भोको पेट, खाली गोजी र झुटो प्रेमले कसैलाई खुसी बनाउन सक्दैन छोरी। अब तिम्रो खुसीको लागि केही सोच्नै पर्छ।

नेपालमा आज पनि गरिब भएकै कारण सामाजिक भेदभाव, उत्पीडनको शिकार बन्नु परेको तितो यथार्थलाई च्यातिएको खल्तीले केही हदसम्म समेट्ने कोसिस गरेको छ। महङ्गीले आकाश छोएको आजको यो अवस्थामा सामान्य आधारभूत आवश्यकता पूर्ति गर्न नसक्ने दर्दनाक स्थितिबाट गुज्रेको गरिब नेपालीको सङ्घर्षमय जीवन गाथा नाटकमा प्रस्तुत गरिएको छ।

गरिबीको यथार्थ पीडा, प्रदेशीको कथा अनि परम्परा र रीतिरिवाजले पार्ने प्रभाव नाटकमा उठाएका विषयवस्तु हुन् ।

प्रख्यात अफ्रिकी नेता नेल्सन मन्डेलाले गरिबीलाई प्राकृतिक नभई दासता र रङ्गभे जस्ता मानव निर्मित व्यवहारको उपजको रुपमा रहेकोले गरिबीलाई मानिसले नै अन्त्य गर्न सक्ने विषयका रुपमा लिएका छन् ।

त्यस्तै, संयुक्त राष्ट्र संघीय सम्मेलन कोपन्हेगनले खाना, स्वास्थ्य, शुद्ध पानी, सरसफाइ, आवास, शिक्षा र सूचनालाई आधारभूत आवश्यकता मानी सो नभएको अवस्थालाई गरिबी मानेको छ ।

पात्रहरु

१) धनबहादुर (किसानी बाबु)

२) आरती(धनबहादुरको छोरी)

३) कुबेर (धनबहादुरको साहु)

४) तारा (आरतीको साथी)

५) दावा (गाउँको बदमास केटो)

६) बब्लु(आरतीको पति)

दृश्य १

(पर्दा खुल्छ ।)

(पृष्ठभूमिमा पुरानो खरले छाएको घर, घरको अघिल्तिर सानो गोठ । आँगनीको डिलमा बसेर धनबहादुर नाम्लो बाटिरहेको हुन्छ।)

(साथी ताराको मेलाबाट घर फर्किएकी आरती पसिना पुछ्दै हतार हतार आफ्नो घरको आँगनीमा पुग्छिन् । कोदाली गोठको दाउराको खलियोमाथि सिउरेर नाम्लो बुन्दै गरेका बुबा धनबहादुरतर्फ इसारा गर्दै ठाडो भाषामा बुबासँग कुराकानी गर्छिन् ।)

आरती : बा ! आटो राख्देका छौ ?

धनबहादुर : जा ! कसौडीमा छ, झिकेर खा ! (झर्को स्वरमा !)

आरती : बा पनि ! कस्तो एक्लै खान सक्या ! (जिस्किँदै)

धनबहादुर : आफ्नै मानो खान पनि ! पौरखअनुसार दुःख सुखको मानो खाने हो छोरी! (पेट समाउँदै!) खा !

आरती : (आटो नियारोको पातमा कसौडीबाट पस्किँदै ) बा! मोही खोज्न गाम गएनौ ?

धनबहादुर : मोही दिनै खोज्दैनन् ? तै पनि दिउँसो जानु पर्ला । राख्द्या छन् कि ? तारेको मेलो सकिएन मकै गोडर ?

(त्यतिकैमा धनबहादुरले घरको पालीमा सिउरेर राखेको रेडियो खोल्छन्। रेडियोमा गीत बजिरहेको हुन्छ । गरिबको चमेली रोइदेनी कोही छैन !… )

आरती : त्यसले पर्म लाउने मलाई नै हो । पैसा छैन भनेर कोही जाँदैनन् । दुईजनाले त्यत्रो मेलो काँ सक्नु !

धनबहादुर : गरिबका दिन कहिले आउँछ र भन्या ! गरिबका न दिन सकिन्छ, न ऋण ! (हातमा उठेका फोका हेर्दै)

आरती : बा ! काँ कुरा पनि ! (बाबुछोरी एकछिन टोलाउँछन् ।)

धनबहादुर : कुबेर साहुको अधिया खाएको तल्लो बारीमा पनि झारले मकै उछिन्न लागेछ । अब कसिन्नु पर्छ ढिलो हुन्छ, हेर । खेताला खोज्दै गर्नु पर्छ है।

आरती: हस् बा ! तिम्रो आज्ञा बा !  (नमस्कार गर्छिन्।)

(छोरी हात धुन लोटा लिएर घरको छेउतर्फ लाग्छिन् ।)

यतिकैमा दावाको प्रवेश हुन्छ ।

दावा : धने दाइ सेवा ढोग है । (आरतीलाई कर्के नजरले हेर्छ दावा ।)

धनबहादुर : नमस्ते ! दावा, कता हिँडिस् ?

दावा : तिम्लाई भेट्न आ ! (जिस्किँदै) धने दाइलाई बा भन्ने कहिले ?

आरती : तेरो टाउको ?

धनबहादुर : छोरी के बोल्छे ! (ओठ टोक्दै)

आरती : तेरो टाउकोमा टोपी कति सुहाएको भनेको हो !

दावा : यो आरती कति छुची भको ! पछि चल्दैन है !(जिस्किँदै)

आरती : के भनिस् ? खालास पिटाइ, नजिस्का !

दावा : डराएँ म, म गएँ ! (दावा आफ्नो बाटो लाग्छ।)

आरती : जा.. जा !

धनबहादुर : छोरी बिहे गर्ने बेला पनि भो । (आरतीलाई हेर्दै)

आरती : बा ! तिम्ले गर ।(झर्किँदै)

धनबहादुर : (विगत सम्झेर भावुक हुन्छन्।) जिद्दी गर्छे।

आरती : माफ गर बा ! अब सम्झाउँदिन म आमालाई। तिमी एक्लै हुन्छौ, म कसरी जानु भन त बा !(भावुक मुद्रामा)

धनबहादुर : तँलाई पनि रातो फेता गुथेर पठाउनुपर्छ, सोचेकै थिएन !

आरती : त्यस्तो नभन न बा !(रसाएको बा’को आँखा पुछिदिन जान्छिन्।) म छोडेर कहाँ जान्छु र। बिहे किन गर्नु पर्यो बा!

धनबहादुर : सधैँ यस्तै बसिरहनु पनि हुँदैन । बिहे गर्नुपर्ने जात। अब बिहे गर्नुपर्छ छोरी ।( भावुक हुँदै।)

आरती : बा ! मलाई पाल्न सक्दैनौ।

(पर्दा बन्द हुन्छ ।)

***

दृश्य:२

(पर्दा खुल्छ ।)

(कुबेर साहु एकाबिहानै लठ्ठी टेक्दै धनबहादुरको घर आउँछन् । घरको पिँढीमा आरती झोक्राएर बसिरहेकी हुन्छिन् भने भित्र धनबहादुर निदाइरहेका हुन्छन् ।)

कुबेर : (चिच्याउँदै) धने ! हाम्रा मकै गोड्ने साइत कहिले जुराइस् ?

आरती : बा ! सुतेछन् साहू बा। आज भोलि समय मिलाएर जाने भनेको । मौका मिलेछैन।

कुबेर : तिथिमिति हेर्दिनु पर्यो । ( धम्क्याउँदै !)

आरती : त्यस्तो होइन साहु बा!

(यतिकैमा धनबहादुर उठ्छन् ।)

धनबहादुर : (सिरक पन्छाउँदै) नमस्कार, साहु बा !

कुबेर : नमस्ते। तिमीहरूलाई केही चिन्ता छैन है ! बारीमा गाका छौ ?

आरती : आजभोलितिर गोडेर सक्छौँ ,साहु बा!

कुबेर : (हाँस्दै) सक्छौ ! सक्छौ!! (जुँगामा ताउ दिँदै) कि छोरी पठाम्चौ मेरा घरमा। (आरतीलाई हेर्दै)

धनबहादुर : जोरी नखोज ! जे पनि बोल्ने छुट छैन। (रिसाउँदै) गर्छौं भनेपछि गर्छौं। इमान बेचेका छैनौँ ।

कुबेर : (रिसमा नमस्कार गर्दै) दिन तिमीहरुकै छ।

(कुबेर आफ्नो बाटो लाग्छन्।)

आरती : साहुको अधिया खानु पनि “निल्नु कि ओकल्नु हुन्छ ।”

धनबहादुर : काम गर्ने हो। साह्रै गर्छन्।( पुर्पुरोमा हात राख्दै)

आरती : के भो बा !

धनबहादुर : साहुसँग केही पैसा माग्नु पर्ने थियो। बेहोरा देखाइहाले, लाटो रिस उठ्यो।

आरती : किन बा!

धनबहादुर : तेरो बिहे गर्न।

आरती : फेरि त्यही कुरा । गर्दिनँ म, बिहेसिहे । (रुन थालिन् आरती ।)

धनबहादुर : पढाउन नसके पनि ऋण धन गरेर धुमधामसँग बिहे गर्दिन सक्छु । के सोचिछस् ?(फकाउँदै)

आरती : पढ्न खोज्दा, पढाउन ल्याएको पैसा खल्ती च्यातिएर हरायो भनेको कहिले भेटिन्छ बा ? म बोल्दिनँ ? (रिसाउँदै)

धनबहादुर : तेरो कर्म त्यस्तै हो । बिहे गरेपछि आफ्नै देशको बालुवामा सुन उमार्नुपर्छ । बुझिस् छोरी ?

आरती : बा’को च्यातिएको खल्तीबाट जोडिएका सम्बन्धहरु पनि क्रमशः हराउँदै जाने भए । (भावुक हुँदै)

धनबहादुर : भोको पेट, खाली गोजी र झुटो प्रेमले कसैलाई खुसी बनाउन सक्दैन छोरी। अब तिम्रो खुसीको लागि केही सोच्नै पर्छ। म डाँडामाथिको घाम भइसकेँ । कहिले अस्ताउँछु टुङ्गो छैन ।

आरती : त्यस्तो नभन बा ।
(पर्दा बन्द हुन्छ।)

***

दृश्य: ३

(पर्दा खुल्छ।)

(भोलिपल्टको कुबेर साहु फेरि धनबहादुरको घरमा आइपुग्छन् । धनबहादुर बिहानैदेखि उठेर नाम्लो बाट्न लागिरहेको हुन्छ।)

कुबेर : धने । आज उठिसकेछस् त ! (धनबहादुरलाई हेर्दै)

धनबहादुर : नमस्कार साहु, किन फेरि मकै गोड्न जाँदैनौ भन्न हो ?

कुबेर : होइन धने ! यी चिनिस्। बब्लुले तिम्रो छोरी मन परायो रे । कुरा गर्दिन आएको। मित’बा हजुरले भन्नुस् भन्यो । दिन्छस् छोरी ?

धनबहादुर : मलाई माफ गर्नुस् ,साहु बा। हजुरलाई हाम्रो सबै कुरा थाहा छ। म छोरीसँग कुरा गर्छु ।

कुबेर : छोरी दिने बाबुले भन्ने हो, छोरीले त के जानेकी छ र ? बिचरा ।

धनबहादुर : म त केही सोच्नै सकिनँ ।( गुन्द्रीमा बस्नुस् न । कुबेर साहुलाई बस्न आग्रह गर्दै )

कुबेर : मैले त राम्रो मानेको छु है, पैसाको दुःख भए भन् धने । म छु नि ?

धनबहादुर : गौरीको मृत्युपछि छोरी भनेर बसेँ, अब यसको पनि बिहे गर्नुपर्ने । (भावुक हुँदै)

कुबेर : के गर्छस्, छोरीको कर्म। के विचार गरिस् भन् ?

धनबहादुर : हजुरले भनेपछि म के बोलूँ र !

(यतिकैमा आरतीले चिया ल्याउँछिन् ।)

आरती : चिया पिउनुस् साहु बा। (लजाउँदै बब्लुलाई आग्रह गर्दै।)

कुबेर : (बब्लुलाई जिस्क्याउँदै) अब आरतीको हातको चिया खान पाउँछस्। पण्डितलाई भनेर दिन छिन्नु पर्यो होइन त धने?

धनबहादुर : के भनौँ । (अक्क न बक्क हुँदै)

कुबेर : मिति कहिले निस्कन्छ, म खबर गर्छु । (चियाको गिलास भुइँमा राखेर दुवैजना निस्कन्छन्। )

***

नेपथ्यमा मंसिर ३ गते साइत निस्कियो भनेर खबर पुर्याउन आएको धनबहादुर दाइ ! भन्ने आवाज सुनिन्छ ।

बिहेको साइत मंसिर ३ गते निस्कन्छ। धनबहादुरको घरमा बिहेको रौनक सुरु भएको हुन्छ। आमा नभएको घर भएपछि सबै काम धनबहादुर आफैँले व्यवस्था मिलाउनुपर्ने हुन्छ ।

(विवाह गीत घरमा घन्किरहेको हुन्छ। पन्चे बाजाले, यसपाली त मैले बिहे गर्छु मजाले ….!)

नेपथ्यमा जन्तीहरू माथिल्लो गाउँ आइसके है ? भन्ने आवाज आउँछ।

शिरमा रातो फेता गुथेर हातमा फूल अक्षता लिएर धनबहादुर जन्ती पर्सन निस्कन्छन्।

गाउँलेहरुले आरतीको लोग्ने हेर्न भन्दै जन्तीहरु तर्फ- नजर डुलाइरहेका हुन्छन् ।

धनबहादुर : स्वागत छ यहाँहरु सम्पूर्णलाई (नमस्कार गर्दै)

कुबेर : खुसीले मन फुरुंग बनाएको छ धने । ( जिस्क्याउँदै)

धनबहादुर : (भावुक हुँदै) छोरीलाई ल्याऊँ जग्गेमा। (तारा तर्फ इसारा गर्दै)

कुबेर : (धनबहादुरको कानमा सुटुक्क) दाइजो राम्रै खोजेका छन्। विचार गरेस् है।

धनबहादुर : (मंसिरको जाडोमा पनि निधारमा चिर चिर पसिना पुछ्दै।) के सक्छु र दिन ? ( सानो आवाजमा कुबेर साहूको कानमा फुक्दै)

कुबेर : एउटा छोरी त्यस्तो नभन्। राम्रो घरमा परिछ ।

(आँगनमा विवाहको धुमधाम तयारी भइरहेको हुन्छ। पण्डितले मन्त्र पढ्दै विवाह गराइरहेका हुन्छन्। केही बेरपछि धनबहादुर च्यातिएको खल्तीतर्फ इसारा गर्दै।)

धनबहादुर : (गुहार शैलीमा) लौ न म त बर्बाद भएँ ! खल्तीमा राखेको पैसा कता हराएछ ? कता ? (नाटक गर्दै)

कुबेर : (दायाँ बायाँ हेर्दै) कसले गर्यो यस्तो ? दावा पनि देख्दिनँ कतै ? कसकाे काम हो ?

(वरपर निकै खैलाबैला मच्चियो। नेपथ्यबाट विवाह गर्दै गरौँ टीका टालो न रोकौँ भन्दै बोलिरहेका हुन्छन्। पछि सोच्दै गरौँला भनेर बेहुली लिएर जाने तयारीमा हुन्छ्न् । )

धनबहादुर : (माफी माग्दै) समयले यस्तै पार्यो। “पाले पुण्य, मारे पाप।” भन्दै भावुक हुँदै छोरीलाई बब्लुसँग जिम्मा लगाए।

(त्यस रात धनबहादुर निदाउन सकेनन्। मनमा अनेक कुराहरु सोच्दै जाग्राम बस्छन्। छोरीको चिन्ताले बारम्बार निदाउन दिएन।)

(पर्दा बन्द हुन्छ।)

***

दृश्य:४

(पर्दा खुल्छ।)

(पृष्ठभूमिमा चराहरु आवाज सुनिन्छ।)

(भोलि पल्ट दुरन फर्काउन बब्लु र आरती आइपुग्छन्। धनबहादुरको खुसीले आँसु रोकिँदैन। ज्वाइँलाई दर्शन गर्दै घरमा स्वागत गर्छन्,धनबहादुर।)

धनबहादुर : (बब्लुतर्फ हेर्दै) बस्नुस् ज्वाइँसाब ! (पिँढीमा गुन्द्री /गलैँचा राख्दै।)

(आरती रुँदै घरभित्र पुगिन् । धनबहादुर पनि भित्र गए। )

आरती : बा! तिम्रो च्यातिएको खल्तीले कहिलेसम्म जोगाउन सक्छ। भन त ? मैले पढ्छु बा ! भन्दा पनि च्यातिएको खल्ती देखायौ । अब आज के गर्छौ ?

धनबहादुर : (छोरीलाई अँगालो हालेर रुँदै) के गर्छेस् छोरी ! गरिबको चपेटामा परेकाहरुको पीडा कसले सुन्छ ?

आरती : मलाई घरमा कति गाह्राे भो ! दाइजो नल्याउने, जन्तीलाई टीका पनि नलगाइदिने भनेर गाउँभरि कुरा काट्न थालेका छन्। कसरी मुख देखाउने बा ! बरु बिहे नगरेको भए कति रमाइलो थियो मेरो परिवार। अब तिमी कसरी एक्लै बस्न सक्छौ ? मलाई तिम्रो मात्रै याद आउँछ। बाबु दुखी हुँदाहुँदै म कसरी खुसी हुन सक्छु ?

(बाबु छोरीको गन्थन बब्लुले सुनिरहेको हुन्छ। दाइजो प्रथाको विरोधी भएको कारण बब्लुले नयाँ जुक्ति निकाल्यो । घरको बाहिर किल्लामा झुन्ड्याएर राखेको कोटको च्यातिएको खल्तीमा पचास हजार रुपैयाँ बब्लु आफैंले राखेर नयाँ नाटक रच्न थाल्यो। )

बब्लु : बुबा बाहिर निस्कनु न ?(च्यातिएको खल्तीमा देखाउँदै हेर्नुस् न यहीँ रहेछ पैसा ? ( धनबहादुर अक्क न बक्क भए।)(अचम्ममा परे)

आरती : हाम्रा बा ! सबै बिर्सन्छन्। लौ राख।

धनबहादुर : राख्ने र ? ( राख्ने कि नराख्ने गरेर)

(त्यस रात त्यही रकमबाट मीठोमसिनो खाना खान्छन् र निदाउँछन्। )

(पर्दा बन्द हुन्छ। )

***

दृश्य:५

(पर्दा खुल्छ।)

(भोलिपल्ट बिहान सबेरै उठेर पसलमा पुगी छोरीलाई कोसेली लिएर घर फर्कन्छन्। खुसीका साथ बिदाइ गरेर छोरीलाई बाबुले घर पठाउने तयारी गर्छन्।)

धनबहादुर : (बब्लुतर्फ हेर्दै) (टीका लगाउँदै )ज्वाइँ साहेब, आफ्नै घर सम्झेर आउनुस् है। म पनि एक्लै छु।

बब्लु : हस् बुबा। राम्रोसँग बस्नु। मौका मिलेको बेला छोरीको घरमा आउनु होला। (पिँढीमा राखेको झोला बोकी घर जाने तयारीमा रहन्छ बब्लु)

(आँखाभरि आँसु पार्दै धनबहादुरले छोरी र ज्वाइँलाई बिदा गरिदिन्छन् ।)

धनबहादुर: गरिब भएर बाँच्नु पर्दाको पीडा गरिबलाई मात्र थाहा हुन्छ भन्ने कुरा आज चरितार्थ भयो।( सोच्दै)

(तलबाट दावा फूल मालामा सजिएर झोला बोकी मुग्लान जानको लागि धनबहादुरको घरतर्फ आइरहेको हुन्छ।)

दावा : धने दाइ,नमस्कार, म मुग्लान जान लागेको ?

धनबहादुर : (सोच्दै) मलाई पनि लैजान्छस् दावा ?

दावा : जाम धने दाइ । मलाई पनि साथी हुन्छ। के भो र ! तिमी पनि एक्लै छौ ! दुई चार पैसा सँगै कमाउँला।

धनबहादुर : बाटोमा गएपछि धोका त दिँदैनस् नि ? पैसा पनि छैन। कसले सहयोग गर्ला मलाई ?

दावा : चिन्ता नगर धने दाइ। हिँड मसँग, म लगानी गर्दिन्छु । कमाएपछि तिर्दा भैगो नि।

धनबहादुर: म तयारी गर्छु । केही बेर पर्ख है ! उसो भए।

(घरभित्र पसेर झोलाभित्र लत्ता कपडा, खाना, अन्य सामग्रीहरु झोलामा राखेर विदेश जाने तयारीमा हुन्छ धनबहादुर।)

दावा : नौतुनाको रेल समाउनुपर्छ। (हतारिँदै)

कति छिटो जाने निर्णय गर्न सकेका यी दाइले ! (अचम्मित हुँदै)

धनबहादुर : गरिब भएर बाँचिरहनुभन्दा दुईचार पैसा जोड्न सकियो भने छोरीको भविष्य सुन्दर हुन्छ कि भन्ने सपना छ। केही रकम आर्जन गरेपछि घर आएर सुखसँग बस्ने सोचाइ बनाएको छु।(दावालाई सुनाउँदै)

दावा : कति राम्रो सोच। आजसम्म लफङ्गा जस्तो भए पनि, अब केही गर्ने अठोट लिएको छु मैले पनि।

(दावा र धनबहादुर विदेश यात्राको लागि निस्कन्छन्।)

(मुग्लान पुगेको केही दिनपछि छोरीलाई एउटा खत लेखेर पठाउँछ धनबहादुर ।

प्रिय छोरी, च्यातिएको खल्ती सिलाएको छु । तिम्रो पढ्ने इच्छा अब पुरा हुँदैछ। अब म धनी भएर फर्कंदैछु। पर्खि बस, फर्की आउनेछु।

उही तिम्रो बाबु,

धनबहादुर

अन्तमा, च्यातिएको खल्ती कसरी भरी भयो। धनबहादुर यो कुरा पत्ता लगाउन आजसम्म सकेको छैन। आज पनि धेरै धन बहादुरहरूको खल्ती च्यातिएको छ। च्यातिएको खल्ती भर्ने जिम्मा कसैले त लिनु पर्यो नि ? कसले लिन्छ ? धनबहादुरले त आफ्नो व्यवस्था मुग्लान गएर केही हदसम्म मिलाउन सफल भयो। स्वदेशमा केही गर्न खोज्ने धनबहादुरहरुलाई मौका कसले दिन्छ? तपाईं दिनुहुन्छ?

(पर्दा बन्द हुन्छ।)