चाहे जीवनमा जतिसुकै ठूलो कष्ट होस्
या सृष्टि प्रक्रियाको क्रमभंगता नै नष्ट होस्
म त चरीसँग लैबरी भाकामा गीत गाउन भन्दा पनि
मेरी उनीसँगै अजर अम्बर प्रीत लाउन चाहन्छु

चाहे जान परोस् बाह्र वर्ष लामो बनवास
या भोग्न परोस् बरु आजीवन कारावास
म त जानकीको स्वयंवरमा शिवधनुष चढाउन भन्दा
उनको र मेरो प्रेमको आयतन बढाउन चाहन्छु

चाहे इन्द्रले सुम्पिउन् इन्द्रावती
या कामदेवले नै सुम्पिउन् कामरति
म त मोहिनीरुपी अप्सरालाई भेट्न भन्दा पनि
उनको र मेरो मायाको दुरी मेट्न चाहन्छु

चाहे ऋण नै लागोस् कहिल्यै तिर्नै नसक्ने गरी
चाहे मुटु छियाछिया भई टुक्रिएर दुखोस् घरीघरी
म त सफलताले आकाश छुन भन्दा पनि
सयौं सयौं जुनीलाई उनको हुन चाहन्छु

चाहे हिँड्न परोस् शिखरको कष्टकर पथ
या भिड्न परोस् बरु प्रेमका शत्रुसँग हाँकेर रथ
म त अमृतकुण्डमा स्नान गर्न भन्दा पनि
मेरी उनकै हृदयमा प्रेमवायु भर्न चाहन्छु

चाहे सुवास विनाको फुल अधुरो होस्
या प्रकाश बिनाको सूर्य मधुरो होस्
म त सुर्वणको हात्तीमा चढेर वैतर्णी नदी तर्न भन्दा
इन्द्रेणीको रङ बनी उनको जीवनमा उमङ्ग भर्न चाहन्छु

चाहे हुरी बतास या असिनै परोस्
चाहे धरती पाताल आकासै झरोस्
म त स्वर्गको द्वारमा पस्न भन्दा पनि
उनकै समीपमा बस्न चाहन्छु

चाहे जीवनमा जाओस् जतिसुकै ठूलो पहिरो
या लागोस् शरीरमा घाउ नै धेरै गहिरो
मलाई वायुपंखी घोडामा चढेर जानुभन्दा क्षितिजको देश
प्रेमालाप गरी मेरै उनको सान्निध्यमा रहनु धेरै वेश

चाहे जीवनमा अनिष्टका काला बादल मडारिऊन्
या खुसीका स्वर्णीम लहर हुण्डरी सँगै बढारिऊन्
म त सारा संसारलाई आफ्नो ईशारामा नचाउन भन्दा पनि
युगान्तरसम्म हाम्रो मायाको दीप बचाउन चाहन्छु ।

 

 

तेह्रथुम
हालः जापान