‘आज एक दिन गधालाई नै ढोगेर के जात गयो त’ भनेर, बल्लबल्ल बुझाएर मैले र केशवज्यूले प्रदीपज्यूलाई कोठामा फर्कायौँ । हुनसक्छ, त्यस दिन भगवानले रूप फेरेर भक्तको जाँच गरेका पो हुन् कि ?

१. भक्तलाई गधामा गाईको दर्शन—

वर्षौँअघि, बनारसको कुरा हो । झिसमिसे बिहानको बेला, हामी तीनजना साथीहरू — प्रदीप, केशव र म गंगा स्नान गरेर छोटकरी गल्लीबाट आफ्नु कोठामा छिटोछिटो फर्कँदै थियौँ ।

गल्लीको अँध्यारो कुनाबाट यौटा चारखुट्टे जन्तु उभेको देखेर हिँड्दाहिँड्दै साथी प्रदीपले हात लम्काएर त्यसलाई छुँदै आफ्नु निधारतिर फेरि हात लग्नुभयो र ‘जय गौमाता’ भनेर अगाडि लम्कनुभयो ।

म अलि अगाडि नै थिएँ । तर, छुनासाथ पछाडिबाट दुई लात्ता फर्काउँदै प्रदीपज्यूको गौमाताले आफ्नो विरोध प्रकट गरिन् र लामो ‘घेँचू, चिल्लपों, घेँचू चिल्लपों’को गगनभेदी स्वरले गल्ली नै थर्काइदिइन् ।

गंगा न्वाएर धर्म कमाउँ भन्दै गाईको बाछालाई ढोग्न पुग्ने प्रदीपज्यूले त त्यस दिन धोबीवाहन गधालाई नै पो ढोग्न पुग्नुभएछ ! विचरा प्रदीपज्यू फरक्क त्यहाँबाट फर्केर ‘फेरि गंगाजी जान्छु र एक डुबुल्की हालेर मात्र डेरा फर्कन्छु । चण्डाल गधाले छोइदियो’ भनेर फत्फताउन पो थाल्नुभयो ।

गोविन्द भट्ट

‘आज एक दिन गधालाई नै ढोगेर के जात गयो त’ भनेर, बल्लबल्ल बुझाएर मैले र केशवज्यूले प्रदीपज्यूलाई कोठामा फर्कायौँ । हुनसक्छ, त्यस दिन भगवानले रूप फेरेर भक्तको जाँच गरेका पो हुन् कि ?

२. पढ्न–लेख्न जान्नाले ठूलो नोक्सान—

मानिसहरू विद्या र ज्ञानको धेरै नै बखान गर्छन् । हामीकहाँ त पढ्न–लेख्न नजान्नेलाई अभागी भनेर सराप्ने चलन पनि छ । तर, पढ्न–लेख्न नजान्नेहरू कहिलेकाहीँ हामीहरूभन्दा भाग्यमानी नै हुन्छन् भन्ने कुरा एक दिन मलाई आफूले खान परेको हन्डरले छर्लंग गरायो ।

धेरै वर्षअगाडि नयाँ सडकमा पिसाबले च्यापेर मलाई हुनसम्मको धौ–धौ परेको थियो, लौ आज बीच बाटैमा प्यान्ट भिज्ने भो ! भन्न थालिसकेको थिएँ ।

यताउति पल्याकपुलुक हेरेर एउटा गल्लीको कुनातिर कुद्दै गएँ र जे हुन्छ हुन्छ भनेर उभेको त त्यसै भित्तामा प्रस्ट गरेर लेखेको एउटा वाक्यमा मेरो आँखा गड्न पुगेछन्, ‘जरुरी सूचना, कृपा गरेर यहाँ पिसाब नफेर्नुहोला ।’

अब पर्यो फसाद ! बल्लतल्ल थाकेको बटुवाले बास पाएको थियो, तैपनि एउटा निर्दयीले कान समातेर उठाइदिएझैँ भयो । मेरो आफ्नै गल्ती, मैले त्यो पढ्दै नपढ्नुपर्ने, पढे पनि हलुंगो भइसकेपछि मात्र पढेको भए हुन्थ्यो । अब पढिसकेपछि पनि त्यस शिष्टाचारको उल्लंघन कसरी गर्नु ?

कुनै मान्छे त्यहाँ फुत्त निस्केर सोध्न थाले मैले कसरी, के गरेर जवाफ दिने होला, मैले पढेलेखेको छैन भन्ने ? फेरि म पढेलेखेकाले पनि यसरी सूचना पढ्दापढ्दै परवाह नगरिदिएर मनपर्दो गर्छन् भने, नपढेलेखेका विचराहरूलाई के भनेर गाउँले र असभ्य भन्नु ?

त्यसैले देखीदेखी बुझ पचाउन त हुन्न है, बरु पाइन्ट भिजे भिज्ला भन्ने सोचेर अर्को सुरक्षित ठाउँ खोज्नपट्टि लागेँ । ज्यादा पढेलेखेकाले र साथै बुद्धिमान पनि बन्न खोजेकोले त्यस दिन लागेको बेलामा पिसाब फेर्न पनि पाइएन ।

३. बर्ता बाठोभन्दा लाटो राम्रो—

हामीहरू तराईवासी । काठमाडौंको जाडो सम्झँदा गर्मीमा नै मुटु काम्न थाल्ने । भर्खरै मेरो व्रतबन्ध भएको थियो । आफ्नी हजुरआमासँग म काठमाडौं गएको थिएँ (ठिक ठाउँ पुलचोक, जाउलाखेल) ।

बाहुन भएको र त्यसमा पनि भर्खर जनै–टुप्पी राख्ने भएकाले बिहानै उठेर नुहाउनु पर्थ्यो र गायत्री जप गरेर मात्र चिया खान पाइन्थ्यो ।

एक बिहान ज्यादै ठिहिर्याउने ठन्डी परेकोले न्वाउने आँट गर्न सकिनँ । ओछ्यानमा आँखा खुल्नेबित्तिकै त्यही न्वाउने कुरा सम्झेर दाँत कट्कटिन थाले ।

यौटा जुक्ति झिक्न खोजेँ । त्यस बेला अँध्यारै थियो, अरू कोही पनि उठेका थिएनन् । टम्म कुइरो पनि लागेको थियो । त्यसैले छिटोछिटो बाथरुम गएर धारामा हातखुट्टा माथिसम्म धोएँ र कपाल, घाँटीहरू पनि कसरी भिजाएँ भने झट्ट कसैले नन्वाएको नसम्झोस् ।

मनमनै आज त फुत्कुँ, भोलि फेरि देखा जाला भन्ने विचारले फुर्किरहेको थिएँ । हतारहतार काग स्नान गरेर सु–सु गर्दै धाराबाट माथि आफ्नो कोठामा उक्लेर दोलाइँभित्र गुटुमुटु परुँ भन्ने सुरमा अन्धो म, अर्कै ओछ्यानको दोलाइँ पो तान्न पुगेछु ।

‘ए, ए, यो गोविन्द बाबुले कस्तो आँखा नदेखेको । लौ मलाई छोइहाल्योे’ भन्ने अप्रत्याशित आइमाई स्वर सुन्दा पो झसंग भएर छानाबाट तल खसेँ । यत्तिका बेर गरेको चर्तिकला त फुस्सा ! अनि त खैलाबैला भइहाल्यो र अरूहरू पनि उठिहाले ।

हजुरआमाले मेरो पूरा लुगा उत्निखेरै खोल्न लगाउनुभयो । धारामा लग्नुभयो र आफ्नै आँखाअगाडि तालुदेखि पैतालासम्म मिचीमिची पखालेर न्वाउन लगाउनुभयो । फेरि पूजाकोठाको गंगाजल छर्किदिनुभयो र यसरी पूरा आधा घण्टासम्म मेरो धुवाइ गरेपछि मात्र लुगा फेरेर मलाई आफ्नु ओछ्यानभित्र पस्न दिनुभयो ।

‘गोविन्द भट्टका निबन्धहरू’बाट