सुँघ्दै अगाडी हिँडिरहेको छ ।
“ येगर भ्लेसिच्, ” उसले नजिकैबाट एउटा मधुर आवाज सुन्छ ।
उ रिसाउँदै त्यतातिर फर्कन्छ । उसले आफ्नो छेउमा अन्दाजी तीस बर्षकी र हातमा हँसिया समातेकी एउटी गहुँगोरो वर्णकी महिला उभिएकी देख्छ । उ येगरको अनुहारतर्फ हेरेजस्तो गर्छे, मुस्कुराउँछे र लजाउँछे ।
“ ओहो, तिमी पो !! पेलागिया !” उ रोकिन्छ, बन्दुक बिसाउँछ र सोध्छ — “ कताबाट आयौ ? ”
“ गाउँका धेरै केटीहरु यहाँ काम गर्छन् । म पनि तिनीहरुसँगै यहाँ आएकी हुँ, येगर भ्लेसिच ।”
“ ए ! ए !” येगर मुर्मुरिन्छ र अगाडी बढ्छ ।
पेलागिया उसलाई पछ्याउँछे । करिब बीस कदमसम्म तिनीहरु मौन रहन्छन् ।
“ तिमीलाई नदेखेको धेरै भयो है, येगर भ्लेसिच्…….” उसको सुडौल काँध नियाल्दै पेलागिया भन्छे, “ इस्टरको एक दिन हाम्रो छाप्रोमा पानी खान आएदेखि तिम्रो अनुहारसम्म देख्न पाएका छैनौँ । एकैछिनको लागि त आयौ तर भगवान्लाई थाहा छ, त्यस दिन तिमीले कति धेरै जाँड धोकेका थियौ । त्यस दिन, तिमीले मलाई गाली ग¥यौ, पिट्यौ र एक्लै छाडेर गयौ । म तिमीलाई र्पिर्खरहेँ र पर्खिरहेकी छु — आजसम्म पनि, यही आशमा कि एक दिनको लागि भए पनि तिमी घर फर्कनेछौ ।”
“ तिम्रोमा आएर म के गर्नु ?”
“ गर्ने कुरा त खासै केही छैन । खाली एउटा घरपरिवार भन्नु मात्र हो । तिमी घरको मालिक हौ । येगर भ्लेसिच, तिमी किन एक ठाउँमा बसेर आराम गर्दैनौ ?”
यसो भन्दैगर्दा पेलागिया बौलाही जसरी हाँस्छे र उत्सुकताका साथ येगरको अनुहारतर्फ हेर्छे । उसको आफ्नै मुहार पनि खुसीले पुलोकित हुन्छ ।
“ बस्नु ? किन नबस्नु ?” पेलागियाको कुरालाई खासै मतलब नदिएजसरी येगर बोल्छ र दुइटा धुपीका बिरुवाको बीचमा थपक्क बस्छ । “ अनि तिमी चाहिँ किन उभ्भिराको त ? खुरुक्क बस न ।”
आफ्नो अस्वभाविक उत्साह र उत्ताउलोपनबाट लज्जित भएर पेलागिया अलिक टाढा घाममा बस्छे र मुख छोपेर हाँस्छे । अर्को दुई मिनेट मौनतामा बित्छ ।
“एक दिनको लागि भए पनि तिमी फर्केर आउने भए,…….” पेलागिया सुस्ताउँछे ।
“ केका लागि” कमिजको बाहुलाले निधार पुछ्दै र शिरको टोपी फुकाल्दै येगर बोल्छ, “ केही फाइदा छैन । मलाई गाउँमा बस्न फिटिक्कै मन छैन । तिमीलाई थाहा छ, मेरो बानी बिग्रिसकेको छ । मलाई आरामदायी बिस्तारा चाहिन्छ । मीठो चिया अनि सभ्य वार्तालाप । मलाई सभ्य चिजहरु मन पर्छ तर गाउँमा छ — केवल गरिबी । म गाउँमा त एक दिन पनि टिक्न सक्दिनँ । मानौँ कसैले मलाई तिमीसँगै बस्नुपर्छ भनेर उर्दी जारी ग¥यो भने म कि झुपडीमैँ आगो लगाइदिन्छु कि त आत्महत्या गर्छु । सानैदेखि म यस्तै हो । मेरो बानी सुधार्ने केही उपाय छैन ।”
“ अनि कहाँ बस्छौ त तिमी अहिले ?”
“ महाशय डिमेट्री इभेनिचकोमा । एक सिकारी भएर । म उनको लागि सिकार तयार गरिदिन्छु । उनले मलाई सम्मानका साथ राखेका छन् किनकी उनी मबाट धेरै खुसी भएका छन् ।”
“ यो कुनै पनि हालतमा स्वाभिमानी कार्य होइन, येगर । अरुको लागि मजाक वा रसरंग होला । तर तिम्रो लागि त यो साँच्चैको नोकरी हो ।”
“यस्तो कुरा तिमी कहिल्यै बुझ्ने छैनौ मुर्ख केटी । आकाशतिर नियाल्दै येगर भन्छ, “ तिमीले जिन्दगीभर बुझ्नेछैनौ — म कस्तो प्रकारको मानिस हुँ ।”
“तिम्रो नजरमा म एक पागल मानिस हुँ तर जसले बुझेको छ, उसको लागि म यो जिल्लाभरीकै उत्कृष्ट सिकारी हुँ । महाशयले यो सबै कुरा बुझेका छन् र मैले सुनेको छु, उनले मेरो नाम पत्रिकामा समेत छपाएका छन् । सिकारको लाइनमा मलाई कसैले उछिन्न सक्दैन । मलाई तिम्रो गाउँले पेशाप्रति यत्तिकै घृणा जागेको होइन । सानैदेखि म यस्तै हुँ । मैले अरु कुनै पेशा नै जानेको छैन— कुकुर र बन्दुकसिवाय । कसैले मेरो हातबाट बन्दुक खोस्यो भने म एउटा माछा मार्ने जाली लिनेछु । कसैले जाली खोसेर लग्यो भने म खाली हात लड्नेछु । मैले घोडाको व्यापार पनि गरेँ । जात्राहरुमा पनि हिडेँ । तिमीलाई थाहै होला, कुनै गाउँलेले सिकारी वा घोडाव्यापारीसँग संगत ग¥यो भने उ कदापि हलो जोत्न गाउँ फर्कँदैन । मान्छे स्वतन्त्रता चाहन्छ । जस्तो कि, कुनै एउटा भलाद्मी अभिनय वा त्यस्तै कलामा लाग्यो भने उ साना कुरामा सीमित हुन चाहँदैन । तिमी केटी हौ । यस्तो कुरा तिमी बुझ्दैनौ । यस्तो कुरा बुझ्नलाई मगज चाहिन्छ ।”
“ मैले बुझेँ । येगर भ्लेसिच् ।”
“ यसको मतलब, तिमीले बुझेनौ … हेर हेर रुनै थालेकी !”
“ अहँ……म….. म रोएकी छैन ।” उता फर्कदै पेलागिया रुन्छे । “ तिमी पापी हौ, येगर भ्लेसिच् । एक रात भएपनि मसँग बिताउन सक्छौ ? तिमीसँग विवाह गरेको आज बाह्र बर्ष भइसकेको छ । हामा्रे आजसम्म एकपटक पनि प्रेम भएको छैन……….. नाइँ म रोएकी छैन ।”
“ प्रेम ???” हात कन्याउँदै येगर चिच्याउँछ । “ हामीबीच अब प्रेम, स्रेम केही हुँदैन । खाली नाममा मात्र हामी लोग्नेस्वास्नी हौँ । तिम्रो नजरमा म जंगली मानिस हुँ । मेरो नजरमा तिमी एउटी अबुझ गाउँले केटी हौ, जसलाई बाहिरी दुनियाँबारे केही थाहा छैन । म बिग्रेको केटा हुँ र कहिल्यै गाउँ बस्दिन । तिमी गाउँले केटी हौ र कामको चापले कहिल्यै ढाड सोझ्याउन पाउँदिनौ । मलाई आफू सिकारको लाइनमा नम्बर एक भएजस्तो लाग्छ तर तिमी मलाई सधैँ हेयको दृष्टिले हेर्छौ । यो कस्तो जोडी हो हाम्रो ?”
“ तर चर्चलाई साक्षी राखेर हाम्रो विवाह भएको छ, येगर भ्लेसिच् ।” पेलागिया रुन्छे ।
“ यत्तिकै होइन । तिमीले बिर्सियौ । तिमीले काउन्ट सर्जेई पाब्लोविचलाई धन्यवाद दिए हुन्छ । म जिल्लाभरीकै उत्कृष्ट सिकारी भएकोमा उसलाई ईष्र्या थियो । उसले मलाई महिनौँसम्म जाँड धोक्न लगायो । एउटा जाँडले फिट्टु मानिसको विवाह जोसँग पनि गराउन सकिन्छ । उसको त धर्मसमेत परिवर्तन गराउन सकिन्छ । बदलाको भावनाले उसले मलाई तिमीसँग विवाह गरिदियो — एक नामुद सिकारीलाई गाउँले अनपढ केटीसँग । तिमीलाई थाहा थियो, म जाँडले फिट्टु थिएँ । मसँग किन विवाह ग¥यौ ? तिमीले नाईँ भन्न सक्थ्यौ । तिमीजस्तालाई त मसँग विवाह गर्न पाउनु अहोभाग्य होला, तर हरेक कुरा सबैको नजरबाट तर्कसंगत हुनु पर्छ । अब त तिमी जिन्दगीभर रोएर बसे हुन्छ । काउन्टको लागि यो एउटा मजाक होला तर तिमी चाहिँ रोउ । मज्जाले रोउ । … भित्तामा टाउको ठोकेर बस ।”
केही बेर येगर र पेलागिया बोल्दैनन् । तीनवटा जंगली हाँसहरु आकाशमा उड्छन् । येगरले ती चराहरुतर्फ हेर्छ र आँखा तेतैतर्फ बढाउँछ तबसम्म जबसम्म तिनीहरु दृष्टिभन्दा पर पुग्दैनन् ।
“ तिमी चाहिँ आजकल के गरेर बस्छौ ?” चराहरुबाट नजर हटाएर येगर पेलागियाको अनुहार हेर्छ ।
“ यो मौसममा त म काममा हिँड्छु अनि जाडो लागेपछि अनाथालयबाट एउटा बच्चा ल्याउँछु र उसलाई बोतलको दुध चुसाउँछु । तिनीहरुले मलाई महिनाको एक र आधी रुबल दिन्छन् ।”
फेरी केही बेर येगर र पेलागिया बोल्दैनन् । धान काटिरहेको ठाउँबाट एउटा मधुर गीत गुञ्जिन्छ । र केही बेरपछि रोकिन्छ । गीत गाउनका लागि निकै गर्मी छ आज….।
“ मान्छेहरु भन्छन्, तिमीले त अकुलिनाको लागि नयाँ छाप्रो बनाएका छौ रे” पेलागिया भन्छे ।
येगर चुप लाग्छ ।
“ यसको मतलब उ तिम्रो दिलमा बसेकी छे ।”
“ यसलाई आफ्नो भाग्य सम्झ पेलागिया,” उसले भन्छ — “ यसलाई तिमीले अब जसरी पनि स्वीकार गर्नुपर्छ । तर जे होस् आजका लागि बाई बाई । हामीले धेरै बोलीसक्यौँ । साँझसम्म मलाई बोल्टोभो पुग्नु छ ।”
येगर उठ्छ, हात तन्काउँछ र बन्दुकलाई आफ्नो काँधमा राख्छ । पेलागिया पनि उठ्छे ।
“ अनि कहिले आउँछौ त गाउँमा ?” मधुर आवाजमा उसले सोध्छे ।
“थाहा छैन । म होशमा कहिल्यै पनि आउँदिन । जब मैले जाँड धोकेको हुन्छु, त्यतिबेला म आउनुको केही फाइदा छैन । जाँड धोकेको बेला म निकै रिसाउँछु … गुड बाई !!”
“गुड बाई ! येगर भ्लेसिच् !”
येगरले आफ्नो टोपी टाउकोको पछिल्लो भागमा राख्छ र कुकुरलाई साङ्लोले तान्दै अगाडी बढ्छ । पेलागिया जहाँ बसिरहेकी थिई त्यहीँ नै बस्छे । उसकोे सुडौल काँध, चम्किलो शिर तर अल्छी र अनाकर्षक हिँडाई नियाल्छे र पेलागियाको अनुहार दुख र विरहले भरिन्छ । … र उ पनि येगरका पाइलाहरु पछ्याउँदै बिस्तारै हिँड्छे ।
येगर मौन छ, तर उसको उठेको काँधबाट पेलागियाले थाहा पाउँछे, ,उ केही भन्न चाहन्छ । पेलागिया सुटुक्क उसको नजिक पुग्छे र उसका आँखाहरुमा उत्सुकताका साथ हेर्दछे ।
“ यो तिम्रो लागि”, पछाडी फर्कँदै उसले पेलागियालाई एक रुबलको सिक्का दिन्छ र एक्लै अगाडी बढ्छ ।
“ गुड बाई, येगर भ्लेसिच् !! ” यान्त्रिक पारामा रुबल स्वीकार्रै पेलागिया भन्छे ।
येगरले लामो बाटो समाउँछ । निरीह पेलागिया अचल उभिन्छे र आफ्नै आँखाअगाडी येगर एक्लै हिँडिरहेको देखिन्छ । अचानक येगरको कमिजको रातो रंग सुरुवालको रंगसँग मिसिन्छ र उसका पाइलाहरु दृश्यमा देखिन छाड्दछन् । उसको लिखुरे कुकुर र उसको बुट छुट्याउन समेत अप्ठ्यारो पर्दछ । खाली उसको टोपी मात्र देखिन्छ । येगर दायाँतर्फ मोडिन्छ र उसको टोपी समेत जंगलको हरियालीमाझ कतै हराउँछ ।
“ गुड बाई, येगर भ्लेसिच् !!” मधुर स्वरमा पेलागिया बोल्छे र तन्किएर पर क्षितिजसम्म हेर्छे ताकि अन्तिमपल्ट भएपनि देख्न पाइयोस् — येगरको शिरमाथि सजिएको सेतो टोपी ।
राई — युरोपेली र रुसी जंगलहरुमा पाइने एउटा कोदोजस्तो अनाज, जसबाट ह्स्किी तथा बियर तयार गरिन्छ ।

अनुवाद: शिव भुसाल