तामिल कथाकार- सन्त तिरुवल्लुवर
नेपाली अनुवाद- योगप्रसाद उपाध्याय चापागाईं
सन्त तिरुवल्लुवर कपडा बुन्ने जातिका थिए । एक दिन उनी धेरै श्रम गरेर बुनेको साडी बेच्न बजारमा बसिरहेका थिए, एक युवक उनको नजिक आयो ।
युवकले तिरुवल्लुवरलाई शंका गरेर हेर्यो । उसले उनलाई परीक्षण गर्नका लागि त्यो साडीको मूल्य सोध्यो । सन्तले नम्र बोलीमा “दुई रुपैयाँ” भने ।
युवकले साडी उठाएर दुई टुक्रा पार्यो र फेरि मूल्य सोध्यो । सन्तले शान्त स्वरमा “एक–एक रुपैयाँ” भने ।
त्यसपछि युवकले प्रत्येकलाई दुई-दुई टुक्रा पार्यो र मूल्य सोध्यो । सन्तले प्रत्येकको “आठ आठ आना” बताए ।
युवकले पुनः दुई-दुई टुक्रा बनायो र सोध्यो । सन्तले गम्भीर स्वरमा जवाफ दिए- “चार-चार आना ।”
आखिरी साडी च्यातेपछि युवकले त्यसको गोला बनाएर फ्याँक्दै भन्यो- “अहिले बाँकी रहेको नै के छ र पैसा दिऊँ ॽ”
सन्त मौन बने । धनको घमण्डी युवकले साडीको मूल्य दुई रुपैयाँ दिँदै भन्यो- “लिनुहोस साडीको मूल्य !”
तर तिरुवल्लुवरले भने- “बाबु ! तिमीले साडी नै किनेका छैनौ, म कसरी साडीको मूल्य लिन सक्छु ?”
युवकको उदण्ड मन पश्चातापले दग्ध भयो । नम्र बनेर उनीसँग माफी माग्न थाल्यो । तिरुवल्लुवरको आँखा रसाए । उनले भने- “दुई रुपैयाँ दिएमा यो घाटा पूर्ति हुने हो र ? धेरै मानिसहरूले धागो कात्न र बुन्न समय र श्रम खर्च गरेका छन् । साडी बुन्न मेरो परिवारलाई कति कठिन भयो होला ?”
युवकले आँखाबाट पश्चातापका आँशु झार्दै भन्यो- “त्यसो भए मलाई साडी च्यात्न किन नरोक्नुभएको ?”
सन्तले जवाफ दिए- “रोक्न सक्थेँ तर रोकेको भए के यस्तो शिक्षा दिने अवसर मिल्ने थियो र ?”
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।