दाँतको सम्बन्ध न मान्छेको जन्मसित छ न त मृत्युसित नै । यो मान्छेभन्दा पछि जन्मिन्छ र मृत्युअघि नै अलप हुन्छ । त्यसो त सबैको मृत्युअघि यो कहाँ अलप हुन्छ भनेर प्रश्न पनि गर्न सकिएला, तर यहाँ म स्वाभाविक मृत्युको कुरा गरिरहेको छु । त्यसैले यो जिनिस जन्म र मृत्युको रहस्यबाट अलि टाढै छ । आज म शरीरको यही वैचित्र्य अङ्ग दाँतबारे केही अनुभव साझा गर्दैछु ।
मलाई हात्तीका दाँत देखेर त्यति डर लाग्दैन जति डर हिटलर, इदी अमिनका हिंस्रक दाँतको कहानी सुन्दा लाग्छ । विश्वको इतिहास हेर्दा ती औसत दाँत थिएनन् । मासु मात्रै होइन मान्छेका दाँत चपाउने दाँत थिए । हिंस्रक, निर्दयी र क्रुर तानाशाहका रूपमा यिनी विश्व इतिहासका पानामा कलंकित छन् । यस्ता दाँत दापभित्र खुकुरी बसेजस्तै ओठको आवरणमा लुकेका हुन्छन् । तिनका नामसमेत सम्झिँदा दन्त्यकथामा वर्णित ठूला दाह्रा भएका राक्षसको भयानक रूप मनमा जागृत भएर आउँछ ।
संसारमा यस्ता खाले हिंस्रक दाँत अरू पनि धेरै छन् । तिनीहरूको क्रूरताको कहानी मानिसको मानपटलमा युगौँसम्म अमिट भएर रहेका होलान् । लाखौँ मान्छे र त्यसमा पनि खास गरी बालक, सुन्दर युवतीहरू अरु कुनै हतियारको प्रयोग नगरी यिनकै दाँतका तारा बने । कसैलाई भने यिनले गोहीको दाह्राभित्र पसाएर उसको शिकार बनाए । जसका मानवता विरोधी क्रूर व्यवहारलाई विश्वले थुकिरहेको छ । यस्ता केही पात्र विषयक अध्ययन एउटा बेग्लै पाटो बन्ला । यस कोणबाट हेर्दा दाँतलाई क्रूरताको प्रतीक पनि मान्न सकिएला । तर दाँतको मुख्य परिचय र विशेषता क्रूरता भने पक्कै होइन ।
क्रूरभन्दा पनि दाँतका मायावी विशेषता धेरै छन् । दाडिमको दानाजस्तै सुन्दर सजावट भएको यस अङ्गले मान्छेको जीवनशैलीलाई सहज गर्ने काम त गर्छ नै । सामान्य भाषामा भन्दा खानेकुरा समात्ने, काट्ने, फुटाउने अनि चपाउने, यिनै हुन् दाँतका मुख्य काम । त्यसैले कर्मका आधारमा यसका चार वर्ग छन्, टुक्राहा, दाह्रा, मकह्रा र बङ्गाह्रा । ध्वनि उच्चारण गर्ने, अनुहारको सौन्दर्य झल्काउने कार्य गर्नुका साथै यो खुसी अभिव्यक्त गर्ने माध्यम पनि त हो । यसको उपस्थिति निा मान्छेको रूप–सौन्दर्यले कहाँ पूर्णता पाउन सक्छ र ?
यो अङ्ग निकै बलवान् छ । देख्दा सानो भए पनि यसभित्र शक्ति गहन रूपमा खाँदिएको छ । भीमसेनको गदा पनि यसलाई टुक्र्याउँदा एकपटक राम्रैसँग हच्केला । मुखको श्लेष्मिक कलाको रूपान्तरित अङ्कुर हो यो, जुन चुनाको लवणबाट संशक्त हुन्छ । यसको आफ्नै विज्ञान छ । बादलले जुनलाई ढाकेझैँ ओठको आवरणभित्र दाँतले दिने मुस्कानी छठा लुकेको हुन्छ । त्यसैले शक्ति र सभ्यताको परिचायक दाँतमा हिंस्रक र प्रेमिल दुवै गुण निहित हुन्छन् ।
मान्छे नाटकीय स्वभाव भएको प्राणी हो । उससँग देखाउन सक्ने अनेक कला छन् । हात्तीजस्तै उसका पनि देखाउने र खाने दाँत फरक छन् । कोही गँगटोजस्तै पेटभित्रै चपाएर भित्रभित्रै पचाउने गर्छन् । शक्तिकै कुरा गर्ने हो भने गोहीका दाह्राजस्तै आराले गर्ने जब्बर काम पनि यसले गर्न भ्याउँछ । कसैलाई रक्सीका बोत्तलको बिर्को खोल्न ओपनर नै चाहिँदैन । दाँतैले फुत्काई दिन्छन् । मासुको हड्डी कुरुमकुरुम चपाउनेका त कुरै नगरौँ । कोही भने भाइटीकामा माला उन्दा सामान्य धागोसमेत दाँतले काट्न सक्दैनन् । जसलाई भातको सिता चपाउन पनि निकै कसरत चाहिन्छ । यसको रूप तथा सामथ्र्य भिन्न भिन्न छ ।
कुनै कविको छोटो कविता पढेको थिएँ । सार यस्तो थियो– ‘शब्दका दाँत हुँदैनन् । शब्द जब काट्दछन् तब पीडा धेरै नै हुन्छ । कहिलेकाहीँ शब्दको घाउ यति गहिरो हुन जान्छ कि जीवनको अन्त्यसम्म त्यसले बनाएको घाउ पुरिएको हुँदैन ।’ कविताको भाषामा दाँतबारे कहिलेकाहीँ सोच्ने गर्छु,– हिमालका कुनै दाँत हुँदैनन् । तर हिमालमा हुने दिव्य सौन्दर्य दाँतमा समाहित हुन्छ । रातका पनि त दाँत होलान् ! जसले चपाउँछ अन्धकार र रातभित्रका सबै अँध्यारा जति निल्छ । तब न बिहानीको जन्म हुन्छ । नेपाली समाजमा घाँटी हेरी हाड निल्नु भन्ने उखान निकै प्रचलित छ । म त के भन्छु भने घाँटी हेरे पनि नहेरे पनि हाड चाहिँ ननिल्नु । यदि निल्नै मन भए दाँत हेरर हाड चपाउनु अनि निल्नु ।
फेसनको जमानामा दाँतलाई पनि त्यसको हावा लाग्नु स्वाभाविकै हो । शरीरका अङ्ग र सजावटका सामान चिटिक्क पार्न पालिस गरेजस्तै मान्छेहरू दाँतलाई पनि अनेक किसिमले टल्काउँछन् । कसैले सिल्भर पालिस गर्छन् भने कसैले गोल्ड पालिस । कसैकसैले त दाँत नै सुनचाँदीका राख्छन् । आखिर जति महङ्गा दाँत राखे पनि त्यसको काम चपाउने नै हो । सुनचाँदीमा न स्वाद हुन्छ न त सुगन्ध नै । मान्छे धनसम्पत्तिको तुजुक दाँतबाटै देखाउँछ । दाँतमा पर्खाल तथा काँडेतार लाउनु अचेल फेसनजस्तै भइसक्यो । जिब्रो बटारेर अङ्ग्रेजी लबजमा बोल्नेका लागि यो झनै काइदाको तरिका बन्यो ।
हात्तीका दाँतको चर्चा विभिन्न प्रसङ्गमा भई नै रहन्छ । जसमा गजदन्तमणि अर्थात् बहुमूल्य पदार्थ निहित हुन्छ, जसको आफ्नै विशेषता छ । मान्छेका पनि दाँतको रूप र गुण तिनकै जस्तो फरक फरक देखिन्छ । कोही एकदन्ते, कोही दोदन्ते, कोही चतुर्दन्त, कोही दाह्रे, कोही मुसेदाँते, कोही निर्दन्त, कोही छ्वाँके, कोही थोते आदि आदि । आखिर जस्ता दाँत भए पनि तिनले गर्ने कार्य र भाव भने समान प्रकृतिका हुन्छन् । खाना चपाउँदा, रिसाउँदा वा जाडोमा कटकटिँदा जे गर्दा पनि यिनले आफ्नो प्रभाव छाडिहाल्छन् । अनेक तालमा बाजा बजाउने दाँतको आफ्नै टिकटिके सङ्गीत हुन्छ । यसको प्रकृतिको जड तथा दन्तोत्पत्तिको प्रक्रिया भने एउटै छ ।
आफ्ना र पुर्खाका दाँतका बीचमा तुलना गर्छु कहिलेकाहीँ । जसको वंशाणुगत गुण हामीमा सरेका छन् । तर पुर्खाका दाँत हाम्रा भन्दा अति नै बलिया र सशक्त थिए । जब्बर ओखरका दाना दाँतैले मरक्क पार्थे । उनीहरूले दाँत माझ्ने आधुनिक साधनको प्रयोग पनि गरेनन् । दतिउनका रूपमा नीम, सिमाली, कदम आदिको प्रयोग गर्थे । हामीले अनेक मिसावट भएका नक्कली दन्तमञ्जन प्रयोग गरेकै कारण होला अहिले दाँतको पीडा भुग्तान गर्दैछौँ । सानोमा दाँत जतन गर्न भनी कहिल्यै ब्रस गरिएन । दाँत माझ्ने बहानामा टुथपेस्टको गुलियो र नुनिलो स्वाद चाख्न थपी थपी ब्रस गरिन्थ्यो ।
बाल्यकालदेखि नै दाँतसँग सबैका तीता मिठा अनुभव जोडिएका हुन्छन् । अघिल्तिरका दाँत टुटेका बेला बच्चालाई जिस्क्याउन खुबै मजा मान्छन् मान्छेहरू । जीवनमा धेरै बल केमा लगाइयो होला त भनेर यसो सोच्दा बच्चा हुँदा दाँती काटेका घटना स्मृतिमा आउँछन् । त्यस बेला साथीभाइसित दाँतले टोकाटोक गर्दै खुब दन्तादन्ति गरिन्थ्यो । बालयुद्ध मैदानमा पहिलो हतियार नै दाँत हुन्थ्यो । एकचोटि दाँतले जिउँदै बिजुलीको तारको बोक्रो निकाल्दा म करेन्ट लागेर बेहोस भएको थिएँ । होस फिरेपछि बुबाले बेस्मारी झपारेका थिए । त्यो दिनदेखि म बन्द तारलाई समेत छुन डराउँथे ।
लकडाउनका बेला मेरा दाँतले दुःखको महाराजा बनेर मुखमण्डलीको सिंहासनमा राज गरे । केरासमेत चपाउन नसक्ने भएका दाँतलाई मैले मुखभित्रै खुम्च्याएँ । बेलाबखत समस्या निम्त्याई रहने दाँतको केही महिनाअघि उपचार गरेर दुखाइ मत्थर के पारेको थिएँ लकडाउनको बेला फेरि बल्झिहाल्यो । अस्पताल क्षेत्र उच्च जोखिममा रहेर सन्त्रास फैलिएका बेला फलोअपमा जाने कुरा पनि भएन । मुखैभित्र हात घुसाएर उपचार गरिने भएकाले कोरोना त कुप्लुक्कै निलिने भैगो । कोरोनाको मारभन्दा त दाँतकै दुःख उचित ठान्दै सहेरै बसेँ । बरु ब्रुफेन निलेर त्यसैको रिगाइँमा एकछिन रनक्क हुनु नै जाती लाग्यो ।
दाँतलाई दुःखको महाराजा त्यत्तिकै भनिएको होइन रहेछ । दुखाइका बेला सिङ्गो संसारको दुःख एककट्ठा भएर आफ्नै दाँतमा आएर बसेको भान हुन्छ । एक न एक चोटी दाँतको फन्दामा मान्छे परेकै हुन्छ । यसको बेलिविस्तार यहाँ नलगाउँ । उति बेला डेन्टिस्टले एनिस्थेसिया गर्दा दाँतले पाउने चरम आनन्द सम्झेर वर्तमानको पीडा कहाँ भुल्थ्यो र ! दाँतले रिगाँउदा के गरुँ के गरुँ भएर म दाँतको एक्सरे हेर्छु । मान्छेलाई एक्सरे र हजारको नोटबारे ज्ञान होस् या नहोस्, एकपल्ट यसो माथि उठाएर भने जरुर हेर्छ । एक्सरेको आधा भागमा बादल लागेजस्तो छाया देखिन्थ्यो भने आधा खाली । मेरो अज्ञानता र कवि मनले त्यो भन्दा बाहेक अरु त्यहाँ के देखोस् ?
मेरा घाइते दाँतलाई न धेरै तातो चल्छ न चिसो । यिनलाई मुम्बईको जस्तै हावापानी चाहिने । सोच्छु, यस्तो बेला मेरा दाँतले कोरोना चपाउँथ्यो या कोरोनाले मेरा दाँत । अलि कसेर श्वास फेर्दा पनि जरै हल्लिने दाँतको के सामथ्र्य होला खै ! अहिले इदी अमिनका दाँतका कथा सम्झिँदा मेरा दाँत डरले लुगलुग काँप्छन् । बुद्धि आउन बुद्धि बङ्गारा पलाएजस्तै डर र दुःख सहन गर्न पनि त्यस्तै बङ्गारा पलाउने भए कस्तो राम्रो हुन्थ्यो । अनि सोच्छु, इदी अमिनका पनि त बुद्धि बङ्गारा आए होलान् । यदि मान्छेको बुद्धिको बङ्गारा मात्रै होइन विवेकको पनि बङ्गारा पलाउने भए संसार कस्तो हुन्थ्यो होला !
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।